“आज [पुस १ गते] को राजाको घोषणाले संसदीय प्रजातान्त्रिक विधानको वैधानिक अन्त भो । व्यवहारमा दुई वर्ष पहिले नै प्रजातन्त्रको हत्या भएको थियो, आज त्यो शवलाई अनुष्ठानपूर्वक दाहसंस्कार गरियो ।’ [१६/१२/१९६२]
“राजाले आज अर्को विधान दिएका छन्– पञ्चायती विधान । घोषणामा एउटा वाक्य बडो महत्वपूर्ण छ – “हामीमा निहित अधिकारद्धारा अहिलेसम्मको विधान खारेज गर्यौं र अर्को नयाँ विधान दियौं ।” स्वेच्छाचारिताको योभन्दा ठूलो निर्लज्ज–घोषणा वर्तमान युगमा कसैले गर्न सक्छ हाम्रो राजाबाहेक? निरंकुशताको पराकाष्ठाको घोषणा छ यस वाक्यमा “हामीमा निहित अधिकार” जसको आधारमा जैले पायो विधान दियो, फर्कायो, निलम्बन गर्यो र बदलियो । राणाहरु पनि यत्रो निर्लज्जताको घोषणा गर्न हिच्किचाउँथे । कमसेकम राजाको मर्यादाको पर्दा राखेका थिए उनीहरुले । वर्तमान राजालाई त्यो पर्दा राख्नुपर्ने आवश्यकता परेन । राजाहरु निर्लज्जताको लागि जगत्प्रसिद्ध हुन्छन्; उनीहरुलाई शिष्टाचार, आचार कर्तव्यमा बाँधेर राख्ने प्रेरणा उनीहरुको आफ्नै अन्तरबाट – आत्माबाट आउँदैन; आफूभन्दा बाहिरको जनशक्तिले मात्र उनीहरुलाई मर्यादामा बाँधेर राख्छ । त्यो शक्ति कमजोर पर्यो भने राजाहरुको मर्यादाहीनताको कुनै अन्त पाइँदैन । आज हाम्रो देशमा त्यहि कुरा घटिरहेको छ । जनआन्दोलन अहिले परास्त भएको छ ।” [१६/१२/१९६२]
“राजनीतक बन्दीहरु ठाउँठाउँमा झ्यालखानामा थुनिएका थुनिएकै छन् । कुनै राजनीतिक तर्कको आधारमा नभएर यो घोषणा राजाको शुद्ध वैयक्तिक ख्यालबाजीको दृष्टान भएको छ । राजालाई आज घोषणा दिऊँ भन्ने विचार आयो – घोषणा दिए । यसले देशमा कुनै किसिमको राजनीतिक दिशालाई परिवर्तन गरेन । जतिजति यस सम्बन्धमा विचार गर्यो उतिउति राजाको अहम्मन्यता र निरंकुशताको प्रमाणस्वरुप यो घोषणा भएको छ भन्ने मलाई लाग्छ । वैधानिकताको उपहासको यो परम दृष्टान्त हो इतिहासमा । संगिन आफ्नो हातमा छ भने जुनसकै कार्यलाई पनि वैधानिक मर्यादा दिन सकिन्छ भन्ने घोषणा राजाले गरेका छन् ।राजाको लागि, जसको हातमा संगिन छ भने जुनसुकै कार्यलाई पनि वैधानिक मर्यादा दिन सकिन्छ भन्ने घोषणा राजाले गरेका छन् । राजाका लागि, जसको हातमा संगीन छ विधान एउटा पुछेर फ्याँक्ने कागजको खोष्टा हो बुझ्यौ देशव्यापीहरु हो ! भन्ने घोषणा भएको छ अस्ति ।” [१८/१२/१९६२]