“प्रजातन्त्र दिवस यसपालि सरकारी पक्षबाट बडो धूमधामसँग मनाइयो रे– एउटी कूलटाले पतिव्रताको स्वाँग गरेजस्तो, तर यसले पनि मलाई सन्तोष दियो, किनभने यो एउटा नयाँ पुष्टि थियो पुरानो भनाइको कि अधर्मले देखावटी अनुशरण गरेर धर्मको बडप्पनलाई स्वीकार गर्छ । आज जुन व्यक्तिले आफ्नो भयानक अहंकारमा देशमा प्रजातन्त्रलाई निमोठेर राखेको छ, त्यस व्यक्तिले नै बारम्बार घाँटी सुकाउने गरी प्रजातन्त्रको नामको दुहाई दिनु परेको छ ।”

“अस्तिको टुँडिखेलमा रचिएको नाटक – प्रजातन्त्र दिवस, जसका सबै पात्रहरुका हातमा निमोठिएका प्रजातन्त्रको ताजा रगत, कम या बेसी अझै छदैँ छ, एउटा ठूलो परिहास, व्यंग्य र बिडम्वना थियो । राणा काललाई सम्झाउने सलामी दिइयो रे, जय जयकारले आकाश गुञ्जायमान भयो रे; हेलिकप्टरले पुष्पवृष्टि गर्यो रे; गुब्बारा उडाइयो रे, एउटा बिशाल रमिता थियो रे– निर्जीव स्पन्दनहीन मृत्युको अनुहारको हाँसो, तर के त्यहाँ केवल निर्जीवता, शुन्य निर्जीवता मात्र थियो त ? के त्यहाँ केवल संगीन र बन्दुक, फेरि संगीन बन्दुक, नसिद्धिने गरी संगीन र बन्दुक, स्वास्नीमानिस जस्तै विभिन्न गहना, तक्मा इत्यादिले सिंगारिएर आएका व्यक्ति, इन्द्रधनुषलाई बिर्साउने गरी रंगीचंगी पोशाक लगाएका पुरुषबाहेक–तिनीहरुलाई विस्फारित नयनले हेर्न आउने रमिते आइमाइबाहेक हरु कोही थिए ? के प्रजातन्त्र दिवस त्यसरी मनाइयो ?”

“हामीलाई थाहा थियो त्यो दिन त्यसरी नै मनाइन्छ । प्रजातन्त्र त अहिले– प्रजातन्त्रको प्रतीक संसद र त्यसका सदस्यहरु, रैतीले स्वेच्छाले रोजेका प्रतिनिधिहरु त जेलमा बन्दी छन् । बाहिरको ठूलो कोलाहल आहारा भकुरेपछिको पशुको सन्तोषको गुर्राहट थियो । त्यहाँ – त्यस अभिनयको मध्यक्षणमा त्यस अध्यारो बादलको सबभन्दा कालो क्षेत्रमा – एउटा बिजुली हठात् झल्केछ, त्यहाँका नरनारी, सैनिक असैनिक, दाजुभाइ, दिदीबहीनीहरु अनुहारलाई एकछिन उज्यालो पार्दै – केवल बादलको अन्धकारलाई झन् कालिमामय बनाउँदै ।”

“तिमीले त्यो घटनाका सम्बन्धमा सुनिसकेकी हौली । कसरी शैलजा, उसकी साथी विजया बराल, र अन्य युवक युवतीहरुले ठीक सलामीको मञ्च अगाडि प्रदर्शन गरे, कसरी जिन्दावादको नारा लगाए, कसरी सलामी ग्रहण गरिरहेका व्यक्ति हतप्रभ भए, कसरी प्रदशनकारीहरुलाई नराम्रोसँग व्यवहार गर्दै लगे, कसरी ती यावत् कुराहरु भए हजारौं संगिनधारी सैनिकहरुले घेरिएर राखेको त्यो सुरक्षित स्थलमा जहाँ देशको किलाबन्दीको एकमात्र केन्द्र आफ्नै पुरुषार्थको सलामी लिइरहेका थिए । यो एउटा बडो साहसको कार्य थियो, जुन साहसलाई आफ्नो महान् लक्ष्यका निम्ति मानिसले जिवनमा कहिलेकहिले मात्र प्रदर्शित गर्छ । नेपालको इतिहासमा साहसका कार्यका उल्लेख धेरै भएका छन्; यो अनुपम साहसको कार्य त्यस नेपाली परम्पराको एउटा उज्जवल हिस्सा भएको छ ।”

