बुद्धका सम्बन्धमा बीपीको दृष्टिकोण

बुद्धका सम्बन्धमा बीपीको दृष्टिकोण

नेपालमा जन्मेका विश्व प्रसिद्ध तथा सम्यक विचारका कारण धर्मशास्त्रमा धेरैअघि नै स्थापित भगवान् बुद्धका बारेमा स्व. बीपी कोइरालाको चिन्तन अनुसन्धानको विषय हो । यसका दुई पक्ष छन् । पहिलो पक्ष राजनीतिसँग सम्बन्धित छ र दोस्रो पक्ष अध्यात्मसँग ।

८० वर्षको जीवन बाँचेर समाधि लिएका सन्यासी बुद्ध दुवै दृष्टिले एउटा महत्त्वपूर्ण व्यक्ति देखिन्छन् । बीपीले यी दुवै पक्षमा उनका बारेको आफ्नो संक्षिप्त दृष्टिकोण स्पष्ट गरेको देखिन्छ ।

बुद्ध एउटा बलियो परिवर्तनकारी शक्ति थिए । उनले आफूलाई भगवान् भएको दाबी गरेनन् । उनले आफूलाई सम्बोधि प्राप्त गरेको वा अन्तिम सत्यको साक्षात्कार गरेको व्यक्तिका रूपमा मात्र प्रस्तुत गरे । तर, भक्तहरूले उनलाई एक आदर्श तथा तत्वज्ञानी पुरुषका रूपमा भगवान् नै भने ।

बीपीको भनाइमा परिवर्तनकारी शक्तिका रूपमा इतिहासमा बुद्धबाहेक अरू कोही पनि त्यति धेरै सफल हुन सकेनन् । उनको परिवर्तनको राजनीति चलाकीको राजनीति थियो । बुद्धले जनसाधारणलाई भन्दा राजपुत्रहरूलाई आफ्नो सम्पर्कमा राखे । त्यसबाट उनको काम–कारबाही सहज हुन सक्यो ।

बुद्धकालीन यस जम्बुद्वीपमा त्यतिखेर १६ महाजन पदहरू थिए भनिन्छ । बौद्धग्रन्थ अंगुत्तर निकायानुसार यसमा १६ महाजन पदहरू, १० गणतन्त्रहरू र चार राज्यहरू उल्लेख गरिएको छ । १६ महाजन पदहरूमा अंग, मगध, काशी, कोशल, बज्जी, मल्ल, चेति, वशं (वत्स), कुरु, पंचाल, मत्स, सुरसेन, अस्सक, अवन्ती, गान्धार र कम्बोज पर्दथे ।

चार राज्यहरूमा मगध, कोशल, वंश रअवन्ति थिए । १० गणराज्यहरूमा साकिय, मोरिय, कोलिय, बुलि, कालाम, विदेह, भग्ग, लिच्छवि, पावा मल्ल र कुशीनगर हुन् । नेपालको कपिलवस्तु पनि गणराज्य नै थियो । यी मध्ये उत्तरी क्षेत्रका कतिपयका शासकहरूलाई बुद्धले राम्रैसँग प्रभावित गरे । जुन राज्यहरूलाई परिवर्तन गर्नुपर्ने हो, सो राज्यका शासकहरू प्रभावमा आउनु भनेको उनीहरूतर्फबाट अड्चन वा प्रतिरोध नहुनु हो ।

मगधका राजा बिम्बिसार तथा उनका छोरा अजातशत्रु बौद्ध धर्मका अनुयायी नै बने । बुद्धको पार्थिव शरीरको दाहसंस्कारपछिको अवशेष कसले लैजाने भन्ने मगधका राजा अजातशत्रु, कपिलवस्तुका शाक्य र वैशालीका लिच्छविबीच भएको झगडा शान्त नभएपछि द्रोण भन्ने एक ब्राह्मणको अग्रसरतामा बुद्ध अवशेष आठ भागमा बाँडेर राज्यहरूलाई दिइएको बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

आठवटै राज्यहरूले आ–आफ्नो राज्यमा आठवटा स्तुप बनाई ती अवशेष राखेका थिए । भनिन्छ, पछि सम्राट अशोकले ती अवशेष निकालेर पुनः जम्बुद्वीपका ८४ हजार स्तुपहरूबीच बाँडेका थिए । यसबाट बुद्ध राजाहरूबीच कति प्रभावशाली थिए भन्ने बुझ्न सकिन्छ ।

