“सुशीलाप्रति मैले आफ्नो जवाफदेहीता पूर्णरुपमा पूरा गरिनँ । यद्यपि पत्निप्रति कर्तव्याकर्तव्यको बौद्धिक निश्चिततामा शायद कोही पुग्न सक्नेछैन, र मेरो आरचण– यौनस्वच्छन्दतालाई म पापयुक्तता या कर्तव्यविहीनताको संज्ञा दिन सक्तिनँ ।”

“म आफ्नो आचरणका लागि अन्तस्करणको इजलासमा आफूलाई दोषी भनी स्वीकार गर्न कसैगरी पनि सक्तिनँ तर, हमेशा एउटा कुराको समस्या मेरो आत्माका लागि बनिरहेको छ । यदि सुशीलाको दृष्टिमा मेरो आचरण क्षम्य छैन भने मेरो के कर्तव्य हुन्छ; र यदि उसले आफ्नो निर्णय अपूर्ण बुद्धिले गर्दा या आफ्नो स्वार्थबाट प्रेरित भएर लिएको भएपनि उसको आत्माको सन्तोषका लागि के मैले आफ्नो आचरण उसको नैतिक निर्णय अनुसार गर्नुपर्दैन र ? आज मलाई बारम्बार यो कुराले व्यग्र पारिरहेको छ ।”

“धेरै दिन पहिले मलाई उसको आग्रह थियो कि म धुम्र–सुरापान नगरुँ र अवैध यौन सम्बन्ध नराखूँ । उसको दृष्टिमा वैध यौन सम्बन्ध ‘मोनोगामिक’ [एकसंगमन] मात्र हुन्छ ।”

“यता आएर दुई कुरामा त एक वर्ष जति भयो, उसको आग्रहलाई मान्ने निश्चय गरेर धुम्र–सुरापान अबदेखि कैलेपनि नगर्ने प्रतिज्ञा गरेको छु ।”

“स्त्री संगमका सम्बन्धमा निर्णय लिन गाह्रो परिरहेको थियो । बारबार उसउपर विचार गर्दा मलाई भीष्मप्रतिज्ञा गर्न सम्भव हुँदैन कि जस्तो लागिरहन्थ्यो । आज भने कुन्नि कहाँबाट आन्तरिक शक्तिको अनुभव गरेर मैले यो दृढ निश्चय गरें कि सुशीलाको तृतीय आग्रहलाई म अबदेखि कैलेपनि टाल्दिनँ । यसले गर्दा मैले धेरै कुरादेखि आफूलाई वञ्चित राख्नुपर्ला तर सुशीलाको परमविश्वास पाउनको लागि मलाई कुनैपनि बलिदान ठूलो हुनेछैन ।”

“आज मैले हेभलक् एलिस / फ्रायड माथि एउटा निबन्ध पढें र आजै कताकताबाट योगको चर्चा हाम्रा बीचमा हुन पुग्यो । यौन (सेक्स) र योग मेरो अन्तरहृदयमा एउटा ध्वनि उत्पन्न गराउँछन् मानौं दुवै एउटै तत्व हुन् – अथवा यौनकै अर्को अभिव्यक्ति योग हो । योगको जरो कताकताबाट अन्ततः यौनमा पुगेको हुन्छ जस्तो मलाई लाग्छ ।”

“आजको बहसमा मेरो तर्क यसप्रकारको थियो– हठयोग योगको हठधर्मी मार्ग हो र यदि यसको उपादेयता केही छ भने पनि वास्तविक योग साधनभन्दा धेरै निम्नकोटीको छ । मनोवैज्ञानिक र मानसिक क्षेत्रमा हठयोगको ठूलो सम्भावना देखापरे तापनि वास्तविक योगको साधननै त्यस सम्भावनाको प्राप्तिको राजमार्ग हो । अन्ततोगत्वा योग भनेको आत्मा र परमात्माको सन्धि हो– दुवैको पार्थक्यको विलिनीकरण हो ।”

“अर्को शब्दमा समुद्र र थोपाको पार्थक्यलाई मेटाएर थोपा समुद्रमा बिलीन भएको आन्तरिक अनुभूति योग हो । बाहिरी जगत र अन्तरजगत – विलीन भएको आन्तरिक अनुभूति योग हो । बाहिरी जगत र अन्तरजगत ब्रह्माण्ड र व्यत्तिको सूक्ष्म जगतमा एकरुपताको बोध योगको परम लक्ष्य हो । योगको सिद्धान्त अनुसार मानवलाई यो पार्थक्यको अनुभव मनको चञ्चलताले दिन्छ । चित्तवृत्ति निरोध कसरी गर्ने त्यसको व्यवस्था योग साधन हो । योगको लक्ष मोक्ष, विलीनीकरण;त्यस लक्ष्यप्राप्तिको मार्ग, चित्तवृत्तिको निरोध; र चित्तवृत्ति निरोधका लागि केही क्रियाहरु (अष्टाङ्गी क्रियाहरु) पतञ्जलीको योग सुत्रमा पाइन्छ । योग व्यवस्थाको मूख्य विषय छ, मनको चञ्चलतालाई शान्त गर्नु ।”

“मनको चञ्चलताको अन्त भएपछि त्यो एकता व्यक्ति र ब्रह्माण्ड, ब्रह्म र ब्रह्माण्डमा स्थापित हुन्छ जसको अर्को संज्ञा हिन्दू दार्शनिकहरुले मोक्ष भनेर दिएका छन् । मानिसका अनेकानेक आवश्यकताहरु छन्, त्यसमा धेरैजसो त्यस्ता आवश्यकताहरु छन्, जो मौलिक नभएर सामाजिक परिस्थितिमा अरु बाहिरी कारणहरुले गर्दा सृजना हुन गएका छन्, त्यसमा धेरै जसो त्यस्ता पनि मैलिक आवश्यकताहरु छन् जो मानिसका लागि अनिवार्य छन् र जुनसुकै स्थितिमा पनि ती आवश्यकतालाई मानिसको स्वाभाविक आवश्यकता (इन्स्टिङ्क्टिभ नीड) भने हुन्छ । जस्तो, उदर क्षुधा, यौन क्षुधा इत्यादि । यसका साथसाथै त्यस्ता मानवीय भावनाहरु पनि छन्, जो शायद। समाज र माथि उल्लेख गरिएका मौलिक आवश्यकताले भन्दा स्वतन्त्र अस्तित्व राख्छ– जस्तो प्रेम, घृणा ।”

“प्रेम र घृणा शायद मानवको स्वभाविक भावना हो – यस्ता भावनाको अस्तित्व समाज – संगठनमै निर्भर गर्छन्, मानवको यौन प्रवृत्तिमै सहजरुपले निहित रहन्छन् । प्रेम र घृणाजस्ता भावना सायद त्यस्त मौलिक भावना नहून्, जस्तो कि म तिनीहरुलाई सम्झिन्छु; हुनसक्छ यी भावनाहरु मानवले सामाजिक संगठनबाट प्राप्त गरेका भावना हुन्; या हुन सक्छ, यौनको सहज वृत्तिको मौलिक रुपका सामाजिक अभिव्यक्ति हुन्– प्रेम र घृणा । मेरो भनाइको तात्पर्य यो हो कि मानिसको चोला धारण गर्नेबित्तिकै स्वाभाविक रुपबाट केही वृत्तिलाई लिएर जन्मिन्छन् ।’

