राष्ट्रनीतिमा जेल डायरीहरूको गुरूत्व

राजा महेन्द्रले हिरासतमा लिएको ठीक दुई महिनापछि बीपीले जेल–जर्नल लेख्न सुरू गरेका हुन् । नेपाली क्रान्तिको उद्देश्य, राजनीतिक, आर्थिक, सामाजिक तथा विकाससम्बन्धी चुनौतीको अवस्था, बीपीको वैचारिक धरातल, सहयात्रीसँगको अन्तर्सहयोग, भाषा, धर्म, प्रकृति, साहित्य, कूटनीति, अध्यात्म तथा राष्ट्रिय जीवनका विविध पक्षहरूबारे बीपीका विचार तथा टिप्पणी यसमा परेका छन् ।

विश्व कारागार साहित्यमा बीपी कोइरालाको जेल जर्नलको विशेष महत्त्व छ । नेपाली भाषामा २०५४ मा जगदम्बा प्रकाशनबाट प्रकाशित बीपीको आत्म संवादको रूपमा लिपिबद्ध कृति जेल–जर्नल विश्वजेल साहित्यमा एउटा उल्लेखनीय कृति हो । उनको अंग्रेजीमा लेखिएको २०३३–३४ को पछिल्लो जेल डायरीको नेपाली अनुवाद फेरि सुन्दरीजलले पहिलो प्रयासलाई अझ सार्थक बनाएको छ ।

उपरोक्त दुवै जेल डायरीलाई दुई वर्षअघि प्रकाशित ‘बीपी कोइरालाको डायरी (२००८–२०१३) ले पूर्वाधारको काम गर्दछ । २००७ सालको नेपाली क्रान्तिको वास्तविक सूत्राधारका रूपमा सक्रिय राजनीतिमा रहँदा लेखिएको यो पछिल्लो डायरीले क्रान्ति पछिको राजनीतिक विकासमा बीपीको संघर्षशील सक्रियता, सत्ता अन्तर्द्वन्द्व, योग्यता, धैर्य, आक्रोश र कमिकमजोरीलाई विविधरूपमा व्यक्त गरेको छ । यसमा बीपी भन्छन्, ‘जब म मेरो व्यक्तिगत खुसी र सन्तोषको कुरा सोच्छु, मलाई मेरो नैतिक अस्तित्वमा केही अभावको बोध हुन्छ ।’

वास्तवमा, बीपीको बारेमा बीपी आफैभन्दा अरूले लेखेका विषय नै मूल प्रवाहमा रहेको नेपालको लामो इतिहास छ । यो इतिहास विद्वेषपूर्ण वा आग्रह र पूर्वाग्रहहरूको रूपमा बीपीप्रति लक्षित भएको बुझ्न सकिन्छ ।पञ्चायत प्रणालीले बीपीका बारेमा ‘मिसइन्फोर्मेसन क्याम्पेन’ नै चलाएको थियो ।

त्यसबेला लेखिएका सन् १९६६ को भुवनलाल जोशी तथा लिओई. रोजको ‘डिमोक्रेटिक इन्नोभेसन्स इन नेपालः अ केस स्टडी अफ पोलिटिकल एकल्चरेसन’ जस्तो सीमित पुस्तक तथा विश्लेषणहरू बाहेक धेरैले बीपीलाई न्याय गर्न नसकेको स्पष्ट परिस्थितिमा यी प्रकाशित डायरीहरूले बीपीलाई बुझ्न ठूलो भूमिका निर्वाह गरेका छन् ।

बीपीकै वरिपरि उनको विचारलाई निस्क्रिय पार्ने राजनीतिक अनुयायीहरूको सक्रियता रहेको उनको जेल डायरीका सम्पादक गणेशराज शर्माको स्पष्टोक्ति छ । बीपी स्वयंले आफ्नो मृत्युपछि नेपाली काङ्ग्रेसमा आफ्नो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुने तथा घटनाहरूलाई बङ्ग्याएर इतिहासको व्याख्यागरिने सम्भावनातर्फ औंल्याएको जेल–जर्नलको भूमिकामा स्पष्टरूपमा उल्लेख गरिएको छ ।