यी सबै राजाहरूलाई बुद्धले आफ्नो ज्ञान, प्रतिभा र तर्क क्षमताले गलाएका हुन् । शासक वा राजाले बुद्ध धर्म अपनाएपछि जनता पनि त्यहि बाटो हिँड्न खोज्नु स्वाभाविक नै थियो । परिवर्तनका लागि बुद्धले रक्तपात गर्नु परेन । त्यसैले बीपीले बुद्धलाई सकारात्मक अर्थमा ‘चलाक’ भनेका हुन् ।

बीपीको भनाइमा “त्यसबखत ब्राह्मण र क्षेत्रीहरूको बडो ठूलो संघर्ष थियो । ब्राह्मणको खिलाफमा यो आन्दालेन थियो । ब्राह्मणहरूको हातमा हातहतियार हुँदैन थियो, बुद्धिबल मात्र हुन्थ्यो । हातहतियार क्षेत्रीयहरूसँग हुन्थ्यो । त्यस हुनाले उत्तर भारतका तमाम क्षेत्रीयहरूलाई बुद्धले आफ्नो मतअन्तर्गत ल्याएका थिए । त्यो मगधका राजा हुन् वा अरू कुनै ठाउँका, यिनले राजपुत्रहरूलाई मात्र परिवर्तन गरे । त्यस हुनाले जो मुकाबिला गर्नुपर्थ्यो विरोधको, त्यो यिनले गर्नु परेन । नत्र दुनियाँको कुनै पनि ठूला नेता बडो सफल भएर मरे भन्ने देखिन्न, त्यस दृष्टिबाट । तर, मेरो दृष्टिबाट त ती बुद्ध सफल नै भएका हुन् ।”

भगवान् बुद्धको निर्वाणको व्याख्या महत्त्वपूर्ण छ । यसको शाब्दिक अर्थ ‘निभेको’ भन्ने हो । जस्तो निभेको आगो, निभेको दियो । मान्छेको लोभ, मोह, आकांक्षा वा तृष्णाहरू समाप्त भएको अवस्थालाई निर्वाण भन्दछन् । तृष्णा र वासनाले नै दुःख हुन्छ । यो समाप्त भएको अवस्था निर्वाण हो । त्यसैले निर्वाण बुद्धत्वको त्यस्तो स्थिति हो, जसमा व्यक्ति सांसारिक मोह बन्धनबाट मुक्त भएर अनासक्त, निर्भिकार र निर्लिप्त भावले होसपूर्ण जीवन बाँच्दछ ।

बुद्धको भनाइमा भिक्षुहरूको संसार अनादि छ । अविद्या र तृष्णाबाट सञ्चालित भएर प्राणीहरू भत्किँदै हिँडेका छन् । उनीहरूको आदि र अन्तको पत्तो पाइँदैन । भावचक्रमा परेको प्राणाी अनादिकालदेखि जन्मँदै मर्दै आएको छ । अब भने मान्छेले सबै संस्कारहरूबाट निर्वेद प्राप्त गर्नुपर्दछ ।

वैराग्य प्राप्त गर्नुपर्दछ । मुक्ति प्राप्त गर्नुपर्छ । बुद्धको भनाइमा सबै दुःखको मूल संस्कार हो । यस तत्वलाई जानेर तृष्णा र संस्कारलाई मासेर नै मान्छेले निर्वाण पाउँदछ ।

कुषाण वंशका प्रमुख सम्राट कनिष्ट (शासनकाल लगभग १२७ ई. देखि १४०–५१ ई. सम्म)का समकालीन अश्वघोष एउटा महान् बौद्ध कवि र दार्शनिक थिए । बुद्ध दर्शनको इतिहासमा मात्र नभई संस्कृत काव्यको सम्पूर्ण परम्परामा उनको एउटा विशिष्ट स्थान छ ।

महाकवि अश्वघोष आदिकवि वाल्मीकिको एउटा महत्त्वपूर्ण उत्तराधिकारी थिए । उनी कालिदास र संस्कृत साहित्यका प्रसिद्ध नाटककार भासका पूर्वगामी मानिन्छन् ।

‘सौन्दरनन्द’ काव्य अश्वघोषले नै लेखेका हुन् । यसमा भगवान् बुद्धले आफ्ना पिता शुद्धोधन तथा सानिमाका छोरा (भाइ) नन्दलाई उनको प्रभावमा आएर सांसारिक भोगविलास त्यागेर प्रवज्या ग्रहण गरेको विषयलाई काव्यात्मक तरिकाले वर्णन गरेका छन् । बीपी महाकवि अश्वघोषका बारेमा जानकार देखिन्छन् ।