“अब प्रश्न उठ्छ– केही मौलिक मानवीय सहज वृत्तिलाई हठद्धारा दमन गर्ने प्रयासमा चित्तको चाञ्चल्य झन् उग्रतर हुँदैन? मानवका यी मौलिक आवश्यकताको उपेक्षा कहाँसम्म गर्न सकिन्छ? के यस्तो उपेक्षाले आफ्नो ढंगबाट घातक बदला त लिँदैन? मेरो विचारमा मौलिक आवश्यकताको स्वाभाविक सन्तुष्टि मनको शान्तिको निम्ति परमावश्यक छ । उदरक्षुधा या जल पिपासालाई उपेक्षा गरेर या हठ धर्मको अबलम्बन गरेर त्यसको अन्त हुँदैन; त्यसको अन्त हुन्छ क्षुधातुर उदरलाई भोजन, तृषित कण्ठलाई जल उपलब्ध गराएर । यौनक्षुधाको पनि त्यसबाट विरत भएर अन्त गर्न सकिन्न; त्यसको पनि स्वाभाविक ढंगबाट अन्त गर्नुपर्छ । मौलिक वृत्तिको दमन सम्भव छैन– शमन गर्नुपर्छ ।”

“भोजनको दैनिक आवशयकता जस्तै मानव शरीरलाई तात्कालिक असर गर्ने किसिमको क्षुधा यौनक्षुधा होइन;र यौनक्षुधाको अभिव्यक्ति पनि स्थूल किसिमको हुँदैन किनभने भोजनको आवश्यकताभन्दा यसको आवश्यकताको स्रोत मानव शरीर र मनको भित्री तहमा लुकेर बसेको हुन्छ तसर्थ यौनको अभिव्यक्ति पनि अस्पष्ट हुन्छ । यौनक्षुधाको स्थूल अभिव्यक्तिमाथि नियन्त्रण सम्भव भएको हुनाले साधारणतया यो विश्वास सर्वसाधारणमा छ कि यौनवृत्तिमाथि पूरा विजय प्राप्त गर्न सकिन्छ ।यो भयानक ठूलो भ्रम हो जसको आधारमा हाम्रो समाजका धेरै नियम, निषेधाज्ञा र मान्यताहरु अवलम्बित छन् । यौनक्षुधाको सन्तुष्टि रतिक्रियाबाट शान्त गरिएन भने प्रकृतिले ठूलो प्रतिसोध लिन्छ । सबभन्दा ठूलो दण्ड, त्यस व्यक्तिले आफ्नो अन्तर्गतको क्षेत्रमा, मनको क्षेत्रमा, भोग्नुपर्छ । स्वाभाविक ढंगबाट, रतिक्रियाबाट यौन आवश्यकताको पूर्ति गर्ने व्यक्तिको चित्त अरु कुरा बराबर रहेका खण्डमा र तुलनात्मक दृष्टिबाट यौनक्षुधा माथि अस्वाभाविक रीतिले दमन गर्न खोज्छ, व्यक्तिको चित्तभन्दा बढी मात्रामा अस्थिर रहन सक्छ ।”

“यस सम्बन्धमा विचारणीय विषय विषमता हो जो सामाजिक नियम र मनुष्यको सहज स्वभावको आपसको बेमेलबाट उत्पन्न हुन्छ । विशिष्ट सामाजिक नियम र व्यवस्था त्यस समाजको आदर्शलाई ध्यानमा राखेर गढेको हुन्छ; जस्तो आदर्श समाजले स्थापित गर्छ त्यसको अनुरुप त्यस समाजका नियम र विधानहरु त्यसले स्थापित गर्छ । यो कुनै आवशयकता छैन कि समाजका ती उद्देश्य र व्यवस्था मानव स्वभावका मौलिक वृत्तिहरुको अनुरुप होस् वास्तवमा, अधिकांशतः सामाजिक नियमहरु मानवका सहज वृत्तिका विपरित गठित भएका छैनन् र समाजको व्यवस्था जतिजति जटिल हुँदै जान्छ उतिउति त्यसका नियम र विधानले मानव स्वभावको सहजवृत्तिको उपेक्षा गर्दें गरेको र त्यसको विरोधमा नै आफूलाई स्थापित गरेको पाइन्छ ।’

“जतिजति सभ्यताको सिँढीमा समाज उक्लिदैं जान्छ, उतिउति त्यसका सदस्यहरुको मानवीय आवश्यकताको सरल र प्राकृतिक रीतिबाट पूर्ति गाह्रो हुँदै जान्छ र परिणामस्वरुप तिनीहरुले अनेकानेक मानसिक विकृति तथा चाञ्चल्यको मूल्य सभ्यताका खातिर चुकाउनुपर्छ । असभ्य जातिहरुलाई, तुलनामा सभ्य कहलिएका जातिहरुभन्दा बढी मानसिक शान्ति छ ।”

“तेषामेवानुकम्पार्थमहमज्ञानजं तमः ।।
नाशयम्यात्मभावस्थो ज्ञानदीपेन भास्वता ।। ११ ।।
यथा दीपो निवातस्थो नेङ्गते सोपमा स्मृता ।।
योगिनो यतचित्तस्य युञ्ञतो योगमात्मनः ।। १९ ।। [गीता अध्याय १० श्लोक ११/१९]

तथा

“बौद्ध धर्मको ग्रन्थ “लंकावतारसूत्र”का सम्बन्धमा दिएको मन्तव्य “निर्वाण न म जन्मको तिरो मान्छु, न त्यसलाई ‘नष्ट हुुनु’ को अर्थमा लिन्छु । निर्वाण त्यस वस्तुस्थितिको बोध हो जसले ठीक आफ्नो स्वाभाविक रुपलाई सूचित गर्छ । आफ्नो चित्तवृत्तिहरु पूर्णतः बदलिएपछि त्यस्तो “परिवृत्ति” (आमूल परिवर्तन) आफूमा आएको अनुभव होस् कि स्वयम् आफैद्धारा आफ्नो बोध हुन थालोस्, त्यस स्थितिलाई म निर्वाण भन्छु ।”

“अश्रघोषले आफ्नो “सोन्दरनन्द” काव्यमा– “निभेका दीप न त पृथ्वीमा जान्छ, न अन्तरिक्षमा, न कुनै दिशामा विदिशामा पुग्छ; प्रत्युत; तेलको क्षय भएपछि त्यो केवल शान्तिमा प्राप्त हुन्छ । त्यस्तै, ज्ञानी, बोधिप्राप्त पुरुष न त पृथ्वीमा, न कुनै अन्तरिक, दिशा या विदिशामा पुग्छ; त्यो पुरुष क्लेशको क्षय भएपछि शान्तिमा प्राप्त हुन्छ ।”

“अहिले वृहत अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हिन्दुस्तानको कमजोर नीतिले गर्दा चीनको हमलाको कठिन मुकाबिला गर्नुपर्दा हिन्दुस्तानमो शिर कुनै उँचा हुनपुगेको छैन । हिन्दुस्तान पछि हट्तै छ । नेपालमा राजापक्ष हिन्दुस्तानको अहिलेको अप्ठयारो स्थितिमा मनमनै बडो खुसी होला ।”

“हिन्दुस्तानलाई एउटा ठूलो कुराको कमी छ, सुनिश्चित नीति जसलाई दृढतापूर्वक उसले कार्यान्वित गरोस् । हिन्दुस्तानले अपनाएको तटस्थताको नीति केवल यसको सरल पक्ष गर्दा हिन्दुस्तानले अपनाएको जस्तो छ । शीतयुद्धको वातावरणमा तटस्थताको नीति सजिलो नीति हुने. भएकोले हिन्दुस्तानलाई यसले आकर्षित गर्यो । मेरो भनाइको तात्पर्य यो हो कि तटस्थता एउटा सक्रिय (एक्टिभ) नीतिको परिणाम हुन सक्छ र यो पनि हुन सक्छ कि तटस्थताको नाउँमा पलायनवादी नीतिको अनुशरण होस् । भरखरै स्वतन्त्र भएका विभिन्न राष्ट्रहरुले तटस्थताको नीति अपनाएका छन्– धेरैले सक्रिय रुपमा होइन ।’

‘हिन्दूस्तान र चीनको लडाईको स्थितिमा त विशेष केही परिवर्तन आएको छैन; तर हिन्दुस्तानमा ठूलो मानसिक खलबली मचिएको जस्तो छ । नेहरु र उनका सल्लाहकार र सहयोगीहरुको विचारमा परिवर्तन आएको हुनुपर्छ । नेहरुले अस्ति भने कि हिन्दुस्तान अव्यावहारिक दुनियाँमा बसेको रहेछ र चीनको हमलाले एएटा स्वस्थकर धक्का दिएको छ जसबाट हिन्दुस्तानीहरु चेत्न थालेका छन् । पश्चिमी प्रजातान्त्रिक राष्ट्रहहरुको पूरा मद्दत पनि हिन्दुस्तानले पाउने भएको छ; रुसले चीनको समर्थनमा आफ्नो मन्तव्य प्रकाशित गरेको छ ।” [७/११/१९६२]

“चीन र हिन्दुस्तानको सीमाको लडाईँमा पनि एक किसिमको शिथिलता आएको छ । अखबार पढ्दा हिन्दुस्तानमा उत्तेजना र क्रोध भने धेरै छ जस्तो लाग्छ र सरकरप्रति पूर्ण आस्था पनि जनतामा प्रचुर छ । विशेष गरेर वर्तमान युद्धले गर्दा एकताको भावना पनि देशमा दृढतम भएको बुझिन्छ– तर सरकारमा भने अझै मानसिक विशृखंलता विद्यमान छ । मलाई लाग्छ– यसको कारण, एक त भारत सरकार उनीहरुले भनेकोजस्तै, अपर्झटमा परेर अर्को उनीहरु सामाजिक दृष्टिबाट प्रस्तुत नहुनु, तेस्रो रुसलाई आफ्नो पक्षमा नभए कमसेकम यस युद्धमा तटस्थ राख्ने भारतको इच्छा, चौथो, तटस्थतावादी एशियाली, अफ्रिकाली देशमा आफूलाई शान्तिवादी सावित गर्ने इच्छा ।” (१८/११/१९६२)

“आज पनि हिन्दुस्तानले एउटा’स्ट्राटेजिक’ स्थान वालोङ्गलाई छाडेर पछि हट्नुपर्यो भन्ने खबर छ । तटस्थतावादी नीतिलाई नछोड्ने भनी नेहरुले बारम्बार घोषणा गरिरहेका छन्, उद्यपि यस युद्धमा पश्चिमी राष्ट्रहरुले मात्र पूर्णरुपले भारतको सहयोग गर्ने आश्वासन र भारतले मागेका सामरिक समानहरु दिँदै आएका छन् ।” (१८/११/१९६२)

“हामीहरु चीन, भारत कलहलाई लिएर यहाँ खूब छलफल गर्छौं, र यस कलहबाट हामीहरुमाथि पर्ने प्रभावउपर पनि विचार–विमर्श गर्छौं । सुवर्णजीले आन्दोलन स्थगित गरेको घोषणा गर्दै भारत चीनको झगडाको उग्रतर हुँदै आएको स्थितिले गर्दा राजाले यस अवसरको लाभ उठाएर आफ्नो भारत विरोधी कारबाहीको चीनसँग पूर्ण ढंगसँग मिलेर चरम लक्ष्यमा लैजाने भएकोले आन्दोलनको स्थगनको निर्णय लिनुपर्यो भन्ने वक्तव्य दिएको छ । यो तर्क कहाँसम्म वास्तविक स्थितिमा आधारित छ हामीलाई थाहा छैन । आन्दोलनको स्थगनले राजालाई चाहेको खण्डमा चीनसँग मिल्नदेखि कसरी बाधा पर्छ । जबकी झन् सुवर्णजी या भारतकाप्रति सहृदय बनाउने प्ररणा छैन । राजाले पनि अस्ति प्रेसको प्रश्नको उत्तरमा सुवर्णजीको वक्तव्यको तिक्त, कुण्ठित र क्षुप्ध भाषामा जवाफ दिन खोजेको छन ।” (१८/११/१९६२)

“यदि पश्चिमी राष्ट्रहरुको आग्रहबाट आन्दोलन स्थगन भएको भए यसको अर्थ यी राष्ट्रहरु नेपाललाई दबाब दिएर पनि चीनका विरुद्ध व्यापक मोर्चामा हिन्दुस्तानको साथ दिन लाउनका लागि शायद राजाको यो तर्क कि मेरो विरुद्ध हिन्दुस्तानबाट आलोचना हुँदाहुँदै कसरी मलाई हिन्दुस्तानसँग मिलेर चीनका विरुद्ध मोर्चा लेउ भन्ने सल्लाह को दिनसक्छ– लाई उनलाई उपलब्ध नगराउन पश्चिमी राष्ट्रको आग्रहबाट आन्दोलन स्थगित सल्लाह भारतले सुवर्णजीलाई दिएको हुनुपर्छ, जुन सल्लाहको आधारमा सुवर्णजीले स्थगनको कदम चाल्नुभयो ।” (१८/११/१९६२)

“यसको माने यो हो कि राजा अब पश्चिमी राष्ट्रहरुका सम्मूख अप्ठयारोमा परे र हिन्दुस्तान पनि पश्चिमी राष्ट्रलाई राजाको चीनपट्टिको झुकावको आधार सुवर्णबाट संचालित आन्दोलनको प्रतिकृयाभन्दा गहिरो छ भन्ने प्रमाणित गरेर राजाको ‘मनूवरबिलिटी’ लाई संकुचित पार्न चाहेको होला । नत्र, आन्दोलनको स्थगन र स्थगन गर्दा दिएको वक्तव्यको अर्थ केही लाग्दैन, या आन्दोलन सेलाइसकेको थियो र भारत चीनको युद्धको मौकालाई छोपेर इज्जत बचाउँदै सुवर्णजीले आन्दोलन स्थगित गरेको हो; अर्थात् सुवर्णजीले स्थगनको घोषणा गरेर वास्तविक तथ्यउपर लज्जा निवारणका लागि वैधानिक आवरण ओढाइदिनुभयो । बुझ्न सकिएन ।” (१८/११/१९६२)

“अन्तर्राष्ट्रिय परिस्थितिमा ठूलो हलचल आएको छ, जसबाट नेपाल छुट्टा रहन सक्तैन । हाम्रा लागि यो (डेभ्लपमेन्ट) को के परिणाम हुन्छ अहिले भन्न सकिन्न; तर एउटा कुराले मलाई सन्तोष छ कि हिन्दुस्तानको अहिले बन्न लागेको मनोवृत्ति मेरो विश्वासको अनुरुप जस्तो छ । शायद, अन्ततोगत्वा हामीहरुलाई यसबाट लाभ होस् । राजाको खेल्न सक्ने क्षमता केही संकुचित भएको जस्तो छ । चीनको हौवा देखाउने बाटो शायद उनलाई अहिलेको लडाइँको पृष्ठभूमिमा उपलब्ध हुनेछैन । हिन्दुस्तानको लागि नेपालको राजा राजनीतिक दृष्टि (कुटनीतिक दृष्टि) बाट मात्र समस्याका रुपमा मान्न सकिन्छ, र चीन र हिन्दुस्तानको शीतयुद्धमा राजाले खेल्ने खूब मौका पाएका थिए तर युद्धको पृष्ठभूमिमा त्यो मौका पाउलान्? सामाजिक पृष्ठभूमिमा राजालाई कतिसम्म मान्यता दिन चाहला हिन्दुस्तानले? तर एउटा अर्को खतरा छ– त्यो हाम्रो स्वतन्त्रताको अन्त । युद्धको दृष्टिकोणबाट नेपाललाई पहिलेको जस्तो छुट दिन हिन्दुस्तान र पश्चिमी राष्ट्रले चाहलान्?” [७/११/१९६२]

