[featured-video-plus align=”center”]
Dr Bipin Adhikari on Issues surrounding Constitutional Amendment and the Role of the Speaker (Annapurna Radio: December 28, 2016)
[featured-video-plus align=”center”]
Dr Bipin Adhikari on Issues surrounding Constitutional Amendment and the Role of the Speaker (Annapurna Radio: December 28, 2016)
रेवतीरमणलाई म विद्यार्थीकालदेखि चिन्थें । त्यसैले उनको पुस्तक देख्नेबित्तिकै किनें । दरबारलाई धेरै भित्रदेखि चिनेको मान्छेको पुस्तकबाट मैले धेरै अपेक्षा गरेको थिएँ । तर त्यस्तो केही पाइनँ । पुस्तकले मेरो उत्सुकता केही पनि मेटेन । केही सूचना मात्र दियो ।
कानुनदेखि विकाससम्म
संवैधानिक कानुन, प्रजातान्त्रिक प्रक्रिया, कानुन सुधार, मानव अधिकारलगायतका विषय म बढी पढ्छु, कानुनको शिक्षक भएकाले । भलै यी सार्वजनिक चाखका विषय नहुन सक्छन् । यस अलावा नेपालको इतिहास, राजनीति, कूटनीति, विकास र अन्तर्राष्ट्रिय सम्बन्ध अनि नेपाल र विश्वका समसामयिक मामिलामा मेरो रुचि छ । सन् १९५० भन्दा अघि लेखिएका नेपालसम्बन्धी पुस्तकप्रति मेरो विशेष चाख छ । हाम्रो देशसम्बन्धी आधारभूत किताब मलाई सधैं मन पर्छ । करिब चार दर्जन यस्ता पुस्तकको त मैले समीक्षा नै गरेको छु । व्यावसायिकभन्दा पनि मेरो रुचिका हिसाबले हो यो ।
मेरो अध्ययनको अर्को विषय बीपी हो । उनीसम्बन्धी भेटेजति पढ्छु । उनीबारे आउने राम्रा–नराम्रा जति पनि दृष्टिकोण छन्, ती सबै जान्न चाहन्छु । अनि, त्यसबारे आफ्नो दृष्टिकोण राख्न मन पर्छ मलाई । मेरा दृष्टिमा बीपी नेपालको पुनर्जागरणका प्रतीक हुन् । मैले बीपीको जीवन अनि उनको लोकतन्त्र, राष्ट्रियता र राष्ट्रिय मेलमिलापसम्बन्धी धारणाबाट निकै सिकेको छु । सार्वजनिक नीति र सुरक्षाको विषयमा पनि मेरो चासो छ । पछिल्लो समय चीनको ‘वान बेल्ट, वान रोड’ बारे भेटेजति सामग्री पढिरहेको छु । वर्तमान नेपालको चुनौती, नेपाल–भारतसम्बन्ध र नेपाल–चीन सम्बन्ध बताउने पुस्तक पनि मेरो छनोटमा पर्छन् ।
विद्यार्थी जीवनमा साहित्य
सिरहाको बस्तीपुरमा जन्मिएँ/हुर्किएँ । त्यहाँ समता पुस्तकालय थियो । गाउँभरिका मान्छे दसैंमा आउँदा पुस्तक बटुलेर ल्याएका हुन्थें र त्यो पुस्तकालयलाई दिन्थें । मेरो सुरुवाती पुस्तक–अध्ययन त्यहीँ भयो । नेपाली साहित्य पढियो त्यति बेला । ‘पन्ध्रतारा र नेपाली साहित्य’ त्यति बेलै पढेको हुँ । क्याम्पस पढ्दा नेपाली र अंग्रेजी साहित्यका क्लासिक पुस्तकहरू पढें । तर त्यसयता साहित्य पढ्न ठप्पजस्तै भयो ।
सानोमा पढेका कुराले रुचि जगायो । पछि अध्ययन आवश्यकता बन्न थाल्यो । अनि राम्रो के हो, नराम्रो के हो भन्ने दृष्टिकोण बनाउन जानियो । पहिले बीपीको ‘सुम्निामा’ बुझिएको थिएन । जीवन के हो, सुख के हो, दु:ख के हो, सन्ताप के हो भन्ने बीपीको दृष्टिकोण सबै भेटिन्छ अहिले पढ्दा । कलेज पढ्दा लुई फिसरले लेखेको गान्धीको जीवनी निकै मन परेको थियो । बट्रान्डका रसेलका पुस्तक र उनको जीवनी मैले त्यति नै बेला पढेको हँु । उनको ‘अनपपुलर एसे’ ले मलाई छोएको थियो । राजनीति, दर्शनशास्त्र, आधुनिकता, बौद्धिकताजस्ता विषयहरूको अभूतपूर्व विश्लेषण छ यो निबन्ध संग्रहमा ।
बीपी मेरा स्रोत
अहिले त पुस्तक खोज्न इन्टरनेटले सजिलो बनाएको छ । तर पहिले तरिका अर्कै थियो । मैले जयप्रकाशबारे पढें, बीपीले उनको चर्चा गरेकाले । मिनु मसानीलाई मैले सायद पढ्दैनथे होला, यदि बीपीले नाम नलिएका भए । बीपीले नै नाम लिएकाले डुरान्टको ‘स्टोरी अफ सिभिलाइजेसन’ निकै खोजियो तर पाइएन । यसका भोलमहरू मोटामोटा र महँगा छन् । पछि मात्र भेटियो । अहिले त राम्रा पुस्तक आउँदा बिक्रेताले फोन नै गर्छन् । पहिले समय थियो, किताब पाइँदैनथ्यो अहिले किताब पाइन्छ समय छैन ।
माइकल पोर्टरलाई पछ्याउँछु
अहिले म हार्वर्ड विश्वविद्यालयका प्राध्यापक माइकल पोर्टरलाई महत्त्व दिन्छु । यी अर्थशास्त्रीले लेखे–बोलका कुरा म खोजी–खोजी हेर्छु । कुनै देशले कसरी प्रतिस्पर्धात्मक क्षमता विकास गर्नुपर्छ भनेर उनले लेख्ने बोल्ने गरेका छन् ।
अब ‘लक्जरी रिडिङ’ भन्दा पनि यसको प्रयोग पनि होस् भन्ने चाहन्छु । ‘वान बेल्ट एन्ड वान रोड’ लाई मैले गम्भीरतापूर्वक नियालिरहेको त्यही भएर हो । नेपाल सरकारले यसको सन्दर्भमा कतै गल्ती गरिहाल्यो भने झ्याप्प समाउन सकियोस् भनेर । किनकि नेपालमा त्यसको विशेषज्ञ छैनन् । हेन्री किसिन्जरको ‘अन चाइना’ मलाई मन परेको पुस्तकमध्ये पर्छ । चीनबारे मैले निकै किताब पढें तर यो नपढेको भए मेरो चीन बुझाइ कमजोर नै हुन्थ्यो । तर यसमा नेपालबारे उल्लेखै छैन । किनेकै दिन इन्डेक्समा नेपाल खोजेको थिएँ तर भेटिनँ । नक्सामा भने रहेछ, त्यतिले नै चित्त बुझाएँ । त्यसबारे समीक्षा नै लेखें, ‘छिमेकी मुलुक नेपाल चीनको महत्त्वपूर्ण विषय हो, ऐतिहासिक कालदेखि नै । तर यसबारे लेखिएन ।’ सुखद संयोग किसिन्जरको अर्को पुस्तकमा हाम्रो देशबारे एक अनुच्छेद परेको छ— नेपाल कसरी आफ्नो डिप्लोमेसीका बलमा टिकेको छ भनेर ।
हड्सनले गुन लगाए
