“के उनको [जवाहरलाल नेहरुको ]जीवनलाई सफल भन्न सकिन्छ? हिन्दूस्तानको स्वतन्त्रताको पछि लगत्तै प्रधानमन्त्री भएर १७ वर्षसम्म देशको एकछत्र राज्य गरे । प्रजातान्त्रिक व्यवस्थामा यदि सर्वेसर्वा कोही व्यक्ति इतिहासमा भयो भने नेहरु नै भए । साम्राज्यवादको विरुद्ध राष्ट्रिय संग्राममा सेनानी भएकोले उनको राष्ट्रिय नेतृत्वमा (केरिज़्मैटिक) चमत्कारी गुण पनि आयो जसले गर्दा जनतामा उनको ठूलो भावनात्मक प्रभाव रह्यो । अंग्रेजले छाडेर जाँदा एउटा सम्झौताद्धारा शक्ति हस्तान्तरित भयो । त्यसले क्रान्तिबाट उत्पन्न हुने राजकीय अव्यवस्था र विशृंखलाबाट देश जोगियो । गान्धीजीको अहिंसा आन्दोलनले शासकीय व्यवस्थामा खलबली पार्दै थियो, त्यसको सरकार जसमा क्रान्तिकारीहरुको आफ्नो सरकारी संगठन, सैनिक तथा निजामती संगठन, खडा हुँदैन, जुन सरकारले क्रान्ति सफल भएपछि पहिलेको सरकारलाई प्रतिस्थापना (रिप्लेस) गर्छ ।”

“अंग्रेजहरुको पनि राजनीतिक प्रतिभा यस्तो छ कि भविष्यपट्टि ध्यान राखेर आफू सम्पूर्ण रुपले पराजित हुनभन्दा पूर्व नै उनीहरु सम्झौता गरेर आफै हटेर जान्छन् । यरुी दुई कारणले गर्दा हिन्दूस्तानको स्वतन्त्रता द्वितीय महायुद्धपछिको अन्तर्राष्ट्रिय स्थितिमा दुई विरोधी शक्ति– हिन्दूस्तानको राष्ट्रिय आन्दोलन र अंग्रेज सरकार बीच भएको सम्झौताको परिणाम थियो ।’

“अंग्रेजहरुले एउटा व्यवस्थित, दक्ष र कार्यक्षम शासन व्यवस्था हिन्दूस्तानीहरुको हातमा छाडेर गए – जसको एकछत्र शासक नेहरु भए । यद्यपि हिन्दूस्तानको विभाजनले भयंकर समस्याको सृष्टि गर्यो, तर स्वतन्त्रतताको उत्साहको ज्वारमा, नेहरुको नेतृत्वले राजकीय शक्ति, सैनिक तथा असैनिकको पूर्ण संयोगले त्यस भयंकर स्थितिको मुकाबिला गर्यो । नेहरुलाई त्यस समय मद्दत दिने गान्धी पनि थिए र उनका ठूला–ठूला सहयोगी जसमा पटेलको नाम उल्लेखनीय छ, साथै तत्कालीन गभर्नर जेनरल माउन्टवेटनको उपस्थितिले पनि ठूलो मद्दत गर्यो, विशेष रुपले सरकारी कर्मचारीहरुको एकनिष्ठ राजभक्तिलाई खुकुलो नहुन दिनमा।’

“त्यसपछि जब नेहरुले एकछत्र शासन आफ्नो हातमा लिए, गान्धीको मृत्यु भयो, पटेल पनि मरे । राजेन्द्रप्रसाद नयाँ संविधानको आधारमा प्रेसिडेण्ट भए । यो सोह्र सत्रह वर्षको अवधिमा १९४९ देखि १९६४ सम्म नेहरु नै सर्वेसर्वा भए । उनको सफलता असफलता उनले प्राप्त गरेको वैयक्तिक प्रतिष्ठा सम्मानले आँक्न हुन्न । वैयक्तिक प्रतिष्ठा तथा सम्मान अभूतपूर्व ढंगले उनले प्राप्त गरे – देश र विदेशमा, तर जुन कुराको जवाफदेही उनको काँधमा परेको थियो त्यसैलाई कस्तो किसिमले उनले पूरा गरे? यहाँ उनलाई पूर्णाङ्क दिन सकिन्न ।”

“१) प्रजातन्त्रको जग जति सुदृढ हुनुपर्ने देशमा उति भएन ।

२) विदेशी नीति पनि सफल भएको जस्ते लाग्दैन। अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको मुकाबिलामा हिन्दूस्तानको भावमूर्ति धेरै धमिलो छ । हिन्दूस्तानका छिमेकी सबै सँग राम्रो सम्बन्ध छैन ।

३) काश्मिर समस्या झन् जटिल भएको छ ।

४) कांग्रेस पार्टी झन् कमजोर ।

५) प्रजातान्त्रिक विरोधी दल पनि सप्रिन सकेनन् । यसको पनि केही न केही अंशमा जवाफदेही उनमै [नेहरुमै] छ ।

६) आर्थिक विकास मध्यम नै छ ।

७) जनचेतनामा ठूलो शिथिलता आएको छ ।

८) जनसंख्याको डरलाग्दो अभिवृछि रोकिन सकेको छैन आदी ।”

“उनको [नेहरुको] उत्तराधिकारका लागि कांग्रेसमा जोरतोर छ रे– लालबहादुर शास्त्री र मोरारजी देसाईमा । यो राम्रो लक्षण होइन । लालबहादुर शास्त्री ज्यादा उपयुक्त छन्, तर उनको व्यक्तित्व देसाईको जस्तो प्रभावशाली छैन । लालबहादुर भएको खण्डमा नेपालसँगको नीति नेहरुकै कायम रहेनछ भन्ने लाग्छ । मोरारजी भए भने शायद परिवर्तन आओस्, र हामीलाई केही नोक्सान हुन जाओस् भन्ने भय छ ।”

“जवाहरलालजीको मृत्युको सम्वाद सुनेदेखि मन बडो बेचैन छ । थामीथामी मनमा हुक उठ्छ । कतिचोटि कोठामा आएर एक्लै रोएँ । रोएपछि लाग्थ्यो मन केही हलुको भयो । कस्तो आस्था, विश्वास र स्नेह रहेछ ममा तिनका प्रति । पितातुल्य भाव–मूर्ति बनाएर राखेको रहेँछु तिनको आफ्नो हृद्यमा । लाग्छ, हामी माथिबाट एउटा छत्रछाया हटयो । एकप्रकारले अनाथ भयौं हामी । हाम्रो परिवारसँग उनको राम्रो सम्बन्ध थियो । उनले धेरैचोटि हामीलाई मद्दत पनि गरेका थिए । मेरो त एक अवसरमा उनको दृढताले गर्दा प्राण बाँचेको थियो, जब मैले मोहनशमशेरको जेलमा २९ दिनको अनशन गरेको थिएँ । मलाई त्यसले सदाका लागि कृतज्ञ बनाइदिएको थियो उनकाप्रति ।”

