This is the presentation of Constitutional Expert Dr Bipin Adhikari on economic thoughts of Late BP Koirala, organized by Nepal Constitution Foundation on the 1st of January, 2014 as part of Koirala’s Centenary Programme.

त्यो सामन्तवादी सोचको समय थियो । कानुनको शासन थिएन । मानवीय संवेदनाका आधारमा शासन चल्थ्यो । मौलिक अधिकारको अवधारणाको विकास भइसकेको थिएन । शिक्षा प्रदान गर्ने कुनै संगठित संरचना थिएन । लगभग कबिला अवस्थामा समाज चलेको थियो । मान्छेले जाने अनुसार धर्मकर्म र सामुदायिक शिष्टाचारका आधारमा राम्रो-नराम्रो कुरालाई परिभाषित गर्थे । समाजशास्त्र भन्ने कुनै अवधारणा नै थिएन । प्रजातन्त्रको सोच थियो होला तर संरचनाहरूको विकास भइसकेको थिएन । राजनीतिक रूपमा त्यो अत्यन्त अस्थिर समय थियो । उत्तर र दक्षिणतर्फका दुवै शासकसँग जुध्न सक्ने क्षमता हिमवत् खण्डमा थिएन । स्वाभिमानको कमी थियो । दुवैतर्फका छिमेकी राज्य विस्तारमा लागेका थिए । संसारमा साम्राज्यवाद सुरु भइसकेको थियो । यस्तो अवस्थामा हिमवत् खण्डको सुरक्षा एउटा चुनौतीपूर्ण प्रश्न थियो । आज पृथ्वीनारायण शाहलाई अध्ययन गर्न बस्दा त्यस बेलाको मापदण्डले हेर्नुपर्छ ।

नेपाललाई संसारको प्राचीनतम मुलुकमध्ये एक भएको गौरव छ । नेपाल उपत्यका ऐतिहासिक कालदेखि नै हिमवत् खण्डमा अलग सांस्कृतिक पहिचानयुक्त रहँदै आएको छ । इसापछिको तेस्रो शताब्दीसँगै लिखित इतिहास पाइएदेखि लगातार काठमाडौँ समग्र हिमवत् खण्डको सांस्कृतिक राजधानी रहँदै आएको हो । यहाँका अति प्रभावशाली लिच्छवि राजाहरूको पतनपछि क्रमशः विभिन्न सानाठूला राज्य बन्दै-भत्कँदै गए । गोरखाका युवा राजा पृथ्वीनारायण शाहले अठारौँ शताब्दीको मध्यतिर बाइसी-चौबीसी राज्य-रजौटाहरूलाई राजनीतिक रूपमा समेत एकीकरण गरे ।

उनले काठमाडौँलाई राजनीतिक राजधानी बनाए, यसको इज्जत-आमद, वैभव र उच्चतम् मर्यादालाई आत्मसात् गर्दै । एकीकरणको भूमिका निर्वाह गर्ने गोरखा राज्य नै नेपाल राज्यमा विलीन भयो । विजेता राज्य पराजित राज्यमा विलीन भएको उदाहरण स ंसारका एकीकरण इतिहासमा विरलै भेटिन्छ । तर, यही विन्दुबाट हजारौँ वर्षदेखि सँगसँगै सुखदुःख गर्दै बाँचेका तथा कुनै सिमानाले छेकबार नगरेका विभिन्न क्षेत्र, जाति, धर्म, संस्कृति एउटा नयाँ रूपमा संगठित र एकाकार भए । एकीकृत राष्ट्र निर्माणको प्रक्रिया सुरु भयो ।

यस कारण भन्न सकिन्छ, एकीकृत नेपाल राष्ट्रको निर्माण ऐतिहासिक तथ्य हो भने यसका निर्माता वा सूत्रधार राजा पृथ्वीनारायण शाह नै हुन् भन्ने पनि त्यत्तिकै सत्य हो । नेपालको इतिहासमा पृथ्वीनारायणको त्यति नै महत्त्व छ, जति प|mान्सको इतिहासमा नेपो लियन बोनापार्ट (सन् १७६९-१८२९), जर्मनीको इतिहासमा अट्टोभान विस्मार्क (सन् १८१५-९८) र इटलीको इतिहासमा जुसेप्प गरिबाल्डी (सन् १८०७-८२) वा प्रधानमन्त्री काभोर -सन् १८१०-६१)को छ ।

यी सबैका राष्ट्रिय चुनौती र परिवेश फरक थिए । विस्मार्कले जर्मनीका भुरेटाकुरे राज्यहरू तथा पर्सियालाई मिलाएर एउटा ठूलो जर्मन राज्यको एकीकरण गरे । उनले त्यो नयाँ मुलुक रगत र इस्पातले बनेको हो भनेका थिए । जर्नेल नेपोलियन बोनापार्टले क्रान्तिको माध्यमबाट प|mान्सलाई विश्वस्तरीय साम्राज्यमा रूपान्तरण गरे । जर्नेल गरिबाल्डी र प्रधानमन्त्री काभोरको क्षमताका कारण इटली एउटा समृद्धशाली एकीकृत मुलुकका रूपमा निर्माण हुन पुग्यो । यी सबै इतिहासका लौहपुरुष मानिन्छन् ।

यी सबैभन्दा पुराना थिए, पृथ्वीनारायण शाह । तैपनि, उनी बढी आधुनिक तथा बहुआयामिक र राजनीतिक रूपमा बढी परिपक्व देखिन्छन् । उनले नेपाल एकीकरण मात्र गरेनन् । नेपालको स्थापनाकालीन सिद्धान्तहरू पनि कायम गरे । यी सिद्धान्त नेपालका सम्बन्धमा आज पनि अकाट्य सत्यका रूपमा पढिन्छन् । एकताका सूत्रका रूपमा ऐतिहासिक कालमा यसको ठूलो महत्त्व थियो । आज पनि तिनको महत्त्व घटेको छैन ।

महत्त्वाकांक्षी र रणनीतिक
संसारमा कुनै पनि व्यक्ति जात वा नस्लका आधारमा राष्ट्रनिर्माता हुन सक्दैन । कुनै विशेष जात, धर्म, वर्ण, लिंग र क्षेत्रलाई राष्ट्राधार बनाउने व्यक्ति लामो समयसम्म राष्ट्रनिर्माता हुन वा टिकिरहन गाह्रो हुन्छ । पृथ्वीनारायण खस वा मगर कुन मूलका थिए, ठो कुवा गर्न सकिने स्थिति छैन । तथापि, उनले आफूलाई मगरातको राजा मै हुँ भनेका छन् । सुरथसिं राना आफ्नो मामाघरको हजुरबुबा भएको उनले उल्लेख गरेका छन् । त्यस्तै उनले मकवानपुरका दिग्बन्द सेनकी बहिनी बिहे गरेको इतिहासमा उल्लेख छ । उनको दरबारमा पाण्डे -बाहुन) र बस्नेत -क्षेत्री)को बिहेबारी चल्थ्यो । यी सबै पृष्ठभूमिबाट के देखिन्छ भने या त उनी मगर कुलका थिए, या मगर र खस राजपरिवारबीच राम्रै बिहेबारी चलेको अवस्था थियो । जात जे भए पनि उनी पढेलेखेका थिएनन् । देश-दे शान्तर घुमेका पनि होइनन् । ससुराली मकवानपुरबाट र्फकंदा चन्द्रागिरिको डाँडोबाट उनले पहिलोपटक काठमाडौँका तीन सहर देखेका हुन् ।

हरेक महानका अँध्यारा पक्ष
मान्छेमा देउता खोज्न सकिन्छ तर मान्छे देउता हुँदैन । राम्रा मान्छेलाई तत्कालीन परिवेश र समयको स्तरभन्दा राम्रो भएकाले राम्रो भनिएको हो । उसमा अवगुण छँदै थिएन भनेर राम्रो भनिएको हुँदैन । पृथ्वीनारायण शाह पनि यसै कोटीका शासक थिए । यस किसिमको आलोचना अन्य धेरै ठूला राष्ट्रनिर्माता वा व्यक्तित्वको पनि भएको छ ।

इतिहासमा विस्मार्कलाई ‘एरिस्टोक्रेटिक जंकर’ भन्नेहरू पनि थिए । अमेरिकी संघका संस्थापक जर्ज वासिङ्टनले जाडो महिनामा रेड इन्डियनहरूको गाउँ जलाउन सिपाहीहरू पठाएको इतिहास छ । अमेरिकी संविधानका निर्माताहरू कतिपयले दासहरूको व्यापार गर्थे । दासताबाट मुक्तिको घोषणा गर्नेबित्तिकै अब्राहम लिंकनले अमेरिकामा धेरै स्थानीय अमेरिकीलाई फाँसी दिएका थिए । अमेरिकी इतिहासमा यो सबैभन्दा ठूलो सामूहिक फाँसी थियो ।

गान्धीजस्ता महात्मा पनि आलोचनारहित थिएनन् । उनले काला नस्लका मान्छेलाई आफ्नो जीवनमा कहिल्यै महत्त्व नदिएको आरोप खेपेका थिए । उनी स्वेच्छाचारी तथा आकर्षक तरुण महिलाप्रति आशक्त रहन्थे भन्ने आरोप छ । गान्धीको हर्मन कालेनब्याक भन्ने पुरुषसँग विकृत सम्बन्ध थियो भनेर पनि लेखिएको छ । श्रीमती बिरामी भई छटपटिएर मर्न लाग्दा पनि गान्धीले बलमिच्याइँ गरी आधुनिक उपचार गर्न नदिएको आरोप पनि छ । प्राकृतिक उपचारकै माध्यमबाट बाँच्नुपर्छ भन्ने उनको मान्यता थियो ।

अमेरिकाका गान्धी मानिने मार्टिन लुथर किङलाई अर्को विश्वविद्यालयमा पढ्ने एक छात्रसँग आफूले लेख्नुपर्ने ‘डक्टोरल थेसिस’ किनेको आरोप लगाइएको छ । उनको ‘आइ ह्याभ अ डि्रम’ भन्ने प्रख्यात भाषण पनि चोरीकै भन्ने आरोप छ ।

यी आरोपबाट के देखिन्छ भने राजनीतिक जीवन निर्वाह गर्ने व्यक्तिलाई यस्ता आरोप लागिरहन्छन् नै । कति सही होलान्, कति गलत । तर, कसैको मूल्यांकन गर्दा त्यस्तो व्यक्तिले बाँचेको समग्र जिन्दगी स्थापित सिद्धान्तहरू के थिए र उसको मूलप्रवाह के थियो भन्नेतर्फ लक्षित हुनुपर्छ । नराम्रा कुराले कुनै व्यक्तिमा भएको राम्रो कुरालाई बगाएर लैजान सक्दैन ।]

उनको समयमा गोरखा आफैँमा धनी वा वैभवशाली राज्य पनि थिएन । पृथ्वीनारायणका बाबु नरभूपाल शाह विशेष योग्यता भएका मान्छे थिएनन् । तर, करिब २० वर्षकै उमेरमा राजा भएका पृथ्वीनारायण महत्त्वाकांक्षी र होनहार दुवै थिए । उनमा गोरखा राज्यको विस्तार र वैभवशाली एवं सम्पन्न जनताको परिकल्पना पनि थियो । उनलाई राजा राम शाह, भूपतिन्द्र मल्ल वा महिन्द्र मल्लजस्तो न्यायपि्रय राजा बन्ने रहर थियो । ठूलो देशको अधिपति हुनका लागि हिमवत् खण्डको एकीकरण आवश्यक थियो भने परम्परागत रूपमा आर्थिक समृद्धिका लागि भोटसँग व्यापार गर्ने हिमाली नाकाहरू तथा दक्षिणतर्फको मुगलानसम्मको पहुँच नभई सम्भव थिएन । यो परिकल्पनाले पृथ्वीनारायणलाई राज्य विस्तार एवं एकीकरणतर्फ उन्मुख गरायो ।

नेपाल एकीकरणको प्रयास गर्ने पृथ्वीनारायण पहिलोे व्यक्ति थिएनन् । मानदेवलगायतका लिच्छविकालीन राजाहरू सम्भवतः सबैभन्दा प्रभावशाली थिए । अहिलेको नेपालभन्दा लगभग ठूलो नेपालमा उनीहरूले शासन गरेको मानिन्छ । तर, नेपाल सोही रूपमा रहिरहन सकेन । वास्तवमा अठारौँ शताब्दीका राजा अरमुडी, बाह्रौँ शताब्दीका राजा नागराज, सत्रौँ शताब्दीका राजा प्रताप मल्ल र राम शाहले पनि यस हिमवत् खण्डमा एकीकरणको भगीरथ प्रयत्न गरेका हुन् । पृथ्वीनारायण र अरूका बीचको मुख्य फरक के हो भने उनी ती प्रतापी राजाहरूभन्दा बढी महत्त्वाकांक्षी र रणनीतिक थिए । यो क्षमताले उनलाई राज्य विजेता मात्र नभई समग्र नेपालको एकीकरणकर्ता बनायो । यो अवसर प्रताप मल्लजस्ता सम्पन्न नेपालका राजा र अरमुडी वा नागराजजस्ता कश्मीरसम्म शासन गर्ने राजालाई प्राप्त भएन । किनभने, एकीकरण गर्न चाहिने सामरिक क्षमता र एकीकृत देशलाई धान्न सक्ने सामाजिक, आर्थिक, राजनीतिक र प्रशासकीय हुति सबैमा उत्तिकै थिएन । पृथ्वीनारायणले यो पुरुषार्थ गरेरै देखाएका हुन् ।

विश्व परिस्थिति
एकीकरण राजा पृथ्वीनारायणको महत्त्वाकांक्षा मात्र थिएन । यसका लागि तत्कालीन अवस्थाका वस्तुगत परिस्थितिहरू पनि विद्यमान थिए । उनी जन्मनुअघि रोबर्ट वालपोल बेलायतका प्रधानमन्त्री भएका थिए । बेलायतको बढ्दो सैन्यशक्ति त्रासको विषय भइसकेको थियो । रुसका राजा -जार) पिटर द ग्रेटले राज्यमा ठूलो भूमिका पाएको अर्थोडक्स चर्चको सुधार गर्न थालेका थिए । तथापि, रुस र पर्सियाबीच युद्ध सुरु भइसकेको थियो । अफगानहरूले त्यस बेलाको शक्तिशाली राष्ट्र इरानलाई जितिसकेका थिए । चीनका कांशी बादशाह भर्खर बितेका थिए ।

पृथ्वीनारायणको जन्मपछि नै पर्सियालाई कन्स्ट्यान्टटिनोपोल सन्धि अन्तर्गत रुस र अटोमान साम्राज्यले बाँडीचुँडी खाएका थिए । अंग्रेज र स्पेनीहरूबीचको युद्ध त्यसपछिको अर्को ठूलो घटना थियो । पृथ्वीनारायण शाह किशोर उमेरमा टेक्दा नटेक्दै रुस र टर्कीबीच चारवर्षे घमासान युद्ध सुरु भइसकेको थियो । चीनका प्रभावशाली सिङ लङ बादशाहको राज्य विस्तारको कार्यक्रम त्यत्तिकै दह्रो थियो । यता हिन्दुस्थानमा मुगलहरूको बिजोग सुरु भइसकेको थियो । जो टुक्राटुक्रा हुँदै थिए । पर्सियाका नादिर शाहको आक्रमणबाट मोहम्मद शाह निकै पीडित थिए । युरोपमा प्रोटेस्टेन्ट र क्याथोलिकबीच पटक-पटक युद्ध भएझैँ यस क्षेत्रमा मुस्लिम र हिन्दु राज्यहरू भिड्न सुरु गरिसकेका थिए । चतुर बेलायती तथा प|mान्सेलीहरू हिन्दुस्थानमाथि आधिपत्य स्थापित गर्ने तयारीमा जुटिसकेका थिए । यो खेलमा बेलायती महाचतुर देखिए । दिव्योपदेशमा टर्की, चीन र हिन्दुस्थानका बारेमा सावधान गर्नुपर्ने कारण सम्भवतः तिनै थिए ।

राष्ट्र निर्माणका आधार
राष्ट्र निर्माणका ८ आधार
छरिएर रहेका राज्य-रजौटा एकीकरण
राष्ट्रिय सेना निर्माण
राष्ट्रिय सुरक्षा नीति
असंलग्न परराष्ट्र नीतिको स्थापना
स्वदेशमै पुँजी परिचालन र उत्पादनमा जोड
राज्यलाई धार्मिक, सांस्कृतिक र जातीय विविधताको साझा फूलबारीका रुपमा स्वीकार
विजित राज्य-रजौटालाई स्वायत्तता
प्रजातान्त्रिक शासन पद्धतिप्रतिको अठोट (दुनियाँ/जनताले मन पराएको व्यक्तिलाई कज्याइँ/प्रधानमन्त्रीत्व)

