वैदेशिक साहित्यमा बीपी कोइराला

“स्टीफेन ज्वीगको मेरी आण्टोएनेट आज सिध्याएँ । अत्यन्त रोचक जीवन–चरित्र रहेछ । ज्वीगले बडो सहानुभूतिले आन्तोएनेटको चरित्र वर्णन गरेको छ । एउटी साधारण नारी, इतिहासको असाधारण अवस्थितिमा आण्टोएनेट कुनै उल्लेखनीय रानी हुने थिइन् तर इतिहासको असाधारण परिस्थितिमा परेर त्यस साधारण रानीले ठूलो ‘ट्रेजिक’ पात्रको रुपमा प्रकट भएर एउटा गौरवमय अन्तलाई अंगीकार गर्नुपर्यो ।”

“किताबले मेरो आजको उदासीलाई झन् बढाएको छ । आण्टोएनेटप्रति मेरो सहानुभूति र भावना उन्मुख गर्न थाल्छु । मलाई लाग्न थाल्छ – के क्रान्तिले जहिले पनि निम्नस्तरीय व्यक्तिहरुको हातमा आफूलाई सुम्पेर आफ्नो महान् आदर्श र लक्ष्यलाई बिस्तारबिस्तार परित्याग गरेर विकृत स्वरुप धारणा गर्नुपर्छ ?”

“पानी जहिले पनि तल्लो सतह खोज्छ, के त्यस्तै क्रान्ति पनि यसमा लागेका आदर्श पुरुषहरु, दार्शनिक, कलाकार, साधारण व्यक्तिहरु, बदमाश, लुच्चाहरु घृणा र वासनाका अर्धमानव प्रतिमूर्तिहरुमध्ये तल्लै सतहका अर्धमानवहरुलाई खोजिहिँड्छ र त्यहाँसम्म नपुगुन्जेल यसको ध्याउन्न बनी रहन्छ; यो वेगवान् भै रहन्छ र त्यो तल्लो सतहमा पुगेपछि मात्र यसको वेग परिसमाप्ति हुन्छ ?”

“यहाँ नेपालको क्रान्ति भयो भने त्यसको यो लक्षण प्रारम्भमै प्रकट हुन दिनुहुन्न । अनावश्यक हिंसाको प्रारम्भ जस्तोजुकै सानो रुपबाट प्रकट भएपनि अन्तमा क्रान्तिको आदर्श र उच्च लक्ष्यको ठाउँमा हिंसा शायद अनिवार्य हुन्छ; तर हिंसाले अनिवार्यताको सीमामा रहन सक्यो भने क्रान्तिको आदर्शलाई यसले कति कलुषित पार्न सक्दैन । अनावश्यक हिंसा प्रारम्भ भयो भने फेरि परिणाम एउटै हुन्छ – हिंसा केवल हिंसा । क्रान्तिमा हिंसाको बाटो सजिलो हुन्छ । हामीले यो बाटो खोज्नुहुन्न– सजिलो छ भनेर।”

“स्टीफेन ज्वीगको बिवेयर अफ पिटी आज थालें । यो नारायण बासकोटाको किताब तीन–चार महिनादेखि यहाँ मसँग थियो; अस्ति माग्न पठाएकोले सिध्याउनुपर्यो भनेर पढ्न थालें । अहिलेसम्म त राम्रै चलिरहेको छ; तर ज्वीगलाई अलिक लम्ब्याएर भन्ने बानी छ । प्रत्येक ‘डिटेल’ लाई स्पष्ट गर्न खोज्छन् । भाषा राम्रो छ । कतैकतै भने सेन्टिमेन्टल शैली जस्तो लाग्छ ओरेटोरियल शैली ।” (२० अक्टोबर १९६२)

“राम्रै लाग्यो । ज्वीग प्रथम श्रेणीका लेखक होइनन्; द्धितीय श्रेणीमा उच्च सम्मान छ उनको । आजकलका मानवीय समस्याहरुको सूक्ष्म विश्लेषण उनको रचनामा पाइन्न; न मनोवैज्ञानिक सूक्ष्मता नै पाइन्छ उनको चरित्र रचनामा । एकप्रकारको कलाको क्षेत्रमा उनलाई बुर्जुवा भने हुन्छ । बिवेयर अफ पिटीमा दयाको भीषण परिणाम देखाएको छ । त्यसको दाँजोमा डाक्टर कोन्डरको रचनात्मक दया (क्रिएटिभ पिटी) लाई प्रस्तुत गरेको छ । डाक्टरले अन्धीलाई बिहा गरेर त्योसँगको जीवन निर्वाह गर्नु रचनात्मक किसिमको दया हो । लप्टेनको कुँजी युवतिप्रतिको दया भने केवल भावनात्मक (सेण्टिमेण्टल) मात्र थियो जसले गर्दा अन्तमा एउटा ठूलो भीषण परिणाम हुन गएको छ । त्यसो हुनाले ज्वीग भन्छन् – दयादेखि सावधान! (बिवेयर अफ पिटी)।”