“हाम्रो नेपाली काँग्रेसको के हुने हो अब? सुवर्णजी र अरु साथीहरु उनकै आधार मान्दै थिए, र हालै पनि मलाई खबर आएको थियो कि राजाको र नेहरुको मई महिनामा परामर्श हुने भएको छ, र त्यस्ता केही लाभप्रद कुरा निस्किए भने भैहाल्यो नत्र हाम्रा मानिसहरु फेरि उठ्ने भएका छन् । निश्चय नै जवाहरलालजीको मृत्युले हिन्दूस्तानमा आधारित हाम्रो संगठनलाई ठूलो धक्का लाग्यो होला।”

“हाम्रो कठिनाई यसले बढ्न गएको छ । उनको केही मद्दत नभए पनि एउटा आधार मान्ने गरेका थियौं हामी उनलाई । यसप्रकारका दुश्चिन्ताका कुराहरु मनमा आइरहन्छन । जीवन खल्लो भएको जस्तो हुन्छ । सारा दृश्य– आँखाका अगाडिका सारा दृश्यबाट केही कुरो हराएको जस्तो छ । कताकता खालीखाली भएको जस्तो ।”

“ठूलो सम्मानका साथ आज ४… बजे अपरान्हमा उनको दाहसंस्कार गरे – दागबत्ती उनका नाति सञ्जयले दिए । विदेशबाट धेरै राजकीय प्रतिनिधिहरु आए सम्मान प्रदर्शनार्थ यस अवसरमा तर के नेहहरुलाइ देख्न पाइन्छ अब? उनको सुसंस्कृत चेहरा, उनको मर्यादायुक्त आचरण, उनको मधुरो स्वर, जसमा पूर्वीय र पश्चिमी सभ्यताको सम्मिश्रण ध्वनित हुन्थ्यो, उनको करुणामय दृष्टि – सारा लोप भए, उनका कलकलाउँदा हातगोडा सहित ।”

“हजारौं बालबालिका रोए रे– आज उनको शब देखेर सडकमा । आश्चर्य छ, तीन पिँढीलाई एकसाथ मोहित गर्ने जादु थियो उनको । मैले एकदिन उनलाई यसको रहस्य सोधेको थिएँ– जवाहरलालजी, क्या है आप में कि एकसाथ तीन पिँढीयों को आप प्रभावित कर रहें – हमारे पिताकी पिँढी हमारी पिँढी और हमारे लडकेकी पिँढी ।”

“उनले भने – मैं बहुत खूशकिस्मत हूँ, विश्वेश्वर । और मुझे लड्के बडे पसन्द हैं ।”

“नेहरु विश्ववन्द्य भएर चितामा चढे । उनको मरणले लाखौं–लाख आँखामा आँसु ल्यायो । उनको शवको यात्राले इतिहासका महत्तम चक्रवर्तीहरुको शवयात्रालाई उपेक्षा गरेको थियो होला । नेहरु धन्य–धन्य भएर गए । व्यक्तिगत जीवनमा त्योभन्दा बढी के चाहना हुनसक्छ?” (मे ३१, २०६४)

“… नेहरुको मृत्युले त मलाई लाग्यो– अब हाम्रो के हुने? अहिले त एकदम अन्धकार लागिरहेको छ । भविष्यको गर्भमा कुन्नि के कुरा लुकेको छ – असल या अहिलेको भन्दा पनि खराब ? सहनशीलता र धैर्यको सीमामा पुगिसकें जस्तो हुन्छ मलाई । डर हुन्छ कहिं म भाँचिन त भाँचिन्न । भविष्यका प्रति निराशा भएपछि मानिस अत्यन्त कमजोर हुँदो रहेछ । कम्युनिष्ट रुसमा राजनीतिक बन्दीहरुको नैतिक पतनको शायद यही कारण होला– कि उनीहरुलाई भविष्यका प्रति कुनै विश्वास रहेन । जारको जमानामा भविष्यका प्रति आशावान् थिए उनीहरु, त्यसो हुनाले यातना सहन समर्थ भए, तर तिनीहरु नै स्टालिनको जेलमा पर्दा एकदम परास्त भाएर गए – टुटेर गए, भाँच्चिए । भविष्यका प्रति विश्वास बडो ठूलो नैतिक शक्ति रहेछ, जसले वर्तमानको कष्टलाई सह्य बनाउन सक्छ । मलाई डर यसै कुराले छ कि कहिं म भविष्यका प्रति एकदम आस्थाहीन नहोऊँ । भविष्य मेरो मात्र होइन– मेरा सन्तानहरुको पनि छ र आफ्नो भविष्य एकदम अन्धकार भएपनि मैले यस्तो कुनै काम गर्नु हुँदैन जसले मेरा सन्तानहरुको भविष्य बिग्रियोस, या उनीहरुको इज्जतमा केही धक्का लागोस् । यदि मबाट अहिले कमजोरीको काम हुन गयो भने म त बिग्रें बिग्रेँ, मैले उनीहरुलाई छोडेर जाने उत्तराधिकारको सम्पत्ति– इज्जत र मर्यादालाई पनि नष्ट गरेर जानेछु । तसर्थ, जे भएपपनि, मृत्युलाई अँगालेर पनि मैले नैतिकतालाई छाड्नुहुन्न, मैले आफूलाई भाँचिन दिनुहुन्न ।” (२९ / ०५ / १९६४)

बिरामी हुँदा बीपीले शैलजा उपाध्यायको उपस्थितिमा कानुनविद गणेशराज शर्मा लाइ भन्नुभयो: “‘मैले नेपाली कांग्रेसको इतिहास लेख्नु धेरै आवश्यक थियो । अब सक्तिनँ र शैलजाले त्यो गर्छे । उसले मेरा कुराहरु बुझेकी छु । म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सृजना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरुलाई बंग्याएर ईतिहासको गलत व्याख्या गरिने छ । नेपाली कांग्रेसमा मैले लिएको अडान र मेरो दृष्टिकोणलाई गौण बनाइने छ । मैले नेपाली काँग्रेसमा सदैव संैद्धान्तिक र विषयगत अडानहरु लिएको छु । राष्ट्रियताको विषयमा आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा मेरा अडानका निरन्तता छन् । हिन्दूस्तानको बारेमा, राजाको बारेमा र संसारसँगको सम्पर्कको बारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारुहरु मैले सधैं उल्लेख गर्ने गरेको छु ।” (१६ पुष, २०५४)

