‘हिटलर र यहुदी’ मा मानव चेतना

‘हिटलर र यहुदी’ मा मानव चेतना

उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक दर्शनको एउटा दरिलो पाटो उनको ‘हिटलर र यहुदी’ भन्ने सानो उपन्यासमा पाउन सकिन्छ ।

यस उपन्यासको पृष्ठभूमि दोस्रो विश्वयुद्ध हो । पहिलो विश्वयुद्धले सिर्जना गरेको सामरिक गुटबन्दी, उपनिवेशवाद, हतियारहरूको प्रदर्शन तथा राष्ट्रवादको लडाइँको निरन्तरताका रूपमा इतिहासमा हिटलरको उदय भएको हो । उनले राष्ट्रवादलाई विकृत रूपमा नश्लवादमा प्रवेश गराए । हिटलरको भनाइ थियो उनको मुलुक जर्मनी संसारको सबैभन्दा ठूलो शक्ति राष्ट्र हुन्छ वा देशका रूपमै रहँदैन । यसका लागि लडाइँ लड्नुपर्छ, नलड्नेलाई बाँच्ने अधिकार छैन । राष्ट्रिय, समाजवादको सैद्धान्तिक आवरणमा पहिलो विश्वयुद्धपछि जर्मनीमा स्थापना भएको नाजी पार्टी हिटलरको संगठनको आधार बन्न पुग्यो ।

जर्मन नाजी पार्टीको विकास क्रमशः भएको देखिन्छ । उनले झुटो अभिमान डर, त्रास तथा जर्मन जातिको विशिष्टता देखाएर यसका सदस्यहरू बढाउँदै लगे । सन् १९२३ मा नै हिटलरले जर्मन सरकारलाई वैधानिक सत्ताबाट मिल्काउने प्रयत्न गरे । तर सकेनन् । यसपछि उनलाई ५ वर्षको जेल सजाय सुनाइयो । जेलमा हुँदा उनले आफू र आफ्नो राजनीतिक दृष्टिकोणले भरिएको ‘मेन क्याम्फ’ (मेरो संघर्ष) नामको पुस्तक पनि लेखे । यसमा उनले नाजी पार्टीको सिद्धान्त्तहरूलाई विवेचना गरेका थिए । सन् १९३२ सम्म जर्मनीको संसद्मा नाजीहरूको सदस्य संख्या २३० पुगिसकेको थियो । सन् १९३३ मा जर्मनीको अल्पमतको सरकारका चान्सलर बनेपछि हिटलरले जर्मनीको संसद्लाई भंग गरे । संविधान र प्रजातान्त्रिक कानुनहरूबाट उनी सञ्चालित हुन चाहँदैनथे । दलहरूलाई लघारे । कम्युनिस्ट पार्टीलाई पनि उनले गैरकानुनी बनाए । तत्कालीन राष्ट्रसंघ (लिग अफ नेसन्स) को सदस्यता पनि छोडे । त्यसपछि उनको उद्देश्य सैन्य शक्ति बढाउनुबाहेक अरू केही थिएन । हिटलर सम्हालिनसक्नु भइसकेका थिए । १९३३ मा उनी जर्मनीको सत्तामा पुगेपछि जर्मनीको एउटा नश्लवादी साम्राज्यको स्थापनाको प्रक्रिया अनवरत रूपमा अघि बढ्न थाल्यो । तर शक्ति संघर्षमा लागेका युरोपेली मुलुकहरूले यसलाई त्यति महत्त्व दिएनन् । कतिपयमा त्यो क्षमता पनि थिएन । उल्टै सन् १९३८ मा टाइम म्यागाजिनले हिटलरलाई ‘म्यान अफ द इयर’ घोषणा गर्‍यो । सन् १९३९ मा उनलाई झन्डै नोबेल पिस प्राइज दिइएको थियो । सानो नानी हुँदा पुजारी बन्ने रहर भएको र वयस्क भइसक्दा पनि कालो बिरालीसँग डराउने हिटलर सत्तामा पुगेपछि नश्लवादी मात्र होइन डरलाग्दा तानाशाहका रूपमा स्थापित भए ।

त्यसो त हिटलर जर्मनीलाई बलियो बनाउन चाहन्थे । तर, पहिलो विश्वयुद्धमा जर्मनीको हारको कारण के–के हुन् ? तिनको उनले राम्रो विश्लेषण गर्न सकेनन् । उनको निष्कर्ष सही थिएन तर जर्मन यहुदीहरूलाई नै त्यस्तो हारको प्रमुख कारण उनले देखे । उनको भनाइ थियो, जर्मन साम्राज्यको पुरानो गौरव फर्काउने हो भने यहुदीहरूलाई मास्नुपर्छ तथा युद्धकै माध्यमबाट जर्मनीले शक्ति आर्जन गर्नुपर्छ । यहुदीहरू निचो जातका हुन् र जर्मनीको धार्मिक ऐतिहासिक, दार्शनिक वा मनोवैज्ञानिक दूरावस्थाका कारण उनीहरू नै हुन् । हिटलरले तत्कालीन जर्मनीमा रहेको एउटा यस्तो वर्ग जसले जातीय श्रेष्ठता, घृणा तथा हिंसाका आधारमा आफूलाई सर्वश्रेष्ठ ठान्थ्यो, तिनलाई आफूप्रति आकर्षित गर्दै गएका थिए । यति मात्र होइन तिनीहरू हिटलरको नाजी पार्टीमा बलियो हुँदै गएका थिए । कतिपय यहुदीहरू ज्यान र अस्मिता बचाउन जर्मन छोडी अन्य युरोपेली मुलुकहरूतिर भागेको पाइन्छ । तर युरोपभरि जहाँ पनि उनीहरू असुरक्षित थिए । जब यहुदीहरूलाई सम्पूर्ण रूपमा लगार्न सकिएन त्यसपछि हिटलरले यहुदीहरूको सर्वनाश गर्ने अन्तिम उपाय खोजे । ‘होलोकास्ट’ भनेको त्यही उपाय हो । यो यहुदीहरूको विध्वंशको विभत्स तरिका थियो । अब हिटलर राक्षस भइसकेका थिए । उनलाई वैधानिक जनाधारको आवश्यकता थिएन ।

विश्वयुद्धले हिटलरलाई मनोमानी गर्ने वातावरण दियो । ‘होलोकास्ट’ को पहिलो प्रयासका रूपमा हिटलरले जर्मन सेनाका सैनिक यहुदीहरूलाई खासखास इलाकाहरूमा जम्मा गरे । त्यसपछि उनीहरूबाट गराउन सकिने सबै प्रकारका कामहरू पनि गराए । युद्धबन्दी जस्तो गरी आफ्नै देशमा उनीहरूको शोषण गरियो । उनीहरूकै हातबाट उनीहरूलाई मार्न विशेष किसिमका क्याम्पहरू स्थापित गराइए । यसमध्ये सबैभन्दा कुख्यात क्याम्पको नाम थियो ‘आश्च्हवीट्ज’ । यहुदीहरूलाई यो शिविरमा ल्याउँदै झ्याल ढोका थुनेर विषालु ग्यास छाड्दै मारिन्थ्यो । कतिपयलाई जिउँदै जलाएर पनि समाप्त गरिन्थ्यो । जो काम गर्न सक्ने थिएनन् विरोध गर्थे वा भाग्न चाहन्थे उनीहरू अघिल्लो घानमा पर्थे । बाँकी रहेका यहुदीहरू पनि भोक र रोगका कारण क्रमशः सिद्धिन्थे । दोस्रो विश्वयुद्धको ६ वर्षको अवधिमा नाजीहरूले ६० लाख जति यहुदीहरूको हत्या गरेको मानिन्छ । त्यसमध्ये पनि १५ लाख त केटाकेटी मात्र थिए । किशोर–किशोरी तथा युवतीहरूको चरम शोषणपछि पालो आउँथ्यो । केवल यहुदी भएका कारणले मात्र यी सबै निर्दोष व्यक्तिहरूको हत्या गरिँदै थियो । वास्तवमा संसारका एकतिहाइ जति यहुदी जनसंख्या यो नरसंहारबाट खरानी भएको थियो । जुन रूपमा हिटलर र उनको नाजी पार्टीले यो नरसंहारको संख्या व्यवस्थापन तथा कार्यान्वयन गरे त्यो मानवताविरुद्धको पराकाष्टा थियो । मानवता हारेको क्षण थियो त्यो ।

आफ्ना काम–कारबाही तथा तथा प्रक्रियामा हिटलर एउटा तानाशाही शासक मात्र रहेनन् उनी एउटा मानसिकताका प्रतीक बन्न पुगे । संसारमा सर्वश्रेष्ठ मुलुक जर्मनी, सर्वश्रेष्ठ शासक हिटलर र सर्वश्रेष्ठ दर्शन नाजीवाद । झुटो बोल्नु, जनतालाई उन्मादित तुल्याउनु तथा मीठो भाषणबाट ‘हिप्नोटाइज’ गर्नु हिटलरको ठूलो खुबी थियो । सबै खाले शासकीय मिथ्यालाई स्थापित गर्न उनका प्रचार मन्त्री ‘गोयवल्स’ काफी थिए । विश्वयुद्धमा भाग लिएका कुनै पनि युरोपेली मुलुकहरूमा यो विभिषिकालाई रोक्ने क्षमता थिएन । हिटलरको नेतृत्वमा १९४१ सम्म नाजी सेनाहरूले युरोपमा कब्जा गरिसकेका थिए । जर्मनी सबै छिमेकी मुलुकहरूसँग लडाइँमा थियो । मित्रराष्ट्रका सेनाहरू मिलेर आफूलाई अन्ततः हराउन सक्नेतर्फ उनको ध्यान गएन । सन् १९४५ मा सोभियत सेनाहरूबाट घेरिएपछि हिटलरको अस्ताउने समय सुरु भयो । भनिन्छ, बर्लिनमा भुइँमुनि ५० फिट तलको एउटा बङ्करमा आफूलाई गोली हानेर आफ्नी श्रीमतीसँगै उनले आत्महत्या गरे । दोस्रो विश्वयुद्धको समाप्ति र हिटलरको तानाशाही सँगसँगै अन्त्य भयो । दोस्रो विश्वयुद्धको समाप्तिपछि इतिहासलाई हेर्ने विभिन्न दृष्टिकोणहरूका आधारमा संसारभरि विभिन्न पुस्तक लेखिएका छन् ।

यस उपन्यासको नाम ‘हिटलर र यहुदी’ भए पनि हिटलर यो उपन्यासको प्रमुख पात्र भने होइनन् । उनी उपन्यासको समग्र पृष्ठभूमि हुन् । उनको स्वेच्छाचारिता, तानाशाहीपन, वैचारिक स्तर, र यहुदी जातिका बारेमा उनको सिद्धान्त र व्यवहार यस उपन्यासमा परीक्षणमा छ । यसमा सबैभन्दा प्रमुख भूमिका ‘म’ पात्र को छ । ऊ सैद्धान्तिक रूपमा परिस्कृत हुन चाहने तथा मूल्य–मान्यताको निरन्तर खोजमा हिँडेको अनन्त यात्री हो । उसको यात्रा हिन्दुस्तान हुँदै पानीजहाजबाट युरोपसम्म पुगेको छ । ऊ कथावस्तुको सबैतिर छ । सबैलाई बौद्धिक चुनौती दिएर उसले उपन्यासलाई अघि बढाउँछ । उसले प्रश्न सोध्छ, तटस्थ भएर टिप्पणी गर्छ, आफ्नो अनुभव सुनाउँछ र अन्ततः मानवता, दया, प्रेम, संरक्षण र मान्छे हुनुको नैतिक पक्षलाई मुटु चिरिने गरी उपस्थित गराइदिन्छ । उसले देखाउँछ– युद्ध नितान्त खराब कुरा हो । यसले न व्यक्तिलाई राम्रो गर्छ, न उसको समाज, न त शासकीय पद्धति वा स्वतन्त्रतालाई ।

विचार र द्वन्द्वको आर्तनादमा बढेको छ यो उपन्यास । यहुदी जातिको इतिहास, देन, र विशेष गरेर धार्मिक विचारको विकासमा र त्यस जातिले भोगेको अनवरत दुःखबारे यसमा छलफल गरिएको छ । कुरो उप्काउने दृष्टिले ‘म’ पात्र भन्छ : ‘अध्यात्मवाद, परमेश्वरसम्बन्धी विचार र भावनाको विकासमा यहुदीको मौलिक योगदान छ । सर्वप्रथम परमेश्वरको चराचर्म व्याप्तताको स्पष्ट चित्र उनीहरू कै मष्तिष्कमा खिचिएको थियो, होइन ?” त्यसै गरी ऊ भन्छ “कुरैकुरामा मलाई लागेर भनेको– क्रिस्तान युरोपलाई त कमसेकम आध्यात्मिकताको प्रकाश दिने यहुदी जातिलाई नै किन इतिहासमा लाञ्छना छ, अविछिन्न यातनाको सिकार हुनुपर्‍यो ? हालैमा पनि ६० लाख कत्लेआम भए तिनीहरू– आवाल वृद्ध, वनिता सारा...।” यो प्रश्न मानवताको प्रश्न हो । हरेक जातिलाई बाँच्ने अधिकार छ । यो उपन्यासको कथावस्तु यसै प्रश्नबाट अगाडि बढ्छ ।