धेरै महत्त्वपूर्ण व्यक्तिहरूले कारागारमा छँदा आ–आफ्नो डायरी लेखेर समयको सदुपयोग गरेको पाइन्छ ।ज्याक अब्बोट्ट, जेफ्री आर्चरका कारागारका डायरीहरू प्रसिद्ध छन् । ज्याक अब्बोट अमेरिकी अपराधी तथा लेखक थिए । उनको सन् २००२ मा मृत्यु भयो । आर्चर पूर्व राजनीतिज्ञ तथा अंग्रेजी उपन्यासकार हुन् । उनी सन् १९६९–१९७४ को अवधिमा बेलायतका संसद सदस्य थिए । एउटा वित्तीय जालझेलका कारण उनी दामासाहीमा परे । यी दुवै लेखकहरूको जेल डायरी आज अत्यधिक चर्चामा रहेको मानिन्छ । अमेरिकी उपन्यासकार नर्मन मेलरले ज्याक अब्बोटको जेल डायरीलाई धेरै प्रशंसा गरेको पाइन्छ ।

यी लेखकहरू बीपी कोइरालाजस्तो ठूलो विषद् राजनीतिक संघर्ष भएको बहुआयामिक व्यक्तित्व होइनन् । बीपीका डायरीहरूले कसैको डायरी वा कारागार पत्राचारबाट प्रभावित भएर आफूले डायरी लेखन गरेको उल्लेख गरेको पनि देखिँदैन । तथापि यस क्षेत्रमा धेरै स्थापित नाउँहरू पनि छन् ।

हो ची मीन्हको चिनियाँ भाषामा लेखिएको ‘प्रिजन डायरी’ तथा हिटलरको ‘मेन क्याम्फ’ लाई उदाहरणका रूपमा लिन सकिन्छ । हो ची मीन्हको डायरी प्रसिद्ध छ । उनी भियतनामका सबैभन्दा प्रसिद्ध मार्क्सवादी–लेलिनवादी राजनीतिज्ञ हुन् । उनी फ्रेन्च पनि बोल्दथे । भियतनामलाई लामो संघर्षद्वारा फ्रान्सबाट स्वतन्त्र गराएका उनको दर्जनौ छद्म नाउँ थिए । दक्षिणी भियतनामको व्यापारिक सहर साइगनलाई आजकल ‘हो ची मीन्ह सिटी’ भनिन्छ ।

एउटा राजनीतिज्ञका रूपमा कम्युनिष्ट पार्टीको शासनलाई देशमा अनन्तकालका लागि संस्थागत गर्ने हो ची मीन्ह राजनीतिक स्वतन्त्रताको अर्थमा महत्त्व राख्दैनन् तर चीनका माओ त्से तुङजस्तै बलिया राष्ट्रवादी मानिन्छन् । उनको चिनियाँ भाषामा लेखिएको ‘जेल डायरी’ कारागारभित्रको परिस्थिति, कूप्रशासन, शोषण र दमन तथा भियतनामको विविध विषयसँग सम्बन्धित छ ।

तुलनात्मक रूपमा बीपीका दृष्टिकोणहरू धेरै उदार धरातलमा आधारित छन् र बलिया तथा सिद्धान्त प्रेरित पाइन्छन् । हो ची मीन्हले कविताको माध्यमबाट आफूलाई व्यक्त गरे । बीपीले इतिहास, साहित्य, दर्शनशास्त्र तथा प्रजातान्त्रिक चिन्तनका आधारमा आफ्नो अभिव्यक्ति दिएका छन् ।

