राजनीतिज्ञहरुको बढ्दो हत्या

बीपीको भनाइमा “लुमुम्बाको हत्या बन्दी अवस्थामा निर्ममताको पराकाष्ठा हो।” पत्रपत्रिकामा पढेका आधारमा उनले बदलाको भावनाले प्रेरित भएर यो हत्या–काण्ड गरिएको उल्लेख गरेका छन ।

लुमुम्बाको हत्याले बीपीलाई उदास बनाएको देखिन्छ। बन्दि अवस्थामा रहेका सबैको मनमा यसले ठूलो चोट पारेको र एककिसिमको व्यक्तिगत चोट जस्तो सबैलाई अनुभव भएको बीपीले उल्लेख गरेका छन्। कति सम्म व्यक्तिगत भने मानौं उनका साथीमध्ये नै एउटाको हत्या भएको होस् । “हामी पनि कैदी भएकोले कंगोको कैदी प्रधानमन्त्री लुमुम्बाप्रति एउटा निकतमको भावना जागृत भएको छ।”

हत्याको जघन्यतालाइ स्पष्ट गर्दै बिपी लेख्दछन: “मलाई व्यक्तिगत रुपले पनि हत्या अत्यन्त जघन्य कुरो जस्तो लाग्छ । लडाईंको मैदानमा या कुनै क्षणिक आवेशमा जोशाजोशको परिणामास्वरुप कसैको मृत्यु हुन्छ, अथवा कुनै आदर्शका लागि जानाजानी कसैले मृत्युलाई अंगीकार गर्छ भने त्यस्तो अकाल मृत्युले त झन् जीवनलाई बढी समृद्धशाली पनि तुल्याउँछ । त्यसमा हिंसा रहँदैन, केवल बलिदान रहन्छ । मनुष्य जीवन त्यस्तो बलिदानले सार्थक हुन्छ।”

“लुमुम्बाको मृत्यु– यो हत्या केवल हिंसा–भावनाको पराकाष्ठा हो । यो हत्या निरर्थक मात्र नभएर यसले जीवनलाई अकिञ्चन बनाउँछ । आजको मानव जीवन मानौ विष–वाटिकामा हुर्किने प्रयत्न गरिरहेको छ । लुमुम्बाको हत्याले मानवताले फेर्ने वायुलाई दूषित पार्न यो विष वाटिकामा अर्को विषवृक्ष रोपियो । यो अकल्याण छ मानव जातिका लागि । म उसको पत्निलाई सम्झिन्छु । उसलाई मैले देख्या न ज्यान्या; तर उसको रोएको अनुहार, राष्ट्रसंघका प्रतिनिधि दयालसँग छ–सात माइल पैदल हिँडेर अस्तव्यस्त क्लान्त भएको शरीर, मानवताको अहिलेको वर्तमान साकार मूर्ति जस्तो लाग्छ । मलाई सबभन्दा ठूलो ममता बालक र स्त्रीका प्रति छ । लुमुम्बाकी पत्नीले यतिका लागि मात्र गुहार मागेकी छ, पतिको शव मैले पाऊँ।”

“हामीहरु थुनिएदेखि धेरै राजनीतिज्ञहरुको हत्या भयो । अस्तिको रात दक्षिण भियतनामका राष्ट्रपति जियम र उनका भाइको हत्या भयो सैनिक विद्रोह (‘कू’)मा; २ वर्ष पहिले लुबुम्वा कंगोमा मारिए; हेमरशोल्ड पनि शायद दुर्घटनाका शिकार भएका होइनन्। सेवोटाज [अंतर्ध्वंस]का शिकार भएका हुन्; इराकको तानाशाह कासिम मारियो; तानाशाह ट्रोहिलो मारियो; र लाग्छ जुनबेला हामीहरु समातियौं त्यसबेला कुनै बहाना पाएको भए हामीलाई पनि मारिदिन्थे र पकडिएको केही दिनसम्म हमीलाई मार्लान् भन्ने मलाई आशकां लागिरहेको थियो । राजनीतिक स्थान हत्यानीतिले लिएको छ । तानाशाहीको विरुद्ध हत्यानीति त शायद केही हदसम्म समर्थनीय हुनसक्छ किनभने तानाशाही व्यवस्थाको ठूलो आधार तानाशाह हुन्छ; त्यो दृश्यबाट हटाइएको खण्डमा सुधारको सम्भावना रहन्छ, तर प्रजातन्त्रमा हत्यानीति शुद्ध पागलपन हो र निराशाको अभिव्यक्ति ।”