“चीन–भारत युद्धमा आज हिन्दुस्तानलाई ठूलो ‘सेट ब्याक’ भएको छ जसले गर्दा आसामलाई सम्म खतरा पर्न आएको छ । नेहरुले वोमडिलाको पतनपछि आज एउटा रेडियो भाषण दिए । जसमा आसाममाथि परेको खतरालाई ध्यानमा राखेर उनले आसामीहरुलाई आश्वासन र हृदयलाई बलियो पारेर राख्नु भन्ने आदेश दिए । निश्चय नै नेहरुको भाषण हिन्दुस्तानलाई आएको खतराको द्योतक थियो । हामीहरुको यहाँको दुःखमा हिन्दुस्तानको सहानुभुति र चीनले राजाको सहानुभुति गरेकोले आजको सम्वादबाट यो क्याम्पमा निराशा आयो । रामनारायण जहाँ पैले नेहरुको कार्यकुशलता, दूरदर्शिता र बुद्धिमानीमा पूरा आस्था राखेर आश्वस्त थिए – आज उनी उत्तिकै आश्वस्तशुन्य भएका छन् । उनलाई नेहरुको क्षमतामा भरोसा रहेन । गणेशमानजी पनि बडो चिन्तित हुनुभयो । मलाई भने विशेष त्यस्तो निराशाको भावना भएन, किनभने दिल्लीमाथि न म पैले पूर्णरुपले भरोसा राख्थें, न उनीहरुको दूरदर्शितामानै मलाई बडो आस्था थियो । त्यसो हुनाले अहिलेको चीनले उनीहरुमाथि गरेको आक्रमण र उनीहरुले अहिलेसम्म सहनुपरेको पराजयले मलाई उत्ति ‘शाँक’ दिएन । यी घटनाहरु दिल्लीको ‘कम्पलासेंसी’को स्वाभाविक परिणाम जस्तो लाग्यो । तर, हामीहरु माथिको खतरा र आजको लडाइँको परिणामले झन् थपेको छ । हाम्रो भविष्य झन अन्धकारमय भएको छ ।” [१९/११/१९६२]

“यता हामी बडो उत्सुकतापूर्वक हिन्दुस्तान–चीनको युद्धलाई हेरिरहेका छौं किनभने हामहिरुमाथि यसको साझो प्रभाव परेको छ भन्ने हाम्रो विचार छ । हिन्दुस्तानभित्रै ठूलो पराजयको खबर अस्ति आयो; चीनियाँहरुले छ दिनभित्रै १६० माइल जति हिन्दुस्तानी सिमानामा घुसेर तेजपुर र उत्तर आसामलाई खतरामा पारे । हिन्दुस्तानको सामरिक कमजोरी छर्लगं भएको छ र मेरो विश्वासमा एशियाली देशहरुको असम्मान र मौकावादिताको नीतिले नैतिकता यति खसेको छ कि ताकतको प्रदर्शन उनीहरुका लागि ठूलो प्रभावकारी हुन्छ, तसर्थः यो चिनियाँ विजयले नेपाल र अरु देशमा हिन्दुस्तान विरोधी विचार झन् निरापद भएको छ । तर यो पनि हुन सक्छ कि हिन्दुस्तानको कमजोरी पश्चिमी राष्ट्रहरुलाई हिन्दुस्तानलाई बलियो पार्न कर लगाओस् जसको परिणामस्वरुप नेपालमाथि उनीहरुको दबाब पर्न थालोस् कि हिमालयको सुरक्षामा हिन्दुस्तानको साथ नेपालले देओस् । नेपालको भने झन् दबाब सहने क्षमता बढेको छ ।” (२७/११/१९६२)

 ”आज रिची काल्डरको एउटा पुस्तक ‘कमन्सेन्स एबाउट अ स्टार्भिङ्ग वोर्ल्ड’ पढें । सानो पुस्तिकामा वर्तमान क्षुधाको समस्यामा राम्रोे विचारको प्रतिपादन गरेको छ । उनको भनाइअनुसार, मानवजातिको अहिलेको सबभन्दा ठूलो समस्या जनसंख्याको असाधारण गतिबाट भइरहेको वृद्धि हो । अब २० वर्षमा दुनियाँको आवादी चार अरबसम्म पुग्छ । त्यसो हुनाले, उनको विचारमा, समस्याको गम्भीरता समयको अभावले गर्दा झन् भयकंर हुन आएको छ । यस सम्बन्धमा जुनसुकै व्यवस्थाले पनि कालले द्रुतगतिसँग छोप्दै आएको मानव समाजको चरम स्थितिलाई ध्यानमा राख्नुपर्छ । चुनौती यो होइन कि जनसंख्यामा वृद्धि भएको छ; चुनौतीको गम्भीरता त समयको अभावमा छ समयको अभाव नभएदेखि समस्या त्यति च्यापाच्याप गर्ने थिएन ।” [१८/१२/१९६२]

“दुई वर्ष हुन लागिसक्यो हामी थुनिएको, बाहिरका साथीहरुले आफ्नो सामथ्र्यअनुसार भरमग्दूर गरिरहेका छन्, तर प्रभावकारी एक्सन हुनसकेको छैन ।”

“बाहिरकाले आफ्नो सारा अण्डाहरु एउटै टोकरी हिन्दूस्तानमा राखेकाले पनि हाम्रो आन्दोलनमा केही कमजोरी आएको छ । हिन्दूस्तानमा मात्र पूरा भर पर्दा उसको खटनमा हाम्रो लडाईको गति निर्भर भएको छ । हिन्दुस्तानको टेवाको आवश्यकता त हामीलाई थियो तर उसैमाथि हाम्रो चारै गोडा टेकिन जाँदा हाम्रो आन्दोलनमा भित्तामा पीठ्यूँ अड्याउने भावना आउन सकेन।”

“गुरिल्लाको लडाईँमा यो भावना आउनु परमावश्यक छ । आखिर छ–सात हजार राजाको पल्टनलाई हारावारा खेलाउन नसकिने कुरा होइन यदि सही अर्थमा गुरिल्ला किसिमको लडाईँ यहाँ प्रारम्भ गरेदेखि । राजाको टेवा पनि त त्यही छ–सात हजारको पल्टन छ । यस पल्टनको राजभक्तिको पनि परिक्षा हुन पाएको छैन । कुनै ठाउँमा पनि यसलाई केही कडा किसिमको हमला भए यसको राजभक्तिको राम्रो परीक्षा हुने थियो । मेरो विचारमा, धेरै जस्तो हाम्रो पक्षमा लाग्ने थिए ।” 

“बाहिरका हाम्रा साथीहरु अहिले एकदम चुप्प छन् । चीन र हिन्दुस्तानको संघर्षले अहिले हाम्रो स्थिति अत्यन्त नाजूक बनाएको छ । हाम्रो आन्दोलन अहिले एउटा विकट परिस्थितिबाट गुज्रन थालेको छ । हाम्रा साथीहरु आफ्ना सबै अण्डा एउटै टोकरीमा राखे (हिन्दुस्तानी टोकरीमा) । त्यसो हुनाले हाम्रो आन्दोलनको स्वतन्त्र संचालन हाम्रा साथीहरुको हातमा पूर्ण रुपले नभएको जस्तो छ । आखिर, उनीहरुले गर्नसक्ने पनि अरु के थियो र हिन्दुस्तानबाहेक हाम्रो मद्दत गर्ने अन्तर्राष्ट्रिय क्षेत्रमा अरु कोही छैन । चीन राजाको गठबनधन पुरानो हो ।’ (२५/१०/१९६२)

“तुलसी गिरीको चीनपक्षीय नीति पहिलेदेखि नै सर्वविदित कुरो थियो । यस अवस्थामा हिन्दुस्तानको मद्दत लिनपुग्नु हाम्रा साथीहरुलाई स्वभाविक लाग्यो होला तर, हिन्दुस्तानो नीति अत्यन्त कमजोर भएकोले भर पर्न गाह्रो पर्छ । दुई वर्षदेखि उनीहरुले आफ्नो कमजोर नीतिले गर्दा राजालाई झन्झन् बलियो बनाउँदै गए र हामीलाई हिन्दुस्तानको शरणमा पुग्ने अराष्ट्रियतत्वको संज्ञा दिलाउँन राजालाई सजिलो पारे । अहिले वृहत अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हिन्दुस्तानको कमजोर नीतिले गर्दा चीनको हमलाको कठिन मुकाबिला गर्नुपर्दा हिन्दुस्तानमो शिर कुनै उँचा हुनपुगेको छैन । हिन्दुस्तान पछि हट्तै छ । नेपालमा राजापक्ष हिन्दुस्तानको अहिलेको अप्ठयारो स्थितिमा मनमनै बडो खुसी होला ।”(२५/१०/१९६२)

