हाम्रो दु:खपिडाको के उद्देश्य ?

“यसपालि उनको आमासाग भेटेपछि रामनारायण बडो ठूलो संकट (क्राइसिस) मा परें । ८ दिनजति यति विकल भए रे कि कोठाभित्र एक्लै बसेर अँध्यारोमा आँसु झारिरहे । उनैले भनेको । गीताको द्वितीय अध्यायलाई बारबार पढेर नवौं दिनमा उनले आफूलाई रोकथाम गर्न सके रे । भन्थे– गीताले अरु कसैलाई सान्त्वना प्रदान गर्यो वा गरेन तर मलाई त्यसैले यसपालि जीवन प्रदान गर्यो । मलाई लाग्यो–म बडो ठूलो मोहमा डुबेको मानिस रहेछु इत्यादि… ।”

“हिजो उनले प्रश्न गरे मलाई – हाम्रो ‘सफरिंग’ (तपस्या वा दुःख) को के उद्देश्य? उनको यस प्रश्नको लक्ष्यलाई ध्यानमा राखेर मैले भनें – (लक्ष्य स्पष्ट थियो कि हाम्रो जेलयातना निस्प्रयोजनीय छ) कि यो यातना हाम्रो आफ्नो आस्था र विश्वासको अनुसार कार्य गर्दा भोग्नुपरेको परिणाम हो । यसबाट मोचन त्यस अवस्थामा नै सम्भव छ जब कि – यदि हाम्रो सर्वथा पराजय भइसकेको भए – हामी आफ्नो विश्वासलाई छाडेर गरेका कार्यका लागि खेद गर्दै क्षमा याचक होऔं र, यदि पराजय अस्थायी मात्र हो भने वर्तमान यतनालाई विश्वासअनुरुप हम्रो कार्यरतता हो भन्नुपर्छ । त्यसो हुनाले दुःखलाई परिणाम सम्झेपछि प्रयोजनको प्रश्न उठ्दैन, किनभने परिणाम भूतकालका क्रियाहरुको वर्तमानता हो, त्यसले अतीतपट्टि लक्षित हुन्छ, प्रयोजन सोद्देश्य हुन्छ भविष्याभिमुख हुन्छ त्यो । यदि रामनारायणको प्रश्न यो हो कि हाम्रो अहिलेको जेलको कष्टले भविष्यमा कुनै लाभको आशा छैन भने किन यो कष्ट भोग्नु– यस प्रश्नलाई व्यक्तिगत (नैतिक) र राजनीतिक दृष्टिले विचार गर्नुपर्छ । नैतिक दृष्टिबाट राजाको उद्देश्य हामीलाई भाँच्नु छ माफी मगाएर ।”

“राजनीतिक कुरालाई पन्छाएर राखेपनि यदि हामी यातनालाई खप्न नसकेर माफी माग्न गयौं भने हाम्रो नैतिक भावनालाई यत्रो ठूलो आघात पर्नेछ कि जीवन पर्यन्त हामी आफैलाई धिक्कारी रहनेछौं । असम्मानको जीवनभन्दा सम्मान–युक्त मृत्यु हामीलाई मन पर्छ । हाम्रो यो यातना सम्मानको रोजाइ हो, र यदि राजनीतिक दृष्टिबाट विचार गर्ने हो भने पनि हाम्रो यो यातना निष्प्रयोजनीय छ भन्न सकिन्न, किनभने लक्ष्य प्राप्तिका लागि खेपेको यातना कहिल्यै पनि विफल भएको छैन । कमसेकम प्रेरणाको रुपमा मानिसको हृदयमा त्यो बलिरहन्छ र भावी सन्तानलाई यदि हामी आफ्नो दुःख भोगाइले केही प्रेरणाको (रिक्थ) उत्तरलव्धि (इन्हेरिटेन्स) छाड्न सक्यौं भने पनि के यातना सोद्देश्य भएन र?”

“रामनारायण अत्यन्त कमजोर भएका छन्, गीताले उति शक्ति दिएनछ क्यारे । केवल रुँदा रुँदा थाकेर शिथिल भएको अवस्थामा गीताको द्वितीय अध्यायको आकस्मिक पाठले शिथिलतालाई सान्त्वनाको भान हुन गएको थियो क्यारे उनलाई, र जब मैले उनको प्रश्नको वास्तविक लक्ष्यपट्टिउनको ध्यान आकर्षित गरेर उत्तर दिन थालें, उनले मेरो उत्तरमा उनको कमजोरी लक्षित छ भन्ने बुझेर अर्को प्रश्न गरे– आजको यातनाको अवस्थामा हामीले सोच्नुपर्छ कि यो परिणाम किन भो – के गल्ती हामीले गर्यौं इत्यादि…” मलाई लाग्यो कि यो प्रश्न उचित हो, र भनें– हामीले निश्चय नै आफ्ना पहिलेका कार्यकलापको राम्रो विश्लेषणयुक्त समीक्षा गर्नुपर्छ जसले भविष्यमा हाम्रा कार्य बढी सुपरिणामदायक सिद्ध हुन् ।”

‘मलाई यहाँ धेरै विचार गर्दा– घोरिएर सोच्ता पनि यस्तो लाग्दैन कि कुनै भयंकर त्रुटि हाम्रो भएको थियो पार्टी सञ्चालनमा या राजनीतिक निर्णय लिँदा या कुनै राजनीतिक कदम चाल्दा । त्यसो त ईश्वरमात्रै गल्ती नगर्ने क्षमता राखेको तत्व मानिएको छ; मानिसलाई त्यो क्षमता उपलब्ध छैन; त्यसो हुनाले गल्ती भएकै छैन भन्न हुँदैन । तर परिणामबाट निर्णय दिने हो भने – आम–चुनावले यो सिद्ध गरिदिएको थियो कि नेपाली कांग्रेसको राजनीति सफल राजनीति थियो । आम–जनताको आधारमा प्रजातान्त्रिक पद्धत्तिको राजनीतिको उद्देश्य भएको हाम्रो पार्टीलाई आम चुनावको निःशंक विजय– त्यसको सफलताको ठूलो प्रमाण थियो । पार्टीले ठूला ठूला विरोध राजाका; हिन्दुस्तानका, अरु सबै पार्टीका– को समाना गर्दा–गर्दै पनि प्रायः १० वर्षको वनबास (विल्डरनेस) मा रहनुपर्दा पनि चुनावमा बहुमत प्राप्त गर्नु पार्टीको सञ्चालनको कुशलता (नेतृत्व) को प्रमाण होइन भने अरु के हो त ?”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *