पुस १: ऐतिहासिक दिवस ?

“हामीहरु पक्राउ परेको पनि आज दुई वर्ष पुरा भयो । भोलिकै दिन हामीहरु दुई वर्ष पहिले समातिएका थियौं । भोलि सरकारले बडो धूमधामसँग वार्षिक मनाउने भएको छ – एक पौष ऐतिहासिक दिन रे । त्यसो हुनाले बडो उत्सवसंग त्यो ऐतिहासिक दिनको चाड मनाउने रे । बिस्तारबिस्तार यसलाई नै राष्ट्रिय दिनमा परिणत गर्ने इरादा सरकारको छ जस्तो बुझिन्छ ।” [१५/१२/१९६२]

“राजालाई सात फागुनको प्रजातन्त्र दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने प्रथा मनपरेको छैन, किनभने त्यस दिनले २००७ सालको क्रान्ति र त्यसले ल्याउन खोजेको प्रजातन्त्रलाई स्मरण दिलाउँछ साथै त्यस दिनले त्रिभुवनलाई पनि सम्झाउँछ । यो स्मृति निश्चय नै राजालाई बिझाउँदो हो । देशमा जुन उत्साहको सृजना गर्ने प्रयत्न भोलिको लागि भइरहेको छ त्यसलाई देख्ता एक पौष नै मुख्य दिवसको रुपमा मनाइयोस् भन्ने इच्छा सरकारको बुझिन्छ । पोहोर सालभन्दा यसपालि झन् व्यापक रुपमा यो दिवस मनाइने रे । पोहोर साल बाह्यरुपले सरकारको सम्पूर्ण सहयोग यस दिवसको समारोहमा देखाइएको थिएन । अलि अप्ठयारो मानेर सहयोग दिएको जस्तो थियो – जो कि पोहोर साल पनि बाह्यरुपबाट पनि स्पष्ट थियो – सरकारबाट यो दिवस मनाउनका लागि सरकारी तत्वावधानमा समारोह सम्पन्न भएको छ । अब झिंझक छैन, सञ्कोच छैन– निर्धक्कसँग राष्ट्रिय दिवसको रुप दिन सरकारले थालिरहेछ ।” [१५/१२/१९६२]

“भोलिकै दिन राजाले एउटा नयाँ विधान पनि दिने रे । अहिलेसम्म त विधानको घोषणाको साहस राजालाई थिएन, कारण – जनआन्दोलनले उनलाई कति कस्तो दबाब दिने हो जसको परिणामस्वरुप कुन कस्तो किसिमको सम्झौता जनतासँग गर्नुपर्ने हो त्यसको अनिश्चित आशंका थियो । अब त्यो दबाब रहेन; राजालाई अब सम्झौताको दृष्टिकोण अपनाउनुपर्ने खण्ड छैन । पूर्ण विजयको विश्वासमा भोलिको विधानको घोषणा हुनेभएको छ । पञ्चायती किसिमको विधान जसको रुपरेखा पत्रपत्रिकाहरुमा बीचबीचमा आइरहेको छ । यो विधान “देश सुहाउँदो आफनै माटोबाट हुर्केको” र “आफ्नै माटोमा हुर्केको” विधान हुन्छ रे । भोलिको घोषणा पछि केही राजनीतिक बन्दीहरु छुट्छन् कि भन्ने आशा यहाँका केही साथीहरुलाई छ ।” [१५/१२/१९६२]

“मलाई घोषणाले कुनै परिवर्तन ल्याउँछ जस्तो लाग्दैन । एकदुई जना राजबन्दीहरु छुट्ने कुरा छ बीचबीचमा छुट्दै समात्तिँदै पनि छन् । विधानको घोषणाले कुनै नयाँ नीतिकोृ घोषणा हुने छैन राजालाई यदि मैले बुझेको छु भने अब झन बदलाको भावनाले उनी प्रेरित भएर राजबन्दी– जो उनको मुट्ठीमा परेका छन्–जयकतबनभक जस्तो गरी जसलाई उनले राखिछाडेका छन्– माथि झन् बढी कठोर वर्ताव हुनेछ । राजालाई खब भय रहेन, जुन भयले अहिलेसम्म उनको हात रोकिएको थियो । यहाँ हामीहरुमाथि गार्ड अफिसरहरुको व्यवहार पनि बदलिसकेको छ । उनीहरुको वर्ताव रुखा हुँदै आएको छ ।” [१५/१२/१९६२]

“आज हामीहरुलाई बडो दुःखको समयमा पर्नु परेको छ; वास्तविक दुःखभन्दा भविष्यको आशंकाको पीडित भएका छौं हामीहरु । यसको कारण एउटै छ– त्यो हो हामीमा अझै खड्गको धारमा गर्दन राख्न सक्ने साहसको कमी ।”

“आजको राजाको घोषणाले संसदीय प्रजातान्त्रिक विधानको वैधानिक अन्त भो । व्यवहारमा दुई वर्ष पहिले नै प्रजातन्त्रको हत्या भएको थियो, आज त्यो शवलाई अनुष्ठानपूर्वक दाहसंस्कार गरियो ।” [१६/१२/१९६२]

“राजाले आज अर्को विधान दिएका छन्– पञ्चायती विधान । घोषणामा एउटा वाक्य बडो महत्वपूर्ण छ – “हामीमा निहित अधिकारद्धारा अहिलेसम्मको विधान खारेज गर्यौं र अर्को नयाँ विधान दियौं ।” स्वेच्छाचारिताको योभन्दा ठूलो निर्लज्ज–घोषणा वर्तमान युगमा कसैले गर्न सक्छ हाम्रो राजाबाहेक? निरंकुशताको पराकाष्ठाको घोषणा छ यस वाक्यमा “हामीमा निहित अधिकार” जसको आधारमा जैले पायो विधान दियो, फर्कायो, निलम्बन गर्यो र बदलियो । राणाहरु पनि यत्रो निर्लज्जताको घोषणा गर्न हिच्किचाउँथे । कमसेकम राजाको मर्यादाको पर्दा राखेका थिए उनीहरुले । वर्तमान राजालाई त्यो पर्दा राख्नुपर्ने आवश्यकता परेन । राजाहरु निर्लज्जताको लागि जगत्प्रसिद्ध हुन्छन्; उनीहरुलाई शिष्टाचार, आचार कर्तव्यमा बाँधेर राख्ने प्रेरणा उनीहरुको आफ्नै अन्तरबाट – आत्माबाट आउँदैन; आफूभन्दा बाहिरको जनशक्तिले मात्र उनीहरुलाई मर्यादामा बाँधेर राख्छ । त्यो शक्ति कमजोर पर्यो भने राजाहरुको मर्यादाहीनताको कुनै अन्त पाइँदैन । आज हाम्रो देशमा त्यहि कुरा घटिरहेको छ । जनआन्दोलन अहिले परास्त भएको छ ।” [१६/१२/१९६२]

“राजाले अस्ति विधानको घोषणा गरेपछि तर्कसगंत अनुमान गर्न सकिन्थ्यो कि राजनीतिक स्थिति अब साधारण हुँदै आएको छ। त्यसो हुनाले असाधारण स्थितिका सरकारी कारबाही अब रद्द गर्दै राजनीतिक बन्दीहरुको रिहाइको घोषणा पनि विधानको घोषणाको साथसाथै हुनेछ । सुवर्णजीहरुद्धारा पनि जनआन्दोलन स्थगित राखिएको छ । त्यसो हुनाले राजनीतिक स्थितिलाई साधारण बनाउन अहिलेको जस्तो उपयुक्त अवसर फेरि पाइनेछैन भन्ने तर्क विधानको घोषणापछि स्वभाविक हुन्छ । आखिर, संविधानको घोषणाले देशमा साधारण स्थिति छ भन्ने पूर्वानुमान (प्रिसपोज) पनि गर्छ । असाधारण स्थिति रहँदा रहँदै विधानको घोषणा असंगत जस्तो हुन्छ । यसका अतिरिक्त राजालाई अब निर्धक्क भएको अनुभवको पनि यसले संकेत दिन्छ । यी सब कुरा हुँदाहुँदै पनि राजनीतिक स्थितिमा कुनै परिवर्तन आएन ।” [१८/१२/१९६२]

“राजनीतक बन्दीहरु ठाउँठाउँमा झ्यालखानामा थुनिएका थुनिएकै छन् । कुनै राजनीतिक तर्कको आधारमा नभएर यो घोषणा राजाको शुद्ध वैयक्तिक ख्यालबाजीको दृष्टान भएको छ । राजालाई आज घोषणा दिऊँ भन्ने विचार आयो – घोषणा दिए । यसले देशमा कुनै किसिमको राजनीतिक दिशालाई परिवर्तन गरेन । जतिजति यस सम्बन्धमा विचार गर्यो उतिउति राजाको अहम्मन्यता र निरंकुशताको प्रमाणस्वरुप यो घोषणा भएको छ भन्ने मलाई लाग्छ । वैधानिकताको उपहासको यो परम दृष्टान्त हो इतिहासमा । संगिन आफ्नो हातमा छ भने जुनसकै कार्यलाई पनि वैधानिक मर्यादा दिन सकिन्छ भन्ने घोषणा राजाले गरेका छन् ।राजाको लागि, जसको हातमा संगिन छ भने जुनसुकै कार्यलाई पनि वैधानिक मर्यादा दिन सकिन्छ भन्ने घोषणा राजाले गरेका छन् । राजाका लागि, जसको हातमा संगीन छ विधान एउटा पुछेर फ्याँक्ने कागजको खोष्टा हो बुझ्यौ देशव्यापीहरु हो ! भन्ने घोषणा भएको छ अस्ति ।” [१८/१२/१९६२]

बीपी कोइराला
जेल जर्नल
Facebook
Twitter
LinkedIn

Related Posts