राष्ट्रवाद र प्रजातन्त्रका कुरा

 २०६९ श्रावण १५

१२ वर्षयता नेपालमा अकल्पनीय दुर्घटनाहरू भएका छन् । पहिले हजारौं सेनाले सुरक्षा दिएको नारायणहिटी राजदरबारभित्र एउटा स्वाभिमानी राजा र उनका परिवार समाप्त भए । यस लगत्तै नेकपा (माओवादी) को तथाकथित जनयुद्धले अस्वाभाविक रूपमा तीव्रता पायो । सोह्र हजार नेपाली अनाहकमा खेर गए । एउटा धान्न सकिने संविधान र भविष्योन्मुख प्रजातान्त्रिक प्रणालीलाई आमचुनाव हुनै नदिई समाप्त गरियो ।

नेपाललाई कमजोर बनाउन यति कुरा पर्याप्त ठानिएन । यसका लागि गृहयुद्ध पनि अपर्याप्त भयो । त्यसैले खसजाति विरूद्ध जनजाति आन्दोलन, फलित विरूद्ध दलित आन्दोलन, पहाड विरूद्ध मधेस आन्दोलन, पूर्व विरूद्ध पश्चिमको आन्दोलन अनि शान्तिकामी नेपालीहरू विरूद्ध गरिएको आपराधिकजस्ता लाग्ने नियोजित भौतिक कारबाहीहरू क्रमशः हुँदै गए । मूलधारका दलहरूलाई घोषित वा अघोषित रूपमा टुक्रा-टुक्रा पारी ‘साइज’मा ल्याइयो । शक्ति सन्तुलनमा परिवर्तन गर्ने उद्देश्यले मधेसमुखी दलहरूको सिर्जना गरियो । आन्दोलनको रापमा लाखौंलाख गैरनेपाली नेपालका नागरिक बनाइए । धार्मिक र सांस्कृतिक सद्भाव खलबल्याउँदै स्वतन्त्र नेपालका लागि बोल्दै-लेख्दै आएका एवम् सिद्धान्तको राजनीति गर्नेहरूमाथि सशक्त कारबाही भए । नेपालको मिडिया, सेना र सुरक्षा संयन्त्रलाई प्रभावित गर्ने प्रयत्न पनि कसैबाट लुकेको छैन । राष्ट्रवादी सोच र अभिव्यक्तिमाथि नेपालमा यतिविघ्न प्रहार इतिहासमा कहिल्यै भएन ।

नेपालमा ‘प्रोक्सी वार’ नयाँ अवधारणा होइन । तर आश्चर्यको कुरा के हो भने विदेशी भूमिबाट निर्दोष नेपाली युवाहरूमार्फत प्रजातन्त्र विरूद्ध सञ्चालित यो युद्धको मुकाविला गर्नुको साटो नयाँ नेपाल निर्माणको पक्षधर भन्दै प्रजातन्त्रवादी शक्तिहरू अबुझ बन्न रूचाए । प्रजातन्त्र र राष्ट्र दुवैलाई जोगाउन जोखिमपूर्ण निर्णय लिने बेलामा उनीहरूले आफ्नो सीमान्त शक्ति त्यस्ता पक्ष र प्रवृत्तिहरूसंग मिलान गरेे, जसको प्रजातन्त्रप्रतिको निष्ठा र नेपाली राष्ट्रवादप्रतिको समर्पण दुवै संदिग्ध थियो । अझ मुलुकको गम्भीर राजनीतिक परिस्थितिको मूल्यांकन गरी भविष्यको रोडम्याप तयार गर्नुपर्ने बेलामा विदेशी रणनीति अन्तर्गत आएको १२ बुँदे एजेन्डामा प्रजातन्त्रवादी शक्तिहरू महत्वपूर्ण पक्ष हुनपुगे । उनीहरूको बुइँ चढेर नै शान्ति प्रक्रियाका नाममा संविधान र विधिको शासनको अन्येष्टि सुरू भएको हो । यी प्रक्रियाहरूमा प्रजातन्त्रवादीहरू संलग्न नभएको भए मुलुकको स्वतन्त्रता, अस्मिता र प्रजातन्त्रको यति सजिलै कसैले हुर्मत लिन सक्ने थिएन ।