त्यस्तै नवमार्क्सवादका चिन्तक एन्टोनियो ग्राम्शीको ‘जेल डायरी’ पनि धेरै प्रसिद्ध छ । उनी इटलीका कम्युनिस्ट पार्टीको संस्थापक, मार्क्सवादको सिद्धान्तकार तथा प्रचारक थिए । एन्टोनियो ग्राम्शीलाई मुसोलिनीले ६ वर्ष थुनामा राखे । यसैबेला उनले आफ्ना नोटबुकहरू लेखेका थिए । मुसोलिनीको राज्यलाई एउटा फासिष्ट राज्यको रूपमा लिइन्छ । नेता अधिनायकवादी तथा राज्य फासिष्ट भएपछि के बाँकी रहन्थ्यो? थुनिएका ग्राम्शीले जेलमा रहुञ्जेल पुँजीवादी राज्यको वितन्डाका बारेमा डायरी लेखे।

बुद्धिजीवीदेखि सांस्कृतिक आधिपत्यसम्मका कुरा उनले लेखेका छन् । बीसौं शताब्दीका प्रारम्भिक चार दशकको अवधि दक्षिणपन्थी फासिष्ट विचारधारासँग जुध्ने तथा साम्यवादको पक्षधरताको प्रयासका लागि प्रसिद्ध छ । ग्राम्शीले कारागारमा छँदा ३० वटा नोटबुक र तीनहजार पृष्ठ जति इतिहास विश्लेषण तथा आफ्नो दृष्टिकोण लेखेका थिए ।

दर्शनको क्षेत्रमा ग्राम्शीले ऐतिहासिक भौतिकवादका समस्याहरूलाई सम्बोधन गरेको देखिन्छ । कारावासका समयमा लेखिएको नोटबुक ग्राम्शीको विचारधारा र सैद्धान्तिक लेखनको प्रतिनिधि दस्तावेज हो । यसमा उनले ‘बेस एण्ड सुपरस्ट्रक्चर’ (आधार तथा विशिष्ट संरचना) सिद्धान्त समाजको तल रहेका सर्वहारा वर्ग र बुद्धिजीवी समुदायको पारस्परिक सम्बन्धहरूको विश्लेषण गरेका छन् । विचारधारा (दर्शन, कला, नीति, इत्यादि) को सापेक्षिक स्वतन्त्रताको गहिरो अध्ययन र विश्लेषण त्यसमा छ ।

इटालियन संस्कृतिको अध्ययन, क्याथोलिक धर्म, बेनेदेतो क्रसको अभिव्यञ्जनावादी दर्शन र समाजशास्त्रमा प्रत्ययवादी (चेतनामूलक) सिद्धान्तको आलोचनाकोमार्क्सवादी चिन्तनशैलीमा धेरै महत्त्व राख्दछन् । अति प्रभावकारी हुँदाहुँदै पनि प्रजातान्त्रिक मान्यताहरूमा ग्राम्शीले समय खर्च गरेनन् । उनको बाटो त्यो थिएन ।उनले छोएका अधिकांश विषयहरूमा बीपीका आफ्ना दृष्टिकोण छन् । तर बीपीको मूल आधार प्रजातान्त्रिक समाजवाद रहेको थियो ।

नेल्सन मण्डेला थुनामा रहँदा लेखिएका विभिन्न दैनिकी, संक्षिप्त लेख तथा चिठीहरू त्यतिकै प्रसिद्ध छन् । उनले आफ्नो जीवन तथा अनुभवको बारेमा तिनमा लेखेका थिए । नेल्सन मण्डेलाको ‘अ लंग वाक टु फ्रिडम : द अटोबायोग्राफी अफ नेल्सन मण्डेला’ एउटा स्तरीय पुस्तक हो । कन्भर्सेसन्स विथ माइसेल्फ त्यतिकै महत्वपूर्ण छ । उनको प्रिजन लेटर्स सन् २०१९ मा प्रकाशित भए ।