नेपालबारे लेखिएका कति राम्रा पुस्तक हामीले पढिरहेका छैनौं । ब्रायन हड्सनले लेखेका चिठीपत्र निकै उपयोगी छन् । हड्सन नभएको भए हामी कति अध्ययन सामग्रीको स्रोतसम्म पुग्नै सक्दैनथ्यौं । उनले सूची नलेखिएदिएको भए नेपालमा कुन–कुन बुद्धिस्ट पुस्तक छन् भन्ने पनि थाहा हुँदैनथ्यो । आर मित्राको पुस्तक मैले उनीबाटै थाहा पाएर पढेको हुँ ।
लेख्नु त रेग्मीको जसरी
नेपालको इतिहास या अंग्रेजले आफ्नो ‘कोलोनियल पावर’ का दृष्टिकोणले लेखे, या भारतीयले लेखे, नेपाललाई आफ्नो नियन्त्रणमा राख्नुपर्छ भन्ने हेतुले । अन्य पश्चिमाहरूले पर्यटक भएर लेखे । कोही तीर्थयात्री, कोही जासुस र कोही चिकित्सक भएर आउँदा लेखे । अनि हाम्रा इतिहासकारहरूले जति पनि लेखे, सबै आफ्नो हिसाबले लेखे । बाबुराम आचार्य जो ‘लिडिग हिस्टोरियन’ हुन्, उनले आफ्ना स्रोतका सूचनाहरूका आधारमा लेखे । त्यसमा अरूले के भन्छन्, त्यसको तुलनात्मक महत्त्व कति छ भन्ने आधारमा उनले हेरेजस्तो लाग्दैन । तर, महेशचन्द्र रेग्मीले लेखेको भूमि र प्रशासनसम्बन्धी पुस्तक बेजोड छ ।
अन्तर्राष्ट्रिय परिवेश बुझेर र त्यस परिप्रेक्ष्यमा नेपाल के हो भन्ने चिनेर लेखे उनले । आजसम्म जग्गाजमिनसम्बन्धी नेपालमा जे–जे प्रकाशित छन्, ती सबैमा कि उनकै सन्दर्भ दिएर लेखिएको छ कि चोरेर । रेग्मीले जसरी पुस्तक लेखियो भने झूटा कुरा आउँदैन । अहिले तराईबारे जे लेखनी आइरहेका छन्, ती सही होइनन्् । पहिचानको राजनीतिले बेहाल गरिदिएको छ देशलाई । देशलाई ‘सस्टेन’ गर्ने हजारांै वर्षका राजनीतिक आधारहरू के थिए भनेर पुस्तक लेखिएका छैनन् । यस्ता कुराहरू समावेश पुस्तकको खाँचो छ ।
रोजको त्यो ‘ब्रह्मवाक्य’
विदेशी भईकन पनि लियो ओ रोजले जति लेखे, निकै राम्रा लेखे । भुवनलाल जोशीसँग मिलेर लेखेको उनको पुस्तक ‘डेमोक्रेटिक इनोभेसन्स् इन नेपाल’ राजा महेन्द्र र बीपीलाई संयुक्त रूपमा समर्पण गरिएको छ । नेपाल निर्माता यी दुवै व्यक्ति हुनुपर्छ भन्ने अभिव्यक्ति उनले त्यस समर्पणबाट दिएका छन् । मेरा लागि, लियो ओ रोजले त्यति लेख्नु ब्रह्मवाक्य हो । नेपालका कुनै पनि राजनीतिशास्त्रीले त्यसरी लेख्न सके ? उनीहरू कि त राजाको अन्धभक्त भए कि बीपीको । दुवै जनाका बारेमा प्रयाप्त चाख राखेर लेखिदिएको भए बीपीको लाइन धेरै बलियो हुन्थ्यो । आज बीपीको लाइन समाप्त भयो, अहिले नेपाल यस्तो विकट घडीमा उभिएको छ कि, नेताहरू मुलुकको हित केमा हुन्छ पनि भन्न सक्दैनन् ।
लियो ओ रोजले नेपाललाई एसियाली सन्दर्भमा एउटा ‘टेस्ट केस’ मा रूपमा लेखेका हुन् । यहाँ बसी अध्ययन गरेर विश्वसनीय स्रोतका आधारमा लेखेका हुन् । अरूजस्तो दुई चार दिन पाहुना भएर लेखेका होइनन् । त्यस्तै फादर स्टिलर पनि विश्वसनीय लेखक हुन् । यसको मतलब यो होइन कि ‘फ्लाई बाई नाइट कन्सल्ट्यान्ट’ ले लेखेका कुरालाई ‘डिस्क्रेडिट’ गरिहाल्नुपर्छ । खासमा उनीहरूले दिएको ‘डेटा’ लाई लिने हो तर धारणा अपनाउने होइन । जस्तो भनूँ— पृथ्वीनारायाण शाहले एकीकरणको लडाइँ कसरी लडे भन्ने ऐतिहासिक ग्रन्थ अभाव छ । कसैले लेखेको छैन । फादर रुबाटोले जे लेखे, त्यो किताब पनि होइन एउटा संस्मरणात्मक निबन्ध हो, बेतियाको चर्चलाई बुझाएको । पृथ्वीनारायण शाहले देश निकाला गरेको एउटा पीडितले रिसाएर लेखेको किताब कस्तो हुन्छ ? उनले जथाभावी लेखेका छन् । दुर्भाग्य π पश्चिमाहरूले यसलाई विश्वसनीय प्रमाणका रूपमा लिइदिए । २४ घण्टाभित्र देश छोड भनेर लगारिएकाले कसरी निष्पक्ष लेख्न सक्छ ? म उनले भनेको कुरालाई ‘डिस्रिगार्ड’ गर्दिनँ तर, त्यसलाई केवल ‘डेटा’ का रूपमा मात्र लिन्छु । उनले आफूलाई पृथ्वीनारायणले खेदेको मात्र देखे । मैले त पृथ्वीनारायणलाई दसवटा रूपबाट हेरेको छु । पृथ्वी नारायणलाई मुल्यांकन गर्दा ‘होलिस्टिक’ हुनुपर्छ । लडाइँमा पनि सिद्धान्त हुन्छ । ठूलो ‘कज’ चाहिन्छ । बिना ‘गुड कज’ खुकुरी बोकेकै भरमा नेपाल एकीकरण भएको होइन । खुकुरी बोक्ने शासकले पनि जनताको वैद्यता खोज्छ । यस्ता कुरा इतिहासकारले लेखेनन् भनेर विश्लेषकले जे पनि ग्रहण गर्न मिल्दैन ।
बेलिनको पुस्तक र पृथ्वीनारायण
अमेरिकीहरूले क्रान्ति किन गरे भनेर बर्नार्ड बेलिन भन्ने दिग्गज इतिहासकारले ‘इडियोलोजिकल अरिजिन्स अफ अमेरिकन रिभोलुसन’ भन्ने किताब लेखे । उनले यसमा अमेरिकी क्रान्तिको सैद्धान्तिक पक्ष के थिए भनेर केलाए । यो पढेपछि दिमागमा स्वाट्ट पस्छ— नेपाल एकीकरणको पनि इडियोलोजिकल अरिजिन के हो ? बीपीले केही चर्चा गरेका छन्, ‘राजस्व आर्जन बढाऊँ, तिब्बत र भारततिरका नाकालाई आफ्नो अधीनमा बनाई मल्ल जत्तिकै अर्थ आर्जन गरूँ भनेर एकीकरण गरे । तर देशलाई एकीकरण गर्ने मानसिक आधार थिएन ।’ मान्छेहरूले यसलाई बढी बुझे । मैले भने बीपीले जति मात्र बुझेको छु ।
बेलिनले क्रान्तिमा देउता खोज्नु हँुदैन भनेका छन् । उनले जेम्स मडिसन, जेफर्सन, वासिङ्टन, जोन एडम्स बारेमा के रहेछ भनेर कोट्याएर हेरेका छन् । फिलाडेल्फियामा भाग लिएका १३ वटा राज्यबारे खोतलेका छन् । शब्द मात्र नहेर, त्यसको पछाडिको भाव बुझ भनेका छन् । त्यो पुस्तक पढेपछि मलाई लाग्यो पृथ्वीनाराणणको एकीकरण अभियान पनि राजस्वका लागि मात्र थिएन ।
(कुराकानीमा आधारित)