पृथ्वीनारायण नयाँ नेपाली मुलुकका एकीकरणकर्ता मात्र होइनन् । आफ्नो जिन्दगीको अन्तिम लडाइँ उनले सन् १७७३ मा लडेको देखिन्छ । करिब ४६ वर्षको उमेरमा काठमाडौँमा राजधानी सारेपछि पृथ्वीनारायणमा देखिएको राजनीतिक कौशलले उनको परिपक्वता दर्साउँछ । उनले टिपाएको ‘दिव्योपदेश’ र उनका बारेमा लेखिएका ग्रन्थहरूले यसबारे प्रकाश पार्छन् । उनले पुनः एकीकृत नेपाललाई पाको राजनेताका रूपमा चार जात छत्तीस वर्णको साझा फूलबारीका रूपमा देख्न चाहे । हिमवत् खण्डको असंलग्न परराष्ट्र नीतिको सूत्रधार उनै भए । उपनिवेशवादविरुद्ध राष्ट्रिय सुरक्षाको अवधारणा उनीमार्फत नै आयो । एकीकरणमा परेका अधिकांश भुरेटाकुरे राज्यलाई उनले स्वशासन दिए । आफ्नो र अन्य क्षेत्रका फौजलाई नेपाली फौजमा परिणत गरे । राष्ट्रिय सेनाको निर्माण एउटा ठूलो प्रयोग थियो । आन्तरिक पुँजी निर्माणका लागि उद्योग र वाणिज्य क्षेत्रमा उनीद्वारा प्रतिपादित नीतिहरू आज पनि त्यत्तिकै महत्त्वपूर्ण छन् । नवएकीकृत देशको सामूहिक क्षमतामै त्यसपछिका उत्तर तथा दक्षिण दुवैतर्फ नेपालले पटकपटक लडाइँ लडेको थियो । यी लडाइँले नै नेपाललाई सम्पूर्ण रूपमा एक ढिक्का पारेको थियो । नेपाली पहिचान र नेपाली राष्ट्रवादको शिल्पकारिता पृथ्वीनारायण शाहले नै सुरु गरेका हुन्, जसमा अरूको पनि पर्याप्त लगानी छ । तथापि, सूत्रधार पृथ्वीनारायण नै हुन् भन्ने कुरामा विवाद छैन ।

पृथ्वीनारायणले निर्माण गरेको एकीकृत नेपाल उनको जमाना अनुसार हेर्दा सबैभन्दा टिकाउ भएको मान्नुपर्छ । उनको जमानामा यस क्षेत्रमा विभिन्न लडाइँ भए । तर, एकीकरणको प्रयास भएन । चिनियाँ प्रयोगलाई अलग गर्ने हो भने उनीपछि बनेको यस क्षेत्रको वैभावशाली सिख साम्राज्य ४८ वर्ष पनि टिक्न सकेन । यसका संस्थापक रञ्जित सिंह बितेपछि यो मूलतः सकियो । यसै बेला छत्रपति शिवाजीले मराठा साम्राज्य पनि स्थापित गरेका थिए, जसलाई हिन्दु राज्य भनिन्थ्यो । यो सन् १६७४ देखि १८१८ सम्म मात्र टिक्यो । सन् १८५८ देखि १९४७ का बीच उपनिवेशउन्मुख बेलायतीहरूले यस क्षेत्रका धेरैजसो राज्यलाई आफ्नो नियन्त्रणमा लिए । उपनिवेश नै नभने पनि करिब ५ सय ६२ वटा बाइसी-चौबीसी प्रकारका राज्य बेलायत सरकारलाई राजनीतिक-आर्थिक कूत बुझाउँथे । यो परिस्थितिलाई हेर्ने हो भने पृथ्वीनारायणले निर्माण गरेको नेपालले आफ्नो स्वतन्त्रता मात्र कायम राखेन, यसले बेलायती साम्राज्य र शक्तिशाली चिनियाँहरूसँग पनि जटिल कूटनीति निर्वाह गरी निरन्तर गन्तव्य पहिचान गर्‍यो ।

विस्तारवाद, जातीयता र धर्म
जतिसुकै राम्रा व्यक्तिका पनि कमीकमजोरी हुन्छन् । व्यक्तिको क्षमता जति बढी हुन्छ, उसका विरोधी पनि त्यति नै बढ्छन् । कतिपयले पृथ्वीनारायणलाई विस्तारवादी भनेका छन् भने कतिपयले हिन्दु धर्मलाई जनतामा लाद्ने शासक । त्यस्तै जातीय शासनलाई उनले भताभुंग पारेको पनि कतिपयको आरोप छ । उनको पालादेखि नै विभिन्न जनजातिले शासन गुमाएको पनि भनिएको छ । एकीकरणको लडाइँ बर्बरतापूर्ण थियो भन्ने मान्यता पनि व्यक्त गरेको देखिन्छ । प्रकाशित सामग्रीका आधारमा हेर्दा प ृथ्वीनारायणले नेपाललाई ‘असली हिन्दुस्थान’ बनाउन खोजेको आरोप लगाइएको छ । यी सबै आरोपका बारे विभिन्न मान्छेका विभिन्न दृष्टिकोण हुन सक्छन् । तथापि, राज्य जित्ने अभिलाषा नभएको भए एकीकरणको परिप्रेक्ष्य आउने थिएन भन्न सकिन्छ ।

रोबाटोको आक्रोश
वास्तवमा पृथ्वीनारायण शाहले बाँचेको समकालीन इतिहासमा काठमाडौँमा बसी काम गर्ने रोमन मिसनका धर्मप्रचारक जोसेप डे रोबाटोबाहेक कसैले पनि उनको खेदो खनेको इतिहासमा देखिँदैन । जतिले खेदो खनेका छन्, तिनको आधार जहिले पनि रोबाटो नै हुने गरेका छन् । यस प्रसंगमा रोबाटो को हुन् भनेर बुझ्नु आवश्यक छ । उनी एकीकरण युद्धमा कान्तिपुरका राजा जयप्रकाश मल्लका लागि अंग्रेजको सहयोग जुटाउने कार्यमा लागेको शंकाका आधारमा गोर्खालीद्वारा काठमाडौँबाट लखेटिएका व्यक्ति हुन् । उनी मिसनसहित भारतको बेतियातर्फ लखेटिएका थिए । उनले पृथ्वीनारायणको निन्दा गर्नु स्वाभाविक थियो । शत्रुको तारिफ केवल क्षमतावान्बाट मात्र हुन सक्छ ।

काठमाडौँ उपत्यका एकीकरणको युद्धमा कीर्तिपुरवासीको नाक काटेको, काठमाडौँभित्र खाद्यान्न ओसारपसार गर्ने नाका बन्द गरेको र चाहिनेभन्दा बढी बल प्रयोग गरेको भन्दै रोबाटोले आफ्ना लेखोटमा उल्लेख गरेका छन् । रोबाटोकै लेखोटलाई एक जना अंग्रे जले धेरै पछि अंग्रेजीमा उल्था गरी कोलकाताबाट प्रकाशित हुने एसियाटिक सोसाइटीको जर्नलमा प्रकाशित गरेका थिए । यसबाहेक कुनै पनि इतिहासका अध्येताले पृथ्वीनारायणमाथि यस्ता आरोप लगाएका छैनन् । यहाँनिर के कुरा बिर्सनु हुँदैन भने काठमाडौँ एकीकरण गर्दा पृथ्वीनारायणले सबैभन्दा कठिन लडाइँ लडेका थिए । 

उनले नेपाललाई असली हिन्दुस्थान बनाउन खोजे भन्ने आरोपको आधार देखिँदैन । मुगल वा अंग्रेजबाट यो बिटुलिएको छैन भन्ने प्रसंगमा उनले ‘असली हिन्दुस्थान रहेछ’ भनेका छन् । उनले देखेबुझेसम्मको वस्तुस्थितिका आधारमा निकालिएको निष्कर्ष थियो त्यो । त्यस्तै, उनको समयमा कतै जातीय राज्य वा शासन भएको इतिहासले देखाउँदैन । यस अर्थमा उनले कसैसँग जातीय लडाइँ लडेका थिएनन् । जस्तो ः एकीकरणको वृत्तान्तमा गोर्खालीहरूले राजा जयप्रकाश मल्लको खस एवं मगर सेनासँग समेत लडाइँ लडेको पढ्न सकिन्छ ।

आस्था र विश्वासका कुरा राष्ट्र निर्माणमा धेरै महत्त्वपूर्ण हुन्छन् । विभिन्न मिथक, मूर्ति, प्रतिमा र प्रतीकलाई पनि एकताको आधारका रूपमा स्थापित गरिएका हुन्छन् । प्रकृतिको अवधारणालाई नियति र ईश्वरको अवधारणालाई मिथक भनिएकै छ । तर, त्यसबिना साधारण मान्छेको जीवनको परिकल्पना सम्भव हुँदैन । आममान्छेले बुझ्ने ससाना ऐतिहासिक तथ्य, वीरता, लडाइँ र शान्तिका गीतहरू आफ्नो भाषा, धर्म-संस्कृति, खोलानाला, जंगल, तरुण र तरुणीको सम्बन्ध, मेलापात, दुःख एवं विस्मात्का प्रसंगले मान्छे, समाज अनि राष्ट्रलाई जोडेका हुन्छन् । कतिपय कुरा असत्य पनि होलान्, तथापि यी समग्र परिस्थितिले देश र राष्ट्रियताको भावना जागृत गर्ने हो । प्रजातन्त्र, समानता र मौलिक अधिकार एवं शासनमा सहभागिताका कारण बन्ने राष्ट्रवाद त आजको सिर्जना हो । इतिहासलाई यसका आधारमा मूल्यांकन गर्न खोज्नु हुँदैन । राज्यहरू सेनाले टिक्लान्, नटिक्लान् तर यी साधारण सत्यका आधारमा ठूल्ठूला साम्राज्य बनेका पनि छन्, ढलेका पनि छन् । पृथ्वीनारायणका बारेमा नेपालीले गौरवान्वित हुनुपर्छ, नेपाल टिकेको मात्र छैन, आवश्यक पर्दा यसले शत्रुलाई ढालेको पनि छ ।

पृथ्वीनारायणको जन्म नभएको भए आजको नेपाल सम्भव हुन्थेन । एकीकरण आजको अकाट्य र चुनौती दिन नसकिने यथार्थ हो । यो नभएको भए नेपाल राज्य सम्भवतः कथा भइसकेको हुने थियो । प्रजातन्त्र र संविधानवादले मुलुकलाई बलियो बनाउने आधार उनले छाडेर गए । आजका नेपाली आजको आवश्यकताबमोजिम देशको शासन व्यवस्था, राजनीतिक प्रणाली तथा राज्य व्यवस्थापनको कुरो गर्न सक्षम छन् । अतः उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु इतिहासप्रतिको इमानदारी मात्र होइन, शान्त, सुन्दर र समृद्ध नेपालको निर्माणका लागि एउटा बलियो पूर्वाधार पनि हो । उनले निर्माण गरेको राज्य गौरवको विषय हुने तर निर्माताचाहिँ अभिशाप हुने भन्ने हुनै सक्दैन ।

(अधिकारी ‘काठमाडौँ विश्वविद्यालय, स्कुल अफ ल’का डीन हुन् ।)  

नेपालको राष्ट्रवाद एवम् प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष स्व. विश्वेश्वर प्रसाद कोइराला (१९१४–१९८२) अर्थशास्त्री हुनुहुन्थेन । उहाँले अर्थशास्त्र पढ्नुभएको थिएन भन्न खोजिएको होइन । तर वहाँले आफूलाई अर्थशास्त्रीका रुपमा कहिल्यै प्रस्तुत गर्नुभएन । न त आफूमा अलग प्रकारको आर्थिक सोच भएको दाबी गर्नुभयो ।

कोइराला मूलतः राजनेता हुनुहुन्थ्यो । प्रजातान्त्रिक राजनीतिको प्लाटफार्ममा वहाँले आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियोे । यो यात्रा मूलतः समाजवादको धरातलमा चलेको थियो । दर्शनशास्त्र, धर्म, संस्कृति, इतिहास, कला एवम् साहित्यमा वहाँको रुचि किशोरवय देखिकै हो । उहाँका आर्थिक सोचहरुलाई यिनै स्रोतहरुका आधारमा बुझ्नु पर्ने हुन्छ ।

अर्थशास्त्री नभए पनि कोइरालाको बोली वचन वा लेखनमा ‘लैसेज फेयर’ वा नियन्त्रणविहीन बजार व्यवस्थाका सनातनी प्रवर्तक एडम स्मिथदेखि द्वन्द्वात्मक भौतिकवादका व्याख्याता कार्ल माक्र्ससम्म र कार्ल माक्र्सदेखि मानवतामुखी अर्थव्यवस्थाका व्याख्याता इ.एफ.सुमेकरसम्मका विचारहरुको उपस्थिति एवम् विश्वेषण देखिन्छ । यी सबै विद्वानहरु विशुद्ध अर्थशास्त्री भन्दा पनि ‘पोलिटिकल एकोनोमिष्ट’ (राजनैतिक अर्थशास्त्री) को कोटीमा पर्दछन् । यी विद्वानहरुले स्थापित गरेका मूल्य र मान्यताको रोहमा स्व. कोइरालाको कित्ता कुन रहेछ, बुझ्न गाह्रो पर्दैन ।

स्व. कोइरालालाई राजनैतिक अर्थशास्त्रका मान्यताहरु मध्ये कुनै एक कित्तामा उभ्याउन सकिन्छ भन्ने मान्यताका बारेमा अगाडि बढ्दा कोइरालाले राजनीति गरेको समय र सोको पृष्ठभूमिमा देखिएका आर्थिक सोचलाई बुझ्नु पर्ने हुन्छ । अर्थशास्त्रमा बजार उत्पादन, लागत र दक्षता विशिष्टिकरण, माग तथा आपूर्ति, फर्म, अनिश्चितता र क्रिडा सिद्धान्त (गेम थ्योरी), बजारको असफलतालाई आर्थिक रुपमा विश्लेषण गरिन्छ । सार्वजनिक क्षेत्रलाई सुक्ष्म अर्थशास्त्र (माइक्रोइकोनोमिक्स) ले ओगट्दछ भने आर्थिक वृद्धि, व्यापार चक्र, बेरोजगारी, मुद्रास्फिति र मौद्रिक नीति वा वित्तीय नीतिलाई बृहत अर्थशास्त्र (म्याक्रोइकोनोमिक्स) ले ओगट्दछ । कूल ग्राहस्थ आम्दानी र वितरणका कुराहरु पनि यहाँ सम्बन्धित हुन्छ । यो कुरालाई राम्ररी बुझ्न नसक्दा कोइरालाको आर्थिक सोचका बारेमा धेरै सतही टिप्पणी हुन गएका छन् । सामान्य मान्छेलाई बुझाउनका लागि वहाँले दिएका उदाहरणहरुको व्यापक परिवेश के हो भनी नहेर्ने हो भने वहाँको आर्थिक सोच प्रष्ट हुन सक्दैन ।

सर्सर्ती हेर्दा सनातनी नियन्त्रणविहीन बजार व्यवस्था वा ‘लेसेज फेयर इकोनोमी’ का पक्षधर एडम स्मिथ (१७२३–१७९०) अर्थशास्त्रका पिता मानिन्छन् । पछि थोमस रोबर्ट माल्थस (१७६६–१८३४), डेविड रिकार्डो (१७२२–१८२३), जान स्टुआर्ट मिल (१८०६–१८७३) बलियो गरी अगाडि आए । नियन्त्रणविहीन बजार व्यवस्थाकै सेरोफेरोमा यी सबैको योगदान रह्यो । मिलले स्वतन्त्रताको पक्षलाई अत्याधिक बचाउ गरे । यसै विकासको क्रममा श्रम मूल्यको सिद्धान्त वा अतिरिक्त मूल्यको सिद्धान्त लिएर कार्ल माक्र्स (१८१८–१८८३) देखा परेका हुन् ।

स्मल इज ब्युटिफुलः अ स्टडी अफ इकोनोमिक्स एज इफ पिपल म्याटर्ड

ऐतिहासिक भौतिकवादका दार्शनिक कार्ल माक्र्सको देहान्तको ३१ वर्षपछि जन्मिनुभएको स्व. कोइरालाले आफ्नो आर्थिक सोचलाई सार्वजनिक गर्दैगर्दा एडम स्मिथको पृष्ठभूमिमा तर अझ बढी विवेकसम्मत् हुँदै अर्थशास्त्रका अवधारणाहरुलाई विकसित गर्दै अगाडि बढेका जोन मेनार्ड किन्स् (१८८३–१९४६), जान हिक्स (१९०४–१९८९), पल सामुएल्सन (१९१५– २००९) तथा फ्रान्को मोदिग्लिआनी (१९१८–२००३) जस्ता त्यसबेलाका ठूला र चर्चित अर्थशास्त्रीहरु संसारमा छाइसकेका थिए । पछिल्ला दुई त वहाँको समवयस्क नै भन्न सकिन्छ । यी सबै दोस्रो विश्वयुद्धपछिका अर्थशास्त्रीहरु हुन् । अमेरिका, बेलायत तथा पश्चिम युरोपमा उनीहरुको जगजगी थियो । त्यसबेलाको ‘न्युजविक’ र ‘टाइम’ जस्ता साप्ताहिक पत्रिकाहरुमा उनीहरुका विचार आइरहन्थे । तर कोइरालाले यी कसैको नाम लिनुभएको सुनिएको छैन ।