रङ्गभेद विरोधी क्रान्तिकारी राजनेता तथा परोपकारी व्यक्ति मण्डेलाका डायरीमा उनको राजनीतिक प्रतिबद्धतामात्र नभएर मानवतामुखी व्यक्तित्व पनि झल्किन्छ । रङ्गभेदविरुद्ध तथा राजनीतिक समानताको लडाइँमा मण्डेला अद्वितीय मानिन्छन् । बीपीकाझैँ मण्डेलाका डायरीले पनि राजनेताका रूपमा उनको बौद्धिक विकास क्रमशः कसरी हुँदै गएको रहेछ भन्ने देखाउँछन् ।

मार्टिन लुथर किङले अमेरिकाको अलावामास्थित बर्मिङ्घम जेलबाट लेखेका चिठीहरू जेल डायरीको एउटा अर्को बलियो उदाहरण हो । लुथरलाई बर्मिङ्घममा जातीय विभेदविरुद्ध गरिएको एउटा अहिंसात्मक विरोधका लागि थुनिएको थियो । त्यसै जेलबाट लेखिएका उनका चिठीहरू निकै प्रसिद्ध भए ।

‘इन्जस्टिस एनिहृवेयर इज अ थ्रेट टु जस्टिज एभ्रिहृवेयर’ अर्थात् कहीँ पनि भएको अन्याय सबैतिरको न्यायका लागि एउटा खतरा हो भन्ने उनको महानवाणी त्यस्तै चिठीबाट सार्वजनिक भएको हो । बीपीका डायरीहरूमा पनि यस्तै सयौं महत्त्वपूर्ण भनाइहरू भेटिन्छन् ।

झ्यालखानामा लेखिएका कतिपय पुस्तकहरू धेरै प्रसिद्ध छन् । वास्तवमा डायरी लेख्नेभन्दा पुस्तक लेख्ने धेरै पाइन्छन् । आजकै मितिमा पनि नाजी पार्टीका नेताका रूपमा हिटलरको सन् १९२५ र १९२६ मा लेखिएको उनको आत्मअभिव्यक्तिका रूपमा रहेको घोषणापत्र ‘मेन क्याम्फ’ राम्रो पुस्तक मानिँदैन यद्यपि यो अत्यधिक प्रसिद्ध छ ।

‘मेन क्याम्फ’ले विश्व नेतृत्वमा स्थापित हुन यहुदी जनताले गरेको कथित् षडयन्त्रलाई उल्लेख गर्दछ । यसको मूल विषय यहुदी विपत्ति हो । हिटलरको भनाइमा जर्मन जातिको पवित्र उद्देश्य आफ्नो जातिगत तत्वहरूलाई कायम राख्दै आफूलाई प्रभावशाली रूपमा स्थापित गर्ने हो ।

हिटलरको भनाइमा जो राम्रा जातिका छैनन् उनीहरू भुस हुन् । जर्मन जातिले कुकुर, घोडा र बिरालाको मात्र प्रजनन् गराएर बस्ने होइन आफ्नो रगतको विशुद्धता पनि सुरक्षित राख्ने हो । बीपीले आफ्नो उपन्यास ‘हिटलर र यहुदी’मा यस विषयलाई विस्तारका साथ विवेचना गरेका छन् ।

बीपीको राष्ट्रवादको कुनै चेतना हिटलरलगायत कुनै नाजी नेतृत्व वा समर्थकमा थिएन । यो पुस्तकले हिटलर कस्तो प्रक्रियाबाट क्रमशः यहुदी विरोधी तथा सैन्यवादी हुँदै गए भन्ने बुझ्न मद्दत गर्दछ । वास्तवमा जेलभित्र बसी युरोपको सत्यानाश गर्ने जुक्ति सिर्जनामा मात्र यो पुस्तक सहायक हुन सक्यो ।

