“यसपालि उनको आमासाग भेटेपछि रामनारायण बडो ठूलो संकट (क्राइसिस) मा परें । ८ दिनजति यति विकल भए रे कि कोठाभित्र एक्लै बसेर अँध्यारोमा आँसु झारिरहे । उनैले भनेको । गीताको द्वितीय अध्यायलाई बारबार पढेर नवौं दिनमा उनले आफूलाई रोकथाम गर्न सके रे । भन्थे– गीताले अरु कसैलाई सान्त्वना प्रदान गर्यो वा गरेन तर मलाई त्यसैले यसपालि जीवन प्रदान गर्यो । मलाई लाग्यो–म बडो ठूलो मोहमा डुबेको मानिस रहेछु इत्यादि… ।”

“हिजो उनले प्रश्न गरे मलाई – हाम्रो ‘सफरिंग’ (तपस्या वा दुःख) को के उद्देश्य? उनको यस प्रश्नको लक्ष्यलाई ध्यानमा राखेर मैले भनें – (लक्ष्य स्पष्ट थियो कि हाम्रो जेलयातना निस्प्रयोजनीय छ) कि यो यातना हाम्रो आफ्नो आस्था र विश्वासको अनुसार कार्य गर्दा भोग्नुपरेको परिणाम हो । यसबाट मोचन त्यस अवस्थामा नै सम्भव छ जब कि – यदि हाम्रो सर्वथा पराजय भइसकेको भए – हामी आफ्नो विश्वासलाई छाडेर गरेका कार्यका लागि खेद गर्दै क्षमा याचक होऔं र, यदि पराजय अस्थायी मात्र हो भने वर्तमान यतनालाई विश्वासअनुरुप हम्रो कार्यरतता हो भन्नुपर्छ । त्यसो हुनाले दुःखलाई परिणाम सम्झेपछि प्रयोजनको प्रश्न उठ्दैन, किनभने परिणाम भूतकालका क्रियाहरुको वर्तमानता हो, त्यसले अतीतपट्टि लक्षित हुन्छ, प्रयोजन सोद्देश्य हुन्छ भविष्याभिमुख हुन्छ त्यो । यदि रामनारायणको प्रश्न यो हो कि हाम्रो अहिलेको जेलको कष्टले भविष्यमा कुनै लाभको आशा छैन भने किन यो कष्ट भोग्नु– यस प्रश्नलाई व्यक्तिगत (नैतिक) र राजनीतिक दृष्टिले विचार गर्नुपर्छ । नैतिक दृष्टिबाट राजाको उद्देश्य हामीलाई भाँच्नु छ माफी मगाएर ।”

“राजनीतिक कुरालाई पन्छाएर राखेपनि यदि हामी यातनालाई खप्न नसकेर माफी माग्न गयौं भने हाम्रो नैतिक भावनालाई यत्रो ठूलो आघात पर्नेछ कि जीवन पर्यन्त हामी आफैलाई धिक्कारी रहनेछौं । असम्मानको जीवनभन्दा सम्मान–युक्त मृत्यु हामीलाई मन पर्छ । हाम्रो यो यातना सम्मानको रोजाइ हो, र यदि राजनीतिक दृष्टिबाट विचार गर्ने हो भने पनि हाम्रो यो यातना निष्प्रयोजनीय छ भन्न सकिन्न, किनभने लक्ष्य प्राप्तिका लागि खेपेको यातना कहिल्यै पनि विफल भएको छैन । कमसेकम प्रेरणाको रुपमा मानिसको हृदयमा त्यो बलिरहन्छ र भावी सन्तानलाई यदि हामी आफ्नो दुःख भोगाइले केही प्रेरणाको (रिक्थ) उत्तरलव्धि (इन्हेरिटेन्स) छाड्न सक्यौं भने पनि के यातना सोद्देश्य भएन र?”

“रामनारायण अत्यन्त कमजोर भएका छन्, गीताले उति शक्ति दिएनछ क्यारे । केवल रुँदा रुँदा थाकेर शिथिल भएको अवस्थामा गीताको द्वितीय अध्यायको आकस्मिक पाठले शिथिलतालाई सान्त्वनाको भान हुन गएको थियो क्यारे उनलाई, र जब मैले उनको प्रश्नको वास्तविक लक्ष्यपट्टिउनको ध्यान आकर्षित गरेर उत्तर दिन थालें, उनले मेरो उत्तरमा उनको कमजोरी लक्षित छ भन्ने बुझेर अर्को प्रश्न गरे– आजको यातनाको अवस्थामा हामीले सोच्नुपर्छ कि यो परिणाम किन भो – के गल्ती हामीले गर्यौं इत्यादि…” मलाई लाग्यो कि यो प्रश्न उचित हो, र भनें– हामीले निश्चय नै आफ्ना पहिलेका कार्यकलापको राम्रो विश्लेषणयुक्त समीक्षा गर्नुपर्छ जसले भविष्यमा हाम्रा कार्य बढी सुपरिणामदायक सिद्ध हुन् ।”

‘मलाई यहाँ धेरै विचार गर्दा– घोरिएर सोच्ता पनि यस्तो लाग्दैन कि कुनै भयंकर त्रुटि हाम्रो भएको थियो पार्टी सञ्चालनमा या राजनीतिक निर्णय लिँदा या कुनै राजनीतिक कदम चाल्दा । त्यसो त ईश्वरमात्रै गल्ती नगर्ने क्षमता राखेको तत्व मानिएको छ; मानिसलाई त्यो क्षमता उपलब्ध छैन; त्यसो हुनाले गल्ती भएकै छैन भन्न हुँदैन । तर परिणामबाट निर्णय दिने हो भने – आम–चुनावले यो सिद्ध गरिदिएको थियो कि नेपाली कांग्रेसको राजनीति सफल राजनीति थियो । आम–जनताको आधारमा प्रजातान्त्रिक पद्धत्तिको राजनीतिको उद्देश्य भएको हाम्रो पार्टीलाई आम चुनावको निःशंक विजय– त्यसको सफलताको ठूलो प्रमाण थियो । पार्टीले ठूला ठूला विरोध राजाका; हिन्दुस्तानका, अरु सबै पार्टीका– को समाना गर्दा–गर्दै पनि प्रायः १० वर्षको वनबास (विल्डरनेस) मा रहनुपर्दा पनि चुनावमा बहुमत प्राप्त गर्नु पार्टीको सञ्चालनको कुशलता (नेतृत्व) को प्रमाण होइन भने अरु के हो त ?”

