२०७२ मङ्शिर २५ शुक्रबार

संयुक्त मधेसी मोर्चाको आन्दोलन तथा यसले पछिल्लोपटक राखेको एघारबुँदे मागपत्रको सम्बोधन कसरी गर्ने भन्ने प्रश्न नै आजका लागि सबैभन्दा ठूलो राजनीतिक प्रश्न हो। विद्यमान जटिल परिस्थितिमा सम्बोधन गर्नुपर्ने विषय केवल संविधान सुधारको मात्र होइन। तथापि यहाँ संवैधानिक सुधारको पक्षलाई मात्र मध्यनजर गर्दै मोर्चाका लागि केही विकल्प अघि सार्न खोजिएको छ।

मूलतः दुईतिहाइभन्दा बढीको बहुमतमार्फत संविधानसभाको खुला प्रक्रियाबमोजिम जारी गरिएको नेपालको नयाँ संविधानमाथि सतहमा विवेचना गर्दा नाकाकेन्द्रित आन्दोलन गरेको महिना दिनपछि बल्ल संयुक्त मधेसी मोर्चाले सार्वजनिक गरेको एघारबुँदे मागमध्ये संविधानसभाबाट गठित राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँट समिति तथा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदन तथा मधेसी समुदायसँग भएको सम्झौता र अन्तरिम संविधानको धारा १३८(१) (क) अनुरूप तराई र मधेसमा मेचीदेखि महाकालीसम्म दुई स्वायत्त प्रदेश नै सबैभन्दा पेचिलो माग हो।

यस मागका सम्बन्धमा विभिन्न बुझाइ छन्, तर उद्देश्य एउटै हो। अधिकांश नेपाली राजनीतिज्ञहरूले बुझेजस्तै यो माग अघोषित रूपमा भारतकै माग हो। त्यसैले भारतले लिन नहुने जोखिम लिएको छ। यो मागलाई राजनीतिक रूपमा बलियो बनाउन मोर्चाले नेपालमा ऐतिहासिक पृष्ठभूमि र पहिचानका आधारमा अन्य स्वायत्त प्रदेशहरू पनि निर्माण हुनुपर्ने भनी जनजातिलाई पनि विश्वासमा लिन खोजेको देखिन्छ।

मधेसी दलहरू यसैबमोजिम नै संविधानसभा-२ को निर्वाचनमा गएका हुन्। निर्वाचनले दिएको परिणामका बारेमा कुनै भ्रम छैन। तर पनि यो मागमा जोड लगाउन भारतले निर्लज्ज भई लगाएको नाकाबन्दी भारतकै संसद्मा पनि विवादको विषयका रूपमा छलफल भइसकेको छ।

यो पहिलो मागसँग सम्बन्धित तर निर्वाचन पद्धतिसँग जोडिएर आएको दोस्रो माग केन्द्रमा रहने प्रतिनिधिसभाको निर्वाचन क्षेत्र जनसंख्याको आधारमा निर्धारण गर्नुपर्ने तथा मिश्रित निर्वाचन प्रणाली अन्तरिम संविधानमा भएको व्यवस्थाबमोजिम गर्ने र राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट अनिवार्य प्रतिनिधित्व हुने गरी जनसंख्याको आधारमा प्रदेशसभाको सदस्यहरू मतदाता हुने गरी एकल संक्रमणीय निर्वाचन प्रणालीबाट गठन हुनुपर्ने भन्ने हो। पहिलोजस्तै यो पनि पेचिलो माग हो।

जनसंख्याको आधारमा मात्र निर्वाचन गर्दा नेपालका कम जनसंख्या भएका पुराना बाईसी-चौबीसी राज्यरजौटाहरू जो राष्ट्रिय एकीकरणमा समग्र नेपालमा समाहित भएका थिए, उनीहरूले ऐतिहासिकतासहितको प्रतिनिधित्व प्राप्त गर्न सक्ने छैनन्। जिल्ला कायम गर्दा पनि विभिन्न आवश्यकताको सम्बोधन गर्दै तथा ऐतिहासिक परिचयहरू धान्ने गरी नै गरिएको सर्वविदितै छ।

लामो अवधिदेखि संस्थागत भएको यो परिचय अहिले आएर तराई-मधेसका नेपालीलाई घाँडो हुन गएको छ।अन्तरिम संविधानमा उल्लेख गरिएको मिश्रित निर्वाचन प्रणालीलाई नै नयाँ संविधानमा पनि उल्लेख गरिनुपर्ने भन्ने मागको अर्थ धेरै प्रस्ट छैन। तथापि यसको तीनवटा पक्ष हुन सक्छ।

एउटा पक्ष अन्तरिम संविधानले प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा व्यवस्थापिका-संसद्को उम्मेदवार भाग लगाउँदा ४०-६० को प्रावधान उल्लेख गरेको थियो। त्यसैगरी उपरोक्त प्रावधानअन्तर्गत प्रत्यक्ष निर्वाचनका सम्बन्धमा निर्वाचन क्षेत्र निर्धारण गर्दा तत्काल कायम रहेको प्रशासकीय जिल्लाहरूका निर्वाचन क्षेत्रको संख्यालाई यथावत् राखी हिमाली र पहाडी क्षेत्रमा जनसंख्या वृद्धिको आधारमा निर्वाचन क्षेत्र वृद्धि गरिनेछ र त्यसरी निर्वाचन क्षेत्र निर्धारण गर्दा मधेसको जनसंख्याको प्रतिशतका आधारमा निर्वाचन क्षेत्रको संख्या कम भएका मधेसका प्रशासकीय जिल्लाको निर्वाचन क्षेत्र वृद्धि गरिनेछ भनिएको थियो।

यस प्रावधानबाट जनसंख्या बढी भएका तराईका क्षेत्रहरूलाई प्रतिनिधित्व लाभ भएको पुरानो परिस्थितिमा वर्तमान व्यवस्था सन्तुलित नदेखिएको ठहर गरिएको हो।तेस्रो प्रतिनिधिसभाकै सदस्य संख्याको कुरा हुन सक्छ। अहिले प्रतिनिधिसभाको सदस्य केही घटाइएको स्थिति छ। तर यसमा विवाद भएको देखिँदैन।

अन्तिम सरोकार भनेको राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्थाको माग हो। यसलाई मोर्चाले संघीय एकाइको प्रतिनिधित्व मात्रका रूपमा नलिई जनसंख्याकै प्रतिनिधित्व गराइने वैकल्पिक संरचनाको रूपमा लिएको छ।

संघीयतामा माथिल्लो सदन कसरी कायम गर्ने सिद्धान्तभन्दा पनि सो सदनको प्रतिनिधित्वलाई जनसंख्या बढी भएका वा तराईका क्षेत्रहरूको पकडमा ल्याउने उद्देश्य यसमा देखिन्छ। यसलाई स्वीकार गर्दा पहाडका प्रदेशहरूको एक प्रदेश एक भोटको हैसियतमा कमी आउने र पूर्वका र पश्चिमका प्रदेशहरूबीच राजनीतिक शक्ति बाँडफाँडमा अलग हैसियत कायम हुने अर्को पक्षको संशय हो।

नेपाल सरकार र संसद्मा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको मनस्थिति पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सरकारले संसद्मा दर्ता गराएको नयाँ संविधान संशोधन विधेयकलाई अघि बढाउने भन्ने छ । तर यसमा मोर्चा सकारात्मक भए मात्र सरकार सोका लागि इच्छुक देखिन्छ।

यस विधेयकले मूल संविधानमा भूगोल र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तय गर्ने उल्लेख गरेकोमा जनसंख्यालाई प्रमुखता दिई भूगोललाई समेत समावेशीकरण गरी निर्वाचन क्षेत्र कायम गर्ने प्रस्ताव गरेको छ। त्यसैगरी सीमांकनको सम्बन्धमा सरकार तथा कांग्रेस दुवै उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने र त्यसले तीन महिनाभित्र राजनीतिक सहमतिका आधारमा सीमांकनको मुद्दा हल गर्ने मनस्थिति राख्छ। तर सीमांकनको कुरा त्यति सजिलो देखिँदैन।

अहिले गरिएको सीमांकन नै धेरै पक्षलाई ‘अप्टिमम कम्प्रोमाइज’ लाग्छ। भारतको नाकाबन्दीले जनजातिलगायत सम्पूर्ण पहाडी समुदायहरूलाई पर्याप्त रूपमा झस्काइदिएको अहिलेको परिस्थितिमा यही संसद्बाट कुनै पनि प्रस्ताव दोहोर्‍याएर पारित गर्न सक्ने स्थिति देखिँदैन।

जनसंख्याका आधारमा प्रतिनिधित्व भन्नु प्रजातन्त्रसम्मत नै हो। यसलाई प्रमुखता नदिई प्रजातन्त्रको उद्देश्य पूरा हुन सक्दैन। नयाँ संविधानको आशय पनि यही नै हो। तर भूगोल र जनसंख्या एकअर्कासँग गाँसिएको हुन्छ। परिचयहरू यसैका आधारमा बनेका हुन्छन्।

जनसंख्यालाई दिइने महत्वले आदि नेपालीहरू रहेबसेका विभिन्न भौगोलिक क्षेत्रहरू जस्तो-मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बाजुरा तथा बैतडीले परम्परागत रूपमा पाइआएको प्रतिनिधित्व घटाइदिने हो भने इतिहासमा उनीहरूले गरेको त्यागको अवमूल्यन हुनेछ। यो समूहमा बागमतीपूर्वका ओखलढुंगा, सोलुखुम्बु, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा र रसुवा जिल्ला पनि पर्दछ।

सामान्य रूपमा जनसंख्यालाई नै महत्व दिएर पनि सबैले उक्त आदिवासी क्षेत्रहरूलाई सम्मान गरिदिँदा बित्ने केही देखिँदैन । संसारमा स्थापित प्रचलन पनि यही नै हो।अहिलेको बहस झापादेखि कन्चनपुरसम्मका २२ जिल्ला दुई प्रदेश हुनुपर्छ भन्ने विषयमा केन्द्रित देखिन्छ।

यसमा विवादित बनेका झापा, मोरङ, सुनसरीलाई कसरी मिलाउने भन्ने जटिल प्रश्न पनि छ। जिल्ला टुक्राएर मिलाउने कुरामा कतिपय मधेसी नेतासहित कतिको सहमति छैन भने कतिचाहिँ पहाडेलाई पहाडतर्फ नै मिसिन दिनुपर्छ भन्छन्। झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुरसमेत मिलाएर एक प्रदेश बनाउनेदेखि झापादेखि पर्सासम्म एकै प्रदेश हुनुपर्ने धारणा पनि छन्।
त्यस्तै विराटनगरलाई प्राथमिकतामा राखेर सीमांकन गर्नुपर्नेदेखि मधेसको भूभाग नारायणी पश्चिम नवलपरासीदेखि बर्दियासम्म कायम राख्दै कर्णाली पश्चिममा कहाँसम्म लान सकिन्छ र पूर्वमा कोशीपारि कहाँसम्म लैजान सकिन्छ भन्ने विषयमा छलफल हुनुपर्दछ भन्ने मत पनि सुनिन्छ । जति मान्छे, उति कुरा आएका छन्। तर आन्दोलनरत नेतासँग सहमति गर्दैमा सम्पूर्ण देश साक्षी बस्ला भन्ने परिस्थिति भने छैन।

सीमांकन पुनरावलोकनमा सत्तासीन एमाले र प्रमुख प्रतिपक्षी कांग्रेस टसमस नभएको भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केही विकल्प अघि सारेका थिए। उनको प्रस्तावमा हालको प्रदेश नं २ अन्तर्गत सप्तरीदेखि पर्सालाई कायम राख्ने, नवलपरासीदेखि बर्दियासम्मका थारूबहुल बस्ती समेटेर प्रदेश बनाउने, झापा र कन्चनपुरलाई विवादित जिल्ला घोषणा गरी दाहाल नेतृत्वकै राजनीतिक समितिमार्फत टुंग्याउने, मोरङ र सुनसरीको जिल्ला सीमा परिवर्तन गरी पहाडीबहुल क्षेत्रलाई पहाडमा, मधेसी बहुल क्षेत्रलाई मधेसमा मिलाउनेलगायतका कुरा उल्लेख थियो।

सो प्रस्तावमा नयाँ किसिमले विकल्प अघि सारेकाले सहमतिको सम्भावना रहेको संकेत आन्दोलनरत मोर्चाका नेताहरूले दिएका थिए। तर कांग्रेस र एमालेले यो प्रस्ताव स्विकारेनन्। एमालेले सीमांकन हेरफेर गर्न नसकिने अडान राख्दै आएको छ भने कांग्रेस संसदीय समितिमार्फत विकल्प खोज्न सकिनेमा छ। संसदीय समितिले गर्ने अध्ययन र निष्कर्ष कम विवादित हुने कतिपय कांग्रेसका नेताहरूको दाबी छ।

मोर्चाका नेताहरूले आफूले सरकारी बार्ता टोलीसमक्ष पेस गरेको एघारबुँदे माग नै आफूहरूको बटमलाइन भएको बताउने गरेका छन्। सो मागका विषयमा प्रमुख दलहरूले साझा धारणा नै नबनाएको अवस्थामा वार्तामा बस्नुको अर्थ नहुने उनीहरूको भनाइ छ। वास्तवमा सीमांकनमा स्थानीय जनताको चाहनाको प्रश्न गौण भइसकेको छ। सोको सट्टामा एकातिर आन्दोलनको चाप छ, अर्कोतिर नेताहरूको ‘इगो’।

सीमांकनका सम्बन्धमा प्रश्न कसरी र के सिद्धान्त कायम गर्ने भन्ने मात्र नभई सबैतिर समानरूपमा सोको प्रयोग कसरी गर्ने भन्ने पनि हो। अहिलेको अवस्थामा विवादित जिल्लाका सम्बन्धमा एउटा पक्षसँग गरिएको सहमतिले अरू जिल्लामा भएको सहमतिलाई कुनै न कुनै रूपमा अवश्यै प्रभावित गर्दछ।

नयाँ हुने सहमतिले अरू जिल्लामा पनि त्यस्तै माग राखेर आन्दोलन हुने कुरा नकार्न सकिँदैन। भारतले गरेको नाकाबन्दीका कारण अब आमजनताको दबाब तराई-मधेसको पक्षमा हुन सक्ने देखिएको छैन । अतः समिति बनाएर वा संघीय आयोगकै गठनबाट यसतर्फ पाइला चाल्दा सही हुने देखिन्छ।

मौलिक हकमा समुदायगत समानुपातिक समावेशी हुने स्पष्ट व्यवस्था आन्दोलनकारीले खोजेका छन्। उपयुक्त प्रावधान उल्लेख गरी यो कुरालाई स्पष्ट गर्न सकिन्छ।

संघ, प्रदेशलगायत राज्यको सम्पूर्ण अंग, तह, निकाय र सेवा आयोगहरूमा समानुपातिक समावेशी हुने कुराको प्रत्याभूति हुनुपर्ने भन्ने यससम्बन्धी अर्को माग हो। यो पनि पूरा गर्न नसकिने खालको छैन । वास्तवमा नयाँ संविधानमा जे छ, त्यो नै यो माग सम्बोधन गर्न पर्याप्त छ।

अर्को माग वैवाहिक नागरिकताको प्राप्ति संघीय कानुनमा नभई संविधानमै स्पष्ट व्यवस्था हुनुपर्ने भन्ने हो। यो माग अस्वीकार गर्नुपर्ने कारण छैन। धेरै जटिल कुरामा भारतीयहरूलाई फाइदा हुने गरी यसै पनि नागरिकताका व्यवस्थाहरू गरिएकै छन्। जाली नागरिकताका प्रावधान संविधानबाट हटाइएकै छन्।

अहिलेको जनमतले त्यसलाई उल्ट्याउन सक्ला जस्तो लाग्दैन। अंगीकृत तथा जन्मसिद्ध नागरिकले राज्यका प्रमुख पद उम्काउन नपाउने प्रावधान हटाउने माग पनि छ। यस सम्बन्धमा मध्यमार्गी बाटो अपनाउन सकिन्छ।

जस्तो-अहिलेको वंशजका आधारमा नागरिकता पाएकाले मात्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सुरक्षा अंग प्रमुख, संवैधानिक अंग प्रमुख तथा प्रदेश प्रमुख बन्न पाउने सूचीलाई अलिकति सानो बनाउन सकिन्छ।

मोर्चाको एउटा महत्वपूर्ण माग भनेको न्यायपालिकालाई संघीय राज्यको आधारभूत मान्यताहरू संघीय ढाँचामा रूपान्तरित गर्ने तथा सर्वोच्च अदालत, उच्च अदालत र स्थानीय अदालतको नियुक्ति समानुपातिक समावेशी आधारमा गर्नुपर्ने भन्ने हो। साथै उच्च अदालत र स्थानीय अदालतको न्यायाधीशहरूको नियुक्तिमा प्रादेशिक कानुनबमोजिम हुनुपर्ने भन्ने माग पनि राखिएको छ।

नयाँ संविधानले व्यवस्था गरेको न्यायपालिका संघीय न्यायपालिका नै हो। केवल नियुक्तिलगायतका व्यावसायिक विषयहरूको प्रणाली एकीकृत भएको देखिन्छ। जहाँसम्म समावेशिताको कुरा छ, सोलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरिसकेको छ। यदि यसका लागि बेग्लै प्रावधान खोजिएको हो भने सो गर्न हिच्किचाउनुपर्ने आवश्यकता छैन।

मोर्चाले संघ, प्रदेश र स्थानीय निकायका सबै अंगमा बहुभाषिक नीति लागू गर्नुपर्ने उल्लेख गरेको छ। जारी भएको संविधानको नीति बहुभाषिक हुँदाहुँदै पनि मोर्चाले यस्तो माग राख्नुको कारण बुझ्न सकिँदैन। नभए भाषा आयोगको व्यवस्था गर्नैपर्ने थिएन।

संविधानको धारा २८७ मा एक वर्षभित्र प्रदेशहरूको प्रतिनिधित्व हुने गरी भाषा आयोग गठन गर्ने र यो आयोगले नै सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधारहरूको निर्धारण गरी नेपाल सरकारसमक्ष भाषाको सिफारिस गर्ने भन्ने उल्लेख भइसकेको छ। पाँच वर्षभित्र भाषा आयोगले आफ्नो काम सम्पन्न गरिसक्नुपर्ने व्यवस्थाले यो मागको स्वतः सम्बोधन गरेको देखिन्छ।

यसैगरी मोर्चाले समावेशी आयोगमा सबै समुदायको प्रतिनिधित्वको पनि माग गरेको देखिन्छ। मागमा अन्य सबै आयोगको गठन र कार्यक्षेत्र स्पष्ट उल्लेख हुनुपर्ने र प्राकृतिक स्रोत तथा वित्तीय आयोगमा सबै प्रदेशहरूको प्रतिनिधित्वको कुरा पनि छ। यी संबोधन गर्न सकिने माग हुन्।

नेतृत्व कस्ता मान्छेलाई दिने भन्ने स्पष्ट गराउन सकियो भने धेरै सदस्य संख्याको आयोगहरू बनाई कामै गर्न गाह्रो हुने परिस्थिति निर्माण हुनबाट रोक्न सकिन्छ। स्थानीय निकाय तथा विशेष संरचनाको गठन प्रादेशिक कानुनबमोजिम हुनुपर्ने भन्ने मागमा कुनै दम देखिँदैन। प्रजातन्त्रको राष्ट्रिय मापदण्ड हुन्छ।

सबै प्रदेशलाई यो समान रूपमा लागू हुनुपर्दछ। स्थानीय निकाय र विशेष संरचनाका बारेमा पनि यही कुरा सत्य हो। तर राष्ट्रिय व्यवस्थापिकाबाटै यो काम गर्दा पनि यसमा केही अध्ययन र व्यावहारिकताका कुरा गर्नैपर्ने हुन्छ।

कतिपय विषयमा प्रादेशिक कानुनलाई नै ठाउँ छोड्दा प्रादेशिक मागको सम्बोधन हुन नसक्ने होइन। प्रदेशले चाहेन भने राष्ट्रिय व्यवस्थापिकाले त्यस्तो कानुन राष्ट्रिय मापदण्ड कायम गर्नै सक्दैन भनेपछि भइरहेको व्यवस्थालाई आपत्ति गर्नुपर्ने सरल कारण यहाँ केही देखिँदैनन्।

अन्त्यमा उल्लेख गरिएका अन्तिम दुई माग मूल संविधानबाटै पूरा भइसकेको देखिन्छ। नेपाली सेनालाई राष्ट्रिय स्वरूप प्रदान गर्ने भन्नेमा कसैको दुईमत हुन सक्दैन। संविधानमा यो कुरा उल्लेख भइसकेको छ।

त्यस्तै सेनालगायत सम्पूर्ण सुरक्षा निकायमा समानुपातिक समावेशिता कायम गर्नुपर्ने भन्ने माग पनि सम्बोधन भइसकेको छ। सेनाको लोकतन्त्रीकरण भनेर लेख्नुको अर्थ छैन। सेनाले राजनीतिक दल खोल्ने पनि होइन। राजनीति गर्ने पनि होइन।

कुनै पनि व्यावसायिक सेना कानुनको मापदण्डमा चल्छ। त्यो कानुन प्रजातान्त्रिक संरचनाहरूले नै बनाउने हो। त्यसैगरी नेपाल राज्य बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त राज्य हो भनी उल्लेख भइसकेको छ। यसलाई बहुराष्ट्रिय भनी विवादमा ल्याइराख्नु जरुरी छैन। यसबाट मोर्चाले आफूलाई घाटा परेको सोच्नु हुँदैन।

उपरोक्त विचार कथित संवैधानिक जटिलताको समाधानका लागि मात्र राखिएका हुन्। अहिलेको संयुक्त मधेसी मोर्चालाई जुन रूपमा नेपालमा प्रयोग गरिएको छ, पंक्तिकारले यसलाई रणनीतिक तथा बाह्य पक्षको एजेन्डामै भएको ठान्छ। यसमा दुईमत छैन।

बहाली गरिएको संविधानलाई कसरी धान्ने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने हो। जनमत परिवर्तन गरी संविधानलाई संशोधन गर्ने बाटो सबैलाई प्राप्त छ। यतिमा प्रजातान्त्रिक निष्ठा नदेखिँदा यहाँ समस्या देखिएको हो।

यति हुँदाहुँदै पनि मुलुकका आन्तरिक शक्तिहरू छिन्नभिन्न हुँदा देशले जसरी दुःख पाउँदै आएको छ, यस्ता शक्तिहरू एकठाउँमा भइदिने हो भने त्यस्तो दुःख पाउने दिन जान सक्छन्।
त्यसैले समाधान खोज्दा नेपाली जातिको आफ्नो मुलुकप्रतिको इच्छा-आकांक्षालाई कायम राख्दै सकेसम्मको निकास खोज्ने हो। अरूका लागि निकास खोजिनु पनि हुँदैन। आफ्नो कित्ता छोडिनु पनि हुँदैन।

-अधिकारी संवैधानिक कानुनका अध्येता हुन्।

 २०७२ कार्तिक २० शुक्रबार

सन् २०१२ मा प्रकाशित चिनियाँ संविधानविद् तथा प्राध्यापक क्वियानफान साङद्वारा लेखिएको ‘कन्स्टिट्युसन अफ चाइना: अ कन्टेक्सुअल एनालिसिस’ भन्ने पुस्तक चिनियाँ संविधानका बारेमा अंग्रेजी भाषामा गरिएको एउटा राम्रो विवेचना मानिन्छ । संविधान र कानुनका विश्वव्यापी मान्यता हुन्छन्, तर तिनको स्थानीय परिप्रेक्ष्य पनि हुन्छ।