“ज्वीगको लामो लेख्ने बानी छ । छोटकरीमा केही प्रभावयुक्त वाक्यद्धारा परिस्थितिलाई स्पष्ट गरेर छ्याङ्ग पार्न सक्तैनन् उनी । बीच–बीचमा उनको अर्को बानी पनि प्रकट हुँदै जान्छ– एपिग्रामेटिक एक्सप्रेसन) वश लेख्ने । एपिग्राम्स पढ्दा राम्रो लाग्छ, तर त्यस्ता वाक्यमा बुद्धि, कौशल र शब्दचातुर्य अधिक रहन्छ वनस्पति सत्यांशको । ‘बिवेयर अफ एपिग्राम्स भन्नुपर्ला जस्तो लाग्छ । भाषा राम्रो छ ।” (६ /०७/२०१९)

“सुत्नुभन्दा पहिले रविबाबुको एउटा कथा पढें– अध्यवर्तिनी । उनका कथाहरुमा, काबुलीवाला जस्ता केही कथाहरु बाहेक, कथाको रस कम्ती रहन्छ । भाषाको माध्यमले मात्र उनका कथाहरु जीवित हुन्छन्, तर त्यसका पात्रहरु जीवित प्राकृतिक वाणीले बोल्दैनन्, उनको जीवन सानो रविबाबुको बगैंचाको शिशगृहको न्यानो वातावरणमा हुर्केको छ । कथाको प्रारम्भ बडो आशाका साथ हुन्छ, बीचबीचमा जीवन्त झल्को पनि पाइन्छ, तर अन्तमा पाठकलाई फुस्सा हात लागेको अनुभव हुन्छ ।”

“म बाङ्गला भाषामा उनका कृतिहरु पढ्ने प्रयत्न गर्छु । हुन सक्छ भाषाको न्यून ज्ञानले पनि उनका कथाहरुमा, कविताहरुमा पनि – असाधारण विशेषता पाउँदिनँ । तर भाषालाई राम्ररी नबुझेको अनुभव मलाई हुन्न किनभने हाम्रो भाषा, या हिन्दी र बाङ्गलामा ठूलो भिन्नता छैन । संस्कृत यी भाषाहरुको आधार भएकोले हाम्रो बौद्धिक चेतनामा संस्कृत वाङ्मयको व्यापक असर समान रुपले परेको छ । त्यसो हुनाले बाङ्गला मेरा लागि मातृभाषा नभए पनि विदेशी भाषा होइन ।” (नोभेम्बर २५, १९६१)

“टेनिसिनको लोटस इटर नामको कविता पढें र राम्रो लागेर राम्रो कापीमा सारे । यस कविताको संगीत मलाई मन पर्यो। आलस्य र श्रम जनित तन्द्रा–सुखको वातावरण एक किसिमले मोहक पनि छ । शब्द सुन्दर छन् र वातावरणलाई उपयुक्त बनाउन कवितामा शब्दध्वनि पनि उपयुक्त छ । मेरो आजको मनोभावना र मानसिक थकानको प्रतिविम्ब यसमा पाइन्छ ।” (15/02/61)

“लेजरक्वीष्टको किताब ‘सिविल’ अस्ति घरबाट पठाइदिएको रहेछ । मानव अनुभूति र मानवलाई प्राप्त हुनसक्ने देव अनुभवको विश्लेषण गरिएका किताबहरुले मेरो हृदयको धार्मिक–आध्यात्मिक पक्षलाई स्पर्श गर्छ । सिविललाई धेरै दिनअघि मैले एकचोटी पढिसकेको थिएँ बडो–अभिरुचिका साथ यहाँ पढें । झन् मेरो यहाँको मनस्थितिमा मलाई यसको मर्म झन् गम्भीर र असाधारण लाग्यो । यसको शैली र भाषाको सरलता प्रायः बाइबलको जस्तै छ । त्यसलाई अनुवाद गर्न थालेंँ । मलाई आठ दिन लाग्यो– अनुवाद गरी सिध्याउन । अनुवादमा मैले “देवदासी” भन्ने नाम राखें । आठ दिन जति म अनवाद गर्नमा व्यस्त रहें । मलाई लाग्यो कि यहाँको भारी र अल्छी लाग्दो समयलाई बिताउन अनुवाद कार्य पनि उपयोगी हुनसक्दो रहेछ । अरु किताबहरुलाई यहाँ बसीबसी अनुवाद गर्ने विचार लिएको छु ।” (२ मार्च १९६१)

