के हो सभ्यता ?

सभ्यता भनेको के हो ? व्याख्या गर्न गाह्रो छ। विल डुरान्टले यसबारे १३ भोल्युमको विवेचना लेखे। बृहत् व्याख्या। सभ्यताको इतिहास। त्यतिले नपुगेर त्यसको ‘समरी’ पनि लेखे। कुरा सकिएन।

‘सभ्यता’ भन्दा मानव समाजको सकारात्मक, प्रगतिशील र समावेशी विकासको स्थितिलाई बुझ्नुपर्छ। सभ्य समाज प्रायः उन्नत खेती, फैलिएको उद्योग र लामो दूरीको व्यापार, व्यावसायिक विशेषज्ञता र सहरीकरणतर्फ उन्मुख हुन्छ।

विकसित यातायात व्यवस्था, लेखन, मापनका मानकहरू, कानुन प्रणाली, कला, गणित र वैज्ञानिक आविस्कारको स्थितिले पनि सभ्यतालाई देखाउँछ।

सभ्यता र संस्कृति उस्तैउस्तै लाग्छ। तर सभ्यतामा भौतिक पक्ष प्रधान हुन्छ। संस्कृतिमा महत्व राख्ने वैचारिक पक्षले हो। पढ्ने लेख्ने समाजले चाँडो उन्नति गरेको छ। सबै राम्रा कुरा यसैसँग जोडिन्छन्। सभ्यतालाई यसैले आधार दिन्छ।

सभ्यताको कुरा गर्दा गुरु स्यामुअल हन्टिङटन र चेला फ्रान्सिस फुकुयामाको कुरा मिल्दैन। चेलाले दाबी गरे— पश्चिमी उदार प्रजातन्त्र मानव जातिको सामाजिक सांस्कृतिक विकासको अन्तिम बिन्दु हो। सरकारको अन्तिम स्वरूप उदार प्रजातन्त्रले नै दिन्छ भन्थे उनी । सोभियत संघ अशान्त देखिँदै थियो। अब कम्युनिज्म तुहिँदैछ भन्ने उनको निष्कर्ष थियो त्यसबेलाको।

उता गुरुको सोचाइ फरक थियो। उनले पनि एउटा नामुद पुस्तक लेखे, ‘द क्ल्यास अफ सिभिलाइजेसन।’ उनको प्रतिदाबी थियो। उदारवादी प्रजातन्त्र खतरामा छ। उनले भने, ‘सांस्कृतिक र धार्मिक पहिचानको आन्दोलनले शीतयुद्धपछिको संसारलाई आक्रान्त पार्नेछ।’ कुरा नमिलेजस्तो लाग्छ, तर सभ्यतालाई चुनौती दिने यी दुवै ‘ट्रेन्ड’ छन् संसारमा।

राम्रा कुरा कति छन् कति ! सबै राम्रा कुरा पढ्न सकिँदैन। तिनलाई अनुभव गर्न समय चाहिन्छ। एउटा कुरा गर्न सकियो भने अर्को कुरो छुट्छ। जे गर्न पाइयो त्यो राम्रै गरें भन्नुपर्छ। यस्तै हो। तर लेखपढ नगर्ने समाज सभ्य रहिरहन सक्दैन।

बोल्नु जति सजिलो केही हुँदैन। बोले जति लेख्न पाए लेखाइले भकारी भरिन्थ्यो होला। घरघरमै भकारी हुन्थ्यो तर त्यस्तो हुँदैन। त्यस्तै खँदिलो बोलाइ धेरैजसो पढाइलेखाइ वा व्यक्तिगत अनुभव वा रचनात्मक सोचाइसँग सम्बन्धित छ। यो पनि सित्तैमा पाइँदैन। समय खर्च गर्नुपर्छ।

यसो गर्न नसक्दा हाम्रो समाजका धेरै ‘फोक ट्रेडिसन’ हरू हराएर गएका छन्। उसबेलाका कुरा सुन्न उसबेलाको मान्छे खोज्नुपर्ने बाध्यता भएको छ। कति कुरा अब इतिहासमा विलिन भइसके। कोट्याउन खोजे पनि केही हात लाग्दैन। हाम्रोमा लेखनको सभ्यता ढिलो गरी विकास भएकाले यस्तो भएको हो।

सभ्यताको क्षेत्र धेरै फराकिलो छ। के पढ्ने भन्ने कुरा पनि आआफ्नो स्वाद हो। कसैलाई साहित्य मन पर्छ, कसैलाई इतिहास वा भूगोल। विज्ञान र प्रविधिमा रुचि राख्ने जमात पनि ठूलो छ। विकासे पढाइ पनि कतिलाई मीठो लाग्छ। विषयगत वा व्यवसायगत पढाइ त बाध्यता नै हो। तर रमाइलो भएन र ज्ञानको भोक मेटिएन भने कसैलाई पढ्ने कुरामा रुचि हुँदैन।

लेखपढ गर्ने चलन युरोपमा चौधौं शताब्दीदेखि निरन्तर विकसित हुँदै आएको छ। यो एउटा सांस्कृतिक आन्दोलनकै रूपमा स्थापित भयो। यो आन्दोलन इटलीदेखि सुरु भएर युरोपभरि फैलियो। शिक्षामा क्रमशः तर आमूल सुधार हुन थाल्यो। यसै कारण हरेक क्षेत्रमा मान्छेको सोचमा पनि परिवर्तन हुन थाल्यो।