“[कालिदासको] विक्रमोर्वशीलाई सिध्याएँ । मूलग्रन्थलाई हिन्दी टीकाको सहायताले कनीकुथीकन पढ्ने गरेको थिएँ जसले भाषाको लालितयबाट म वञ्चित नहुँ भनेर । केही अंशहरु कण्ठष्थ गर्नुपर्यो जस्तो लाग्छ – विक्रमोर्वशीयममा विशेष रुपले घोक्ने लायक केही छ भनेर होइन कि, मेरो नेपाली भाषालाई सुधार्नको लागि जति सक्यो संस्कृतका श्लोक र वाक्यावलीहरु कण्ठस्थ गर्न सके उति असल भन्ठानेर ।”

“मलाई आफ्नो भाषा सुधार्न बडो इच्छा छ; तर मलाई पनि यसको डर छ कि मेरो भाषा क्लिष्टतर हुँदै नजाओस् मेरो भाषासुधारको एकसुरे प्रयासमा । मेरो भाषामा क्लिष्टताको दोष आउने लक्षण छ–अहिलेसम्म त ठीक छ, तर प्रवृत्ति क्लिष्टतापट्टि लागेको छ । यसको कारण के भने, मैले नेपाली जीवनको स्थानीयतासंग स्वाभाविक र प्राकृतिक परिचय पाउन सकिनँ । म सानै उमेरदेखि हिन्दूस्तानमा हुर्केँ, त्यसो हुनाले नेपाली भाषाको स्थानीय रंग र भाषाको सूक्ष्म भावार्थसँग अपरिचित रहें । अर्को कुरा, विदेशिनु परेकोले नेपालको सामाजिक जीवनबाट पनि अलग्ग रहेँ, साथै न हिन्दूस्तानी जीवनमा स्वाभाविक किसिमबाट प्रवेश गर्न सकें । यसले गर्दा सम्पूर्ण रुपले ‘बाहिरया’ (आउट्साइडर) भएको छु ।”

“मेरो भाषाको दोषको मूल कारण सामाजिक जीवनको अभिन्न अंग हुन नसक्नु हो । सामाजिक भावना पनि ममा त्यसकारणले उति प्रबल छैन । सामजिक प्रश्न उपर चिन्तन छ ममा, भावना छैन । बुद्धिगुणले दूषित हुन गएको छ मेरो सामाजिक चेतना । भाषामा पनि त्यहि बौद्धिक दोष छ । हृदयभन्दा मस्तिष्क–भावनाभन्दा बुद्धिले थिचेको हुन्छ मेरो भाषा । विचार, घटना, परिस्थिति या भावनाका प्रति (इन्स्टिङ्क्टिभ रियाक्सन) (सहजात आवेग साथ) मेरो भाषा प्रतिक्रियामान हुँदैन – झ्वाट्ट, फुत्त, निस्किन्न । बौद्धिक मस्तिष्की र मस्तिष्किक (प्रोसेस) प्रक्रियाद्धारा बाहिर आउनमा समय लिन थाल्छ । त्यही कारण हो, शायद, मलाई लेख्ने काम अत्यन्त कठिन तथा क्लान्तदायी हुन्छ । त्यसो हुनाले साहित्यिक दृष्टिबाट जसमा अरु कुराभन्दा भावनाको प्रधानता रहन्छ, मेरो नेपाली भाषा पूरा दोषपूर्ण छ जस्तो मलाई लाग्छ । हो – राजनीति या दर्शन या शुद्ध साहित्यिक विषयका लागि शायद मेरो भाषा अनुपयुक्त छैन – तर शुद्ध साहित्यिक विषयका लागि, हृदयसँग सम्बन्ध भएका भावनाहरुका लागि, मानव मनका कुराहरुको अभिव्यक्तिका लागि मेरा भाषा अपर्याप्त, अनुपयुक्त र रंगहिन छ । यसैलाई सुधार गर्ने मेरो आजकल प्रयास चलिरहेको छ ।”

“कालिदासको अध्ययनको पनि मुख्य उद्देश्य मेरो भाषा सुधार हो । नत्र भने कालिदासको साहित्यमा त्यत्रो ठूलो रस मैले पाउन सकेको छैन जसको स्वीकृति आलोचकहरुके लामो जुलुस, जो प्राचीनकालदेखि चलिरहेको छ, ले समर्थनको नारामा उद्घोषित हुँदै आएको छ ।”

“मलाई भय भने यस कुराले हुन्छ कि कहिं मेरो भाषा संस्कृतमय भएर झन् नेपाली जीवनको दैनिक आदानप्रदानको मर्मपण्यबाट टाढिँदै नजाओस् र त्यस प्रोसेसमा अगाडि बढ्दा–बढ्दा ममा केवल भाषाको राशि यति थुप्रिन नपुगोस् कि त्यसबाट विचार या भावनाको कनिका झिक्न पनि असम्भव हुँदैजाओस् । भाषा त्यस्तो खुँडाको धार हो जस उपर लेखकले बडो संयमका साथ चल्न सिक्नुपर्छ, भाषाले कहिं उछिन्न पुगयो भने त्यो एउटा निरर्थक ध्वनिमात्र हुन्छ । भाषा र भावलाई लेखकले आफ्नो कलमको जुवामा जोख्न सक्नुपर्छ । के म गर्न सकुँला?”

“प्रजातन्त्रको व्यवस्थामा एशिया–अफ्रिकाका मुलुकहरुमा एक–एक गरेर लोप हुँदै गएकोले, कतिपय विचारक था राजनीतिज्ञहरुका लागि प्रजातन्त्र वास्तवमा एशिया र अफ्रिकाका मुलुकहरुका लागि अनुपयुक्त व्यवस्था हो भन्ने परेको छ । द्धितीय महायुद्धपछि एशियामा र अफ्रिका महादेशहरुमा बीसौं देशहरु पश्चिमी–साम्राज्यबाट मुक्त भएर बडो प्रजातान्त्रिक आशा र भविष्यका लागि उत्साहका साथ यी राष्ट्रहरुको स्थापना भयो । यी मध्ये कतिपय देशमा राष्ट्रिय आन्दोलनले बलियो जरो पनि हालेको थियो र त्यस्ता आन्दोलनमा स्वतन्त्रताको भावनाका साथ प्रजातन्त्रको पनि भावना सन्निहित थियो ।”

“यथार्थमा स्वतन्त्रताको अर्थ – स्वराज्यको अर्थ – प्रजातन्त्र नै थियो, यदि जापानीले पश्चिमी राष्ट्रहरुका दाँजोमा पुग्दा र उनीहरुबाट समकक्षीको मर्यादाको प्रयत्न गर्दा एशियाली भावनालाई आन्तरिक सन्तोष हुन्थ्यो भने मेजेनी गेरिवाल्डीका क्रियाकलाप, फ्रान्सको राज्यक्रान्ति, ब्रिटेनको पार्लियामेन्ट, अमेरिकाको मानव अधिकारको घोषणाद्धारा राष्ट्रको स्थापना आदि पनि एशियालीहरुलाई अनुप्राणित गर्ने ऐतिहासिक घटना थिए । राष्ट्रिय आन्दोलनले प्रेरणा दिने भावनामा अस्पष्ट भएपनि प्रजातन्त्रको समानता जो कि एउटा अभिन्न पक्ष हो, गासिँएको थियो ।”