“कमसेकम म यहाँ कोठामा बसेर त्यहाँको तस्बीर मनमा खिच्न चाहन्छु; म त्यहाँको रमिते भीडलाई सम्झिन्छु; त्यहाँ भेला भएका सैनिकहरुलाई देख्छु, अफिसरहरुलाई, मन्त्रीहरुलाई, राजालाई, शायद रानीलाई पनि र राजकुमारलाई, र विदेशी गणमान्य व्यक्तिहरुलाई – अनि म मनमनै सोच्दछु – हामी कति मा त्यो साहस आउने थियो, के ममा आफ्नो आदर्शका प्रति त्यो अविचलित आस्था छ जस्ले मात्र त्यत्रो साहसिलो कार्य गर्ने प्रेरणा दिन्छ? त्यस दिनको त्यो घटनाको बारेमा हामीले त्यहि दिन बेलुकीपख सुन्यौं । मलाई बडो उत्साह र खुसी भयो, हामी सबैलाई खुसी भयो । मेरो हृदयमा शैलजा र विजया एउटा ज्योतिको रुपमा टलक्क टल्केका छन् । मलाई जब कहिले मानव जातिको खोक्रोपनले उदास पार्छ, एउटा ठूलो नैराश्यको बाढी हृदयमा उर्लेर आउँछ र जीवनमा पुरुषार्थ भन्ने वस्तु छैन कि जस्तो पनि हुन्छ । त्यसबखतमा इतिहासका यी साना साना कुरा– मानिसले नै आफ्नो सानो मुटुमा सम्पूर्ण साहस बटुलेर मृत्युको सामना गर्दे पाशविकतालाई चुनौती दिईको कुरा सम्झिन्छु र भन्छु – ‘मनुष्यलाई’ हरेस खाने आवश्यकता छैन ।”

“अर्को यस्तै घटना अस्तिमात्र भएछ, शायद १३ या १४ गतेका दिन । नोना, कुन्दन र अरु नरनारीहरुले वर्तमान तानाशाही व्यवस्थाको विरुद्ध जुलुस झिकेछन् । पहाडका दाजुभाइ दिदी–बहीनीहरु– गरीब देशवासीहरु मेरा माटाका देवता– पनि त्यसमा लागेका रहेछन् । ती पहाडिया नागरिकहरुलाई स्वतन्त्रता, प्रजातन्त्र भन्ने थाहा थिएन होला; उनीहरु केवल एउटा कुरा जान्दथे कि उनीहरुले स्थापित गरेको– उनीहरुको आकाक्षाको प्रतीक – सरकार अब रहेन र पुरानो राणाकालको जस्तो सरकार उनीहरुमाथि थुप्रिएर बसेको छ । उनीहरुले तानाशाही व्यवस्थाको अनुभव आ–आफ्ना गाउँघरतिर नै पाइसकेका होलान्– कि शोसक सामन्ती, जाली, फटाहा जो पहिले डरले टाउको राम्ररी उठाउन सक्तैनथे, ती फेरि जु्रमुराएर उठेका छन्– झन् दुगुना द्वेष र हिंस्रकताको वेग लिएर । जुलुसमा पश्चिम एक नं. का गरीब तामाङहरु अधिक संख्यामा थिए । मलाई आजको नेपालको स्थितिमा जुन कुराले प्रभाव पार्छ त्यो हो साहसिलो काम ।”

“आजको सैनिक शासनमा जब कसैलाई चुँइक्क बोल्ने साहस छैन, त्यसबखतमा नोना र अरुहरुले मिलेर वर्तमान व्यवस्थाको खिलाफ आवाज उठाउँछन्, र जुलुश झिक्छन् । त्यस जुलुश माथि बडो बर्बतासँग पुलिस जागेछ – लाठीले कतिको टाउको फुटेछ, कति चोटले सडकमा पछारिएछन् । पुलिसले लुछ्तै, घसार्दै, पिट्दै तिनीहरुलाई नयाँसडकबाट थाना लागेछ । जंगलीपन स्वभावतः तानाशाही व्यवस्थाको एउटा मूख्य लक्षण हो, तर यहाँ यो पशुता पनि आफ्नो नग्नतामा उस्तै अतुलनीय भएछ, जति नोनाहरुको साहस ।”

“केही नेपाली पत्रिकाहरुले – स्तुति पत्रिकाहरुले पनि यस काण्डलाई बर्बरताको संज्ञा दिए । किन दिए? के तिनीहरुमा अझै मानवता अवशेष छ, त्यो उनमा अझै प्रकट हुने क्षमता राख्छ,? उनीहरुको मानवता या त मरिसकेको छ या त्यो कहिं स्वार्थ, लोलुपता, खलता, वञ्चना र प्रपञ्चले पुरिएर रहेको छ। तिनीहरुले अकस्मात् तानाशाही व्यवस्थाको नग्नतालाई देखेको जस्तो गरे । जे होस्, मलाई रातभरि नोना, कुन्दनहरुको सम्झना भो; दुवै दुब्ला कमजोर लड्की । उनीहरुमाथि के कस्तो अत्याचार भयो होला? के नरभक्षी तानाशाही शासनले साँच्चै नरमेध गर्ने भयो त? काठमान्डौंको त्यो दृश्य देख्ने रमिते नागरिकहरुले गर्न त केही गरेनन्; तिनीहरुमा त्यो साहसको म आशा गर्दिनँ – हृदयमा कस्तो प्रभाव पर्यो होला ? घरमा गएर उनीहरुले के सोचेँ होलान्?”

“तर ती अखबारवालाहरुले किन हठात् जुर्मुराएर उठेको जस्तो गरेर पुलिसले बर्बरता भनी अग्रलेख पनि लेखे ? म त्यसलाई मानवताको झल्को भन्ने संज्ञा दिन चाहन्नँ । त्यसमा शायद दुईवछा कुरा थिए । एक त पुलिसमाथि दोषारोपण गरेपछि त्यो बर्बरताको उत्तरदायित्व अरु कसैको काँधमा पर्न जाँदैन, र पाशविकता तानाशाही व्यवस्थाको आफ्नो विशेष गुण हो भन्ने पट्टिबाट मानिसको ध्यान झिक्न सकिन्थ्यो, र अर्को विदेशी पत्रकारहरुको काठमान्डौमा उपस्थिति । तिनताका एलिजावेथको नेपाल भ्रमणको सिलसिलामा धेरै विदेशी पत्रकारहरु काठमान्डौ आएका थिए । उनीहरुको अगाडि – या सामिप्यमा – यस्तो घटना हुन दिनु बडो भद्दा दुर्भाग्य थिायो । नेपालको पत्रिकाहरुका्े अग्रलेखमा शायद यहि व्यग्रता प्रदर्शित थियो ।”

“हाम्रो विजय अर्थात् प्रजातान्त्रिक विचारको विजय सामन्तवादका उपर अवश्यम्भावी छ भन्ने कुरामा मलाई कुनै द्विविधा छैन; हामीलाई कैदी बनाएपछि स्थापित गरेको व्यवस्थाको आधार नै शुन्य छ; यस व्यवस्थाले न त राष्ट्रिय जीवनको आर्थिक, भौतिक उत्थान नै गर्न सक्छ, न त यसले नागरिकहरुको स्वतन्त्रतता र आत्मभिमानको भावनालाई नै सदाको लागि कुल्चेर आफूलाई सुदृढ बनाउन सक्छ ।”

“कुनै क्षेत्रमा पनि नेपाली जीवनले उपेक्षा गरेको सामग्री यस व्यवस्थाले राष्ट्रमा संग्रह गर्न सक्छ । शुद्ध दरबारी सैनिक आधारबाहेक यस व्यवस्थालाई सुदृढ पार्ने राजनीतिक, आर्थिक या सामाजिक व्यवस्थामा यसले निश्चय नै आफ्नोलाई आधार खोज्छ; तर, के तिमी सामन्ती आधारमा अब पनि केही अवशिष्ट शक्ति छ र ?”

“त्यो व्यवस्था त स्वयम् आधार खोजिरहेको छ र अहिले स्थापित भएको शासन व्यवस्थामा त्यसलाई त्यो आधार पाएको जस्तो भएको होला । यी सबै तर्क मेरो मनमा आउँछ र निश्चित रुपले विजयको घोषणा गर्छु तर ज्योतिष जस्तो मलाई प्रश्न गरिन्छ, कुन दिन त्यो विजयको घडी आउने हो ? आज या भोली के हुने हो ? कति दिनसम्म यो तानाशाही व्यवस्था चल्नेछ ? म निश्चित भविष्यवाणी गर्न सक्तिन र भन्छु, बाहिरको गतिविधि, संगठनको रुपरेखा र अरु आवश्यकीय सामग्री सामुन्ने नभई केवल काठमान्डौंका पत्र बुलेटिनको आधारमा म केही भन्न सक्दिनँ । आधाररहति तर्क अन्धोको लाठी जस्तो हुन्छ, कहिले लाग्छ तर धेरैजस्तो लाग्दैन ।’ “

“राष्ट्रिय जगतमा बडाहाकिमहरुको नवनियुक्ति र दौडाहा दलहरुको गठनको समाचार पत्रिकाहरुले दिएका छन् । यी दुइटै कुराहरु केवल राजनीतिक दृष्टिबाट गरिएका हुन् । बडा–हाकिमहरुको नियुक्ति राजनीतिक नियुक्ति भएको छ । दौडाहाहरुको दल पनि राजनीतिक दृष्टिबाट गठित भएका छन् । यसको उद्देश्य पनि छर्लगं छ । राजाले नेपाली कांग्रेसको सामना गर्न दरबारमा राखिएका पल्टनको अतिरिक्त यो अर्को राजनीतिक पल्टन तयार गर्न लागेको यसबाट स्पष्ट हुन्छ ।”

“निर्वस्त्रता या निर्लज्जताको कुरा गर्नु राजनीतिमा लडकपन जस्तो हुन्छ; यो एउटा निर्वाधताको प्रमाण पनि हुन्छ । निर्वस्त्रता या निर्लज्जता नैतिकताका विषय हुन् र जुन व्यक्तिले राजनीतिक प्रणलीलाई विश्वासघात र धोखाको पर्यायवाची भन्ठानेको छ र राजनीतिक उद्देश्य व्यक्तिगत शक्ति वृद्धिमात्र सम्झेको छ, उसका लागि निर्लज्जताको अनुभव असम्भव छ । त्यसो हुनाले यहाँ निर्वस्त्रताको चर्चा म गर्दिनँ । शुद्ध राजनीतिक मेक्यावलीको अर्थमा राजनीतिको चर्चा गर्ने हो भनेपनि यस व्यवस्थाको आन्तरिक कमजोरी यी नियुक्तिहरुबाट अनावृत भएको छ। यी नियुक्त व्यक्तिहरु विशेष कृपापात्र भएका संस्थाहरुको राजनीतिक अस्तित्व चुनावबाट लोप भइसकेको छ ।”

“एउटा राजनीतिक संस्थामा, त्यसको सिद्धान्त, त्यसका सदस्यहरुको आचरण र कार्यक्षमता, त्यसले जनताबाट प्राप्त गर्न सकेको विश्वास, जुन विश्वास पनि समय–समयमा उसले लिएका समयोचित कदमहरुले विस्तार–विस्तार निर्मित हुन्छ, त्यसका नेताहरुको क्षमता र इमान्दारी आदि कुराहरुबाट जीवन स्पन्दन हुन्छ । अहिले भर्ना भएका व्यक्तिहरु अब भरौटे (मर्सिनरी)का रुपमा आएका छन् । निर्वाचनमा जनताबाट अस्वीकृत र आफ्नो राजनीतिक आधारबाट वञ्चित भएका जसले आफूलाई कसैको हातमा बेचिन– यहाँ, नरिसाउनु मुटु, शब्द कडा भयो; अनायास बेचिने किनिने शब्द आयो– का लागि तयार पारेर राखेको जस्तो व्यक्तिहरुलाई प्रशासन यन्त्रमा प्रवेश गराएर के कस्तो राजनीतिक लाभको आशा गरेको हो ? बुझ्न सकिनँ ।”