मद्रासी ब्राह्मण नारायणनले सजिलो गरी आफ्नो दृष्टिकोण राख्छ । उसको चेतना हिन्दुदर्शनको एउटा पाटोसम्म मात्र सीमित छ । ऊ भन्छ– “समाजको संगठनबाट कल्याणको कुरा, धार्मिक सहिष्णुताबाट मानव समाजको परिवर्तन सुधारवाद आदि कुरा त भौतिकवादीहरूका सिद्धान्त्त हुन्, जो पश्चिमी दर्शनको विषय हो । हिन्दु सिद्धान्त यस्ता कुरालाई प्रयोजनहीन भन्ठान्छ । जीवन त यात्रा हो, त्यस्तो बाटोमा जुन बाटो तिमीले स्वयं आफूले नै खनेका छौ । आफ्नो कर्मले खनेको बाटोमा नहिँडी धर छ र ? यदि जीवनसँग अविछिन्न रूपले रहेको यावत् दुःख तृष्णा, लोभ, मोह, अशान्ति इत्यादिबाट छुट्कारा पाउनु छ भने बाटो नखन, तिमीले हिँड्नु पर्दैन त्यसमा ।” चर्को तर्क छ नारायाणनको । ऊ न्याय अन्यायजस्ता विषयको जोखिम लिन चाहँदैन । विवेकको एउटा पाटो उसको व्यक्तित्वमा लुप्त छ । ठूला सैद्धान्तिक प्रश्नबारे उसको पेटमा कुनै अग्नि छैन । विद्वान् छ, तर उसको जीवनको कुरा शास्त्रमा हराएको छ । ‘म’ पात्रले अविश्वासको निःश्वास झिकेर उसलाई टिप्पणी गर्छ– “त्यसो भए के यहुदी जाति नै कर्मबन्धनमा परेर युगानुयुगदेखि विभिन्न स्थितिमा पिल्सिँदै आएका हुन् त ? आफैंले खनेको बाटोमा हिँडेका साठी लाख यहुदी जो हिटलरको भठ्ठीमा होमिए ?” उसले आक्षेप पनि लगाउँछ : “नारायणनजी, तपाईंलाई हिटलरले भष्मिभूत पारेका यहुदीहरूप्रति संवेदना पनि छैन ?”

यो द्वन्द्वको अर्कोपट्टि आफ्नो स्पष्ट धारणा लिएर उभिएकी छ एउटी अर्की आधुनिक गुजराती युवती । उसको नाउ रेवा हो । ऊ स्वच्छन्द स्वभावकी छ । प्रशस्त पढेलेखेकी छ, तर जीवनलाई बोझिलो बनाउन चाहन्न । हिटलरको प्रसंग होस् वा यहुदीको, उसले नबुझेकी केही छैन, तर भन्छे : “यो कस्तो खाँचो तिमीलाई, हर कुराको अर्थ चाहिने । बिनाअर्थको जीवन आनन्दमय हुन सक्दैन र ? मलाई त यो क्षणले नै यसरी लठ्याइराख्छ । त्यसभन्दा बाहिर सोच्ने समय नै पाउँदिनँ । तस्बिरको रङलाई कोट्याएर त्यसको मर्मलाई बुझ्ने प्रयत्न नगर । जे छ बाहिर छ, छर्लङ्ग छ, जीवनबाहिर छ, उदाङ्ग छ उघ्रिएको ।” रेवा सरल छे, तर त्यो जीवन के जीवन जहाँ यसका मौलिक प्रश्नहरूको समाधान नै नखोजी आत्मसमर्पण गरिएको होस् । हो, यहाँ रेवा समस्याको एउटा पक्ष हो, यसको जवाफ होइन । यस विषयमा अझ खोजीनीति चाहिएको छ ।