शर्माको विचारमा “बीपीको ख्याति समाजवादीको रुपमा रह्यो । उहाँले जेलमा समाजवाद सम्बन्धी केही लेख्नुभएको थियो भन्नुहुन्थ्यो । यस पञ्जीमा उहाँले समाजवादको कुनै परम्परागत र रुढीवादी सिद्धान्तको कुरा गर्नुभएको छैन । दरिद्रताको निदान र त्यसको उपचारको प्रसंगमा उहाँले समाजवाद उल्लेख गर्दै भन्नुभएको छ।” (१६ पुष, २०५४)

जेल जर्नलमा बीपीले साउल रोजले सम्पादन गरेको डगलस जे को सोसियालिज्म इन न्यु सोसाइटी तथा स्ट्रेचिको थ्योरी एण्ड प्राक्टिस अफ सोसियलिस्म को अध्ययन गरेको उल्लेखित छ ।

“आजकलको मानवजीवन जुनसुकै दृष्टिबाट पनि दरिद्र छ । यसलाई मानेपछि मूल समस्या हुन आउँछ जीवनको समृद्धीकरण । गत महायुद्धभन्दा पहिले बुद्धिजीवीहरुका लागि समाजवाद जीवनको समृद्धीकरणको मुख्य साँचो थियो । उनीहरुको विचारमा जीवनको सबै क्षेत्रीय दरिद्रताको कारण समाजको गठनको अविवेकपूर्ण आधार हो–समाजवादको आधारमा समाजको पुनर्गठन भएपछि पहिलेको जीवनका यावत् समस्याहरुको स्वतः समाधान भएर जान्छ ।” (१७/९/२०१९)

“[भारतीय] कांग्रेसको समाजवाद नेहरुको शर्त – कांग्रेसले स्वीकार गरेको हो, उनको सेवा प्राप्त गर्नका खातिर तर हृदय भने समाजवादमा छैन पार्टीको । नेहरुले पनि आफ्नो समाजवादलाई पन्यालो पार्नु परेको थियो पार्टीलाई त्यो कुरो स्वीकार्य बनाउनका खातिर । नेहरुले गर्दा कांग्रेसले जो शायद पूर्ण रुपले राष्ट्रिय हिताहितको मात्र ख्याल राखेर आफ्नो शुद्ध राष्ट्रिय नीति बनाउने थियो, त्यसो गर्न सकेन । कांग्रेसले गर्दा नेहरु पनि त्रिशकुं भएर रहे । यस्ते स्थितिले गर्दा जुन नेतृत्व पार्टी र त्यसको नेताले राष्ट्रलाई दिनुपथ्र्यो त्यो दिन सकेनन् । हिन्दूस्तानको ‘कनटेम्पोररी’ दुर्भाग्य त्यहि हो ।” (२३/१०/१९६४)

“दिउँसो दिवानलाई बेकनको दर्शन र समाजवाद पढाएँ ।” (नोभेम्बर २९, १९६३)

महिलाहरुको जेलबाट गौरी राणाको चिठी आएको प्रसंग बीपीले उल्लेख गरेका छन् । “हुन त साधारण पत्र छ; तर त्यसलाई पढ्दा मलाई गौरी प्रतिको ठूलो स्नेहको भावना आउँछ । मेरो कुरामा लागेर धेरै विद्यार्थी, युवक र युवतिहरुले समाजवादका नाउँमा आफूलाई होमे । गौरीसँग मेरो धेरैचोटी समाजवादलाई लिएर छलफल भएको थियो । शैलजाकी साथी गौरी । गौरी कम शब्दको लड्की थिइन्; अहिलेको क्रान्तिकारी स्थितिमा उनी यतापट्टि तानिएलिन् भन्ने लागेको थिएन, तर जेलमा १ वर्षभन्दा बढी काटिसकेकी छन् । जब उनीहरुलाई सम्झिन्छु मलाई उत्साह आउँछ, र जीवनका तुच्छता मबाट टाढा हुन्छन् । यदि मैले नेपालका लागि केही गर्न सके भने म गौरी र त्यस्ता अनेकानेक व्यक्तिहरुका प्रति आफ्नो कर्तव्य पूरा गरेको ठान्नेछु ।” (मार्च ०९, १९६२)

बीपीको भनाइमा “लुमुम्बाको हत्या बन्दी अवस्थामा निर्ममताको पराकाष्ठा हो।” पत्रपत्रिकामा पढेका आधारमा उनले बदलाको भावनाले प्रेरित भएर यो हत्या–काण्ड गरिएको उल्लेख गरेका छन ।

लुमुम्बाको हत्याले बीपीलाई उदास बनाएको देखिन्छ। बन्दि अवस्थामा रहेका सबैको मनमा यसले ठूलो चोट पारेको र एककिसिमको व्यक्तिगत चोट जस्तो सबैलाई अनुभव भएको बीपीले उल्लेख गरेका छन्। कति सम्म व्यक्तिगत भने मानौं उनका साथीमध्ये नै एउटाको हत्या भएको होस् । “हामी पनि कैदी भएकोले कंगोको कैदी प्रधानमन्त्री लुमुम्बाप्रति एउटा निकतमको भावना जागृत भएको छ।”

हत्याको जघन्यतालाइ स्पष्ट गर्दै बिपी लेख्दछन: “मलाई व्यक्तिगत रुपले पनि हत्या अत्यन्त जघन्य कुरो जस्तो लाग्छ । लडाईंको मैदानमा या कुनै क्षणिक आवेशमा जोशाजोशको परिणामास्वरुप कसैको मृत्यु हुन्छ, अथवा कुनै आदर्शका लागि जानाजानी कसैले मृत्युलाई अंगीकार गर्छ भने त्यस्तो अकाल मृत्युले त झन् जीवनलाई बढी समृद्धशाली पनि तुल्याउँछ । त्यसमा हिंसा रहँदैन, केवल बलिदान रहन्छ । मनुष्य जीवन त्यस्तो बलिदानले सार्थक हुन्छ।”