“हाम्रो आन्दोलन पूर्णरुपले असफल भयो । राजाले जिते ।यो हाम्रो पराजयले ठूलो निराशाको वातावरणलाई सिर्जेको छ । जनशक्तिको ठूलो हार भयो । यसको मुख्य कारण आन्दोलनका सञ्चालकहरुको नेतृत्वहीनता र उनीहरुमा हिम्मतको कमी र साथै उनीहरुले पूर्णरुपले हिन्दुस्तानमाथि मात्र आधारित भै बस्नु – जुन हिन्दुस्तान स्वयम् आफै आफ्नो कमजोर र अदूरदर्शी नीतिको शिकार आफै भइरहेको छ, चीनको हातबाट । हिन्दुस्तान उपर सारा आधार राख्नु बडो ठूलो गल्ती थियो हाम्रा मानिसहरुको । हिन्दूस्तानको नीति पनि हाम्रा सम्बन्धमा स्पष्ट र ‘एबोभ बोर्ड’ थिएन । अब अहिले उनीहरुलाई चीनबाट भएको विपत्तिपूर्ण परिस्थितिमा हिन्दुस्तानले राजासँग हात मिलाउनुपर्ने भएको र हामीलाई त्याग्ने । बाहिरका हाम्रा मानिसहरुलाई बडो ठूलो अप्ठयारो परिस्थिति परेको छ । मलाई लाग्दैन कि उनीहरुबाट कुनै बाटो निस्किन सक्छ । अस्ति गिरी दिल्लीको सात दिनको यात्राबाट नेपाल फर्के । राजा आफ्नो कुरो दिल्लीमा मिलाउँदैछन्, र अब उनी शक्तिको स्थलबाट दिल्लीसँग कुरा मिलाउन सक्छन् । केही दिनका लागि हाम्रो सुर्य अस्त भयो ।” [१४/१२/१९६२]

“राजाको लाइन अफ एक्सनलाई बाहिरकाले नबुझेको जस्तो लाग्छ । त्यसो हुनाले बाहिरकाले आफ्नो कार्यक्रम परिस्थिति अनुकूल बनाउन सकेनन् जस्तो हामीलाई यहाँ [जेलमा] लाग्छ ।”

“हिन्दूस्तान त पूर्ण रुपले बेवकुफ बनेको छ ।”

“राजामाथि केवल शारीरिक बलको मात्र दवाब पर्न सक्छ, राजनीतिक दबाब उसमा पर्दैन । देशको भविष्यको लागि ख्याल गर्ने राजा भएको भए राजनीतिक दबाब उसमा पर्न सक्थ्यो ।”

“अर्को कुरा, राजा अत्यन्त कल्पनाहीन व्यक्ति हुन् । शारीरिक बल प्रयोग मात्र उसमाथि काम लाग्छ ।”

“दुई वर्ष हुन लागिसक्यो हामी थुनिएको, बाहिरका साथीहरुले आफ्नो सामथ्र्यअनुसार भरमग्दूर गरिरहेका छन्, तर प्रभावकारी एक्सन हुनसकेको छैन । बाहिरकाले आफ्नो सारा अण्डाहरु एउटै टोकरी हिन्दूस्तानमा राखेकाले पनि हाम्रो आन्दोलनमा केही कमजोरी आएको छ । हिन्दूस्तानमा मात्र पूरा भर पर्दा उसको खटनमा हाम्रो लडाईको गति निर्भर भएको छ । हिन्दुस्तानको टेवाको आवश्यकता त हामीलाई थियो तर उसैमाथि हाम्रो चारै गोडा टेकिन जाँदा हाम्रो आन्दोलनमा भित्तामा पीठ्यूँ अड्याउने भावना आउन सकेन । गुरिल्लाके लडाईँमा यो भावना आउनु परमावश्यक छ । आखिर छ–सात हजार राजाको पल्टनलाई हारावारा खेलाउन नसकिने कुरा होइन यदि सही अर्थमा गुरिल्ला किसिमको लडाईँ यहाँ प्रारम्भ गरेदेखि । राजाको टेवा पनि त त्यही छ–सात हजारको पल्टन छ । यस पल्टनको राजभक्तिको पनि परिक्षा हुन पाएको छैन । कुनै ठाउँमा पनि यसलाई केही कडा किसिमको हमला भए यसको राजभक्तिको राम्रो परीक्षा हुने थियो । मेरो विचारमा, धेरै जस्तो हाम्रो पक्षमा लाग्ने थिए ।”

“राजालाई प्रतिहिंसाको भावनाले छाड्न सकेको छैन, नत्रभने नोनालाई मानवीय आधार (ह्युमनिटेरियन ग्राउण्ड) मा [जेलबाट] छाडेदेखि सरकारलाई केही बित्तो पर्ने थिएन । माफी नमगाइकन कसैलाइ छाडेको छैन, जो उनको चंगुलमा पर्न गयो त्यसका प्रति उनको व्यवहार प्रतिहिंसाको भावनाले प्रेरित भएको छ । यस्तो स्थितिमा रमेशको कुरामा मलाई केही विश्वास हुँदैन कि राजा सम्झौताका लागि तयार छन्, केवल मेरो ‘इनिसिएटिभ’ को प्रतीक्षा मात्र छ ।” (२४/०७/१९६३)

“राजालाई बुझ्न केही गाह्रो छैन, यदि उनले शिष्टाचारको मुकुण्डोभित्रको अनुहारलाई हेर्ने प्रयत्न गर्यो भने । उनी निश्चय नै मृदुभाषी छन् र वचन र कार्यमा तादाम्य राख्ने जरुरत नपर्ने भएकोले वचनमा उदार पनि । षडयन्त्रको लामो चाल सोच्ने व्यक्तिले हडबडीको लक्षण पनि देखाउनु पर्दैन । शिक्षा र व्यापक अनुभवको कमीले उनको बाह्यचरणमा भ्रमोत्पादक सरलता र मनमा छलकपटको निद्र्वन्द्व एकाग्रता पाइन्छ । यद्यपि यी सब चारित्रिक लक्षण वास्तविक सफलताका लागि बाधक हुन्, तर तात्कालिक र सामयिक परिणाम यिनीहरुले यिनका माथिल्लो पक्षमा दिन्छन् अर्थात् मानिसहरु धोका खान्छन् र मुकुण्डोलाई नै वास्तविक अनुहार हो भन्ने धारणाले मुकुण्डो भिरेको व्यक्तिको पक्षमा तात्कालिक मत दिन्छन् । मलाई यसप्रकारको धोखा खूब भएको छ राजासँग ।” (२४/०७/१९६३)

‘अहिलेसम्म त धेरैले चिनिसकेका होलान् र यदि हामीहरु जेलमा बन्दी छौं भने उनको राजनीतिक बुद्धिचालको सिकार भएर होइन कि उनी बुद्धिचालमा पराजित भएपछि आफ्नो मुकुण्डो फ्याकेर नग्नतामा उत्रेर सैनिक शक्तिको उनको. प्रयोगबाट हामी बन्दी अवस्थामा पुग्न गएका हौं । सैनिक प्रयोग हाम्रा विरुद्ध यस कुराको घोषणा हो कि राजनीतिमा उनको अन्तिम पराजय भएको छ । रमेश बिचराले यो कुरा बुझेनन् । नोनाले बुझेकी छन् । केही दिनअघि एउटा राजनीतिक (सेमिनार) छलफलको आयोजना गरिएको रहेछ जसमा तुलसी गिरीले राजतन्त्रको उपयोगिता नेपालका लागि सबभन्दा बढी छ भन्ने स्थापनाका साथै अर्को यो स्थापना पनि दृढतासँथ राखे कि राजतन्त्र भनेको एकतन्त्र हो (हुकुमी राज्य) । उनले उदाहरण दिँदा भने कि इङ्गलैण्डमा राजतन्त्र छैन । उनी वैधानिक राजतन्त्रमा विश्वास राख्दैनन् । उनको यो स्थापनाले राजाको वास्तविक रुप – अनुहार हेर्न सबैलाई सजिलो पारेको छ । तानाशाही राजाको अनुहार ।”