“एकातिर प्रशासन यन्त्र त त्यसै भ्रष्ट हुन्छ, यी व्यक्तिहरुको अनैतिकता र अक्षमताले गर्दा; अर्कोतिर यिनीहरुबाट जुन राजनीति लाभको आशा राजाले गरेको होलान्, त्यो आशा पुरा हुने कुरा होइन । नेपाली कांग्रेस जनताको विश्वासको केन्द्रविन्दु बनेको छ र झन् यसका नेताहरुलाई आकारण र आकस्मिक ढंगबाट षड्यन्त्रको रुपमा दरबारका सैनिकहरु प्रयोग गरेर, गिरफ्तार गरेर यसको मान मर्यादा जनताको नजरमा झन् बढेको हुनुपर्छ ।”

एस. राधाकृष्णनको “हिस्ट्री अफ फिलोसोफी: इस्टर्न एण्ड वेष्टर्नको पाना उघारें। । पढ्न पटक्क मन लागेन । प्रयत्न गर्दा पनि प्लेटोको विचारको तारतम्यलाई बुझ्न सकिँन ।”

“अर्को पाता पल्टाएँ । शोपेन हाउअरले पनि मेरो मस्तिष्कलाई एकाग्रता प्रदान गर्न सकेन ।”

“यी दर्शनका कुराहरु पनि निरर्थक हुन् कि ? आज यो जाडोको बिहानमा एउटा उद्धिग्न मनलाई शान्त गरेर संगठित पार्ने शक्ति यी निरर्थक प्रचार गरिएका विभिन्न दर्शनका मतहरुमा रहेनछ कि ? त्यसो त आज एकाग्रताका अभावमा मनले पुस्तकमा लेखिएका शब्हरुको अर्थ अथवा मर्म ग्रहण गर्न सकेन; तर यदि प्लेटो र शोपेन हाउअरलाई मेरो बुद्धिले ग्रहण गर्न सकेको भए पनि तिनीहरुको मत मतान्तरले मलाई के व्यावहारिक लाभ? यो ज्ञान के नारीको आभूषण जस्तो अभिमान देखाउने वस्तु होइन ? आज मलाई ज्ञानले पनि शान्त्वना दिन सकेको छैन । यसको पनि लोभ मलाई रहेन ।”

“आज रिची काल्डरको एउटा पुस्तक ‘कमान सेन्स एबाउट अ स्टार्विङ्ग ओर्ल्ड’ पढें । सानो पुस्तिकामा वर्तमान समस्या क्षुधाको समस्यामा राम्रोे विचारको प्रतिपादन गरेको छ । उनको भनाइअनुसार, मानवजातिको अहिलेको सबभन्दा ठूलो समस्या जनसंख्याको असाधारण गतिबाट भइरहेको वृद्धि हो । अब २० वर्षमा दुनियाँको आवादी चार अरबसम्म पुग्छ । त्यसो हुनाले, उनको विचारमा, समस्याको गम्भीरता समयको अभावले गर्दा झन् भयकंर हुन आएको छ । यस सम्बन्धमा जुसुकै व्यवस्थाले पनि कालले द्रुतगतिसँग छोप्दै आएको मानव समाजको चरम स्थितिलाई ध्यानमा राख्नुपर्छ । चुनौती यो होइन कि जनसंख्यामा वृद्धि भएको छ; चुनौतीको गम्भीरता त समयको अभावमा छ समयको अभाव नभएदेखि समस्या त्यति च्यापाच्याप गर्ने थिएन ।” (डिसेम्बर १८, १९६२)