“लुमुम्बाको मृत्यु– यो हत्या केवल हिंसा–भावनाको पराकाष्ठा हो । यो हत्या निरर्थक मात्र नभएर यसले जीवनलाई अकिञ्चन बनाउँछ । आजको मानव जीवन मानौ विष–वाटिकामा हुर्किने प्रयत्न गरिरहेको छ । लुमुम्बाको हत्याले मानवताले फेर्ने वायुलाई दूषित पार्न यो विष वाटिकामा अर्को विषवृक्ष रोपियो । यो अकल्याण छ मानव जातिका लागि । म उसको पत्निलाई सम्झिन्छु । उसलाई मैले देख्या न ज्यान्या; तर उसको रोएको अनुहार, राष्ट्रसंघका प्रतिनिधि दयालसँग छ–सात माइल पैदल हिँडेर अस्तव्यस्त क्लान्त भएको शरीर, मानवताको अहिलेको वर्तमान साकार मूर्ति जस्तो लाग्छ । मलाई सबभन्दा ठूलो ममता बालक र स्त्रीका प्रति छ । लुमुम्बाकी पत्नीले यतिका लागि मात्र गुहार मागेकी छ, पतिको शव मैले पाऊँ।”

“हामीहरु थुनिएदेखि धेरै राजनीतिज्ञहरुको हत्या भयो । अस्तिको रात दक्षिण भियतनामका राष्ट्रपति जियम र उनका भाइको हत्या भयो सैनिक विद्रोह (‘कू’)मा; २ वर्ष पहिले लुबुम्वा कंगोमा मारिए; हेमरशोल्ड पनि शायद दुर्घटनाका शिकार भएका होइनन्। सेवोटाज [अंतर्ध्वंस]का शिकार भएका हुन्; इराकको तानाशाह कासिम मारियो; तानाशाह ट्रोहिलो मारियो; र लाग्छ जुनबेला हामीहरु समातियौं त्यसबेला कुनै बहाना पाएको भए हामीलाई पनि मारिदिन्थे र पकडिएको केही दिनसम्म हमीलाई मार्लान् भन्ने मलाई आशकां लागिरहेको थियो । राजनीतिक स्थान हत्यानीतिले लिएको छ । तानाशाहीको विरुद्ध हत्यानीति त शायद केही हदसम्म समर्थनीय हुनसक्छ किनभने तानाशाही व्यवस्थाको ठूलो आधार तानाशाह हुन्छ; त्यो दृश्यबाट हटाइएको खण्डमा सुधारको सम्भावना रहन्छ, तर प्रजातन्त्रमा हत्यानीति शुद्ध पागलपन हो र निराशाको अभिव्यक्ति ।”

“प्रजातन्त्रमा राजनीतिक हत्या सजिलो हुन्छ, तानाशाहीमा – यद्यपि तानाशाहले आफ्नो उसको हत्याका लागि धेरै मसाला स्वयम् जोरेको हुन्छ आफ्नो अत्याचार, दमन र व्यक्तिगत शासनको उसमाथिको व्यक्तिगत जिम्मेदारीले गर्दा, त्यो गाहारो हुन्छ । अर्वाचीन कालमा स्टालिन, मुसोलिनी, हिटलर, फ्रान्को प्रभृति तानाशाहले जति उनीहरुको आफ्नो हत्याको लागि जनतालाई कारण दिए होलान् त्यति शायद कुनै व्यक्तिले इतिहासमा दिएको थिएन होला, तर तिनीहरुको कसैले हत्या गर्न सकेन, यद्यपि केही प्रयत्न भएपनि विशेष गरी हिटलरलाई सिध्याउने, तर केनेडी मारिन्छ । यस्तो अयुक्तिकर स्थितिका कारण धेरै छन्–

१) प्रजातन्त्रमा कानुनको राज्य भएकोले हत्यारालाई कानुनी अधिकार प्राप्त छ जसबाट उसलाइ फुत्किने सम्भावना हुन्छ ।

२) केवल हत्यारा मात्र हत्याको जवाफदेही हुन्छ प्रजातन्त्रमा, न कि उसका परिवार या मित्रवर्गहरु पनि जस्तो कि तानाशाहीमा हुन्छ ।

३) प्रजातन्त्रमा चुनिएका शासकको अत्याधिक सुरक्षा राम्रो कुरो मानिँदैन । अत्याधिक सुरक्षाको अर्थ हन्छ त्यो व्यक्ति जनप्रिय छैन ।

४) र मुख्य कारण यो हो कि प्रजातन्त्रमा व्यक्तिगत (फ़नटिसिज्म) उग्रवाद सम्भव हुन्छ यद्यपि त्यो प्रणाली उग्रवादमा आधारित हुँदैन । व्यक्तिगत स्वतन्त्रताले व्यक्तिगत पागलपनको व्यवहारको स्वतन्त्रतालाई पनि प्रश्रय दिन्छ । तानाशाही प्रणाली उग्रवादमा आधारित हुन्छ, शासकहरुको लागि उग्र हुने अधिकार रहन्छ, तर व्यक्तिगत उग्रवादको टुसो पनि त्यसमा उम्रिन पाउँदैन । उग्रवादको एकहट्टी– एकाधिकार– शासकले लिन्छ, जनतालाई (कन्फ़र्मिटि) एकरुपताको जाँतोमा पिनेर धूलो पारेको हुन्छ, जनता सबै एकनासको धूलोमा परिणत हुन्छन् ।

५) अर्को महत्वपूर्ण कारण यो हो कि प्रजातन्त्रको मूल्यहरुमा एउटा महत्वपूर्ण मूल्य यो छ कि विरोधीको संहार होइन– त्यसको एससिमिलेसन [गरिन्छ] त्यसो हुनाले त्यसको विरोधको रुप हत्याले लिँदैन । तानाशाहका विरोधी प्रजातन्त्रवादी भएकोले उनीहरुलाई यसको लाभ प्राप्त हुन्छ र प्रजातन्त्रवादीहरुलाई सीमाबन्धन । प्रजातन्त्रका विरोधीलाई आफ्नो विरोधको शास्त्रागारमा जुनसुकै हतियार पनि उपलब्ध हुन्छ, हत्या लगायत ।

“केनेडीको हत्याको खबरले हामी यहाँ सबै स्तब्ध भयौं । अमेरिकामा यसप्रकारको कारवाही हुन सक्छ – राजनीतिक विरोधले यतिसम्म सीमोल्लघंन गर्न सक्छ कि राष्ट्रपतिको हत्या होस् – भन्ने कल्पना थिएन मलाई । ठीक १०० वर्षपछि (लिङ्कन १८६५ मा मारिएका थिए) अर्को अमेरिकन राष्ट्रपति मारिए र दुवै उदारवादी विचारधाराका समर्थक थिए ।’