अधिकारीले नाम लिएका १५ पुस्तक
व्यवस्थापिका संसदमा आजदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्की विरुद्ध दर्ता भएको महाभियोग सम्बन्धी प्रस्तावमा छलफल हुने भएको छ । गत हप्ता नेकपा माओवादी केन्द्र र नेकपा एमालेका १ सय ५७ जना सांसदले हस्ताक्षर गरेर संसदमा पेश भएको प्रस्तावमाथि आजबाट छलफल हुन लागको हो । संविधानको धारा १०१ मा महाभियोग सम्बन्धी व्यववस्था रहेको छ । यस सम्बन्धमा हामीले संविधानविद् तथा काठमाडौ विश्वविद्यालय स्कूल अफ ल का डीन डा. विपिन अधिकारीसँग कुरा गरेका छौँ ।
‘महाभियोगको विषयमा संविधान स्पष्ट छ’
संविधानको धारा १०१ मा महाभियोग सम्बन्धी व्यवस्था छ । यसको सिद्धान्त के हो भने कुनै पनि व्यक्ति राष्ट्रपतिदेखि उपराष्ट्रपति तथा संवैधानिक अंगका पदाधिकारीहरुलाई सार्वभौम संसदको कानुनी तरिकाले हटाउनु प¥यो भने महाभियोगको प्रक्रिया सुरु गरिन्छ । यो प्रक्रिया अदालती प्रक्रिया भने होइन । यद्यपि जसलाई दोषी भनिएको छ, उसलाई सफाईको मौका दिइन्छ । दोषी भनिएकालाई जसरी महाभियोग लगाउनेले कुरा राखेको हुन्छ, त्यसैगरी उसले पनि मौका पाउँछ । तर निर्णयको प्रक्रिया भने संसदमा भोटिङका आधारमा हुन्छ ।
‘प्रक्रिया नियमावली अनुसार बढ्छ’
संसदले प्रयोग गर्ने अधिकार एउटा निश्चित प्रकारको कार्यविधिसँग जोडिएको हुन्छ । त्यसका प्रक्रियाहरु भने व्यवस्थापिका संसद नियमावलीले तोकेको हुन्छ । त्यसका आधारभूत प्रक्रियाहरु संविधानको धारा १०१ उल्लेख मा छ । तर हाउसले कसरी निर्णय गर्दछ ? त्यसका लागि महाभियोग समिति कसरी गठन हुन्छ ? समितिले काम गर्ने क्षेत्राधिकार के हो ? यी कुराहरुको व्यवस्था संसद नियमावलीले गरेको छ ।
‘कानुन र नियमावली संसदले नै बनाउने हो’
कतिपय कुराहरु कानुन बनाएर उल्लेख गर्न सकिन्छ, कानुन संसदले बनाउनुपर्ने हो । महाभियोग सम्बन्धी कानुन पहिला पनि थिएन र अहिले पनि बनेको छैन । तर नभए पनि संसदले जुन अधिकार प्रयोग गर्छ, त्यो अधिकारहरु नियमावली अनुसार पनि प्रयोग गर्न पाइन्छ । नियमावली अनुसार काम गर्दा कुनै अप्ठेरो हुँदैन । किनभने नियमावली पनि संसदकै बहुमतले बनाउने हो । कानुन बनाउन जुन प्रक्रिया अबलम्बन गरिएको हुन्छ, नियमावली पनि त्यसैगरी बनाउने हो । खाली फरक के हो भने नियमावलीलाई संसदको आन्तरिक विषयवस्तु मानिन्छ, जसमा अदालतले हस्तक्षेप गर्न पाउँदैन । तर कानुन संवैधानिक कानुनको अंगमा पर्दछ, र अदालतले त्यसको वैधता लगातयका विषयमा हेर्न सक्दछ ।
‘प्रस्ताव पेश भएसँगै महाभियोग भन्न मिल्छ’
संसदमा महाभियोगको प्रस्ताव पेश भएपछि विपक्षीलाई महाभियोग लगाइयो भनेर भन्न मिल्छ । यो प्रमाणित भएको छैन, प्रक्रियाको सुरुवात भएको हो । त्यहाँ अब सवै चरणका प्रक्रियाहरु पूरा भइसकेपछि संसदले महाभियोगको कार्यबाही गर्ने हो । ११ सदस्यीय महाभियोग समितिले पाएको अधिकारका आधारमा छानविन हुन्छ । समितिले छानविन गरिसकेपछि दिएको प्रतिवेदनका आधारमा अगाडी बढ्ने हो ।
‘पहिला सभामुखले निकास नदिएको हो’
गोविन्द केसी अनसन बसेका बेला संसदले पाएको महाभियोगको क्षेत्राधिकार सांसदहरुलाई राजनीतिक रुपमा प्रयोग गर्न नदिइएको परिस्थिति हो । त्यो सभामुखले नदिनुभएको हो । सभामुखले निकास दिनुपर्ने बेला उहाँले निकास नदिएपछि पहिला गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठ को प्रस्ताव रोकिएको हो ।
‘महाभियोग सांसदले मात्रै प्रयोग गर्ने अधिकार हो’
महाभियोग भनेको संसदले प्रयोग गर्ने अधिकार हो । मन्त्री भए पनि जे भए पनि संसदको सदस्य भएको नाताले संलग्न भएको हुँदा तीन जनाले यसको प्रस्ताव राख्दछन् । यस्तो प्रस्ताव राखिसकेपछि त्यसको प्रक्रिया सुरु गर्नुपर्छ । त्यो विषय कार्यव्यवस्था परामर्श समितिमा छलफल हुन्छ । सभामुखले पार्टीहरुसँग छलफल गर्नुपर्छ । त्यसका आधारमा अघि बढिन्छ ।
‘अदालतको मुद्दाले केही प्रभाव पार्दैन’
अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई महाभियोगको प्रस्ताव दर्ता गर्न संविधानले रोकेको छैन । सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा रिट निवदेन हो र पुनरावलोकनको प्रक्रियामा रहेको छ । कुनै व्यक्तिले अख्तियारका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिलाई आफ्नो मौलिक अधिकार प्रयोग गरेर चुनौती दिएको छ । नियुक्तिका लगि व्यक्ति सक्षम छैनन् भनेर मुद्दा दर्ता गरिएको हो । यो नियुक्तिको वैधतामा प्रश्न उठाएर सुरु गरिएको हो । तर संसदमा सुरु भएको महाभियोग नियुक्तिको वैधताको विषय होइन । संसदमा भएको प्रस्तावमा वैधताका विषयमा केही पनि बोलिएको छैन । अहिलेको प्रस्तावमा संवैधानिक पदाधिकारीले संविधान बमोजिम कर्तव्य निर्वाह नगरेकोले संविधानको उल्लंघन भएको उल्लेख छ । संसदको विषय अदालतमा नभएकाले संसदले अदालतको निर्णय कुर्नु पर्दैन ।
संविधानविद् डा. विपिन अधिकारी संवैधानिक कानूनसँगै समसामयिक विषयमा वस्तुगत र मेरिटको आधारमा विचार प्रवाह गरिरहेका छन्।