हारेको लडाइँको प्रतीक नै भए पनि गत जेठ १४ गतेसम्म मुलुकमा एउटा संविधानसभा थियो । यसले के गर्ने भन्ने एउटा घोषित एजेन्डा थियो । प्रजातन्त्रवादीहरूले यसको रचनात्मक प्रयोग गर्न सक्ने थिए । यसभित्र विभिन्न राजनीतिक दलले खेल्नुपर्ने भूमिकाहरूबारे बहस हुनसक्थ्यो । राष्ट्रवाद र प्रजातन्त्रजस्ता मूल विषयमा मूल्य-मान्यताका कुरा छिनोफानो गर्नसकेको भए मुलुक सकारात्मक बाटोमा जान सक्थ्यो । अब त्यो अवस्था रहेन । संविधानसभा संविधान बनाउन नसकी समाप्त

भयो । अहिले आएर लाग्छ, यो मुलुकको दुर्दशा गर्ने योजनामा सायद संविधानसभा एउटा ‘साइनपोष्ट’का रूपमा मात्र मञ्चन गरिएको थियो । सविधान निर्माणको कुनै उद्देश्य थिएन ।

समस्या जतिसुकै जटिल भए पनि सर्वोच्च अदालतको सोचाइमा अब के गर्ने भन्नेबारे संविधानसभाले अर्को निर्णय लिने अख्तियार राख्थ्यो । तर सभालाई त्यो अख्तियार प्रयोग गर्न दिइएन । सर्वोच्च अदालतले भनेको थियो- संविधानसभाले नयाँ निर्वाचनबाट नयाँ म्यान्डेट लिन सक्छ, जनमत संग्रहको माध्यमबाट आफ्नो थप कार्यावधिलाई समर्थित गराउन सक्छ वा अन्य संविधानसम्मत तरिकाबाट अर्को कुनै रणनीति बनाई नयाँ संविधान जारी गर्ने वैकल्पिक बाटो अपनाउन सक्छ । यसो गर्न नसक्ने अवस्थामा संविधान संशोधनको माध्यमबाट आफ्नो आयु बढाउँदै लैजाने प्रक्रियालाई छोडी बहिर्गमनको उचित रणनीति -एक्जिट स्ट्रेटेजी) बनाउने जिम्मेवारी पनि संविधानसभाकै थियो । यसो हुन दिइएन । यो प्रक्रियामा पनि प्रजातान्त्रिक दलहरूको अकर्मण्यता दुःखदायी थियो ।

नेपाली कांग्रेस, एमाले एवम् सबै साना प्रजातन्त्रवादी शक्तिहरू आज पनि नीति तथा कार्यक्रम विनाको राजनीति गर्दैछन् । जस्तो नेपाली कांग्रेसका केन्द्रीय समितिका सदस्य एवम् जिल्ला सभापतिहरूको १५ साउनदेखि सुरू हुने राष्ट्रिय सम्मेलनको अहिलेको परिस्थितिमा विशेष महत्व हुनुपर्ने हो । तर यो सम्मेलन एकपटक फेरि एउटा परम्परागत संस्कारमात्र भएर समाप्त हुने सम्भावना देखिंदैछ । कारण स्पष्ट छन्- हरेक सम्मेलनको आयोजना संगसंगै एउटा एजेन्डा आएको हुन्छ । आयोजकले त्यस्तो एजेन्डामा सम्मेलन आयोजना गर्नुको मूल उद्देश्यसहित छलफलका लागि प्रस्ताव, नीतिपत्र र भविष्यका लागि नेतृत्वले लिएको निर्णय वा अठोट उल्लेख गरेको हुन्छ । तर यो सम्मेलनमा न मुलुकलाई निर्देश गर्नसक्ने कुनै एजेन्डा राखिएका छन्, नत यसमार्फत स्वीकार गरिने कुनै प्रकारको भविष्यमुखी योजना । मानौं यो दशैं-तिहारजस्तो हरेक वर्ष मनाउनैपर्ने महत्वपूर्ण चाड हो । यसलाई रोक्न वा नमनाउनलाई जुठो पर्नुपर्छ । यदि यही सम्मेलनमा कांग्रेसले अर्काको लहलहैमा लागि एवम् कुनै अमूक राष्ट्रको हतियार भई गत ६ वर्षदेखि यो मुलुकलाई गरेको अन्यायको प्रायश्चित र आफ्ना गलत नीतिहरूको निर्मलीकरणको योजना प्रस्ताव गरेको भए भोलिदेखि नेपालीको भाग्यरेखा पुनः गहिरो हुँदै जाने थियो । सोको अभावमा यो सम्मेलनको भयंकर दुरूपयोग हुने खतरा देखिंदैछ ।