“परतन्त्र भारतमा अंग्रेजहरुका विरुद्ध जुन विद्वेषको भावनाले शिक्षित भारतवासीहरुको हृदयलाई तिक्त बनाइरहेको थियो त्यसमा यो अस्पष्ट विचारले काम गरिरहेको थियो कि समाजमा अंग्रेजहरुको तुलनामा उनीहरुको स्थान हेय छ । के राणाहरुका विरुद्धमा शिक्षित नेपालीहरुको हृदयमा पनि सदृश भावना थिएन? विदेशी अंग्रेज र स्वदेशी राणाहरुले भारतवासी र नेपालीहरुमा आफ्नो असमानताको बोधद्धारा समाजमा आफ्नो हेय स्थानको बोध – विद्वेषको भावना जागृत गराएका थिए । प्रजातन्त्रको एउटा पक्ष– समानताको सिद्धान्तले दुवै देशका बासीन्दाहरुलाई समान रुपले अनुप्रमाणित गरेको थियो । त्यसो हुनाले जब द्वितीय महायुद्धपछि पश्चिमी राष्ट्रहरुको साम्राज्यबाट एशिया र अफ्रिकाका देशहरु स्वतन्त्र हुँदै गए । प्रजातन्त्रको भविष्य बडो उज्ज्वल देखापरेको थियो र प्रजातन्त्रवादीहरुले आफ्नो पक्षको संख्यावृद्धि हुने कल्पना भविष्यका प्रति पूरा आशा राखेका थिए ।”

“यस्तो आशा अकारण थिएन, किनभने, जस्तो कि माथि उल्लेख गरिएको छ, विदेशी सत्ताबाट स्वतन्त्रताको मागमा राष्ट्रिय आन्दोलनले प्रजात्नत्रको भावना अभिन्न रुपले संलग्न पारेको थियो तर, यस्तो व्यापक आशाको विपरीत स्वतन्त्र भएका राष्ट्रहरु एकएक गरेर प्रजातन्त्रको बाटो पहिल्याउनुको सट्टा एकतन्त्री व्यवस्थाको लौह बन्धनमा बाधिँदै गए । त्यस्ता राष्ट्रहरु जसले राष्ट्रिय स्वतन्त्रतामा सन्निहित प्रजात्नत्रका भावनालाई बलपूर्वक निमोठेर स्वतन्त्रतालाई एकतन्त्रवाद – तानाशाही – को मौकामा परिणत गरे र राष्ट्रिय स्वतन्त्रतालाई तानाशाहीको पर्यायवाची हो भन्ने प्रमाणित गरेका छन्, को विषादमय सूची लामो हुँदै गएको छ – एशियामा भारत, मलाया, फिलिपिन्स र वर्तमान अप्रजातान्त्रिक प्रवृत्तलाई अस्थायी लक्षण भन्ने हो भने श्री लंका यी ४ राष्ट्रहरुबाहेक सबै स्वतन्त्र भएका राष्ट्रहरु तानाशाही व्यवस्थामा जकडिन पुगेका छन्।”

“गृह सचिवको एउटा पत्र आयो जसमा मैले चीन जाँदा सरकारी काम गरेको हिसाब मागी पठाएको छ । यो दास्रो चिठी हो । मैले यस चिठीलाई लिन स्वीकार गरिनँ, किनभने जस्तो कि मैले जर्नेललाई भनें – कि वकिलको सल्लाह नभई म यहाँबाट कुनै कागजमा दस्तखत गर्दिनँ । अर्को यो पनि सरकारलाई सूचना गर्न भनें कि मलाई जुन किसिमबाट गैर–कानूनी तरिकाले थुनेर राखेको छ र जुन ढंगबाट मलाई पक्रिएर ल्याइयो त्यसमा जति कागजपत्रहरु छन् ती सबै सरकारको जिम्मामा हुनुपर्छ । म त्यसो हुनाले यहाँबाट केही उत्तर दिन सक्तिनँ ।” (१८/०९/१९६३)

“रामबाबुले बडो माया गरेर चिठी लेखेको रहेछ । … आफ्नी हजुरआमाको बारेमा पनि लेखेको छु उसले कि वहाँलाई पेट चिरेर नलीको सहाराबाट भोजन दिनुपर्छ रे । बडो कष्टमा हुनुहुन्छ हजुरआमा क्यान्सरले गर्दा । कति दिनसम्म त्यस्तो बिजोगले जीवित रहुनपर्ने हो वहाँले । ‘यूथनेश़’ [सुखमयमृत्यु] यस्तै अवस्थामा प्रयोग हुनुपर्छ भन्ने पक्षमा म पनि छु । मलाई यस्तो अवस्था पर्न आयो भने कष्टहीन मृत्यु ल्याउने उपाय लिन लाउनेछु ।” [२८/१०१९६३)

“बेलुका ७ बजेतिर रमेश हठात् मसँग भेट्न आए । उनले १ गते राजासँग भेटेका रहेछन् र त्यसै बखतमा मसँग भेट्न पाऊँ भनी भनेका रहेछन् । रमेशले मेरो र राजाको बीच सम्झौता हुनुपर्छ र सम्भव छ भन्ने विश्वास राखेर राजालाई भेटेका रहेछन् ‘म २० वर्षको युवक हुँ, र शुद्ध देशहितलाई ध्यानमा राखेर सरकार र बीपीसँग सम्झौता हुनुपर्छ भन्ने मेरो विश्वास छ ।” (२६/७/१९६३)

“बीपीको सरकारप्रतिको भावना र सरकारको बीपीप्रतिको भावनालाई बुझ्दा मलाई लाग्छ कि ‘वर्तमान गत्यावरोध कुनै भ्रमबाट उत्पन्न हुन गएको छ जो दुवैका बीच साक्षात्कार भएपछि स्वः हटेर जान्छ’ भन्ने किसिमको कुरा उनले राजासाग गरेछन् । राजाले पनि मेरो बारेमा प्रशंसाका वाक्यहरु भनेछन् र भनेछन् कि बीपी मात्र एउटा योग्य नेता छन् नेपालमा । अरु त अल्मलिएका छन्, नेता हुने खालको छैनन् ।” (२६/७/१९६३)

“रमेशको आग्रह छ कि म राजालाई भेटूँ र त्यसका लागि एउटा चिठी पनि उनलाई, राजालाई लेखूँ.। यस अर्थमा मैले पहिलो कदम (इनिसिएटिभ) लिनुपर्छ । राजा सम्झौताका लागि इच्छुक छन् भन्ने पनि उनको धारणा छ, त्यसकारणले नै उनलाई मसँग भेट्ने अनुमति दिएको हो रे । राजाको मप्रतिको भावनाको बारेमा पनि उनको भनाइअनुसार उनमा आदरको भावना छ मेराप्रति र जस जसलाई उनले भेटें– विदेशी पत्रकारहरु सबैलाई उनले मेरो तारिफमै कुरा गरे रे । यदि मैले प्रथम चाल चलें भने राजाका तर्फबाट पनि समुचित कदम चालिनेछ र वर्तमान गत्यावरोध छिट्टै दूर हुनेछ । राजाको हिन्दुस्तान र अरु मुलुकहरुको भ्रमणभन्दा पहिले यी सब कुरा भइसक्नुपर्छ – अर्थात् सम्झौता भइसकेर राजनीतिक बन्दीहरुको रिहाइ र बाहिरिएका राजनीतिकहरुलाई एमनेस्टी । उनी बाहिर जानुभन्दा पहिले यी सब कुरा हुन सकेनन् भनेपछि धेरै दिनका लागि गत्यावरोध यथास्थितिमा रहन जानेछ किनभने बाहिरको भ्रमणमा जाँदा राजाको स्वभाविक इच्छा हुन्छ कि गत्यावरोध हटाएर गौरव आर्जन गरेर बाहिर जाऊँ ।”(२६/७/१९६३)

[रमेशका कुराका अरु बुँदाहरुः भारत भरपर्दो छैन। राजासंग सहमति गर्न उद्यत छ। वेलायतिहरु उदासिन छन्। अमेरिकी द्रिस्टिकोण अनुकुल छ तर सहयोग गर्ने उपाय छैन। सोभियत संघ मित्रवत छ। राजा र हिन्दुस्तान सहमिति मा आउदैगर्दा चीन सहयोही हुने सम्भावना छ। सुवर्ण तथा अरुहरुले केहि गरेको देखिंदैन। जेलमा भएका साथिहरुमा राजनीतिक विकास नदेखिंदा कुण्ठ देखिन सक्छ। म मुक्त भएभने ‘फोकल प्वैण्ट’ को सिर्जना हुनसक्छ।] (२६/७/१९६३)

यहाँ भेट्न आउनुभन्दा पहिले सि. एन. सी. (नीरस) ले एउटा कागजमा रमेशको दस्तखत गराएछन् जसको अभिप्राय यसप्रकारको छ – राजा र बीपीमा राम्रो वार्ता भएर भ्रम हट्न जानेछ भन्ने रमेशले बिन्ती गरेकोमा उनलाई बीपीसँथ भेट्न अनुमति बक्सेकाले – इत्यादि इत्यादि ।(२६/७/१९६३)

“आज राजालाई भेट्न पाऊँ भनेर चिठी लेखें ।” (२७/०७/१९६३)

“राजाका उत्तरका लागि पर्खिदाँ पनि केही सुचना आएन । रमेशको भनाइबाट त राजाले मसँग भेट्न ढिला गर्नेछैनन् भन्ने लागेको थियो । आजसम्म पनि राजाकहाँबाट सूचना नआउँदा कुनै षडयन्त्र त फेरि उनबाट रचिएको छैन भन्ने आशंका हुन्छ । राजको कुरामा बिश्वास गर्न मन लाग्छ यद्यपि बारम्बार त्यसबाट मलाई धोखा भएको छ आजसम्म ।” (२८-३१,०७/१९६३)

“राजनीतिक दृष्टिबाट पनि अहिले हामी एकदम परास्त भएका छौं । बाहिरका मानिसहरु मबाट केही कदम, जसले स्थितिमा सुधार आउने सम्भावना हुन्छ, चालिएला भन्ने आशा लिएका छन् रे । २ महिना पहिले मैले रमेशको आग्रहमा राजालाई लेखेको चिठीमा मेरो तर्फबाट ‘इनिसिएटिभ’ लिइएको प्रमाण पुगेन रे, त्यसो हुनाले शब्द मिलाएर फेरि लेख्नुपर्छ भन्ने विचार बाहिरका मानिसहरुको छ रे । जेपी पनि शायद यस्तै विचार राख्नुहुन्छ रे भन्ने आमाको धारणा छ । मैले भनें कि राजा माफीको पत्र चाहन्छन्, जो मबाट हुन सक्तैन । मेरो ‘इनिसिएटिभ’ को कुनै अर्थ छैन, यदि राजा सम्झौताको पक्षमा छैनन् भने, र अहिले त पूर्ण विजयी भएको छु भन्ने भावना होला उनलाई, जुन स्थितिमा उनलाई हामीसँग सम्झौता गर्ने कुनै खाँचो पनि छैन । त्यसो हुनाले यहाँबाट मैले कुनै प्रभावयुक्त कदम चाल्न सक्छु भन्ने आशा बाहिरकाले नगरुन् भनी आमालाई भनें र आमालाई यो पनि भनें कि हामी चाँडै छुटछौं भन्ने आशा नगर्नु होला – हाम्रो लामो जेलजीवनका लागि तयार रहनुहोला भनी भनें । आमाले पनि भन्नुभो– ‘त्यो त हामीले आफैले पनि सोचेका छौं ।’ ” (२१/१०/१९६३)
 

“यहाँ आएर दर्शनका केही किताबहरु पढ्ने मौका पाइयो । उपनिषद् पनि केही पढें । इतिहासको पनि साधारण तौरले अध्ययन गर्न पाएँ । यी सब कारणहरुले हुनसक्छ आस्तिकवाद र नास्तिकवाद विश्वास र अविश्वासको द्धारमा म अहिले उभिएको छु (एग्नोस्टिसिज्म) अज्ञेयवादको द्विविधामा ।”(२५/७/१९६३)

“भारतीय र पश्चिमी दार्शनिकहरुको विवेचना गर्दा जुन कुराले यी दुवै पक्षलाई छुट्याउँछन् । त्यो आस्तिकता (आध्यात्मिकता) र नास्तिकता (भौतिकता) को पारस्परिक विरोधी विचारधाराले होइन कि बस उनीहरुको समस्याप्रतिको (एप्रोच) प्रवेशपथको भिन्नता हो । भारतीय दार्शनकिहरुको तर्क प्रणाली (इण्ट्युस्नल अन्तर्बोधिक अन्तरज्ञानी र डिडक्सन) वियोजक, अवरोह रहस्यानुभूतिमूलक, तथा पाश्चात्य दार्शनिकहरुको तरीका बौद्धिक (इण्डक्टिभ) आरोहपद्धतीय र विश्लेषणमूलक छन् । अर्को भिन्नताको चर्चा प्रोफेसर हिरियाणाले गरेको छ (आउट्लाइन अफ ईण्डियन फिलोसफी) – भारतीय दर्शनको लक्ष्य तर्कोपरि छ । (२५/७/१९६३)

‘यस प्रकारको दृष्टिकोणको विशेषता यस प्रकारले हुन गएको छ कि भारतमा दर्शनको प्रादुर्भाव आश्चर्य (विस्मय) र कौतूहलमा भएन जस्तो कि पश्चिममा भयो । यसको प्रादुर्भाव जीवनको नैतिक र दैहिक अनिष्ठता (असत इभिल)को उपस्थितिबाट उत्पन्न भएको व्यावहारिक आवश्यकताको दबाबमा हुन गयो । यो अनिष्ठतालाई कसरी निर्मूल पार्ने भन्ने समस्याले प्राचीन भारतीयहरुलाई चिन्तित पार्यो । मोक्ष त्यस्तो स्थितिको प्रतिनिधित्व गर्छ जसमा– जुनसुकै भारतीय पद्धत्तिमा पनि कुनै अर्थमा पनि, त्यो निर्मूल भएको हुन्छ । दर्शनीय प्रयास जीवनका व्याधिहरुको निराकरणट्टि मुख्यतः लक्षित भएको छ, र आध्यात्मिक मेटाफ़िजिकल प्रश्नहरुको विचार–विवेचना पछि स्वतः आउँदै गएका छन् ।” (२५/७/१९६३)

“पश्चिमी दार्शनिक भन्नाले ग्रीकको दार्शनिकलाई लक्ष्य गरिन्छ । उनीहरुको एप्रोच त्यसो हुनाले (किनकी उनीहरुको दर्शनको आधार कौतूहल भएकोले) (न्युट्रल) निरपेक्ष र वैज्ञानिक छ । भारतीय दार्शनिकहरुले प्रारम्भ नै (नैतिक प्रश्नलाई लिएर गरेकोले) जीवनको कुरुपतालाई मानेर गरेकोले उनीहरुको नीति तटस्थताको नीति रहेन । पापको भावनाले उनीहरुलाई छाड्न सकेन । यसकारणले नै होला उनीहरु को प्रतिबद्धता कुनै पूर्वस्थापनाका साथ अगाडि बढ्छन् जुन वैज्ञानिक विचार पद्धति होइन । पूर्वस्थापना ‘अथोरिटेरियन’ हुन्छ ।” (२५/७/१९६३)

“अस्ति रमेशले मलाई कृष्णमूर्ति भन्ने कोही एउटा लेखकले लेखेको राजा महेन्द्रको जीवन–चरित्र पठाइदिएको थियो । हामीहरु समातिएपछि कृष्णमूर्ति यहाँ आएका थिए भारतबाट र राजासँग भेटघाट गरिकन यो बृहत चरित्र प्रकाशित गर्ने निर्णय भएको थियो । जसका लागि हिन्दुस्तान र नेपालका कतिपय विद्वान् र राजनीतिकहरुको एउटा ’महेन्द्रजीवन चरित्र–समिति‘ पनि गठित भएको थियो । यस समितिका अध्यक्ष सुनीतिकुमार चाटुज्र्या भए ।’

“तिनताका पनि कृष्णमूर्तिले हाम्रो विरुद्धमा– विशेष गरेर मेरो विरुद्ध– विषवमन गरेर गएका थिए र राजाप्रति चाटुकरिताको भित्तो पुर्याएका थिए । तिनै असत्य र अर्ध–सत्यहरुको संग्रहमा वर्तमान पुस्तक जसलाई एक महिना पहिले शायद राजाको जन्मदिवसको उपलक्ष्यमा सुनीतिकुमारले चरित्र समितिको अध्यक्षको हैसियतले राजालाई बडो ठूलो समारोहका साथ समर्पित गरेका थिए ।”

“कृष्णमूर्तिलाई म राम्ररी चिन्दिनँ; शायद यी उनै कृष्णमूर्ति हुन् जसले राजेन्द्रबाबु भारतका भूतपूर्व प्रेसिडेण्टको एउटा जीवन–चरित्र पनि लेखेका छन् । यदि तिनै हुन् भने एकचोटि रेलको सफरमा भेटेको पनि हुँ । ममाथि बडो नराम्रो प्रभाव परेको थियो उसको आचरण र व्यवहारको । यहाँ यसमा शंका पनि छैन कि राजाको जीवन चरित्र लेखनका लागि पर्याप्त आर्थिक प्रदान भयो होला उनलाई ।”

“यसप्रकारको साहित्यिक जीविका (वृत्ति) लिएका धेरै पठित पुरुषहरु पाइन्छन् । शुद्ध गणिकावृत्तिका अनुचारीहरु । गणिका रुपले व्यवसाय गर्छे भने यस्ता लेखकहरु आफ्नो शाब्दिक योग्यता । नैतिक प्रश्न उनीहरुको सामुन्ने रहँदैन । एक दृष्टिमा, शुद्ध समभाववान हुन्छन् यिनीहरु आफ्नो खरिददार (मुवक्किल)हरुप्रति तर, सोच्ने कुरा यस सम्बन्धमा यो छ कि सुनीतिकुमार जस्ता विद्वान् र शायद आदर्शवादी व्यक्तिहरु कसरी यस योजनामा सम्बन्धित हुन सके ।”

“सुनीतिकुमार हिन्दूभावना भएका विद्वान् त हुन्; तर कट्टर हिन्दूवादी हुन् जस्तो मलाई लाग्दैन थियो । उनी भारतको अतीतकालीन ऐश्वर्य र वैभवबाट पनि प्रभावित व्यक्ति हुन् र जसलाई अतीतकालको डंक लागेको छ त्यसको मनिस्थितिमा पूरा भर गर्नु अव्यावहारिक हुन्छ । उनीहरुको दृष्टिमा राजाको स्वतः स्वभाव र पदले नै सर्वसाधारण भन्दा उच्चताको स्थिति हुन्छ । उनीहरु राजाको सामुन्ने त्यसै आत्मभिमानबाट च्युत भएर जान्छन् । सुनीतिकुमारको पनि मनोवैज्ञानिक स्थिति यस्तै भयो होला जब उनलाई चरित्र समितिको अध्यक्ष पदका लागि आग्रह भयो होला । यसका साथसाथै यो प्रश्न छ कि के विद्वान् आफ्नो विद्धताको कारणले अवश्यमेव नैतिक गुण सम्पन्न पनि हुन्छ? सुनीतिकुमार जस्ता धेरै विद्वान्हरुको उदाहरण दिन सकिन्छ जसमा नैतिकता र विद्धताको समागम पाइदैँन । राहुल सांकत्यायन पनि यसै कक्षका विद्वान् थिए ।’

“मलाई एउटा मौलिक शंका हुन थालेको छ इतिहास अध्ययनका प्रति । कृष्णमूर्तिको ‘महेन्द्र चरित्र’ त्यही परम्परा अनुरुप छ जुन परम्परा अन्तर्गत पहिलेका राजाहरुले जीवनी लेखिन्थ्यो– ‘राजाज्ञाकृति’ (कमाण्ड पर्फर्मांस अर राइटिङ्ग) राजाहरुले शासकहरुले आफ्नो यशलाई अक्षुण्ण राख्न लेखनवृत्ति भएका मानिसहरुलाई विरुदावलि रच्न लगाउँथे; पत्थर र चट्टानमा आफ्नो यशगान कुँद्न लाउँथे । प्राचिन इतिहासका हाम्रा आधार यी सामग्री नै हुन्; जस्तो कि भविष्यका इतिहासकारहरुका लागि शायद कृष्णमूर्तिको ‘चरित्र’ पनि हुन जानेछ । यदि कुनै राजाहरुको कुयशको गाथा पनि हामीले पाएका छौं भने उनका शत्रुहरुद्धारा त्यो रचिएको हुन्छ– विशेष गरेर विदेशी राजा–शत्रुद्धारा, जो स्वयम् पनि आफ्नो गुणगान र कीर्तिलाई झन् उज्वल पार्न अरुहरुको अपकीर्ति सत्य या असत्यलाई पृष्ठभूमिको रुपमा तयार पार्न लाउँथे ।”