जवाफ दिनुपर्ने मान्छे वा आजको चलनचल्तीको भाकामा भन्ने हो भने सार्वजनिक उत्तरदायित्व वहन गर्नुपर्ने प्रमुख व्यक्ति त हिटलर नै हुन् । कानुनको पृष्ठभूमि भएको यो टिप्पणीकारलाई हिटलरले आत्महत्या गरेको कथा विश्वासिलो लाग्दैन । उनी र केही दिनअघि मात्र बिहे गरिएकी उनकी श्रीमती आफ्ना दुस्मनबाटै मारिएको हुन सक्ने परिस्थिति बलियो देखिन्छ । जे भए पनि उनको मृत्युले उसले सिर्जना गरेको समस्याको निदान गर्दैन । त्यसैले ‘म’ पात्रले मरिसकेका हिटलरलाई ईश्वरसँग संवाद गराउन पछि पर्दैन । सभ्यताको अपराधी त ऊ नै थिए । आफ्नो गलत उद्देश्यका लागि लाखौं नाजी सहयोगी तथा धुपौरेको प्रयोगबाट दोस्रो विश्वयुद्धको थालनी र यहुदीको सर्वनाशको प्रमुख सर्जक उनी आफैं बनेका हुन् । किन यो निष्ठुरता ? ईश्वरले सोध्छन् : “हिटलर, तिमीले आफ्नो अमानवीय निष्ठुरताको प्रतिवादमा केही भन्न सक्दैनौ ?”

मृतक हिटलरको जवाफले यस उपन्यासको अर्को पक्षलाई तेस्र्याइदिन्छ : “म निष्ठुर होइन कदापि । निष्ठुरता एउटा भावावेग हो– उत्तेजनापूर्ण क्रिया जसबाट म मुक्त भन्ठान्छु आफूलाई । यथार्थमा, म दयाबाट पनि मुक्त छु, किनभने दया पनि भावनाप्रधान तत्त्व भएकाले मैले त्यसलाई विषजस्तो त्यागेको छु । गीता सर्वश्रेष्ठ ग्रन्थ हो । दैवित्वविहीनको धर्म प्रतिवादित छ त्यसमा– सांसारिक कर्म गीता कर्म हो । त्यो एउटा यस्तो महान् आध्यात्मिक ग्रन्थ छ, जसलाई आ–आफ्नो अखण्डनीयताका लागि धर्मशास्त्रीहरूले ईश्वरको भर पर्नु पर्दैन । कृष्ण र अर्जुनको कथा एउटा रूपक मात्र हो, सोद्देश्य लेखिएको नीतिकथा–एउटा आख्यान हो । ईश्वर भनेको उत्तेजनारहित मानव हो– लिप्सामुक्त, स्पृहाबाट मुक्त व्यक्ति । मानव त्यस्तो ईश्वर हो जो आशक्तियुक्त छ । मानव र ईश्वरमा फरक अर्को यसले पनि छ– या भनुँ त्यही कारणले नै– कि एउटा सामथ्र्यहीन छ अर्को सामथ्र्यवान् । राजनीतिमा लागेको व्यक्ति अरू पेसाका मानिसभन्दा झन् बढी शक्तिको पथको यात्री हुन्छ । उसको अनुसन्धान शक्ति त झन् बढी शक्ति हो । त्यसो हुनाले गीता राजनीतिज्ञहरूका लागि अमरवाणी भएको छ । उनीहरूका लागि यो विज्ञानको ग्रन्थ हो ।”

हिटलरको तर्क असाध्यै स्वार्थी छ । उनको सोचाइ छ, आफूले जेजस्तो काम–कारबाही गरे त्यो आफ्नो मुलुक वा जर्मन जातिका लागि गरिएको थियो । उनी आफूलाई कर्मयोगी मान्छन् । एउटा कर्मयोगी कसरी दोषी हुन सक्छ । के महाभारतको युद्ध भगवान् कृष्णले नचाहेको भए हुन सक्थ्यो ? उनले पनि त निरङ्कुशता नै देखाएका हुन् । आफ्नो निरङ्कुशताको प्रतिरक्षा गर्दै ईश्वरसँगको संवादमा हिटलरको लोकलयमा बिक्न सक्ने एउटा बलियो दाबी हुन्छ ।