डा. विपिन अधिकारी (५५) ले १५ असोजमा बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गर्ने भनेको राज्यका निकायहरूको हो। सार्वजनिक पद धारण नगरेका कसैमाथि पनि उसले छानबीन गर्न मिल्दैन। शक्तिको कुनै पनि अवधारणालाई रबर तन्काए जस्तो भित्तासम्म तन्काउन पाइँदैन। कानूनमा लेखिएको भन्दा बढी एक पैसो पनि प्रयोग गर्न पाइँदैन।’
उनले सार्वजनिक महत्वको विषयमा यसरी स्पष्ट धारणा राखेको पहिलो पटक होइन। नेपालको संवैधानिक इतिहासमै पहिलो पटक जनताद्वारा निर्वाचित जनप्रतिनिधिले ३ असोज २०७२ मा संविधान जारी गर्नुअघि संविधानका अन्तरवस्तुबारेको माथापच्चीमा अधिकांशले दलगत वा अन्य आस्थाका आधारमा आ–आफ्ना धारणा व्यक्त गरे। तर, संवैधानिक कानूनका विद्यावारिधि अधिकारीले संविधानवादको सिद्धान्तमा रहेर वस्तुगत र मेरिटमा आधारित स्वतन्त्र विश्लेषण गरे। अधिकारीले संविधान निर्माणका क्रममा देखिएका विभिन्न अस्पष्टताहरूलाई आफ्नो ज्ञान र विवेकको आधारमा स्वतन्त्र ढंगले सल्ट्याउन मद्दत गरे।
निकै विवादित देखिएको राज्यपुनर्संरचना, प्रादेशिक संरचना, समावेशिता, न्याय प्रणालीलगायतका विषयमा आफ्ना स्पष्ट धारणा दिए। पछिल्लो तीन वर्षदेखि काठमाडौं युनिभर्सिटी स्कूल अफ लको डीनको जिम्मेवारीमा रहेका अधिकारीसँग कुनै दलको पक्ष वा विपक्षमा नलाग्दा कसैले औंला उठाउन नसकेको अनुभव छ। भन्छन्, “स्वतन्त्र चिन्तकको रूपमा दिइने अभिव्यक्तिको असर बढी देखिंदो रहेछ।”
लामो समय अंग्रेजी पत्रपत्रिकामा स्तम्भ लेख्दै आएका उनले सन् २००८ यता भने नेपाली लेखनलाई महत्व दिए। युनाइटेड नेशन्स् अफिस फर प्रोजेक्ट सर्भिसेस् (युएनओपीएस), अफिस अफ द युनाइटेड नेशन्स् हाई कमिस्नर फर ह्युमन राइट्स (ओएचसीएचआर), युनाइटेड नेशन्स् डेभलपमेन्ट प्रोग्राम (युएनडीपी) लगायत राष्ट्रसंघका विभिन्न निकायमा कानूनी सल्लाहकार रहिसकेका उनी नेपाल फर्किएपछि संविधान निर्माणसँग सम्बन्धित काम गर्न थाले। वरिष्ठ अधिवक्ता स्वर्गीय सुशीलकुमार सिन्हाको फर्मबाट व्यावसायिक करिअर प्रारम्भ गरेका अधिकारी नेपालमै अन्तर्राष्ट्रियस्तरको कानूनी शिक्षा दिने उद्देश्य अनुरूप काठमाडौं युनिभर्सिटी स्कूल अफ लको अवधारणा ल्याइएको बताउँछन्।
सिरहाको वस्तीपुरमा जन्मेका अधिकारीले संवैधानिक कानूनको विषयमा २२ वटा पुस्तक लेखेका छन्। संवैधानिक ज्ञानलाई सामाजिक, राजनीतिक परिवेशसँग जोडेर विश्लेषण गर्नु उनको खूबी हो। उनी नेपालमा संवैधानिक विकास क्रमबद्ध रूपमा नभएकोमा चिन्तित छन्। बाह्य हस्तक्षेपले गर्दा नेपालको नयाँ संविधानले प्रयोगको आधारमा खारिने अवसर नपाएको उनी बताउँछन्।
राष्ट्र निर्माणको इतिहासको विविध पक्षमा गहिरो अभिरुचि राख्ने अधिकारी आलोचनाको तारोमा राजनीतिक दलका नेताहरू बढी परे पनि कर्मचारीतन्त्र खराब हुँदा नेपालले अपेक्षित गति लिन नसकेको बताउँछन्। अख्तियारीप्राप्त व्यक्तिहरूले अधिकारको सदुपयोग नगर्दा अभिव्यक्ति स्वतन्त्रतामा सेल्फसेन्सरसिपको अवस्था आएको बताउने अधिकारी भन्छन्, “स्वतन्त्र विचारको लागि ठाउँ साँघुरो पारिंदैछ, लोकतन्त्रको लागि यो अत्यन्त चिन्ताको विषय हो।”
टिकापुर घटनाका दोषीका मुद्दा राजनीतिक दल र गृहमन्त्रीले चाहेको खण्डमा मात्र फिर्ता लिन सक्दैनन । मुद्दा फिर्तालिने कानुनी प्रक्रिया छ त्यो प्रक्रिया बमोजिम सम्बन्धित अदालतले यस बिषयमा निर्णय लिने हो । अदालतले मुद्दा फिर्ता दिन अस्विकार गर्न सक्दछ। न्यायका सिद्धान्त, दन्दबिहिनाताको प्रस्न र पीडितहरुको अधिकार समेतलार्इ ध्यानमा राखी त्यस्तो निर्णय लिइन्छ । गृहमन्त्रीको राजनीतिक दाउपेचले मात्र केहि हुँदैन ।
(Interview of Dr Bipin Adhikari by Khila Karki of Khabarera Online Nepali Paper)
संविधान जारी भएको एक वर्ष पूरा भएको छ । यसको कार्यान्वयनको पक्षलाई तपार्इंले कसरी मूल्यांकन गर्नुभएको छ ?
जुन गतिमा काम अगाडि बढ्नुपर्ने हो निश्चय पनि त्यो गतिमा छैन । सामान्य रूपमा मात्रै कामकारबाही अगाडि बढेको छ । पूर्ण कार्यान्वयनको जुन समय छ, त्यो समयमा काम सक्नका लागि गति बढाउनुपर्ने देखिन्छ । अब पनि अहिलेकै गतिले अगाडि जाने हो भने त २०७४ माघ ७ को डेटलाइन भेट्टाउन गाह्रो हुन्छ । पहिला त संविधानप्रति तराई मधेसमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने अवस्था देखिन्छ, यो सन्दर्भलाई तपाईंले कसरी हेर्नुभएको छ ? यसको पनि प्रयास भइरहेको छ । सरकारले यसको प्रयास गरिरहेको छ । संविधान संशोधनका लागि एउटा पक्षले मात्र अर्थात् सरकारले मात्र गरेर पनि हुँदैन । सरकार र तराई मधेसमा असन्तुष्टि जनाएको पक्ष मिलेर मात्र पनि संशोधन हुन सक्दैन । संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिन्छ । त्यस कारणले संविधान संशोधनका विषयलाई सबैले स्वीकार गर्नुपर्छ । यसका लागि सर्वपक्षीय वार्ता र छलफल गरेर सबैले दलगत स्वार्थ छोडेर निकास खोज्नुपर्ने हुन्छ । सरकारले चाहेर वा सरकारलाई बाध्य बनाएर मात्र संविधान संशोधनको प्रस्ताव पास हुन सक्दैन ।
संविधान संशोधन नभई संविधान सर्वस्वीकार्य हुँदैन अनि संविधान सर्वस्वीकार्य नभई पूर्ण रूपले संविधान कार्यान्वयन हुन सक्दैन । यो जानकारी हुँदाहँुदै पनि राजनीतिक दलहरू किन संविधान संशोधनका विषयमा आग्रह र पूर्वाग्रह पालेर बसेका होलान् ?