“के उदारवादको अमेरिकन जीवनसँग सहानुभूतिपूर्ण सम्बन्ध छैन? कि या अनुदारवादी यतिसम्म निराश हुन्छन् कि उग्रमार्ग (व्यक्तिगत हत्या) अपनाउने बाहेक उनीहरुसँग अरु केही चारा रहँदैन? अमेरिकन जीवनको उदारवादसँगको सामञ्जस्यले गर्दा केनेडी मलाई बडो मन पर्थे र आजकलको दुनियाँमा चाहिने नेतामा हुनपर्ने गुण उनमा थियो – दृढताका साथसाथ प्रगतिशीलता । केवल दृढता कठोरतामा परिणत हुन्छ, र अनुदार राजनीतिमा – तर केवल प्रगतिशीलता कम्युनिष्ट तानाशाहीको जालमा पर्ने आन्तरिक कमजोरी राख्छ । प्रजातान्त्रिक प्रणालीका लागि केनेडीबाट ठूलो आशा गरिन्थ्यो । के यो हत्याले अमेरिकन राजनीतिमा अनुदारवादी विचारधाराले गोल्डवाटर जसका अहिले प्रतीक छन् रिपब्लिक पार्टीमा, प्रोत्साहन त पाउँदैन? या यसको परिणाम उदारवादमा झन् बढी शक्तिवृद्धि त हुँदैन? अविकसित मुलुकहरुलाई मद्दत गर्ने सिद्धान्तमा के प्रभाव? अन्तर्राष्ट्रिय राजनीतिमा के हुने हो? रुससँगको सम्बन्धको रुप कस्तो हुनेहो? यी सब प्रश्नहरु मेरा मनमा उठ्छन्?”

“हाम्रो मुलुकमा पनि कस्तो हुने हो? यी सब प्रश्नहरु मेरा मनमा उठ्छन्? हाम्रो मुलुकमा पनि कस्तो असर पर्छ? हाम्रा लागि के हुने हो? केनेडीको हत्याले निश्चय नै विश्वव्यापी असर पार्छ ।’

“जेकेलिन केनेडीका लागि हार्दिक संवेदनाको भाव ममा जागृत हुन्छ । मलाई मनपर्ने नारीरुप (फेमिनिन टाइप) उनी हुन् र उनीहरुको परिवारिक सम्बन्ध बडो स्नेहमय थियो जस्तो लाग्छ । आईरिस परिवारको आदि गाुण (फ्यामिली कोहेजन) उनमा पाइन्थ्यो । आज त्यो परिवारमा चिल्लीबिल्ली होला ।”

“के भएको हो ? वार्धक्यको लक्षण पनि हुन सक्छ, तर यसप्रकारको कुण्ठितता बुद्धिमा यति छिटै आउनु नपर्ने, र वार्धक्य पनि अहिले ४९ वर्षको उमेरमै ममा आइसक्यो भन्न सक्तिनँ, कमसेकम बुद्धि भ्रष्ट पार्ने उमेर त भएको छैन; उमेर छिप्पिएको मात्रै हो, जसमा बेशी भन्दा बेशी नयाँ विचार गर्ने प्रवृत्ति रहँदैन ।”

“वृत्तिको त्यो पक्ष जो सदा साहसिकताका लागि बुद्धिको क्षेत्रमा होस् या भौतिक क्षेत्रमा होस् या कुनै व्यावहारिक क्षेत्रमा प्रस्तुत रहन्छ त्यो सायद वार्धक्यमा क्रमशः शिथिल हुँदै जान्छ र मान्छे बुढा्े भएपछि नयाँ कुनै कुरोपनि साधारणतः यस्तो हुन्छ कि बुढो व्यक्ति परम्परावादी हुन्छ, वृत्तिको यो अभिव्यक्ति अवश्य पनि बुद्धिको कुण्ठितताको प्रमाण होइन । कि हो?”

“बुद्धिको लचिलोपनको अभाव नै त वार्धक्यको परम्परा – अनुरागको वृत्ति त होइन? कि बुद्धि कुण्ठितता, अक्षेण्ण, रहेर पनि मस्तिष्कको तेजको कमी नभएर पनि, जीवनको व्यवहारमा आइपरेको अनुभवले प्राणीलाई साहसिकताको प्रति विमुख पार्छ? एउटा कुरा शायद हुन्छ; जति जति उमेर बढ्दै जान्छ अनुभव – यावत् किसिमको, ऐन्द्रिक होस् चाहे बौद्धिक,– को पुनरावृत्ति (रेस्पेक्टिभनेस) ले त्यसमा नूतनताको ह्रास हुँदै जान्छ र ती सबै ‘काटेगोराइज्ड’ (श्रेणीबद्ध, श्रेणीगत) हुन्छन् ।”

“अनुभवहरुका विभिन्न खानामा पछिपछि प्राप्त हुने अनुभव थन्क्याइँदै जान्छन् । म छिप्पिनु भनेको अनुभव प्राप्त गर्नु– अनुभव प्राप्त गर्नु भनेको घटनाका प्रति कौतुकमय नहुनु हो भन्ने ठान्छु । वृद्धावस्थाको एक लक्षण कौतुकहीन हुनु हो– एकप्रकारको उदासिनताबाट घेरिनु । बालकहरुलाई सबै वस्तु कौतुकमय लाग्छन्; युवकहरुलाई पनि प्रायः त्यस्तै अनुभव हुन्छ विशेष गरेर भावनाको क्षेत्रमा या बुद्धिको क्षेत्रमा त्यसो हुनाले तिनीहरु जिज्ञासु हुन्छन्, नयाँ अनुभवको आकर्षणले तिनीहरुलाई साहसिकताका प्रति उन्मुख पार्छ । शुद्ध मस्तिष्कको तेजमा कुण्ठितताभन्दा बाहिरका यी लक्षण हुन्, तर के बुद्धि अप्रभावित रहन्छ– युवक र वृद्धहरुको विभिन्न प्रवृत्तिबाट? के अनुभवको नूतनबोधको ह्रासले बुद्धिलाई पनि कुनै न कुनै रुपमा या केही न केही मात्रामा कुण्ठित पार्दैन? कौतुकमयताले के बुद्धिलाई सजग पारी राख्तैन? के उदासीनताले बुद्धिलाई निस्तेज पार्दैन?”