नवसनातनी अर्थशास्त्रीमा अल्फ्रेड मार्शल (१८४२–१९२४) पनि पर्दछन् । तर रोजगार, ब्याज र मुद्राको सामान्य सिद्धान्त प्रतिपादन गर्दै १९३७ मा देखापरेका जान मेनार्ड किन्स त्यसताका अर्थशास्त्रमा प्रभावशाली रहे । ‘शिकागो स्कूल अफ इकोनोमिक्स’ स्वतन्त्र बजार व्यवस्थाको वकालत गर्ने क्रममा अग्रपंक्तिमा रह्यो । अर्थशास्त्री मिल्टन फ्रिडम्यान यसका नयाँ ‘डिफेण्डर’ थिए । उनको भनाइमा खुला बजार प्रणाली मूलभूत रुपमा अस्थिर नै रहन्छ । मुद्रा प्रदाय प्रशस्त फैलिँदैन वा संकुचन हुँदैन भने बजारको स्थिति यही नै हो । सन् १९७० को दशक सम्म यिनीहरु संसारमा अत्याधिक नाम चलेका अर्थशास्त्रीहरु हुन् ।

कोइरालाले राजनीति गरेको सन् १९४० को दशक देखि वहाँको जीवनलिला समाप्त हुञ्जेलसम्म अर्थशास्त्रमा विधागत धेरै नयाँ मान्यताहरु स्थापित भए । कतिपय स्थापित मान्यताहरु परिवर्तन हुन पुगे । तिनलाई लक्षित गरेर स्व. कोइरालाले कतै लेखेको वा बोलेको पाइँदैन । तर जुन स्तरको अध्ययनशील कोइराला हुनुहुन्थ्यो र जुन स्तरको राजनैतिक परिवर्तन उहाँले सोच्नु भएको थियो, अर्थशास्त्रका बारेमा उचित दृष्टिकोण स्थापित नगरी अगाडि बढ्न सक्ने अवस्था थिएन ।

कोइरालाले राजनीति सुरु गरेदेखि वहाँका अन्तिम दिनहरुसम्म अर्थराजनीतिका बारेमा लगातार वहाँका दृष्टिकोणहरु आएका छन् । पूँजीवाद तथा साम्यवाद दुवैलाई वहाँले अतिशयोक्तिका रुपमा लिनुभएको छ । वहाँले आफूलाई उभ्याएको कित्ता भनेको समाजवाद नै हो । समाजवादमा पनि वहाँ प्रजातान्त्रिक परिवेशमा एवम् मौलिक हकअधिकारसहित आमनेपाली – विशेषगरी ग्रामीण क्षेत्रमा बस्ने नेपाली समाजको भलो हुने न्यूनतम आर्थिक कार्यक्रमहरुको पक्षमा देखिनु हुन्थ्यो । समाजवादका लागि न्यूनतम मानकका रुपमा वहाँले उल्लेख गरेका विषयहरुमा एक टुक्रा खेत, हलो–गोरु, दुहुनो गाई, स्थानीय रुपमा उपलब्ध बालबालिका पढ्ने स्कूल पाठशाला र आधारभूत स्वास्थ्य व्यवस्था उल्लेख गरेको सर्वविदितै छ । सामन्तवादको अन्त्य र श्रमजीवि एवम् साना किसानहरुको समानताउन्मुख कृषि, उद्योग, व्यापार एवम् वाणिज्य नीति वहाँका कार्यक्रमहरुमा परेका विषय हुन् । भूमिसुधार र विशेषाधिकारपूर्ण भूमि व्यवस्थापन वा स्वामित्वको अन्त्य नभई हुँदैन भन्ने कोइरालाको सोचाई थियो । यी सबै प्रकाशित भएका वहाँका कृतिहरुमा समावेश भएको देख्न सकिन्छ । तर यी सामान्य मान्छेका लागि बुझ्ने गरी दिइएका सामान्य उदाहरणहरु मात्र हुन् । तिनको सैद्धान्तिक परिवेश के हो ? यो महत्वपूर्ण प्रश्न हो।

सैद्धान्तिक परिवेशको कुरा गर्दा स्व. कोइरालालाई महात्मा गान्धीसँग नजोडियो भने उहाँको व्यक्तित्वको एउटा पाटो प्रति अन्याय हुन्छ । कोइराला आधुनिकताले परिपूर्ण व्यक्ति हुनुहुन्थ्यो गान्धीको पहिचान उहाँको अध्यात्म, नैतिकता र स्वराज प्रतिको आस्था हो । तर गान्धीसँग विपन्न भारतको गरिब जनताका लागि आर्थिक विकासको योजना पनि थियो । गान्धी पनि ससाना, स्थानीय र आधारभूत रुपको ग्रामीण प्रविधिबाट मुलुकलाई आत्मनिर्भर बनाउनु पर्दछ भन्ने सोच राख्नुहुन्छ । गान्धीको अर्थशास्त्रलाई प्राज्ञिक आवरण जे.सी. कुमारप्पाले दिएका थिए । यो सोचबाट सुमेकर प्रभावित नभइरहने अवस्थै थिएन । चीनमा माओ त्से तुङ्गले सुरु गरेको सांस्कृतिक क्रान्तिको पनि दुइटा पक्ष थिए । विशान चीनको विकासका लागि ठूलो परिमाणका कलकारखानाहरुको वकालत गरिएको थियो । तर माओले पनि ग्रामीण विकासका लागि सानो ग्रामीण उद्योगको नीति थिए । सांस्कृतिक क्रान्तिको नारा नै “दुई गोडामै हिँडौँ” (वाकिंग अन टु लेग्स) थियो । त्यसैले बीपीको भनाई आर्थिक विकासको प्रारम्भिक चरणमा किन हलो गोरु र दुध दिने गाई प¥यो भन्ने कुरा बुझ्न सकिन्छ।

कोइरालाले अत्याधिक रुपमा आफ्ना साथीहरु तथा तरुणहरुलाई सिफारिस गरेको पुस्तक “स्मल इज ब्युटिफुलः अ स्टडी अफ इकोनोमिक्स एज इफ पिपल म्याटर्ड” भन्ने पुस्तक हो । मुलुकको आर्थिक विकासका लागि ससाना प्रयासहरुको खाँचो हुन्छ । सानो प्रयास सुन्दर प्रयास हो । अर्थशास्त्रलाई यदि आमजनताको हकमा सैद्धान्तिकरण वा कार्यान्वयन गर्ने हो भने संसारलाई चाहिएको सही बाटो सानो स्वरुप (इण्टरमेडिएट साइज) र सानो प्रविधि (इण्टरमेडिएट टेक्नोलोजी) लाई महत्व दिनु पर्दछ । वास्तवमा सुमेकरको विकासको सिद्धान्त यिनै दुई शब्दावलीबाट सुरु हुन्छ । मुलुकको आर्थिक जीवनका लागि अत्यावश्यक स्थानीय स्रोतहरु नै हुन् । स्थानीय आवश्यकताको पूर्ति यिनै स्रोतहरुबाट गरिने उत्पादनबाटै गर्न सकिन्छ । यी उत्पादनहरुको विवेकपूर्ण प्रयोगबाटै स्थानीय आत्मनिर्भरताको विकास हुन्छ ।

गाउँघरका लागि ठूला उद्योगधन्दा वा कलकारखाना अत्यावश्यक होइनन् । सानो स्तरको, विकेन्द्रिकरणमा आधारित श्रम उन्मुख (लेबर इण्टेन्सिभ), कम इन्धनबाटै काम चल्ने, वातावरण प्रदुषण नगर्ने एवम् स्वस्थ्य र स्थानीय नियन्त्रण भएका प्रविधिहरुबाट मात्र तेस्रो विश्वको विकास सम्भव छ । प्रविधि जहिले पनि जनता केन्द्रित हुनुपर्दछ । होइन भने यो केवल पूजी निर्माणतर्फ जागृत हुन्छ । सुमेकरको भनाइमा अत्यावश्यक रुपमा मुनाफा केन्द्रित आर्थिक क्रियाकलाप वा उन्नतिका प्रक्रियाले केवल ठूला, अत्यन्तै बृहत (जायण्ट) संगठनहरुलाई जन्म दिन्छन् । ती जति ठूला हुँदै जान्छन्, उनीहरुको अदक्षता त्यति नै देखिँदै जान्छ । त्यसबाट वातावरण प्रदुषण बढ्दै जान्छ । अमानवीय कार्यशर्त (वर्किङ्ग कन्डिसन्स्) त्यस्तै उद्योगधन्दाको नतिजा हो । उद्योग धन्दा वा कलकारखानाहरु जति साना हुन्छन्, त्यत्ति नै व्यवस्थापन सक्षम हुन्छन् । त्यसैले सानो प्रविधि, साना औद्योगिक इकाइहरु र क्षेत्रीय रुपमा विस्तृतिकरण र स्थानीय सम्पदाको निर्भरताबाट त्यस्ता समस्या आउँदैनन् ।

स्मल इज ब्युटिफुल” सन् १९७३ मा प्रकाशित भएको थियो । यसका लेखक अर्थशास्त्री इ.एफ. सुमेकर हुन् । आफ्नो जीन्दगीको उत्तराद्र्धमा कोइरालाले यसलाई प्रशस्त महत्व दिनुभयो । यो पुस्तक संसारले त्यसबेला भोग्दै रहेको इन्धन संकट तथा भर्खरै सुरु हुन थालेको भूमण्डलीकरणको सुरुवातको पृष्ठभूमिमा लेखिएको थियो । सुमेकर धेरैले आदर गर्ने अर्थशास्त्री मध्ये पर्दथे । उनीसँग प्रसिद्ध अर्थशास्त्री मेनार्ड किन्स् र जाँन केन्नेथ गाल्बे्रथसँग काम गरेको अनुभव थियो । उनी बेलायतको राष्ट्रिय कोइला बोर्डको प्रमुख आर्थिक सल्लाहकार पनि थिए । समग्रमा सुमेकर नवसनातनी अर्थशास्त्रका मान्यताहरुको विपक्षमा थिए । त्यसको अर्थ के भने केवल उत्पादन र प्रविधिमा घनीभूत रुपमा धु्रवीकृत हुनु अमानवीय हुन्छ । काम गर्ने ठाउँ वा कलकारखाना मर्यादित (डिग्नीफाइड) र मानवतापूर्ण हुनुपर्दछ । यसका साथै दक्ष र प्रभावशाली पनि हुनु पर्दछ । प्रकृति तथा यसले दिएका सम्पदाहरु अत्यन्त महत्वपूर्ण छन् भन्ने उनको सोचाई थियो । त्यसैले ठूला कुराहरु गर्न स–साना कुराहरु गर्नुपर्दछ । यो विकेन्द्रिकरणको एउटा स्वरुप हो । कुनै ठूलो संस्थाले प्रभावकारी रुपमा काम गर्नु छ भने यसले साना संस्थाहरुको समूहको रुपमा आचरण गर्नु पर्दछ । उनी पर्यावरणीय समस्याहरुका बारेमा चिन्तित थिए । वातावरणीय संरक्षणको कुरा गरेकाले उनी यस सम्बन्धी आन्दोलका ‘हिरो’ पनि भए ।

उत्पादनका समस्याहरुका बारेमा सुमेकर स्पष्ट थिए । उनको भनाई थियो – आधुनिक अर्थ व्यवस्था दिगो छैन । पेट्रोल वा पेट्रोलजन्य इन्धन पदार्थहरु प्राकृतिक सम्पदा भए पनि तिनको अत्याधिक रुपमा खपत हुँदैछ । त्यसैबाट कमाउने प्रवृत्ति देखा परेको छ । वास्तवमा तिनलाई पुँजीका रुपमा हेरिनु पर्ने हो । त्यस्ता सम्पदाहरु नवीकरणीय हुँदैनन् । तिनलाई जोगाएर खर्च गरिएन भने अन्ततः ती सकिनेछन् । यसरी प्रकृतिले दिएको स्रोतहरु सधैंका लागि सकिनु मानवताको हितमा हुँदैन । सुमेकरको भनाई थियो – वातावरण संरक्षण स्वतः हुँदैन । प्रकृतिले प्रदुषणलाई आफैं प्रतिरोध गर्दै जान्छ भन्नु कुतर्क हो । त्यस्तो कहिले हुँदैन । सरकारले दिगो विकासलाई नै महत्व दिनु पर्दछ । तेस्रो विश्वका मुलुकहरुलाई पहिलो वा दोस्रो सम्पन्न विश्वको प्रविधि चाहिएको होइन । उनीहरुको प्रविधि गरिब निमुखालाई हस्तान्तरण गरेर गरेर मात्र दिगो विकास हुन सक्दैन । दिगो विकासका लागि अर्थ व्यवस्थाको मूलभूत समस्याहरुको समाधान बढी महत्वपूर्ण हुन्छ । सुमेकरको दर्शनमा प्रशस्त हुनु (इनअफनेस) को ठूलो महत्व छ । तर चाहिने कुरा यो प्रशस्त हुनुप¥यो । नचाहिँदो कुरा प्रशस्त भएर के गर्ने ? यसका लागि मानवीय आवश्यकताहरु केके हुन् भनी बुझ्नुका साथै तिनको सीमा तथा प्रविधिको उचित प्रयोग हुनुपर्दछ । यो कुराको व्याख्या गर्दा ग्रामीण स्तरमा आधारित अर्थशास्त्रका बारेमा सोच्नु पर्दछ।

गाउँको विकास विना देशको विकास हुन सक्दैन । गाउँको विकासको यो अवधारणालाई सुमेकरले बुद्धमार्गी अर्थशास्त्रको उपमा दिए । यसको प्रष्ट कारण छ । सुमेकरले वृद्धि हुनु नै उत्तम हो (ग्रोथ इज गुड) वा बृहत हुनु नै राम्रो हो (बिगर इज बेटर) भन्ने तात्कालीन सोचाइको भत्र्सना गरे । विकासोन्मुख मुलुकहरुमा बृहत उत्पादन (मास प्रोडक्सन) सर्वथा अनुचित हो भन्ने उनको सोचाई थियो । चाहिएको कुरा आमजनताबाटै उत्पादन (प्रोडक्सन बाइ द मासेस) गर्नुपर्दछ भन्ने कुरामा सुमेकर विश्वस्त थिए । त्यसैले मान्छेको कल्याणलाई जाँच्नका लागि कुल राष्ट्रिय उत्पादन (जिएनपी) को प्रयोग अनुचित हो भन्ने पहिलो अर्थशास्त्रीका रुपमा पनि सुमेकरलाई लिन सकिन्छ । अर्थशास्त्रको प्रमुख उद्देश्य कम भन्दा कम उपभोग गरेर बढीभन्दा बढी मानव कल्याण नै हुनु पर्दछ । यो कुरालाई नाफा–घाटाको अर्थशास्त्रले आत्मसात गर्न सक्दैन । यसका लागि ठूलो हृदय पनि चाहिन्छ ।

अन्ततः सुमेकरको भनाई के थियो भने उपभोग भनेको मानव कल्याणको एउटा साधन मात्र हो । उद्देश्य भनेको त जहिले पनि मान्छेको अधिकतम कल्याण नै हुनुपर्दछ । यो कल्याण जहिले पनि न्यूनतम उपभोगबाट प्राप्त गरिनु पर्दछ । उपभोग जति कम गरिन्छ, मान्छेको कलात्मक सिर्जनशीलताका लागि त्यति नै बढी समय र शक्ति बाँकी बस्दछ । आधुनिक अर्थशास्त्रले बखान गरेजस्तो आर्थिक क्रियाकलापको एउटा मात्र उद्देश्य उपभोग हो भन्नु मानवीय समस्याहरु नबुझ्नु हो । यसबाट के प्रष्ट हुन्छ भने आधुनिक भौतिकवाद भन्दा बुद्धमार्गी अर्थशास्त्र धेरै फरक हुनु पर्दछ । एउटा बुद्धमार्गीले सभ्यताको पूर्वसर्त चाहनाहरुको असीमिततालाई मान्दैन । यसले चरित्रको शुद्धीकरणलाई मानवीय सभ्यताको पूर्वाधार मान्दछ । यस आधारमा चरित्र मान्छेको कर्मद्वारा निर्धारण हुन्छ । कामले मान्छेको स्वतन्त्रता र इज्जतलाई परिवेश दिन्छ, आशिर्वाद दिन्छ । सहीकर्मबाट गरिएको उत्पादन स्तुत्य पनि हुन्छ ।

आधुनिक उद्योगधन्दा वा कलकारखानाहरुको सबैभन्दा स्पष्ट विशेषता के हो भने उत्पादनका लागि यिनले अत्याधिक चीजबीज माग गर्दछन् भने दिने बेलामा यिनले साह्रै कम उत्पादन दिन्छन् । त्यसैले आधुकिन उद्योगधन्दा असाध्यै अदक्ष देखिन्छ । मान्छेले ईश्वरबाटै भविष्यको अन्दाज गर्ने जुन साधारण शक्ति पाएको छ, त्यसका आधारमा हेर्दा यो मान्यताका आधारमा साँचो विकास होला जस्तो लाग्दैन । यो अदक्षतालाई किन बुझ्न नसकिएको हो, सुमेकर हैरान देखिन्छन् । विवेकसम्मत् रुपमा हेर्ने हो भने विज्ञान र प्रविधिका बारेमा हाम्रो समाजलाई नयाँ अभिमुखीकरणको खाँचो छ । त्यसका लागि अग्र्यानिक, जेन्टल, अहिंसात्मक, एलिगान्ट र सुन्दरतातर्फको अभिमुखीकरण चाहिन्छ ।

आधुनिक आर्थिक सोचमा बीपीवाद के हो ?