यसका लागि राजनीति दलहरूका बुझाइमा समस्या देखेको छु । केही राजनीतिक दलहरूको बुझाइ, यो संविधान संशोधन नेपाल र नेपालीको चाहना होइन कहीँ कतैबाट प्रेरित छ भन्ने छ । यो विषयमा सबै पक्षलाई विश्वासमा लिन जरुरी छ । विशेषगरी यो विषय एमाले र राप्रपा नेपालले उठाएका छन् । उनीहरू सहमत नभई संविधान संशोधन सम्भव छैन । त्यही कारणले विपक्षीलाई पनि विश्वासमा लिनु सरकारमा रहेका दलहरूको दायित्व हो । यसो गर्दा मात्र सहज ढंगले संविधान संशोधन हुन सक्छ । यसरी छलफल भएमा सरकारमा रहेका दलहरूमा देखिएको आन्तरिक असन्तुष्टि पनि कम हुन्छ । अन्यथा पार्टीभित्रको आन्तरिक असन्तुष्टिसमेत बाहिर आउन सक्छ । त्यसकारणले अहिले सरकारमा रहेका दलहरूले सबै पक्षलाई मिलाउनका लागि पहल गर्न जरुरी छ । सरकारमा रहेका दलहरू संविधान संशोधनको तयारीमा लागेको भनिएको छ । यो प्रक्रियामा नै असन्तुष्ट दलहरूलाई समावेश गर्न जरुरी छ । राष्ट्रहितका लागि गरिने काम किन लुकाएर गर्ने ? खुल्लेआम सबै राजनीतिक दलहरूलाई राखेर गर्दा नै उत्तम हुन्छ । गलत बाटो अपनाएर संविधान संशोधन गराउँदा संविधानको नै बदनाम हुन्छ । त्यस कारणले राम्रो के हुन्छ भने अहिले भइरहेको वार्तालाई सर्वपक्षीय बनाएर संविधान संशोधनको खाका तयार पार्नुपर्छ । यसो भएन भने संविधान संशोधन हुँदैन । भए पनि कसैले असहमति जनाइराख्छ ।
संविधानको पहिलो संशोधन भएको बखत नै सबै राजनीतिक दलहरूका बीचमा सीमांकन हेरफेर पछि गर्ने सहमति भएको थियो किन फेरि अहिले दलहरू फरकफरक बाटोमा लागेका होलान् ?
त्यो बेला संघीयताको सीमांकनसम्बन्धी विषय संघीय आयोगको प्रतिवेदनअनुसार गर्ने भन्ने कुरा भएको थियो । अन्य कुरा पहिलो संशोधनमा गर्ने भन्ने भएको हो । तर संघीय आयोग बनाउने विषयमा काम हुन सकेन । असन्तुष्ट पक्षले पनि सीमांकनसँगै अन्य विषयहरू मागमा राख्न थाले । सीमांकनको विषय पनि आयोगले भन्दा अगावै गर्नुपर्छ भन्न थाले । आयोगलाई पूर्वाधारमात्र तयार गर्ने र रबरस्टाम्प गर्ने भन्नेतर्फ अगाडि बढेको छ । सीमांकनभन्दा बाँकी कुराहरू त पहिलो संशोधनमा समेटिएको छ । यसरी माग बढ्दै जाँदा अझ संविधान संशोधनका लागि समस्या हुन्छ भन्ने मलाई लागेको छ । अर्को कुरा, भर्खरै सरकार परिवर्तन भएको छ । सरकारबाट अलग भएको पक्ष र अहिले सरकारमा भएका दलहरूबीच इगो रहिरह्यो भने संविधान संशोधन सम्भव हुँदैन ।
यस्तै भइराख्यो भने त मुलुक अगाडि बढ्न सक्दैन । यसका लागि कुनकुन दलले के के गर्न जरुरी छ । तपाईंको सुझाव के छ ?
यसमा सबैलाई मिलाउने जिम्मा भनेको त मुलुकको नेतृत्व गरेको कार्यकारी प्रधानमन्त्रीकै हो । ऊ कुनै राजनीतिक पार्टीको होइन मुलुकको नेता र मुलुक चलाउने कार्यकारी व्यक्ति हो । सबैलाई विश्वासमा लिन जरुरी छ । यो संविधान संशोधनका बारेमा उब्जिएको प्रश्नको निवारण पनि उहाँले नै गर्नुपर्छ । यसमा सबै पक्षलाई कुनै आग्रह पूर्वाग्रहका लागि होइन मुलुकमा असल परिणाम ल्याउनका लागि यो संशोधन गर्न खोजिएको हो भनेर सबैलाई विश्वासमा लिन सक्नुपर्छ ।
त्यसैगरी असन्तुष्टि जनाउने पक्षले भनौं या मधेस आन्दोलनमा रहेका राजनीतिक पार्टीका नेताहरूले पनि आफूलाई अरूका लागि पनि स्वीकार्य हुने गरी मध्यमार्गी उपायको खोजीमा लाग्नुपर्छ । मध्यमार्गी उपायमा जाँदा सबै कुरा मिल्न सक्छ । संसद्को अंकगणित एकातिर छ तर मैले भनेको जस्तो नै हुनुपर्छ भनेर हुँदैन । संसद्को अंकगणितलाई पनि मान्न जरुरी छ । अरू कसैको दबाब वा अन्य पार्टीमा विभाजन गराएर जस्ता फोहोरी खेलबाट संविधानको संशोधन गराउनु हुँदैन । सबै मिलेर मध्यमार्गी बाटोको खोजी गर्नुपर्छ । यदि मध्यमार्गी बाटोमा जान सकिँदैन भने अन्तत: जनता भनेका जनार्दन हुन् । राजनीतिक दलहरू आआफ्ना एजेन्डा लिएर जनतामा जानुपर्छ । हामी हाम्रा विषयहरू जनतामा लिएर जान्छांै भन्न सक्नुपर्छ । जनतामा जानका लागि चुनाव छिटो गराउन दबाब दिने हो । कि मध्यमार्गीबाट कि चुनावमा आआफ्ना एजेन्डा लिएर जाने भन्दा अरू कुनै उपाय नै छैन ।
मध्यमार्गी उपायमा सहमति जुट्दैन भने प्रजातान्त्रिक प्रक्रिया चुनावमा जाने हो । चुनावमा जस्तो मत आउँछ त्यसैअनुरूप संशोधन गर्ने हो । अहिले प्रदेशको सिमाना हेरफेर वा संख्या बढाउने विषयलाई सामान्य रूपमा लिन सकिन्छ । सिमाना हेरफेर र संख्यालाई धेरै महत्व र राजनीतिक स्वार्थसँग गाँस्नु हुँदैन । यसो भएमा समस्या सुल्झिने होइन बल्झिँदै जान्छ । यसलाई खासै महत्व नदिएर छलफलमा जाँदा मध्यमार्गी बाटोमा कुरा मिल्न सक्छ । बाँकी अन्य विषय सामान्य हुन् । अर्को, निर्वाचन क्षेत्रलगायत स्थानीय तहको संख्या र सिमानाको विषय छ । यसलाई पनि जनसंख्यामात्र भन्दा समस्या हुन सक्छ । नेपालमा जनसंख्याको मात्र आधार बनाउनु हुँदैन् । हिमाल, पहाड छन् । ती क्षेत्रमा बस्ने नेपाली जसले अहिलेसम्म पनि सडक देखेका छैनन्, साँच्चैको सभ्यता देख्न पाएका छैनन् । ती नागरिक माथि अन्याय हुन्छ । यसमा कुनै एउटा जातिमात्र होइन सबै जातजाति छन् । हिमाली र पहाडी क्षेत्रमा जनसंख्यामात्र भन्दा ती क्षेत्रको प्रतिनिधित्व कम हुन्छ । यसरी प्रतिनिधित्व कम हुँदा ती क्षेत्रबाट पछि परेका जातजातिको अझै प्रतिनिधित्व शून्य हुन सक्छ । यसो भएमा यो सिस्टम उनीहरूका लागि कामै नलाग्ने हुन सक्छ । उनीहरूको आवाज नीति निर्माण तहमा कहाँबाट आउँछ ? यो विषयलाई ध्यान दिएर बाँकी जनसंख्यालाई आधार मान्दा हुन्छ । यो मध्यमार्गी विषय हुन सक्छ ।
संविधानको संशोधनमा सीमा र संख्याको विषयमात्र हैन नागरिकताको विषय पनि उठेको छ । यो विषय चाहिँ कस्तो हो ?