“आजै डेकार्टको डिसकोर्स अन द मेथड भन्ने निबन्धलाई पढ्ने प्रयत्न एकदम असफल रह्यो । मन चञ्चल भइरह्यो । त्यसपछि बोद्लेयाँलाई पढ्ने पनि कोशिश गरें, सकिनँ हुँदा–हुँदा कथामा पनि एकाग्रता ल्याउन सकिनँ । बडो चञ्चल भएको छु । अखबारमात्र कुनै प्रकारले पढ्न सकें ।” (९/३/१९६२)

“आज केही पढ्न मन लागेन । देवेन्द्रले एउटा किताब पठाइदिया रहेछ; आज मैले पाएँ एउटा [इतिहाँसकार आर्नोल्ड] टोयन्बि को र अर्को [कुटनीतिज्ञ] के. पि. यस. मेननको।” (१७/१०/१९६२)

“पढ्ने काममा केवल आजको पत्रपत्रिकाहरु र मनुवेनको आफ्नो संस्मरण (गान्धीजीसँगको अन्तिम दिन) पढें । मनुवेनको संस्मरणमा ठाउँठाउँमा हृदयलाई स्पर्श गर्ने वर्णनहरु छन्, गान्धीको मृत्यु भएको दिनको वर्णन र त्यसको दोस्रो दिनको वर्णनलाई बडो आद्र भाषामा दिएको छ ।” (१९/१० /१९६२)

“एन्काउन्टरमा छापिएको एउटा लामो लेख ‘स्ट्राचिज स्ट्रनगल्ड क्राइ’ पढें – दुई वर्ष पहिले यो लेख छापिएको हो । आज एन्काउन्टरका पुरानाप्रतिहरु हेर्दा यस लेखमा दृष्टि पुग्यो । स्ट्रेची मलाई रोचक लेखक लाग्दछन्, यद्यपि म उनलाई गम्भीर र तीक्ष्ण (इन्क्लुसिभ) लेखकको संज्ञा दिन चाहन्न । त्रिशत (थर्स्ट) मा उनका किताबहरु त्जभ द कमिंग स्ट्रगल फर पावर र यता हालमा उनले लेखेको किताब ‘द थ्योरी एण्ड प्राक्टिस अफ सोसलिज्म’ पढ्दा मलाई उनको प्राञ्जलता (ल्युसिडिटी) ले प्रभाव पार्यो तर उनमा विश्लेषणात्मक दृष्टिको अभाव मलाई खट्किन्छ ।” (२७/१०/१९६२)

“आज पढेको लेखमा पनि सरलता र प्राञ्जलता र विश्लेषणात्मक दृष्टिको अभावका कारण गुणदोष दुवै विद्यमान छन् । शायद मानवसँग सम्बन्ध राख्ने विषयले अभिव्यक्तिको सरलता र प्राञ्जलताको सीमामा आउँदा केही न केही सत्यको अंशलाई त्यागेर आउनुपर्छ । स्ट्रेचीले चार त्यस्ता प्रख्यात लेखकहरुको चर्चा गरेको छन आफ्नो निबन्धमा, जसले साम्यवादको विरुद्ध बडो प्रभावशाली साहित्यको सृजना गरेका छन् – कोस्त्लर, पास्टर्नाक, च्याम्बर्स र अर्वेल ।” (२७/१०/१९६२)

“केन्नानको ‘रसिया एंड द वेष्ट’ भन्ने किताब आजदेखि पढ्न थालें । पढ्ने प्रवृत्ति एकदम छैन ।” [१६ /११। १९६२ ]

“उनको भनाइअनुसार यो साम्यावादविरोधी साहित्य न केवल साम्यवादको विरोध गर्छ, यसले युरोपको रेस्नालिजम (बुद्धिवाद) को पनि विरोध गरेको छ । साम्यवाद युरोपीय बुद्धिवादको एउटा पूर्ण विकसित अभिव्यक्ति भएकोले यी लेखकहरुको प्रतिक्रिया बुद्धिवादविरोधी हुन पुगेको छ भन्ने स्ट्रेचीको विचार छ।