उपरोक्त परिचर्चाबाट के पाइन्छ भने आधुनिक आर्थिक सोचमा बीपीवाद के हो भन्ने प्रश्नको जवाफका लागि पर्याप्त अनुसन्धान गरिनु पर्दछ । धेरै सरल कुरा गरेर आर्थिक विषयमा बीपीवादको जुन महत्व हुन सक्दछ, त्यसलाई न्यूनीकरण गरिनु हुँदैन ।

तथापि बीपीका आर्थिक विचारहरुलाई प्रष्ट गर्न आजका नामुद अर्थशास्त्रीहरुको सोचाइलाई यहाँ उद्धृत गर्न सकिन्छ ।

वैदेशिक सहायताको सकारात्मक प्रयोग गराउन सकिन्छ भन्ने बीपीको धारणा छ । यो विना विकासोन्मुख मुलुकहरुको भोक, रोग र अशिक्षाको यो ‘पोभर्टी ट्रयाप’ (गरिबीको पासो) भत्काउन सकिँदैन भन्ने विषयमा कोइराला आजका चर्चित अर्थशास्त्री जेफरी साच्स्सँग समान धारणा राख्नु हुन्छ । तर आन्तरिक प्रयास नभई केवल त्यस्तो सहयोगले देश बनाउन सकिँदैन भन्ने कुरामा उहाँको सोच विलियम एस्टर्लीसँग मिल्दछ । आर्थिक विकास भनेको बहुतात्विक दृष्टिकोण हो । विदेशी सहयोगले केही मद्दत गर्दछ तर ती देशहरु जसले आर्थिक समृद्धि प्राप्त गरेका छन्, उनीहरुले गरिबी विरुद्धको लडाइँ मूलतः आफैंले नै लडेका हुन् । वास्तवमा विदेशी सहयोगबाट पहिले भन्दा झनै पतन भएका देशहरु पनि छन् । यसबाट गरिब मुलुकहरुमा झनै परनिर्भरता एवम् भ्रष्टाचार बढेको छ । बीपीको भनाई थियो – यस्तो खतराबाट मुक्त गर्न विदेशी सहयोग संयुक्त राष्ट्र संघ जस्तो संस्थामार्फत् प्रदान गरिनु पर्दछ । प्रधानमन्त्रीका रुपमा वहाँले संयुक्त राष्ट्रसंघको महासभालाई गर्नुभएको सम्बोधनमा यस पक्षमा उल्लेख गरिएको थियो ।

सन् २००९ मा भारतीय अर्थशास्त्री सञ्जीव सभलोकले “बे्रकिङ्ग फायर अफ नेहरुः लेट्स अनलिस इण्डिया” भन्ने चर्चिच पुस्तक लेखे । उनको भनाई छ – भारत एउटा असफल मुलुक हो र यसको असफलताको श्रीगणेश तत्कालीन भारतीय प्रधानमन्त्री नेहरुबाट सुरु भएको हो । हुन त सभलोक अर्थशास्त्री होइनन् । तर उनी निजामती कर्मचारीको पृष्ठभूमि भएका एउटा छुरा लेखक हुन् । नेहरुको समाजवाद अन्ततः लाइसेन्सवादमा रुपान्तरित हुँदै भारत एउटा भ्रष्ट मुलुक हुन पुगेको उनको दावी छ । कोइरालाको समाजवादको चिन्तन यस्तो होइन । त्यस्तै चिनिया अर्थशास्त्री वु जिंगलिएनको भनाई छ – चीन मृत्त कम्पनीहरुको देश हुन लागेको छ । सार्वजनिक संस्थानहरु ऋणमा डुबेका छन् । केवल बजार अर्थतन्त्रको रेखदेख वा मर्मत सम्भार गरेर केही हुँदैन । राजनैतिक सुधार प्रजातान्त्रिकरण एवम् कानुनको शासन विना अर्थतन्त्रको विकास सम्भव छैन । समाजको सबैभन्दा कमजोर व्यक्ति वा समुदायको आवश्यकता, हक र अधिकारको रोहमा नै आर्थिक सोचलाई हेरिनु पर्दछ । कोइरालाको प्रजातान्त्रिक समाजवाद तथा विकासको अवधारणा यही हो ।

(संविधानविद् अधिकारी काठमाण्डौ विश्वविद्यालय स्कूल अफ ल का डीन हुनुहुन्छ । यो कार्यपत्र स्व. बीपी कोइरालाको शतवार्षिकीको सुरुवात जनवरी १, २०१४ मा नेपाल कन्स्टिट्युसन फाउण्डेसनद्वारा छलफलमा ल्याइएको थियो ।)

राष्ट्रिय मेलमिलापको नीति अत्यन्त महत्वपूर्ण राजनीतिक सिद्धान्तमा आधारित हुँदाहुँदै पनि यसबारे पर्याप्त अध्ययन भएको देखिँदैन। केही वर्षअघि एउटा कार्यक्रममा सहभागी हुन जाँदा सँगै गएका एक व्यवसायिक साथीलाई मैले सोधेको थिएँ– …नेपालको इतिहासमा सन् १९७६ केका लागि महत्वपूर्ण छ?’ उनले भने, …त्यही वर्ष चीनमा सांस्कृतिक क्रान्तिले विश्राम पाएको थियो।’ कुरा ठीकै थियो।

हाम्रो छिमेकमा वा बाँकी संसारमा हामीलाई चासो हुनसक्ने धेरै कुरा सन् १९७६ मा भएका होलान्। नेपालकै इतिहासको वा यहाँ गरिएका प्रजातान्त्रिक आन्दोलनहरुका सन्दर्भमा कुरा गर्दा सन् १९७६ जोडिएर आउने राष्ट्रिय मेलमिलापको नीतिको विशेष महत्व छ। यसै नीतिका कारण नेपालको आन्तरिक राजनीति तथा बाह्य सुरक्षा संवेदनशीलताका सम्बन्धमा नेपालमा एउटा नयाँ दृष्टिकोण स्थापित हुन गएको थियो।

सन् १९७६ मा स्व. कोइराला नेपाली कांग्रेसको राष्ट्रिय मेलमिलापको नीतिको घोषणा गर्दै निर्वासनबाट नेपाल फर्किनु भएको थियो। वहाँको भनाई के थियो भने प्रजातन्त्र पुनर्स्थापनाको लडाइँ नेपालको ठूलो चुनौती भए पनि हालमा त्योभन्दा पनि ठूलो चुनौती राष्ट्रिय स्वाधीनतामा देखा परेको संकट नै हो। देशमा रहेको आन्तरिक विवाद – विशेषगरी प्रजातन्त्रको पुनर्स्थापनाका सम्बन्धमा भएको संघर्ष – का कारण राष्ट्रिय शक्तिहरु छिन्नभिन्न हुँदा अराष्ट्रिय पक्ष एवम् वैदेशिक तत्वहरुबाट नेपालको राष्ट्रिय अखण्डता, यसको स्वतन्त्रता एवम् निरपेक्ष अस्तित्वमा खतरा उत्पन्न भएको वहाँको निष्कर्ष थियो।

नेपाल मुलुकको राष्ट्रिय सुरक्षाप्रति संवेदनशील हुँदै स्व. कोइरालाले घोषणा गर्नुभएको थियो – “राजासँगको जो हाम्रो संघर्ष छ, त्यसलाई सीमांकन गरौं। त्यसलाई परिसीमित गरौं। एउटा परिधि बनाइदिउँ। त्यस परिधिभित्र त्यस संघर्ष, विवाद र झगडालाई सीमित राखौं। बाहिरको खतरालाई हामीले ध्यान दिउँ। मलाई पहिले बाहिरको खतराको अनुभव हुँदैनथ्यो। तर अहिले त मलाई त्यसको धेरै अनुभव छ। पहिले राष्ट्रियताको प्रश्न दोस्रो महत्वको विषय थियो भने आज यो प्रथम महत्वको हुन आएको छ।” देशको सुरक्षाका लागि प्रजातन्त्रको पुनर्स्थापनाको लडाइँलाई वहाँले हालका लागि तामेलीमा राख्ने निर्णय लिनुभएको थियो। वहाँले प्रजातन्त्रका लागि लडेको लडाइँले कुनै वैदेशिक राष्ट्रको नेपालमा हस्तक्षेप गर्ने वा यसलाई आफ्नो नियन्त्रणमा राख्ने आधार तयार नगरोस् भन्ने चिन्ता वहाँमा टड्कारो देखिन्थ्यो। राष्ट्रिय मेलमिलापको नीतिको यो स्पष्ट पृष्ठभूमिको पछाडि कोइरालाका आफ्ना विश्लेषणहरु थिए। तर डिसेम्बर ३०, १९७६ मा वहाँले नेपाली जनतालाई गरेको अपीलमा ती सबै विश्लेषण खुलाइएका थिएनन्।

वास्तवमा सन् १९७० को पहिलो पाँच वर्ष शीतयुद्ध कालका सकसपूर्ण वर्षहरु थिए। सन् १९७१ को पूर्वी पाकिस्तानको मुक्ति युद्ध (लिवरेसन वार) पछि बंगलादेश स्वतन्त्र भयो। त्यहाँ अवामी लिगका शेख मुजिवर रहमानले सत्ताको बागडोर लिए। यो लडाइँलाई कोइरालाले पनि नैतिक समर्थन तथा हतियार समेतको सहयोग गरेका थिए। तर नवोदित बंगलादेश भारत–पाकिस्तान बीचको द्वन्द्वको गोटीका रुपमा प्रयोग हुन थाल्यो। यसै पृष्ठभूमिमा भारत–पाकिस्तान युद्ध भएको थियो। बीपीले यस सम्बन्धमा आफ्नो पीडा आत्मवृत्तान्तमा उल्लेख गर्नुभएको छ। यसैबेला युगाण्डामा दादा इदिअमिन्ले …कू’ गरी शक्ति हातमा लिएका थिए। उत्तर आयरल्याण्डमा बेलायती सेनाले आइरिसहरु माथि दमन गर्दै आम नरसंहार गर्न पुगेको थियो। यसलाई इतिहासमा …ब्लडी सन्डे म्यासेकर’ भनिन्छ। यसलगत्तै फिलिपिन्समा राष्ट्रपति फर्डिनान्स् मार्कोस्ले सैनिक शासनको सुरुवात् गरे।

यो अवधिमै युरोप र एसियाको बीचमा रहेको मुलुक टर्कीले साइप्रसलाई कब्जा गरी जबरजस्ती आफ्नो आधिपत्यमा ल्यायो। भारतद्वारा अनेक प्रपञ्च रची आफ्नो सानो उत्तरी छिमेकी सिक्किमलाई आफूमा विलय गर्‍यो। केही पर पूर्वी एसियामा इण्डोनेसियाले अर्को सानो मुलुक इस्ट टिमोरको त्यही हालत गर्‍यो। अमेरिकी सहयोगमा राजतन्त्रात्मक मुलुक इथियोपियाबाट राजतन्त्र हटाउने कार्यबाही पनि सुरु भयो। हटाइएका राजाको पछि हत्या गरिएको थियो। भियतनामी युद्धको समाप्तिपछि त्यहाँ संसारले युद्धको विभिषिकाको नारकीय स्वरुप पनि देख्यो। यसको छिमेकी कम्बोडियामा शक्तिराष्ट्रहरुको फोहरी उत्पादनको रुपमा माओवादी संगठन खमेरुज्ले सत्ता कब्जा गर्‍यो तथा गृह युद्धको सुरुवात् गर्‍यो। उता चिनीया क्रान्ति सम्पन्न गर्दै आएका माओत्से तुङ्ग आफ्ना बेथितिहरु तह लगाउन नपाउँदै बित्न पुगे। यो सम्पूर्ण क्षेत्र नै अस्थिरताको त्रासमा थियो। सबैका कारण बाह्य थिए। आन्तरिक कारण गौण थियो।

वास्तवमा ठूला छिमेकी भारत र चीन बीच रहेको नेपालका लागि यी वर्षहरु अत्यन्त चुनौतीपूर्ण थिए। एक त मुलुकको अवस्थिति भीरमा फलेको फर्सी जस्तो थियो। अर्को छिमेकीहरु स्वराज प्राप्तिका लागि आन्दोलन गर्न सफल भए पनि देश चलाउने कुरामा आलाकाँचा नै थिए। चीनमा असफल हुन गएको सांस्कृतिक क्रान्ति र भारतको प्रजातन्त्रले जन्माएको इन्दिरा गान्धी यी दुई उदाहरण नै परिस्थिति बुझ्न काफी थिए। यस्तोमा विरोधी फालेर बलिया भएका नेपालका राजाले पनि मुलुकमा आफ्नो नियन्त्रण हराउँदै गएका थिए। नेपालको दरबार एवम् शक्ति संयन्त्रमा विदेशीहरुको प्रभाव चिन्ताको विषय बनेको थियो। विदेशमा बसी प्रजातन्त्रको पुनर्स्थापनाका लागि संघर्ष गरिरहेका कोइरालाका लागि आफ्नो आन्दोलन कसैको नेपाल विरुद्धको व्यूह रचनाको हतियार नबनोस् भन्ने चिन्ताको परिणति थियो – उक्त राष्ट्रिय मेलमिलापको नीतिको घोषणा। यसभन्दा बढी कोइरालाका मनमा केके थियो हामीसँग संसूचना छैन। तर राष्ट्रिय सुरक्षाको चिन्ता आफूलाई जस्तै राजालाई पनि अवश्य नै होला भन्ने निष्कर्षका आधारमा मुलुक जोगाउनका लागि सहकार्यको प्रस्ताव गर्दै बीपी स्वदेश फर्किनु भएको कुरा कोइरालाले पटकपटक उल्लेख गर्नुभएको छ। यो कुरामा राजालाई विश्वास दिलाउने, आन्तरिक मतभेदहरुको समाधान गरी राष्ट्रिय एकता स्थापना गर्ने तथा त्यसैका आधारमा प्रजातन्त्रलाई पुनर्स्थापना गराउने कुरा बीपीले आफ्ना अभिव्यक्तिहरुमा कतै लुकाएको देखिँदैन।

यहाँ के जोड्नु जरुरी छ भने जुन व्यक्तिसँग राष्ट्रवाद हुँदैन, उसले सुरक्षा नीतिको कुरा गर्दैन। नेपालको त्यस्तो परिस्थितिमा देशको सुरक्षाको कुरा गर्ने कोइराला आफू स्वयम् कति असुरक्षित थिए भनी अन्दाज मात्र गर्न सकिन्छ। वस्तुतः नेपालमा देश गलाउने वा बेचेर हिँड्नेहरु सँधै सुरक्षित रहँदै आएका छन्। सत्ता, सुविधा र प्रजातन्त्र उनीहरुलाई नै प्राप्त छ। त्यसैले नेपालका कतिपय नेताहरु तथा बीपीका आफ्नै मान्छेहरुले राष्ट्रिय मेलमिलापको नीतिलाई बहसमा नल्याउन सफल भएको देखिन्छ। कसैले यसलाई भारतकी तात्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको असहयोगका कारण बीपीले आफ्नो स्वदेश आगमनका लागि यस नीतिमार्फत केवल एउटा सैद्धान्तिक धरातलसम्म निर्माण गर्न खोजेका हुन् भनी (कू)तर्क गरेको पनि देखिन्छ।

त्यस्तै केहीको भनाईमा एउटा चलाख मान्छेले राजनीति गर्न सँधै सुरक्षित आवरणहरु खोज्दछ। बीपीले पनि असफलता हात लागेको आफ्नो जीन्दगीमा राष्ट्रिय मेलमिलापको नीतिमार्फत यही आवरण नै खोज्ने प्रयास गर्नुभएको थियो भन्ने मान्छेको पनि कमी छैन। त्यस्तै अपव्याख्याको क्रममा कतिपयले देशभित्रका सबै शक्तिहरु मिलेर प्रजातन्त्र जोगाउनुपर्छ, देशको विकास गर्नुपर्छ भन्ने नै राष्ट्रिय मेलमिलापको नीति हो भनिदिएका छन्। राष्ट्रमा आएको खतराको अनुभूतिलाई उनीहरु भारत विरोधी चिन्तन मान्दछन्। अन्य कतिपयलाई लाग्दछ, हामी बीपीका हुक्के, चम्चे, भान्छे, नातेदार, ताबेदार वा सहयात्री भएका कारणले उनको सैद्धान्तिक व्याख्या हामीले मात्र गर्न सक्दछौं। बीपीका विचारहरुमा बौद्धिकता छैन भन्ने कुरा पनि आएका छन्। कसैको व्यक्तित्वलाई विनाश गर्न यस्ता राजकीय व्याख्याहरु संसारमा धेरै हेर्न पढ्न सकिन्छ।

नेपालमा विभिन्न प्रकारका सेन्सरसीपहरु बहालमा छन् भन्ने कुरा हरेक पढेलेखेको स्वतन्त्र मान्छेले बुझेको कुरा हो। त्यसैले केही मान्छेले यस्तो प्रकारको बहस गरिनै रहनेछन्। त्यसमा आश्चर्य मान्नु पर्दैन। तर के बुझ्नु पर्दछ भने जुन परिवेशमा बीपीले राष्ट्रिय मेलमिलापको घोषणा गर्नुभयो, त्यस परिवेशको आज पनि वस्तुगत अध्ययन गर्न सकिन्छ।