“यस सम्बन्धमा मस्तिष्क शास्त्रीहरु (न्युरोलोजिस्ट, न्युरोफ़िजिसिस्ट वा न्युरोफ़िजिओलोजिस्ट) को मत छ कि बुद्धिको विकास र त्यसको उन्नत स्थितिमा स्थिर रहनका लागि ऐन्द्रिक अनुभवको बडो आवश्यकता पर्छ । (हार्वर्ड युनिभर्सिटी प्रेस ले प्रकाशन गरेको हेबको ‘सेंसरी डिप्राइभेसंस’ हेर्नुहोस) पञ्च इन्द्रियको पूर्ण प्रयोग हुनुपर्छ बुद्धिको पूर्ण विकासका लागि । वंशगत (हेरिडिटरि) प्राप्ति मनुष्यको सम्भावनामय (पोटेन्सियल) मात्र हुन्छ; त्यसको सम्भावनाको वास्तविकता (एक्टुअलाइजेसन) वर्तमानीकरण या यथार्थकरण ऐन्द्रिक अनुभवले मात्र सम्भव हुन्छ– सम्भाव्यताको उत्तेजक इन्द्रियानुभव हुन् ।”

“उत्तेजनाको अभावमा सम्भाव्यता बीउको रुपमा मात्र रहन्छ – वृक्षको रुपमा विकसित हुँदैन । बुद्धिको विकास मात्र होइन कि त्यसको क्षमताको कुनै एउटा उन्नतस्तर या त्यसलाई राख्नको लागि ऐन्द्रिक अनुभवको सदासर्वदा आवश्यकता परिरहन्छ । यदि इन्द्रियहरुले त्वचाले छुने अनुभव, आँखाले हेर्ने अनुभव इत्यादि– पाइरहेन र त्यो पनि विभिन्नतामयका साथ भने बुद्धिले प्राप्त गरेको उन्नत स्तरबाट त्यो झर्न थाल्छ ।’

“जेलमा खास गरेर जुन किसिमबाट हामीहरु ‘हर्मिटिकल्लि सिल्ड’ राखिएका छौं – त्यसा ऐन्द्रिक (डिप्राइवेसन्) वञ्चितता यथेष्ट परिमाणमा भएको छ । सानो घेराभित्र ६ जनाको सानो समुदायलाई ३ वर्षदेखि राखेको छ । इन्द्रियहरुको विविधताको बोध गर्न पाएका छैनन् । त्यति परिणाममा जति कि तिनीहरुलाई चाहिन्छ पूर्ण रुपले प्रयुक्त हुन् । मस्तिष्क त्यसो हुनाले अवनत हुँदैन भने आश्चर्य के?

“मेरो स्वास्थ्य पनि एकदम खराब भइरहेको छ । त्यसको पनि प्रभाव निश्चय नै पर्दो हो मस्तिष्कमाथि । यी सब कारणहरुले गर्दा मेरो बुद्धि शिथिल भएको होला । स्वास्थ्यलाभ गरेपछि र पुनः ऐन्द्कि वञ्चितताबाट मुक्त भएर स्वाभाविक परिस्थितिमा प्राप्त भएँ भने, आशा छ, इन्द्रियले अनुभवको पूर्ण मौका पाउनेछन् र पुनः पुरानो बुद्धिलाई पाउनेछु । उमेरको छिप्पिनु रोक्न सकिँदैन; त्यसबाट हुने क्षति बुद्धिलाई त होला नै, तर त्यो क्षति बडो सूक्ष्म हुन्छ क्यार– र कमसेकम व्यावहारिक जीवनमा क्षणक्षणमा त्यसको अनुभव हुने छैन । जस्तो कि आजकल मलाई भइरहेको छ कि मेरो बुद्धि कुण्ठित हुँदै छ ।”

 ” … वर्तमान सरकार व्यक्तिगत शासन भएकोले त्यस व्यक्तिमाथि पर्ने दबाब अहिले छैन । हाम्रो आन्दोलन स्थगित छ – स्थगित मात्र होइन कि लक्षणले परास्त छ राजालाई अब निर्धक्क भएको होला । त्यस्तो अवस्थामा उनले हाम्राप्रति राम्रा व्यवहार गर्ने खण्ड नै छैन ।”

“यदि शासन व्यक्तिगत नभएको भए शायद यस्तो हुने थिएन । राजालाई ईख पनि होला र त्यसको बदला लिने मौका पाएको जस्तो उनलाई लाग्दो पनि हो । मेरा सामुन्ने प्रश्न आउँछ, जस्तो कि हिजो आएको थियो । बडो तीव्रतासँग जब मलाई अधिकारीहरुको व्यवहारले आत्मसम्मानमा चोट लागेको अनुभव भयो, कि मौका पाएको बखतमा कहिले पनि के बदलाको भावनाबाट प्रेरित भएर कार्य गर्ने? बदलाको भावनामा के कल्याणकारी राजनीतिक व्यवस्था जसमा विरोधीको पनि स्थान सुरक्षित रहन्छ, को जग बसाल्न सकिन्छ? बदला चुकाउने प्रवृत्तिले के त्यस्तो कुचक (भिसियास सर्कल) लाई निर्मित गर्दैन जसबाट त्राण पाउन पछि गाहारो हुन्छ? कुचक्रलाई समाप्त पार्न कुचक्रको चक्करमा आफूलाई पर्न दिन हुँदैन, तर साथै प्रश्न उठ्छ– के इखबिना राजनीतिमा या अरु कुनै व्यावहारिक क्षेत्रमा सफलताका लागि चाहिने ‘प्यासन’ (उत्तेजना, भावोद्रेक) मानिसमा आउन सक्छ? भावना र इखलाई त्यागेपछि जीवनमा रहन्छ के जसले व्यक्तिलाई अगाडि बढ्न अग्रसर गराउँछ?”

“निरपेक्षताको माध्यमबाट शायद व्यावहारिक जीवन चल्न सकदैन, या चलेपनि बडो मद्धिम गतिले चल्छ । म हमेशा यस्तै विचारको द्वन्द्वमा परिरहन्छु, र म जब प्रभावयुक्त हुन सक्तिनँ त्यस समयमा यहि द्विविधाले पीडित भएको हुन्छु । दण्ड र क्षमाका बीच द्वन्द्व ।’

“बडो सजिलोसँग मानिस भन्दिन्छन् कि दोषीलाई दण्ड दिनुपर्छ । यो यस्तो उपदेश हो जसलाई पर्दैन त्यस्ताले दिने किसिमको यो उपदेश हो । यदि दोषीलाई दण्ड दिनु नै पर्ने हो भने, क्षमा कसलाई गर्ने हो, दोषी नभइकन कोही क्षमा पाउने अधिकारी हुँदैन । निर्दोषलाई केको क्षमा?”