यो कुरालाई बुझेर प्रा. साङले चिनियाँ विशेषताहरूसहितको प्रजातन्त्र कस्तो रहेको छ र यसका आधारमा हेर्दा चिनियाँ संविधानवादको भविष्य कस्तो छ ? भन्ने विषयलाई अन्तर्राष्ट्रिय मान्यतासमेतलाई दृष्टिगत गर्दै यो पुस्तकमा राम्रोसँग केलाएका छन्। चिनियाँ संवैधानिक प्रयोगको राम्रो अध्ययन नभएका पंक्तिकारद्वारा प्रा. साङको टिप्पणी गर्न सकिने स्थिति छैन। तर विश्वव्यापी मापदण्डसमेतलाई बुझेर संविधान र कानुनको आधारभूत एजेन्डा आफ्नो मुलुकको आवश्यकता र परिस्थितिबमोजिम नै निर्धारित हुने हो भन्नेमा विवाद गर्नु जरुरी छैन।
अहिलेको प्रसंग गत साता ७९ वर्षको उमेरमा निधन भएका नेपालका वरिष्ठ संविधानविद् गणेशराज शर्माको सम्बन्धमा हो । शर्मा २०२० सालमा कानुन व्यवसायमा प्रवेश गर्नुभएको थियो। करिब ४७ वर्ष उहाँले निरन्तर कानुन व्यवसाय गर्नुभयो। उहाँको ख्याति एउटा व्यावसायिक रूपमा मात्र नभई संविधानविद्का रूपमा पनि स्थापित भयो। कानुन र संविधानको प्राज्ञिक विश्लेषणमा पनि उहाँ धेरै अगाडि पुग्नुभयो। यससँगसँगै उहाँ नेपालको आफ्नो समयको गम्भीर राजनीतिक विश्लेषकका रूपमा पनि चिनिनुभयो। यो निरन्तरको अनुभवले उहाँलाई नेपालको संवैधानिक कानुनको विवेचना र राष्ट्रिय राजनीतिको एउटा ठूलो एजेन्डा कायम गर्ने उचाइमा पुर्‍यायो।

नेपालको संवैधानिक विकासका बारेमा धेरैले धेरै कुरा गर्दछन्। शर्माको दृष्टिमा २००७ सालको क्रान्ति आन्तरिक सामर्थ्‍यभन्दा पनि बाह्य राजनीतिक परिस्थितिहरूका आधारमा गरिएको एउटा प्रयास थियो। यसै कारणले देशमा आउने वैधानिक परिवर्तनले आफ्नो स्वरूप निर्धारण गर्नुअघि नै दिल्ली सम्झौता भइसकेको थियो। परिवर्तनको त्यो स्वरूप र आधार अरूको योजनामा निर्णायकत्व हुन पुगेकाले सात सालको क्रान्तिमा राजा र जनता निर्णायक हुन सकेनन्। प्रशस्त इच्छा-आकांक्षा र उमंग भए पनि नेतृत्वमा बसेका नेपालीहरू अनुभवले नखारिएका हुनाले उनीहरूले यो परिवर्तनलाई आफ्नो नियन्त्रणमा लिन सकेनन्। गणेशराज शर्माका विचारमा सात सालदेखिको नेपालको संवैधानिक परिवर्तनको सबै प्रयास यस्तै रहन पुग्यो।

२००७ सालदेखि २०१४ सालमा निर्वाचन नहुञ्जेल तथा निर्वाचनपछि पनि बीपी कोइरालाको सरकार अपदस्थ नगरिञ्जेल नेपालको आन्तरिक अस्थिरताको कारण बाह्य नै थियो। राष्ट्रवादको तीव्र आकांक्षा र नेपाललाई नियन्त्रणमा राख्न चाहने बाह्य शक्तिको द्वन्द्वका कारण शाही घोषणाले वाचा गरेको संविधानसभाको निर्वाचन हुन सकेन । यही कारणले राजाबाटै जारी भएको प्रजातान्त्रिक संविधान पनि प्रयोगमा आउन दिइएन। प्रजातन्त्रलाई बिदा गरेर राजनीतिक स्वतन्त्रताविहीन नेपालमा बाह्य शक्तिको आवश्यकताबमोजिम मुलुक सञ्चालन गर्ने रणनीतिअन्तर्गत नै कोइरालालाई थुनामा राखी पञ्चायती व्यवस्थाको प्रार्दुभाव गराइएको थियो। आफ्नो निहित स्वार्थ तत्कालीन राजा महेन्द्रले पनि हेरे होलान्। तथापि एजेन्डा बाहिरकै थियो भन्नेमा गणेशराज शर्मा जहिल्यै पनि विश्वस्त देखिनुहुन्थ्यो।

बाह्य शक्तिलाई राजाको नियन्त्रणमा रहेको आफूअनुकूल व्यवस्था पनि स्वीकार्य रहिरहन सकेन। राजा महेन्द्र शंकास्पद अवस्थामा बिते। यसपछि नयाँ राजा वीरेन्द्रलाई तह लगाउन नेपालमा आर्थिक नाकाबन्दीको प्रयोग गरी भइरहेको राजनीतिक विकासलाई उछिनेर नयाँ संरचना र सम्बन्धहरूको निर्माणको प्रक्रिया २०४६ सालको परिवर्तनले प्रस्तुत गरेको शर्माले दाबी गर्नुभएको थियो। उहाँको भनाइमा ‘राजनीतिक दलहरूका बीच सहमति भए पनि पछिको नाटकीय घटनाक्रमद्वारा त्यसको खारेजीपश्चात् युगौँयुगसम्म टिक्ने भावुक परिकल्पनाका साथ नेपाल अधिराज्यको संविधान जारी’ भएको हो।

२०४७ सालको संविधानले व्यापक जनसमर्थन पायो। यो नेपालको राष्ट्रिय स्वाधीनता र विकासको भरपर्दो आधार हुनेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित हुँदै गयो। यसअन्तर्गत तीनवटा आमनिर्वाचन सम्पन्न भए। जनताबाट पटकपटकको मतदानद्वारा अनुमोदित यो संविधानको खारेजी त के सरकारबाट त्यसमा सामान्य संशोधनको प्रस्ताव पनि संसद्मा प्रस्तुत भएको थिएन। प्रधानमन्त्रीय प्रणालीको एउटा सफल परीक्षण गरी नेपाली जनताले विश्वसामु देखाइदिएका थिए। प्रजातन्त्रीकरणको प्रक्रिया अब बलियो हुँदै जाने थियो। तर २०४७ सालको परिवर्तन नेपाली जनताका लागि थिएन। अतः जनयुद्धको प्रक्ष्येपणको चरण नेपालमा सुरु गरिन्छ। आश्चर्यजनक रूपमा भएको राजा वीरेन्द्रको वंश विनाशले मुलुकलाई झनै कमजोर बनाउनु अर्को दुःखद पक्ष थियो।

यस्तो परिस्थितिमा ‘जनता र तिनका पटकपटकका निर्वाचित प्रतिनिधिद्वारा आत्मसात गरिएको त्यस संवैधानिक पद्धतिको विरुद्धमा मुलुकको कुन दिशातर्फबाट आक्रमण हुँदै रह्यो र कुन अभीष्टका लागि थियो भने सतर्कताको अभावमा त्यो संवैधानिक प्रक्रिया तासको घर ढलेझैँ अकस्मात तर नाटकीय ढंगबाट ढल्न पुग्यो। पुनः क्षेत्रीय राजनीतिको चक्रव्युहमा परी उक्त संविधानप्रति त्यसबखत त्यस्तो उल्लासपूर्ण समर्थन गर्ने राजनीतिक नेतृत्वको अग्रपंक्तिले नै त्यसको कुनै संशोधन नगरी त्यसलाई पद दलित गर्दै अर्को संविधानका लागि २०६३ सालको अन्तरिम संविधान घोषित गर्‍यो।’
त्यसपछिको आठ वर्षको अवधिमा नेपालमा दुइटा संविधानसभा निर्वाचन भयो। पहिलो संविधानसभाले संविधान दिन सकेन। दोस्रो संविधानसभाले संविधान दियो, तर दिइएको संविधानलाई स्वीकार्य हुन दिइएन। संविधानसभामा करिब ९० प्रतिशतको बहुमत र सबै ठूला दलहरूको सहकार्यमा आएको संविधानलाई चौबीस घन्टा बित्न नपाउँदै आफूलाई स्वीकार नभएको भारतले घोषणा गरिसकेको छ। २००७ सालमा नेपालमा भारतीय चेकपोस्टहरू निकाल्दा भारतले गरेको नाकाबन्दी २०४६ सालमा नेपालको सत्ता परिवर्तनका लागि दोहोर्‍याइएको थियो भने आज सोको २५ वर्षपछि पुनः अहिले आएको नयाँ संविधानलाई बद्नाम गर्नका लागि तेस्रोपटक नाकाबन्दी गरिँदै छ।

गणेशराज शर्माको संविधान परिवर्तनको राजनीतिको स्पष्ट चित्रण बीपी कोइरालाको विश्लेषणसँग लेनदेन गर्न सकिन्छ। ०३८ साल जेठमा प्रतिध्वनि साप्ताहिकलाई दिएको अन्तर्वार्तामा कोइरालाले यो कुरालाई यसरी उल्लेख गर्नुभएको छ, ‘२००७ सालको क्रान्तिले देशलाई गरेको दिशा निर्देशनलाई २०१७ साल पुस १ गतेको प्रतिक्रान्तिले मेट्ने प्रयत्न गर्‍यो। अहिलेको राजनीतिक जटिलताको एक मात्र कारण त्यही प्रतिक्रान्ति हो। त्यसले देशलाई केवल दिग्भ्रमित मात्रै पारेन, राष्ट्रिय विचारधारालाई ऐतिहासिक अवरोधसमेत खडा गर्‍यो । त्यसो हुनाले यो स्वाभाविक कुलोमा बग्न दिइएन। जनमतलाई इतिहासले इंगित गरेको दिशापट्टि जानबाट कृत्रिम ढंगले रोक्न नानाभाँतीका प्रयोग गरेर त्यसलाई सञ्चालन गर्ने प्रयोग भयो । राष्ट्रिय जीवनको कुनै पनि पक्ष यसबाट दूषित र भ्रान्ति हुनबाट जोगिएन।’
कोइरालाको भनाइ थियो, ‘राजाको नाममा यथास्थितिलाई सघाउ पुर्‍याउने खालका उग्रवादी नारा उठेका छन् भने प्रजातन्त्रको नाममा अराजकतावादलाई सघाउ पुर्‍याउने अर्का खालका नारा उठेका छन्। तथाकथित राष्ट्रवादीहरूको क्रियाकलापले विदेशी हस्तक्षेपलाई सजिलो पार्न थालेको छ भने तथाकथित प्रजातन्त्रवादीको कारबाहीले पनि त्यसैलाई सफल बनाउन थालेको छ। अहिलेको अन्योलको स्थितिमा उग्रवादको चिच्याहटपूर्ण स्वर अरू अन्योलको कोलाहलभन्दा माथि उठेर हाम्रो कानमा परिरहेको छ । लाग्छ, बाटो त उग्रवादले पो पहिल्याएको रहेछ। यस्तो स्थितिमा उग्रवाद, अराजकता र भ्रान्तिको स्वरमा स्वर मिलाउन म चाहन्न। नेपालका लागि उग्रवाद र अराजकताको विलास अत्यन्त घातकसिद्ध छ। त्यसैले मैले समयसमयमा अराजकताविरुद्ध चेतावनी दिँदै आएको हुँ र त्यसैले ममाथि उग्रवादीको प्रहार पनि भएको हो।’

यसै चिन्तनअनुरूप गणेशराज शर्माले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिको वकालत गर्नुभयो। बीपीको जीवन र दर्शनलाई आममान्छेमा पुर्‍याउने बौद्धिक श्रेय पनि उहाँलाई नै जान्छ। एउटा कानुनी तथा राजनीतिक सल्लाहकारका रूपमा शर्माले कोइरालाको ‘स्टेटम्यानसिप’ लाई पनि प्रशस्त प्रभावित गर्नुभएको थियो। आजका मितिमा नेपालको प्रजातन्त्रीकरणको चुनौती के हो र त्यसलाई सामना गर्न किन राष्ट्रवादी धारलाई बलियो बनाउनुपर्छ ? किन केवल संविधान परिवर्तनबाट मात्र नेपालको नियतिमा परिवर्तन हुन सक्दैन? भन्ने दृष्टिकोणलाई गणेशराज शर्माले नै सधैँका लागि नेपालको परिवर्तनको एजेन्डाका रूपमा स्थापना गराइदिनुभएको छ। यो नै आमनेपालीका लागि उहाँको जीवनको सबैभन्दा ठूलो लगानी हो।

वरिष्ठ अधिवक्ताका रूपमा गणेशराज शर्माले कानुन क्षेत्रको एउटा प्रामाणिक व्यक्ति भएर बाँच्नुभयो । नेपालको संवैधानिक कानुनको विकासमा उहाँको योगदानको अध्ययन हुनु जरुरी छ। कानुन पेसाको मर्यादामा बाँचेका शर्माले जहिले पनि आफूलाई असाधारण रूपमा क्षमतावान् प्रमाणित गर्नुभयो, अदालतमा पनि र बारमा पनि। सैद्धान्तिक विषयहरूमा निरन्तर छलफलमा बस्न रुचाउने उहाँको बानी थियो। राष्ट्रवाद, प्रजातन्त्र र कानुन जुनसुकै विषयमा पनि उहाँका विचारहरू तिखा थिए।

नेपाली र अंग्रेजीमा राम्रो दक्खल भएका शर्मा आफ्नो सोचाइ र लेखाइमा धेरै स्पष्ट हुनुहुन्थ्यो। आफ्नो कुरा अरूले सम्पादन गरिदिएको उहाँलाई मन पर्दैनथ्यो। कसैसँग धेरै गहिरो सम्बन्ध नराख्ने शर्मामा अनावश्यक कुरा गर्ने वा जिस्किने बानी थिएन। कसैको व्यक्तिगत विषयमा सोधिखोजी गर्ने उहाँको स्वभाव थिएन। साथीहरूसँग रमाउनु हुन्थ्यो। तर धेरै नजिकका साथीभाइसँग पनि केही माग्नुपर्दा उहाँ संकोच मान्नु हुन्थ्यो। धेरैले उहाँको स्वभाव रुखो मान्दथे। नराम्रो स्वभावका मान्छे त उहाँको अगाडि पर्न पनि डराउँथे।

पारिवारिक रूपमा पनि गणेशराज शर्मा अप्ठेरो मान्छे हुनुहुन्थ्यो। परम्परागत धर्मकर्म र चुलोचौकाका मान्यतामा उहाँलाई कुनै चासो थिएन। जुठो बार्ने जस्ता संस्कृतिहरू उहाँले जहिल्यै पनि ठाडै अस्वीकार गर्नुभयो। आफ्नै परिवार र नजिकका साथीभाइकहाँ पनि सकेसम्म आइजाइ नगर्ने उहाँ दसैं-तिहारमा पनि कमैमात्र अन्यत्र जानुहुन्थ्यो। बिहेबटुलोमा उहाँसँग भेट हुने सम्भावना कमै हुन्थ्यो। उहाँ आफ्नो झर्कोफर्को लुकाउन सक्नुहुन्थेन। सोझो मान्छेका धेरै विशेषता उहाँमा थिए।

यी सबै बानीव्यहोरामाझ उहाँको व्यक्तित्व सत्यवादी र सदाचारयुक्त थियो। उहाँ संवैधानिक कानुनका सम्बन्धमा क्षमतावान् हुनुहुन्थ्यो भने राजनीतिक विश्लेषणमा निष्पक्ष तथा सारगर्भित। इमानदार, दक्ष, स्वतन्त्रता तथा न्यायप्रति समर्पित र मौलिक अधिकार तथा सामाजिक न्यायका लागि जस्तोसुकै चुनौतीपूर्ण मुद्दाहरू पनि लिने गणेशराज शर्माले आफू वा आफ्नो परिवारलाई हुन सक्ने जोखिम पन्छाएर पनि व्यावसायिक भूमिका निर्वाह गर्ने उहाँको चरित्र थियो।

उहाँ कसैसँग नडराउने, राम्रो, सफासुग्घर लुगाफाटो लगाउने, जतिसुकै बेला पनि तयारी अवस्थामा रहने र साना तथा कमजोर व्यक्तिहरूप्रति स्नेह राख्ने व्यक्तित्वको स्वामी हुनुहुन्थ्यो। महिलाप्रति सम्मानको व्यवहार उहाँको व्यक्तित्वको एउटा ठूलो पाटो हो। दुःख पाएको मान्छेलाई पैसा र अन्य सहयोग गर्नुहुन्थ्यो, तर कसैसँग हिसाब लिने उहाँको बानी थिएन। आफ्नो चरित्रबमोजिमको गणेशराज शर्माको निम्न अमर वाक्यले सबै नेपालीलाई आश्वस्त गरिरहनेछ:

‘जतिसुकै कठिन र जटिल परिस्थितिमा पनि इतिहासको एउटा टड्कारो पाठ के छ भने दुई ढुंगाबीचको तरुलजस्तो भनिएको नेपालमा एकातर्फबाट हुने अवाञ्छित क्रियाकलापले अर्का उत्तिकै शक्तिशाली मुलुकको मर्मस्थलमा आघात पुर्‍याउनु अवश्यम्भावी छ। फलतः नेपालको शान्ति व्यवस्था र संवैधानिक अभ्यासमा जतिसुकै घातप्रतिघात परे पनि विशिष्ट भूराजनीतिक अवस्थितिले नेपालको अस्तित्व नै मेटिने गरी बाह्य प्रभुत्व स्थापित हुन सक्ने सम्भावना भने देखिँदैन। कुनैले कतैबाट यस भूराजनीतिक विशिष्टतालाई महत्व नदिएर आक्रामक भएमा त्यसको आघात नेपालले मात्र व्यहोर्नुपर्ने छैन भन्ने यथार्थ नै नेपालको अस्तित्वको प्रत्याभूति रहिआएको छ।’

‘अधिकारी संवैधानिक कानुनका अध्येता हुन्।

 २०७२ आस्विन २२ शुक्रबार

आन्तरिक रूपमा धेरै प्रतिकूल परिस्थिति रहे पनि अन्ततः राष्ट्रपतिमार्फत नेपालको संविधान २०७२ सार्वजनिक गराउँदै दोस्रो संविधानसभा बिदा भएको छ। अपनाइएको संविधान विश्वकै सबैभन्दा कान्छो संविधान हो।संविधानसभा १ ले सर्वसम्मतिबाट संविधान अपनाउन नसकेपछिको परिस्थितिमा दोस्रो संविधानसभाले झन्डै ९० प्रतिशतको बहुमतद्वारा यो संविधान पारित गरेको हो।

नयाँ संविधानलाई सहमतिको यो अवस्थामा ल्याउन प्रमुख तीन ठूला दलहरू कांग्रेस, एमाले, माओवादी र सीमांकनको प्रावधानबाहेकका विषयमा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) ले एकअर्कासँग गरेको सैद्धान्तिक लेनदेन र समझदारी सर्वविदितै छ। यीमध्ये कुनै पनि राजनीतिक दललाई नयाँ संविधान यो रूपमा ल्याउने रहर थिएन। तर गत सात वर्षदेखिको संविधान निर्माण कार्य सफल गराउने असफल प्रयासलाई मध्यमार्गी दृष्टिकोणका आधारमा परिणाम दिई संक्रमणकाललाई बिदा गर्न पनि नयाँ संविधान आवश्यक थियो। पुराना तथा नयाँ दुवै संविधानसभाका सदस्यहरू यो प्रक्रियालाई कसैगरी पनि सफल पार्न उद्यत् थिए। सम्झौताका रूपमा संविधान ल्याउनुको विकल्प थिएन।

संविधानको विद्यार्थीका रूपमा यो संविधानका कतिपय ठाउँमा टीकाटिप्पणी गर्न सकिन्छ। तथापि जे आएको छ, त्यसबाट नेपालको संवैधानिक विकासको नयाँ चरण सुरु भएको छ। हिजोका विषयहरूमा विषयान्तर भएका छन्। राजनीतिले नयाँ सोच र गन्तव्य पाएको छ। देशको एउटा ठूलो खड्गो टरेको छ। तर संविधानसभा सुत्केरी भई संविधान दिए पनि दक्षिण छिमेकी भारतलाई यो सुत्केरो फापेको छैन। यसको असर तीनतिर भारतबाट घेरिएको नेपालमा नाकाबन्दीका रूपमा प्रकट भएको छ।

हालका भारतीय सोचहरूका आधारमा हेर्दा यो नाकाबन्दी परिस्थितिको नभई लामो तयारीपछिको उपज भएको देखिन्छ। केही सीमान्त मधेसीमुखी दलहरूको यो नयाँ संविधानमा टिप्पणी देखिएको तथा ती दलहरू नेपालमा राजनीतिक रूपमा संघर्षरत रहेको अवस्थामा उनीहरूसँग भारत खुलेर संलग्न भएको छ। आन्तरिक शक्तिको प्रयोग गरी मूल राजनीतिक दलहरूलाई ठेगान लगाउन उद्यत् भारतका गृहमन्त्री राजनाथ सिंहबाट केही हप्ताअघि आएको नेपालमा एक करोड भारतीय रहेको र संविधान निर्माणको नेपाली परिप्रेक्ष्यमा उनीहरूको चासो सम्बोधन हुने भन्ने टिप्पणीपछि नै भारत नेपालमा कूटनीतिक मर्यादा छोडेरै भिड्न चाहन्छ भन्ने प्रस्ट भइसकेकै थियो।

यही सोचअन्तर्गत मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) संविधान निर्माण गर्ने संयुक्त गठबन्धनबाट अलग्याइएको हो। नभए यो समूहका लागि संविधान निर्माणमा त्यत्रो लगानी गरिसकेपछि जारी हुने बेलामा पन्छिएर हिँड्नुपर्ने जत्तिको कारण त्यहाँ थिएन। टीकापुर घटना हुनुपछाडिका कारणका बारेमा स्वयं गृहमन्त्रीले नै संसद्मा बयान दिनुभएकै हो। परिस्थितिहरू कसरी निर्माण गरिए? सबैले हेरिरहेका छन्। संविधान जारी गर्ने दिन परिवर्तन नगर्ने तर नयाँ संविधान संशोधनका लागि तत्कालै अघि बढ्ने भन्ने प्रतिबद्धता सरकार तथा तीन दलका तर्फबाट सार्वजनिक हुँदाहुँदै पनि मधेसी आन्दोलनलाई हिंसा र तोडफोडप्रति उद्यत् गराइएकै हो।

यस्तोमा मधेसीसँग सम्बन्धित विवादित विषयलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै सबैले संविधानलाई स्वीकार र अपनत्व महसुस गरेमा यसले सद्भाव, प्रगति र विकासको आधारशिला खडा हुन सक्छ तथा अहिले त्यस्तो हुन नसकेको भनी भारतले विषय प्रवेश गरेको छ। यसको लगत्तै संविधानमा कहाँकहाँ सुधार गर्नुपर्छ भन्ने भारतीय श्वेतपत्र भारतकै पत्रिकामार्फत आएकै हो। आफ्नो कुरा सार्वजनिक गरेर खण्डन गर्ने कूटनीतिमा झुक्किनुपर्ने अवस्था छैन। अतः मधेस र मधेसी विवादलाई भारतले कार्डका रूपमा प्रयोग गर्न थालेको स्पष्ट भएको छ।

तराईमा भइरहेको आन्दोलनका कारण चार दर्जनजति नागरिक तथा सुरक्षाकर्मीहरू हताहत भइसके पनि सरकार तथा ठूला दलहरूले परिस्थितिलाई नियन्त्रणमा लिन सकेका छैनन्। यो कमजोरीसँगै दसैं-तिहारको मुखमा व्यापक रूपमा पत्रपत्रिका तथा विद्युतीय सञ्चारमाध्यमको प्रयोग गरी लगाइएको यो नाकाबन्दीबाट पीडित जनसमुदाय सरकारपट्टि खनिने र त्यसबाट सकेको अतिरिक्त लाभ लिने दृष्टिकोण भारतले राखेको हुन सक्दछ। तर नाकाबन्दी सुरु भएपछि संविधानका कतिपय विषयमा चित्त नबुझेका पहाडे दलित (खसआर्य) तथा जनजातिहरूले आफूले अघि बढाएको आन्दोलन फिर्ता लिएका छन्।

त्यस्तै देशविदेशमा रहेका नेपाली देशको सुरक्षाप्रति संवेदनशील भई भारतविरोधी प्रचारप्रसारमा लागिसकेका छन्। त्यसैगरी व्यापारी तथा उद्योगी समुदाय सरकारसँग टाँसिन पुगेको छ। विभिन्न दलसँग सम्बद्ध भ्रातृ वा भगिनी निकायहरू नाकाबन्दीको विरोध गर्दागर्दै भारतविरुद्धको जुलुस र नाराबाजीमा लागेका छन्। जतिजति दिन जाँदै छ, नेपाली जगत् जुर्मुराउन थालेको देखिन्छ । त्यसैगरी सरकारलाई पनि चिनियाँ तथा अन्य पक्षसँग सहकार्य गरी यो नाकाबन्दीबाट पीडित देशको उन्मुक्ति खोज्न दबाब परिरहेकै देखिन्छ।