“राजालाई बुझ्न केही गाह्रो छैन, यदि उनले शिष्टाचारको मुकुण्डोभित्रको अनुहारलाई हेर्ने प्रयत्न गर्यो भने । उनी निश्चय नै मृदुभाषी छन् र वचन र कार्यमा तादाम्य राख्ने जरुरत नपर्ने भएकोले वचनमा उदार पनि । षडयन्त्रको लामो चाल सोच्ने व्यक्तिले हडबडीको लक्षण पनि देखाउनु पर्दैन । शिक्षा र व्यापक अनुभवको कमीले उनको बाह्यचरणमा भ्रमोत्पादक सरलता र मनमा छलकपटको निद्र्वन्द्व एकाग्रता पाइन्छ । यद्यपि यी सब चारित्रिक लक्षण वास्तविक सफलताका लागि बाधक हुन्, तर तात्कालिक र सामयिक परिणाम यिनीहरुले यिनका माथिल्लो पक्षमा दिन्छन् अर्थात् मानिसहरु धोका खान्छन् र मुकुण्डोलाई नै वास्तविक अनुहार हो भन्ने धारणाले मुकुण्डो भिरेको व्यक्तिको पक्षमा तात्कालिक मत दिन्छन् । मलाई यसप्रकारको धोखा खूब भएको छ राजासँग ।” (२४/०७/१९६३)

“अझ पनि कसैलाई शंका छ कि राजा तानाशाह हुन बाहेक अरु कुरो पनि चाहन्छन् भने त्यस शंकाको कुनै औषधि छैन । के हामी यसप्रकारको अग्राह्य स्थापनालाई, नेपालमा राजतन्त्रको आवश्यकता छ अहिलेका लागि भन्ने तर्कमा आधारित गरेर कुनै अंशमा पनि स्वीकार गर्न सक्छौँ ? राजाको व्यवहार र आचरणले र उनका प्रवक्ता तुलसी गिरीको स्थापनाले राजतन्त्रसँग सम्झौता गर्ने प्रश्नलाई जटिलतर बनाएको छ । राजतन्त्रको स्वीकार्य रुप जस्तो भएपनि, तानाशाही रुप कदापि होइन ।(२४/०७/१९६३)

“गृह–सचिवले सरकारी रुपैयाँका बापत मलाई सोधेर चिठी लेखेको छ । प्रधानमन्त्री छँदा चीन र संयुक्त राष्ट्रसँग जाँदा लिएको खर्चको पूरा विवरण मेरो निजी सचिवले दिउको छैन रे । म यहाँबाट यस सम्बन्धमा के भन्न सक्छु र ? मलाई यस सम्बन्धमा केही थाहाँ छैन । आखिर मेरो जिम्मेवारी पनि छैन यसमा । कुमारमणिको जिम्मेवारीको कुरा हो यो ।”

“यस पत्रको उत्तर दिन उचित हुन्छ कि हुन्न भन्ने प्रश्न उठेको छ । हाम्रो संघर्ष आज राजा – जसले वर्तमान शासन व्यवस्थाालाई कायम गरेको छ – सँग छ । पौष १ गते राजाले लिएको कदम अन्याय मात्र होइन कि अवैधानिक पनि छ; तसर्थ त्यस दिनको घोषणाबाट स्थापित सरकारको वैधानिक आधार छैन । यस दृष्टिले यो सरकारसाग कुनै किसिमको पत्र–व्यवहार उचित हुनेछ?”

“तर साथै यो पनि प्रश्न छ कि व्यावहारिक दृष्टिबाट आफ्नो राजनीतिक स्टैन्डलाई कुनै प्रकारको आँच आउन नदिएर साधारण, जस्तै आज मैले पाएको पत्रको उत्तर, किसिमको पत्र–व्यवहर गर्नमा अनुचित छ ? अहिले हडबडी नै के छ र ? केही दिन सोचूँ, यसबारे के गर्नुपर्ने हो ?”

“स्टीफेन ज्वीगको मेरी आण्टोएनेट आज सिध्याएँ । अत्यन्त रोचक जीवन–चरित्र रहेछ । ज्वीगले बडो सहानुभूतिले आन्तोएनेटको चरित्र वर्णन गरेको छ । एउटी साधारण नारी, इतिहासको असाधारण अवस्थितिमा आण्टोएनेट कुनै उल्लेखनीय रानी हुने थिइन् तर इतिहासको असाधारण परिस्थितिमा परेर त्यस साधारण रानीले ठूलो ‘ट्रेजिक’ पात्रको रुपमा प्रकट भएर एउटा गौरवमय अन्तलाई अंगीकार गर्नुपर्यो ।”

“किताबले मेरो आजको उदासीलाई झन् बढाएको छ । आण्टोएनेटप्रति मेरो सहानुभूति र भावना उन्मुख गर्न थाल्छु । मलाई लाग्न थाल्छ – के क्रान्तिले जहिले पनि निम्नस्तरीय व्यक्तिहरुको हातमा आफूलाई सुम्पेर आफ्नो महान् आदर्श र लक्ष्यलाई बिस्तारबिस्तार परित्याग गरेर विकृत स्वरुप धारणा गर्नुपर्छ ?”

“पानी जहिले पनि तल्लो सतह खोज्छ, के त्यस्तै क्रान्ति पनि यसमा लागेका आदर्श पुरुषहरु, दार्शनिक, कलाकार, साधारण व्यक्तिहरु, बदमाश, लुच्चाहरु घृणा र वासनाका अर्धमानव प्रतिमूर्तिहरुमध्ये तल्लै सतहका अर्धमानवहरुलाई खोजिहिँड्छ र त्यहाँसम्म नपुगुन्जेल यसको ध्याउन्न बनी रहन्छ; यो वेगवान् भै रहन्छ र त्यो तल्लो सतहमा पुगेपछि मात्र यसको वेग परिसमाप्ति हुन्छ ?”

“यहाँ नेपालको क्रान्ति भयो भने त्यसको यो लक्षण प्रारम्भमै प्रकट हुन दिनुहुन्न । अनावश्यक हिंसाको प्रारम्भ जस्तोजुकै सानो रुपबाट प्रकट भएपनि अन्तमा क्रान्तिको आदर्श र उच्च लक्ष्यको ठाउँमा हिंसा शायद अनिवार्य हुन्छ; तर हिंसाले अनिवार्यताको सीमामा रहन सक्यो भने क्रान्तिको आदर्शलाई यसले कति कलुषित पार्न सक्दैन । अनावश्यक हिंसा प्रारम्भ भयो भने फेरि परिणाम एउटै हुन्छ – हिंसा केवल हिंसा । क्रान्तिमा हिंसाको बाटो सजिलो हुन्छ । हामीले यो बाटो खोज्नुहुन्न– सजिलो छ भनेर।”

“स्टीफेन ज्वीगको बिवेयर अफ पिटी आज थालें । यो नारायण बासकोटाको किताब तीन–चार महिनादेखि यहाँ मसँग थियो; अस्ति माग्न पठाएकोले सिध्याउनुपर्यो भनेर पढ्न थालें । अहिलेसम्म त राम्रै चलिरहेको छ; तर ज्वीगलाई अलिक लम्ब्याएर भन्ने बानी छ । प्रत्येक ‘डिटेल’ लाई स्पष्ट गर्न खोज्छन् । भाषा राम्रो छ । कतैकतै भने सेन्टिमेन्टल शैली जस्तो लाग्छ ओरेटोरियल शैली ।” (२० अक्टोबर १९६२)