“यी सब नैतिक प्रश्नहरुको अतिरिक्त राजनीतिक दृष्टिबाट व्यावहारिक प्रश्न पनि छ यस समस्यासँग संलग्न– कि प्रजातन्त्रका मौलिक मूल्य र आस्थाहरु एकतन्त्रका भन्दा सर्वथा भिन्न छन् । एकतन्त्रमा विरोधीको नष्ट–सम्पूर्ण सम्हार– अपेक्षित हुन्छ; विरोधी तत्वसँग त्यसको सहअस्तित्व सम्भव छैन, र एकतन्त्रमा जीवनको दर्शन उग्रवाद (एक्स्ट्रिमिजम) पट्टि ढल्केको हुन्छ – चरमवाद, उग्रवाद, परमवाद, अतिवाद । त्यसलाई जीवनलाई विभिन्नताया वैचित्र्यको रुपमा देखने प्रवत्ति हुन्न; एकरुपतामा देख्छ त्यसले जीवनलाई, र सरल सूत्रमा जीवनदर्शनलाई बाँध्ने प्रयास हुन्छ । सन्धि गर्दैन त्यसले– हार्छ या हराउँछ; सल्लाह गर्दैन त्यसले आदेश मात्र दिन्छ, या आदेश पालन गर्छ; सम्झौता त्यसमा छैन म या तँ मात्र त्यसमा छ; सेतो र कालोमा यावतवर्णलाई वर्गीकृत गर्छ । प्रजातन्त्र ठीक त्यसको विपरीत छ । म यदि प्रजातन्त्रवादी छु भने मेरो सबभन्दा पहिला विश्वास हुन्छ जीवनको अनेकतामय सत्यमा । सत्यको विभिन्न पक्ष हुन्छ भन्ने व्यक्तिमात्र प्रजातन्त्रको साँचो अनुगामी हुन्छ, र यदि विभिन्न पक्षीय दृष्टिकोण भएको जीवन दर्शनमा त्यसको आस्था छ भने विरोधीको पक्षमा पनि सत्य होला भन्ने उसको विश्वास हुन्छ । विरोधीले पनि त्यसको समाजमा स्थान पाउँछ । छलफल, सल्लाह मसविरा, बादविवादबाट सम्झौताको निष्कर्षमा त्यो पुग्छ । त्यसको जीवनदर्शन उदारवादतिर ढल्केको हुन्छ । यदि हामीले प्रजातन्त्र ल्याउने हो देशम भने बदलाको भावनालाई त चटक्क छाडिदिनुपर्छ । उदाहरणका लागि – राजालाई यदि परास्त गर्ने स्थितिमा आइपुगेका छैनौं भने बदला लिने कुरै उठ्तैन, र यदि परास्त गरेर अधिकारमा आइएको छ– जबमात्र बदला लिने स्थितिमा आफू भइन्छ– बदलाको भावना निरर्थक हुन्छ, एउटा छुच्चो तुच्छपन मात्रै ।”

“हारेको सँग के को बदला? गणेशमानजीलाई म यहि कुरा सम्झाउँछु कि प्रजातन्त्रमा बदलाको भावनाको स्थान छैन । प्रजातन्त्रवादी बदलाको भावनाको शिकार हुन्छ, तर मौका उपस्थित भएको अवस्थामा पनि त्यो बदलाको भावनाले प्रेरित हुँदैन । गणेशमानजी यस तर्कको सूक्ष्मतालाई ग्रहण गर्न सक्नुहुन्न या चाहनुहुन्न । यसलाई मान्नुृहुन्न, तर मेरो मौलिक प्रश्न त त्यसै अनुत्तरित नै रह्यो– कि इख नभै ‘प्यासन’ को अभावमा प्रेरणा कहाँबाट पाउने काम गर्नका लागि?”

“यत्रो लामो अबधिसम्म थुनिएर बस्नुपरेकोले स्वभावतः मनमा छुट्ने इक्षा निरन्तर जागिरहन्छ । मनुष्यको स्वाभाविक वृत्ति हो – यो कि बन्दी अवस्थाबाट मुक्ति उसको मनमा उठ्ने पहिलो खाँचो । यसरी ३ वर्षसम्म थुनिएर बस्नुपर्दा पहिलो प्रतिक्रिया हुन्छ– मुक्तिको ।”

“जसरी पनि छुट्न पाए हन्थ्यो जस्तो लाग्छ । छुटकारा बाहेक अरु कुरा नगण्यजस्ता भएका छन्, तर मानव स्वभावको यो साधारण प्रतिक्रियाबाट उठेर यदि मैले सोच्ने हो भने कारागारबाट मुक्तिले मेरो कुनै समस्याको पनि समाधान गर्दैन । म राजनीतिक प्राणी हुँ । मेरो जीवन पूर्णरुपले राजनीतिक जीवन भइसकेको छ । म अर्को पेशामा यो उमेरमा जान सक्तिनँ ।”

‘यदि छुटेर पनि राजनीतिक जीवनमा प्रवेश गर्न पाइनँ भने त्यस्तो राजनीतिक जीवन जो मलाई रुच्दछ न कि त्यस्तो जसमा म अर्काको खटनमा सरकारिया कर्मचारी या भृत्यको रुपमा मैले रहनुपर्ने छ– मेरो के गति हुन्छ? मेरो कुनै रोजगार छैन जसमा म छुट्नेबित्तिकै बिस्तारै पस्न सकूँ, न खेतीबारी नै छ मैले गर्ने गरेको, न साहित्यिक या कला सम्बन्धित कुनै पेशा नै छ मेरो जसमा खुरुक्क लाग्न सकूँ । गल्लीगल्ली निरुद्देश्य हल्लिने शिवाय मेरो कुनै कानम रहनेछैन । मैले आर्जन गरेको प्रतिष्ठा धूलोमा मिसिनेछ । जस्तो स्थिति म बाहिर देख्दछु, त्यसमा कुनै किसिमको सक्रिय राजनीतिक जीवन सम्भव छैन ।’

“साथाीहरुलाई म के के गर्न सक्थें बाहिर भए भन्ने परेको होला; त्यो मप्रतिको विश्वास पनि निराशामा परिणत गराउनेबाहेक मेरो मुक्तिले अरु केही गर्नेछैन । अहिले बाहिरको राजनीति हुकुमी खटनमा चल्ने खालको भएको छ । त्यसमा जसले आफूलाई ढाल्न सक्तैन त्यसले या त जेलको अपेक्षा गरिरहेको छ या निर्देशनका लागि तत्पर छ या राजनीतिलाई नै छाडेन् तरखर गरिरहेको छ । हुकुमी शासनको विरुद्धमा ठूलो शक्ति सञ्चय गर्नका लागि स्थिति उपयुक्त छैन जस्तो मलाई लाग्छ । यस्तो अवस्थामा कैदी भएर अनुकूल स्थितिलाई पर्खिनु श्रेयकर छ । व्यक्तिगत तथा राजनीतिक दुवै दृष्टिबाट ऐले चुप लागेर जेललाई खपेर बस्नु नै हितकार सल्लाह हुन्छ । धैर्य आजको जति अरु कुनै अवस्थामा आवश्यक परेको थिएन मेरो जीवनमा ।”