तराई–मधेसमा मधेसी तथा थारूहरूसँग सम्बन्धित राजनीतिक विवादहरूप्रति निरन्तर संवेदनशील रहनु नेपाल सरकारका लागि धेरै जरुरी छ। यस सम्बन्धमा देशमा जनमत पनि छ। तर यो समस्याको समाधान कसरी गर्ने भन्ने विषय नेपालको आन्तरिक विषय हो। भारतले नेपालको नयाँ संविधान या यसमा हुने संशोधनमा आफ्नो माग राख्नु र त्यसका लागि नाकाबन्दी गर्नुले केवल भारतको छिमेकलाई हेर्ने स्तर र कूटनीतिको खडेरी मात्र हो भन्ने कुरा लगभग सबै नेपालीले अहिलेसम्म बुझिसकेका छन्। कम्तीमा पनि ठूला दलहरू यसबारेमा भ्रमित छैनन्।

यति भए पनि नेपाल सरकारले आजका मितिसम्म भारतको हस्तक्षेपविरुद्ध कुनै प्रेस विज्ञप्ति जारी गर्न सकेको छैन। यस्तो विज्ञप्ति नआएकाले कतिपयलाई नेपाल संविधान निर्माणको विषयमा कहीँकतै चुकेकै हो कि भन्ने भ्रम पर्न गएको छ। त्यस्तै भूपरिवेष्ठित मुलुकको न्यूनतम अधिकारलाई पनि नेपालले अन्तर्राष्ट्रिय जगत्ले बुझ्ने गरी अन्तर्राष्ट्रियकरण गर्न सकेको छैन। भारतले गरेको यो नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनविपरीत हुनुका साथसाथै स्वतन्त्र मुलुकको आत्मनिर्णयको अधिकारविपरीत भएको अन्तर्राष्ट्रिय समुदायले नबुझेको होइन। नेपालका दर्जनौँ सहयोगी मुलुकहरू नेपाल सरकारले आफ्नो धारणा व्यक्त गरोस् भन्ने चाहन्छन्। सरकार मुखामुख गरिबसेको छ।

आजको दिनमा सामान्य नेपालीको जीवन कति कष्टकर छ भन्ने कुरा लगभग सबैलाई ज्ञात भइसकेको छ। तर सरकारले नेपाली जनताले आवश्यक नुनतेल, खाद्यान्न, लुगाफाटो तथा इन्धनजस्ता विषयहरूमा तात्कालीन आवश्यकता पूर्तिका लागि कसैलाई हारगुहार गर्न सकेको छैन। यस्तो परिस्थितिमा सहयोग गर्न चाहनेहरूको पनि हात बाँधिएको देखिन्छ। यो समस्यालाई बाह्य संसारसम्म लग्न सरकारले कुनै आधार नै दिन सकेको छैन।

नेपालको उत्तरी छिमेकीबाट पनि नेपालको दुरवस्थाका बारेमा प्रतिक्रिया आउन सकेको छैन। नेपालले नाकाबन्दी खप्दै छ भन्ने चीनलाई थाहा नभएको होइन । नेपालका प्रधानमन्त्रीले अहिलेसम्म चिनियाँ वा कुनै अन्य राष्ट्रको सहयोगका लागि आह्वान गरेका छैनन्। संयुक्त राज्य अमेरिका, बेलायत तथा स्क्यान्डिनेभियाली मुलुकहरू सबै उचित परिस्थिति खोजिरहेका छन्। सरकारले आफ्नो दृष्टिकोण स्थापित गर्न नसक्दा कूटनीतिक रूपमा चीन वा जोसुकैलाई पनि सहयोग प्रदान गर्न गाह्रो हुने परिस्थिति छ। नेपाल सरकारले आफ्नो चाहनालाई प्रस्टरूपमा व्यक्त नगर्दा उसबाट आउने सहयोग पनि ढिलो हुन सक्ने प्रशस्त आधार छन्।

कुनै पनि नाकाबन्दीलाई घोषित वा अघोषित भन्नु जरुरी छैन। अपराध परिणामका दृष्टिकोणले अपराध हुन्छ। घोषित वा अघोषित भएका आधारमा हुँदैन। नेपालमा जे गरिएको छ, त्यो नाकाबन्दी नै हो । किनकि परिणामका रूपमा नेपालले नाकाबन्दी खपिरहेको छ। नेपालको सिमानाभित्र आएका कुनै पनि पारवहनका साधन वा तिनका सञ्चालकहरूलाई सुरक्षा प्रदान गर्ने काम नेपाल सरकारको हो। जुन कुरा बिमा संरक्षित छ, त्यो बिमा संरक्षित रहिरहन्छ। जुन छैन, त्यसको जिम्मेवारी नेपाल सरकारको हो। नेपालको आन्तरिक परिस्थिति देखाई नेपाललाई नाकाबन्दी गर्ने अधिकार भारतलाई छैन।

नेपालले लामो अवधिदेखि यस्तो हस्तक्षेप खप्दै छ। यो हस्तक्षेप खप्नुपर्ने बाध्यता आधुनिक संसारमा सोच्न नसकिने कुरा हो। राणा शासन रहुन्जेल नेपाल बेलायत जस्तो समृद्धशाली मुलुकको समान तथा सहयोगी राष्ट्र (एली) का रूपमा आफूलाई स्थापित गराएरै हिँड्यो। छिमेकीले लछारपछार गर्न सकेन। तर २००७ सालको परिवर्तनपछि नेपालले आफ्नो देशको आर्थिक शक्तिलाई अर्काको सहयोग प्राप्त गर्न कसरी प्रयोग गर्ने भन्ने चिन्तनका आधारमा बढाउन सकेन। नेपाल निर्माताले कायम गरेको आफ्नो जनता र उनीहरूको समग्र सामूहिक हितविरुद्ध हुने वा हुन सक्ने संकटविरुद्ध कसरी उभिने भन्ने चिन्तन अगाडि बढाउन सकेन।

आजको संसारमा देश चलाउन उद्योगधन्दा तथा आर्थिक क्षेत्रको सुरक्षा, राज्यविरुद्ध हुने हिंस्रक कामकारबाही, देशमा लगानी गर्न आएका ठूला तथा धनी कम्पनीहरूलाई अनुशासनमा राख्ने तागत, बाढी-पहिरो तथा भुइँचालोजस्तो प्राकृतिक प्रकोपविरुद्धको तयारी र पैसावाल गैरसरकारी संस्थाहरूलाई आफ्नो आवश्यकताबमोजिम काम गराउन सक्ने क्षमता केही पनि आर्जन गर्न सकेन। यसमा पनि इन्धन आपूर्तिको विषय नेपालमा जहिले पनि अत्यावश्यक विषय हो। तर इन्धन खरिद र आपूर्तिको स्वतन्त्र व्यवस्था आफैँले सञ्चालन गर्नुपर्ने राज्यले यो प्रणाली त्यस्तो मुलुकको भरमा छोड्यो, जसका सरकारहरूलाई सामान्य कूटनीतिक शिष्टाचार पनि आउँदैन। यो प्रक्रियामा नेपाललाई निरन्तर तिनैले परनिर्भर बनाउन षड्यन्त्र गर्दै आएका छन्।

नेपालको भविष्य नेपालको दुवै छिमेकीभन्दा राम्रो हुन सक्छ। तर त्यसका लागि राष्ट्रिय सुरक्षालाई अत्यधिक महत्व दिएर अगाडि बढ्नुपर्दछ । बेलैमा नेपालका संवेदनशील पूर्वाधारहरू जस्तो-ग्याँस, बिजुली, पेट्रोल, दूरसञ्चार, खानेपानी र सुरक्षा व्यवस्थापनको कुरालाई अत्यधिक महत्व दिएको भए आज विश्वसामु यसरी लाचार भएर उभिनुपर्ने स्थिति हुने थिएन। नेकपा माओवादीको जनयुद्धको उदयसँगै नेपाल भारतीय व्युहमा फस्दै गएको छ। देशप्रति यत्रो घातप्रतिघात हुँदा पनि हाम्रा ‘इन्टेलिजेन्स सेवाहरू’ कसरी बलियो बनाउने भन्ने राष्ट्रिय सोच देखिँदैन। नागरिक प्रतिरक्षा वा आकस्मिक तत्परताको कुरामा हामी गरिब नै रहने भयौँ। सेनालाई बलियो मात्र बनाउन सकेको भए अहिलेका धेरै समस्या किनार लाग्ने थिए। स्रोतको अभावमा नेपाली सेनाले आफ्नो सानो क्षमता मात्र पनि प्रयोग गर्न सकेको छैन।

नयाँ संविधानको सुत्केरो र भारतीय नाकाबन्दीले नेपालको भारतसँगको सम्बन्धलाई एकपटक फेरि वस्तुगत भएर हेर्नुपर्ने बाध्यता थपिदिएको छ । भारत कहिल्यै पनि भरपर्दो देखिएको छैन। यसको कूटनीतिको स्तर उपनिवेशवादमा आधारित छ। यो कुरालाई टालटुल गरेर फाइदा छैन। न त नेपालको सार्वभौसत्तालाई सन्तुलन गरेर भारतसँग सहकार्य गर्न सकिन्छ। जब मुलुकका आन्तरिक शक्तिहरू मूल्यमान्यताका कुरामा छरिन्छन् वा एकअर्कासँग टाढिन्छन्, उपनिवेशवादले प्रश्रय पाउँछ।

अहिलेको कठिन परिस्थितिमा राष्ट्रिय एकताका लागि सबै नेपाली प्रयत्नशील हुनुपर्दछ। यसका लागि आन्दोलनरत पक्षलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउन प्रशस्त बल गर्नुपर्दछ। तर नेपालको समस्याको दीर्घकालीन समाधानका बारेमा सोच्ने बेला आइसकेको छ। विकल्पको कूटनीति नेपालीको निरन्तर आवश्यकता हो। नाकाबन्दीको समस्या समाधानका लागि मात्र नभई समग्र राष्ट्रिय अस्तित्वका लागि यसको महत्व छ। तर सबै कुराको उठान नेतृत्व तहबाटै हुन्छ। देशलाई यत्रो अन्याय पर्दा देशका प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रलाई सम्बोधन गरी एकताको आह्वान गर्न र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गर्न सक्नु हुन्न भने उहाँबाट यी समस्याको समाधान कसरी सम्भव होला ?

अधिकारी संवैधानिक कानुनका अध्येता हुन्।

 २०७२ भाद्र २५ शुक्रबार

संविधानसभामा परिमार्जित विधेयकमाथि दफाबार छलफल प्रारम्भ भएको छ। सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले कुल ५४ संशोधन प्रस्ताव प्राप्त भएको जानकारी दिनुभएको छ। नेम्बाङले संशोधन प्रस्तावमाथि छलफल गर्न चाहने सभासद्को नाम पनि प्राप्त गरिसक्नुभएको छ। प्रस्तावमाथिको छलफल पनि आरम्भ भएको छ।

यति हुँदाहुँदै पनि संविधानसभा संविधान निर्माणको सबैभन्दा कठिन चरणमा प्रवेश गरेको मान्नुपर्ने हुन्छ। संघीय समाजवादी फोरमसहित चार राजनीतिक दलद्वारा संविधानसभाभित्रको छलफल बहिष्कार गरेको वर्तमान परिस्थिति छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका तर्फबाट तराई-मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्रराय यादवले विगतमा भएको मधेसी दलसँगको सम्झौता लागू नभएको र विभिन्न जिल्लामा जनता शान्तिपूर्ण रूपमा आन्दोलनमा उत्रिँदा पनि सरकारले सेना परिचालन गरेको भन्दै सहमतिको वातावरण नबनेसम्म बैठक बहिष्कार गर्ने घोषणा गर्नुभएको छ। सबै जाति र समुदायले मुलुक आफ्नो हो भन्ने भावनाको विकास गराउन सेना परिचालनलाई फिर्ता गरी सहमतिबाटै संविधान जारी गर्ने ध्येयसहित ठूला दलहरूलाई भूमिका निर्वाह गर्न संविधानसभाबाटै यादवको आह्वान छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा संघीय समाजवादी फोरम, तराई-मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनाधिकार फोरम गणतान्त्रिक र सद्भावना पार्टी आबद्ध छन्। सद्‍भावना पार्टीले यसअघि नै संविधानसभा छोड्न राजीनामा बुझाइसकेको छ। राप्रपा नेपाल जो वर्तमानमा संविधानसभाको चौथो ठूलो राजनीतिक दल हो, पनि अस्तिदेखि मूलधारबाट किनार लागेको घोषणा गरेको छ।

अहिलेको प्रक्रियाका साझेदार नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीभित्रै पनि संविधान विधेयकमा उल्लिखित प्रावधानहरूका सम्बन्धमा फरक-फरक धारणा छन् । एउटै दलभित्र पनि विभिन्न धारहरू हुनाले फरक मतको व्यवस्थापन गर्ने कामलाई चुनौतीपूर्ण बनाइदिएको छ। जेजति सहमति गरिएको छ, त्यो पनि धेरै मेहनतबाट मात्र हुन सकेको हो भन्नेमा शंका छैन। तथापि फरक मतको व्यवस्थापन गर्ने काम सकिएको देखिँदैन। उदाहरणका लागि हिन्दु राज्य र धर्म निरपेक्षताको कित्तामा बाँडिएका कांग्रेसलगायतका सभासद्लाई एक ठाउँमा ल्याउन ‘धर्म निरपेक्षता’ को स्पष्टीकरण राखिएको सबैले बुझेको हो। तर कांग्रेसका सूर्यमान गुरुङले धर्म निरपेक्षतालाई कायम राखिनुपर्नेमा थप व्याख्या गर्ने नाममा अपव्याख्या गरिएकाले आदिवासी÷जनजाति समुदाय असन्तुष्ट रहेको बताउनुभएको छ। लोकतान्त्रिक आन्दोलनमा आफूहरू पनि सहभागी भएर रगत-पसिना बगाएको स्मरण गराउँदै उहाँले यी समुदायका आवाजलाई गम्भीरतापूर्वक सुनियोस् भन्नुभएको छ। मधेसी जनजाति सभासद्ले आफ्नो समुदायलाई बाहिर राखेर जारी हुने संविधानको स्वामित्व आफूले नलिने चेतावनी दिएका छन्। एमालेका एक सभासद्ले त आफ्नो नेतृत्वले आफ्नो जातीय अनुहार देखाएको समेत आरोप लगाएका छन्। अध्यक्ष प्रचण्डको घरै पुगेर माओवादीका केही मधेसी नेताहरूले आफ्नो कुरा सुनुवाइ नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। यी सबै आफ्नै दलभित्र अन्तरसंघर्षमा छन् । उता हिन्दु राज्य स्थापनाको माग राख्दै काठमाडौंमा राप्रपा नेपाल एक्लै आन्दोलनमा छ।

परिस्थिति यति विषम भए पनि राजनीतिक माग के हो भन्ने स्पष्ट छैन। नेपाल बन्दमै संलग्न दलहरूको पनि साझा धारणा छैन। थारूहरूले थारूलाई जनाउने प्रदेश माग गरे पनि अरूको एजेन्डा के हो स्पष्ट छैन। सरकारले स्पष्ट गरेर ल्याऊ भनेको पनि छैन। मुलुकमा सुरु भएको नेपाल बन्दको प्रक्रियाबाट पूर्वीतराई क्षेत्र झन्झन् आक्रामक हुँदै आएको देखिन्छ। पश्चिम क्षेत्रमा कथित आन्दोलनकारीहरूले सात सुरक्षाकर्मी र एउटा काखको नानीको हत्या गरेपछि सामाजिक सद्भाव नखल्बल्याईकन आन्दोलनमा संलग्न भइरहने प्रतिबद्धता सार्वजनिक गरेका छन्। यस्तो प्रतिबद्धता पूर्वतर्फ पनि छ। तर वस्तुतः आन्दोलन हिंस्रक हुँदै गएको देख्न सकिन्छ। नियोजित हिंसाका माध्यमबाट सरकारलाई गलाउने आन्दोलनकारीको रणनीति देखिन्छ।

यो रणनीति स्पष्ट देखिए पनि आन्दोलनकारीहरू केवल नेपाल बन्दमा मात्र समर्पित छैनन्। उनीहरू गोलाबारुद हुने सुरक्षासंयन्त्रलाई ढुंगामुढा गरी आवेश प्रेरित गराउने, निषेधित क्षेत्र तोड्ने र तोड्न लगाउने, सडकमा हिँडेका मोटरगाडीहरू जलाउने, सरकारी कार्यालयमा तोडफोड गर्ने तथा आगो लगाउनेलगायतका कर्ममा लागेको पनि देखिन्छ। प्रहरी बिट तथा कार्यालय र नेपाल सरकारको संरचनामा ताकेर गरिएको आगजनीले धेरै कुरा सोच्न बाध्य तुल्याउँछ। विराटनगरमा अस्ति पुनः सुरक्षा अधिकारीहरूमाथि प्रज्ज्वलनशील पदार्थ प्रयोग गरी जलाउने प्रयास भएको सार्वजनिक जानकारीमा आएको छ। सुरक्षा संयन्त्र न छोडेर जान सक्छ, न त टुलुटुलु हेरेर बस्न सक्छ। नेपाली सेनाको उपस्थितिले कतिपय क्षेत्रमा परिस्थिति धेरै बिग्रन दिएको छैन। सुरक्षा संयन्त्रको तर्फबाट गोली चलाउँदा भएको क्षतिलाई तुरुन्त बन्द गर्नुपर्ने अवस्था देखिन्छ, तर यसले कसैको भलो गर्दैन।

यो आन्दोलनको भूराजनीतिक पक्ष पनि छ। देशका लागि यो सबैभन्दा बढी चिन्ताको विषय हो। नेपाल एउटा सनासो (ट्र्याप) मा फसिसकेको देखिन्छ। तथापि समस्याको राजनीतिक हलबाहेक अर्को समाधान खोज्न सकिँदैन। गत २२ गतेकै दिन संविधानसभा बैठक बस्नुअघि नै सभाध्यक्ष नेम्बाङलाई मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले भेटी संविधान जारी गर्ने प्रक्रियालाई बिस्तार गर्न आग्रह गर्नुभएको थियो। त्यो आग्रहलाई अध्यक्षले त्यति महत्व नदिएकोमा उहाँले ‘सत्ताधारी ठूला दलहरूले पुरानो मानसिकता र एकपक्षीय संकीर्ण जातीय चिन्तनलाई निरन्तरता दिँदै सुर्खेत, कर्णाली र मध्यपश्चिम क्षेत्रका माग सम्बोधन गरेको तर मधेस थरुहट क्षेत्रलाई पूर्णरूपमा बेवास्ता गर्दै दमन गरेरै जाने नीतिमा अघि बढेको आरोप लगाउनुभएको छ। आमरूपमा देशभर र विशेषगरी मधेस र थरुहटमा चरम किसिमको तनाव, ध्रुव्रीकरण, भीडन्त तथा दुर्घटनाको स्थिति विद्यमान देखिएकोमा दुईमत छैन।
प्रकाशित खबरहरूले गच्छदार झापा छोडेर मोरङ, सुनसरीसहितको एक प्रदेश, मकवानपुर र सिन्धुलीको तल्लो भागसहितको अर्को प्रदेश र कन्चनपुर छोडेर कैलालीसम्मकै अर्को प्रदेश गरी तराईमा तीन प्रदेश र समग्रमा आठ प्रदेशको पक्षमा देखाएका छन्। मधेसमुखी दलहरू आफैं प्रस्ट देखिएका छैनन् । तर अहिलेसम्मको आन्दोलन मूलतः मधेसी र थारूहरूको मात्र हो । अखण्ड पक्षधरहरूको प्रतिक्रिया देखिएको छैन। अहिले आएर ठूला दलका थारू मधेसी सभासद्हरूले आफ्नो दलको ह्विप नमान्ने धम्की दिएपछि प्रजातान्त्रिक विधिको खासै कुनै प्रयोजन रहेन। जनजाति समूहहरूमा एकातर्फ कठोर आन्दोलनमा जाँदा देश विखण्डनकारीको हातमा पुग्छ कि भन्ने त्रास र अर्कोतर्फ केही नगर्दा पछि सीमांकन र नामांकनमा अल्मल्याउँछन् कि भन्ने सन्देहमा रहेका छन्। चुप लागेर बसेको समुदायको मनपेट बुझ्न गाह्रो नै छ। त्यसैले राजनीतिक समाधान केवल एक पक्षसँग मात्र खोजेर प्राप्त हुन सक्ने स्थिति छैन।

एमाओवादीले केही दिनदेखि आन्दोलनरत मधेसी, थारूलगायतसँग वार्ता गरी समाधान खोज्न पहल सुरु गरेको छ। यसको कांग्रेस-एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसहित आन्दोलनरत मधेसी दल, थारू समुदायसँग अनौपचारिक छलफल गरी औपचारिक वार्ताको पहल गर्ने निर्णय सराहनीय छ। खासगरी संविधान निर्माण सम्बन्धमा भएको सोह्रबुँदे सहमतिको एक पक्ष मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई कुनै हालतमा प्रक्रियाबाट बाहिर जान नदिन पहल गर्ने यसको निर्णय न्यायोचित देखिन्छ। गच्छदार हाल अन्य पक्षसँग नजोडिए पनि तीन दलसँग भने छुट्टिएर बस्नुभएको छ। कांग्रेस, एमाले, एमाओवादी र लोकतान्त्रिकबीच जेठ २५ गते भएको सोह्रबुँदेअनुरूप बढेपछि मात्र संविधान निर्माण प्रक्रियाले गति लिएको सर्वविदितै छ । त्यसैले पनि संविधान घोषणा गर्दासम्म लोकतान्त्रिकलाई समेट्नुपर्नेमा एमाओवादी जोड सम्भव पनि छ । यसका लागि तीन दलले आवश्यक गृहकार्य गर्नैपर्छ।
सभाध्यक्ष नेम्बाङले दलहरूलाई संविधान जारी भएपछि पनि संशोधनमार्फत कतिपय विषय समेट्न सकिने भन्दै आपसी विश्वास कायम राख्न निरन्तर सुझाव दिएको वर्तमान परिस्थिति हो। ‘मैले भनेको छु, बाटो साँघुरो छ तर बन्द छैन, संशोधनहरू बीचबाट बाटो खोज्नुस्, संविधान जारी भएपछि पनि संशोधन गर्न सकिन्छ’ भन्ने उहाँको भनाइ त्यति तार्किक लाग्दैन। उहाँले वर्तमान प्रक्रियालाई ‘स्लो’ बनाई सम्बद्ध पक्षसँग वार्ता गर्न सभाका तर्फबाट वातावरण बनाइदिनु जरुरी छ। सोह्रबुँदे सहमति र सात प्रदेशको सीमांकनको विपक्षमा रहेका दलहरू सबैजसो सडकमै रहे पनि तिनीहरूका माग र नारामा एकरूपता छैन। उनीहरूबीच पनि छलफल र संवाद हुनुपर्दछ। यसका लागि पनि केही समय चाहिन्छ नै। सडकमा कोही नरहून् भन्नाका लागि अन्तिम प्रयास पुगेको छैन।

संविधानसभाको बर्तमान सिट संख्या केवल ५९७ मात्र हो। वर्तमान परिस्थिति हेर्दा प्रक्रियामा रहेको दलहरूको संख्या १८ छ भने उनीहरूसँग संयुक्त रूपमा ५१५ सभासद्हरू छन्। संविधानको विधेयक पारित गर्न चाहिने अन्तरिम संविधानको धारा ७० को बहुमत अर्थात् ३९८ को बहुमत अहिले पनि संविधानसभामा छ । प्रमुख तीन दलमा रहेको सभासद् संख्या ४ सय ७४ नै संविधान निर्माणका लागि काफी छ। प्रक्रियामा रहेका अन्य दलहरूसमेतलाई मिलाउने हो भने यो संख्या आज पनि चाहिने दुईतिहाई बहुमतभन्दा ११७ सिट बढी छ। राप्रपा नेपाल पनि मिल्न आयो भने यो संख्या १४२ पुग्दछ।