बीपीका समकक्षीहरु वा तात्कालीन विश्व मञ्चमा नाम चलेका नेताहरु जस्तो चीनका नेता माओत्से तुङ्ग, वा चाउ एन लाई, कम्बोडियाका नरोद्दोम सिंहानुक, सिंगापुरका लि क्वान यु, पाकिस्तानका याहया खान वा जुल्पि्ककार अलि भुट्टो, भारतकी इन्दिरा गान्धी, बंगलादेशका शेख मुजिवर रहमान लगायत त्यसबेलाका प्रसिद्ध अफ्रोएसियन नेताहरु – यी कसैले पनि कुनै परिस्थितिमा राष्ट्रिय मेलमिलापको कुरा गरेका थिएनन्। ठूलासाना धेरै देशहरु आन्तरिक द्वन्द्व र बाह्य अशान्तिबाट पीडित भइरहेका थिए। तर उनीहरुको राजनीतिशास्त्रमा यो रुपमा राष्ट्रिय मेलमिलापको कुरा कतै परेको देखिँदैन। झन् त्यसबेलाका शक्ति राष्ट्रहरुले यसको कुरा गर्ने त प्रसंग नै थिएन। त्यसैले तात्कालीन राजनीतिको लोकरञ्जक शब्द आडम्बरको सिको गरेर बीपीले मेलमिलापको कुरा गरेको होइन। यसको आधार नेपालको आन्तरिक सुरक्षाको प्रश्न नै थियो। एउटा प्रखर चिन्तकका रुपमा नेपालले भोग्न गइरहेको परिस्थितिको राम्रो विश्लेषणका कारण बीपीले राष्ट्रिय मेलमिलापको नीति घोषणा गरी नेपालको सार्वभौमसत्तामा आसन्न खतराका सन्दर्भमा वहाँ कोसँग उभिनुभएको छ, प्रष्ट गर्नुभएको थियो। यो एउटा रणनीति मात्र थिएन। देशप्रतिको उत्तरदायित्व पनि थियो। यसलाई सिद्धान्तनिष्ठ (थिओराइज) बनाउन त्यसबेला पनि नेपाली कांग्रेसले आँट गरेन, आज पनि गरेको छैन।

आज अन्तर्राष्ट्रिय परिस्थितिमा धेरै परिवर्तन आइसकेको छ। नेपालमै पनि राष्ट्रियताको सवालमा राजासँग उभिएको छु, उनीसँग मेरो गर्दन जोडिएको छ भन्ने बीपीको राष्ट्रिय सुरक्षा अवधारणा अब किनार लगाइएको छ। तर अन्य धेरै कमजोर मुलुकहरु बाँच्नका लागि लागि यस सिद्धान्तलाई अपनाउन तयार देखिँदैछन्। जस्तो धेरै वर्षदेखि युद्धपीडित देश सोमालियाले राष्ट्रिय मेलमिलापको कुरा गर्दैछ। लिबिया र म्यानमारमा लामो लडाइँको इतिहास छैन। तर उनीहरुले बुझिसकेका छन्, उनीहरु बीचको घरेलु अशान्तिको कारण के हो? त्यो अशान्तिको ओखती उनीहरु राष्ट्रिय मेलमिलापमा खोज्दैछन्। मालीका राष्ट्रपतिले राष्ट्रिय मेलमिलापको कुरा गरेर हालै आफ्ना विरोधीहरुलाई चकित पारिदिएका छन्। श्रीलंकाका राष्ट्रपति राजपाक्षे साँच्चिकै बलिया मानिन्छन्। तमिलहरुलाई हतियार बनाई लडिएको लामो गृहयुद्धलाई एक झट्कामा बिसाएर उनले आफ्नो क्षमता देखाए। तर उनलाई पनि बाह्य शक्तिकै डर छ। सत्तामै बसीबसी राष्ट्रिय मेलमिलापको आव्हान गरेका छन्। इजिप्टका सरकारी तथा गैरसरकारी दुवै पक्षले बुझिसके कसका लागि इजिप्टमा रगतको खोलो बग्दैछ। आज मुस्लिम ब्रदरहुड समेतलाई मिलाएर राष्ट्रिय मेलमिलाप कायम गरी जानुपर्ने माग त्यहाँ सुनिन थालेको छ। आफ्नो राष्ट्रिय मेलमिलापको नीतिको बिजोग हेर्न बीपी हामीसमक्ष हुनुहुन्न। तर अब सोच्ने बेला आएको छ, हामीले के गर्ने? नेपालमा पनि धेरै परिवर्तनहरु भएका छन्। राष्ट्रिय मेलमिलापका लागि होइन, राष्ट्रलाई सिद्धयाउनका लागि। यो पक्ष झन् खतरनाक पक्ष हो।

नेपाली जनतालाई के बुझाउन सकिएको छैन भने स्व. बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिको अहम् पक्ष भनेको राष्ट्रिय सुरक्षाको खोज नै हो। ठूला मुलुकहरुको स्वार्थ भएको सानो मुलुक वा बलिया छिमेकीहरु भएका साना मुलुकहरु, विकसित हुन् वा अविकसित, उनीहरुको सुरक्षा संसारभरि चिन्ताको विषय भएको छ। प्रजातन्त्रका नाममा मुलुक खाने राजनीति अब जताततै प्रष्ट भइसकेका छन्। राष्ट्रियता विनाको प्रजातन्त्रको वकालत गरिँदैछ। त्यसैले बीपीको राष्ट्रिय मेलमिलाप यति धेरै महत्वपूर्ण भएर आएको छ। तर यसलाई सो रुपमा बुझ्न दिइएको छैन। यसबारेमा सार्वजनिक चिन्ताको खाँचो छ।

आज बीपी कोइरालाको जन्मजयन्ती मनाउँदा एउटा कुरा राख्नै पर्ने भएको छ। राष्ट्रिय मेलमिलापको सन्दर्भमा बीपीको स्वामित्व हराएर जाने परिस्थिति भने छैन। जस्तो चौधौं वा पन्ध्रौं शताब्दिको पुनर्जागरण वा सत्रौं शताब्दिको ज्ञानोदय वा अझ भनौं भिक्टोरियन सभ्यताका शिखर व्यक्तित्वहरुको प िपश्चिमी सभ्यतामा भएको लगानी हराएको छैन नि १ यसलाई आज पनि स्कूलस्कूलमा पढिँदै र पढाइँदैछ।

त्यस्तै हामी आज अमेरिकाका नागरिक अधिकारका लडाकू मार्टिन लुथर किंग वा बेलायती साहित्यकार जर्ज अरवेलका बारेमा दुई शब्द बोल्न सक्दछौं। त्यस्तै नायिका मार्लिन मुन्रो वा अर्थशास्त्री जोन किन्स् आज पनि हरेक पढेलेखेको मान्छेले सम्भि्कन्छन्। लुई पाश्चरका बारेमा बच्चाबच्चालाई थाहा छ। त्यस्तै बेलायती प्रधानमन्त्री विन्स्टल चर्चिल, महात्मा गान्धी वा जवाहरलाल नेहरुका बारेमा धेरैले लेख्न बोल्न सक्दछन्। यो किन सम्भव भयो भने कसैले तेरोमेरो वा जसअपजस नहेरी मेहनत गरी उनीहरुका बारेमा सही कुरा लेखिदिएका छन्।

जस्तो चर्चिलको जीवनकथा रान्डोल्फ चर्चिलले तथा गान्धीको जीवनकथा लुई फिसरले नलेखिदिएको भए राजनीतिका स्वार्थ भएकाहरुले उनीहरुको कस्तो परिचय स्थापना गराउँथे, हामी अनुमान गर्न सक्दछौं। गान्धीका बारेमा पनि दर्जनौं पुस्तक लेखिएका छन्। किन होला गान्धीका बारेमा पढ्नु पर्‍यो भने मान्छे लुई फिसरले लेखेकै “द लाइफ अफ महात्मा गान्धी” भन्ने पुस्तक खोज्न पुग्दछन्। त्यस्तै बीपीका बारेमा धेरै लेखिएका छन्। तर बीपीको व्यक्तित्व र विचारको आधिकारिक पुस्तक भनेको वरिष्ठ अधिवक्ता गणेशराज शर्माद्वारा सम्पादित पुस्तकहरु नै हुन्। त्यसैले बीपीको सिद्धान्तमा दुविधा राख्नु जरुरी छैन। ती पुस्तकहरु रहुञ्जेलसम्म राष्ट्रिय मेलमिलापको सन्दर्भ हराउने छैन।

(संवैधानिक कानुनका विज्ञ अधिकारीले बीपी विचार राष्ट्रिय समाजद्वारा आयोजित बीपी स्मृति सभामा प्रस्तुत मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति: 2013-09-12 12:13:31

Dr Bipin Adhikari

(यस प्रलेखको सम्पादित प्रमुख अंशहरु नेपाल राष्ट्रिय साप्ताहिक (आइतबार, १३ साउन, २०७०, पृ.२६–३१) मा प्रकाशित भएको छ ।) 

नेपाल राष्ट्रिय साप्ताहिकमा यो लेख हेर्न यहाँ क्लिक गर्नुहोस् ।


नेपालको राजनीतिमा अत्याधिक चर्चित स्व. प्रधानमन्त्री बीपी कोइराला र राजा महेन्द्र एकअर्कासँग मिल्न नसक्दा नेपालका समस्याहरु क्रमशः झाँगिदै गएको भन्ने सम्बन्धमा धेरै नेपाली विज्ञहरु एक देखिन्छन् । तर त्यस्तो किन हुन गयो भन्ने बारेमा प्रशस्त बुझ पचाएको देखिन्छ ।

राजा महेन्द्रलाई सम्झाउने उनीद्वारा रचित एउटा गीत छ, जुन अचेल रेडियो/टेलिभिजनमा बज्दैन ः म मरे पनि मेरो देश बाँचिरहोस्…। 

प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले आफू सानो छँदा आफ्नो स्कुलमा गाएको सेसिल स्पि्रङ्-राइसद्वारा रचित बेलायती राष्ट्रिय गीत मृत्युशय्यामा रहेका बेला आत्मवृत्तान्तका सम्पादकलाई गाएरै टिपाएका थिए, जसको नेपाली अनुवाद हो:

म कामना गर्दछु तिम्रा लागि, ए मेरो देश  
यहाँ रहेका सबै सांसारिक चीजहरू  
त्यस्ता सबै सम्पूर्ण र पूर्ण  
मेरा दोषरहित स्नेहका सेवाहरू…।

नेपालको राजनीतिमा अत्यधिक चर्चित तर अलग व्यक्तित्वका धनी यिनै दुई एकअर्कासँग मिल्न नसक्दा नेपालका समस्या क्रमशः झाँगिँदै गएको भन्ने गरिन्छ। वास्तवमा उनीहरू किन मिल्न सकेनन्? संविधानसभा नभए पनि संसदीय निर्वाचनमार्फत जनताको हातमा शासन गएको डेढ वर्ष पुग्दा नपुग्दै किन र कसरी प्रजातन्त्रको चीरहरण गरियो ? यी र यस्ता प्रश्नको सेरोफेरोमा बीपी र महेन्द्रकै प्रसंग आउँछ। सम्बन्ध, समानता, असमानता, राष्ट्रप्रेम, नेतृत्व क्षमता, दूरदर्शिता, सिद्धान्त र शक्तिका हिसाबले यी दुई शीर्ष व्यक्तित्व र त्यस समयको मूल्यांकन सान्दर्भिक हुन्छ। यो पनि त्यतिबेला, जतिबेला ००७ सालदेखि ०१५ सालको जस्तै मुलुक संक्रमण र अन्योलग्रस्त छ।

समानता/असमानता 

आफ्नो मुलुकप्रति समर्पित यति संवेदनशील दिवंगत बीपी कोइराला तथा राजा महेन्द्र नेपालको शीतयुद्धकालका प्रखर राजनीतिक व्यक्ति हुनुका साथै विसं ००७ पछिको नेपाल निर्माणका बलिया खम्बा थिए। आधुनिक नेपाल, यसको सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्र परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमान एवं आर्थिक, सामाजिक र राजनीतिक संरचना निर्माणमा दुवैको ठोस विचार थियो। उनीहरूको विचारले क्रमशः आकार लिँदै गएको पनि थियो। 

आफ्ना कुरा राख्दा महेन्द्र स्थिर तथा गम्भीर देखिन्थे, बीपी प्रगतिशील एवं उत्साहयुक्त। तर, आमजनताप्रतिको लगाव वा कटिबद्धतामा दुवै परिपक्व थिए। उमेरले बीपी महेन्द्रभन्दा छ वर्ष जेठा थिए। एउटा दरबारिया वातावरणमा पुलपुलिँदै हुर्किएका थिए भने अर्का संघर्षशील हुँदै देश निकालामा परेर निर्वासित परिवारसँगै दुःखजिलो गरी। एउटाले औपचारकि शिक्षा नलिएरै राणाशासनको सीमित राजतन्त्रको परिधिमा आफ्नो व्यक्तित्व निर्माण गरेका थिए भने अर्काले राजनीतिक चेतना भएको परिवार र यसबाहिरको खुला समाजमा व्यक्तित्व बनाएका थिए। 

कोलकाताको स्कटिस चर्च कलेज तथा बनारसको हिन्दु विश्वविद्यालयमा पढेका बीपी कोइराला उदार शिक्षा प्रणालीका उत्पादन थिए। महेन्द्रले आफ्नो बाल्यकालमा न त्यस्तो स्कुल देख्न पाए, न त स्वतन्त्र वातावरण नै। छोराको भविष्यका बारेमा बीपीका बुबा कृष्णप्रसाद कोइरालामा कटिबद्धता देखिन्थ्यो। महेन्द्रका बुबा त्रिभुवनले भने काँचो उमेरमै अभिभावक भएकाले त्यति धेरै सोच्न पाएनन्। यति हुँदाहुँदै पनि दुवै आकर्षक व्यक्तित्वका धनी थिए। केही गरूँ भन्ने चाहना, बलियो इच्छाशक्ति तथा अदम्य साहस दुवैको विशेषता थियो। 

बीपी र महेन्द्रबीच समानता तथा असमानताका कुरा अरू पनि छन्। दुवैको साहित्यमा गहिरो अभिरुचि थियो। दुवैमा सामान्य नेपालीसँग उठबस गर्ने, रमाउने स्वभाव थियो। चरत्रिले महेन्द्र अन्तरमुखी थिए। त्यसैले उनले के बोल्छन् र किन बोल्छन् भनेर बुझ्नुपर्ने हुन्थ्यो। बीपी आफ्नो व्यक्तित्व र विचारमा स्पष्ट थिए। एउटा कुरा सोच्ने र अर्को कुरा बोल्ने प्रवृत्ति उनमा थिएन। कुरा मन नपर्दा असहमति जनाउन बीपीलाई अप्ठ्यारो थिएन। तर, महेन्द्र समय लिन्थे। उनमा कूटनीतिको मात्रा बढी थियो। 

राजनीतिको घामपानी खपेका बीपी शक्ति सञ्चय जनस्तरमा गर्नुपथ्र्यो भनी मान्थे। महेन्द्र पनि जनआकांक्षालाई नै आफ्नो सोचाइको आधार बनाउँथे। एउटाले आफूलाई मालिक ठान्थ्यो भने अर्कोले जनताको आवाज। पढाइलेखाइप्रति दुवैको अभिरुचि भए पनि बीपीको साहित्य, दर्शन, अर्थशास्त्र तथा कलामा उच्च स्तरको ज्ञान थियो। भारत एवं पाश्चात्य जगत्को प्रजातान्त्रिक आन्दोलन एवं दोस्रो विश्वयुद्धपछिको युरोपको आधुनिकताबाट बीपी प्रशस्त दीक्षित थिए। महात्मा गान्धीको स्वराज आन्दोलनको एउटा लहर बीपीमा थियो। महेन्द्रमा पनि पढ्ने-लेख्ने रहर थियो। तर, अवसर पाएनन्। त्यसैले उनी अर्काको कुरा सुन्न रुचाउँथे, तर्क गर्न भने चाहँदैनथे। यसै पनि राजाहरूले प्रायः खुला राजनीति गर्दैनन्। तर, बीपी यी दुवै कुरामा अगाडि थिए।

यतिविधि फरक हुँदाहुँदै पनि बीपी र महेन्द्रले प्रतिनिधित्व गर्ने पिँढी एउटै थियो। देशलाई बलियो बनाउनुपर्छ भन्नेमा दुवैको दृढता थियो। दुवैलाई ज्ञान थियो, नेपालको राणाकालीन विगत र अस्थिर वर्तमानको। मुलुकको आन्तरिक एवं बाह्य चुनौतीहरू के हुन् र भू-राजनीतिक समस्याहरूको समाधान कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा दुवैका चिन्ता उत्तिकै थिए। तर, बीपी हातेमालो गर्न सधैँ कटिबद्ध देखिन्थे भने महेन्द्रको हेराइ र बुझाइ जहिले पनि आलोचनात्मक रहन्थ्यो। बीपी राजकाजमा सहमति गरेरै अघि बढ्ने आदर्शका पक्षपाती थिए। उनको सोचाइमा प्रजातन्त्रमा राजनीतिक नेतृत्व जनस्तरबाटै स्थापित हुन्छ भन्ने थियो। महेन्द्रलाई लाग्थ्यो, यो देश उनका बाबुबाजेले पनि आर्जेका हुन्। राजाहरूलाई बन्दी बनाउने राणाशासन फालिएपछि बल्ल समयले साथ दिएको हुँदा देशको श्रीवृद्धिमा राजाको पनि भूमिका हुनुपर्छ भन्ने ठान्थे महेन्द्र। 