हेर्नुस् नागरिकताको कुरा के हो भने संविधानमा जे जे लेखेको भए पनि हामी नेपाली हौं । नेपाली जातिको पहिचानको विषय पनि नागरिकतामा उठ्छ । त्यो नेपाली जाति भनेको हिमाल, पहाडमा मात्र होइन तराईमा पनि छ । अहिले सबै विषय संविधानमा नै व्यवस्था गर्नुपर्छ भन्ने छैन । केही विषय ऐनमा लेख्न पनि सकिन्छ । अहिले हाम्रो दक्षिणमा खुल्ला सिमाना छ, दक्षिणको धेरै रहनसहन छिमेकी भारतसँग मिल्छ पनि । तर दुई चार वर्षमा नागरिकता पाउने अनि त्यो फेरि नेपाली जाति बराबर हुने हुनुहँुदैन । यसो भएमा नेपाली जातिको चित्त दुख्छ, त्यो भनेको मधेसमा बस्ने नेपालीको पनि चित्त दुख्छ । प्राविधिक रूपमा मधेसको मान्छे वा पहाडको मान्छे भएका कारणले नागरिकतामा विभेद हुनुहँुदैन । तर राष्ट्रिय स्वार्थ सबैले हेर्नुपर्छ ।
नागरिकता पाउने विषय एउटा होला । अर्को भनेको राष्ट्रपति, प्रदेशको मुख्यमन्त्रीजस्ता विभिन्न १० वटा पदमा चाहिँ अंगीकृत नागरिकता पाए मान्छेहरूलाई बन्देज लगाइएको छ । यसमा विरोध पनि छ, विश्वमा प्रचलन के छ ?
यो विषयमा अलगअलग देशका समस्या आफ्नै प्रकारका हुन्छन् । समाधान पनि आफ्नै प्रकारका हुन्छन् । नेपाल आज स्थापना भएको मुलुक होइन । त्यही कारणले यो देशका आफ्नै विशेषता छन् । त्यही भएकाले विश्वका अन्य कुनै पनि प्रयोग र प्रचलन यहाँ हुबहु लागू हुन्छन् भन्ने छैन । हामीले यति बेलासम्मका प्रयोग हेर्दा सबै विषयहरू लेनदेनमा सुल्झाएका छौं । यो विषय पनि लेनदेनमा टुंगो लाग्छ । अहिले कुनै जन्मका आधारमा उच्च पद दिने भनेर भनिएको छैन । संविधानमा त के मात्र भनिएको छ भने, वंशजका आधार एउटा पुस्ता बिताएको नागरिकले मात्र राजनीतिमा उपल्लो पद प्राप्त गर्ने भनिएको छ । यो स्वाभाविक पनि हो । यहाँ कसैले चित्त दुखाउनुपर्ने छैन । किनभने आज म कुनै देशको नागरिक हुने अनि भोलि अर्कै देशको राजनीतिको उच्च पदमा पुग्ने भन्ने हुँदैन । राष्ट्रपति बन्नका लागि नेपाली जातिको अधिकार प्राविधिक रूपमा नागरिक बनेरमात्र हुँदैन । यसो हुँदा त नेपाली जातिको चित्त दुख्ने हो । पहिले संविधान जारी गर्ने बेलामा यस्तो प्रकारको राजनीतिक अधिकार उपयोग गर्नका लागि धेरै लामो लिस्ट थियो । पछि सीमित गरिएको हो । अहिले यो छोटो बनाउँदा पनि यो लागू गर्न हुँदैन भन्ने हो भने त नेपालमा नेपाली जातिले नै आफ्नो अधिकार नपाउने भन्ने हुन्छ । यो विषयमा धेरै हल्लाखल्ला गर्नुको अर्थ हुँदैन । परम्परादेखिका नेपाली भनेको पहाड, हिमाल र मधेसमा पनि छन् । नेपाली जातिलाई त यहाँ कुनै भेदभाव त गरेको छैन । खाली नयाँ नागरिक बन्नका लागि एक पुस्ता नेपालमा बसेको हुनुपर्छ र उसले वंशजको नागरिकता लिनुपर्छ भन्ने हो । अहिले तीन जनाले सिफारिस गरेको आधारमा नागरिकता दिइसकेको छ । देश नै मास्छु भनेर भन्नु त भएन नि । राजनीतिक शक्ति देश बुझेकोले सञ्चालन गरोस् भन्ने हो ।
मध्यमार्गी बाटो खोजौं कि नभए निर्वाचनमा जाऔं भन्नुभयो । तपाईंको भनाइको आशय संविधान जारी भएर पनि विवादित भएका विषयलाई जनमतसंग्रहमा लैजाने भन्ने हो ?
जनमतसंग्रहमा जानुपर्ने त हुँदैन नि । जनमतसंग्रह नै किन आवश्यक पर्छ र अहिले संसद्मा ३० भन्दा बढी पार्टी छन् भोलि चुनावमा जाँदा अझै धेरै पार्टी हुन्छन् । यी पार्टीहरूले आआफ्नो एजेन्डा चुनावमा लैजान्छन् नि । निर्वाचनमा जाँदा यी पार्टीहरूले आफ्नो घोषणापत्र लिएर जान्छन् । त्यही घोषणापत्रमा पार्टीहरूले आआफ्नो एजेन्डा लैजाँदा जुन एजेन्डाले जित्छ त्यसैअनुसार संविधानको संशोधन हुन्छ ।
अहिले संविधानमा भएको व्यवस्थाअनुसार त एउटामात्रै राजनीतिक दलको बहुमत आउन समस्या छ । निर्वाचनमा जाँदा पनि कसरी समस्या समाधान हुन्छ त ?
प्रजातान्त्रिक प्रक्रियामा गएपछि अर्थात् निर्वाचनमा गएपछि जनताले विश्वास नगरेको शक्तिले फेरि आफ्ना अडान यथावत् राख्न सक्दैन । उसँगै पराजित भएको आफ्नो एजेन्डा उठाउने नैतिक हैसियत हुँदैन् । आज जो–जोले आआफ्नो अडान राखिरहेका छन् त्यो हिजोको म्यान्डेटका आधारमा भनिरहेका छन् । त्यसकारण नयाँ निर्वाचन पछि आउने शक्तिले आफ्नो हैसियतअनुसारको एजेन्डा अगाडि ल्याउने गर्दछन् । संविधानसभा भनेको संविधानसभा थियो । अहिलेको संसद् भनेको चुनाव गराउने आधार तयार गर्नका लागि रूपान्तरण भएको हो । संसद् भनेको संविधान बनाउन होइन कानुन बनाउनका लागि हो । अहिले राजनीतिक दलहरू संविधानसभाको म्यान्डेटअनुसार माग गरिरहेका छन् । जनताले यी विषयमा सोच बनाएका होलान् । अहिले संविधान बनाएको सभाले पुरानो म्यान्डेटका आधारमा संविधानलाई पटकपटक संशोधन गर्नुलाई प्रजातान्त्रिक विचार भएका कारण सहमत हुन नसकिएला तर चुनाव गराउनेले पनि यो संविधान गलत छ भनेर जनतामा जाने मौका हुन्छ । त्यो एजेन्डा लिएर जाँदा उनीहरूलाई म्यान्डेट लिए भने त फेरि संशोधन गर्दा हुन्छ । मध्यमार्गी बाटो भएन भने, दलहरू सहमत भएनन् भने जनताको अभिमत बुझ्न जरुरी छ ।
संविधानमा तोकिएको २०७४ माघ ७ को मितिलाई मिट गर्नका लागि कुनकुन दलले के के गर्नुपर्छ । यहाँको सुझाव के छ ?