संविधानसभाको प्रक्रिया छोडेर ११ वटा दलहरू तीनवटा मोर्चामार्फत अहिले आन्दोलनमा लागेका छन्। उनीहरूको सभासद् संख्या केवल ५७ मात्र हो। यसमध्ये ११ जना तराई-मधेस लोकतान्त्रिक पार्टीका छन्। राप्रपा नेपाललाई छुट्ट्याएर हेर्ने हो भने अंकगणितले आन्दोलनको आकार र परिमाणलाई वर्णन गर्न सकिरहेको छैन। आन्दोलनको जरो अन्यत्रै हो भने यसलाई सरकारले नियन्त्रण गर्न सक्ने अवस्था छैन। त्यस्तै अंकगणितका आधारमा यहाँ प्रजातन्त्र चल्ने सम्भावना पनि रहेन।

तर यो आन्दोलन आन्तरिक शक्ति निर्माणको प्रतिस्पर्धामा छ भने वार्ताको विकल्प छैन। खेर गइरहेको जीउज्यान र नोक्सानीमा परिरहेको राष्ट्रिय सम्पत्तिहरूलाई तत्काल जोगाउनु पर्दछ। आन्दोलनका समुचित मागहरूको सम्बोधन हुनुपर्दछ। तर वार्तामा नबसीकन परिस्थिति के हो भनी प्रस्ट हुन सक्दैन। हिजो पनि प्रमुख तीन दलले आन्दोलनरत दल र नेतृत्वपंक्तिलाई वार्तामा आउन आह्वान गरेको छ। प्रधानमन्त्रीले उनीहरू सबैलाई व्यक्तिगत रूपमा पनि ‘रिच आउट’ गर्दै हुनुहुन्छ। तर वार्ता जबसम्म सर्वपक्षीय हुँदैन, यसबाट देशका लागि निकास निस्कन सक्दैन। केवल कसैका लागि अर्को आन्दोलनको तयारी मात्र हुन सक्दछ।

अधिकारी संवैधानिक कानुनका अध्येता हुन्।

 २०७२ भाद्र १५ मंगलवार

भारतका गृहमन्त्री राजनाथ सिंहले हिजो नेपालमा एक करोड भारतीय रहेको र पछिल्लो राजनीतिक अवस्थामा उनीहरूको चासो सम्बोधन हुने भनी गरेका टिप्पणीले आम नेपालीलाई सशंकित तुल्याएको छ। उनीहरूसम्बन्धी विषय नेपालको आन्तरिक मामिला भए पनि भारत सरकारले उनीहरूको हितको संरक्षण गर्नेछ भनी उनले भनेका छन्।

भारतीय सशस्त्र सीमाबलको एक कार्यक्रममा आएको गृहमन्त्री सिंहको यो भनाइ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कैलाली हत्याकाण्डको पृष्ठभूमिमा नेपाललाई सुरक्षा सहयोग गर्न भारत तयार छ भन्ने अभिव्यक्तिको केही दिनपछि नै देखिएको हो। राजनीतिमा प्रधानमन्त्री मोदीभन्दा ठूलो लगानी भएका राजनाथ सिंहको यो भनाइ केवल स्थानीय राजनीतिलाई सन्तुलन गर्ने उद्देश्यले मात्र आएको होइन। यी दुवै भनाइ सार्वजनिक भएपछि नेपालको संविधानसभाको भविष्य संकटमा परेको अनुभूति गर्न सकिन्छ। यो केवल एउटा नाटक गर्ने ठाउँ मात्र हुन जाने सम्भावना देखिँदै छ। यस्तोमा आफ्नो देशका बारेमा आफैंले निर्णय लिन सक्ने अवस्था अब कसरी रहला? यदि उनीहरूले बोलेका कुराहरू सत्य हुन् भने भारतले अब नेपालमा अन्य कुराहरूका अतिरिक्त कथित ‘एक करोड भारतीयको कार्ड’ खेल्ने मानसिकता लिएको प्रस्ट देखिन्छ। आमनेपालीका लागि यो एउटा कठोर प्रश्न हो।

भारतलाई थाहा छ-नेपाल संविधान निर्माणको एउटा संवेदनशील चरणमा छ। संविधानसभाभित्र परिमार्जित संविधानको विधेयकमाथिको पाँचदिने सैद्धान्तिक छलफल हिजो सकियो। संविधानसभाभित्र भइरहेको सैद्धान्तिक छलफलमा सम्बन्धित कुनै पनि पक्षले आपत्ति गर्नुपर्ने अवस्था थिएन। यसले सबै पार्टीहरूलाई बोल्ने ठाउँ दिएको थियो। संविधानसभा निर्वाचित प्रतिनिधिहरूको सबैभन्दा औपचारिक थलो मात्र नभई छलफल गर्न पाउनु जनप्रतिनिधिहरूको अधिकारको कुरा पनि भएकाले सैद्धान्तिक छलफलको महत्वलाई बुझ्न सकिन्छ। यस छलफलको एजेन्डामा संविधानसभाका सीमान्त दलहरूले पनि बलियो गरी प्रयोग गर्न सक्ने थिए। किन उनीहरूले यो अवसरको प्रयोग गर्न चाहेनन् भन्ने धेरैलाई चासो थियो।

संविधानसभाभित्र बोल्दा प्रत्येक सभासद्लाई आफ्नो दलीय हैसियत मात्र नभई समग्र सभाभित्र निजको स्थान के हो भन्ने पनि थाहा हुन्छ । सदन र सडकबीचको मूल फरक त्यही हो। त्यहाँ ठूला दलहरूले कसैलाई सानो भनेर हुत्याउन पनि सक्दैनन्। सानाहरूले पनि आफून्दा ठूलो हैसियत भएको दल वा दलहरूको हैसियत स्वीकार गर्नुपर्ने हुन्छ। तात्कालिक सार्वजनिक जबाफदेही (इम्मिडियट पब्लिक रेस्पोन्सिबिलिटी) निर्वाह गर्नुपर्ने प्रतिनिधि र साधारण सभासद् वा ‘ब्याक बेन्चर’ हरूको वैधानिक स्थिति सधैं प्रस्ट हुन्छ। साना दलहरूले पनि ठूला दलहरूले झैं आफ्नो बोली मुलुकभरि प्रत्यक्ष प्रसारण गराउन पाउँछन्। जोसँग सार्वजनिक रूपमा खपत हुन सक्ने तार्किक विकल्प छ, त्यसलाई जनतामा जाने योभन्दा ठूलो अवसर अन्य प्रकारले प्राप्त हुँदैन। हरेक दलको कार्यादेशको इज्जत हुने ठाउँ संविधानसभा नै हो। यसलाई बिजेत गरेर प्रजातन्त्रको इज्जत हुँदैन। तर दुर्भाग्य नै भन्नुपर्छ, एकातिर छलफलका लागि दलहरूले पर्याप्त समय पाएनन् भने अर्कोतिर प्रतिपक्षमा रहेका दलहरूले सैद्धान्तिक छलफल संविधानको सुधार वा जनतामा जाने अवसरका रूपमा लिएनन्। नलिनुपर्ने कारण के रहेछ? प्रस्ट हुँदै छ।

संविधानसभाभित्र भइरहेको सैद्धान्तिक छलफलको महत्वलाई कुनै संविधानवादीले ‘डाउनप्ले’ गर्नु हुँदैनथ्यो। जहाँसम्म मतदानको विषय छ, त्यो फरक कुरा हो। संविधानसभामा संविधानको परिमार्जित विधेयकमाथि पर्याप्त सर्वपक्षीय छलफल नै नभईकन आआफ्नो टीकाटिप्पणी दिएको कारण मात्रबाट समग्र रूपमा नमिलेको के हो वा केचाहिँ मिलाउन बाँकी छ, स्थापित हुन सक्दैन। खण्डीकरणदेखि अखण्ड क्षेत्रसम्मका कुरा एकातिर छन् भने भाषा, धर्म, संस्कृति र पहिचानमुखी विषयहरू अर्कोतिर छन् । राज्य संरचनामा समावेशीकरण गर्ने उद्देश्यले कायम गर्नुपर्ने प्रावधानहरू तथा निर्वाचन पद्धतिलाई शोषित, पीडित र पहिचान पाउन नसकेका समुदायको हितमा कसरी प्रयोग गर्ने भन्ने प्रश्न पनि अनुत्तरित नै छन्।
यस सम्बन्धमा देशका सबै ठूला नेताहरू एक ठाउँमा उभिएको देखिनुपर्ने हो, तर त्यसो हुन नसक्दा देशको हरेक जातजाति वा समुदायको आआफ्ना प्रतिक्रिया देखा परेका छन् । हरेकले चाहेजस्तो हुनसक्ने अवस्था छैन। सबैलाई एउटा ‘प्लेटफार्म’ मा ल्याउनका लागि साझा धारणा छैन। प्रजातान्त्रिक विधिद्वारा मूल्य-मान्यताको निरूपण हुन सक्ने अवस्था भए पनि सोलाई स्वीकार गरिएको छैन। विकल्पको खोजी हुन सक्छ, तर त्यो गर्नका लागि उदार चित्तका साथसाथै अर्काको दृष्टिकोण पनि बुझ्नुपर्ने हुन्छ। त्यसैले यहाँ स्पष्ट रूपमा के बुझ्नुपर्छ भने सहमतिको प्रयास पुगेको छैन। प्रयासका लागि अवसरहरूको खोजी हुँदै गर्दा गृहमन्त्री राजनाथ सिंहले नेपालको समस्यालाई भारतीय रणनीतिको विषय बनाइदिएका छन्।

यसो त, नेपालका आफ्नै धेरै समस्या छन्। सहमतिको प्रयास गर्दा हरेक पक्षले जथाभावी बोल्ने प्रवृत्ति छोड्न सकेका छैनन्। यसका लागि सकारात्मक सोच चाहिन्छ। आफ्नो कुरा राख्दा एकोहोरो रूपमा प्रस्तुत हुनुभन्दा पनि अर्को पक्षको मान्यताभन्दा हाम्रो मान्यतामा दम छ भन्ने दृष्टिकोण स्थापित गर्ने प्रयास गर्नुपर्ने हुन्छ। अन्ततः यो प्रयासबाट सबैलाई एक ठाउँमा ल्याउन सकिँदैन भने पनि आउन नमान्नेलाई बहुमतवालाले एक्ल्याउन सक्नुपर्छ। राजनीतिमा कसैलाई एक्ल्याउने भनेको पनि एउटा प्रक्रियाअन्तर्गत मात्र सम्भव छ। यो नितान्त महत्वपूर्ण राजनीतिक प्रक्रिया हो। बहस र सहमतिको प्रक्रियालाई धेरै छोटो पारिदिनाले यो प्रक्रिया केवल प्राविधिक कुरा मात्र हुन जान्छ। त्यसैले नेपालमा बहुमत कसको छ भन्ने कुरा प्रस्ट देखिए पनि उसले सोको हैसियतलाई राजनीतिक रूपमा देखाउन सकेको हुँदैन। अतः सहमतिको प्रयास पुनः सुरु नगरी मतदानमा जानु हुँदैन। न्यायोचित आधारमा हरेक समस्याको समाधान हुन सक्छ। त्यसका लागि आफ्नो महत्वाकांक्षा मात्र नभई देशको सबै राजनीतिक क्षेत्र तथा समग्र राष्ट्रिय हितमा के छ? त्यो हेर्नुपर्छ । त्यो हेर्ने प्रक्रियामा नेपाल जाँदै गर्दा भारतका गृहमन्त्री राजनाथ सिंहले आफ्नो एजेन्डा सार्वजनिक गरिदिएका छन।

यसै पनि अहिले सकिएको सैद्धान्तिक छलफल अपूरो भयो। यसबारे देशका स्वतन्त्र संवैधानिक कानुनविज्ञ तथा कानुनी मस्यौदाकारसँग पनि छलफल गरिएको छैन। उनीहरूको सहयोगबिना संविधानको संरचना गरिनु र त्यसमाथि मतदान गराइनु संविधानसभाकै अपमान हो। प्रत्येक संविधानसभा सदस्यले परिमार्जित मस्यौदाका बारेमा विज्ञहरूबाट सुसूचित हुने अधिकार राख्दैन भने अर्कै कुरा हो। होइन भने चाँडो गर्ने नाममा आधारभूत प्रक्रिया छोडनु हुँदैन। यहाँ गम्भीर त्रुटि भएको छ। तर अब संविधान निर्माण रणनीतिक विषय बन्न गएपछि राम्रो र नराम्रो वा न्याय र अन्यायको कुराको संविधानमा के नै अर्थ छ?

अन्ततः प्रक्रियालाई परिणाम दिने भनेको मतदानबाटै हो। अब मतदान भारतको प्रभावमा हुन सक्ने अवस्था आउँदै छ । के अब सार्वभौम प्रक्रियाबाट अनुकूल परिस्थिति तयार गर्न सकिएला? हुन त सैद्धान्तिक छलफल केही अवधि लम्ब्याउन सकेको भए यो अवधिलाई असन्तुष्ट पक्षसँग वार्ता गर्न वा विवादास्पद विषयहरूमा समाधान खोज्न प्रयोग हुन सक्थ्यो। हतार गरेर हिजो परिमार्जित विधेयकलाई सैद्धान्तिक रूपमा पारित गरिदिएपछि परिणामस्वरूप अब केवल संशोधन प्रस्ताव गर्ने चरण मात्र बाँकी रहेको छ। संविधानसभा अध्यक्षले विधेयकमाथि संशोधन राख्न सभासद्हरूलाई भदौ १९ सम्मको समय दिँदै अर्को सूचना प्रकाशित नभएसम्मका लागि संविधानसभाको बैठक स्थगन गरेका छन् । संविधानसभाभित्र अब सैद्धान्तिक छलफल नभएर रणनीतिक रूपमा संविधानसभाबाहिर हुने अवस्था देखा परेको छ।

अहिले पनि भदौ १९ गतेलाई धेरै महत्व दिनु हुँदैन। सहमतिको प्रयासलाई नै महत्व दिने बेला छ। यसलाई नै मानेर हिँड्ने हो भने सभासद्ले राख्ने संशोधन प्रस्तावपछि संविधानसभाले विधेयकमाथि दफावार छलफल गरी संविधान पारित गर्ने प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ। तर हरेक सभासद्ले आफूखुसी संशोधन प्रस्ताव गर्ने हो भने र त्यसलाई छलफलका लागि प्रस्तुत गराइने हो भने यो प्रक्रिया अनन्त प्रक्रिया हुन जानेछ। त्यसैले सहमतिका आधारमा राजनीतिक दलहरूका तर्फबाट एकमुष्ठ संशोधन प्रस्ताव गर्नुपर्ने अवस्था छ। अहिलेको अवस्था हेर्दा दलहरूले भदौ १८ सम्म गर्ने राजनीतिक सहमतिलाई संशोधन प्रस्तावमार्फत विधेयकको अंग बनाउन सक्छन्। देशमा अशान्ति गर्न लागेका पक्षले यो अवधिमा आफूलाई एक ढिक्का बनाई प्रस्तुत हुने सम्भावना एकदमै कम छ। असन्तुष्ट पक्षको राजनीतिक माग सम्बोधन गर्न वार्ता गर्न कम्तीमा पनि यो संशोधन प्रस्तावको अवधि बढाइनु आवश्यक छ।
तर यो आवश्यकता एउटा सैद्धान्तिक विषय मात्र बन्न गएको छ। संविधानसभा भदौरे बालीका रूपमा रोपिएको रहेछ। सो बाली फुल्ने बेला हुन लाग्दानलाग्दै काट्नेलाई हतार हुन लागिसक्यो। यो बाली काट्ने हतार हो भने समग्र नेपाली राष्ट्रको पक्षमा संविधान कसरी लेखिएला ?

अधिकारी संवैधानिक कानुनका अध्येता हुन्।

 २०७२ साउन २९ शुक्रबार

नेपालमा नागरिकताको विषय सधैं विवादमा आएको छ। नेपाली नागरिकले नागरिकता पाउने अधिकार स्वतः दाबी गर्न पाउँछ । तर एकातिर को नेपाली नागरिक हो तथा अर्कोतिर अनागरिकलाई कसरी नागरिकता दिने भन्ने प्रश्न यहाँ सधैं चुनौतीपूर्ण बन्ने गरेको छ। वर्तमान अन्तरिमकालको सुरुआतमै एकपटकका लागि भनी मागेजति सबैलाई खुकुलो प्रावधानअन्तर्गत नेपाली नागरिकता प्रदान गरिए पनि नेपालमा नागरिकता समस्या समाधान हुन सकेन। आज सात वर्षपछि पुनः लाखौंले नेपाली नागरिकता पाउन सकेका छैनन् भनिँदै छ। किन यस्तो हुँदैछ ? नबुझिने होइन।

नेपाली नागरिकता कानुनले थाम्न नसकेको बोझ भनेको नेपाल भारतको खुला सिमाना हो। सिमानावारि बस्ने नेपाली र पारि बस्ने भारतीयहरू कतिपय अवस्थामा उस्तै लाग्दछन्। उनीहरूबीच साझा भाषा, धर्म, संस्कृति र रीतिरिवाज पनि छन्। उताका लाई यताका आफ्नै लाग्दछन् भने यताकालाई पनि उताका परचक्री देखिँदैनन्। आइजाइमा सुगमता छ। तर ऐतिहासिक कालमा सुगमतालाई स्वीकार गरिए पनि सीमालाई इज्जत गरिन्थ्यो।

विसं २००७ को क्रान्तिको समापन भारतीय सुबिस्ताअनुसार भएकाले नेपाल भारतको सीमा सुरक्षा व्यवस्था भारतीयहरूका हकमा खुला गरिने बाध्यता नयाँ सरकारहरूले बोक्नुपर्ने भयो। स्पष्टरूपमा क्रान्तिभन्दा अघि पगरी गुम्ने त्रासमा रहेका राणा तथा भारतका बीचमा नेपाल भारत मैत्री सन्धि सहीछाप हुन पुग्यो। यसले दुवै मुलुकका जनतालाई एकअर्को देशमा समान अधिकार प्रदान गर्ने व्यवस्था गरेपछि भारतीयहरू निर्बाध रूपमा नेपाल आउन जान थालेका हुन्। यसपछि नेपालको सुरक्षा संयन्त्रले आइजाइ गर्ने भारतीयहरूको रेकर्ड राख्ने परम्परा पनि छुट्यो। नेपालका गाउँघर, मौजा र गौंडा-गौंडामा बस्ने कमान्डिङ अफिसरहरू पनि हटाइए। तत्पश्चात् नेपालका सरकारहरूले सीमा व्यवस्थापनमा कहिल्यै पुरानो मान्यता कायम गर्न सकेनन् । यसको नेपाली जनसंख्यामा दूरगामी प्रभाव पर्दै गएको छ।

नेपाली क्रान्तिभन्दा पहिले नागरिकतासम्बन्धी कानुनको आवश्यकता देखिएको थिएन। तर खुला अन्तर्राष्ट्रिय सिमाना तथा बढ्दो जनसंख्या अनि भारत र नेपालबीच बढ्दै गएको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धले यसको आवश्यकता महसुस हुँदै गयो। नागरिकतासम्बन्धी कानुन बने पनि नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने व्यक्तिहरूको आवतजावतको परिचयसहितको रेकर्ड राख्ने व्यवस्था अपनाउन नसक्नुका कारण नागरिकतासम्बन्धी कानुन त्यति प्रभावकारी हुन सकेन। आवतजावतलाई खुला राखिए पनि नेपालमा बसी काम गर्ने भारतीयलाई श्रम अनुमतिको व्यवस्था गर्न सकेको भए नेपालमा कमाउन आएका भारतीयहरूको विदेशी हैसियत कायम हुन्थ्यो। कुनै दिन फर्केर जान्थे । यो दुवैको अभावमा काम गर्न आउने भारतीयहरू केही समयमै मधेसी भएको दाबी गर्ने र नेपाली नागरिकता प्राप्त गर्ने प्रचलन चलेकै हो।

तीन सहर काठमाडौंमा सुरुआतका लागि श्रम अनुमति व्यवस्था लागू गर्न खोज्दा भारतले २०४५÷४६ मा नेपाललाई आर्थिक नाकाबन्दी गरी राजालाई संवैधानिक राजामा झार्ने आन्दोलनलाई सहयोग गरेकै हो। यस्तो निरन्तरताका बीच नेपालको नागरिकता कानुनका प्रयोग हुँदै आएको छ। कतिपय मधेसीहरूलाई खुलारूपमा प्रवेश गरी यहाँ काम तथा बसोबास गर्ने भारतीयका कारणले नागरिकता सम्बन्धमा राज्यको विभेद खपेका छन्। जसलाई कडाइ गरिनुपर्ने हो, उनीहरू फुत्किएका छन्। जसले स्वतः नेपाली भएका कारण नागरिकता प्राप्त गर्नुपर्ने हो, उसले प्रमाण पेस गर्नुपरेको छ। हालको परिस्थिति कस्तो छ भने आम नेपाली युवा काम खोज्न विदेश लागेका छन् भने देश भारतीय श्रम बजार हुन पुगेको छ। नेपाल भारत सीमा वैज्ञानिक रूपमा व्यवस्थापन गरिएको भए नागरिकताको समस्या नै हुन्थेन। नागरिकता भए पनि नभए पनि नेपालमा भएका सबै व्यक्तिहरू अन्यथा प्रमाणित भएमा बाहेक नेपाली नागरिक नै हुन्थे, तर यस्तो स्थिति रहन दिइएन।

नेपालमा नागरिकता समस्या समाधानका प्रयास निरन्तर भएका छन्। घरघरमा डोर खटाएर घरधुरी भएका सबैलाई नागरिकता दिएकै हो । त्यसले पनि नपुगेर जन्मका आधारमा र तीनजनाको सिफारिसका आधारमा पनि नागरिकता वितरण भएकै हो। तर खुला सिमानाका कारणले केही वर्षपछि पुनः नागरिकताको समस्या देखा पर्छ र सरकारलाई निकास खोज्न बाध्य गरिन्छ। यही कारणले गर्दा नेपाल खुला सिमाना भए पनि लगभग भारतीय नभएको देशका रूपमा चिनिन्छ।

नागरिकताको कानुन नेपालीका लागि हो। विदेशीलाई नागरिकता दिन नेपाललाई कर छैन। हरेक देशले नागरिकता कसलाई दिने भन्ने आफ्नो स्वतन्त्रतालाई आवश्यकताअनुसार प्रयोग गर्ने हो। नागरिकतासम्बन्धी अन्तर्राष्ट्रिय मान्यताका दुइटा पक्षहरू छन्। पहिलो, नेपालमा कोही नेपाली राज्यविहीन रहनु हुँदैन। राज्यविहीनता कुनै पनि मुलुकका लागि लाज मान्नुपर्ने विषय हो। अर्को, नागरिकतासम्बन्धी कानुन पुरुष र महिलाबीच विभेदकारी हुनु हुँदैन। यसका लागि हरेक कानुन प्रणालीले उपयुक्त व्यवस्थाहरू गर्न सक्छ। तर विभेदको कुरा नागरिकहरूबीचको कुरा हो। विदेशी र नेपालीबीच विभेद गर्न पाइँदैन भन्नु लज्जास्पद कुरा हो । नेपालको अहिलेको समस्याहरू यो दृष्टिकोणबाट समाधान हुन सक्दैन।

नेपाल अधिराज्यको संविधान २०४७ विज्ञ तथा राजनीतिज्ञहरूबाट मस्यौदा भएको तथा जनआन्दोलनबाट स्थापित संविधान थियो। नागरिकताको कुरा गर्दा यसले नेपालमा स्थायी बसोबास भएका नेपालको संविधान २०१९ को धारा ७ वा नेपाल नागरिकता ऐन २०२० को दफा ३ बमोजिम नेपालको नागरिक ठहर्ने व्यक्तिहरू तथा सोही ऐनको दफा ६ बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त भएका व्यक्तिहरूलाई यो संविधान प्रारम्भ हुँदाको बखत नेपालको नागरिक भएको उल्लेख गरेको थियो। संविधान प्रारम्भ भएपछि जन्मेको कुनै व्यक्तिको बाबु निजको जन्म हुँदा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने तथा नेपाल अधिराज्यभित्र फेला परेको पितृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबुको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिने व्यवस्था यसले गरेको थियो।