बीपीमा एउटा दर्शन थियो तर त्यो एकल भूमिका होइन। उनी जनउत्तरदायी शासन पद्धतिप्रति कटिबद्ध थिए। उनी मान्थे, शासन कार्यमा राजा र जनताको साझेदारी हुनुपर्छ। राजाका कुराहरूलाई सुन्ने र कार्यान्वयन गर्ने जिम्मेवारी प्रधानमन्त्रीको हो। राजा आदरका पात्र हुन्, नीतिगत विषयवस्तु एवं प्रशासनिक कामकारबाहीमा उनी अलग बस्नुपर्छ। यसबाट प्रजातन्त्र बलियो हुन्छ। यसले आफूलाई संस्थागत गर्ने अवसर पाउँछ भन्ने सोचाइले बीपीलाई प्रस्ट रूपमा प्रजातान्त्रिक कित्तामा उभ्याएको थियो।

अन्तर्राष्ट्रिय परिवेशमा एकमत

देशका समस्याहरू बीपी वा महेन्द्रले सोचेभन्दा धेरै ठूला र जटिल थिए। विसं ००७ को परविर्तन नेपाली कांग्रेस तथा अन्य समूहहरूका लागि प्रजातन्त्रको सुरुआत थियो भने राजा त्रिभुवनका लागि राणाशासनबाट मुक्ति। भारतीयहरूले यसलाई राणा-बेलायती गठबन्धनका ठाउँमा आफूलाई स्थापित गर्ने प्रयासभन्दा बढी अर्थमा लिएनन्। साम्राज्यबाट मुक्ति पाए पनि साम्राज्यको लालसा भारतीय शासकहरूमा कम देखिएन। क्रान्तिका माध्यमबाट नेपाल भारतीयहरूको रणनीतिक भुमरीमा परेको थियो। गर्धन एउटाको काटियो, तक्मा अर्कोले भिर्‍यो। दिल्ली सम्झौताको पृष्ठभूमि यही हो। किनभने, क्रान्तिकारी पक्षलाई शासनमा बलियो रूपमा स्थापित हुन दिइएन। राजाका विरुद्ध दलहरू र दलहरूका विरुद्ध राजा पटक-पटक प्रयोग हुन थाले। बीपी र महेन्द्रका सम्बन्धमा एउटाको पक्ष लिएर अर्कोलाई आलोचना गरेर मात्र मुलुकका समस्या समाधान हुन सक्दैनथे। 

प्रथम आमनिर्वाचनपछि बीपीको प्रधानमन्त्रीत्वमार्फत देशले सुशील, सक्षम र आधुनिक प्रधानमन्त्री मात्र पाएन, तेस्रो विश्वका लागि बलियो नेतृत्व विकासको अवसर पनि प्राप्त भयो। आफ्नो अन्तर्राष्ट्रिय कूटनीतिक क्षमताको प्रदर्शन तथा त्यस बेलाका नामी तेस्रो विश्वका नेतृत्वहरूमाझ बीपीले आफू र आफ्नो देशका लागि एउटा स्थान पनि प्राप्त गरे। प्रधानमन्त्रीका रूपमा उनले संयुक्त राष्ट्र संघको महासभालाई गरेको सम्बोधनमार्फत स्पष्ट रूपमा नेपाल तथा नेपालजस्तै अन्य साना तथा गरबि तेस्रो मुलुकका अधिकारहरूको सम्बन्धमा शंखनाद मात्र गरेनन्, सम्पन्न राष्ट्रहरूबाट विकासोन्मुख मुलुकहरूका लागि दिइने सहयोग दुईपक्षीय नभई राष्ट्र संघमार्फत हुनुपर्ने तथा पैसाको बलमा साना तथा कमजोर राष्ट्रहरूको स्वतन्त्रतालाई आँच पुर्‍याउन नहुने प्रस्ताव पनि राखे। बीपीको सम्बोधन नेपाली कांग्रेसको परराष्ट्र नीति मात्र थिएन, यो समाजवादप्रतिको समर्पण पनि थियो। त्यसमाथि त्यो राजा महेन्द्रद्वारा अनुमोदित सम्बोधन थियो। यसैबाट प्रस्ट हुन्छ, अन्तर्राष्ट्रिय विषयमा राजा प्रधानमन्त्रीसँग कति नजिकको नाता राख्थे।

प्रजातान्त्रिक आन्दोलन प्रभावित

बीपी आधुनिकता तथा प्रजातान्त्रिक शासन पद्धतिका प्रतीक थिए। राजाले परम्परागत नेपाल तथा यसको शक्तिलाई प्रतिनिधित्व गर्थे। बीपीलाई यसप्रति आपत्ति थिएन। त्यसैले होला, नेपालको प्रजातन्त्रीकरणको अनुभवका बारेमा दुवैलाई केन्दि्रत गरेर लेखिएको डेमोक्रेटिक इन्नोभेसन्स इन नेपाल भन्ने पुस्तकका लेखकद्वय नेपाली भुवनलाल जोशी र अमेरिकी प्राध्यापक लियो रोजले उक्त पुस्तक यी दुवै शिखर पुरुषलाई समर्पण गरेका थिए, जुन यस्तो छ ः

‘दुई नेपाली नेताहरू, जो यद्यपि नेपालको इतिहासका अत्यन्त अस्वाभाविक नदेखिएको निरन्तर विडम्बनाका कारण राजनीतिक तरंगको विपरीत दिशामा राखिएका छन्, उनीहरू वास्तविक अर्थमा यस पुस्तकमा उल्लेखित नेपालको राजनीतिक उत्संस्करणका अत्यन्त महत्त्वपूर्ण सहलेखक हुन्।’

लेखकद्वयको भनाइमा नेपालको उज्ज्वल प्रजातान्त्रिक भविष्य र राष्ट्रवादका लागि यी दुवैको सहकार्य जरुरी छ। उनीहरूले एउटाको विकल्पका रूपमा अर्कोलाई देखेनन्। यद्यपि, राजा महेन्द्रले प्रजातान्त्रिक परिपाटी एवं संविधानवादप्रति आफ्नो अभिरुचि बढाउनु जरुरी छ भन्ने कुरा स्पष्ट गर्न दुवै विद्वान् चुकेनन्। स्वयं बीपी कोइराला यही मान्यताकै पक्षपाती थिए। तर, अन्ततः त्यसो हुन सकेन। ००७ सालको परविर्तनले जुन रूपमा देशलाई अगाडि बढाउँदै लैजानुपथ्र्यो, त्यस रूपमा देश अघि बढ्न सकेन। त्यो परविर्तनसँगै भारतीयहरूले देखाएको असहिष्णुता एवं हस्तक्षेपको सिकार भएको यस प्रक्रियामा न महेन्द्रको जित हुन सक्यो, न त बीपीको नै। दुवै एकअर्काबाट प्रभावित भए। तर, यो खेलमा चौका भारतले हान्यो। उसले यो अवस्थाबाट प्रशस्त लाभ लियो।

नेपालमा त्यस बेला पनि राजनीति बुझ्ने र त्यसलाई व्यक्त गर्न सक्ने ‘क्रिटिकल मास’ नभएको होइन। तर, त्यो समूह सानो मात्र थिएन, अक्षम पनि थियो। नेपाली समाजको चेतनास्तर आज त यस्तो छ भने त्यस बेलाको स्थिति अन्दाज गर्न गाह्रो हुँदैन। 

यो स्वाभाविक हो, नेताहरूमा सत्ताको आकांक्षा थियो। तर, जनसमर्थन धेरैलाई प्राप्त थिएन। नेतृत्वको व्यक्तिगत चाहनालाई अर्थतन्त्रले धान्न सक्दैनथ्यो। कृषिप्रधान मुलुक र कृषि आयको निरीह अवस्था वास्तवमा आर्थिक रूपमा एउटा प्रमुख पक्ष बनेको थियो, नेपालको प्रजातान्त्रिक आन्दोलनको त्यो चरणमा। नेपाली कांग्रेसलाई कसरी नियन्त्रणमा राख्ने भन्ने ००७ सालदेखिकै भारतीय प्रयासका साथै दलहरूको प्रशस्त दुरुपयोग, प्रादुर्भाव एवं लगानीका प्रक्रिया पनि सुरु भए। यसै प्रसंगमा विदेशीलाई सहयोग पुर्‍याउने सेवा प्रदायकका रूपमा अन्य स्रोतहरूबाट फाइदा लिने प्रवृत्ति क्रमशः देखा पर्न थालिसकेको थियो। यो चुनौती राजाका लागि पनि थियो। तर, यसबाट सबैभन्दा बढी प्रजातान्त्रिक आन्दोलन प्रभावित हुन पुग्यो। 

छिमेकका भारत र चीन दुवै क्रमशः बलिया हुँदै थिए। अमेरिका र रुस महाशक्ति राष्ट्रको क्षमता राख्थे। भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग बीपी आफ्नो व्यक्तिगत सम्बन्ध भएको ठान्थे। सम्बन्ध भएकामा शंका छैन तर स्वतन्त्र चिन्तक रहेका बीपीप्रति नेहरुको कुनै सद्भाव थिएन। त्यहाँका समाजवादीहरूसँग बीपीको मित्रता उल्लेखनीय रूपमा थियो। चिनियाँ क्रान्तिका नेतृत्वकर्ता माओत्सेतुङ्लाई बीपी पाको देख्थे। उनको प्रयोग सफल होस् र समाजवादले चीनमा जरो गाडोस् भन्ने चाहना तत्कालीन प्रधानमन्त्री बीपीमा थियो। महेन्द्र राजाका रूपमा यी दुवैसँग परिचित थिए। तर, व्यक्तिगत स्तरको सम्बन्ध उनलाई परिस्थितिले दिएन।

माग एकताको तर… 

बीपीसँगै सहकार्यका लागि अगाडि बढ्ने प्रयास राजाका तर्फबाट कहिल्यै भएन। यसमा उनी हतार पनि मान्दैनथे। यो परिस्थिति राजा महेन्द्र तथा प्रधानमन्त्री बीपी दुवैका लागि चुनौतीपूर्ण थियो। देशले एकताको माग गरेको थियो। यो खेलमा परिस्थिति राम्रोसँग बुझ्न नसक्दा राजा महेन्द्र भारतसँग नजिकिन पुगे। परिणामस्वरूप प्रजातन्त्र अपदस्थ गरियो। बीपीलाई झ्यालखानमा पुर्‍याइयो। भारतीयहरूको दृष्टिमा बीपी भारतका लागि जोखिम भइसकेका थिए।

आजपर्यन्त पनि प्रजातान्त्रिक परिपाटीमाथि यत्रो ठूलो हमला किन भयो भनेर छलफल भइरहेकै छ। वास्तवमा ००७ सालदेखिका परविर्तनमा बीपीको गहिरो छाप थियो। व्यक्तिगत स्तरमा उनी सबैभन्दा योग्य र सक्षम देखिएका थिए। सरकारमा भए पनि नभए पनि उनको विचार र व्यक्तित्वले सधैँ राजनीतिक प्रक्रियाहरूलाई प्रभावित गर्थे। कहाँसम्म भने बीपीले नै मध्यस्थता गरिदिएका कारण महेन्द्रले रत्नसँग विवाह गर्न सके। राजपरिवारसँगको उनको सम्बन्ध झाँगिँदै थियो। परविर्तनबाट प्रभावित राणाहरूलाई धेरै हदसम्म नेपाली कांग्रेसले व्यवस्थापन गरसिकेको थियो। छोटो समयमै देशले आन्तरकि शान्ति तथा सुव्यवस्था प्राप्त गर्दै थियो। सार्वजनिक क्षेत्रमा बीपीको प्रभाव कम हुने कुरै भएन। अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालले दु्रत गतिमा सम्बन्ध स्थापना गर्दै थियो। 

यसैबीच, नेपाली कांग्रेसको संगठनभित्रका खिचलोहरू सुरु भइसकेका थिए। तर, तिनका सैद्धान्तिक आधारहरू थिएनन्। यसले नेतृत्वलाई जहिल्यै संकट ल्याउने तथा कमजोर बनाउने उद्देश्य राख्थ्यो। राजाका वितृष्णाहरू कसरी बढ्दै गएका थिए भनेर बीपीले आत्मवृत्तान्तमा पनि उल्लेख गरेका छन्। राजा भ्रष्टाचारको कुरा उठाउँथे, कुशासनको प्रश्न झिक्थे। त्यसको छिनोफानो पनि हुन्थ्यो। अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर कतिपय विषयमा राजा र प्रधानमन्त्रीबीच सल्लाहसमेत हुन्थे। राष्ट्रियताका मुद्दामा दुवैका दृष्टिकोण समान थिए। तर, प्रजातन्त्रको कुरा गर्दा महेन्द्र स-साना कार्यकारिणी निर्णयलाई पनि बढी कोट्याउन चाहन्थे। भर्खर प्रजातन्त्र उपभोग गर्न थालेका तथा संगठनात्मक रूपमा बलियो भइनसकेका राजनीतिक दलहरूबाट हुन गएका उच्छृंखलताहरूसँग जुध्नका लागि समय चाहिन्थ्यो। राजा यसबारे त्यति सहनशील थिएनन्। कतिपय विषयमा सरकारलाई अप्ठ्यारो हुने गरी राजाले बोलेको, गतिविधि गरेको कारणबाट प्रधानमन्त्रीलाई कार्यकारिणी अधिकारको प्रयोग गर्न गाह्रो पथ्र्यो। बीपीले खोजेजतिको संवेदनशीलता राजाबाट प्राप्त हुँदैनथ्यो। तथापि, प्रजातान्त्रिक प्रक्रियाहरू अवरुद्ध भएका थिएनन्। निर्वाचित संसद्मा देशका बारेमा छलफल हुनु र सरकारबाट संसदीय उत्तरदायित्वको निर्वाह हुनु नेपालको राजनीतिक प्रयोगमा एउटा नौलो आयाम थियो। 

तर पनि बीपी अपदस्थ गरिए। यसपछि पनि नेपालले विभिन्न मुलुकसँग सम्बन्ध विस्तार गर्‍यो। राजदूतहरू ल्याइए, पठाइए। स्वयं भारत र चीनसँगको सम्बन्धमा पनि ठूलो परविर्तन देखा पर्‍यो। मुलुकको आन्तरकि सुरक्षाका विषयहरूमा विभिन्न निर्णयहरू गरिए। ती विषयमा महेन्द्र र बीपीले एकअर्कालाई असहयोग गरेको देखिएन। आफूले आठ वर्ष लगातार जेलमा थुनेर राखेको अपदस्थ प्रधानमन्त्रीका बारेमा महेन्द्रले कतै निचो बोलेनन्। त्यसै गरी कतै पनि बीपीको मुखबाट महेन्द्रका प्रति नराम्रा अभिव्यक्ति आएनन्। महेन्द्र आफैँले पनि बीपीलाई कुनै व्यक्तिगत वा सार्वजनिक आरोप लगाएको कुनै पनि प्रकाशित स्रोतहरूमा देखिँदैन। त्यसो भए के कारणले त्यत्रो दुर्घटना गराइयो त?