“राम्रै लाग्यो । ज्वीग प्रथम श्रेणीका लेखक होइनन्; द्धितीय श्रेणीमा उच्च सम्मान छ उनको । आजकलका मानवीय समस्याहरुको सूक्ष्म विश्लेषण उनको रचनामा पाइन्न; न मनोवैज्ञानिक सूक्ष्मता नै पाइन्छ उनको चरित्र रचनामा । एकप्रकारको कलाको क्षेत्रमा उनलाई बुर्जुवा भने हुन्छ । बिवेयर अफ पिटीमा दयाको भीषण परिणाम देखाएको छ । त्यसको दाँजोमा डाक्टर कोन्डरको रचनात्मक दया (क्रिएटिभ पिटी) लाई प्रस्तुत गरेको छ । डाक्टरले अन्धीलाई बिहा गरेर त्योसँगको जीवन निर्वाह गर्नु रचनात्मक किसिमको दया हो । लप्टेनको कुँजी युवतिप्रतिको दया भने केवल भावनात्मक (सेण्टिमेण्टल) मात्र थियो जसले गर्दा अन्तमा एउटा ठूलो भीषण परिणाम हुन गएको छ । त्यसो हुनाले ज्वीग भन्छन् – दयादेखि सावधान! (बिवेयर अफ पिटी)।”

“ज्वीगको लामो लेख्ने बानी छ । छोटकरीमा केही प्रभावयुक्त वाक्यद्धारा परिस्थितिलाई स्पष्ट गरेर छ्याङ्ग पार्न सक्तैनन् उनी । बीच–बीचमा उनको अर्को बानी पनि प्रकट हुँदै जान्छ– एपिग्रामेटिक एक्सप्रेसन) वश लेख्ने । एपिग्राम्स पढ्दा राम्रो लाग्छ, तर त्यस्ता वाक्यमा बुद्धि, कौशल र शब्दचातुर्य अधिक रहन्छ वनस्पति सत्यांशको । ‘बिवेयर अफ एपिग्राम्स भन्नुपर्ला जस्तो लाग्छ । भाषा राम्रो छ ।” (६ /०७/२०१९)

“सुत्नुभन्दा पहिले रविबाबुको एउटा कथा पढें– अध्यवर्तिनी । उनका कथाहरुमा, काबुलीवाला जस्ता केही कथाहरु बाहेक, कथाको रस कम्ती रहन्छ । भाषाको माध्यमले मात्र उनका कथाहरु जीवित हुन्छन्, तर त्यसका पात्रहरु जीवित प्राकृतिक वाणीले बोल्दैनन्, उनको जीवन सानो रविबाबुको बगैंचाको शिशगृहको न्यानो वातावरणमा हुर्केको छ । कथाको प्रारम्भ बडो आशाका साथ हुन्छ, बीचबीचमा जीवन्त झल्को पनि पाइन्छ, तर अन्तमा पाठकलाई फुस्सा हात लागेको अनुभव हुन्छ ।”

“म बाङ्गला भाषामा उनका कृतिहरु पढ्ने प्रयत्न गर्छु । हुन सक्छ भाषाको न्यून ज्ञानले पनि उनका कथाहरुमा, कविताहरुमा पनि – असाधारण विशेषता पाउँदिनँ । तर भाषालाई राम्ररी नबुझेको अनुभव मलाई हुन्न किनभने हाम्रो भाषा, या हिन्दी र बाङ्गलामा ठूलो भिन्नता छैन । संस्कृत यी भाषाहरुको आधार भएकोले हाम्रो बौद्धिक चेतनामा संस्कृत वाङ्मयको व्यापक असर समान रुपले परेको छ । त्यसो हुनाले बाङ्गला मेरा लागि मातृभाषा नभए पनि विदेशी भाषा होइन ।” (नोभेम्बर २५, १९६१)

“टेनिसिनको लोटस इटर नामको कविता पढें र राम्रो लागेर राम्रो कापीमा सारे । यस कविताको संगीत मलाई मन पर्यो। आलस्य र श्रम जनित तन्द्रा–सुखको वातावरण एक किसिमले मोहक पनि छ । शब्द सुन्दर छन् र वातावरणलाई उपयुक्त बनाउन कवितामा शब्दध्वनि पनि उपयुक्त छ । मेरो आजको मनोभावना र मानसिक थकानको प्रतिविम्ब यसमा पाइन्छ ।” (15/02/61)

“लेजरक्वीष्टको किताब ‘सिविल’ अस्ति घरबाट पठाइदिएको रहेछ । मानव अनुभूति र मानवलाई प्राप्त हुनसक्ने देव अनुभवको विश्लेषण गरिएका किताबहरुले मेरो हृदयको धार्मिक–आध्यात्मिक पक्षलाई स्पर्श गर्छ । सिविललाई धेरै दिनअघि मैले एकचोटी पढिसकेको थिएँ बडो–अभिरुचिका साथ यहाँ पढें । झन् मेरो यहाँको मनस्थितिमा मलाई यसको मर्म झन् गम्भीर र असाधारण लाग्यो । यसको शैली र भाषाको सरलता प्रायः बाइबलको जस्तै छ । त्यसलाई अनुवाद गर्न थालेंँ । मलाई आठ दिन लाग्यो– अनुवाद गरी सिध्याउन । अनुवादमा मैले “देवदासी” भन्ने नाम राखें । आठ दिन जति म अनवाद गर्नमा व्यस्त रहें । मलाई लाग्यो कि यहाँको भारी र अल्छी लाग्दो समयलाई बिताउन अनुवाद कार्य पनि उपयोगी हुनसक्दो रहेछ । अरु किताबहरुलाई यहाँ बसीबसी अनुवाद गर्ने विचार लिएको छु ।” (२ मार्च १९६१)

“आज एउटा बडो बेचैन गराउने किताब पढें । ताराशंकर बन्दोपाध्यायको सप्तपदी सानो नोबेलको हिन्दी अनुवाद । बेचैन, ईश्वरका सम्बन्धमा, मानव जीवनमा उनको अभिव्यक्ति लेखकले उठाएको प्रश्नले गराउँछ । कष्ठ–रोगले पीडित कृष्णस्वामीको अन्तिम चित्रण के दैवी अभिव्यक्ति प्रमाण हो ? आखिर कृष्णस्वामी एउटा महान् मानवीय अर्थमा इश्वरीय प्रेरणा प्राप्त संन्यासी थिए। उनलाई ईश्वरको बाटोमा हिँडेको हामी देख्थ्यौं, तर किन अन्तमा उनले कोढको शिकार हुनुपर्यो ? के मानवले ईश्वरको वरदान सदैव क्रस (क्रस) को छाप (स्टिग्मटा ) या कोढको विकृति मोहरको रुपमा शरीरमा धारण गर्नुपर्छ? किन? सुन्दर स्वास्थ्य वरदानको अधिकारी मानिस छैन ? ईश्वरको लीला अगम्य भनेर छुट्टी लिने इच्छा हुँदैन – किनभने यस कुरामा कुनै अगम्यताको बोध हुँदैन कि ईश्वरले आफूलाई कसैमाथि खन्यायो भने पियूष वर्षा उसमाथि हुँदैन, उसमाथि बर्सिन्छ शरीरलाई डाम्ने किसिमको कालिमामय गरलाधार । यस सत्यमा कुनै अगम्यता छैन । दैवी न्यायमा कुनै रहस्यता बोध हुँदैन । एउटा कठोर निर्मम विकृति नियम यसबाट लक्षित हुन्छ ।” (१३/०३/१९६२)