“प्रामणिकताको तर्क लिने हो भने कृष्णमूर्तिद्धारा लेखिएका ग्रन्थ एउटा समितिको जिम्मेवारीमा प्रकाशित भएको छ; जुन समितिका सदस्यहरुमध्ये कतिपय व्यक्ति उच्चपदाधिकारी तथा उद्भट विद्वानहरु छन् । भविष्यका इतिहासकारहरुलाई यो भन्दा बेसी के प्रमाण चाहियो कि यी सब कुराको अतिरिक्त समितिका धेरै जसो सदस्यहरु भारतीय छन् । ऐतिहासिक प्रामाणिकताको आधार यस ग्रन्थमा पर्याप्त छ – केवल छैन केही कुरो भने सत्यता, ऐतिहासिक वास्तविकता । यो किताबका प्रत्येक पृष्ठ असत्य र अर्धसत्य र असत्य संकेतले भरिएको छ । मलाई इतिहासको अध्ययनप्रति बडो शंका यसै कारणले हुन थाल्यो । झन् नेपालको इतिहासको आधार अहिलेसम्म मथि उल्लेख गरिएका आधारको अतिरिक्त अरु केही छैन । मल्लवंश र शाहवंशको विरुदावलीबाहेक – र राणा प्रधानमन्त्रीहरुको पनि – अरु के छ र ? साहित्य र कलाको माध्यमबाट इतिहासको क्रमिकता स्थापित गर्न सजिलो पर्दैन र त्यतापट्टि नेपाली इतिहासकारको ध्यान पनि गएको छैन ।”

“आज रामनारायणले अनौठा तर्क उठाए । उनको भनाइअनुसार सुवर्णजीहरुले चीनको भारतमाथिको आक्रमणलाई ध्यानमा राखेर हाम्रो यहाँको आन्दोदलन स्थगित राख्नु त्यस्तै कायरतापूर्ण अनैतिकता हो जस्तो हामीले यहाँबाट मागेर छुट्नु । ‘कायरतापूर्ण अनैतिकता’ वाक्यांश मैले उनको तर्कलाई स्पष्ट पार्न थपेको । उनको भनाईको भित्री अभिप्रायः शायद या थियो कि आन्दोलनको स्थगनले हामीमाथिको नैतिक बन्धन माफी मागेर नछुटौंं – हटिसकेको छ । उनको अर्को तर्क यो थियो कि बाहिरको आन्दोलन केवल भारतपक्षीय थियो, त्यसो हुनाले त्यसको लक्ष्य नेपालको हितभन्दा भारतको हित रक्षामाथि थियो । यस तर्कले इगिंत गरेको अर्थ यो थियो– “त्यो अराष्ट्रिय आन्दोलन थियो ।”

‘आफ्नो बहसको सिलसिलामा उनले भने कि आन्दोलनको पराजय नै त्यसको न्याय संगति ‘जस्तिफिकेसन’ को अभावको प्रमाण छ अर्थात् विफल आन्दोलन असमर्थनीय राजनीतिक कदम हो । मलाई उनका यस्ता विचार निराशाका प्रमाणजस्ता लागे । उनले जुन आवेशमा आफ्ना तर्क प्रस्तुत गरिरहेका थिए ती पनि उनका स्वभावका विपरित थिए । निराशाबाट अस्थायी प्रमाण उत्पन्न हुनु कुनै आश्चार्य होइन ।”

“मैले उनलाई सम्झाएँ । मेरो विचारमा सुवर्णजीरुहले चलाएको आन्दोलनको स्थापित लक्ष्य न अराष्ट्रिय थियो, न उनले आन्दोलन स्थगन गरेको घोषणा हामीहरुले यहाँबाट माफी मागेर छुट्ने किसिमको कारबाही हो अथवा न त कुनै आन्दोलनको समर्थनीयता वा असमर्थनीयता (जस्टिफिकेसन अर अनजस्टिफिकेसन) त्यसको विजय अथवा पराजयबाट छुट्टिने हो – (त्यो त त्यसको स्थापित लक्ष्यमा निहित छ, न कि परिणामजनित विजय पराजयले । विजय नै कुनैपनि आन्दोलनको जस्टिफिकेसन हो भन्ने सिद्धान्तले त राजनीतिक ‘एक्सन’ (कार्य)को प्रेरणा मानव हृदयबाट लोप भएर जान्छ ।”

“धेरै स्थलमा परिणामको परवाह नै नगरी भविष्यले निर्धारित गरेको लक्ष्यको मार्गमा अग्रसर हुनुपर्छ, कहिलेकाही त अनुवार्यत: पराजय छ भन्ने ज्ञान हुँदाहुँदै पनि कर्तव्य प्रेरणाले त्यस्तो कार्यमा पनि जाइलाग्नु पर्छ मानिस । जय–पराजयको लेखाजोखा त पछिको इतिहासले गर्ने कुरा हो – कुनै कार्यको निस्पत्ति या सम्पादन भइसकेपछि निर्णय दिने कुरा हो ।”

“यी सब कुराहरुको अतिरिक्त, व्यावहारिक दृष्टिबाट विचारणीय एउटा अर्को तथ्य पनि छ । कुनैपनि कार्यको सफलता र विशेष गरेर सामाजिक क्षेत्रमा क्रान्तिकारी लक्ष्य राखेर गरिने व्यापक प्रयत्नको सफलता धेरै तत्वमा निर्भर गर्छ । जतिसुकै बुद्धि पुर्याएपनि जतिसुकै दूरदर्शी दृष्टि भविष्यतिर फ्याँके पनि सफलताका लागि चाहिने यावत् सरजामको परिकल्पना र संग्रह मानिसको सामर्थ्य बाहिरको कुरा हो । जतिसुकै व्यवस्था मिलाएर दूरदर्शी भएर गर्न आँटेको कार्यको भविष्यमा प्राप्त हुने परिणामलाई कुनै न कुनै अंशमा अनिश्चित नै सम्झिनुपर्छ ।”

‘हिन्दुस्तानसँग मद्दत लिनु अराष्ट्रिय कारबाही भन्न सकिन्न । जुनसुकै मुलुक र जुनसुकै आन्दोलनले पनि बाहिरको मद्दत प्राप्त गरेको कुराको इतिहास साक्षी छ । कमसेकम दुनियाँभरिमा सबैले आफ्नो आन्दोलनको सफलताका लागि विदेशी सहायताको अपेक्षा गरेका छन्, यदि अपेक्षित सहायता उनीहरुल्े प्राप्त गर्न सकेनन् भने पनि उनीहरुको इरादाको कमीले होइन कि, सहायता दिने विदेशीहरुले सहायता नदिएकोले हो ।”