०१९ मा भएको भारत-चीन युद्ध एउटा ठूलो ‘टेस्ट केस’ थियो। बीपी वा महेन्द्रले यो विषयलाई लिएर एकअर्कासँग रुग्ण राजनीति गरेनन्। यी दुईका बीच समस्या छँदै थिएनन् भन्ने होइन, थिए। तर, ती समाधान हुँदै गएका थिए। प्रमुख कुरा के हो भने अब बीपी तथा नेपाली कांग्रेस दुवै भारत सरकारको आँखाको कसिंगर भइसकेका थिए। यसैबीच अप्रत्यासित रूपमा राजा महेन्द्रले आफू र आफ्नो देशविरुद्ध निर्णय लिएका थिए। त्यो निर्णयमा सानोतिनो उनको पनि स्वार्थ थियो। तर, त्यसभन्दा ठूलो स्वार्थ भारतको थियो, जसको महेन्द्रलाई अन्दाज थिएन।

आफ्नो जीन्दगीको उत्तराद्र्धमा यो समस्याको बारेमा बीपीले कसैलाई अन्धकारमा राखेनन् – “म गुप्तचर संस्थाको प्रमुख होइन । म त राजनैतिक परिस्थितिलाई विश्लेषण गरेर एउटा निष्कर्षमा पुग्ने मानिस हुँ । तपाइँले सुन्नु भएको छ तुलसी गिरीको भाषण, पञ्च भेलामा राजालाई औंला ठ्ड्याएर कि यो नयाँ परिवर्तन ल्याएर हामीहरुलाई बलिको बोको बनाउन पाइँदैन । राजाले परिवर्तन गर्न पाउँदैनन् । हामीहरुको मद्दत लिएर यो व्यवस्था ल्याए । अब हेरौं यो व्यवस्था कसरी फ्याँक्दा रहेछन् भन्ने थियो । यो भन्ने आधार उसले कहाँबाट पायो ? उसको आधार राजा त होइन रहेछ नि । राजालाई नै औंलो ठ्ड्याउने, राजाले गर्न खोजेकालाई तिमीले गर्न पाउँदैनौं भन्ने ताकत मैले पाउँछु किनभने मेरो आधार त जनता हो । या, मेरो आधार मैले आफ्नो आदर्शको निम्ति दश वर्षसम्म यहाँ जेलमा बसेँ । राजाले नै मलाई १० वर्ष थुने । त्यसो हुनाले राजाले गर्नसक्ने ममाथि जति उत्पीडन हुन सक्दछ, मलाई गरे । त्यो मैले भोगिसकेकोले मलाई भन्ने आधार प्राप्त भएको छ । उसले कुन आधार र कुन बल पाएको छ ? जनताको बलबाट बोलिरहेको छ ? त्याग र बलिदानको तेजबाट बोलिरहेको छ ? केबाट बोलिरहेको छ? त्यसोभए कसको बलबाट होला ।”

राष्ट्रिय मेलमिलापको सन्दर्भलाई लिएर बीपीको भनाई थियो – “मैले सँधै भनेको छु, हार्डलाइनरहरु भनेका राजाका मानिसहरु होइनन्, विदेशीहरुका मानिस हुन् । विद्यार्थी आन्दोलनका पछिल्तिर हार्डलाइनरहरु थिए । मेरो खिलाफमा चार्ज नै छ हार्डलाइनरहरुको कि म राजापट्टि झुकेर गएँ । त्यो हार्डलाइनरको नेता को ? अब म त्यसको नाउँ लिउँ कि नलिउँ ? हार्डलाइनर राजाको मान्छे हुँ भनेर जनताको समक्ष आउँछ । तर त्यसले भित्रबाट बाहिरी तत्वको सञ्चालनमा काम गर्दछ । मैल जब नाम लिएर उनीहरुको मुकुण्डो उतार्न थालेँ । उनीहरुको आक्रमण ममाथि बढेको छ । एउटा कुरा स्पष्ट छ – कम्युनिष्टहरु, रुसी पक्षहरु ममाथि आक्रमण गर्दछन् । म उनीहरुमाथि आक्रमण गर्दछु । त्यसो हुनाले उनीहरुले ममाथि आक्रमण गरेको म बुझ्न सक्छु । यो प्रो–इण्डियन भन्ने तत्व पनि ममाथि किन आक्रमण गर्दछ – त्यो म बुझिरहेको छैन ।”

बीपीले देखेको खतरा अस्पष्ट थिएन । यो धेरै प्रक्ष्ट थियो । “हाम्रो देश, हाम्रो जाति, हाम्रो राष्ट्र बडो अप्ठ्यारो परिस्थितिमा छ र त्यसालाई जोगाउनु परेको छ । त्यसको निम्ति मेरो एउटा प्रयत्न रहेको छ । त्यस्ता संस्थाहरु, त्यस्ता शक्तिहरु, जसले जोगाउन सक्छन्, तीसँग हामीले वैमनस्यको सम्बन्ध राख्नु हुँदैन, जस्तो राजतन्त्रको बारेमा । मलाई लाग्दछ, त्यो त्यस्तो संस्था छ हाम्रो नेपालको लागि, नेपालको राष्ट्रियताका लागि, अहिले जो विपत्ति परेको छ बाहिरियाबाट त्यसबाट बचाउनका लागि बडो ठूलो योगदान त्यसले दिन सक्छ । त्यसो हुनाले त्यसको खिलाफ हामीले बडो सजग भएर मात्र कारबाही गर्नुपर्छ । नत्र भनेदेखि जुन तत्वले हाम्रो राष्ट्रलाई सिध्याउन लागेको छ, त्यही तत्व हाम्रो पछाडि लागेर हामीलाई समर्थन गरेर त्यो गराउन सक्दछ । त्यासे हुनाले तपाईहरु सबैले भन्ठान्नुस् एउटा आँधीमा दियो बलिरहेछ, त्यसलाई बचाउनु पर्ने कर्तव्य परिरहेछ । राष्ट्रको दियोलाई बचाउनका लागि त्यसमा जति तत्वहरु छन्, बचाउने, बचाउन लाग्ने र बचाउन चाहने, ती सबैसँग हाम्रो राम्रो सम्बन्ध हुनुपर्दछ ।”

पञ्चायत व्यवस्थाले उपरोक्त खतराहरुको सम्बोधन गर्न सक्दैन भन्ने धारणा बीपीका लेखाईहरुमा प्रष्ट रुपमा देखिन्छन् । “पञ्चायत वादीहरु भन्छन् कि राजतन्त्र बलियो पारे सबै ठीक हुन्छ, तर हामीहरु भन्छौं राजतन्त्रलाई बलियो पार्ने पनि तरिका छ । राजा ठूलो हो भनेर मात्र राजतन्त्र बलियो हुँदैन । त्यसलाई, राजतन्त्रलाई बलियो पार्नलाई पनि प्रजातन्त्रको संस्थागत विकास हुनुपरेको छ । संस्थागत प्रजातन्त्रको एउटा ठूलो भूमिका पूरा गर्ने तत्व राजतन्त्र पनि हुन सक्छ । त्यस परिप्रेक्ष्यमा हामीले राजतन्त्रलाई सोच्नु पर्छ । दोस्रो कुरा प्रजातन्त्रमा त्यसो हुनाले नै हाम्रो जोड छ । पञ्चायतवादीसँग हाम्रो विरोध राजतन्त्रका निम्ति होइन कि त्यो राजतन्त्रलाई कसरी जोगाउने भन्ने तरिकामा पनि मतभेद भएको हो ।”

बीपीले आफ्नो भनाईलाई स्पष्ट गर्दै बोलेका छन् – “राजासँगको जो हाम्रो संघर्ष छ, त्यसलाई सीमांकन गरौं । त्यसलाई परिसीमित गरौं । एउटा परिधि बनाइदिउँ । त्यस परिधिभित्र त्यस संघर्ष, विवाद र झगडालाई सीमित राखौं । बाहिरको खतरालाई हामीले ध्यान दिउँ । मलाई पहिले बाहिरको खतराको अनुभव हुँदैनथ्यो । तर अहिले त मलाई त्यसको धेरै अनुभव छ । पहिले राष्ट्रियताको प्रश्न दोस्रो महत्वको विषय थियो भने आज यो प्रथम महत्वको हुन आएको छ ।” (राजा, राष्ट्रियता र राजनीति)

बीपीलाई अपदस्थ गरी १ पुस ०१७ मै झ्यालखानमा हालिसकेपछि पनि महेन्द्रले उनका कतिपय मान्यतालाई छाडेनन्। उनले ०१७ देखि ०२८ सालसम्म गरे/गराएका विभिन्न आर्थिक, सामाजिक एवं विकासका प्रयासहरूलाई बीपीले पनि विरोध गरेनन्। यस्तै, बीपीको प्रधानमन्त्रीत्व कालपछि पनि प्रशासनिक सुधार, न्यायिक सुधार तथा शान्ति सुरक्षाका सम्बन्धमा प्रशस्त कानुनहरू पारति भए। राज्यका प्रशासनिक संरचनाहरू पुनः निर्माण गरिए। बीपी एवं नेपाली कांग्रेसले गरेका त्यस्ता कार्यका बारेमा पनि महेन्द्रले कतै टीकाटिप्पणी गरेनन्। बरू उनले बीपीले ०१६ सालमा ल्याएका कतिपय नीति तथा कार्यक्रमलाई पछिका सरकारमार्फत निरन्तरता नै दिए। मूलभूत रूपमा राजनीतिक दल एवं प्रजातान्त्रिक संगठनहरूलाई पर्याप्त ठाउँ दिनुपर्छ तथा राजनीतिक दलहरूबिना जनताको परिचालन सम्भव छैन भन्ने विषयमा बीपीका विचारहरू सधैँ स्पष्ट रहे। यसबाहेक स्वयं पञ्चायती व्यवस्थाप्रति पनि बीपीका अन्य तीक्ष्ण आलोचनाहरू पाइँदैनन्।  

बीपीको स्वभाव षड्यन्त्रपूर्ण थिएन। तर, भारतीयहरूको नेपाल नीति कुटिलतारहित थिएन। त्यसैले अन्तरमुखी राजा महेन्द्रको प्रशस्त दुरुपयोग हुन लाग्दा पनि बीपी आफ्नो क्षमतामा नै विश्वास गरी बसे। आफूले विरोध गर्दा राजतन्त्र मात्र होइन, देशभित्र रहेको आन्तरकि सार्वभौमसत्तासमेत कुचक्रमा पर्न सक्छ भन्ने उनलाई लाग्थ्यो। तर, दरबारभित्रका व्यूह रचनामा बीपीको पकड थिएन। क्रमशः राजा र जनताबीचको खाडल खनिँदै थियो। 

आफ्नो अन्तस्करणमा कतै न कतै राजा महेन्द्रलाई लाग्थ्यो, राजकाजमा महत्त्वाकांक्षी शक्तिशाली व्यक्ति नेपालमा जंगबहादुर -विसं १८७४-१९३३)का रूपमा पुनः जन्मन सक्छन्। २ असोज १९०३ मा तत्कालीन प्रधानमन्त्री फत्तेजंग शाह तथा ४० जना भाइभारदारको ज्यान लिने गरी भएको कोतपर्वमार्फत आफूलाई सत्तामा स्थापित गर्न सक्षम जंगबहादुर राणा नेपालका राजाहरूका लागि सधैँ भय र त्रासका विषय बने। नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री दिवगंत कृष्णप्रसाद भट्टराईको दृष्टिकोणमा त्यो भय एवं त्रास राजा त्रिभुवन र महेन्द्रमा पनि थियो। बीपीको व्यक्तित्व, क्षमता वा उचाइले कदाचित महेन्द्र पनि आक्रान्त थिए। तर, केवल त्यतिका कारणले मात्र नेपालको प्रजातन्त्रको प्रयोग विफल गराइएको थिएन। दुश्चक्रमा उनी पनि फसेका थिए। 

महेन्द्रको मृत्यु अप्रत्यासित रूपमा हृदयाघातका कारण भएको मानिन्छ। राजा महेन्द्रको मृत्यु अमेरिकी गुप्तचर संस्थासँग नजिक रहेका टाइगर टप्स होटलका मालिक जोन कोपम्यानको अँगालोमा भएको भन्ने छ। यसका बारेमा प्रस्ट रूपमा लेखिएको/बोलिएको देखिँदैन। दुर्भाग्य भनौँ वा नियति, त्यतिखेरसम्म बीपीसँग मेलमिलाप गर्दै प्रजातान्त्रिक शासन प्रणालीमा फर्किने वातावरण नयाँ राजाको हातमा होइन, तथाकथित दरबारको हातमा पुगिसकेको थियो। दरबारलाई कसैले चलाउँदो रहेछ। बीपीले पटक-पटक यो कुरा उल्लेख गरेका छन्। 

बीपी आफ्नो जीवनकालमै राजनेता मानिए। उद्देश्यको पवित्रता र संघर्षले उनलाई त्यो उचाइमा पुर्‍यायो। प्रजातान्त्रिक संरचनाहरूप्रति असहिष्णु देखिएका कारण महेन्द्रले त्यो खिताब पाउन सकेनन्। प्रजातन्त्र र अखण्ड राष्ट्रवाद सन्निहित राष्ट्रिय मेलमिलापको नीतिको पृष्ठभूमि यिनै अनुभवका आधारमा तयार गरिएका थिए। तर, आजका मितिमा बीपी आफूले स्थापना गरेको नेपाली कांग्रेसकै एजेन्डामा पर्दैनन्। किनभने, बाहिरिया तत्त्व दरबार सिध्याएर अब ठूला दलहरूलाई सिध्याउन लागेको छ। बाँच्नका लागि पनि बीपी तथा उनका सिद्धान्तहरूलाई बार्नुपर्ने बाध्यता कांग्रेसजनलाई छ। यदि बीपीको राष्ट्रिय चिन्तनलाई राजा महेन्द्रले बुझ्न सकेका भए आज देशको यो स्तरको दुर्दशा हुने थिएन र पराधीनता पनि खेप्नुपर्ने थिएन। राष्ट्रवादीहरूले प्रजातन्त्र चलाउँथे र प्रजातन्त्रवादीहरूले राष्ट्रको सार्वभौमसत्ता जोगाउँथे।

(डा. अधिकारी संविधानविद् हुन्।)

“मलाई यदि नेपाली जनताले श्रेय दिन खोज्दछ भने यस कारणले नदेओस कि मैले आफ्नो बुताबाट एक भ्रम सृजना गरें भनेर । … मलाई श्रेय दिनु छ भने एउटै कुरामा देओस कि मैले देशभित्र देशको सामर्थ्यलाई बुझेको रहेछु । र, देशको सामर्थ्यलाई मैले मुखरित गर्ने कोशिश गरेको रहेछु । त्यो श्रेय मलाई देओस, नकि मैले मेरो आफ्नो बुताबाट गरें भनेर । नेपालको सामर्थ्यलाई मैले बुझें, त्यसैबाट मेरो कुरो इतिहासले मान्यता दियो भने त्यही कुरा मेरो लागि सौभाग्य हुनेछ । झुठो कुरा दिएर केहि अर्थ हुँदैन । मेरो केहि देन छ भने यस देशको सामर्थ्यलाई बुझेर आफ्नो कुरा भनेको छु ।”

“नेपालको सेनाको अहिलेसम्मको के के रोल भएको छ ? के यो मर्सिनरी (पैसामा किन्ने) हो ? नभए कहिले राणा, कहिले राजाको हातमा किन सजिलैसँग आइजाइ गरिरहन्छ ? जनताको पक्षमा भने यो कहिले पनि भएन । यसप्रकारको सेनाबाट ठूलो खतरा छ जसको उदाहरण यसको प्रयोग भरखरै प्रजातनत्रको विरुद्धमा गरियो । त्यसैले होला इतिहासमा क्रान्तिपछि जहिले पनि पुरानो सेनाको गठन प्रजातन्त्र विरोधी र सामन्ती आधारमा भएको छ । कसरी यसबाट प्रजातन्त्रको रक्षाको आशा गर्न सकिन्थ्यो ?” (फेब्रुअरी १५, १९६१)

“नेपालजस्तो सानो मुलुक प्रजातन्त्रलाई सैनिक खतराबाट बचाउनका लागि तलका उपाए आवश्यक छन् । नेपाल जो दुई ठूला–ठूला राष्ट्रहरुका बीचमा छ (जसका विरुद्धमा यहाँका सैनिकशक्ति यति नगण्य छ कि त्यसलाई निरर्थक भनेपनि हुन्छ) सेना आन्तरिक सुरक्षा (क्ष्लतभचलब िकभअगचष्तथ) का लागि मात्र कामममा आउँछ । राणाका पालामा पुलिसको गठन नभएकोले पुलिसको काम सेनाद्धारा नै लिइने गरेको थियो आन्तरिक सुरक्षाका लागि । आजकल पुुलिसको गठन भइसके तापनि सेनाको त्यहि परम्परा अझै कायम छ ।

१) सेनाको अफिसर (कोर) दलका लागि निम्न मध्यमवर्ग र प्रजातन्त्र पक्षीय परिवारबाट मात्र अफिसरहरुको चुनाव र तिनीहरुको शिक्षण हुनुपर्छ । आजकल अफिसर कोर अप्रजातान्त्रिक परिवारहरुका व्यक्तिहरुले निर्मित भएको छ । ‘बाहिरिया’ लाई घुस्न दिँदैनन् । म प्रधानमन्त्री छँदा एक दुइ जना ‘बाहिरिया’लाई चुनाउन खोज्दा बडो बिरोध भएको थियो – सेनाका उच्च पदाधिकारीहरुको सेलेक्सन बोर्डद्धारा ।

२) सेनालाई अतिशय शस्त्र–अस्त्र सुसज्जित (ओभर आर्मड) पार्नु हुन्न ।

३) दरबारमा स्थायी रुपमा सेनाको ठूलो टुकडी राख्नुहुन्न ।

४) त्यहाँ दुइ तीन कम्पनी जो शोभाका लागि चाहिन्छ तिनीहरुको हात–हतियार साधारण मात्र हुनुपर्छ, र त्यहाँ जाने पल्टन चक्रानुक्रमबाट साटो फेरो भइरहनुपर्छ ।

५) आमजनतालाई अमेरिकाको जस्तो बिना लाइसेन्स हतियार राख्ने अधिकार हुनुपर्छ। विशेष किसिमको सामरिक हतियार बाहेक । व्यक्ति विशेषलाई कानूनबाट मात्र यो अधिकार सरकारले वञ्चित पार्न सक्छन – अर्थात् चोर डाकू र गुण्डाहरुलाई यो अधिकार दिनुहुन्न ।

६) सेनालाई नै खारेज गर्नुपर्छ ।

७) सबै वयस्क नागरिकलाई सैनिक तालिम दिनुपर्छ जसले व्यक्तिहरुलाई समयमा सेनामा परिणत गर्न सकियोस् । (इजराइल र क्यानडा, स्वीट्जरलैण्ड इत्यादि जस्तै)

८) हेड– क्वाटर्सलाई चलाउने सानो अस्थायी अफिसर कोर मात्र राख्नुपर्छ । अरु सबै खारेज हुनुपर्छ ।

९) प्रधानमन्त्री जो पार्लियामेन्टका प्रति बफादार हुन्छ, त्यसको घरमा पनि सेनाको दुइ तीन कम्पनी रहनुपर्छ दरबारको जस्तो । यदि दरबारमा ठूलो टुकडी रहन्छ भने प्रधानमन्त्रीको निवासमा पनि त्यस्तै टुकडी रहनुपर्छ ।