अलेक्सान्द्र सोल्झेनित्सिन स्टालिनलाई खिसी गरेको कारणले जेलमा परे । उनी दार्शनिक तथा इतिहासकार पनि थिए । उनलाई सोभियत संघको सबैभन्दा प्रसिद्ध प्रतिपक्षी मत पनि मानिन्छ । कम्युनिस्ट प्रणाली तथा राजनीतिक दमनको उनले विरोध गरेका थिए ।

१९४५ तिरको कुरा हो, उनले लेखेकोद गुलाग आर्किपेलागो १९८९ मा छापियो । सोल्झेनित्सिनको भनाइमा मार्क्सवादी, लेनिनवादी सिद्धान्तले जहिले पनि ‘लेबरक्याम्प’कै सिर्जना गर्ने हो । लेनिनले यसको सुरूवात गरे । स्टालिनको समयमा अर्थात् सन् १९३० देखि १९५० सम्म यसको भयानक रूप देखियो ।

यसलाई राजनीतिक फरक दृष्टिकोण राख्नेलाई दमन गर्न प्रयोग गरियो । सोल्झेनित्सिनको भनाइमा सोभियत सरकारको बल जसरी गुलागको उत्पादकत्वमा टिकेको छ, त्यसैगरी त्यसको शक्तिको आड पनि गुलागको त्रास नै हो । राजनीति गर्नेलाई सोल्झेनित्सिनको यो पुस्तकले आत्मबल निर्माण गर्न मद्दत गर्दछ ।

बीपीका डायरीहरू राजनीतिक अर्थमा अत्यन्त प्रभावशाली छन् ।बीपी भन्छन्, ‘२००७ सालको क्रान्ति हामीले हिन्दुस्तानबाट सञ्चालन गर्‍यौं, तर हामीलाई हिन्दुस्तानले सञ्चालन गर्न खोजेको कुरा मैले सधैंभरि र सबैभन्दा बढी विरोध गरेको छु । मैले राजालाई हमेसा महत्व दिएको छु– मलाई थुनामा राख्दा पनि मैले त्यही विचार राखेको छु, तर उनको निरंकुश शैलीको मैले सधैं र सबैभन्दा बढी विरोध गरेको छु ।

मैले हिन्दुस्तान बसेर संगठन गर्दा पनि आफ्नो राष्ट्रियताको छवि कायम राख्ने प्रयास गरेँ । राजासँग मेलमिलापको कुरो गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिनँ ।’ उनको भनाइ छ, ‘नेपाली काङ्ग्रेसको इतिहास ती सबै आदर्श र लक्ष्यहरूका साथ भएको संघर्षको इतिहास हो र मलाई लाग्छ, यस मुलुकको उज्जवल भविष्यका लागि नेपाली काङ्ग्रेसमा ती कुराको निरन्तरता रहनु पर्दछ ।

जुन नेपाली काङ्ग्रेसले राष्ट्रियताको आफ्नो अडान छाड्ने छ, यो निरर्थक भएर जानेछ र जुन दिन यसले प्रजातन्त्रका आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।’ आफ्ना यी अडानहरूका बारेमा कसैले भ्रमित नगरून् भन्ने बीपीको अपेक्षा छ ।

आफ्नै कलमद्वारा अभिव्यक्त बीपीका मौलिक विचारहरूले गर्दा दुवै जेल डायरीले उनका बारेमा भ्रमित नहुने अवस्थाको सिर्जना गरेका छन् । यसैगरी ८ जेठ २०३९ मा क्यान्सरको इलाज गर्न दिल्ली जानुअघि गरेको टेप वार्तामा बीपीले फर्किएर आइएला, नआइएला भन्ने त्रासबीच दिएको अन्तिम सन्देशलाई यहाँ उल्लेख गर्नु जरूरी छ । २०६३ मा प्रकाशित राजा, राष्ट्रियता र राजनीतिमा बीपीले आफ्नो कुरालाई यसरी बिट मारेका छन् :