‘आन्दोलनको स्थगन राजनीतिक निर्णय हो, जो कि परिस्थितिको अनुसार लिनुपर्छ । माफी माग्नु नैतिक निर्णय हो, जो कि व्यक्तिव्यक्ति आफ्नो नैतिक सामथ्र्यमा निर्भर गर्छ । राजनीतिक कार्यवाहीलाई सञ्चालनार्थ यदि माफी मागेर छुट्ने कुरा हो भने यसमा नैतिकताको प्रश्न उठदैन । यो शुद्ध राजनीतिक निर्णय हो, तर आफ्नो कमजोरीले माफी माग्नु घोर अनैतिक कुरा हो । जसको आन्दोलन स्थगनको राजनीतिक निर्णयसँग केही सम्बन्ध छैन ।”

“आज [पुस १ गते] को राजाको घोषणाले संसदीय प्रजातान्त्रिक विधानको वैधानिक अन्त भो । व्यवहारमा दुई वर्ष पहिले नै प्रजातन्त्रको हत्या भएको थियो, आज त्यो शवलाई अनुष्ठानपूर्वक दाहसंस्कार गरियो ।’ [१६/१२/१९६२]

“राजाले आज अर्को विधान दिएका छन्– पञ्चायती विधान । घोषणामा एउटा वाक्य बडो महत्वपूर्ण छ – “हामीमा निहित अधिकारद्धारा अहिलेसम्मको विधान खारेज गर्यौं र अर्को नयाँ विधान दियौं ।” स्वेच्छाचारिताको योभन्दा ठूलो निर्लज्ज–घोषणा वर्तमान युगमा कसैले गर्न सक्छ हाम्रो राजाबाहेक? निरंकुशताको पराकाष्ठाको घोषणा छ यस वाक्यमा “हामीमा निहित अधिकार” जसको आधारमा जैले पायो विधान दियो, फर्कायो, निलम्बन गर्यो र बदलियो । राणाहरु पनि यत्रो निर्लज्जताको घोषणा गर्न हिच्किचाउँथे । कमसेकम राजाको मर्यादाको पर्दा राखेका थिए उनीहरुले । वर्तमान राजालाई त्यो पर्दा राख्नुपर्ने आवश्यकता परेन । राजाहरु निर्लज्जताको लागि जगत्प्रसिद्ध हुन्छन्; उनीहरुलाई शिष्टाचार, आचार कर्तव्यमा बाँधेर राख्ने प्रेरणा उनीहरुको आफ्नै अन्तरबाट – आत्माबाट आउँदैन; आफूभन्दा बाहिरको जनशक्तिले मात्र उनीहरुलाई मर्यादामा बाँधेर राख्छ । त्यो शक्ति कमजोर पर्यो भने राजाहरुको मर्यादाहीनताको कुनै अन्त पाइँदैन । आज हाम्रो देशमा त्यहि कुरा घटिरहेको छ । जनआन्दोलन अहिले परास्त भएको छ ।” [१६/१२/१९६२]

“राजनीतक बन्दीहरु ठाउँठाउँमा झ्यालखानामा थुनिएका थुनिएकै छन् । कुनै राजनीतिक तर्कको आधारमा नभएर यो घोषणा राजाको शुद्ध वैयक्तिक ख्यालबाजीको दृष्टान भएको छ । राजालाई आज घोषणा दिऊँ भन्ने विचार आयो – घोषणा दिए । यसले देशमा कुनै किसिमको राजनीतिक दिशालाई परिवर्तन गरेन । जतिजति यस सम्बन्धमा विचार गर्यो उतिउति राजाको अहम्मन्यता र निरंकुशताको प्रमाणस्वरुप यो घोषणा भएको छ भन्ने मलाई लाग्छ । वैधानिकताको उपहासको यो परम दृष्टान्त हो इतिहासमा । संगिन आफ्नो हातमा छ भने जुनसकै कार्यलाई पनि वैधानिक मर्यादा दिन सकिन्छ भन्ने घोषणा राजाले गरेका छन् ।राजाको लागि, जसको हातमा संगिन छ भने जुनसुकै कार्यलाई पनि वैधानिक मर्यादा दिन सकिन्छ भन्ने घोषणा राजाले गरेका छन् । राजाका लागि, जसको हातमा संगीन छ विधान एउटा पुछेर फ्याँक्ने कागजको खोष्टा हो बुझ्यौ देशव्यापीहरु हो ! भन्ने घोषणा भएको छ अस्ति ।” [१८/१२/१९६२]

“हामीहरु पक्राउ परेको पनि आज दुई वर्ष पुरा भयो । भोलिकै दिन हामीहरु दुई वर्ष पहिले समातिएका थियौं । भोलि सरकारले बडो धूमधामसँग वार्षिक मनाउने भएको छ – एक पौष ऐतिहासिक दिन रे । त्यसो हुनाले बडो उत्सवसंग त्यो ऐतिहासिक दिनको चाड मनाउने रे । बिस्तारबिस्तार यसलाई नै राष्ट्रिय दिनमा परिणत गर्ने इरादा सरकारको छ जस्तो बुझिन्छ ।” [१५/१२/१९६२]

“राजालाई सात फागुनको प्रजातन्त्र दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने प्रथा मनपरेको छैन, किनभने त्यस दिनले २००७ सालको क्रान्ति र त्यसले ल्याउन खोजेको प्रजातन्त्रलाई स्मरण दिलाउँछ साथै त्यस दिनले त्रिभुवनलाई पनि सम्झाउँछ । यो स्मृति निश्चय नै राजालाई बिझाउँदो हो । देशमा जुन उत्साहको सृजना गर्ने प्रयत्न भोलिको लागि भइरहेको छ त्यसलाई देख्ता एक पौष नै मुख्य दिवसको रुपमा मनाइयोस् भन्ने इच्छा सरकारको बुझिन्छ । पोहोर सालभन्दा यसपालि झन् व्यापक रुपमा यो दिवस मनाइने रे । पोहोर साल बाह्यरुपले सरकारको सम्पूर्ण सहयोग यस दिवसको समारोहमा देखाइएको थिएन । अलि अप्ठयारो मानेर सहयोग दिएको जस्तो थियो – जो कि पोहोर साल पनि बाह्यरुपबाट पनि स्पष्ट थियो – सरकारबाट यो दिवस मनाउनका लागि सरकारी तत्वावधानमा समारोह सम्पन्न भएको छ । अब झिंझक छैन, सञ्कोच छैन– निर्धक्कसँग राष्ट्रिय दिवसको रुप दिन सरकारले थालिरहेछ ।” [१५/१२/१९६२]