१०) नेपाली कांग्रेसले पनि आफ्नो पल्टन राख्नुपर्छ । सेनाको एकहठ्ठी (मनोपोली) एकाधिकार रहन दिनुहुन्न । यदि सेनालाई राख्ने हो भने। भनाइको तात्पर्य के हो भने सेना खारेजै गर्नुपर्छ किनभने नेपालको भौगोलिक स्थितिलाई विचार गर्ने हो भने यो राख्नुपर्ने आवश्यक छैन र ‘डिसअर्मामेण्ट’ को प्रचार युगमा नेपालको यो कदमले यसको मर्यादा बढ्नेछ र अन्तर्राष्ट्रिय क्षेत्रमा यसले धेरै भाग लिन सक्छ। तर यदि सेना राख्ने नै हो भने सेनाको पुनर्गठन हुनुपर्छ। अफिसरहरुको भर्तीमा पूरा ध्यान दिएर। जसले कि सेनाको भावना प्रजातन्त्र पक्षीय होस् न कि दरबार पक्षीय । साथै सेनाको शस्त्र–अस्त्रको एकाधिकार पनि झिक्नुपर्छ । हतियारको लाइसेन्स प्रथा खारेज गरेर सबै नागरिकलाई सैनिक तालिम दिएर, प्रजातान्त्रिक पार्टीले आफ्नो सैनिक संगठन कायम गरेर, सेनालाई ओभर-आर्मड हुन नदिने गराउनुपर्छ । दरबारले प्रजातन्त्र विरुद्ध सेनालाई प्रयोग गर्ने खतरा भइरहेकाले दरबारको स्थायित्व र चुनिएका मन्त्रिमण्डलको अस्थायित्वले गर्दा दरबारलाई सेनालाई चलाउने (मनिपुलेट गर्ने) मौका रहन्छ । त्यसैले दरबारभित्रको सेनालाई झिक्ने र रहन दिएको खण्डमा प्रधानमन्त्री कहाँबाट पनि उत्ति नै शस्त्रास्त्रले सुसज्जित सेना राख्ने व्यवस्था हुनुपर्छ । दरबारमा ठूलो सेनाको टुकडी राखेको खण्डमा सेनालाई पूरा नियन्त्रणमा राख्ने क्षमता त्यसको भएर जान्छ ।”

 [pdfjs-viewer url=”https%3A%2F%2Fbipinadhikari.com.np%2Fwp-content%2Fuploads%2F2020%2F03%2FBPK-Interview.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]                           

बि. पी. कोइरालाको अप्रसारित अन्तर्वार्ता (२०७६ माघ)

“हिन्दूस्तानको हालत बडो नराम्रो छ – आर्थिक, सामाजिक, राजनीतिक दृष्टिबाट । १७ वर्षसम्म नेहरुले एकछत्र राज्य गरे अंग्रेजबाट पाएको सुसंगठित शासन व्यवस्थालाई उत्तराधिकारमा पाएर । १७ वर्षको अविच्छिन्न शासन एउटै व्यक्ति तथा एउटै पार्टीको हातमा रह्यो । यस्तो सुयोग इतिहासमा विरलै उपलब्ध हुन्छ, विशेष गरेर वर्तमानकालको जस्तो संक्रमणकालमा ।”

“हिन्दूस्तानमा भौतिक तथा बौद्धिक सामग्रीहरु पनि प्रशस्त छन् । विकासशील अर्थ व्यवस्था पनि यस प्रकारका नवोदित राष्ट्रहरुको दाँजोमा उपेक्षा योग्य थिएन, अंग्रेजले भारत छाडेर जाँदा । यहाँको राष्ट्रिय आन्दोलनले पनि आफ्नो लामो अवधिमा एउटै सुसंगठित रुप लिइसकेको थियो र अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय अधिकारका लागि लड्नेहरुका लागि उदाहरण प्रस्तुत गर्थ्यो ।’

“यद्यपि भारतको विभाजनले अधिकारको हस्तान्तरणलाई चोखो भन्न सकिन्न तथा पूर्ण शान्तमय ढंगबाट त्यो सुसम्पन्न भयो भन्न सकिन्न, तैपनि अपेक्षाकृत त्यो शान्तिपूर्ण हस्तान्तरण थियो जसमा अधिकार छाडेर जाने विदेशी शासक तथा अधिकार प्राप्त गर्ने स्वदेशी शासक वर्गहरुमा आपसी सौहार्दपूर्ण सम्बन्ध स्थापित भयो अधिकारको हस्तान्तरणबाट ।”

“गान्धी, नेहरु आदि राष्ट्रिय नेताहरुको जादुले जनता वशीभूत थियो । त्यो जादूलाई राम्ररी प्रयोग गर्न सकेको भए जनताबाट ठूलो बलिदान तथा सहयोग प्राप्त गर्न नसकिने पनि थिएन ।’

“यस पृष्ठभूमिमा विचार गर्दा १७ सालको नेहरुको शासनलाई पूर्ण असफल शासन भन्न सकिन्छ, किनभने उनीबाट कुनै किसिमको समस्याको पनि समाधान भएन, बरु १७ वर्षको अवधिमा उनले वसीयतको रुपमा प्राप्त गरेको प्राप्ति मूलधन (क्यापिटल) लाई बढाउने सट्टा क्षीणतर बनाउँदै गए ।”

“१) काश्मिरको समस्या जस्ताको त्यस्तै छ,
२) पाकिस्तानसँग सम्बन्ध राम्रो हुन सकेन,
३) चीन शत्रु भएर निस्क्यो,
४) एशिया अफ्रिकामा भारतको प्रतिष्ठा लुप्तप्रायः छ
५) देशको आर्थिक व्यवस्था यस्तो दयनीय छ कि अमेरिकन मद्दत नभएको भए अहिले भारतमा भयंकर दुर्भिक्ष भएर ठूलो उत्पात हुनेथियो,
६) तुलनात्मक दृष्टिबाट भारतको आर्थिक विकास अत्यन्त मध्यम छ,
७) जनसंख्याको वृद्धिले भयंकर सम्भावनापट्टि संकेत गर्छ,
८) बर्माबाट भारतीयहरु निकालिँदै छन्,
९) लंकामा भारतीयहरुको दूरावस्था छ,
१०) नेपालमा भारतको प्रतिष्ठा माटोमा मिलेको छ,
११) जहाँजहाँ भारतीयहरु गएर बसोबास गरेका छन् अफ्रिकामा त्यहाँ – त्यहाँबाट खेदिने भएका छन् जस्तो लाग्छ,
१२) सामरिक दृष्टिबाट भारतजस्तो खोक्रो रहेछ त्यसको प्रमाण २ वर्ष पहिले चिनीयाँहरुको सफलताले प्रमाणित गरिदिएको छ,
१३) भारतका जाति र प्रान्तहरुमा आपसी सद्भावना र भावात्मक एकताको नितान्त अभाव छ,
१४) नागाहरुलाई सन्तुष्ट पार्न असमर्थ भएका छन्,
१५) दक्षिणीहरुको पनि बीचबीचमा स्वतन्त्र हुने भन्ने आवाज सुनिन्छ,
१६) कांगे्रस पार्टीको संगठन अत्यन्त कमजोर भएको छ,
१७) विरोधी पार्टीमध्ये कुनै पनि त्यस्तो संगठन छैन जसले हिन्दूस्तानको राजनीतिलाई सम्हाल्न सकोस् । कुनै पनि बढ्न सकेनन् । आदि, आदि…”

“किन यसो भयो? मुख्यतः मलाई लाग्छ, हिन्दूस्तानको संस्कृति नै बडो दोषपूर्ण छ । यस संस्कृतिमा सामाजिकताको भावना बडो अल्प छ, व्यक्तिवादको प्रोत्साहन यसमा बढी छ – आत्मामा अत्याधिक जोर दिएकोले (मोक्ष व्यक्तिगत प्राप्ति हो) । यस संस्कृतिको सुन्दर रुप (एस्थेटिक) छ, कलात्मक, किनभने व्यक्तिवादको प्रोत्साहनले कला र सुरुचिको स्रोत अकुण्ठित रहेको छ यसमा, तर व्यवहारिक दृष्टिबाट यो संस्कृति असांसारिक दर्शनमा आधारित भएकोले सामाजिक छैन र नैतिक (इथिकल) पनि छैन ।”

“मलाई एउटा गम्भीर दोष लाग्छ, असांसरिकतामा अव्यावहारिकताको दोषको अतिरिक्त । त्यो गम्भीर दोष के भने असांसरिकता किनभने अव्यावहारिक भएकोले मानव जीवनलाई ढोंग, पाखण्डपूर्ण (हिपोक्रिटिक) बनाउँछ । मानौं, जीवनले आफ्नो निर्वाहका लागि पनि ढोंगको आचरण गर्नुपर्छ, त्यस संस्कृतिमा जसमा संसारलाई तुच्छ र माया मानिएको छ । मलाई लाग्यो – भारतीय संस्कृतिको सबैभन्दा ठूलो दोष कपटाचारको प्रोत्साहन हो । भारतीयहरु बडो ढोंगी हुन्छन् । यही कारण हो कि भारतीयहरु खुला हृदयका हुन नसकेकाले आफ्नो आचरणबाट विदेशमा राम्रो प्रभाव पार्न सकेका छैनन्, यद्यपि कैयौं पिढीदेखि त्यहाँ तिनीहरु बसोबास गर्दै आएका छन् । राष्ट्रिय आन्दोलनको दरम्यान राष्ट्रिय भावनाको जागृतिले भारतवासीहरुको संस्कृतिमा जुन ‘ह्युमिलिटि’ हुनुपर्ने (कि भारतीय संस्कृतिमा ‘ह्युमिलिटि’ लाई चरित्रगुण मानिएको छैन, उदाहरणस्वरुप ब्राह्मणको दर्प?) त्यो मारिदिएको छ । उनीहरु आफूलाई सबभन्दा ठूलो सभ्यताका वाहक भन्ठान्छन् ।”

“यो त त्यस्तो मौलिक दोष हो, राष्ट्रिय सांस्कृतिक चरित्रको, जसले गर्दा ३००० वर्षको लामो इतिहासमा भारतले कहिल्यै पनि विदेशीहरुको आक्रमणबाट देशलाई राम्ररी रक्षा गर्न सकेन (कुन्नि हुणको आक्रमणको के भो?) र देश कहिले पनि एउटा राजनीतिक सूत्रमा बाँधिएन अंग्रेज शासनकालभन्दा पूर्व – कि जसमा नेहरु या अरु कसैले केही गर्न सक्तैन थिए । यस मौलिक दोषका अतिरिक्त अरु पनि कनटेम्पोररी कारणहरु छन् जसले गर्दा भारतको उन्नतिको समग्र उपदानहरु प्रस्तुत थिए अंग्रेजले छाडेर जाँदा । मुख्य कारण मलाई लाग्छ, भारतको राष्ट्रिय जीवन चिरैचिरा परेको छ ।”

“(१) राष्ट्रिय आन्दोलनको चिरा परेको व्यक्तित्व । अहिंसात्मक आन्दोलन शुद्ध राजनीतिक अधिकारका लागि एउटा चिरा परेको दुर्गुणले आवृत हुन्छ किनभने राजनीति छद्म अथवा प्रकट रुपबाट हिंसाको माध्यमवादी प्रयोग हो । अहिंसाको कुरा गरेर राजनीतिमा चिरा परेको (स्प्लिट) व्यक्तित्वको सृष्टि गर्छ, कपटाचार पनि जो कि हिन्दूस्तानको राष्ट्रिय आन्दोलनको गति भएको छ । अंग्रेजहरुले अनेक कारणबाट भारतलाई छाड्नु पर्थ्यो । हो, ती कारणहरुमध्ये भारतको बलियो राष्ट्रिय आन्दोलन र जनभावना पनि एउटा प्रमुख कारण हुनसक्छ (तर बर्मा नि? सिलोन नि? र अफ्रिकाका उपनिवेशहरु नि) । जे होस् हिन्दूस्तानीहरुलाई अहिंसाको राजनीतिक प्रयोगको सफलताको प्रमाण आफ्नो स्वतन्त्रताले दिएको छ भन्ने भ्रम पर्न गएको छ – एउटा राष्ट्रिय (मिथ) को यसरी सृष्टि भएको छ । हिन्दूस्तान जसले विकासमा बाधा पारेर पनि अरबौं रुपियाँ सैनिक संगठन र आयोजनामा प्रतिवर्ष खर्च गर्छ उसको राष्ट्रपिता अहिंसाको अवतार गान्धी छन्, यो भन्दा ठूलो विरोधाचार अरु के हुन सक्छ?”

“(२) नेता नेहरु र नेहरुको पार्टी कांग्रेस आपसमा एक हुन नसकेका पृथक तत्व थिए, त्यसो हुनाले चिरा परेको व्यक्तित्व दुवैको बन्न गयो, नेताको र संगठनको । नेहरुको व्यक्तिगत प्रतिष्ठा प्राप्त नगरेर पार्टीले अधिकारासीन हुन सक्तैन थियो, त्यसो हुनाले नेहरुको उसलाई खाँचो थियो, त्यस्तै नेहरुलाई पनि आफ्नो नेतृत्वका लागि संगठनको आवश्यकता थियो । उनको अभूतपूर्व जनप्रियता रिक्ततामा सक्रिय हुन सक्दैन थियो पार्टीको माध्यमको अभावमा । एउटालाई अर्काको आवश्यकता भएपनि दुवैको दृष्टिकोण भिन्नाभिन्नै थियो । कांग्रेसको समाजवाद नेहरुको शर्त – कांग्रेसले स्वीकार गरेको हो, उनको सेवा प्राप्त गर्नका खातिर तर हृदय भने समाजवादमा छैन पार्टीको । नेहरुले पनि आफ्नो समाजवादलाई पन्यालो पार्नु परेको थियो पार्टीलाई त्यो कुरो स्वीकार्य बनाउनका खातिर । नेहरुले गर्दा कांग्रेसले जो शायद पूर्ण रुपले राष्ट्रिय हिताहितको मात्र ख्याल राखेर आफ्नो शुद्ध राष्ट्रिय नीति बनाउने थियो, त्यसो गर्न सकेन । कांग्रेसले गर्दा नेहरु पनि त्रिशकुं भएर रहे । यस्तो स्थितिले गर्दा जुन नेतृत्व पार्टी र त्यसको नेताले राष्ट्रलाई दिनुपथ्र्यो त्यो दिन सकेनन् । हिन्दूस्तानको ‘कनट्म्पोररी’ दुर्भाग्य त्यहि हो ।’

“मेरो आफ्नो अनुभव छ कि जनतालाई नेतृत्व चाहिन्छ । असल नेतृत्वमा जनताले आफ्नो तर्फबाट गर्नुपर्ने काममा त्रुटि ल्याउँदैन । नेतृत्व नै ‘स्प्लिट पर्सनालिटी’ को भयो भने जनता अन्योलमा पर्छ – भारतीय जनता अन्योलमा छ ।”

” निष्काम कर्मको अर्थ निष्कर्ष हो भने तर्कको युक्तिसंगति बुझेर हिन्दूदर्शनले अर्को पक्ष पनि लिएको छ– त्यो हो सन्यास, जसको अर्थ पूर्ण कर्म–निवृत्ति (टोटल एब्स्टेन्सन फ्रम वर्क) हो । तर संन्यास दर्शन पनि तर्कको असंगतिले पीडित छ । पूर्ण कर्म निवृत्तिको अर्थ हो जीवनबाट मुक्ति, मृत्यु ।”

“जीवनधारण गर्नका लागि मात्र पनि केही कमसेकम न्युनतम (मिनिमम) कर्म गर्नैपर्छ – भोजन खानै पर्यो । संन्यासीहरुले क्षुधा निवारण गर्नका लागि माग्ने वृत्ति लिएका छन् । माग्नु पनि कर्म हो र यदि नमागेर पनि वटवृक्ष तल बसेको संन्यासीले भोजन पाउँछ भनेपनि उसका लागि चाहिने त्यो अल्प भोजन प्राप्त गर्नका लागि अरु कतिले कार्यरत हुनैपर्छ– किसानले कमसेकम अन्न त उब्जाइदिनु पर्यो र गृहीणीले त्यस अन्नलाई पकाएर संन्यासीको निकट पुर्याई दिनुपर्यो ।”

“सन्यासीको निष्कर्मताको आधार अरु अनेकानेक प्राणीहरुको आफ्नो आवश्यकताभन्दा बढी गर्नपरेको कर्म हुन जान्छ । त्यसो हुनाले सन्यासको सिद्धान्त या त एकदम युक्तिसंगत छैन, या त्यो मृत्यु दर्शन हो, जुन दर्शनले जीवनलाई कुनै प्रकारको सहायता उपलब्ध गराउन सक्तैन । तर्कको दृष्टिबाट भने संन्यास युक्तिसंगत छ, मोक्षको सर्वोपरि लक्ष्यको सिद्धान्तसँग जो हिन्दू दर्शनको मुख्य वस्तु हो, तर बाँच्नका लागि दर्शन चाहिएको छ मर्नको लागि होइन ।मर्किन्ग्समा मृत्युको प्रति लंगिन्ग्स लक्षित छ कहिं कहिं ।”