“आज एउटा बडो बेचैन गराउने किताब पढें । ताराशंकर बन्दोपाध्यायको सप्तपदी सानो नोबेलको हिन्दी अनुवाद । बेचैन, ईश्वरका सम्बन्धमा, मानव जीवनमा उनको अभिव्यक्ति लेखकले उठाएको प्रश्नले गराउँछ । कष्ठ–रोगले पीडित कृष्णस्वामीको अन्तिम चित्रण के दैवी अभिव्यक्ति प्रमाण हो ? आखिर कृष्णस्वामी एउटा महान् मानवीय अर्थमा इश्वरीय प्रेरणा प्राप्त संन्यासी थिए। उनलाई ईश्वरको बाटोमा हिँडेको हामी देख्थ्यौं, तर किन अन्तमा उनले कोढको शिकार हुनुपर्यो ? के मानवले ईश्वरको वरदान सदैव क्रस (क्रस) को छाप (स्टिग्मटा ) या कोढको विकृति मोहरको रुपमा शरीरमा धारण गर्नुपर्छ? किन? सुन्दर स्वास्थ्य वरदानको अधिकारी मानिस छैन ? ईश्वरको लीला अगम्य भनेर छुट्टी लिने इच्छा हुँदैन – किनभने यस कुरामा कुनै अगम्यताको बोध हुँदैन कि ईश्वरले आफूलाई कसैमाथि खन्यायो भने पियूष वर्षा उसमाथि हुँदैन, उसमाथि बर्सिन्छ शरीरलाई डाम्ने किसिमको कालिमामय गरलाधार । यस सत्यमा कुनै अगम्यता छैन । दैवी न्यायमा कुनै रहस्यता बोध हुँदैन । एउटा कठोर निर्मम विकृति नियम यसबाट लक्षित हुन्छ ।” (१३/०३/१९६२)

“तारा शंकर भन्छन् – ईश्वरको तपस्या हो मनव जीवन – जुन अग्निकुण्डमा कनुष्य समिधाको रुपमा होमिन्छन् । राम्रो भाषा; कवित्वपूर्ण भावना । तर सत्य? ईश्वरको तपस्या कसरी हुन गयो मानव जीवन ? किन हामी तर्क, बुद्धि र प्रारम्भिक नैतिक भावनाको विरुद्ध यो मानौ हामी केवल समिधा हौं ? ईश्वरको तपस्या लक्ष्य के ? कुन महान लक्ष्यका लागि जीवनको अग्निकुण्डमा लाखौंलाख प्राणीलाई स्वाहा गरिन्छ ?” (१३/०३/१९६२)

“यो पुस्तक शुद्ध कथाको दृष्टिमा– चरित्रको विश्लेषण, कथाको स्वाभाविकता, आदिलाई विचार गरेका खण्डमा – एउटा ठूलो रचना भन्न सकिन्न । धर्म परिवर्तन, वर्ण शंकर, पुत्रीको उद्धिग्नता, पिताको अवज्ञा इत्यादि त्यस्ता मार्मिक आधार होइनन्, कमसेकम कृष्णेन्द्र र रोनाजस्ता उद्बुद्ध प्राणीहरुका लागि, जुन आधारमा त्यत्रो ठूलो ट्रेजेडी खडा हुन सकोस कि जस्तो कि लेखकले गरेको छ, तर लेखकको उद्देश्य कथाको स्वाभाविकता भन्दा पनि वेसी ईश्वरी प्रेरणा मानव जीवनमा कसरी प्रकट हुन्छ? भन्ने प्रश्न पाठकका सामुन्ने उपस्थित गर्नु थियो । कथाको कमजोरीले यो प्रश्नको महत्तालाई शिथिल पार्न सकेको छैन ।” (१३/०३/१९६२)

“गुरुदत्तले लेखेको सहत्रबाहू पढें । विज्ञान र धर्म यी दुई विषयको द्वन्द्वलाई लिएर यो उपन्यास लेलिएको छ । भौतिकवाद र अध्यात्मवादमा लेखकले आफ्नो पक्ष अध्यात्मवादलाई चुनेको छ । अध्यात्मवाद (स्पिरिटुअलिज्म) लाई जीवनमा केही अंशमा आवश्यक मान्नु पर्नेले पनि यसलाई रुढिवादी विश्वासका साथ जोर्ने प्रयास गरेको देख्ता एकप्रकारको वितृष्णा भएर आउँछ । भौतिकवादको चरमस्थिति स्वार्थ, इन्द्रियसुख र असन्तोषको हाहाकार हो भने अध्यात्मवादको चरमस्थिति पनि रुढिगत विश्वास, व्यवहार र बौद्धिक अन्धता हो । लेखक अध्यात्मवादको पक्ष लिँदालिँदा अन्धविश्वास र ‘अब्स्कुराण्टिज्म’ को पक्षपाती भएको पाइन्छ ।” (२६/१०/१९६२)

सन्तुलित पक्ष – चाहे भौतिकवाद होस् या अध्यात्मवाद – ग्राह्य हुन्छ; तर दुवै चरम पक्ष दोषपूर्ण छ किनभने एकाङ्गी भएकोले यस्ता चरमपक्ष जीवनमा घातक साबित हुन सक्छन् । गुरुदत्त सफल लेखक होइनन्, यद्यपि यिनले हिन्दीमा धेरै किताब लेखेका रहेछन्, तर मैले यिनको यो पहिलो उपन्यास हो जो पढ्न पाएँ । भाषामा कुनै रस छैन । उपन्यासको दृष्टिबाट पनि, विचारको दृष्टिबाट मात्रै होइन यो अत्यन्त साधारण ग्रन्थ रहेछ ।” (२६/१०/१९६२)

बीपी कोइराला
जेल जर्नल
Facebook
Twitter
LinkedIn

Related Posts