“भोलिकै दिन राजाले एउटा नयाँ विधान पनि दिने रे । अहिलेसम्म त विधानको घोषणाको साहस राजालाई थिएन, कारण – जनआन्दोलनले उनलाई कति कस्तो दबाब दिने हो जसको परिणामस्वरुप कुन कस्तो किसिमको सम्झौता जनतासँग गर्नुपर्ने हो त्यसको अनिश्चित आशंका थियो । अब त्यो दबाब रहेन; राजालाई अब सम्झौताको दृष्टिकोण अपनाउनुपर्ने खण्ड छैन । पूर्ण विजयको विश्वासमा भोलिको विधानको घोषणा हुनेभएको छ । पञ्चायती किसिमको विधान जसको रुपरेखा पत्रपत्रिकाहरुमा बीचबीचमा आइरहेको छ । यो विधान “देश सुहाउँदो आफनै माटोबाट हुर्केको” र “आफ्नै माटोमा हुर्केको” विधान हुन्छ रे । भोलिको घोषणा पछि केही राजनीतिक बन्दीहरु छुट्छन् कि भन्ने आशा यहाँका केही साथीहरुलाई छ ।” [१५/१२/१९६२]

“मलाई घोषणाले कुनै परिवर्तन ल्याउँछ जस्तो लाग्दैन । एकदुई जना राजबन्दीहरु छुट्ने कुरा छ बीचबीचमा छुट्दै समात्तिँदै पनि छन् । विधानको घोषणाले कुनै नयाँ नीतिकोृ घोषणा हुने छैन राजालाई यदि मैले बुझेको छु भने अब झन बदलाको भावनाले उनी प्रेरित भएर राजबन्दी– जो उनको मुट्ठीमा परेका छन्–जयकतबनभक जस्तो गरी जसलाई उनले राखिछाडेका छन्– माथि झन् बढी कठोर वर्ताव हुनेछ । राजालाई खब भय रहेन, जुन भयले अहिलेसम्म उनको हात रोकिएको थियो । यहाँ हामीहरुमाथि गार्ड अफिसरहरुको व्यवहार पनि बदलिसकेको छ । उनीहरुको वर्ताव रुखा हुँदै आएको छ ।” [१५/१२/१९६२]

“आज हामीहरुलाई बडो दुःखको समयमा पर्नु परेको छ; वास्तविक दुःखभन्दा भविष्यको आशंकाको पीडित भएका छौं हामीहरु । यसको कारण एउटै छ– त्यो हो हामीमा अझै खड्गको धारमा गर्दन राख्न सक्ने साहसको कमी ।”

“आजको राजाको घोषणाले संसदीय प्रजातान्त्रिक विधानको वैधानिक अन्त भो । व्यवहारमा दुई वर्ष पहिले नै प्रजातन्त्रको हत्या भएको थियो, आज त्यो शवलाई अनुष्ठानपूर्वक दाहसंस्कार गरियो ।” [१६/१२/१९६२]

“राजाले आज अर्को विधान दिएका छन्– पञ्चायती विधान । घोषणामा एउटा वाक्य बडो महत्वपूर्ण छ – “हामीमा निहित अधिकारद्धारा अहिलेसम्मको विधान खारेज गर्यौं र अर्को नयाँ विधान दियौं ।” स्वेच्छाचारिताको योभन्दा ठूलो निर्लज्ज–घोषणा वर्तमान युगमा कसैले गर्न सक्छ हाम्रो राजाबाहेक? निरंकुशताको पराकाष्ठाको घोषणा छ यस वाक्यमा “हामीमा निहित अधिकार” जसको आधारमा जैले पायो विधान दियो, फर्कायो, निलम्बन गर्यो र बदलियो । राणाहरु पनि यत्रो निर्लज्जताको घोषणा गर्न हिच्किचाउँथे । कमसेकम राजाको मर्यादाको पर्दा राखेका थिए उनीहरुले । वर्तमान राजालाई त्यो पर्दा राख्नुपर्ने आवश्यकता परेन । राजाहरु निर्लज्जताको लागि जगत्प्रसिद्ध हुन्छन्; उनीहरुलाई शिष्टाचार, आचार कर्तव्यमा बाँधेर राख्ने प्रेरणा उनीहरुको आफ्नै अन्तरबाट – आत्माबाट आउँदैन; आफूभन्दा बाहिरको जनशक्तिले मात्र उनीहरुलाई मर्यादामा बाँधेर राख्छ । त्यो शक्ति कमजोर पर्यो भने राजाहरुको मर्यादाहीनताको कुनै अन्त पाइँदैन । आज हाम्रो देशमा त्यहि कुरा घटिरहेको छ । जनआन्दोलन अहिले परास्त भएको छ ।” [१६/१२/१९६२]

“राजाले अस्ति विधानको घोषणा गरेपछि तर्कसगंत अनुमान गर्न सकिन्थ्यो कि राजनीतिक स्थिति अब साधारण हुँदै आएको छ। त्यसो हुनाले असाधारण स्थितिका सरकारी कारबाही अब रद्द गर्दै राजनीतिक बन्दीहरुको रिहाइको घोषणा पनि विधानको घोषणाको साथसाथै हुनेछ । सुवर्णजीहरुद्धारा पनि जनआन्दोलन स्थगित राखिएको छ । त्यसो हुनाले राजनीतिक स्थितिलाई साधारण बनाउन अहिलेको जस्तो उपयुक्त अवसर फेरि पाइनेछैन भन्ने तर्क विधानको घोषणापछि स्वभाविक हुन्छ । आखिर, संविधानको घोषणाले देशमा साधारण स्थिति छ भन्ने पूर्वानुमान (प्रिसपोज) पनि गर्छ । असाधारण स्थिति रहँदा रहँदै विधानको घोषणा असंगत जस्तो हुन्छ । यसका अतिरिक्त राजालाई अब निर्धक्क भएको अनुभवको पनि यसले संकेत दिन्छ । यी सब कुरा हुँदाहुँदै पनि राजनीतिक स्थितिमा कुनै परिवर्तन आएन ।” [१८/१२/१९६२]

“राजनीतक बन्दीहरु ठाउँठाउँमा झ्यालखानामा थुनिएका थुनिएकै छन् । कुनै राजनीतिक तर्कको आधारमा नभएर यो घोषणा राजाको शुद्ध वैयक्तिक ख्यालबाजीको दृष्टान भएको छ । राजालाई आज घोषणा दिऊँ भन्ने विचार आयो – घोषणा दिए । यसले देशमा कुनै किसिमको राजनीतिक दिशालाई परिवर्तन गरेन । जतिजति यस सम्बन्धमा विचार गर्यो उतिउति राजाको अहम्मन्यता र निरंकुशताको प्रमाणस्वरुप यो घोषणा भएको छ भन्ने मलाई लाग्छ । वैधानिकताको उपहासको यो परम दृष्टान्त हो इतिहासमा । संगिन आफ्नो हातमा छ भने जुनसकै कार्यलाई पनि वैधानिक मर्यादा दिन सकिन्छ भन्ने घोषणा राजाले गरेका छन् ।राजाको लागि, जसको हातमा संगिन छ भने जुनसुकै कार्यलाई पनि वैधानिक मर्यादा दिन सकिन्छ भन्ने घोषणा राजाले गरेका छन् । राजाका लागि, जसको हातमा संगीन छ विधान एउटा पुछेर फ्याँक्ने कागजको खोष्टा हो बुझ्यौ देशव्यापीहरु हो ! भन्ने घोषणा भएको छ अस्ति ।” [१८/१२/१९६२]