“तारा शंकर भन्छन् – ईश्वरको तपस्या हो मनव जीवन – जुन अग्निकुण्डमा कनुष्य समिधाको रुपमा होमिन्छन् । राम्रो भाषा; कवित्वपूर्ण भावना । तर सत्य? ईश्वरको तपस्या कसरी हुन गयो मानव जीवन ? किन हामी तर्क, बुद्धि र प्रारम्भिक नैतिक भावनाको विरुद्ध यो मानौ हामी केवल समिधा हौं ? ईश्वरको तपस्या लक्ष्य के ? कुन महान लक्ष्यका लागि जीवनको अग्निकुण्डमा लाखौंलाख प्राणीलाई स्वाहा गरिन्छ ?” (१३/०३/१९६२)

“यो पुस्तक शुद्ध कथाको दृष्टिमा– चरित्रको विश्लेषण, कथाको स्वाभाविकता, आदिलाई विचार गरेका खण्डमा – एउटा ठूलो रचना भन्न सकिन्न । धर्म परिवर्तन, वर्ण शंकर, पुत्रीको उद्धिग्नता, पिताको अवज्ञा इत्यादि त्यस्ता मार्मिक आधार होइनन्, कमसेकम कृष्णेन्द्र र रोनाजस्ता उद्बुद्ध प्राणीहरुका लागि, जुन आधारमा त्यत्रो ठूलो ट्रेजेडी खडा हुन सकोस कि जस्तो कि लेखकले गरेको छ, तर लेखकको उद्देश्य कथाको स्वाभाविकता भन्दा पनि वेसी ईश्वरी प्रेरणा मानव जीवनमा कसरी प्रकट हुन्छ? भन्ने प्रश्न पाठकका सामुन्ने उपस्थित गर्नु थियो । कथाको कमजोरीले यो प्रश्नको महत्तालाई शिथिल पार्न सकेको छैन ।” (१३/०३/१९६२)

“गुरुदत्तले लेखेको सहत्रबाहू पढें । विज्ञान र धर्म यी दुई विषयको द्वन्द्वलाई लिएर यो उपन्यास लेलिएको छ । भौतिकवाद र अध्यात्मवादमा लेखकले आफ्नो पक्ष अध्यात्मवादलाई चुनेको छ । अध्यात्मवाद (स्पिरिटुअलिज्म) लाई जीवनमा केही अंशमा आवश्यक मान्नु पर्नेले पनि यसलाई रुढिवादी विश्वासका साथ जोर्ने प्रयास गरेको देख्ता एकप्रकारको वितृष्णा भएर आउँछ । भौतिकवादको चरमस्थिति स्वार्थ, इन्द्रियसुख र असन्तोषको हाहाकार हो भने अध्यात्मवादको चरमस्थिति पनि रुढिगत विश्वास, व्यवहार र बौद्धिक अन्धता हो । लेखक अध्यात्मवादको पक्ष लिँदालिँदा अन्धविश्वास र ‘अब्स्कुराण्टिज्म’ को पक्षपाती भएको पाइन्छ ।” (२६/१०/१९६२)

सन्तुलित पक्ष – चाहे भौतिकवाद होस् या अध्यात्मवाद – ग्राह्य हुन्छ; तर दुवै चरम पक्ष दोषपूर्ण छ किनभने एकाङ्गी भएकोले यस्ता चरमपक्ष जीवनमा घातक साबित हुन सक्छन् । गुरुदत्त सफल लेखक होइनन्, यद्यपि यिनले हिन्दीमा धेरै किताब लेखेका रहेछन्, तर मैले यिनको यो पहिलो उपन्यास हो जो पढ्न पाएँ । भाषामा कुनै रस छैन । उपन्यासको दृष्टिबाट पनि, विचारको दृष्टिबाट मात्रै होइन यो अत्यन्त साधारण ग्रन्थ रहेछ ।” (२६/१०/१९६२)

‘धरणीधर दाइले [पत्र लेखेर] राजा र ममा सुलह हुन सके – वहाँबाट सुलह गराउन सके कत्रो राम्रो कुरो हुने थियो भन्ने संकेत गर्नुभएको छ । कस्तो सुलह? म अचानक, मेरा साथीहरुका साथ गिरफतार गरिएँ, अचानक देशमा एक व्यक्तिको हुकुमी शासन स्थापित भयो; अचानक देशले एउटा बाटोमा अग्रसर भइरहेको अवस्थामा ठूलो बाधा पायो; अकारण देशमा एउटा विषम परिस्थिति उत्पन्न गरियो । किन? मैले के त्यस्तो कुरा गरेको थिएँ जसबाट यत्रो ठूलो कदम लिनुपर्ने खण्ड राजालाई पर्यो ? मलाई आफ्नो गल्तीको अनुभव हुँदैन ।’

“डा. गिरी भन्थे कि राजा मसँग ईर्ष्या गर्छन रे । किन ? म देशका लागि राजाको आवश्यकताको पक्षपती मसँग ईर्ष्या र डाहा किन ? – म उनीसाग तर्क गर्थे ।”

“मेरो अझ पनि विश्वास छ – व्यक्तिगत दृष्टिबाट मलाई जतिसुकै कष्ट पुगेको होस्, अथवा मेरो आस्थामा जत्रो ठूलो चोट पुगेको होस् पौष १ को घटनाले ममाथि जस्तो ठूलो विश्वासघात गरिएको होस् – कि देशमा राजा र संसद दुवैको राम्रो सम्बन्ध भएको प्रजातान्त्रिक प्रणालीको आवश्यकता छ । राजाले केवल मिलिटरीको जोरमा हुकुमी शाशन चलाउँछु भन्ठान्नु ठूलो भूल हो । साथै देशको वर्तमान अवस्थामा राजाको अस्तित्वको परवाह नै नगर्नु पनि उत्रै ठूलो भूल हो । दुइटै शक्तिको हार्दिक मेलमा देशको रथ अगाडि बढ्छ; विकास कार्य राष्ट्रिय आधारमा सम्पन्न गर्न सकिन्छ; र राष्ट्रको अन्तर्राष्ट्रिय सम्मान बढ्छ ।”

“अहिले जुन तरिकाबाट हामीमाथि अत्याचार गरिएको छ, त्यसबाट स्वभावत: हृदयमा ठूलो तिक्तताको बाढी आउँछ; यस्तो क्रोधको वेग पनि आउँछ जसमा परिणाम – देश र व्यक्तिमा निश्चित परिणामको प्रवाह नगरेर यो घोषणा गर्ने इच्छा हुन्छ कि नेपालका लागि गणतन्त्र अब आवश्यक भएको छ, तर क्रोधको वेगमा देशको चिन्तन सम्भव हुँदैन । क्रोधमा आएर उठेको यो विचार एक पौषको शाही कदममा निहित विचार जस्तै मूर्खतापूर्ण र स्वार्थपरायण हो । राजाको स्थान हाम्राृ राजनीतिमा के हुुुनुपर्छ भन्ने मेरो पुरानो विचारमा एक पौषको घटनाले परिवर्तन ल्याउन सकेको छैन ।”

“रानी एलिजावेथको आगमनको चहलपहल थियो । यहाँका मानिसहरुलाई बडो उत्सुकता थियो उनको आगमनमा । उनी आइन्, गइन् । फेरि काठमान्डौले आफना साधारण दैनिक जीवन अख्तियार गर्यो ।

एलिजावेथको आगमनले पैदा गरेको हलचलको सानो लहर हामीसम्म पनि आयो; हामीलाई गार्ड गर्ने सिपाही, अफिसरहरु मार्फत र सिंहदरबारको तयारी मार्फत ।

पुनः हाम्रो भित्रको वातावरण यथावत भयो; रानी राम्री थिइन्, त्यस्तै – त्यस्तै रहिछिन्, राम्ररी देख्न पाइएन भन्नेसम्म हामीले यहाँ सुन्यौं, तर अब त्यो पनि सुनिन छाडियो ।

उनले बोलेका र हाम्रा राजाले बोलेका कुरा हामीले हेर्यौं; तिनीहरुमा विशेष केही पाएनौंं । राजाले उनलाई दिएको भोजको उनको भाषणमा केही हेरफेर भएछ, तेसका लागि केही खलबल पनि भएछ, तर मैले त्यस खलबलीमा पनि केही अर्थ देखिनँ।”