यो संविधानअनुसार नेपालको राष्ट्रभाषा बोल्न र लेख्न जानेको यसै देशमा कुनै व्यवसाय गरेको अन्य राज्यको नागरिकता त्यागेको र कम्तीमा १५ वर्षसम्म नेपालमा बसेको व्यक्तिले यो संविधान प्रारम्भ भएपछि नेपालको नागरिकता पाउन सक्दथ्यो। तर नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले विदेशको नागरिकता त्याग्ने कारबाही चलाएपछि र नेपालको नागरिकता त्यागेर विदेश गएको व्यक्तिले विदेशको नागरिकता त्यागेपछि नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्थाद्वारा नेपाल आउने बुहारीहरूका सम्बन्धमा भइरहेको समस्याको समाधान गरिएको थियो। तथापि यो संविधानले नेपालको नागरिकको छोराछोरी वा वंशजको हकमा त्यस्तो व्यक्तिले नेपालमा दुई वर्षसम्म बसोबास गरेको भए कानुनद्वारा निर्धारित अवस्था र सर्तमा नेपालको नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था उल्लेख गरी नागरिकताको प्रावधानलाई अझ लचिलो बनाएको देखिन्थ्यो। अंगीकृत नागरिकको सन्तानको हकमा यो प्रावधान राखिएन, तर २०४७ सालको संविधानले नेपालीलाई अनागरिक बन्न बाध्य गर्‍यो भन्ने आधारमा हेरियो।

नेपालको अन्तरिम संविधान २०६३ ले नागरिकता सम्बन्धमा गैरनेपाली पक्षले चाहेबमोजिम व्यवस्था गरियो। यो संविधान प्रारम्भ हुँदाको बखत नेपालमा स्थायी बसोबास भएको वंशजका आधारमा नागरिकता प्राप्त गरेका व्यक्ति नेपाली नागरिक हुने नै भए। तर यसले कुनै व्यक्तिको जन्म हुँदाको बखत निजको बाबु र आमा दुवैमध्ये एकजना मात्र पनि नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्तिलाई पनि नेपाली नागरिकता प्राप्त गर्ने अधिकार प्राप्त गर्‍यो। नेपाल सरहदभित्र फेला परेको पितृत्वको मात्र ठेगान नभएको मात्र नभई मातृत्वको पनि ठेगान नभएको प्रत्येक नाबालकलाई निजको बाबु वा आमा फेला नपरेसम्म वंशजका आधारमा नेपाली नागरिक ठहर गरियो।

यसभन्दा पनि संवत् २०४६ चैत मसान्तसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायी रूपले बसोबास गर्दै आएको व्यक्तिले प्रचलित कानुनबमोजिम जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने भयो। नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा प्रचलित कानुनबमोजिम अंगीकृत नेपाली नागरिकता पाउने व्यवस्थालाई निरन्तरता दिइयो। तर विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निजको नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको र बाबुको नागरिकताका आधारमा निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले प्रचलित कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरियो। यी प्रावधानबमोजिम नै नागरिकता पाउन योग्यता पुगेको व्यक्तिलाई नागरिकता प्रदान गर्न मुलुकभरि वितरण टोली पठाइएको र नागरिकता समस्या सधैंका लागि समाधान गरिएको भनिएको थियो। अब यति खुला प्रावधान राखिनु जरूरी थिएन।

सम्भवतः यही कारणले हालै प्रस्तावित नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदाले उपरोक्त व्यवस्थालाई परिमार्जन गर्न खोजेको देखिन्थ्यो। यसले नेपालमा स्थायी बसोबास भएको कुनै व्यक्तिको जन्म हुँदाको बखत निजको आमा र बाबु नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति तथा कुनै व्यक्तिको नेपालमा जन्म हुँदाको बखत निजको आमा वा बाबुमध्ये एक नेपाली नागरिक रहेकोमा नागरिकता प्राप्त गर्दाको बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने त्यस्तो व्यक्ति वंशजका आधारमा नेपालको नागरिक हुने उल्लेख गरियो। अर्थात् आमा वा बाबु मात्र नभई आमा र बाबु दुवै नेपाली भएका अवस्थामा मात्र वंशजका आधारमा नेपाली नागरिक हुने व्यवस्थालाई यसले कायम गर्‍यो। तर वंशजकै आधारमा नेपाली नागरिक ठहर्ने व्यक्ति र यो संविधान प्रारम्भ हुनुअघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकका सन्तानले निज बालिग भएपछि आमा वा बाबुको नामबाट वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने प्रावधान पनि यसले व्यवस्था गर्‍यो। यसले उल्लेख गरेको अर्को सबैभन्दा महत्वपूर्ण प्रावधान भनेको नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान नभएको व्यक्तिलाई यसले वंशजका आधारमा नागरिकता प्रदान गर्ने प्रस्ताव गर्‍यो।

अंगीकृत नागरिकताका सम्बन्धमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी पुरुषले वैवाहिक अंगीकृत नागरिकता लिन चाहेमा नेपालमा १५ वर्ष स्थायी बसोबास गरी विदेशको नागरिकता परित्याग गर्ने कारबाही चलाएमा कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने थियो। त्यस्तै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले नेपालको नागरिकता लिन चाहेमा निजले विदेशको नागरिकता परित्याग गर्ने कारबाही चलाएपछि कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ। विदेशी नागरिकसँग विवाह भएको नेपाली नागरिकबाट नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको र विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको स्वयं घोषणा गर्ने व्यक्तिले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था यसले गर्‍यो। यो व्यवस्थाबाट बुबा जहाँसुकैको भए पनि आमासँगै मावलीमै रहेको वा घरजम गरी बसेको व्यक्ति स्वतः नेपाली नागरिक ठहर्ने भयो। तर निजलाई अर्को देशमा पनि नागरिकताको दाबी हुन सक्ने भएकाले मावलीमा अंगीकृत नागरिकताको प्रस्ताव गरियो। यसमा कसैले चित्त नबुझाउनुपर्ने कारण देखिँदैन। तर यो विरोधको विषय बन्यो।

हाल आएर उक्त प्रारम्भिक मस्यौदालाई पुनः परिमार्जन गरिँदैछ। परिमार्जन गरिएअनुसार यो संविधान प्रारम्भ हुनुअघि वंशजका आधारमा नागरिकता प्राप्त गरेको व्यक्ति र जन्म हुँदाको बखत जसको बाबु वा आमा नेपाली नागरिक हो, ऊ वंशजकै आधारमा नेपाली नागरिक हुन्छ। यसैगरी विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र बाबुको नागरिकताका आधारमा निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले प्रचलित कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्दछ। तर विदेशी श्रीमानको हकमा अहिले पनि पन्ध्र वर्ष नेपालमा स्थायी रूपमा रहेको हुनुपर्ने व्यवस्था कायम रहेको छ। यो परिमार्जित व्यवस्थाबाट नेपालमा नागरिकताको समस्या समाधान हुनुपर्ने हो, तर त्यो समाधान हुन सक्दैन। किनकि कुरा केवल औपचारिक समानताको मात्र होइन। नेपाल राज्यका पनि नेपाली जनताका हकमा संरक्षण गर्नुपर्ने केही कर्तव्यहरू छन्।

मूलतः मुलुक त्यसको हो, जो यहाँ छन्, जसले यो देशलाई खनिखोस्री जीवन निर्वाह गरेको छ, जसको अर्को देश छैन, नागरिकताको अधिकार उसका सन्दर्भमा हो। नागरिकता नहुँदा उसलाई कानुन वा प्रजातन्त्रले दिने संरक्षण उसले पाउन सक्दैन। न त घुमेर हिँड्ने विदेशीलाई, न त कमाइ खान आएकाहरूलाई नेपालले नागरिकता दिने कर्तव्य छ। सुरक्षा दिने भनेको बेग्लै कुरा हो । त्यसैले नेपाली नागरिकका हकमा विभेदविहीनता नागरिकतासम्बन्धी व्यवस्थाले पनि कायम गर्नु पर्दछ। राज्यविहीनता पनि हुन दिनु हुँदैन। तर नेपालसँग जसको रगतको नाता पनि छैन, माटोको नाता पनि छैन, उसका प्रति राज्यले कुनै कर्तव्य निर्वाह गर्नुपर्ने अवस्था छैन। यस अर्थमा विदेशी नागरिकसँग विवाह भएको नेपाली नागरिकबाट नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको र विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको स्वयं घोषणा गर्ने व्यक्तिले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने सुरुको व्यवस्थामा समस्या थिएन। आमाको जुन हैसियत छ, उनीसँग टाँसिएर यहीँ बसेका सन्तानको हैसियत पनि सोहीबमोजिम हुनु उचित व्यवस्था नै हो । तर आमा वा बाबु जोसुकै भए पनि बाहिर बस्दछन्, नेपालमै आई बस्ने कुनै प्रयोजन छैन, चाहना पनि छैन र त्यस्तो गरिएको पनि छैन भने कन्तुरमा राख्नका लागि नागरिकता दिनुपर्ने कुनै आवश्यकता पनि हुँदैन। त्यस्तै जबसम्म नेपाल र भारतको सिमामा नियन्त्रणको पद्धति विकास गरिँदैन, नेपालमा पाइने हरेक मान्छे वंशजकै आधारमा नेपाली नागरिक हुनेछ भन्नु हास्यास्पद नै हो। छोरीका सन्तानलाई नागरिकता दिँदा बाबु र बाबुको देशबाट पाउने कानुनी अधिकार र संरक्षण लुप्त हुनेबारेमा नेपाली छोरीहरूलाई जानकारी हुनुपर्छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले बंगलादेश र भारतबीचको सीमा विवाद तथा विवादास्पद सीमाभित्र को भारतीय हो, को बंगलादेशी हो भन्ने प्रश्नलाई दुई देशसँगको समझदारीका आधारमा सधैंका लागि समाधान खोजेका छन्। दुई देशबीच सीमा नियन्त्रणको प्रावधान कायम गरिसकेको परिस्थितिमा जे गरिएको छ, त्यो यहाँबाट हेर्नेहरूलाई धेरै उचित लागेको हुनुपर्छ। यस सम्बन्धमा भारतले ठूलो देश भएअनुसारको उचित व्यवहार गरेको पनि देखिन्छ। छिमेकबीच सन्धिसर्पन जति बलियो हुन्छ, सम्बन्ध त्यति नै बलियो हुन्छ भन्ने कुरामा सत्यता छ।

नेपाल र भारतको सीमा पनि केवल आयात-निर्यात र अपराध नियन्त्रणका सम्बन्धमा मात्र व्यवस्थापन गरिएको आजको परिस्थिति हो। सानो र कमजोर देश भएकाले नेपालले जहिले पनि आफूलाई यसबाट पीडित मात्र देखेको छ। जबसम्म दुई देशका जनताहरूबीचको आवागमनको वैज्ञानिक आधारमा व्यवस्थापन वा नियन्त्रण गरिँदैन, भारतीयहरू नेपालमा निरन्तर प्रवेश र नागरिकताको व्यवस्था उनीहरूबाट निरन्तर थकित हुँदै रहनेछ। यसबाट विश्वासको वातावरण बन्न सक्दैन।

भारतसँगको सम्बन्धमा आप्रबासका नियमहरू तथा श्रम अनुमतिका व्यवस्थाहरूमार्फत अझ बलियो बनाउन सकिन्छ। भारतीयहरूका लागि भारत आज पनि धेरै ठूलो देश छ। नेपालीका लागि नेपाल सानो भइसक्यो। आफ्ना मान्छेलाई आफ्नै ठाउँमा राखेर नेपाल र भारतबीच असल सम्बन्ध बनाउन नसकिने होइन। यति गर्ने हो भने नेपाली भई बाँच्न चाहने भारतीय ज्वाइँलाई पनि तत्कालै अंगीकृत नागरिकता दिन नसकिने होइन। तर अहिलेको प्रणालीबाट नेपालमा नागरिकताको कहिल्यै समाधान हुन सक्दैन। भारतको नयाँ व्यवस्थापनले यो ‘आमा वा बाबु’ वा ‘आमा र बाबु’ को खेल हेरेर नेपाली समस्याप्रति उदासीन भइरहनु हुँदैन।

अधिकारी संवैधानिक कानुनका अध्येता हुन्।

 २०७२ साउन १५ शुक्रबार

प्रस्तावित मस्यौदा संविधानउपर परिमार्जन भइरहँदा निर्वाचन प्रणालीमा सुधार गर्नैपर्ने आधारभूत पक्षहरूमा त्यति विचार नपुगेको देखिन्छ। गरिएको प्रस्तावलाई कसरी परिमार्जन गर्ने भन्ने सम्बन्धमा विभिन्न भनाइहरू आएका छन्। कसैले बुझेर बोलेका छन्, कसैले बुझ पचाएर आफ्ना कुरा राखेका छन्। यसमा राष्ट्रिय दृष्टिकोण कायम हुन नसकेको अहिलेको यथार्थ हो।निर्वाचन प्रणाली संविधानमै उल्लेख गरिनुपर्ने महत्‍वपूर्ण संरचनाअन्तर्गत पर्दछ। संविधान जस्तोसुकै राम्रो भए पनि निर्वाचन प्रणाली आजको आवश्यकतालाई परिपूर्ति गर्ने खालको भएन भने प्रजातन्त्रमा सबैका लागि उत्तिकै फलिफाप नहुने स्थिति हुन्छ । आजको आवश्यकता हिजोका दिनहरूमा अनुभव गरिएका अभावका आधारमा पहिचान हुनुपर्छ। सुधारको विषयलाई यस्तो सुधारबाट कुनै राजनीतिक दलको भविष्य केकस्तो हुन जाला वा यसको ‘भोटबैंक’ कुन रूपमा प्रभावित होला भन्ने आधारमा हेरिनु हुँदैन। हालै ‘माइ नेपाल’ समूहले गरेको अध्ययनका आधारमा यहाँ केही सुझावको चर्चा गरिएको छ।

प्रस्तावित मस्यौदा संविधानले तीन तहको संघीय सरकारको परिकल्पना गरेको छ।पहिलो दुई तह अर्थात संघीय (राष्ट्रिय) तथा प्रादेशिक सरकार संसदीय प्रणालीमा आधारित छ भने तेस्रो अर्थात स्थानीय सरकार मिश्रित प्रणालीमा आधारित छ। संघीय स्तरमा २७५ सदस्यको प्रतिनिधिसभाको प्रस्ताव गरिएको छ। यसमध्ये १६५ सदस्यको निर्वाचन नेपाललाई भूगोल, जनसंख्या र प्रादेशिक सन्तुलनको आधारमा कायम गरिएको १६५ निर्वाचन क्षेत्रबाट प्रत्येक निर्वाचन क्षेत्रबाट एकजना आउने गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुनेछन् । यो व्यवस्था नेपालमा प्रचलनमा रहेको प्रत्यक्ष निर्वाचनको व्यवस्था हो। त्यसैगरी प्रतिनिधिसभामा सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम ११० सदस्य निर्वाचित हुने व्यवस्था छ। यो व्यवस्था पनि दुई पटकको संविधानसभाको निर्वाचनमा प्रयोग गरिएको समानुपातिक निर्वाचन पद्धतिबमोजिमकै छ।

झट्ट हेर्दा यी दुवै प्रावधानमा नयाँपन देखिँदैन। तर यी दुवै प्रावधानमा नयाँपन छ। मूल चासोको विषय के हो भने यो नयाँपनले निर्वाचन प्रणालीलाई सुधारोन्मुख बनाउँछ कि पुराना समस्याहरूलाई अझ गहिरो बनाई सबै सुधारका अवसरलाई समाप्त गर्दछ ? प्रथमतः प्रत्यक्ष निर्वाचनको पहिलो व्यवस्था समावेशी सिद्धान्तका आधारमा गरिने कुरा दिइएको प्रावधानबाट प्रष्ट हुँदैन। समावेशीकरण यदि राष्ट्रिय प्राथमिकता हो भने यसलाई तत्कालै समावेशी सिद्धान्तका आधारमा गरिने भनी प्रष्ट उल्लेख गर्नुपर्छ। दोस्रो कुरा समानुपातिक निर्वाचन प्रणालीको सम्बन्धमा प्रस्तावित धारा ८८(२) ले प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा भूगोल, जनसंख्या र प्रादेशिक सन्तुलनको आधारमा महिला, दलित, आदिवासी, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय समेतबाट बन्दसूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ। देख्दा समानुपातिक लागे पनि यो व्यवस्थाअन्तर्गत न समानुपातिक निर्वाचन हुन सक्छ, न त समावेशी निर्वाचन। समानुपातिक गराउँदा या त जातिलाई आधार मान्नुपर्ने हुन्छ, या धनसम्पत्ति वा गरिबीलाई यस्तै कुनै अन्य आधारलाई। धेरै समूहलाई एकै ठाउँमा राखेर समानुपातिक गराउन सकिँदैन। कसैगरी समानुपातिक नै बनायो भने पनि त्यो समावेशी नहुने नै सम्भावना हुन्छ।नेपालको सबैभन्दा ठूलो जातीय समूह खस जातिलाई समानुपातिकताको आवश्यकता छैन। यसको जनसंख्या नेपाली समाजमा ३० प्रतिशतभन्दा बढी भएको मानिन्छ। यो जातिलाई समेत समानुपातीकरण गर्ने हो भने साँच्चिकै निर्वाचन प्रणालीबाट जनप्रतिनिधिमूलक संस्थाहरू वा सरकारमा स्थापित हुन नसकेका समूहहरूलाई समावेशीकरण गर्न कमै ठाउँ बाँकी रहन्छ। त्यसमा पनि नेपालमा पिछडिएको क्षेत्रका आधारमा समानुपातिकताको व्यवस्था गरिदिने हो भने सामाजिक तथा सांस्कृतिक रूपमा पहिचान स्थापित गर्न चाहने समूहहरूका लागि कमै ठाउँ रहन्छ। यस्तो गरिनु हुँदैन। यसबाट समतामूलक समावेशी प्रणालीलाई प्रयोग गर्न गाह्रो हुन्छ।

प्रस्तावित धारा ८८(२) ले समानुपातिकताका लागि तीन समूहहरूको व्यवस्था गरेको छ। मिलाएर हेरियो भने पहिलो समूहमा महिला, दलित, आदिवासी जनजाति, मधेसी र अल्पसंख्यक नेपाली पर्दछन्। यो पहिचानसँग सम्बन्धित राष्ट्रिय मूलधारमा समावेशीकरण गर्नुपर्ने समूह हो। अर्को समूहमा खस आर्य जाति पर्दछन्। यस समूहमा अवसर पाएका वा नपाएका वा वर्गीय दृष्टिकोणले हुने वर्ग र नहुने वर्ग दुवै पर्दछन्। तर जातीय रूपमा यो वर्गको पहिचान स्थापित भएको छ उनीहरूले जति खाइपाइ आएका छन्, त्यो समानुपातिकताबाट प्राप्त हुने भन्दा धेरै ठूलो छ। यसलाई पहिचान बचाउनका लागि विशेष व्यवस्था गरिदिनुपर्ने स्थिति छैन। किनकि यो मामलामा यो समूह प्रतिस्पर्धाशील रहँदै आएको छ। तेस्रो समूहका रूपमा पिछडिएको क्षेत्रलाई लिइएको छ। पिछडिएको क्षेत्रका रूपमा जनजातिको अत्याधिक बसोवास भएको वा खस जातिको अत्याधिक बसोबास भएको वा मधेसीको अत्याधिक बसोबास भएका क्षेत्रहरू पनि पर्दछन् । यो समूह पहिचान हराएको वा प्राप्त हुन नसकेको कारणले समावेशीकरण गर्नुपर्ने समूह होइन। यसका बारेमा सोच्नु जरुरी छैन।

यी तीनैवटा समूहका लागि न्यायोचित आधारमा समानुपातिक निर्वाचनको व्यवस्था गर्ने कार्य एकदमै दुरुह हो। त्यसमा पनि मधेसी समूहमा सामान्यतः अधिकांश मुस्लिमहरू पर्ने तथा जनजाति समूहमा सबै थारुहरू पर्ने आफैं स्पष्ट हुँदाहुँदै पनि मुस्लिम र थारु भनी अलग रूपमा समानुपातिक व्यवस्था किन गर्नुपर्‍यो बुझ्न सकिँदैन। अनि आदिवासी र आदिवासी जनजाति भनेर दुईथरि मापदण्ड तोकिदिँदा खस जातिले पनि रडाको गर्ने अवस्था आउन सक्छ। यहाँ मस्यौदाकारहरूको नियतमा प्रश्न उठाउन खोजिएको होइन। किनकि समानुपातिकता तथा समावेशीकरणको विषयमा सिद्धान्त कायम गर्ने नियत देखिएको छ। तर जस्तो किसिमको प्रावधान आएको छ, त्यसबाट न समावेशीकरण हुन सक्छ, न त समानुपातिकता। पहिचानमुखी पहिलो समूहलाई मात्र समानुपातिकताका आधार समावेशीकरण गर्ने निर्वाचन प्रणालीले आजको आवश्यकता पूरा गर्न सक्छ। यसबाट कोही आतंकित हुनुपर्ने अवस्था छैन। महिलाको प्रसंग निर्वाचन प्रणालीका हकमा प्रस्तावित व्यवस्थाहरूका कारण अलि फरक छ। किनकि संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एकतिहाइ सदस्य महिला हुनुपर्ने धारा ८८(८) मा प्रष्ट व्यवस्था छ। २६५ जनाको निर्वाचनबाट निर्वाचित हुने सदस्यमध्ये कुनै राजनीतिक दलको एकतिहाइ सदस्य महिला निर्वाचित नभएमा त्यस्तो दलले समानुपातिक निर्वाचनमा भाग लिँदा आफ्नो दलबाट संघीय संसद्मा निर्वाचित हुने कुल सदस्यको कम्तिमा एकतिहाइ महिला सदस्य हुनेगरी निर्वाचित गर्नुपर्नेछ। प्रादेशिक व्यवस्थापिकाका सम्बन्धमा पनि यस्तै व्यवस्था छ। तर दलित, आदिवासी जनजाति, मधेसी र अल्पसंख्यकका सम्बन्धमा न्यायोचित रूपमा समानुपातिक गराउनु जरुरी छ।

यी पहिचानमुखी तथा पर्याप्त अवसर नपाएका समूहमा पनि विभिन्न आन्तरिक उपसमूहहरू हुन सक्छन्। यी उपसमूहहरूमा कुनै समूह पहिचानका विषयमा बढी स्थापित र अन्य कमजोर हुन सक्छन्। जस्तो नेपालमा आदिवासी जनजाति समूहमा नेवार जातिलाई पनि लिइन्छ। तर नेवार जाति पहिचानको दृष्टिले अन्य विविध जनजातिहरू भन्दा बढी बलियो तथा स्थापित छ। दलित समुदायमा पनि आन्तरिक दलितहरू छन्। अल्पसंख्यकभित्रका साना अल्पसंख्यकको त झन् लेखाजोखा नगरी भन्न सकिने परिस्थिति छैन । त्यसो हुनाले समानुपातिक रूपमा समावेशीकरण गर्दा संविधानमा संरचनागत रूपमा सम्भव नहुने कुरा लेखिनु हुँदैन। केवल यी पहिचानमुखी समूहहरूका लागि समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्ने मात्र भन्दा पनि पुग्छ, बाँकी कुरा कानुन बनाएर आवधिक रूपमा व्यवस्था गर्नुपर्ने हुन्छ। जस्तो आजको दिनमा नेपालको संविधानसभामा कति र कुन उपसमूहका आदिवासी जनजाति, मधेसी या अन्य अल्पसंख्यकको प्रतिनिधित्व हुन सकेको छैन भनी प्रष्ट रूपमा बुझ्न सकिन्छ । यसबाट समावेशीकरण कसलाई पुगेको छैन भन्ने थाहा हुन्छ। यो एउटा गतिशील अवधारणा हो। तर संवैधानिक प्रावधानको रूपमा उल्लेख गर्दा केवल यो समूहका बारेमा र अन्यका सम्बन्धमा कानुनबमोजिम हुनेछ भन्ने मात्र उल्लेख गरिदिँदा पुग्छ।