१. हामी बडो अप्ठ्यारो परिस्थितिमा छौं । हाम्रो देश, हाम्रो जाति, हाम्रो राष्ट्र बडो अप्ठ्यारो परिस्थितिमा छ र त्यसलाई जोगाउनु परेको छ । … त्यस्ता संस्थाहरू, त्यस्ता शक्तिहरू जसले जोगाउन सक्दछन्, तीसँग हामीले वैमनष्यताको सम्बन्ध राख्नु हुँदैन । जस्तो, राजतन्त्रको बारेमा ।

मलाई लाग्दछ, त्यो त्यस्तो संस्था छ हाम्रो नेपालका लागि, नेपालको राष्ट्रियताको लागि, अहिले जो विपत्ति परेको छ । बाहिरियाबाट त्यसलाई बचाउनका लागि बडो ठूलो योगदान त्यसले दिन सक्छ । त्यसो हुनाले त्यसको खिलाफ हामीले बडो सजक भएर मात्र कारबाही गर्नुपर्छ । नत्र भनेदेखि जुन तत्वले हाम्रो राष्ट्रलाई सिध्याउन लागेको छ, त्यही तत्व हाम्रो पछाडि लागेर हामीलाई समर्थन गरेर त्यो गराउन सक्दछ ।

२. आर्थिक विकास भनेको नै हामी नेपालको विकास भन्दछौँ भने त्यो गाउँको विकास हो ।… गाउँको विकास भनेको मतलव के हो भनेदेखि ठूल्ठूला उद्योगधन्दाको विकासमात्र गर्ने होइन । गाउँलाई चाहिने आवश्यकताको कुरा गाउँमा नै उपलब्ध हुन सकोस् ।

३. जब म भन्छु बाहिरियाबाट हाम्रो देशमा यो खतरा छ तब ती मेरा वाक्यहरूमा कहिले हिन्दुस्तानका कुरा आउँछ, कहिले रूसको कुरा आउँछ, कसैले यो अनभिज्ञ भएर भनोस् यी शक्तिहरू बडो इमानदार भएर हाम्रो निम्ति (काम) गर्छन् त्योचाहिँ हाम्रा निम्ति पत्याउने कुरा छैन ।

४. हामीले याद गर्नुपर्छ हिन्दुस्तानसँग मिल्दैमा चीन विरोधी हुनुपर्छ भन्ने जरूरी पनि छैन र चीनले हामीलाई केही सुविधा पारिदियो भने हामीले भारत विरोधी हुनुपर्ने हुँदैन ।

५. कुनै एउटा व्यक्तिको बुताबाट देश बाँच्ने, संस्थाहरू विकसित हुने, देश विकास हुने, त्यो हुनै सक्दैन । हुने हो भने त राजाकै हुकुमबाट भइहाल्थ्यो नि । जस्तोसुकै बुद्धिमानले पनि त्यो गर्नै सक्दैन ।… मेरो अगर देन केही छ भने यो देशको सामर्थ्यलाई बुझेर आफ्नो कुरा भनेको छु ।

उपरोक्त पृष्ठभूमिमा एउटा मयार्दित आस्थाको बन्दीको रूपमा लेखिएका पछिल्ला दुवै डायरीहरू हजारौं प्रति बिक्री भइसकेको छ । तथापि यी सामग्रीहरूको समग्र प्राज्ञिक अध्ययन नहुञ्जेलसम्म नेपालको राष्ट्रनीतिमा बीपीको योगदान अन्तर्राष्ट्रिय जगत्‌ले बुझ्ने अवस्था छैन ।

अन्तर्राष्ट्रिय साहित्यमा जेल पर्दा लेखिएका उपन्यास, नाटक, कविता तथा राजनीतिक विषयहरूको कमी छैन । राजा महेन्द्रले हिरासतमा लिएको ठीक दुई महिनापछि बीपीले जेल–जर्नल लेख्न शुरू गरेका हुन् । यसमा आफ्नो यथार्थ उनले आफ्नी पत्नी सुशीलालाई सम्झेर व्यक्त गरेको देखिन्छ ।