यो सबै प्रक्रियाको नेतृत्व भनेको कार्यकारी प्रधानमन्त्रीले लिने हो । त्यो भनेको सरकारमा रहेका दलहरूले लिने हो । सबैलाई मनाउने सबैलाई विश्वासमा लिने जिम्मा सरकारमा रहेका राजनीतिक दलको हो । अब विपक्षीको दायित्व भनेको पनि राष्ट्रहितको पक्षमा सरकारमा रहेका दलहरूलाई खबरदारी गर्ने हो । विपक्षी भन्ने बित्तिकै सबै विषय अड्काएर मुलुकलाई बन्धक बनाउने होइन । जित र हारभन्दा पनि संविधान संशोधन राष्ट्रका लागि आवश्यक छ कि छैन त्यो हेरेर अगाडि जानुपर्छ । यसलाई आफ्नो पार्टीको गरिमाको विषय बनाउन हुँदैन । साथै विपक्षीले नेपाल र नेपालको हित विपरीत काम गर्न पनि दिनु हुँदैन । असन्तुष्ट जनाउने पार्टीहरूको पनि दायित्व छ । उनीहरूले पनि आफ्ना मागका बारेमा अन्य राजनीतिक दलहरूलाई विश्वासमा लिन सक्नुपर्छ । यदि दलहरूका बीचमा विश्वास हुँदैन भने जनतामा जाँदा भयो । अहिले संविधान संशोधनको पक्षमा भएका राजनीतिक दलहरूको एकता भयो भने त भोलि चुनावमा दुई तिहाइ बहुमत पुग्ने अवस्था भइहाल्छ नि । सरकारमा रहेका दलहरूले विपक्षीलाई आन्दोलनमा रहेका दलहरूलाई विश्वासमा लिन सक्नुपर्छ ।
२०७४ साल माघ ७ गतेको डेटलाई मिट हुन सकेन भने के होला ?
अहिले नै के होला भन्ने होइन । अहिले त २०७४ माघलाई टार्गेट बनाउनुपर्छ । सवै राजनीतिक दलहरू एक ठाउँमा आउँदा २०७४ माघको मिति मिट गर्न सकिन्छ । यस्तो गरेर अहिलेका राजनीतिक दलका नेताहरूले धेरै पटक चुनाव गराउनुभएको छ । अनिश्चित भएको संविधानसभाको चुनाव पनि दोस्रो पटक भयो । जबकि त्यतिबेला संविधानसभाको औचित्य समाप्त भयो भनिएको थियो । तर संविधानसभाले संविधान जारी गर्यो । फेरि अहिले २०७४ माघमा के होला भनिँदैछ । केही हुँदैन । दलहरू मिलेर केही न केही निकास निकाल्छन् । यो संघीय संविधान हो । अधिकारहरूको बाँडफाँट गरिएको छ । त्यही कारणले यसलाई १६ महिनाको सक्षमता पूर्व उपयोग गरी निर्वाचन कानुन बनाउने, निर्वाचन आयोगलाई निर्वाचन गराउने व्यवस्था गर्नेतर्फ लाग्न जरुरी छ । सबै मान्छे मिलेर अहिलेको परिवर्तनलाई रोक्न तयार धेरै भएका छन् । देश यो परिवर्तन स्वीकार गर्न तयार छन् तर राजनीतिक दलहरूले यो कार्यान्वयनमा ध्यान दिन जरुरी छ ।
Interview by Tikaram Yatri, Avenues Television, Programme “अबको बाटो”, September 23, 2016
संविधान कार्यान्वयनका लागि संविधानले स्थापित गरेका मूल्य, मान्यता र सिद्धान्तलाई प्रयोग गर्ने संस्कार स्थापित गर्न जरुरी छ। तर,हाम्रो देशमा राजनीतिक संस्कारको कमी छ। त्यसैले सतही रुपमा हेर्दा संविधान कार्यान्वयनका लागि प्रयास भएको देखिन्छ। तर, यसमा गतिशिलिता छैन।
पहिलो कुरा त संविधान कार्यान्वयन गर्न मौलिक अधिकारदेखि संविधानका बिभिन्न प्रावधानहरु कार्यान्वयनका लागि नयाँ ऐन कानुनको व्यवस्था गर्नुपर्ने हुन्छ। भर्खर यस सम्बन्धमा सरकारले काम थालेको छ। तर कानुन निर्माणमा तिब्रता छैन।
संविधान कार्यान्वयनका लागि संघीयता कार्यान्वयन सम्बन्धी आयोग गठन हुन जरुरी छ। आयोगले गर्ने सिफारिस नआएसम्म संघीयता कार्यान्वयन हुन सक्दैन। राजनीतिक संयन्त्रले संघीयता कार्यान्वयनका पक्षलाई सर्वपक्षीय रुपमा अघि बढाउन सकेको छैन। असन्तुष्ट दलहरुका माग सम्बोधनका लागि फराकिलो राष्ट्रिय दृष्टिकोण चाहिन्छ। तर, माग सम्बोधनका लागि छलफल सानो दायरामा छलफल भइरहेको छ।
संविधानको मर्म व्यवहारमा देखिनुपर्यो
संविधानका शब्द वा प्रावधानहरुले के भन्दछन् भन्ने कुरो जति महत्वपूर्ण छ, त्यति नै यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुराले पनि महत्व राख्छ। मूलभुत रुपमा यो समावेशी संविधान हो। यसले देशलाई संघीयतामा लगेको छ। शक्तिको निक्षेपीकरण गरेको छ। स्थानीय र प्रदेशहरु अधिकार सम्पन्न भएका छन्। त्यस्तै देशले प्रयोग गरिरहेको संसदीय व्यवस्थालाई पनि परिमार्जन गरेर बलियो बनाउन खोजिएको छ। यसलाई उपलब्धिका रुपमा लिनुपर्छ।
समग्र राम्रा मौलिक अधिकार आएका छन् तीनलाई कार्यान्वयन गर्न कानुन चाहियो। तर,कानुन अझै बन्न सकेको छैन। संविधान सर्वस्वीकार्य बनाउनलाई पर्याप्त राम्रा कुराहरु छन्। संशोधन गर्दै जाँदा अझै राम्रो हुन्छ। तर यसलाई राम्रो बनाउने भनेको आचरणले हो। त्यसका लागि निर्वाचन पद्धतिलाई राम्रो बनाउने र असल मानिसलाई निर्वाचित गराउने काम गर्नुपर्छ। कार्यान्वयन गर्ने राम्रा मान्छ छन् भने संविधान राम्रोसँग कार्यान्वयन हुन्छ।
संविधान संशोधनका जटिलता
संविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ। त्यसका लागि एमाले र राप्रपा नेपाल सहितका पार्टीलाई राखेर छलफल हुनुपर्छ। संविधान कार्यान्वयनका लागि सबैभन्दा ठूलो कुरा निर्वाचन हो। यदि समयमै निर्वाचन घोषणा भएको भए सबै मान्छे ध्यान निर्वाचनमा जाने थियो। त्यसपछि संविधानमा के-के व्यवस्था छ भनेर मानिसहरुले खोजबिन थाल्ने थिए। निर्वाचन हुने भएपछि अहिलेको राजनीतिक वृत्तको चरित्रमा पनि परिवर्तन आउने थियो।
स्थानीय र प्रदेशमा हुने निर्वाचनले देशमा आमुल परिवर्तन ल्याउन सक्छ। तर, समयमै निर्वाचन नहुँदा समस्याहरु बढेका छन्। नयाँ मानिसहरु नेतृत्वमा आउन पाएका छैनन्।
उच्च अदालत गठन र अन्य संवैधानिक हकका विषयमा
उच्च अदालत गठनका लागि अलि अगाडि तयारी गर्नुपर्थ्यो तर, अहिले हतारमा यसको गठन हुँदैछ। यो दीर्घकालीन सोचका साथ गरिएको काम होइन भन्ने सबैलाई थाहा भइसक्यो। संविधानलाई कार्यान्वयन गर्न जरुरी भएकाले मात्रै उच्च अदालत गठन गरिएजस्तो देखिएको छ।