‘माइ नेपाल’ समूहका अनुसार संघीय तथा प्रादेशिक संसद्मा प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने प्रतिनिधित्वलाई समावेशी बनाउने आधार प्रस्ट्याइनुपर्छ। यसबाट महिला तथा अन्य सामाजिक समूहहरूको प्रतिनिधित्वलाई समावेशीकरण गरी समानुपातिक तर्फबाट प्रतिनिधित्व गराउने भार कम गर्दछ। संघीय तथा प्रादेशिक संसद्मा समानुपातिकतर्फका लागि उपलव्ध सिट भूगोल, जनसंख्या तथा प्रादेशिक सन्तुलन मिलाउँदै महिला, दलित, आदिवासी जनजाति मधेसी तथा अल्पसंख्यक समुदायलगायतको प्रतिनिधित्व गराउनुपर्ने प्रावधान हुँदा मात्र पनि पुग्दछ। प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुन नसकेका समूह तथा यसले सिर्जना गरेको असन्तुलित प्रतिनिधित्वलाई सम्बोधन गर्ने गरी वा क्षतिपूर्ति हुनेगरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुन नसकेका समूहलाई समेत समानुपातिक तर्फको सिट प्राथमिकताका आधारमा पूर्ति गरिनुपर्छ। समानुपातिकतर्फ प्रतिनिधित्व गराउनुपर्ने आधार तथा जनप्रतिनिधिमूलक निकायमा कमजोर प्रतिनिधित्व भएका सामाजिक समूहहरूलाई स्पष्ट रूपमा उल्लेख गरी प्रादेशिक तहमा त्यस्ता समूहहरूको सूची राज्यको आधिकारिक निकायले प्रकाशन गरी सोही आधारमा केन्द्र, सम्बन्धित प्रदेश तथा स्थानीयस्तरमा प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ। यस्तो प्रादेशिक तहमा सूची प्रकाशन गर्दा यसबाट राष्ट्रिय स्तरमा देखापर्ने विविधताको मात्रा कम हुन गई प्रतिनिधित्व सरल र वैज्ञानिक हुनुका साथै सबै निकायमा प्रादेशिक सन्तुलन कायम समेत रहन्छ। यस्तो सूची प्रकाशन गर्न राज्यले मानक सूचकांक व्यवस्था गरी हरेक ५-५ वर्षमा अद्यावधिक गर्दै जानुपर्नेछ।

समानुपातिकतर्फ बुझाइने बन्द सूची दलका उम्मेदवारहरूको प्राथमिकताका आधारमा क्रमबद्ध तथा महिला पुरुष सम्बन्धमा ‘जिप्ड’ हुनुपर्ने प्रणाली र सोही आधारमा प्रतिनिधि निर्वाचित हुने व्यवस्था हुनुपर्छ। तर यसले माथि उल्लेख भएझैं प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व नभएका समूहबाट प्रतिनिधित्व सुनिश्चित गर्न बाधा पार्न नहुने कुरामा भने विचार पुर्‍याउनुपर्छ। समानुपातिक प्रणालीअन्तर्गत समावेश गरिनुपर्ने समूहको सूची बनाउँदा राज्यमा उपलब्ध जनसंख्याको समूहकरणका आधारमा नभई पहिला नै राज्यले परिभाषित गरेको स्पस्ट रूपमा प्रतिनिधित्वमा बहिष्करणमा परेका समूहलाई राखिनुपर्छ। समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधित्व सम्बन्धित निकायमा पठाउन निर्वाचनमा भाग लिएका हरेक राजनीतिक दलले यस प्रणालीअन्तर्गत खसेको कुल सदर मतको कम्तिमा ३ प्रतिशत अनिवार्य रूपमा ल्याउनुपर्ने गरी ‘थ्रेसहोल्ड’ राख्नु जरुरी छ।

संघीय संसद् तथा प्रादेशिक संसद अन्तर्गत ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भएकोले राष्ट्रिय सभामा महिलाको प्रतिनिधित्व कम्तिमा ४० प्रतिशत सुनिश्चित गरिएतापनि विगतको अनुभवले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत महिलाको प्रतिनिधित्व अत्यन्तै न्यून कायम रहेकोले महिलाको प्रतिनिधित्व भार समानुपातिक निर्वाचन प्रणालीमा कम गर्न समेत प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ बढीभन्दा बढी महिलाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ।

संघीय संसद्को राष्ट्रिय सभामा प्रदेशबाट निर्वाचित भई आउने सदस्यमध्ये ४० प्रतिशत महिला सहभागिता बाहेक अन्य समुदायको प्रतिनिधित्व हुने आधारलाई समेत सम्बोधन गरिनुपर्छ। प्रादेशिक संसद्को हकमा पनि सोही मापदण्ड अपनाउनु उचित हुन्छ।

त्यस्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ केन्द्रदेखि गाउँ तथा नगरका वडा तहसम्म कमसेकम ३३ प्रतिशत महिला उम्मेदवारी हरेक दलबाट अनिवार्य गरिनुपर्छ।
यसबाट परिणाममा समेत तात्विक प्रभाव पार्न सकिन्छ।

प्रस्तावित संविधानको धारा २१३ को गाउँ कार्यपालिकामा प्रमुख र उपप्रमुख चयनमा महिला छनोट हुने कुनै प्रष्ट आधार नदेखिँदा गाउँ कार्यपालिका प्रमुख र उपप्रमुख निर्वाचित गर्दा दुईमध्ये एक पद अनिवार्य महिलाका लागि प्रस्ताव गर्न आवश्यक देखिन्छ। यसले राजनितिक दलभित्रैबाट मतदाताको प्रत्यक्ष मत पाएर महिलाको नेतृत्व विकास तथा राजनीतिक प्रतिनिधित्वलाई सुनिश्चित गर्ने स्थानीय आधार तयार पार्दछ।
मतदाताको नजिक रहेर काम गर्ने स्थानीय तहको सरकारअन्तर्गत वडा अध्यक्ष अप्रत्यक्ष रूपमा निर्वाचित हुने व्यवस्थाले त्यस्तो व्यक्तिको जनताप्रतिको जवाफदेहिता प्रभावित हुनेछ। यस प्रावधानले गाउँसभा तथा नगरसभामा जुन दलको बहुमत छ, उसैको हालीमुहाली कायम हुने सम्भावना भएकोले वडा अध्यक्ष जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित हुने व्यवस्था गरिनुपर्छ।

स्थानीय गाउँपालिका, नगरपालिका, गाउँसभा र नगरसभामा प्रत्यक्ष तथा अप्रत्यक्ष निर्वाचित हुने पदमा विभिन्न सामाजिक समूहको माथि उल्लेखित प्राथमिकता तथा प्रकाशित सूचीका आधारमा प्रतिनिधित्व सुनिश्‍चित गरिनुपर्छ। प्रत्यक्षतर्फ गाउँ तथा नगरका वडा तहसम्म कमसेकम ३३ प्रतिशत महिला उम्मेदवारी हरेक दलबाट अनिवार्य गरिनुपर्छ। यसबाट परिणाममा समेत तात्विक प्रभाव पार्न सकिन्छ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा लैंगिक सन्तुलन मिलाइनुपर्छ। यो केवल राष्ट्रपतिका सम्बन्धमा मात्र नभई सबै किसिमको निर्वाचनद्वारा पूर्ति गरिने पदाधिकारीहरूको सम्बन्धमा मिलाउनुपर्ने कुरा हो।

संघीय संसद् तथा प्रदेश सभाका सदस्यको निर्वाचक मण्डलका सदस्यहरूको तहगत आधारमा मतभार फरक पार्न सकिने व्यवस्था गरिएको छ। तर यसो गर्दा संविधानद्वारा नै निर्वाचनको सिद्धान्त एवं अन्तर्राष्ट्रिय मान्यताविपरीत स्पष्ट उल्लेख गरी जानु राम्रो हो।

राष्ट्रपति उपराष्ट्रपति जस्ता निकायको निर्वाचन गर्दा फरक हुने मतभारको विषय संविधानमै प्रस्ट हुनुपर्छ । यो विषयलाई कानुनले व्यवस्था गर्ने गरी छोड्न मिल्दैन। राष्ट्रपति निर्वाचन गर्दा मतबराबर हुन आएमा गोलाप्रथाद्वारा छनौट गरिने व्यवस्थाले राष्ट्रपतिको संस्थागत गरिमा तथा मर्यादामा आँच आउने देखिन्छ ।

संघीय प्रणालीमा निर्वाचन आयोगको स्वतन्त्र भूमिका अझै बढी अपेक्षा गरिन्छ। त्यसैले यसको प्रमुख आयुक्त तथा आयुक्तहरूको नियुक्ति गर्दा व्यवसायिक दक्षता र समावेशी मान्यतालाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्छ।

आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरूको नियुक्तिबारे धारा २४४ को उपधारा ५ अन्तर्गत मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उपाधिमात्र प्राप्त गरेको भए हुने भनिएकोमा यसलाई स्नातकोत्तर कायम गर्न आवश्यक छ।

आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरूको नियुक्ति गर्दा प्रस्तावित मस्यौदाको धारा २४४ को उपधारा ५ अन्तर्गत नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको प्रावधानको सट्टा कम्तिमा ३ वर्षदेखि राजनीतिक दलको सदस्य नरहेको भनी किटानी गरिनुपर्छ। प्रस्तावित मस्यौदाको धारा २४५ को आयोगको काम कर्तव्य अधिकारअन्तर्गत आयोगको कामलाई केवल निर्वाचन सम्पन्न गर्ने हदसम्ममात्र देखिएकोले संविधान र कानुनको अधीनमा रही स्वदेश तथा विदेशमा रहेका मतदाताहरूको मतदाता नामावली तयार गर्ने, अद्यावधिक गर्ने र अन्तिम प्रकाशन गर्ने कामलाई आयोगको प्रस्तावित कामअन्तर्गत थप गर्न आवश्यक देखिन्छ।

हाल प्रस्तावित मस्यौदामा आयोगले निर्वाचन मिति तोक्न सक्ने प्रावधान छैन । केन्द्रदेखि स्थानीय सबै तहका निर्वाचनको मिति आयोगले तोक्न सक्ने वा संवैधानिक रूपमा नै यसको व्यवस्था समावेश गर्न आवश्यक देखिन्छ । यो संविधान परिमार्जित संसदीय व्यवस्थातर्फ अग्रसर भएको अवस्थामा यस्तो प्रावधानको औचित्य आफैं प्रष्ट हुन्छ।

प्रस्तावित मस्यौदाको धारा २४६ ले सरकारले आयोगका लागि आवश्यक कर्मचारी उपलब्ध गराउने उल्लेख छ। आयोगको स्वायत्तता एवं स्वतन्त्रतालाई कायम राख्नका लागि वार्षिक बजेट एकमुष्ट रूपमा संसद्÷तथा राष्ट्रिय कोषमार्फत सिधै उपलब्ध गराउने व्यवस्था समेत हुनुपर्छ।

आयोगको दैनिकी सञ्चालनको लागि सरकारले कर्मचारी उपलब्ध गराउँदै आएकोमा सम्पूर्ण संवैधानिक निकायहरूको सेवालाई छुट्टै संवैधानिक सेवाको व्यवस्था गरी सोअन्तर्गत निर्वाचन समूह बनाई सक्षम कर्मचारी भर्ना गर्ने तथा लामो समयमा आर्जन गरको सीप तथा प्राविधिक दक्षतालाई आयोगकै संस्थागत विकासका लागि प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्छ।

धारा २८४ को निर्वाचन आयोगलगायत संवैधानिक आयोगका काम कारबाहीहरूको अनुगमन र मूल्यांकन प्रतिनिधिसभाको सम्बन्धित समितिबाट हुने व्यवस्थाको दुरुपयोग हुने सम्भावना हुन्छ। संसद्को आफ्नो क्षेत्राधिकार यथोचित छँदैछ। अतः यस सम्बन्धी अन्य कुरा उल्लेख गर्नु जरुरी छैन।

राजनीतिक दललाई जिम्मेवार र लोकतान्त्रिक बनाउनका लागि संविधान तथा प्रचलित कानुनले दलभित्रको आन्तरिक लोकतन्त्रलाई सुनिश्चित गर्ने आधारहरू जस्तो नेतृत्व चयन, समावेशी दलीय संरचना, सदस्यता, निर्णय विधि, खर्चको पारदर्शितालगायतको अनुगमन गर्न सक्ने हैसियत निर्वाचन आयोगलाई दिनुपर्छ। यी कुराको अभावमा आयोगले सो दलको तर्फबाट उम्मेदवारी दर्ता नगर्ने, दर्ता खारेज गर्ने तथा निर्वाचनमा भाग लिन नपाउने व्यवस्था गर्नसक्ने अधिकार आयोगलाई दिई सक्षम बनाइनुपर्छ।

निर्वाचनमा भाग लिएका राजनीतिक दलहरूको पैसाको स्रोत, आयस्ता तथा खर्च गर्ने पद्धति संविधानको दायरामा ल्याउनुपर्छ। राजनीतिक दलहरूको राज्यका अन्य निकायसरह महालेखा परीक्षकबाट लेखापरीक्षण गरिने व्यवस्था उल्लेख भएमा भ्रष्टाचार धेरै हदसम्म नियन्त्रण हुन सक्छ। निर्वाचन क्षेत्र निर्धारण आयोगको अध्यक्ष वा सदस्यको योग्यतामा १५ वर्ष अनुभव भएको भनेर राख्दा यसले निर्वाचन क्षेत्र निर्धारण गर्दा विवाद कम आउने सम्भावना रहन्छ।

‘माइ नेपाल’ समूहका अनुसार संविधानको प्रस्तावनालगायतका ठाउँमा सशस्त्र द्वन्द्व शब्द राख्दा आउने पुस्ताले निर्वाचन र यसको महत्‍वलाई कम आँक्न सक्दछन्। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत निर्वाचनमा एक निर्वाचन क्षेत्रबाट मात्र उम्मेदवारी दिन पाउने व्यवस्था गरिनुपर्छ।

मतदान गर्ने अधिकारलाई संविधानको मौलिक हकअन्तर्गत सुनिश्चित गरिनुपर्छ। केन्द्रीय तथा प्रादेशिक संसद् र स्थानीय निकायको अवधि समाप्त भएपछि अर्कोे निर्वाचन सो निकायको अवधि समाप्त भएको मितिले बढीमा छ महिना भन्दा लामो अन्तराल बनाउन हुँदैन।

केन्द्र, प्रदेश र स्थानीय तहमा गरी हाल कायम रहेको जनप्रतिनिधिहरूको संख्या अत्याधिक भएकोले यसलाई कम गरिनुपर्छ। निर्वाचनसम्बन्धी विवाद चाँडै समाधान गर्ने संयन्त्र विकास गरिनुपर्छ।

निर्वाचन क्षेत्र निर्धारण गर्दा कमसेकम दुई लाख जनसंख्याबराबर एक निर्वाचन क्षेत्र कायम गरिनु उपयुक्त हुन्छ । राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत गर्ने पाँचजना विभिन्न विषयका विज्ञ समूहबाट ल्याउनुपर्छ । उपरोक्त भनाइहरूमा पर्याप्त दम छ।

-अधिकारी संवैधानिक कानुनका अध्येता हुन्।

 वि.सं. २०७२ असार १८ शुक्रबार

हालै सार्वजनिक गरिएको संविधानसभा निर्मित नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदाले नेपालले नयाँ संविधान अन्तर्गत कस्तो शासकीय स्वरुप अपनाउने भन्ने प्रचण्ड विवादको परम्परागत समाधान नै खोजेको छ । यस अनुसार नेपालले अन्ततः संसदीय पद्धतिको नै चयन गरेको छ । यसप्रति समावेशी प्रजातान्त्रिक प्रणालीको खोजीमा रहेका सबैले सन्तुष्टि प्राप्त गरेको हुनुपर्दछ ।

प्रस्तावित धारा ७९ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने उल्लेख गरिएको छ । संघीय संसदको तल्लो सदन अर्थात प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा यसभित्र प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । तर निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र यसरी प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा नियुक्ति नै भए पनि प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने कुरा मस्यौदा संविधानमा प्रष्ट उल्लेख गरिएको छ ।

यस्तो अल्पमतको सरकार बनेको अवस्थामा त्यस्ता प्रधानमन्त्रीले आफू नियुक्त भएको तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ । यो गर्न नसकेमा जुन सदस्यले गर्न सक्ने सम्भावना छ, उसलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्छन् । यी कुनै विकल्पहरु पनि सम्भव नभएमा मस्यौदा संविधानले राष्ट्रपतिलाई प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को निर्वाचन गर्ने मिति तोक्ने अधिकार दिएको छ । निर्वाचनको मितिको घोषणा गर्ने बाहेक उपरोक्त सबै प्रावधानहरु २०४७ सालको संविधान अन्तर्गतका व्यवस्थाहरु हुन् । यी प्रावधानहरुको पुनरागनमले नेपालमा सहमतिको सरकारको बेला गएको छ तथा पूर्ण संसदीय पद्धतिले पुनः संस्थागत हुने मौका पाएको छ । यो मान्यतामा प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा सङ्घीय संसदप्रति उत्तरदायी हुन्छन् । त्यस्तै आफ्नो मन्त्रालयको कामका लागि प्रत्येक मन्त्री व्यक्तिगत रूपमा प्रधानमन्त्री र संघीय संसदप्रति उत्तरदायी रहन्छन् ।

प्रस्तावित व्यवस्थामा कमजोर धरातलमा उभिन पुगेका प्रधानमन्त्रीले कुनै पनि बखत आपूmमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा उनले प्रतिनिधिसभाको विश्वासको मत लिएर आफ्नो संसदलाई प्रतिनिधित्व गर्ने क्षमता कायम रहेको प्रमाणित गर्न सक्दछन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले तीस दिनभित्र विश्वासको मतको लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्ने प्रावधान त्यसैले उल्लेख गरिएको हो । प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले त्यस्तो प्रस्ताव पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुन्छन् । एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रुपमा अविश्वासको प्रस्ताव पेश गर्ने व्यवस्थालाई पुनः फिर्ता ल्याइएको छ । तर प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एक पटक राखेको अविश्वासको प्रस्ताव असफल भएको अर्को एक वर्ष भित्र अविश्वासको प्रस्ताव पेश गर्न सकिने छैन भन्ने व्यवस्था नयाँ व्यवस्था हो ।

अविश्वासको प्रस्तावका सम्बन्धमा यो संविधानले जर्मन संसदीय व्यवस्थाको एउटा नयाँ प्रावधानलाई नेपालको उपरोक्त संसदीय प्रणालीमा छिराएको छ । त्यो भनेको प्रस्तावित धारा १०४ मा रहेको अविश्वासको प्रस्ताव पेश गर्दा प्रस्तावकले भइरहेका प्रधानमन्त्री उपर प्रतिनिधिसभाको विश्वास छैन भनेर मात्र पुग्दैन । निजले संसदको कुन सदस्य सोका लागि विश्वास प्राप्त छ, निजको नाम समेत प्रष्ट उल्लेख गर्नु पर्दछ ।

नेपालमा अविश्वासको प्रस्तावको अन्तरिम संविधानको व्यवस्था र २०४७ सालको संविधान अन्तर्गतको प्रावधानका कारणले गर्दा शासकीय अस्थिरता बढेको हो भन्ने धेरैको सोचाई देखिन्छ । यो लेखकको सोचाई त्यस्तो छैन । तथापि यदि संसदीय व्यवस्था नै अपनाउने हो भने उक्त कथित अस्थिरतालाई संबोधन गर्नका लागि मिलनबिन्दु खोज्ने क्रममा जर्मनीको संविधानको रचनात्मक अविश्वासको प्रस्तावलाई नेपालले अपनाउन सक्दछ भनी यो पंक्तिकार लगायत धेरैले प्रस्ताव गरेको हो । जर्मन व्यवस्था अनुसार बहालवाला सरकार उपर अविश्वासको प्रस्ताव ल्याउने हो भने त्यस्तो प्रस्ताव ल्याउने व्यक्ति वा दलले सरकार उपर केवल अविश्वास मात्र नदेखाई हटाइने प्रधानमन्त्रीलाई प्रतिस्थापन गर्ने प्रधानमन्त्रीको नाम समेत उल्लेख गरी त्यसका लागि सकारात्मक बहुमत ससंदमा छ भनी प्रमाणित गर्नुपर्ने हुन्छ ।

जर्मनीको संविधानमा यस सम्बन्धमा दुईवटा महत्वपूर्ण प्रावधानहरु छन् । पहिलो प्रावधान धारा ६७ मा छ । धारा ६७ (१) अनुसार संसद (बुण्डेस्टाग) ले संघीय प्रधानमन्त्री (फेडरल चान्सलर) उपर अविश्वास व्यक्त गर्ने हो भने त्यस्तो अविश्वासको प्रस्तावका साथसाथै विश्वास प्राप्त तथा बहुमतबाट समर्थित उत्तराधिकारीको व्यवस्था गर्नुपर्दछ ।
यस अनुसार मात्र राष्ट्रपतिलाई प्रधानमन्त्रीलाई बर्खास्त गर्न अनुरोध गर्न सकिन्छ । यस्तो अवस्थामा संघीय राष्ट्रपतिले त्यसरी आएको अनुरोध बमोजिम त्यस्तो निर्वाचित व्यक्तिको नियुक्ति गर्नु पर्दछ । खाली एउटा मात्र सर्त छ । त्यो सर्त हो यस्तो अविश्वासको प्रस्ताव ल्याएको ४८ घण्टापछि मात्र निवार्चनको प्रक्रिया सुरु गर्न सकिन्छ ।

त्यस्तै अर्काे प्रावधान धारा ६८ मा छ । यदि आफूलाई संसदको विश्वास प्राप्त छ भन्ने प्रस्ताव प्रधानमन्त्रीले ल्याएको खण्डमा त्यस्तो प्रस्ताव संसद्को बहुमतको प्रस्तावबाट समर्थित हुन सकेन भने राष्ट्रपतिले २१ दिनभित्र संसदलाई भंग गर्न सक्दछन् । तर राष्ट्रपतिको यस्तो भगं गर्न पाउने अधिकार ससंदले अर्काे प्रधानमन्त्रीको नियुक्ति गर्ने बित्तिक्कै समाप्त हुन जान्छ । यहाँ पनि यस्तो प्रस्ताव र सोउपर हुने मतदानका बीच ४८ घण्टाको फरक हुनु पर्दछ । परिणामस्वरुप विश्वासको प्रस्ताव असफल भएको अवस्थामा मन्त्रिमण्डलले स्वतः राजीनामा गर्नुपर्दछ वा नयाँ निर्वाचन गर्नुपर्दछ भन्ने होइन । त्यस्तो अवस्थामा यदि प्रतिपक्ष उत्तराधिकारीको छनोटमा एकमत हुन सक्दैन भने अर्थात रचनात्मक अविश्वासको प्रस्ताव पारित हुन सक्दैन भने मन्त्रिमण्डल अल्पमतको सरकार सरह कायम रहन सक्दछ ।

यी प्रावधानहरुको अर्काे पक्ष पनि छ । संघीय राष्ट्रपतिले विश्वासको प्रस्ताव असफल भएपछि मात्र संसदलाई भंग गर्न सक्दछन् । संसदले आफूलाई स्वयम् भंग गर्न सक्दैन । यो प्रावधानले राष्ट्रपतिको अधिकारलाई सीमांकन गर्न खोजेको छ । यो प्रचलन बेलायती वा नेपाली प्रचलनभन्दा फरक हो । यी दुवै देशमा जस्तो जर्मनीमा प्रधानमन्त्रीले राष्ट्राध्यक्षलाई संसद भंग गर्नका लागि अनुरोध गर्न मिल्दैन ।

जमर्नीले बेलायतभन्दा फरक प्रचलन सुरु गर्नुका निश्चित कारणहरु छन् । मुख्यतः जर्मनीको पहिलो विश्वयुद्ध पछि बनेको सन् १९१९ को संविधान नै मूल कारण हो । यो संविधानलाई ‘वाइमर गणतन्त्रको संविधान’ पनि भनिन्छ । अत्याधिक रुपमा समानुपातिक निर्वाचन पद्धति अपनाउनु जर्मनीलाई फापेन । यो पद्धति अन्तर्गत प्राप्त मतहरु खेर जान नदिने गरी संसद्को निर्वाचनमा प्रतिनिधित्व प्रदान गरिन्थ्यो । हरेक दलले भाग लिन पाउने तथा कुनै पनि मत खेर नजाने प्रणालीका कारण धेरै राजनीतिक दलहरुले संसद्मा स्थान पाउनु स्वभाविक हुन्थ्यो । सुन्दा राम्रो लागे पनि यस्तो प्रणालीमा एकातिर ठूलो दलको ठूलो हैसियत कायम हुन गाह्रो हुन्थ्यो भने अर्काेतर्पm जितेका दलहरु मध्ये कोही अत्याधिक अतिवादी र कोही एकदमै अनुदार पनि हुन जान्थे ।