बन्दी जीवनको यथार्थ एउटा कुरा भयो । तर समग्रमा नेपाली क्रान्तिको उद्देश्य, राजनीतिक, आर्थिक, सामाजिक तथा विकाससम्बन्धी चुनौतीहरूको अवस्था, बीपीको वैचारिक धरातल, सहयात्रीहरूसँगको अन्तर्सहयोग, भाषा, धर्म, प्रकृति, साहित्य, कूटनीति, अध्यात्म तथा राष्ट्रिय जीवनका विविध पक्षहरूबारे बीपीका विचार तथा टिप्पणीहरू यसमा परेका छन् ।

व्यक्तिहरूले झ्यालखाना बस्दा कलम चलाएको देखिन्छ । बीपीको उपस्थिति यो हूलमा अलि फरक हो । मूलतः बीपी राजनीतिमा सक्रिय व्यक्ति तथा चिन्तक थिए । जनताबाट अनुमोदित भइसकेपछि उनलाई जेल हालिएको थियो । प्रजातान्त्रिक क्रान्तिको नेतृत्व गर्दै मुलुकको प्रधानमन्त्री तथा सबैभन्दा सिद्धान्तनिष्ठ प्रतिपक्षका नेताका रूपमा यसरी साहित्य सिर्जना गर्ने अवसर कमैले पाएका छन् ।

विश्व राजनीतिमा धेरै नेताहरू जेल गएका छन् । तर आफ्नो युगको आदर्श, नैतिकता र मान्यताहरूका लागि आफूले गरेको संघर्षलाई लेखबद्ध गर्ने तथा आफूलाई समग्र समालोचनाका लागि खुला राख्ने नेताहरू कमै हुन्छन् ।

प्रजातन्त्र तथा राष्ट्रवादप्रति समर्पित बीपीका दुवै जेल डायरीहरूले बीपीको आदर्श, नैतिकता र मान्यताहरूका लागि गरिएको महान् संघर्षलाई शब्द चित्रमा उतारेका छन् ।

३० डिसेम्बर १९७६ का दिन करिब ८ वर्ष लामो प्रवास त्याग गरी राष्ट्रिय मेलमिलापको आहृवानका साथ स्वदेश फर्किएका दिनदेखि दोस्रो डायरीमा पहिलोजस्तै सम्पूर्ण मानवीय आवेग, उद्विग्नता, उत्तेजना र उदासीहरूको नितान्त निजी व्यक्तित्वसम्मको अवलोकन र अनुभूत यस डायरीका पानाहरूबाट गर्न सकिन्छ । वास्तवमा यी दुवै डायरीमा बीपीको वास्तविक योग्यता र औकात छर्लङ्ग देखिन्छन् ।

त्योभन्दा पनि बीपीको चिन्तनमा रहेको मौलिकता तथा आफ्नो मुलुकप्रतिको समर्पणको यी दुवै डायरीहरू उत्खननमा पाइएका गाडधन नै हुन् । ठूलठूला उद्भव भएका धेरै नेताहरू जस्तो जर्मनीका एडल्फ हिटलर वा भियतनामका हो ची मीन्हजस्ता कुनै बेलाका एकदमै महान् व्यक्तिहरू पनि अन्ततः प्रजातान्त्रिक निष्ठामा कमजोर सावित भएको विश्वइतिहास छ । बीपी यी डायरीबाट अझै कञ्चन देखिएका छन् ।

अतः बीपीका सबै डायरी विश्वजेल साहित्यमा धेरै महत्त्व राख्दछन् । तर यिनले भाषागत कारणले विश्व पाठकमञ्च प्राप्त गर्न सकेका छैनन् ।

[प्रकाशित : भाद्र २४, २०७८ १७:०६]

विपिन अधिकारी
ekantipur.com
https://ekantipur.com/bibidha/2021/09/09/163118547586621760.html
Facebook
Twitter
LinkedIn

Related Posts