स्ट्रेचीको भनाइअनुसार यी लेखकहरुका दृष्टिमा बुद्धिवादकै गर्भमा त्यस्तो दुगुर्णका बीच लुकेर बसेका छन् जो कालान्तरमा साम्यवादको रुपमा प्रकट हुन्छ, त्यसो हुनाले बुद्धिवाद नै यिनीहरुका लागि त्याज्य हुनगयो । यिनीहरुले यस्तो प्रतिक्रियामा रहस्यवादलाई अँगाल्न पुगे । स्ट्रेचीका अनुसार यी लेखकहरुमध्ये अरवेल मात्र एउटा साहित्यकार भए जो, बृटिश अनुभूतिवाद (एम्पिरिसिजम) को प्रभावमा भएकोले साम्यवाद विरोधको अभिव्यक्ति रहस्यवादी अर्को सीमामा पुगेनन् ।” (२७/१०/१९६२)

“आज रिची काल्डरको एउटा पुस्तक ‘कमन्सेन्स एबाउट अ स्टार्भिङ्ग वोर्ल्ड’ पढें । सानो पुस्तिकामा वर्तमान क्षुधाको समस्यामा राम्रोे विचारको प्रतिपादन गरेको छ । उनको भनाइअनुसार, मानवजातिको अहिलेको सबभन्दा ठूलो समस्या जनसंख्याको असाधारण गतिबाट भइरहेको वृद्धि हो । अब २० वर्षमा दुनियाँको आवादी चार अरबसम्म पुग्छ । त्यसो हुनाले, उनको विचारमा, समस्याको गम्भीरता समयको अभावले गर्दा झन् भयकंर हुन आएको छ । यस सम्बन्धमा जुनसुकै व्यवस्थाले पनि कालले द्रुतगतिसँग छोप्दै आएको मानव समाजको चरम स्थितिलाई ध्यानमा राख्नुपर्छ । चुनौती यो होइन कि जनसंख्यामा वृद्धि भएको छ; चुनौतीको गम्भीरता त समयको अभावमा छ समयको अभाव नभएदेखि समस्या त्यति च्यापाच्याप गर्ने थिएन ।” [१८/१२/१९६२]

“हामीहरु थुनिएको आज ठीक दुई महिना भयो । यी ६० दिन निराशा र आशाका तरंगमा बिते । समातिएको केही दिनसम्म त म शुद्ध अन्योलको स्थितिमा रहें । वास्तविकता र भ्रमलाई छुट्याउन गाह्रो भयो ।’

“तरुण दलको सम्मेलनमा मैले आफ्नो उद्घाटन भाषण समाप्त मात्र गर्न पाएको थिएँ कि दरबारको एउटा कर्नेल समरराज बर्दीमा देखा परे । सम्मेलनको कार्यक्रम जारी छ । कर्नेलले मेरो अंगरक्षक कप्तान महतलाई बाहिर लिएर गए । त्यसपछि हठात् मिलिटरीको ओइरो सभास्थलभित्र प्रवेश गर्यो ।”

“मेरो मानस पटलमा यी दृश्यहरु अंकित भइरहेका छन्, तर यी दृश्यहरुको वास्तविकताको बोध मलाई हुन सकेको छैन । यसप्रकारको मानसिक स्थितिमा म गिरफतार गरिएँ ।”

“हामी चार जना शिवराज, जमानसिंह, प्रेमराज र म आर्मी क्लबको कोठामा राखिएका छौं । यस कोठालाई बिलियार्ड रुम पनि भन्दछन् । कोठा प्रशस्त ठूलो छ । कठोर शितका साठी दिन यहिँ बिताएँ । यसपालाको जाडो असाधारण जस्तो लाग्छ । शरीर जाडोले कठाङ्ग्रिएको छ ; फुक्न पाएको छैन । जाडोसँग नर्तसिने मानिस म दिनहुँ गृष्मको प्रार्थी भएको छु । शिशिरले वसन्तको घरमा निवास गर्न लागेको जस्तो छ । वसन्त ऋृतुमा पनि शिशिरका सम्पूर्ण लक्षण पाइन्छन् । अस्ति हठात् ठूलो वर्षा भयो, डाँडा–डाँडामा ठूलो हिउँ पर्यो । आजसम्म त्यो हिउँ गलेको छैन । त्यसमा छोएर आएको हावाले साझै मुटु छेड्छ । दिनभरि घामम बस्छु तर सर्दी गएन ।”