बीपीको ‘जेल जर्नल’मा सौन्दरनन्द काव्यलाई उल्लेख गरिएको छ । बुद्धलाई अनुशरण गर्दै अश्वघोषले आफ्नो सौन्दरनन्द काव्यमा “निभेका दीप न त पृथ्वीमा जान्छ, न अन्तरिक्षमा, न कुनै दिशामा विदिशामा पुग्दछ । प्रत्युत, तेलको क्षय भएपछि त्यो केवल शान्तिमा प्राप्त हुन्छ । त्यस्तै, ज्ञानी, बोधिप्राप्त पुरुष न त पृथ्वीमा, न कुनै आन्तरिक, दिशा वा विदिशामा पुग्छ । त्यो पुरुष क्लेशको क्षय भएपछि शान्तिमा प्राप्त हुन्छ” भन्ने दृष्टिकोण बीपीले उल्लेख गरेका छन् ।

अर्को बौद्ध ग्रन्थ ‘लंकावतारसूत्र’ पनि जेल जर्नलमा उल्लेखित छ । योगाचारको सबैभन्दा महत्त्वपूर्ण रचना लंकावतारसूत्र हो । यो एउटा गम्भीर दर्शन मानिन्छ । यसले चित्त विज्ञानको विश्लेषण गरेको छ । यसमा भगवान् बुद्धले सम्बोधन गरेका छन् । यस ग्रन्थको सम्बन्ध लंकासँग छ ।

बुद्धले यसको उपदेश लंकाका राजा रावणलाई दिएका थिए भन्ने मानिन्छ । तर, कालखण्ड फरक देखिएकाले यो बुद्ध शाक्यमुनि नभएर अन्य कोही बुद्ध हुन सक्दछ वा ‘रावण’ शब्द जो लंकावतारसूत्रको प्रथम अध्यायमा प्रयोग भएको छ, त्यो केवल काल्पनिक विषय मात्र हुन सक्दछ ।

यस लंकावतारसूत्रको प्रथम अध्यायमा बुद्धले आफ्ना अनेक अवतारको परम्परामा एकपल्ट लंका नगरीनजिकै कुनै मलय पर्वतमा आफ्ना अनेक शिष्यहरूसहित सहसा अवतीर्ण भएको उल्लेख छ । आफ्नो ओजस्वी वाणीबाट बुद्धले धर्मोपदेश दिँदै गरेको यक्ष राजा रावणले थाहा पाएपछि उनी पनि भगवान्को दर्शनका लागि त्यहाँ पुगेको यसमा चर्चा छ ।

लंकावतारसूत्रको निचोडलाई बीपीले यसरी उल्लेख गरेका छन््, “निर्वाण न त म जन्मको तिरो मान्छु, न त्यसलाई नष्ट हुनुको अर्थमा लिन्छु । निर्वाण त्यस वस्तुस्थितिको बोध हो, जसले ठिक आफ्नो स्वाभाविक रूपलाई सूचित गर्छ । आफ्नो चित्तवृत्तिहरू पूर्णतः बदलिएपछि त्यस्तो ‘परिवृत्ति’ (आमूल परिवर्तन) आफूमा आएको अनुभव होस् कि स्वयम् आफैँद्वारा आफ्नो बोध हुन थालोस्, त्यस स्थितिलाई म निर्वाण भन्छु ।”

अतः बीपीले बुद्धभन्दा फरक अर्थमा निर्वाणको व्याख्या गरेका छन् ।

बीपीको भनाइमा मुक्तिको युक्तायुक्तता परिणाम हो ‘शेष हुनु’ । यसलाई बुद्धले तर्क संगतिद्वारा निर्वाण (निभ्नु) भनेका छन् । तापको शेष हुनु निभ्नु हो । आगोको शेष निर्वाण हो । जीवनको शेष मुक्ति । यसरी आध्यात्मवादीहरू जीवनमा निहित समस्याको समाधान जीवनको शेषद्वारा गर्न चाहन्छन्।

अतः बीपीको प्रश्न छ, “यो कपाल दुखेको औषधि शिरच्छेदन हो भनेजस्तो भएन त ?”
यहाँ भने बीपी शंकालु देखिन्छन् ।

(काठमाडौँ विश्वविद्यालय स्कुल अफ ल / जुम कार्यपत्र / भदौ २३, २०७८ / असोज २३, २०७८ मा १२खरी डिजिटल न्युज मा पुनः प्रकाशित)