न्यापालिकाले एकीकृत रुपमा भएपनि प्रादेशिक र स्थानीय आवश्यकतालाई पूरा गर्न खोजेको छ। त्यसका साथसाथै पहिचानको जुन राष्ट्रिय मुद्दा थियो,त्यसलाई स्थापित गर्ने किसिमले मौलिक अधिकार आएका छन्। संविधानले समावेशीता र राष्ट्रिय रुपान्तरणको विषयलाई अघि सारेको छ। पछाडि परेका समुदायका लागि संवैधानिक आयोग आएको छ । यी सबै कुराले के देखिन्छ भने संविधानले समुचित रुपमा बिभिन्न प्रावधानहरु व्यवस्था गरेको छ। तर, प्रयोगले मात्र यसलाई गहिराइ दिन सक्दछ।
संविधानका केही त्रुटी
विश्वका कुनै पनि संविधान विवादरहित हुनै सक्दैनन्। नेपालको संविधान पनि अपवाद होइन। प्रजातान्त्रिक दृष्टिकोणले हेर्ने हो भने यो प्रयोगमा लान सकिने र भविष्यका लागि धैरै किसिमका प्रतिबद्धता गरिएको संविधान हो।
संविधान धेरै भद्दा भयो। यसमा शब्द आडम्बर धेरै छन्। भाषाका कुरामा पनि धेरै समस्या देखिन्छ। दोस्रो, यो संविधानले एउटा कस्तो किसिमले परिकल्पना गरेको छ भने सामान्य अवस्थामा स्थानीय सरकारका विशेष संरचनाहरु क्रियाशील भएपनि संकटका बेला केन्द्रीय सरकारको अधिकार बढी हुन्छ। अब त्यो कुरा चाहिँ हाम्रो राजनीतिक संस्कृति राम्रो हुँदै गयो भने त्यसको प्रयोग राम्रो हुन्छ। नराम्रो भयो भने संघीयताको अनुभव गर्न नसक्ने अवस्था पनि हुनसक्छ।
यस परिकल्पना अनुसार सरकार संकटमा रह्यो अस्थिरता निम्त्याउने किसिमले आन्दोलन भयो भने संघीयता सिद्धान्तमा मात्र सिमित हुन्छ। अर्को कुरा, हाम्रो देशको सबैभन्दा ठूलो समस्या भनेको राजनीतिक दलहरुको आचरण हो। तर,यो संविधानको राजनीतिक दलको नेतृत्वलाई आचरणका नियमले बाँध्न सकेको छैन। पार्टीका आर्थिक विषय र पारदर्शीताका विषय उल्लेख हुनुपर्थ्यो। सरकारलाई नियममा बाँध्न मन्त्रिपरिषद्का आचारसंहिता संविधानमा उल्लेख गर्नुपर्थ्यो, त्यो भएन।
अन्त्यमा
यो संविधानमा नराम्रा भन्दा राम्रा कुराहरु धैरै छन्। राम्रा कुराहरुको प्रयोग उचित दृष्टिकोणले गर्ने हो भने नराम्रा कुराहरु पाखा लाग्दै गर्छन्। संविधानलाई कार्यान्वयन योग्य बनाउने विषयमा कमीकमजोरी होलान् तर असल नियतले यसको प्रयोग गर्यो भने यसले राम्रो नतिजा दिनसक्छ। संविधान कार्यान्वयनका लागि संवैधानिक जटिलता छैन। जटिलताहरु राजनीति गर्ने मानिसहरुमा छ।
यदि उनीहरुले सैद्धान्तिक कुराहरुलाई महत्व दिएर अनि आफ्ना साना कुराहरुलाई छिनोफानो गर्दै अघि बढे भने यो संविधानले बाटो लिन सक्छ। अहिलेको समस्या भनेको के हो भने संस्कार नभएका मान्छेले मूल्य मान्यताको कुरा गर्न सक्छन्, तर लागु गर्न सक्दैन। संविधानको कुशल कार्यान्वयनका लागि दलहरुले आचरण सुधार्नुपर्छ।
थाहाखबरका शिशिर ढकालसँगको कुराकानीमा आधारित
१. मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउन गरेको सिफारिसलाई के भन्नुहुन्छ ?
प्रधानमन्त्रीले राष्ट्रपतिलाई बाधा अड्काउ फुकाउन दिनुभएको सुझाब आवश्यक थिएन । संविधानको धारा २९८, २०४७ सालको संविधानमा जस्तो सरकार निर्माणका सम्बन्धमा प्रस्ट नभए पनि बहुमतको सरकार निर्माणका लागि आधार प्रदान गर्न प्रशस्त थियो । यसअन्तर्गत सरकार बिदा हुने तथा नयाँ सरकार स्थापित हुने कार्यमा कुनै बाधा अड्काउ थिएन । राष्ट्रपतिले चलेको चलनअनुसार धारा २९८ बमोजिम सरकार गठनको प्रक्रिया सुरु गर्न अप्ठ्यारो थिएन । तर, यो बाधा अड्काउ फुकाउने सिफारिसका कारणले दुईखाले त्रुटि भएका छन् । पहिलो त्रुटि अल्पमतको सरकारका प्रधानमन्त्रीमार्फत यो सिफारिस प्रस्तुत हुनु हो । मन्त्रीमण्डलबाट अनुमोदित भए पनि यो सिफारिस संसद्को विश्वासप्राप्त मन्त्रीमण्डलबाट अनुमोदित थिएन । दोस्रो, संविधानको धारा ३०५ अन्तर्गत बाधा अड्काउ फुकाउने सिफारिस केबल संसद्को अधिवेशन नहु“दाको अवस्थामा मात्र गर्न मिल्छ । त्यसैले देशमा यो सिफारिसमार्फत गलत प्रयोग सुरु भएको छ । यसबाट यो सिफारिस गर्ने अधिकारको भविष्यमा दुरुपयोग पनि हुन सक्छ ।
२. अबको कति समयमा मुलुकले नयाँ प्रधानमन्त्री पाउँछ ?
प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको सुझाबका आधारमा सरकार गठन प्रक्रिया सुरु गर्दा पनि राष्ट्रपति विवादमा पर्नुहुन्छ, नगर्दा पनि उहाँलाई सिफारिस छाडेर हिँड्ने अधिकार छैन् । तर, सिफारिसलाई आधार बनाएर हिँड्ने हो भने उहाँले तत्कालै सहमतिको सरकार निर्माणका लागि आह्वान गर्न सक्नुहुन्छ । विगतमा सरकार बन्न नसक्दा दलहरूको सिफारिसमा सरकार निर्माण गर्ने म्याद बढाइएको अवस्था पनि छ । तर, यो सिफारिसलाई उल्लेख नै नगरी पनि यो प्रक्रिया सुरु गर्न सकिन्छ । अहिलेको परिस्थितिमा सहमतिको सरकार बनाउन सम्भव होला जस्तो लाग्दैन । राष्ट्रपतिको सोचाइ पनि त्यही हुने हो भने उहाँले केही समयपछि बहुमतीय सरकारको कारबाही अघि बढाउन सभामुखलाई निर्देशन दिन सक्नुहुन्छ । यी दुवै विकल्प खुला छन् ।
३. बाधा अड्काउ फुकाउपछि सरकार निर्माणमा कानुनी अड्चन छन् कि छैनन् ?
सरकार निर्माणमा न हिजो संवैधानिक अड्चन थिए, न आज छन् । तर, अहिलेको समस्या भनेको राजनीतिको हो । संसद्को सबैभन्दा ठूलो राजनीतिक दल प्रतिपक्षमा छ । तेस्रो महत्वपूर्ण दल सरकारको नेतृत्वको अपेक्षा राख्छ । त्यस्तै दोस्रो महत्वपूर्ण दल सरकार निर्माणमा पहल गर्ने कि नगर्ने भन्ने द्विविधामा देखिन्छ । आन्तरिक प्रतिस्पर्धाका साथसाथै ओली सरकारलाई बिदा गराउन परेको भूराजनीतिक कारण नयाँ सरकार स्थापनाका आधारबारे पनि उत्तिकै लागि पर्नेछन् । यसबाट चोट खाएका हिजोका प्रधानमन्त्रीले सरकार निर्माणलाई सहज हुन दिनेछैनन् । नेपाली कांग्रेसले प्रजातन्त्र र राष्ट्रवादमा आफूलाई कुन रूपमा प्रस्तुत गर्नेछ र नेकपा माओवादी केन्द्रले त्यसलाई कसरी नेतृत्व दिनेछ भन्नेमा प्रचण्ड नेतृत्वको सरकारको सम्भावना हेर्नुपर्ने हुन्छ । यी सबै राजनीतिक जटिलता हुन् । संवैधानिक वा कानुनी जटिलता छैनन् ।
(अधिकारी संविधानविद् हुन्) –
See more at: http://www.enayapatrika.com/2016/07/77992