हिटलर भन्दछन् : “जुन घडीसम्म मेरो उत्पीडन–निरंकुशता–कायम रह्यो, तबसम्म म पनि ईश्वर नै भएँ । कविहरूले मलाई आफ्नो कवितामा गाए, शिल्पीहरूले मलाई सङ्गमरमरमा कुँदे, रंगमा चित्रित भएँ, चित्रकारद्वारा । नारीहरूले मलाई आफ्नो हृदयमा स्थापित गरे, पुरुषहरूले मेरो पाउमा शिर निहुराए । विद्वान्, प्राध्यापकहरूले मलाई विश्वविद्यालयहरूमा पढाए, विद्यार्थीहरूले अनेकानेक किताबहरूमा मेरो अध्ययन गरे । मातापिताहरूले आदरका साथ मलाई उच्चारण गरे, आफ्ना छोराहरूलाई मेरो नाम दिएर सुशोभित पारे– रातदिन मेरो स्तूतिगान भइरह्यो । संक्षेपमा, म ईश्वर थिएँ । हो, तिम्रो दाँजोमा एउटा सानो ईश्वर । तर योग्यताअनुसार सबैले आफ्नो भाग पाउने हुनाले मेरो अल्प–नगण्य निरङ्कुशताले त्यही अल्प–नगण्य–ईश्वर–पद आर्जन गर्‍यो, आज जब मेरो निरंकुशता समाप्त भयो । र अब म मरिसकेको छु । मलाई पृथ्वीलोकमा मानिसहरू यदि घृणा गर्छन् भने त्यसको पनि पछुतो छैन ।” हिटलरले अरू साक्षी बस्नेलाई ‘बुक’ मा ल्याउँछन् तर उनीहरूलाई पोलेर मात्र उम्किन सक्ने उनको अवस्था छैन ।

यस उपन्यासका विभिन्न पात्रहरू बडो बुद्धिमत्तापूर्ण रूपमा छनोट गरिएका छन् । विश्वयुद्ध र हिटलरले गरेको अशान्तिलाई विभिन्न दृष्टिकोणबाट यी पात्रहरूमार्फत मूल्याङ्कन हुन्छ । यो ‘म’ पात्रले डेबिड भन्ने अन्तर्राष्ट्रिय यहुदी संगठनको कार्यकर्तासँग यहुदी जातिले खपेको हत्या र आतङ्कको पीडाबारे सुन्दछ । यहुदी जातिको आफ्नो देश हुनुपर्छ । त्यसलाई धान्नुपर्छ, भन्ने उसको मान्यता छ । त्यस्तै यहुदी विरोधी लेबनानकी पत्रकार मार्गरेटसँगको कुराकानीका आधारमा ‘म’ पात्रले त्यस सम्बन्धमा वैकल्पिक दृष्टिकोण पाएको हुन्छ । अरबहरूको भूमि मासेर यहुदीका लागि देश कायम गर्न नसकिने आफ्नो दृष्टिकोण उसले राखेकी हुन्छे । यसै ‘म’ पात्रले आफ्नी श्रीमती लक्ष्मीसँगको चिठीपत्र सम्झना वा वार्ताका आधारमा प्रेम र यौनका कुराबारे आफ्नो दृष्टिकोण राख्छ । यसका आधारमा हिटलरले ल्याएको बेथितिलाई हेर्नुपर्ने हुन्छ । यसै ‘म’ पात्रसँगको अन्तर्क्रियामा मद्रासी ब्राह्मण नारायणन र गुजराती मूलकी युवती रेवामार्फत धर्म चेतना, जीवन र सुन्दरताका कुराहरू राखिन्छन् । युद्धबाट प्रताडित हुने मान्यताहरू हुन् यी । यो ‘म’ पात्र नै थियोडोरा नाम गरेकी पथप्रदर्शकसँग घुम्दै गरेका कुराकानीहरू तथा अन्तरमनको प्रस्तुति एवं सानी केटी इल्जेसँग उसले धानेको जीवनको समीक्षाबाट मानवतासँग सम्बन्धित कतिपय पक्षलाई सिंहनाद गरेको देखिन्छ । उमेरभन्दा बढी नारी चातुर्य भएकी थियोडोराको मासिएको जिन्दगी र युद्ध पीडित लिओनार्डोको बाँच्नैपर्ने विवशताबीचका जिजिविषा उल्लेखनीय रूपमा त्यहाँ चित्रित हुन्छन् । आफूलाई हिटलरको साथी भन्न रुचाउने त्यो खोरोन्डो सिपाही लिओनार्डोको अन्तक्र्रियाबाट हिटलरको वीभत्स रूप देखिन्छ । यसैमा बालयौन व्यवसायी इल्जेको सर्वनाश भइसके पनि आफू अझै नै मानवताका लागि उपयोगी भएको दाबी थपिन्छ । यो दाबीले पाठकको मुटु हल्लाउँछ : “बालिका शरीरमा नसुहाएको असमयमै छिप्पिएका स्तन र त्यस्तै तिघ्रा, निर्दोष अबोध बालिका शरीरमा यी दुई अंगले मात्र रसमय भएर मलजलमा हुर्किएका थिए । इल्जेको जीवनसँग यिनको केही आन्तरिक सम्बन्ध थिएन । ऊ त यिनलाई गहनाजस्तो लाएर हिँड्थी र निःतान्त अज्ञानमा तिनको अधिकारिणी भएकाले गर्व गर्थी र भन्थी–हेर, मसँग पनि छन् तिमीलाई काम लाग्ने कुरा ।”