अतिवादी एजेण्डा भएकाहरुलाई विना मेहनत राजनीतिमा ह्वात्त माथि पुग्न यसले सजिलो बनाइदिएको थियो । यस्तो परिस्थितिमा कसैलाई पनि सरकार निर्माण गर्ने ससंदीय बहुमत प्राप्त गर्न गाह्रो हुन्थ्यो । यो कारणले गर्दा ‘रिक्एस्ट्याग’ मा धेरै दलहरुको प्रतिनिधित्व हुन पुग्यो । धेरै दलहरु हुनासाथ बहुमत प्राप्त गर्न र त्यस्तो बहुमतलाई थामिराख्न कसैका लागि पनि सजिलो थिएन । यसलाई रोक्न सक्ने कुनै आधार संविधानमा थिएन । यस संविधान अन्तर्गत ‘रिक्एस्ट्याग’ मा स्थान पाउनका लागि कुनै निवार्चन ‘थे्रसहोल्ड’ नभएकाले निवार्चनमा दलीय घुँइचोलाई खप्नै पर्दथ्यो ।

वाइमर संविधान अन्तर्गत केवल ०.४ प्रतिशत मत प्राप्त गरेर संसदमा सिट प्राप्त गर्न सकिन्थ्यो । जस्तो सन् १९२४ को निवार्चनमा ०.७ प्रतिशत मात्र मत प्राप्त गर्ने बभेरियन पिजन्टस् लिगले सजिलै तीन स्थान प्राप्त गरी आफ्नो उपस्थिति देखाइदिएको थियो । ‘द राइज एण्ड फल अफ द थर्ड रिपब्लिक’ भन्ने पुस्तकमा इतिहासकार विलियम शिररको भनाईमा सन् १९३० को राष्ट्रिय निर्वाचनमा २८ वटा दलहरु संसद पुगेका थिए । अझ सन् १९३३ को निर्वाचनमा ४० वटा दलहरु संसद् पुगेको कुरा लेखक अट्टो फ्रेडरिकले उल्लेख गरेका छन् । यस्तो परिस्थितिमा एकमना सरकार टिक्न नसक्नु र संयुक्त सरकार अस्थिर हुनु सहज कुरा हो । त्यसमा पनि गुटबन्दी र उपद्रवी दलहरुका कारण सरकार परिवर्तन सामान्य नियम हुन पुग्नु प्रजातन्त्रको स्थिरताका लागि राम्रो कुरा थिएन ।

वाइमर संविधान अन्तर्गत प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव मार्फत बारम्बार पदच्यूत गर्न सकिन्थ्यो । यसको प्रावधान अन्तर्गत उत्तराधिकारीको टुंगो लगाएर अविश्वासको प्रस्ताव राख्नुपर्ने बाध्यता थिएन । यही कारणले गर्दा प्रधानमन्त्रीहरु चाँडोचाँडो फेरिन्थे । राष्ट्रपतिलाई संसद्को विश्वास प्राप्त प्रधानमन्त्रीलाई समेत हटाउन सक्ने अधिकार प्राप्त थियो । त्यस्तै संसदको विश्वास प्राप्त नभएको व्यक्तिलाई पनि राष्ट्रपतिले प्रधानमन्त्रीका रुपमा नियुक्ति गर्न सक्दथे । संविधानका कतिपय प्रावधानले मिश्रित प्रकारको शासकीय स्वरुपको झल्को दिन्थ्यो । अस्थिर प्रधानमन्त्रीबाट स्थिर प्रकारका कामहरु हुनसक्ने अवस्था नै थिएन । संसद जहिले पनि तगारो बनेर उभिन्थ्यो । यहाँसम्मकि कतिपय प्रधानमन्त्रीहरु बाध्य भई धारा ४८ अन्तर्गत व्यवस्था गरिएको संकटकालिन प्रावधान अन्तर्गत सरकारको आधारभतू कामकारबाही सम्पन्न गर्ने अवस्थामा पुग्थे । कहिले राष्ट्रपति असहज भइदिन्थे । वाइमर गणतन्त्रको अन्तिम समयमा यस्तो व्यवस्थाका कारण मन्त्रिमण्डलहरु राष्ट्रपतिको विश्वासमा भर गररे हिँड्नु पर्ने अवस्था पनि आयो । यसै अस्थिरताका कारण पनि कतिपयले जर्मनीका तानाशाह एडोल्फ हिटलर उदय र नाजी पार्टीको विस्तार भएको मान्दछन् ।

वाइमर संविधानको असफलताको एउटा अर्को कारण यसले निर्माण गरेको संघीय प्रणाली पनि हो । यो संविधानले अचम्मको संघीय स्वरुप कायम गरेको थियो । जस्तो प्रसिया एउटा प्रदेश कायम गरिएको थियो । तर यो यति ठूलो थियो कि यसलाई आफैमा एउटा केन्द्रीय सरकार भन्न सकिन्थ्यो । जर्मनीको मूल केन्द्रीय सरकार र प्रसियाको सरकारबीच निरन्तर हक र अधिकारको प्रतिस्पर्धा हुन्थ्यो । दुवैको राजधानी बर्लिनमै थियो । वाइमर संविधानको अवधिभरि प्रसिया अन्य भागभन्दा बढी प्रजातान्त्रिक थियो । तर अधिकारको बाँडफाँट राम्रोसँग हुन सकेको थिएन । सार्वजनिक कामकारबाही, बेरोजगारी बीमा जस्ता विषयहरुमा राष्ट्रिय सरकार र नगरपालिकाहरु बीच प्रायः झगडा भइरहन्थ्यो । यो कारणले संघीय प्रान्त र स्थानीय निकायहरुका बीचमा कहिल्यै शक्ति समन्वय हुन सकेन । यो पृष्ठभूमि नेपालको हकमा पनि उदाहरण हुन सक्दछ ।

अहिले जमर्नी लगभग स्थिर छ । प्रजातान्त्रिक संरचनाहरु बलिया हुँदै छन् । सन् १९४९ मा संविधान लागु भएदेखि जर्मनीमा केवल दुईपटकमात्र अविश्वासको प्रस्ताव ल्याइएको देखिन्छ । यसमध्ये पनि केवल एकपटकमात्र यो सफल भएको छ । सुरुमा जर्मनीले रचना गरेको यो व्यवस्था अहिले बेल्जियम, स्पेन, हंगेरी, स्लोभेनिया र लेसोथोमा पनि प्रयोगमा रहेको छ ।

नेपालले अपनाउन लागेको प्रस्तावित रचनात्मक अविश्वासको प्रस्तावको व्यवस्था नेपाली राजनीतिक संस्कृतिमा कसरी प्रयोग होला त्यसको व्यवहारिक पक्ष हेर्न भने कुर्नै पर्ने हुन्छ ।

अधिकारी संवैधानिक कानुनविद् हुनुहुन्छ ।

|२०७२ असार ४ शुक्रबार

जेठ २५ गते आठ प्रदेशको संघीयतासहितको सोह्रबुँदे सहमतिमा हस्ताक्षर भएपछि नयाँ संविधान निर्माणका अधिकांश गतिरोध समाप्त भएका छन्। मोटो एवं मूल विषयमा भएको सहमतिले बाँकी रहेका ससाना विषयमा सहमति खोज्न सजिलो भएको छ। तर संविधान लेखनका चुनौतीहरू सकिएका छैनन्। आजका केही चुनौतीहरूका सम्बन्धमा यस लेखमा संविधानसभाको ध्यानाकर्षण गर्न खोजिएको छ ।

संविधानसभाको निरन्तर कामकारबाही अघि बढे पनि नेपालको नयाँ संविधानमा के-कति विषय समेट्ने हो भन्नेबारे द्विविधा नै देखिन्छ। संविधानको मस्यौदा तयार गर्ने भनेको विभिन्न समिति, उपसमिति वा संविधानसभाको पूर्ण सभाबाट पारित वा अनुमोदन हुँदै आएको संविधानका स्रोत-सामग्री एक ठाउँमा राखी प्रकाशन गर्ने मात्र होइन। संविधान निर्माणको गत सात वर्षको अवधिमा संविधानसभाले हजारौंहजार पृष्ठको संवैधानिक सामग्री तयार गरेको छ। यसमा पनि विभिन्न विषयगत समितिका सयौं पृष्ठका आफ्नै विषयगत मस्यौदाहरू छन्। यी सबै स्रोतसामग्री र मस्यौदाहरू आआफ्नो किसिमले विभिन्न समयमा विभिन्न व्यक्तिहरूबाट तयार गरिएका हुन्। कतिपय अवस्थामा यी मस्यौदाको भाका एकअर्कासँग मिल्दछ, कतिपय अवस्थामा मिल्दैन।

संवैधानिक मूल्यमान्यताका कारण गतिरोध उत्पन्न भएका विषयबाहेक पनि विभिन्न विषयमा विभिन्न किसिमले सिद्धान्तको प्रयोग भएको छ। प्रयोग भएका सिद्धान्तहरू एउटै संविधानमा एकअर्कासँग बाझिए भने कुन मान्यता अगाडि बढाउने भन्ने समस्या सधैं कायम रहन्छ। त्यसैले द्वन्द्वोन्मुख प्रावधान संविधानमा लेखिनु हुँदैन भन्ने चलन छ। विषयगत मस्यौदाहरू एकअर्काभन्दा विभिन्न किसिमले फरक भएको पनि देखिएकै छन्। साझा मान्यता नभएका होइनन्, तर त्यसलाई बुझ्ने दृष्टिकोण भने फरक-फरक छन्। उनीहरू सबैको उद्देश्य प्रजातान्त्रिक एवं राष्ट्रमुखी संविधान नै हो। अनुत्तरित कतिपय संवैधानिक प्रश्नहरूको जबाफ खोजिएका छन्। कतिपय जवाफ पूर्ण छन् कतिपय अपूर्ण छन्। प्रश्नभन्दा ठूलो जबाफ पनि खोजिएका छन्, तर यी सबै परिस्थितिको माझमा रही मस्यौदाकारले उपलब्ध स्रोतसामग्री र विषयगत मस्यौदाहरूको भाका र मर्म बुझेर संविधानको एकीकृत मस्यौदा तयार गर्ने हो।

उपरोक्त अवस्थामा मर्म बुझ्नु र सोका आधारमा मस्यौदा तयार गर्नु केवल प्राविधिक कार्यमात्र होइन। यसमा मस्यौदाकारले आफ्नो प्राविधिक क्षमतालगायत सारभूत विषयहरूमा पनि विवेकको प्रयोग गर्नुपर्ने हुन्छ। एकीकृत मस्यौदा जहिले पनि एकीकृत मान्यतामा बनाइन्छन्। मान्यतामा अनेकता छ भने मस्यौदा एकीकृत हुन सक्दैन। संविधानमा ‘नोट अफ डिसेन्ट’ लेखिँदैन। यो राजनीतिको विषय हो। मस्यौदाकारले पहिले उपरोक्त स्रोतसामग्रीको अध्ययनका आधारमा आफ्नो कल्पनामा मस्यौदाको एउटा तस्बिर तयार गर्नुपर्ने हुन्छ। यो तस्बिर तयार गर्न प्राविधिक तथा सारभूत दुवै क्षमता चाहिन्छ।

मस्यौदाकारको प्राविधिक क्षमताको कुरा गर्दा नयाँ संविधानमा प्रयोग गरिने वाक्य संरचना, तिनले सम्बोधन गर्न खोजेको विषयवस्तु, क्रियापद, संख्या र वचन, विराम चिन्हजस्ता विषय पर्छन् भने सारभूत विषयहरूमा उल्लेख गरिने प्रावधानको स्पष्टता, विसंगतिहरूको निराकरण, विभिन्न प्रावधानबीचको सामञ्जस्यता, अप्रस्ट हुन सक्ने शब्दहरूको परिभाषा इत्यादि पर्दछन्। मस्यौदाकारले आधुनिक युगसापेक्ष लिंगविभेदविहीन शब्दावलीको प्रयोग गर्नुपर्ने हुन्छ। कुनै जातजाति, धर्म, वर्ण, लिंग वा समुदायलाई अप्रिय हुनसक्ने गरी शब्द चयन वा वाक्यविन्यास रोजिनु हुँदैन। पद र प्रतिष्ठाको कुरा गर्दा अब लिंग र जात विमुख हुनुपर्ने मान्यता छ। एकातिर मूल्यमान्यताका कुरामा स्पष्टता देखिनुपर्छ भने अर्कोतर्फ प्राविधिक रूपमा पनि सक्षम हुनुपर्छ। तर यो भन्न जति सजिलो छ, गर्नलाई छैन। गर्नेको चित्त बुझे पनि राजनीतिक वृत्तमा सबैलाई चित्त बुझाउन गाह्रो पनि हुन सक्छ।

उदाहरणका रूपमा सोह्रबुँदेमध्येको शासकीय स्वरूपका सम्बन्धमा उल्लेख गरिएको सातौं बुँदाबारे बहस गर्न सकिन्छ। यसमा उल्लिखित देशको शासन सञ्चालन गर्न बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय शासन प्रणाली अवलम्बन गरिनेछ भन्ने वाक्यांश मस्यौदाकारको दृष्टिमा नितान्त भद्दा वाक्यांश हो। संसदीय प्रणाली हुनका लागि बहुदलीय प्रणाली अनिवार्य सर्त हो।संसद् छ तर बहुदलीय प्रणाली छैन भने त्यो संसदीय व्यवस्था हुन सक्दैन। त्यस्तै बहुदलीय प्रणालीका बारेमा उल्लेख गरिसकेपछि त्यो प्रतिस्पर्धात्मक पनि हुनुपर्छ भनी उल्लेख गरिरहनु पर्दैन। प्रतिस्पर्धा गर्न नदिइने प्रणालीमा बहुदलको अवधारणा भित्र्याइँदैन। त्यो निसन्देह दलविहीन वा एकदलीय प्रणाली नै हुन्छ। त्यसैगरी लोकतान्त्रिक र गणतान्त्रिक भन्ने दुवै शब्द यहाँ भ्रमपूर्ण नै छन्। राजतन्त्र नभएको देश स्वत: गणतन्त्र मानिन्छ, तर गणतन्त्र प्रजातान्त्रिक छैन भने त्यसलाई लोकतान्त्रिक भनिँदैन। यति भद्दा शब्द रचना किन गरियो भने शब्दका आधारमा राजनीति गर्ने नेपालमा आम प्रचलन छ। तर त्यो प्रचलन संविधानको मस्यौदामा नदेखिए राम्रो संविधान बन्न सक्छ।

संविधानमा झीनामसिना, प्रस्ट अर्थ दिन नसक्ने, क्लिष्ट, पढ्दा राम्रो लाग्ने तर बुझ्न नसकिने, राम्रै बुझ्न सकिने तर अप्रिय, एकअर्कालाई सशंकित तुल्याउने तर प्रजातान्त्रिक निष्ठा व्यक्त नगर्ने र शब्दावली बलियो देखिए पनि समग्रमा कमजोर बन्न सक्ने गरी प्रावधानहरू राखिनु हुँदैन।यसबाट संविधान कमजोर दस्ताबेज हुन सक्छ। स्पष्ट आकार नलिएको कारण लेख्न नहुने कुरा संविधानमा लेख्न हुँदैन। सैद्धान्तिक रूपमा स्थापित नभएको कुरालाई सिद्धान्त भनी कायम गर्नु हुँदैन। सकेसम्म सबैले बुझ्ने संक्षिप्त सूचक शब्दहरू प्रयोग गर्नुपर्छ। मूलभूत मान्यताभन्दा बढीका कुराहरू संविधानमा लेख्नाले संविधानले रिक्त स्थान भर्नुको साटो अझ ठूलो शून्यता निर्माण गर्दै जान्छ। कुनै पनि संविधानमा हरेक कुरा अटाउन सक्दैन। सकेसम्म सबै कुरा राखौं जस्तो कतिलाई लाग्छ। तर यो प्रवृत्तिले धेरै समानान्तर कुरा छुट्न जान्छन्। अत: बनाइएको दस्ताबेज अझ सानो देखिन वा अर्थविहीन लाग्न सक्छ। यस्तो अवस्थामा नयाँ संविधानले नयाँ मापदण्ड कायम गर्न सक्दैन।

संविधान भनेको बीउ छर्ने कुरा हो। कस्तो बीउ? केको बीउ? यो उचित गुणस्तरको छ कि छैन? रोपेजति बीउको मलखादको व्यवस्था यसैले गर्नुपर्छ। बीउको गुणस्तरले संविधानको गुणस्तरमा प्रभाव पार्छ। पृथकीकरण र सन्तुलन पनि खोज्नुपर्छ। तर बीउ छर्ने मौसम आयो भनेर संविधानमा जंगल उमार्ने प्रयास गर्नु हुँदैन। प्रजातान्त्रिक शासन प्रणालीले गतिशीलतालाई जन्म दिन्छ, दिनुपर्छ। यसबाट स्थापित दलहरू संविधानले कायम गरेको धरातलमा रही प्रतिस्पर्धात्मक हुन बाध्य हुन्छन् भने आफूलाई परिस्कृत गर्न चाहने नयाँ-पुराना राजनीतिक संगठनहरू नयाँ मान्यताका आधारमा अगाडि बढ्नुपर्ने हुन्छ।

आधारभूत संरचनाका रूपमा एकातर्फ संविधानले जनताका मौलिक अधिकारहरूलाई संरक्षण दिन्छ भने अर्कोतर्फ यसले राजनीतिक संगठनका नियमहरूलाई स्थापित गर्छ। अड्डा-अदालतले कानुनी शासनको प्रत्याभूति दिन्छन्। बाँकी विषयमा उत्तरदायी सरकार र स्थापित मापदण्डहरूले काम गर्छन्। संविधानले चाहिनेभन्दा बढी कुनै पनि विषयमा समाजमा कठोरता थप्नु हुँदैन। संविधानमा त्यतिमात्र विषयहरू उल्लेख गर्नुपर्छ, जुनबिना संविधानको कार्यान्वयन हुन सक्दैन। जनउत्तरदायी राजनीति गर्नेले जनतालाई विश्वासमा लिई संविधानका आधारभूत संरचनाअन्तर्गत रही जुनसुकै नीति तथा कार्यक्रम लिई अगाडि बढ्न सक्नुपर्छ। संविधानमा जंगल उमार्ने प्रयास भयो भने जनताका विकल्प साँघुरो हुन जान्छन् र आस्था र विश्वासका आधारमा दलहरूले चाहेअनुसार अग्रगामी राजनीति गर्न सक्दैनन्।

आकारमा साना वा ठिक्कका संविधानहरूले ठूला प्रयासहरूलाई छेक्दैन। वास्तवमा धेरै लामो समयदेखि टिकेका प्रजातान्त्रिक संविधानहरू ससाना नै छन्। मूलभूत कुराहरूलाई उनीहरूले स्थिर राखेका छन् भने परिवर्तनशील समाजका लागि प्रशस्त लचकता दिएका छन्। धेरै बाँधछाँद गर्ने ठूला संविधानहरूले सजिलो गरी ठूलो निर्णय गर्न दिँदैनन्। न्यूनतम विषयहरूलाई अधिकतम स्पष्टताका साथ मस्यौदाकारले व्यक्त गर्नुपर्ने हुन्छ। त्यसैले कच्चापदार्थका रूपमा मस्यौदा समितिमा पुगेका संवैधानिक स्रोत-सामग्रीहरूबाट समुद्र मन्थन गर्ने काम त्यहाँका मस्यौदाकारको हो।

संविधान टिकाउ हुनका लागि मस्यौदाकारको पनि ठूलो भूमिका हुन्छ। उपलब्ध स्रोतसामग्री वा कच्चा पदार्थहरूको प्रयोग गरी कसरी छोटोछरितो र स्पष्ट रूपमा यसको प्रयोग गर्ने भन्ने क्षमता संविधान लेखनमा अपूर्व क्षमता हो। संवैधानिक मस्यौदाका केही राम्रा परम्परा देशमा पहिलादेखि नै छन्। जस्तो मूलत: विश्वनाथ उपाध्यायबाट मस्यौदा गरिएको २०४७ सालको संविधान नेपालको एउटा उत्कृष्ट संवैधानिक मस्यौदा हो। सैद्धान्तिक र प्राविधिक दुवै आधारमा यो धेरै राम्रो पाइएको थियो। अहिलेको अवस्थामा स्थापित नयाँ मापदण्डका आधारमा पुरानो सैद्धान्तिक र प्राविधिक मान्यतामा टेकी अगाडि बढ्न सकिन्छ, तर संक्षिप्त संरचनाको संविधान नै आज पनि नेपालका लागि सही छनोट हुनेछ।

कतिपय विवादास्पद र अहिले टुंगो लाग्न नसक्ने कुरा पनि होलान्। फोहोरमैला बोकेर हिँड्नु हुँदैन। जस्तो- सर्वोच्च अदालतले सोह्रबुँदे सहमतिका आधारमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले गत जेठ २८ गते तयार गरेको प्रतिवेदनमा न्यायाधीशहरूको कार्यसम्पादन छानबिन र अनुगमनबारे प्रस्तावित व्यवस्था स्वतन्त्र न्यायपालिकाको विश्वव्यापी मान्यताविपरीत रहेको ठहर गरिसकेको छ। नीतिगत विषयका रूपमा सर्वोच्च अदालतका न्यायाधीशहरूको ‘फुल कोर्ट’ (सम्पूर्ण न्यायाधीशहरूसहितको बैठक) ले अनुमोदन गर्न नचाहेको सो प्रस्तावित व्यवस्थालाई बलमिच्याइँ गरी संविधानमा प्रवेश गराइनु हुँदैन। कुनै पनि अदालत वा न्यायकर्मी कानुनको शासनको परिधिबाहिर हुनु हुँदैन। अन्य राष्ट्रसेवक वा कर्मचारीहरू झैं न्यायाधीशको पनि इमानदारी वा कर्तव्यनिष्ठतापूर्वक कार्यसम्पादन गरे-नगरेको सम्बन्धमा छानबिन र अनुगमन अवश्य नै हुनुपर्छ। तर त्यस्तो छानबिन तथा अनुगमन संसद् वा संसदीय समितिले गर्न सक्दैन। यसको कारण क्षमताभन्दा पनि राजनीतिक प्रवृत्ति नै हो।

संसदीय प्रणाली भएको मुलुकमा संसद्का कामकारबाहीमा प्रस्तावकको भूमिका मूलत: सरकारले नै निर्वाह गर्छ। संसद्मा बहुमत नभई कसैले पनि सरकार निर्माण गर्न सक्दैन। जबसम्म संसद्मा बहुमत हुन्छ, कुनै पनि सरकारलाई हटाउन वा बर्खास्त गर्न सकिँदैन। अर्को शब्दमा संसदीय बहुमत भनेको सरकारी बहुमत हो। त्यसैले चाहे पूर्ण संसद् होस् वा यसको कुनै समिति, त्यहाँ हुने कामकारबाही वा गरिने निर्णय सरकारको राजनीतिक सामथ्र्यका आधारमा गरिएको हुन्छ। न्यायाधीशहरूको इमानदारी वा कर्तव्यनिष्ठताका बारेमा संसदीय समितिलाई अधिकार दिनु भनेको प्रकारान्तरले त्यस्तो अधिकार सरकारलाई नै दिनु हो। किनकि बहुमत हरहालतमा सरकारकै हुन्छ।अत: सरकारले न्यायको सिद्धान्त वा व्यावसायिकताका आधारमा भन्दा पनि राजनीतिक उद्देश्यले न्यायाधीशहरूको अनुशासन कायम गर्ने प्रयास गरिनै रहनेछ। त्यसैले संसद्को राजनीतिक नियन्त्रणमा हुने गरी कुनै पनि अड्डा-अदालतलाई संसदीय समितिमा पुर्‍याउनु हुँदैन। यस्तो किसिमको व्यवस्थाबाट बनेको संविधानले संविधानको सर्वोच्चता वा कानुनको शासन कायम गर्न नसक्ने मात्र होइन, यसले संविधानसभाको पवित्र हैसियतलाई पनि बद्नाम गराउँछ। तर यस्ता विषयमा मस्यौदाकारले निर्णय गर्ने होइन। यसको समाधान राजनीतिक तथा संवैधानिक संवाद समितिमार्फत नै आउनुपर्छ।