“हामी चारैतिरबाट संगिनको पहरामा छौं । हाम्रो कोठाभित्र दुइटा सन्तरी रहन्छन्, दुवै ढोकामा पहरा चढाएर । पश्चिमपट्टिका झ्याल ढोका एकदम डम्म थुनिएर राखिएका छन् । बाहिर नानाथरिका पाल छन्; तीनओटा पालहरु, अफिसरका लागि एउटा मेजर, एउटा क्याप्टेन, एउटा लेफ्टेन्ट त्यसपछि दुईटा ठूलठूला पालहरु छन् – एकदम सायद एकदम साना अफिसरहरु जस्तै हवल्दार, सुवेदार, जमदार नायक इत्यादिका लागि, अर्को ठूलो पाल सिपाहीहरुका लागि । कहिलेकाहीं यी पालहरुको पर्दा उघ्रिँदाखेरि ब्रेनगन र राइफलहरुको चम्किएको पंक्ति हामी देख्न पाउँछौं । एउटा हाम्रो सानो नुहाउने पाल छ र तीनओटा सानसाना पाल हाम्रो दिसा टट्टिको लागि खडा गरिएका छन् । यसमा नै एउटा पाल आफ्नो निवृत्तिका लागि एकलौटी पारेको छु । यिनीहरुका अतिरिक्त प्रायः सात ठाउँमा सन्तरी पोष्ट बनेको छ । जसमध्ये तीन ओटा त टेनिस कोर्ट छ जहाँ हामीहरु दिउँसोको भोजनसम्म समय विताउँछौं र बेलुका टहल्ने काम सिध्याएपछि सुस्ताउन बस्छौं – को तीनतिर बनेको छ । अरु चार ओटा ठाउँ टाढा छन् । हामी बेलुका टहल्न लाग्दा चारैतिर सुसज्जित शस्त्रधारी सिपाहीहरु तैनाथ हुन्छन् । बडो विचित्र दृश्य हुन्छ ।”

“मेरो देब्रे आँखा अनवरत फड्किरहेको छ । यसरी आँखा फड्किनु ? के अर्थ होला ? यति चार दिन देखिको कुरा भइरहेको छ – अनवरत बाँया आँखा फड्किरहेको छ । केही घटनाको सूचक त होइन ? शुभ या अशुभ ? पुरुषको बायाँ आँखा फड्किनु साधारणत: अशुभ मानिन्छ; तर यसबाट व्यक्ति व्यक्तिको फरकफरक शुभ अथवा परिणाम लक्षित हुन्छ भन्ने पनि कुरा छ। यसप्रकारका कुराहरुबाट मैले के अर्थ लाउने ?

“प्रथमतः यसप्रकारका सिद्धान्तहरुमा के वैज्ञानिक आधार पनि छ ? मेरो शिक्षित वुद्धिले यस्ता कुराहरुमा विश्वास गर्न चाहन्न । यी यावत् कुराहरु रुढिगत अंधविश्वास हुन् तर मेरो हृदयको कुनाकुनाबाट यस्ता कुराहरुमा विश्वासको आधार निस्किन खोज्छ । विज्ञानले सम्पूर्ण सत्य त के त्यसको लक्ष लक्ष अंशको एक अंश पनि प्राप्त गर्न सेकेको छैन । विज्ञान या वुद्धिबाट अगम्य वस्तु के अन्धविश्वासका कुरा हुन् ?”

“जे होस् यता चार दिनदेखि बायाँ आँखा निरन्तर फडफडाइरहेको छ । शुभ या अशुभ परिणामको यो संकेत हो कि भन्ने दृष्टिले यसका उपर म ध्यान राख्नेछु । लगत्तै केही घटना घट्न गयो भने यससँग त्यसको केही सम्बन्ध छ या छैन यो कुरा निश्चित रुपले जान्ने कुनै साधन छैन तर यस विषयका उपर आफ्नो ध्यान राखिछोड्नु कौतुहलपूर्ण र रोचक हुनेछ ।”