“अस्ति रमेशले मलाई कृष्णमूर्ति भन्ने कोही एउटा लेखकले लेखेको राजा महेन्द्रको जीवन–चरित्र पठाइदिएको थियो । हामीहरु समातिएपछि कृष्णमूर्ति यहाँ आएका थिए भारतबाट र राजासँग भेटघाट गरिकन यो बृहत चरित्र प्रकाशित गर्ने निर्णय भएको थियो । जसका लागि हिन्दुस्तान र नेपालका कतिपय विद्वान् र राजनीतिकहरुको एउटा ’महेन्द्रजीवन चरित्र–समिति‘ पनि गठित भएको थियो । यस समितिका अध्यक्ष सुनीतिकुमार चाटुज्र्या भए ।’
“तिनताका पनि कृष्णमूर्तिले हाम्रो विरुद्धमा– विशेष गरेर मेरो विरुद्ध– विषवमन गरेर गएका थिए र राजाप्रति चाटुकरिताको भित्तो पुर्याएका थिए । तिनै असत्य र अर्ध–सत्यहरुको संग्रहमा वर्तमान पुस्तक जसलाई एक महिना पहिले शायद राजाको जन्मदिवसको उपलक्ष्यमा सुनीतिकुमारले चरित्र समितिको अध्यक्षको हैसियतले राजालाई बडो ठूलो समारोहका साथ समर्पित गरेका थिए ।”
“कृष्णमूर्तिलाई म राम्ररी चिन्दिनँ; शायद यी उनै कृष्णमूर्ति हुन् जसले राजेन्द्रबाबु भारतका भूतपूर्व प्रेसिडेण्टको एउटा जीवन–चरित्र पनि लेखेका छन् । यदि तिनै हुन् भने एकचोटि रेलको सफरमा भेटेको पनि हुँ । ममाथि बडो नराम्रो प्रभाव परेको थियो उसको आचरण र व्यवहारको । यहाँ यसमा शंका पनि छैन कि राजाको जीवन चरित्र लेखनका लागि पर्याप्त आर्थिक प्रदान भयो होला उनलाई ।”
“यसप्रकारको साहित्यिक जीविका (वृत्ति) लिएका धेरै पठित पुरुषहरु पाइन्छन् । शुद्ध गणिकावृत्तिका अनुचारीहरु । गणिका रुपले व्यवसाय गर्छे भने यस्ता लेखकहरु आफ्नो शाब्दिक योग्यता । नैतिक प्रश्न उनीहरुको सामुन्ने रहँदैन । एक दृष्टिमा, शुद्ध समभाववान हुन्छन् यिनीहरु आफ्नो खरिददार (मुवक्किल)हरुप्रति तर, सोच्ने कुरा यस सम्बन्धमा यो छ कि सुनीतिकुमार जस्ता विद्वान् र शायद आदर्शवादी व्यक्तिहरु कसरी यस योजनामा सम्बन्धित हुन सके ।”
“सुनीतिकुमार हिन्दूभावना भएका विद्वान् त हुन्; तर कट्टर हिन्दूवादी हुन् जस्तो मलाई लाग्दैन थियो । उनी भारतको अतीतकालीन ऐश्वर्य र वैभवबाट पनि प्रभावित व्यक्ति हुन् र जसलाई अतीतकालको डंक लागेको छ त्यसको मनिस्थितिमा पूरा भर गर्नु अव्यावहारिक हुन्छ । उनीहरुको दृष्टिमा राजाको स्वतः स्वभाव र पदले नै सर्वसाधारण भन्दा उच्चताको स्थिति हुन्छ । उनीहरु राजाको सामुन्ने त्यसै आत्मभिमानबाट च्युत भएर जान्छन् । सुनीतिकुमारको पनि मनोवैज्ञानिक स्थिति यस्तै भयो होला जब उनलाई चरित्र समितिको अध्यक्ष पदका लागि आग्रह भयो होला । यसका साथसाथै यो प्रश्न छ कि के विद्वान् आफ्नो विद्धताको कारणले अवश्यमेव नैतिक गुण सम्पन्न पनि हुन्छ? सुनीतिकुमार जस्ता धेरै विद्वान्हरुको उदाहरण दिन सकिन्छ जसमा नैतिकता र विद्धताको समागम पाइदैँन । राहुल सांकत्यायन पनि यसै कक्षका विद्वान् थिए ।’
“मलाई एउटा मौलिक शंका हुन थालेको छ इतिहास अध्ययनका प्रति । कृष्णमूर्तिको ‘महेन्द्र चरित्र’ त्यही परम्परा अनुरुप छ जुन परम्परा अन्तर्गत पहिलेका राजाहरुले जीवनी लेखिन्थ्यो– ‘राजाज्ञाकृति’ (कमाण्ड पर्फर्मांस अर राइटिङ्ग) राजाहरुले शासकहरुले आफ्नो यशलाई अक्षुण्ण राख्न लेखनवृत्ति भएका मानिसहरुलाई विरुदावलि रच्न लगाउँथे; पत्थर र चट्टानमा आफ्नो यशगान कुँद्न लाउँथे । प्राचिन इतिहासका हाम्रा आधार यी सामग्री नै हुन्; जस्तो कि भविष्यका इतिहासकारहरुका लागि शायद कृष्णमूर्तिको ‘चरित्र’ पनि हुन जानेछ । यदि कुनै राजाहरुको कुयशको गाथा पनि हामीले पाएका छौं भने उनका शत्रुहरुद्धारा त्यो रचिएको हुन्छ– विशेष गरेर विदेशी राजा–शत्रुद्धारा, जो स्वयम् पनि आफ्नो गुणगान र कीर्तिलाई झन् उज्वल पार्न अरुहरुको अपकीर्ति सत्य या असत्यलाई पृष्ठभूमिको रुपमा तयार पार्न लाउँथे ।”
“प्रामणिकताको तर्क लिने हो भने कृष्णमूर्तिद्धारा लेखिएका ग्रन्थ एउटा समितिको जिम्मेवारीमा प्रकाशित भएको छ; जुन समितिका सदस्यहरुमध्ये कतिपय व्यक्ति उच्चपदाधिकारी तथा उद्भट विद्वानहरु छन् । भविष्यका इतिहासकारहरुलाई यो भन्दा बेसी के प्रमाण चाहियो कि यी सब कुराको अतिरिक्त समितिका धेरै जसो सदस्यहरु भारतीय छन् । ऐतिहासिक प्रामाणिकताको आधार यस ग्रन्थमा पर्याप्त छ – केवल छैन केही कुरो भने सत्यता, ऐतिहासिक वास्तविकता । यो किताबका प्रत्येक पृष्ठ असत्य र अर्धसत्य र असत्य संकेतले भरिएको छ । मलाई इतिहासको अध्ययनप्रति बडो शंका यसै कारणले हुन थाल्यो । झन् नेपालको इतिहासको आधार अहिलेसम्म मथि उल्लेख गरिएका आधारको अतिरिक्त अरु केही छैन । मल्लवंश र शाहवंशको विरुदावलीबाहेक – र राणा प्रधानमन्त्रीहरुको पनि – अरु के छ र ? साहित्य र कलाको माध्यमबाट इतिहासको क्रमिकता स्थापित गर्न सजिलो पर्दैन र त्यतापट्टि नेपाली इतिहासकारको ध्यान पनि गएको छैन ।”