 ”दक्षिण भियतनाममा सैनिक विद्रोह भएर जियम र उनका भाइ न्हुँलाई पदच्युत गरेको खबर छ । खबरले हर्ष विस्मात् दुवै भावनाको उदय हुन्छन् ममा । हर्ष यस कुराले कि राष्ट्रपति जियम कट्टर शासक र स्वेच्छाचारी साबित भइरहेका थिए जसले प्रजातान्त्रिक देखौवा ढाँचाको शासन राखे तापनि प्रजातन्त्रका मूल कुराहरुलाई व्यक्तिगत स्वतन्त्रता र नागरिक स्वतन्त्रता (प्रेस फ्रिडम, फ्रिडम अफ असोसिएसन, फ्रिडम अफ रेस्पोन्सिबल अपोजिसन) मखौल पार्नुका साथै तिनीहरुले दमन गरेका थिए । तिनले आफ्नो पारिवारिक शासन कायम गरेका थिए । जब अमेरिकनहरु जो कि दक्षिण भियतनाममा बडो भाइटल इण्टरेस्ट राख्छन् – ले प्रजातन्त्रलाई वास्तविक रुप दिने सल्लाह दिनथाले (तानाशाही शासनले कम्यसनिष्टमाथि विजय प्राप्त गर्न सक्दैन भन्ने उनहरुको सल्लाह), जियम अमेरिका विरोधी हुनथाले । तर सार्थै विस्मात् यस कुराले हुन्छ कि सैनिक शासनले त झन् बढी ताानाशाही कायम गर्ने भयो । तातो कराहीबाट उफ्रेर आगोमा परेको जस्तो । यस विद्रोहमा स्पष्ट अमेरिकाको हात छ । रुसले यो विद्रोहलाई अमेरिकन कारवाही हो भन्नेछ । जियम पनि अमेरिकासाग रुष्ट भएर उत्तर भियतानामसँग सन्धि गर्ने सुरमा थिए क्यारे ।”

“मलाई यहाँ धेरै विचार गर्दा– घोरिएर सोच्ता पनि यस्तो लाग्दैन कि कुनै भयंकर त्रुटि हाम्रो भएको थियो पार्टी सञ्चालनमा या राजनीतिक निर्णय लिँदा या कुनै राजनीतिक कदम चाल्दा ।”

“त्यसो त ईश्वरमात्रै गल्ती नगर्ने क्षमता राखेको तत्व मानिएको छ; मानिसलाई त्यो क्षमता उपलब्ध छैन; त्यसो हुनाले गल्ती भएकै छैन भन्न हुँदैन । तर परिणामबाट निर्णय दिने हो भने– आम–चुनावले यो सिद्ध गरिदिएको थियो कि नेपाली कांग्रेसको राजनीति सफल राजनीति थियो ।”

“आम–जनताको आधारमा प्रजातान्त्रिक पद्धत्तिको राजनीतिको उद्देश्य भएको हाम्रो पार्टीलाई आम चुनावको निःशंक विजय – त्यसको सफलताको ठूलो प्रमाण थियो । पार्टीले ठूला ठूला विरोध राजाका; हिन्दुस्तानका, अरु सबै पार्टीका – को समाना गर्दा – गर्दै पनि प्रायः १० वर्षको वनबास (विल्डरनेस ) मा रहनुपर्दा पनि चुनावमा बहुमत प्राप्त गर्नु पार्टीको सञ्चालनको कुशलता (नेतृत्व) को प्रमाण होइन भने अरु के हो त ?”

‘तर आजको अनुभवबाट तीनओटा त्रुटि म देख्तछु जसमा पहिलो त्रुटि सबभन्दा ठूलो र जसलाई एक दृष्टिबाट अक्षम्य त्रुटि भन्न सकिन्छ –

१) राजनीतिमा सेनाको महत्वपट्टि पार्टी र नेतृत्वले ध्यान नदिनु । हाम्रो जस्तो देशमा विशेष गरेर सेनाको ठूलो महत्व छ– यस अर्थमा कि त्यसमा सजिलैसँग एक वा अर्को पक्षमा लगाउन सकिन्छ । हामीले सेनालाई प्रजातन्त्रको पक्षमा लगाउने प्रयत्न गरेनौं न त– यदि वर्तमान सेनालाई त्यसो गराउन सम्भव थिएन भने त्यसको खतरनाक सम्भावनाको मुकाबिला गर्ने उपायपट्टि हाम्रो ध्यान गएन । यो हाम्रो ठूलो त्रुटि हो जसले गर्दा हाम्रो सारा प्रयास र सफलता अहिले बेकाम साबित भएको छ ।’

२)वनबासको अवधिमा पार्टीको संगठनलाई झन् बढी पार्न सकिन्थ्यो यदि सरकारमा जान पाइन्छ कि भन्ने आशा छाडेर १० वर्षसम्म हामीले संगठन पट्टिमात्र ध्यान दिएको भए । संगठन खुकुलो नै रह्यो, र पार्टी त्यत्रो सुगठित यन्त्र भएन जसमा राजनीतिक, सामाजिक क्रान्तिका लागि पुरा भरोसा गर्न सकियोस् । मेरो अर्थ यो होइन कि संगठन पटक्क निर्मित भएन; भयो राम्रो संगठन भयो जसले चुनावको त्यत्रो विजय प्राप्त गर्न हामीलाई मद्दत दियो, तर अझ सुसंगठित हुन सक्थ्यो ।

३) क्याडर (पार्टीका स्थायी र कर्मठ कार्यकर्ता) को जत्रो ठूलो दल बनाउन सकिन्थ्यो त्यति बनाएनौं । २ र ३ नं.का त्रुटिहरु सामान्य त्रुटि हुन्– मुख्य त्रुटि १ नं.को हो । २ र ३ नं. मा ध्यान दिएको भए पनि १ नं.को त्रुटिलाई नसुधारेको अवस्था परिणाम अन्ततोगत्वा सदृश नै हुनेथियो । कुनै अवस्थामा पनि संगठनको मजबुती र कर्मठ कार्यकर्ताहरुको बाहुल्यले सेनाको मुकाबिला गर्न सक्तैन ।