शर्माको ‘शान्त प्रस्थान’

 कार्तिक ११, २०७२- आफ्नो जीवनकै अन्तिम लेखमा संविधानविद् गणेशराज शर्माले लेखेका थिए– ‘आगामी संविधानको सम्बन्धमा व्यक्ति र समूहपिच्छे देखिएका बेग्लाबेग्लै अमूर्त धारणाले गर्दा संविधानको निर्धारणमा होइन, त्यसको अनुमोदनमा मात्र नेपाली नेतृत्वको भूमिका हुने प्रबल आशंका छ। किनभने नेपालमा क्रियाशील यस संकटको केन्द्रविन्दु नेपाली राजनीतिज्ञहरू र नेपाली जनताको काबुभन्दा बाहिर छ भन्ने कुराको लामो वृत्तान्त यहाँ आवश्यक पर्ने छैन।’(हिमाल खबरपत्रिका २०६६ वैशाख १–१५) शर्माले भविष्यवाणी गरेको साढे ६ वर्षपछि नेपालमा पहिलोपल्ट जनप्रतिनिधिले बनाएको संविधान जारी भएको छ। असोज ३ गते संविधान जारी भएको २४ घण्टा नबित्दै त्यसमाथि आन्तरिक र बाह्य संकटहरू सुरु भए। र, यस्तो भविष्यवाणी गर्ने शर्माचाहिँ मंगलबार अपराह्न ३ बजेर ३५ मिनेट जाँदा बितेका छन्।

शर्माको ७९ वर्षको उमेरमा राजधानीको धोबीधारास्थित निवासमा देहान्त भयो। पत्नी निर्मलाका अनुसार उनी पाँच वर्षयता स्मरणशक्ति लोप हुने रोग डिमेन्सियाबाट ग्रस्त थिए। अढाई वर्षयता त्यो असाध्य भएको थियो।

शर्मा १९९३ साल वैशाख २६ गते बाराको रामपुरमा जन्मेका थिए। उनको परिवार काठमाडौं साँखुनजिकै पालुबारीबाट उतै बसाइँ सरेको थियो। बनारस हिन्दु विश्वविद्यालयबाट कानुनमा स्नातक शर्मा नेपालमा संगठित कानुन व्यवसायको प्रारूप तयार पार्ने, न्याय प्रशासनलाई स्थापित गराउने अग्रणी व्यक्तित्व मानिन्छन्। वरिष्ठ अधिवक्ता विपिन अधिकारीको भनाइमा नेपालमा आधुनिक कानुनको सिद्धान्त अभ्यास गर्ने प्रतिभाशाली व्यक्तित्वमा तीन जनाको नाम आउँछ– कुसुम श्रेष्ठ, कृष्णप्रसाद पन्त र गणेशराज शर्मा। अधिकारी दाबी गर्छन्, ‘नेपालको कानुनी इतिहासमा शर्माले दिएबराबरको योगदान अरू कुनै कानुन व्यवसायीको छैन।’

समयक्रममा डा. केआई सिंह हुँदै बीपी कोइरालाका पक्षमा बहस गरेका शर्माले बीपीको बहुचर्चित आत्मवृत्तान्तको टेपरेकर्ड उतार गरी प्रकाशन गराएका थिए। बीपी–पत्नी सुशीलाकी बहिनी निर्मलासँग बिहे गरेका शर्माले बीपीको वकिलका रूपमा पटक–पटक विशेष अदालतमा बहससमेत गरे। २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीति लिएर भारतबाट फर्केका बीपीमाथि पञ्चायती सरकारले सातवटा मुद्दा लगाएको थियो। अधिकारीका अनुसार त्यस बेला झगडियाले वकिल राख्न पाउने व्यवस्था भए पनि अदालतमा बयान दिँदा भने वकिल राख्न पाइने परम्परा थिएन। वकिलको उपस्थितिलाई आधिकारिक मान्न नसकिने त्यो बेला बीपीले विशेष अदालतमा अड्डी लिए, ‘म मेरो वकिलको उपस्थितिमा मात्रै बयान दिन्छु।’ पञ्चायती सरकारलाई बीपीको अडान मान्न करै लाग्यो। बीपीले उनै शर्माको उपस्थितिमा बयान दिए। उसबेला निकै चर्चित मानिएका बयानमा शर्माको निर्णायक भूमिका रहेको बताइन्छ। ‘शर्माले क्रान्ति किन गरिन्छ, क्रान्तिको वैधानिकता के हो, क्रान्तिले स्थापित गरेका मान्यतालाई कानुनी रूपमा व्याख्या गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा विशद् संवैधानिक बहस गराइदिनुभयो,’ अधिकारीले भने ।