‘म’ पात्र यहाँ पनि थाक्दैन आफ्नो अनन्त खोजमा । उसको सोचाइको वेग जीवन बाँच्न सिकेकी निर्दोष इल्जेले थाम्न सक्ने थिएन । ऊ प्रश्न गर्दछ : “(इल्जे) लाई कसैले भनिदेओस्– तिम्रा यी शृंगार–साधन पटक्क नसुहाउने छन्, त्यस्तो आत्मीय सहृदय पुरुष उसले कहाँ पाइहोली र ? जसले उसलाई भन्थ्यो– इल्जे, तिमीले लाएको ओठ र गालाको लाली, तिम्रा छाती र तिघ्राले तिमीलाई कुरूप बनाएको छ– तिम्रो सुसंस्कृत शरीरलाई एकदम पाखे तुल्याएको छ । त्यति सहृदयताको जिम्मेवारी कसले लिन्थ्यो । यदि कोही पर्यटक त्यति सहृदयी हुन चाहे पनि उसलाई समय कहाँ, त्यति त्यो जिम्मेवारी लिन ? हद गर्‍यो भने माल नकिनेर त्यसको मूल्य मात्र दिएर हिँड्थ्यो र अझ बढी केही गर्‍यो भने फोसामा लन्चप्याकेट र त्यस्तै उपहार दिएर । उसलाई त मैले केही उपकार गर्न सकिनँ । उसले भने अज्ञातमा नै मलाई जीवित नै स्वदेश फर्काई ।” जीवन, स्तन्त्रता तथा न्यायप्रतिको ‘म’ पात्रको धारणा तथा विश्वास अझ गहिरिएको थियो ।

हुन त “हिटलर र यहुदी” अपुरो उपन्यास हो । यसका पात्रहरूको भनाइ तथा दृष्टिकोणहरू विभिन्न पृष्ठमा छरिएका छन् । एघार परिच्छेद भएको यो उपन्यासमा उठाइएका धेरै विषयवस्तुहरू एक–अर्कासँग जोडेर केही अन्तिम परिच्छेदहरू थप्नु आवश्यक हुन्थ्यो । लय, ताल, सुर मात्र होइन, निष्कर्ष पनि चाहिन्छ यस्तो पुस्तकमा । बीपीले त्यो गर्न पाएनन् । तर पनि यसमा भएको विचार विमर्शले आफ्नो तात्पर्य हरेक पृष्ठमा स्पष्ट गरेको जस्तो लाग्छ । एउटा सार्वजनिक बौद्धिक व्यक्तिका रूपमा बीपी खरो देखिएका छन् यो उपन्यासमा । उपन्यासको सन्देश पनि स्पष्ट छ : उद्देश्य जे सुकै होस्, हिटलर प्रवृत्ति खराब हो, मानवताका लागि कलंक हो । यो मानव चेतनालाई स्पष्ट गर्नु नै यो उपन्यासको लक्ष्य हो ।

(डा. अधिकारी कानुन क्षेत्रसँग सम्बन्धित छन्)