वर्तमान मापदण्ड हेर्ने हो भने स्वतन्त्र न्यायपालिकालाई संसदीय समितिको अधीनस्थ निकाय देखिने गरी राजनीतीकरण गर्नु नेपालले अपनाइआएको संवैधानिक प्रचलन तथा हाल विश्वव्यापी रूपमा स्वीकार गरिएको मूल्यमान्यताविपरीत छ। अत: स्वतन्त्र न्यायपालिकाको मर्मबमोजिम गैरराजनीतिक स्वतन्त्र छानबिन वा अनुगमनकारी निकायको व्यवस्था गरी मात्र त्यस्तो छानबिन र अनुगमनको आवश्यकता पूर्ति गर्नुपर्छ। यो अधिकार न्यायपरिषद्बाट संसद्मा हस्तान्तरण गर्नुभन्दा प्रयोगमा रहेको न्यायपरिषद्लाई कसरी अझ सक्षम, प्रभावकारी र योग्य बनाउने भन्नेतर्फ राजनीतिक वृत्तको ध्यानाकर्षण हुनु जरुरी छ। सुधारका बारेमा प्रशस्त छलफल भएका छन्, सुझाव पनि आएका छन्। तर सुधार प्रयासको निकास संसद्बाट खोज्नु नेपालको राजनीतिको मापदण्ड बुझेको कुनै पनि व्यक्तिलाई यसको आसन्न खतरा र परिणामबारे द्विविधा हुन सक्दैन। यसैकारणले कानुन व्यवसायीहरूको संस्था नेपाल बार एसोसिएसनले पनि उक्त प्रयासको टिप्पणी गरेको बुझ्न सकिन्छ।

अहिले पनि सोह्रबुँदेका पक्षधर दलहरूले प्रदेश सभाको नाम र संघीय आयोगद्वारा गरिने सीमांकनका बारेमा शंका गर्ने संविधानसभाभित्र र बाहिरका पक्षहरूलाई आश्वस्त गराउन नसकेको परिस्थिति छ। झट्ट हेर्दा सोह्रबुँदेमाथिको प्रतिपक्षले गरेका शंकाहरूको गम्भीरताको आधार के हो? सार्वजनिक हुन सकेको छैन।अहिलेको सोह्रबुँदे प्रयास धारा १३८ विपरीत छ भनी सर्वोच्च अदालतमा रिट परेको परिस्थिति छ, तर यति ठूलो राजनीतिक प्रश्नमा सर्वोच्चलाई भारी बोकाएर आफू राजनीति गर्नेभन्दा पनि आफ्नो संशयका बारेमा सोह्रबुँदेका पक्षहरूसँग अतिरिक्त आश्वासन खोज्नेतर्फ प्रतिपक्षले लाग्दा देशले संविधान पाउने अवस्था आउन सक्छ।
नेपालमा आजको परिस्थितिमा कुनै पनि शक्तिलाई बाँकी शक्तिहरूलाई पन्छाएर एकोहोरो निर्णय गर्ने सामथ्र्य देखिँदैन, तर उठेका विषयहरूमा निरन्तर संवाद र सहमतिको प्रयास अपेक्षित छ।

-अधिकारी संवैधानिक कानुनका ज्ञाता हुन्।

 २०७२ जेष्ठ २२ शुक्रबार

गृह मन्त्रालयले हालै अपराध सन्दर्भमा व्यक्ति पक्राउ गर्ने अधिकार सशस्त्र प्रहरी बल (एपीएफ) लाई दिन नियमावली संशोधन प्रस्ताव नेपाल सरकारको स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएकोमा सो स्वीकृति दिनुअघि नै यो विषय बुझ्न नसकिने विवादको घेरामा पुगेको छ। मुलुकको सुरक्षा प्रणालीसँग सम्बन्धित यो प्रश्न दूरगामी प्रभाव विचार गरी समाधान गर्नुपर्ने कानुनी प्रश्न मात्र नभई एउटा संवेदनशील विषय पनि हो।

प्रस्तावित नियम १६३ ले सशस्त्रलाई प्रस्टसँग पक्राउ पुर्जी जारी गर्ने अधिकार दिएको छ। विद्यमान सशस्त्र प्रहरी ऐन, २०५८ ले स्पष्टरूपमा उल्लिखित केही अपराधमा सशस्त्र प्रहरीलाई पक्राउ गर्ने अधिकार दिएको तर पक्राउ गर्दा दिनुपर्ने पक्राउ पुर्जी जारी गर्ने अधिकारका बारेमा मौन रहेको परिस्थिति थियो। ऐनको दफा २४(२) मा रहेको प्रावधानअनुसार सशस्त्र प्रहरी अधिकृतले खटिएको स्थानमा निषेधित वस्तु र अपराधमा संलग्न व्यक्ति बसेको शंका गर्ने पर्याप्त र मनासिब आधार पाए त्यो स्थान वा व्यक्तिको खानतलासी गर्ने र आपराधिक व्यक्तिलाई नियन्त्रणमा लिएर यथाशक्य चाँडो स्थानीय अन्य प्रहरीलाई सुम्पन सक्ने व्यहोरा पनि उल्लेख गरेकाले नेपाल प्रहरीलाई नै बुझाउने हो भने पुर्जी पनि उसैले दिइहाल्छ नि भन्ने व्याख्या गरिएको देखिन्छ। नियन्त्रणमा लिने भनेको गिरफ्तारीसँग सम्बन्धित भएकाले जसले नियन्त्रणमा लियो, उसले सोको पुर्जी दिनुपर्छ भन्ने संविधानअन्तर्गत संरक्षित मौलिक अधिकारलाई सो व्याख्याले अस्वीकार गरेको छ।

यो वास्तविकतालाई मध्यनजर गर्दै हाल प्रस्तावित नियमावलीमा आपराधिक गतिविधिमा संलग्न व्यक्ति पक्राउ गर्दा सशस्त्र प्रहरी अधिकृतले अनुसूची १८ बमोजिमको ढाँचामा पक्राउ पुर्जी जारी गर्नसक्ने स्पष्ट गरेको छ। दिइएको अनुसूचीअनुसार अपराध वा कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ गर्नुपर्ने भएकाले यो पक्राउ पुर्जी जारी गरिएको छ; यो पक्राउ पुर्जी लिई आउने सशस्त्र प्रहरी कर्मचारीको साथ लागि तुरुन्तै तोकिएको कार्यालयमा आउनुहोला, अन्यथा सशस्त्र प्रहरी कर्मचारीले नछोडी ल्याउने उल्लेख छ। यो सरकारी मुद्दासम्बन्धी नियमावली, २०५५ को अनुसूची ११ कै व्यवस्था हो। यो व्यवस्थालाई अब सशस्त्रको कारबाहीको हकमा समेत निरन्तरता दिन खोजिएको स्पष्ट देखिन्छ।

सशस्त्र प्रहरीलाई पक्राउ गर्ने अधिकार दिने कि नदिने भन्ने प्रश्न नीतिगत हो। यो अधिकार नदिने हो भने पक्राउ पुर्जी जारी गर्ने अधिकारको प्रश्न आउँदैन। नीतिगत प्रश्नको छिनोफानो भएरै कानुनमा यो व्यवस्था परिसकेको छ। तर अब सशस्त्र प्रहरीले पक्राउ गर्नसक्ने तर पक्राउ पुर्जी जारी गर्न नसक्ने तथा पक्राउ पुर्जी जारी गर्न सक्ने तर प्रक्रिया पुर्‍याएर ह्यान्डओभर गर्न नसक्ने भन्ने कुरा तर्कविहीन मात्र नभई हास्यास्पद पनि हुन्छ। कानुनले निर्धारित गरेको आफ्नो क्षेत्राधिकारभित्र रहेर अपराधमा संलग्न व्यक्ति पक्राउ गरेर प्रक्रिया पुर्‍याई नियमित क्षेत्राधिकार भएको नेपाल प्रहरीलाई बुझाउने व्यवस्थामा कुनै त्रुटि देखिँदैन। सशस्त्रले पक्राउ गरेपछि भने संविधानद्वारा प्रदत्त अधिकारको पालना हुनुपर्दैन भनेर संविधानअन्तर्गत व्याख्या गर्ने गुन्जाइस छैन। नियमावलीले स्पष्ट गरिदिँदा संविधान र कानुन कार्यान्वयनमा काम गर्ने मान्छेलाई प्रक्रियाबमोजिम काम गर्न सजिलो हुन्छ। यसमा किन विवाद गरिँदैछ? योचाहिँ बुझ्न सकिने स्थिति देखिएन।

पक्राउ वा पक्राउ पुर्जी दिनुपर्ने कुरा सामान्य अर्थमा हेरिनु हुँदैन। सशस्त्र प्रहरी एेन २०५८ ले यो संगठनलाई अत्यन्त संवेदनशील सीमा सुरक्षा, आतंकवाद, सशस्त्र संघर्ष, पृथकतावादी गतिविधि, अपहरण तथा दंगा नियन्त्रणका साथै दैवीप्रकोप र महामारीमा उद्धार, शान्तिमा खलल पुर्‍याउन नदिने र सरकारी संरचनाको सुरक्षालगायत जिम्मेवारी दिएको छ। रहरले होइन दिनुपर्ने कार्यकारण परेर दिएको हो। यी सबै क्षेत्रमा सामान्यत: राष्ट्रका दुस्मनले हात हालेका हुन्छन्। त्यस्ता शंकास्पद व्यक्तिका हकमा पुर्जी दिई नियन्त्रणमा लिई विधिवत् रूपमा प्रहरीलाई हस्तान्तरण गर्दा कसरी कानुनको शासन प्रभावित होला त? यसलाई त आम मानव अधिकारमुखी व्यवस्था नै भन्नुपर्ने हुन्छ।

नेपालको फौजदारी न्याय प्रणालीमा अन्य कतिपय मुलुकमा भएजस्तो न्यायिक प्रहरीको व्यवस्था छैन। नेपाल प्रहरीले नै आफू न्यायिक कामकारबाहीमा संलग्न हुँदा न्यायिक प्रहरीको कामकारबाही गर्दछ। अत: अपराध अनुसन्धान, अभियोजन र मुचुल्कालगायतका न्यायसँग सरोकार भएका सबै कामकारबाहीको स्वामित्व यसैसँग छ। देशको सरकारी वकिलको कार्यालयहरूको कानुनी तथा व्यावसायिक सुपरिवेक्षणमा यस्ता कामकारबाही हुने गर्दछन्। यसै कारणले अभियोजन तथा न्याय प्रणालीका बारेमा नेपाल प्रहरीलाई प्रशस्त व्यावसायिक तालिम तथा अभिमुखीकरण गरिएको हुन्छ। यस्तो अभिमुखीकरण सशस्त्र प्रहरी बलको हुँदैन। कानुनबमोजिम बलको प्रयोग गरी नागरिक प्रहरीलाई प्रक्रियामा स्थापित गराइदिनेसम्मको काम यसले गर्ने हो। विशेष परिस्थितिमा बाहेक यो सामान्य सिद्धान्त र प्रक्रियाको विकल्प खोजिँदैन र खोज्नु पनि हुँदैन। त्यसैले पक्राउ पुर्जी जारी गर्नेे अधिकार सशस्त्र प्रहरीलाई दिनुमात्रले नेपाल प्रहरीको न्यायिक प्रहरीको पगरी फुस्किने व्याख्या गर्नु अतिव्याख्या हो।
नेपालमा सशस्त्र प्रहरी बल भएजस्तै लगभग प्रत्येक मुलुकमा यस्तो किसिमको प्रहरी संगठन हुन्छ। कसैले यस संगठनलाई अर्धसैनिक भनेका छन्, कसैले सशस्त्र प्रहरी। यसको स्वरूप नियमित सेना तथा प्रहरी दुवै संगठनको बीचको हुन्छ। प्रकृति पनि लगभग बीचकै हो। हरेक देशले सुरक्षाको आफ्नो परिस्थिति र एेतिहासिक विकासको परिप्रेक्ष्यमा यस्तो शक्तिको अवधारणाको विकास गरेका छन्। त्यसैले यस सम्बन्धमा कस्तो किसिमको मूल्यमान्यता र कार्यविधि स्थापित गर्ने हो भन्ने कुरा आआफ्ना तर्क हुन्। नेपालमा पनि आफ्नै अनुभवका आधारमा सशस्त्र प्रहरीलाई वैधानिक धरातलको सिर्जना गरिएको छ। सामान्य अवस्थामा सामान्य शान्ति-सुरक्षाको अवधारणाअन्तर्गत परम्परागत रूपमा काम गरिरहेको नेपाल प्रहरी र राष्ट्रिय सेनाका रूपमा स्थापित नेपाली सेनाको विकल्पका रूपमा नभई सहयोगीका रूपमा सशस्त्र प्रहरीलाई अगाडि बढाइएको हो। नेपालजस्तो कानुनी परम्परा अपनाउने धेरै देशमा सशस्त्र प्रहरीलाई विशेष अवस्थामा प्रहरी कर्तव्य निर्वाह गर्ने सिपाही वा पारामिलिटरी अन स्पेसल पुलिस ड्युटी पनि भन्ने गरेको पाइन्छ। जहाँ नियमित पुलिस आफैं सक्षम छ, त्यहाँ कुनै अर्धसैनिकले स्पेसल पुलिस ड्युटी गर्नुपर्ने अवस्था नै आउँदैन।

यो सैद्धान्तिक अवधारणाबाट के प्रस्ट हुन्छ भने सशस्त्रले प्रहरी कारबाही गरी समातिएको व्यक्तिलाई पक्राउ पुर्जी दिने अधिकार सशस्त्र प्रहरीलाई छ। यो अधिकारलाई प्रस्तावित संशोधनले प्रस्ट रूपमा स्वीकारसम्म गरेको हो। तर पक्राउ पुर्जी दिने अधिकार पाएपछि यसलाई रिमान्डमा राख्ने, मुद्दा चलाउने तयारी गर्ने वा नागरिक प्रहरीले गरिआएका अन्य फौजदारी न्याय प्रशासनसँग सम्बन्धित सम्पूर्ण अन्य कामकारबाही गर्ने अधिकार पनि प्राप्त छ भनी कुतर्क गरिनु हुँदैन। संगठन, क्षमता, तालिम र अभिमुखीकरण कुनै पनि आधारमा सशस्त्र प्रहरी बल यस रूपमा स्थापना गरिएको होइन। तर आफूले ऐनबमोजिमको कामकारबाही गरी नियन्त्रणमा लिएको व्यक्तिलाई नियमित प्रक्रियाका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्दा सशस्त्र प्रहरी बलको संलग्नता एवं योगदान नेपाल प्रहरीको अभिलेखमा जानुपर्छ। केवल साधनका रूपमा मात्र सशस्त्र प्रहरीको प्रयोग गरिनु हुँदैन। गरेको कामको पगरी पनि यसले प्राप्त गर्नुपर्छ। सशस्त्र प्रहरीको न्यायोचित गुनासो यहाँसम्म मात्र भएको देखिन्छ।

यसो त माओवादीको सशस्त्र युद्धमा नेपाल प्रहरीलाई निरन्तर लक्षित गरिएको परिस्थिति र तात्कालीन अवस्थामा शक्ति, स्रोत, साधन, सीप र क्षमता सबै आधारमा सामान्य शान्तिसुरक्षाभन्दा बढीको तात्कालीन चुनौती सामना गर्न नेपाल प्रहरीलाई सहयोग होस् भनी सशस्त्र बलको स्थापना गरिएको निर्विवाद छ।सेनाको प्रयोग विकल्प उपलब्ध हुँदाका राज्यलाई स्वीकार्य नहुनु कानुनको शासनकै अवधारणामा आउँछ। त्यसबेला यो संगठनको अर्धसैनिक स्वरूपमा कुनै कम्प्रोमाइज नहोस् भनी सेना र प्रहरीका इच्छुकलाई मिलाएर यसको संरचना बनाइएको हो। राष्ट्रिय संकटका बेला नेपाली सेनाको नेतृत्वमा परिचालित हुने र शान्ति सुव्यवस्थामा ठूला चुनौती आएको बेला नेपाल प्रहरीलाई सघाउने गरी यसलाई तालिम र अभिमुखीकरण गरिएको हो। सशस्त्र प्रहरी बलको प्रारूप सेना र प्रहरीबीचको समनिकटता वा समदूरीमा आधारित छ। यसलाई सिध्याएर सेनामा गाभ्नुपर्छ वा प्रहरीमा मिलाउनुपर्छ भन्ने टिप्पणी आफैंमा अनुत्तरदायी छ। सशस्त्र बल एउटा अलग संगठनका रूपमा आएकाले आज देशले जति सुरक्षित अनुभव गरेको छ, के यसलाई समाप्त गरेर सुरक्षाको त्यो अनुभूति नेपाल सरकारले सम्बद्ध पक्षलाई दिन सक्ला? पंक्तिकारलाई समायोजनका कुरा बालहठजस्तो लाग्छ।

नेपाल प्रहरी न्यायिक प्रहरी मात्र होइन, जनसरोकारका विषयमा निजामती कर्मचारी प्रशासन र सुरक्षा व्यवस्थासँग धेरै नजिकबाट गाँसिएको छ। जनताका लागि सुरक्षाको पहिलो ‘पोर्टल’ यो नै हो। त्यसैले यसले केवल न्यायिक प्रहरीको भूमिका वा नागरिक सुरक्षा व्यवसाय मात्र नगरी निजामती तथा राजनीतिक विषयमा पनि प्रशस्त योग्यता राख्दछ। अलि धेरै बल प्रयोग गर्नुपर्दा राजनीतिक रूपमा यसलाई सम्भव देखिँदैन। कर्मचारी प्रशासनले पनि कतिपय अवस्थामा यसलाई दुरुपयोग गर्न खोजेकै छ। त्यस्तै नेपाली सेनाको सुरक्षा अवधारणाको व्यापकता केवल नेपाल प्रहरीले मात्र धान्न सक्ने स्थिति छैन। त्यसैगरी सेना आफैं राजनीति र निजामती प्रशासनभन्दा अलग आफ्नो नेतृत्वको कमान्डमा रहने संस्था हो। आन्तरिक सुरक्षा चुनौतीमा यसको प्रयोग लगभग वर्जित नै छ। अर्धसैनिक निकायको महत्त्व यसै कारणले भएको हो। देशको आवश्यकताअनुसार सशस्त्र प्रहरी एेनले उल्लेख गरेको क्षेत्राधिकार र मापदण्डबमोजिम मात्र यसको प्रयोग हुन सक्छ। यस्तो प्रयोग निरपेक्षभन्दा पनि समन्वयात्मक रूपमा गर्नुपर्ने हुन्छ।
पंक्तिकार १२/१३ वर्षअगाडि कम्बोडियास्थित संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्तको कार्यालयमा त्यहाँको प्रादेशिक अदालतको सल्लाहकारका रूपमा कार्यरत रहँदा त्यहाँको सशस्त्र प्रहरी (जेन्दाम्र्स) बलसँग न्यायिक विषयमा काम गरेको अनुभव छ। गृहयुद्धपछि स्वतन्त्र अदालतको कामकारबाहीलाई बल पुर्‍याउन त्यहाँको न्यायिक प्रहरीले आवश्यकताअनुसार सशस्त्रको सहयोग लिने गरेको तथा अदालत स्वयंले पनि न्यायिक प्रहरीले गर्न नसकेको कतिपय कार्यमा सशस्त्रलाई आदेश गरेको अनुभव छ। केवल पक्राउ गर्ने कुरा मात्र नभई शान्तिसुरक्षाका अन्य विषयमा पनि अदालतलाई सहयोग गर्ने उनीहरूको कानुनी जिम्मेवारी थियो । नेपालले यही व्यवस्था अपनाउनुपर्दछ भन्न खोजिएको होइन। मूल विषय भनेको हाम्रो पद्धतिबमोजिम देशका लागि उपयुक्त व्यवस्था के हुन सक्छ भन्ने हो। संगठनको निहित सांगठनिक स्वार्थभन्दा माथि उठेर यो विषयलाई हेर्नुपर्छ। अन्य विवाद अनावश्यक हुन्।

नेपालको आन्तरिक सुरक्षा चुनौती घट्नुभन्दा बढ्दै जाँदै छन्। एउटा सामान्य संविधान बनाउन नेपालले करिब सात वर्ष लगानी गरिसकेको छ, तर सकेको छैन। सुरक्षा चिन्ताकै कारणले संविधान देशमा दुईतिहाईको बहुमत हुँदाहुँदै पनि बन्न नसकेको सबैले देखेका छन्। माओवादी मूल प्रवाहमा आएको बाहेक गत १५/१६ वर्षदेखि नेपालका सबै ‘फल्टलाइन’ हरू निरन्तर बढ्दै, चौडा हुँदै जाँदैछन्। नेपालको नयाँ संविधानले स्थापना गर्ने मूल्यमान्यता संस्थापित गर्न पनि सुरक्षा व्यवस्था भरपर्दो नपारी हुँदैन। यसले मुलुकको शक्ति समीकरणमा पनि परिवर्तन ल्याउन सक्छ। संघीयतालगायतका नयाँ मान्यता संस्थापित गर्न पनि यसको भूमिका हुन्छ। नयाँ संविधानको संक्रमणकालको संवेदनशीलतालाई सबैले बुझ्नुपर्छ। देश अहिले पनि भुइँचालोको संकटमा छ। भोलि पनि बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, आगलागी, भुइँचालो र महामारी र आतंकवादले नेपाललाई छोड्ने छैनन्। त्यसैले संकटको चाङ लागिरहेको देशमा सुरक्षा प्रणालीभित्रको विषयलाई जिम्मेवार भई भित्रैबाट हल गर्नुपर्छ।

सशस्त्र प्रहरीसम्बन्धी वर्तमान विवादमा देशको मानवअधिकारमुखी नागरिक समुदायले पनि असन्तुष्टि देखाएको छ। अर्धसैनिक बललाई पक्राउ गर्ने र पक्राउ पुर्जी जारी गर्ने अधिकार दिने प्रावधान राखिएको सशस्त्र प्रहरी बलको प्रस्तावित नियमावली मन्त्रिपरिषद् विधेयक समितिबाट फिर्ता गर्न मानवअधिकारकर्मीले पनि सरकारसँग अपिल गरेका छन्। प्रस्तावित प्रावधानले नेपाल प्रहरीबाट हुँदै आएको र हुनुपर्ने अपराध अनुसन्धानको क्षेत्राधिकारमाथि प्रत्यक्ष हस्तक्षेप गर्ने र नागरिकको आधारभूत मानवअधिकारको सुनिश्चिततामा समेत प्रत्यक्ष असर पर्ने संशय यो समुदायले गरेको छ। तर सशस्त्र प्रहरी ऐनलगायत हाल प्रस्तावित संशोधनले कतैबाट पनि स्थापित फौजदारी न्याय प्रशासनका मान्यता र देशमा बहाल रहेको न्यायिक सर्वोच्चतालाई अतिक्रमण गर्न खोजेको देखिँदैन। राष्ट्रिय मानवअधिकार आयोगले उसबेलै पनि यसको ‘क्लियरेन्स’ गरेकै हो। त्यसैले निर्वाह गरिरहेको कामको वैधानिकताको माग गरिरहेको संगठनलाई सोको अस्वीकारी दिनु सर्वथा अनुचित हुन्छ।
वास्तवमा सशस्त्र प्रहरी बल नेपालको नीतिगत छनोट मात्र नभई निरन्तर आवश्यकता पनि हो, यो नेपाल प्रहरीको समानान्तर संस्था होइन। न त नेपाली सेना वा नेपाल प्रहरीको लाचार छाया नै हो। यसको कानुनले दिएको कार्यादेश एकदमै स्पष्ट छ।दुर्भाग्य के हो भने टिप्पणी गर्नेले यसलाई अनावश्यक विवादमा ल्याइदिएका छन्। त्यसैले सशस्त्र प्रहरीप्रति दुराग्रह राख्नेभन्दा पनि यसलाई फरक एवं अतिरिक्त सुरक्षा व्यवसायका रूपमा अगाडि बढ्न-बढाउन दिनुपर्छ। यसका लागि बन्न लागेको नयाँ संविधानमै स्पष्ट क्षेत्राधिकारसहित सशस्त्रको उल्लेख गरिदिएमा भोलिका लागि विवादरहित संवैधानिक धरातलको निर्माण हुन सक्छ।

-अधिकारी संवैधानिक कानुनका ज्ञाता हुन्।