‘२००७ को परिवर्तनले राज्य साझा सम्पत्ति हो भन्ने मान्यता स्थापित गरेको थियो। तर क्रान्तिबाट राज्य स्थापित भएपछि कानुनको शासन महत्त्वपूर्ण हुने भए पनि पञ्चायत कानुनको शासन स्थापित गर्न असफल भएको शर्माले तर्क गर्नुभएको थियो,’ उनले भने। बीपीका थुप्रै भाषण, अन्तर्वार्ता र लेखरचनाको सम्पादन, अनुवाद शर्माले गर्ने गरेका थिए। शर्माप्रति विश्वस्त भएर बीपीले आफ्ना अप्रकाशित रचनाहरू उनैलाई सुम्पेका पनि थिए। शर्माको सम्पादनमा परेका कतिपय रचनामा बीपीको छाप नभेटिने भनी आलोचनासमेत हुने गरेको छ। तर शर्माको नैतिक प्रतिबद्धतामाथि प्रश्न उठाउने साहस कसैको नभएको भनी जिकिर गर्नेहरू पनि छन्।

नेपालमा संविधानवादलाई बलियो बनाउन सर्वोच्च अदालतले निर्माण गरेका थुप्रै व्यवस्थाहरूमा शर्माको भूमिका रहेका उनका समकालीनहरू बताउने गर्छन्। शर्माको नैतिक निष्ठा र संवैधानिक प्रतिबद्धताको परख गरेका तत्कालीन राजा वीरेन्द्रले कानुनी संवैधानिक विषयमा निरन्तर सल्लाह लिइरहने गरेको अधिकारी बताउँछन्। ‘नेपालको संवैधानिक र कानुनी इतिहासमा बाँकी सबैको योगदान र उहाँको योगदान तुलना गर्दा उहाँकै पल्ला भारी हुन्छ,’ नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराईले भने, ‘भ्रष्टाचारमुक्त न्यायपालिका र लोकतन्त्रका लागि लड्ने र बौद्धिक चिन्तन गर्ने अर्को गणेशराज शर्मा बारमा जन्मन सकेको छैन।’

कुलीन परिवारमा हुर्केर पनि शर्माको जीवनमा कुनै तडकभडक थिएन। प्रधानमन्त्री छँदाताक गिरिजाप्रसाद कोइराला बुवाकहाँ सल्लाह लिन आइरहने गरेको छोरा अक्षयले यो संवाददातालाई दुई वर्षअघि सुनाएका थिए। ‘सानो बुवा (गिरिजाप्रसाद) ले न्यायाधीश, राजदूत, महान्यायाधिवक्ताजस्ता नियुक्ति लिन आग्रह गर्नुहुन्थ्यो, बुवाले कहिल्यै मान्नुभएन,’ अक्षयले भनेका थिए।

नजिकैबाट चिन्ने स्पटलाइट म्यागजिनका सम्पादक केशव पौडेल शर्माको आखिरी इच्छा सम्झन्छन्, ‘म जसरी आएँ, त्यसरी नै जान पाउँm। कुनै भारी भरकम प्रशस्ती प्रशंसा, बाजागाजा, उत्सवबिना मेरो शान्त प्रस्थान होओस् भन्ने चाहन्छु।’ शर्मा जीवित छँदै धोबीधारास्थित निवास पुगेर उनीमाथि लामो आलेख तयार पार्न खोज्दा छोरा अक्षयले एउटै जवाफ फर्काइरहे, ‘उहाँले जीवनभरि कुनै प्रचार, पद र प्रतिष्ठाको आस गर्नुभएन। अहिले अवस्था यस्तो छ। कृपया उहाँको इच्छा पूरा हुन दिइदिनुस्।’

शर्माका तीन छोरी र दुई छोरामध्ये अक्षय पनि हृदयाघातबाट एक वर्षअघि बितेका छन्। संविधान कार्यान्वयनको घडीमा उच्च नैतिक धरातल बोकेका नि:स्वार्थ व्यक्ति नफर्कने गरी कतै गएका छन्। मंगलबार साँझ पशुपति आर्यघाटमा शर्माको अन्तिम संस्कार भएको छ। पत्नी निर्मलाले मंगलबार राति कान्तिपुरसँग भनिन्, ‘उहाँले धेरै कर्महरू छाडेर ज ानुभएको छ। देशले चाह्यो भने अझै पनि लाभ लिन सक्छ।’

र, संविधान निर्माणसँगै नेपाल–भारत सम्बन्धको दूरी बढेको छ। मधेसलगायत क्षेत्रमा असन्तुष्टि बढेका छन्। यस्तोमा संविधानको कार्यान्वयन कसरी सम्भव होला? हाम्रा जिज्ञासाहरूको जवाफ फर्काउन अब शर्मा छैनन्। तर सोही अन्तिम लेखमा उनले गरेको यो टिप्पणी मननयोग्य छ– ‘विगतमा उल्लिखित गम्भीर विचलनहरू नेपालीहरूबाटै नगरिएको भए नेपालले अझ बढी शान्ति र स्थायित्वको लाभ लिन सक्ने थियो। अब आगामी निर्णायक ठाउँमा रहेको जोसुकैले विगतका यी गम्भीर र आत्मघाती विचलनहरूबाट जोगिने क्षमता कति राख्छ, त्यसैमा नेपालको आगामी संवैधानिक स्वरूप प्रकट हुनेछ।’

डा. विपिन अधिकारी
http://kantipur.ekantipur.com/news/2015-10-28/20151028074931.html
http://kantipur.ekantipur.com/news/2015-10-28/20151028074931.html
Facebook
Twitter
LinkedIn

Related Posts