‘ओडिसी’ वा ‘इलियाड’ लेख्ने प्राचीन ग्रिक लेखक होमरले कविता लेखी बयान गरेको तात्कालिक समाज र आजका फुकुयामा वा अमर्त्य सेनले विश्लेषण गरेको समाज दुवै राम्रा कुराले टिकेको हो। नराम्रा कुरा लुकाइएको छैन, राम्रा कुरा छोडिएका छैनन्। सामाजिक विकास यसैगरी हुन्छ। यो प्रक्रियाले सभ्यता निर्माण हुने हो।

रामराज्य भनेको कथाको कुरा हो। राम कथामा पनि पात्र र घटनाले यसैलाई पुष्टि गर्छ। राम्रा पनि हुन्छन् र नराम्रा पनि हुन्छन्। महाभारतमा पनि त्यही हो। असभ्यता भएन भने सभ्यता देखिँदैन।

सभ्यतामा नैतिक पक्ष बलियो भएन भने जस्तोसुकै सभ्यता पनि बरालिन थाल्छ। त्यसैले इतिहासमा ठूलाठूला सभ्यता हराएर गएका पनि छन्। मेसोपोटामिया, इजिप्ट, ग्रिस, रोम इत्यादिका आदि सभ्यता प्रमाण छोडेकाले अहिले पनि चर्चामा छन्। हामीले थाहै नपाई कतिपय सभ्यता इतिहासमा विलिन भए होलान्।

नेपालको प्राचीनताले हाम्रो सभ्यताको प्राचीनतालाई सम्झाउँछ। नेपाली जातिको बानिबेहोरा, धर्म–संस्कृति, जीवन पद्धति इत्यादिका कारणले मलाई कहिल्यै लघुताभास भएन। लन्डन र न्युयोर्कजस्ता सहरमा माग्ने, ठग्ने र चोर्ने देखेकै हो। युरोप, अमेरिका र अस्ट्रेलियामा रहेको जातिवाद हेर्दा यो कसरी रहन सक्यो होला ?

एकजना ‘बेगाला’ भन्ने थर भएका एउटा भारतीय भाइले मलाई भने: “तपाईमा यहाँका मान्छेको ‘सोफिस्टिकेसन’ आइसकेको छैन I आएको भए आजको अंग्रेजहरुको नश्लवाद्को प्रमाण म संग माग्नु हुन्थेन I” वास्तवमा त्यसबेला म त्यतिसारो बुझ्दिनथें I अबचाहिं म बुझ्दछु जस्तो लाग्छ I

वर्ड्स वर्थले एउटा कवितामा भन्छन्— ‘मीठो बास्ना चल्ने फूल लजालु र नम्र हुन्छन् नै’। जातिवाद र नश्लवादमा त्यो नरमपना हुँदैन।

क्वालालम्पुरमा ट्विन टावर हेर्दाहेर्दै कुनै फन्टुसले मेरो वालेट थुतिसकेको थियो। दुबईमा रमजान वा यस्तै चाडपर्वका बेला मैले कहिल्यै नखाने चुइगम श्रीमतीको लहैलहैमा खाँदा झन्डै कुटाइ खानुपरेको। मुस्लिमहरुको बर्तको दिन रहेछ I कति असहिष्णुता ?

गिनीबाट लाइबेरियातर्फ छिर्न खोज्दाको कठोर अनुभव छ मलाई। गिनीका फ्रेन्चभाषी सीमारक्षकले घुस दिने पैसा नबोकी किन हिँड्छस् ? भनी झन्डै बेपत्ता पारेका। त्यो दैत्याकार मान्छे कसैका लागि पनि सातो लिने खालको थियो। बंगलादेशका शान्ति सेनाका जवानले बचाए।

विसंगति पनि सभ्यताका पाटा हुन्। साहित्यमा बाँच्छन्। पारिजातको उपन्यास ‘शिरीषको फूल’ नेपाली साहित्यमा चम्किलो उदाहरण हो। शिरीषको फूल झर्न लागेका बेला उपन्यासको ‘क्लाइमेक्स’ हो। उपन्यासका नायक ‘रिटायर्ड’ सैनिक हुन्छन्। उनी कठोर स्वभावका प्रेमी हुन्छन्। यसैबेला उसलाई अन्ततः आफ्नो चरित्रको भयानकता अनुभव हुन्छ, तर उसले माफी माग्ने समय पाउँदैन। ऊ जसको अपराधी थियो उसको मृत्यु भइसकेको हुन्छ। उसले स्विकार्छ एकोहोरो प्रेम अत्याचार हो भनेर।

हरेक समाजमा राम्रानराम्रा कुरा हुन्छन्। सभ्यता राम्रा कुराको सम्पदा हो। राम्रा कुराको हिसाब गर्दा नेपाल पछाडि पर्दैन तर अगाडि कसरी बढ्ने भन्ने मुख्य प्रश्न हो। पुर्खाको ताउले सभ्यता बचाउन सकिँदैन। आफैंले परिश्रम गर्नुपर्छ। 

डा. विपिन अधिकारी
अन्नपूर्ण दैनिक / बुधवार, चैत २१, २०७४
http://annapurnapost.com/news-details/94905
Facebook
Twitter
LinkedIn

Related Posts