“प्रजातन्त्रमा राजनीतिक हत्या सजिलो हुन्छ, तानाशाहीमा – यद्यपि तानाशाहले आफ्नो उसको हत्याका लागि धेरै मसाला स्वयम् जोरेको हुन्छ आफ्नो अत्याचार, दमन र व्यक्तिगत शासनको उसमाथिको व्यक्तिगत जिम्मेदारीले गर्दा, त्यो गाहारो हुन्छ । अर्वाचीन कालमा स्टालिन, मुसोलिनी, हिटलर, फ्रान्को प्रभृति तानाशाहले जति उनीहरुको आफ्नो हत्याको लागि जनतालाई कारण दिए होलान् त्यति शायद कुनै व्यक्तिले इतिहासमा दिएको थिएन होला, तर तिनीहरुको कसैले हत्या गर्न सकेन, यद्यपि केही प्रयत्न भएपनि विशेष गरी हिटलरलाई सिध्याउने, तर केनेडी मारिन्छ । यस्तो अयुक्तिकर स्थितिका कारण धेरै छन्–

१) प्रजातन्त्रमा कानुनको राज्य भएकोले हत्यारालाई कानुनी अधिकार प्राप्त छ जसबाट उसलाइ फुत्किने सम्भावना हुन्छ ।

२) केवल हत्यारा मात्र हत्याको जवाफदेही हुन्छ प्रजातन्त्रमा, न कि उसका परिवार या मित्रवर्गहरु पनि जस्तो कि तानाशाहीमा हुन्छ ।

३) प्रजातन्त्रमा चुनिएका शासकको अत्याधिक सुरक्षा राम्रो कुरो मानिँदैन । अत्याधिक सुरक्षाको अर्थ हन्छ त्यो व्यक्ति जनप्रिय छैन ।

४) र मुख्य कारण यो हो कि प्रजातन्त्रमा व्यक्तिगत (फ़नटिसिज्म) उग्रवाद सम्भव हुन्छ यद्यपि त्यो प्रणाली उग्रवादमा आधारित हुँदैन । व्यक्तिगत स्वतन्त्रताले व्यक्तिगत पागलपनको व्यवहारको स्वतन्त्रतालाई पनि प्रश्रय दिन्छ । तानाशाही प्रणाली उग्रवादमा आधारित हुन्छ, शासकहरुको लागि उग्र हुने अधिकार रहन्छ, तर व्यक्तिगत उग्रवादको टुसो पनि त्यसमा उम्रिन पाउँदैन । उग्रवादको एकहट्टी– एकाधिकार– शासकले लिन्छ, जनतालाई (कन्फ़र्मिटि) एकरुपताको जाँतोमा पिनेर धूलो पारेको हुन्छ, जनता सबै एकनासको धूलोमा परिणत हुन्छन् ।

५) अर्को महत्वपूर्ण कारण यो हो कि प्रजातन्त्रको मूल्यहरुमा एउटा महत्वपूर्ण मूल्य यो छ कि विरोधीको संहार होइन– त्यसको एससिमिलेसन [गरिन्छ] त्यसो हुनाले त्यसको विरोधको रुप हत्याले लिँदैन । तानाशाहका विरोधी प्रजातन्त्रवादी भएकोले उनीहरुलाई यसको लाभ प्राप्त हुन्छ र प्रजातन्त्रवादीहरुलाई सीमाबन्धन । प्रजातन्त्रका विरोधीलाई आफ्नो विरोधको शास्त्रागारमा जुनसुकै हतियार पनि उपलब्ध हुन्छ, हत्या लगायत ।

बीपी कोइराला
जेल जर्नल
Facebook
Twitter
LinkedIn

Related Posts