थुनाबाट लेखिएको पहिलो बिन्तिपत्र

“बेलुका ७ बजेतिर रमेश हठात् मसँग भेट्न आए । उनले १ गते राजासँग भेटेका रहेछन् र त्यसै बखतमा मसँग भेट्न पाऊँ भनी भनेका रहेछन् । रमेशले मेरो र राजाको बीच सम्झौता हुनुपर्छ र सम्भव छ भन्ने विश्वास राखेर राजालाई भेटेका रहेछन् ‘म २० वर्षको युवक हुँ, र शुद्ध देशहितलाई ध्यानमा राखेर सरकार र बीपीसँग सम्झौता हुनुपर्छ भन्ने मेरो विश्वास छ ।” (२६/७/१९६३)

“बीपीको सरकारप्रतिको भावना र सरकारको बीपीप्रतिको भावनालाई बुझ्दा मलाई लाग्छ कि ‘वर्तमान गत्यावरोध कुनै भ्रमबाट उत्पन्न हुन गएको छ जो दुवैका बीच साक्षात्कार भएपछि स्वः हटेर जान्छ’ भन्ने किसिमको कुरा उनले राजासाग गरेछन् । राजाले पनि मेरो बारेमा प्रशंसाका वाक्यहरु भनेछन् र भनेछन् कि बीपी मात्र एउटा योग्य नेता छन् नेपालमा । अरु त अल्मलिएका छन्, नेता हुने खालको छैनन् ।” (२६/७/१९६३)

“रमेशको आग्रह छ कि म राजालाई भेटूँ र त्यसका लागि एउटा चिठी पनि उनलाई, राजालाई लेखूँ.। यस अर्थमा मैले पहिलो कदम (इनिसिएटिभ) लिनुपर्छ । राजा सम्झौताका लागि इच्छुक छन् भन्ने पनि उनको धारणा छ, त्यसकारणले नै उनलाई मसँग भेट्ने अनुमति दिएको हो रे । राजाको मप्रतिको भावनाको बारेमा पनि उनको भनाइअनुसार उनमा आदरको भावना छ मेराप्रति र जस जसलाई उनले भेटें– विदेशी पत्रकारहरु सबैलाई उनले मेरो तारिफमै कुरा गरे रे । यदि मैले प्रथम चाल चलें भने राजाका तर्फबाट पनि समुचित कदम चालिनेछ र वर्तमान गत्यावरोध छिट्टै दूर हुनेछ । राजाको हिन्दुस्तान र अरु मुलुकहरुको भ्रमणभन्दा पहिले यी सब कुरा भइसक्नुपर्छ – अर्थात् सम्झौता भइसकेर राजनीतिक बन्दीहरुको रिहाइ र बाहिरिएका राजनीतिकहरुलाई एमनेस्टी । उनी बाहिर जानुभन्दा पहिले यी सब कुरा हुन सकेनन् भनेपछि धेरै दिनका लागि गत्यावरोध यथास्थितिमा रहन जानेछ किनभने बाहिरको भ्रमणमा जाँदा राजाको स्वभाविक इच्छा हुन्छ कि गत्यावरोध हटाएर गौरव आर्जन गरेर बाहिर जाऊँ ।”(२६/७/१९६३)

[रमेशका कुराका अरु बुँदाहरुः भारत भरपर्दो छैन। राजासंग सहमति गर्न उद्यत छ। वेलायतिहरु उदासिन छन्। अमेरिकी द्रिस्टिकोण अनुकुल छ तर सहयोग गर्ने उपाय छैन। सोभियत संघ मित्रवत छ। राजा र हिन्दुस्तान सहमिति मा आउदैगर्दा चीन सहयोही हुने सम्भावना छ। सुवर्ण तथा अरुहरुले केहि गरेको देखिंदैन। जेलमा भएका साथिहरुमा राजनीतिक विकास नदेखिंदा कुण्ठ देखिन सक्छ। म मुक्त भएभने ‘फोकल प्वैण्ट’ को सिर्जना हुनसक्छ।] (२६/७/१९६३)

यहाँ भेट्न आउनुभन्दा पहिले सि. एन. सी. (नीरस) ले एउटा कागजमा रमेशको दस्तखत गराएछन् जसको अभिप्राय यसप्रकारको छ – राजा र बीपीमा राम्रो वार्ता भएर भ्रम हट्न जानेछ भन्ने रमेशले बिन्ती गरेकोमा उनलाई बीपीसँथ भेट्न अनुमति बक्सेकाले – इत्यादि इत्यादि ।(२६/७/१९६३)

“आज राजालाई भेट्न पाऊँ भनेर चिठी लेखें ।” (२७/०७/१९६३)

“राजाका उत्तरका लागि पर्खिदाँ पनि केही सुचना आएन । रमेशको भनाइबाट त राजाले मसँग भेट्न ढिला गर्नेछैनन् भन्ने लागेको थियो । आजसम्म पनि राजाकहाँबाट सूचना नआउँदा कुनै षडयन्त्र त फेरि उनबाट रचिएको छैन भन्ने आशंका हुन्छ । राजको कुरामा बिश्वास गर्न मन लाग्छ यद्यपि बारम्बार त्यसबाट मलाई धोखा भएको छ आजसम्म ।” (२८-३१,०७/१९६३)

“राजनीतिक दृष्टिबाट पनि अहिले हामी एकदम परास्त भएका छौं । बाहिरका मानिसहरु मबाट केही कदम, जसले स्थितिमा सुधार आउने सम्भावना हुन्छ, चालिएला भन्ने आशा लिएका छन् रे । २ महिना पहिले मैले रमेशको आग्रहमा राजालाई लेखेको चिठीमा मेरो तर्फबाट ‘इनिसिएटिभ’ लिइएको प्रमाण पुगेन रे, त्यसो हुनाले शब्द मिलाएर फेरि लेख्नुपर्छ भन्ने विचार बाहिरका मानिसहरुको छ रे । जेपी पनि शायद यस्तै विचार राख्नुहुन्छ रे भन्ने आमाको धारणा छ । मैले भनें कि राजा माफीको पत्र चाहन्छन्, जो मबाट हुन सक्तैन । मेरो ‘इनिसिएटिभ’ को कुनै अर्थ छैन, यदि राजा सम्झौताको पक्षमा छैनन् भने, र अहिले त पूर्ण विजयी भएको छु भन्ने भावना होला उनलाई, जुन स्थितिमा उनलाई हामीसँग सम्झौता गर्ने कुनै खाँचो पनि छैन । त्यसो हुनाले यहाँबाट मैले कुनै प्रभावयुक्त कदम चाल्न सक्छु भन्ने आशा बाहिरकाले नगरुन् भनी आमालाई भनें र आमालाई यो पनि भनें कि हामी चाँडै छुटछौं भन्ने आशा नगर्नु होला – हाम्रो लामो जेलजीवनका लागि तयार रहनुहोला भनी भनें । आमाले पनि भन्नुभो– ‘त्यो त हामीले आफैले पनि सोचेका छौं ।’ ” (२१/१०/१९६३)
 

बीपी कोइराला
जेल जर्नल
Facebook
Twitter
LinkedIn

Related Posts