एमालेको आफ्ना समस्याहरू छन् । मुलुकभित्रको प्रत्येक आन्दोलनको नेतृत्व गरी हिंडेको र कुनै बेला संसद्मा दुई तिहाइ बहुमत ल्याई विश्व समाजवादी आन्दोलनलाई पुल्कित गराउने नेपाली कांग्रेस आज समाप्तप्रायः स्थितिमा छ । अब यस पार्टीमा नेपाली सेनाका रिटायर्ड जर्नेलहरू, नेपाल सरकारका सचिव, राष्ट्रका ख्यातिप्राप्त समाजसेवी, साहित्यकार, इञ्जिनियर, डाक्टर, वकिल वा व्यावसायिक समृद्धि वा उचाइ प्राप्त गरेका व्यक्तिहरू प्रवेश गरेको खबर सुनिंदैन । मुलुकका दिग्गजहरूका लागि नेपाली कांग्रेस जुझारू क्षमता राख्दैन । मुलुकको सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रलाई व्यापक रूपमा परिचालन गरिरहेका युवा एवम् नवउद्यमीहरूका लागि नेपाली कांग्रेस छाता हुनसकेको छैन । नेपालका जनजाति र मधेसी लगायतलाई एकबद्ध गरी प्रजाान्त्रिक नेपालको रचना गरी हिंडेको दललाई आज समग्रमा दाँत झरिसकेको बूढो बाघको हैसियतमा पुर्‍याइएको छ । यो आफै हिंड्न सक्दैन, कसैले डोर्‍याउनुपर्छ ।

मुलुकका जल्दाबल्दा समस्याहरूको समाधानका लागि कांग्रेसका राष्ट्रिय दृष्टिकोण के-के हुन् ? आज आम नेपाली भोटरहरूमा यसबारे कुनै जिज्ञासा छैन । प्रजातान्त्रिक नेतृत्वबाट मुलुकको समग्र राजनीति खासगरी महिला, दलित, जनजाति, मधेसीका मागहरूलाई सम्बोधन गर्ने योजना छैन । राष्ट्रवादलाई आधार बनाएर प्रजातन्त्रलाई प्राप्त गर्ने कांग्रेसको अभय इतिहास किन कुण्ठामा परिवर्तन भएका छन् । कुनै बेला नेपालको आर्थिक, सामाजिक र कूटनीतिक लगायत प्रत्येक क्षेत्रमा नेतृत्वदायक अग्रगामी विचार संवाहन गर्ने कांग्रेस आज कस्ता पक्ष र प्रवृत्तिको पृष्ठपोषक हुनपुगेको छ ? बुझ्नुपर्ने बेला आएको छ । कांग्रेसका युवाहरूले जवाफ माग्नुपर्छ, आफ्ना अग्रजहरूसंग । कांग्रेसको फाउन्डिङ पि्रन्सिपल्सलाई कसले अपहरण गरेको रहेछ ?

यहाँ के उल्लेख गर्नु जरूरी छ भने नेपाली कांग्रेसको एउटामात्र सैद्धान्तिक धार छ । त्यो धार भनेको राष्ट्रिय मेलमिलापको नीति नै हो । यो नीति नै स्व. वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको नीति थियो । आफ्नो जीवन र संगठन क्षमता उहाँहरूले यिनै नीतिका लागि उत्सर्ग गर्नुभयो । अन्य कथित धारहरू नेपालको भूराजनीतिक गोटीहरूमात्र हुन् । त्यसैले त यत्रो लामो राजनीतिक इतिहासमा राष्ट्रिय एकताका हिमायती वीपीलाई बिर्साउने अर्को तागत कांग्रेसमा उत्पादन हुनसकेनन् । परिवर्तनकारी शक्तिले आफू पछाडि उभिएका, आफ्ना समकालीन र आफू अगाडि उभिएका तिनै शक्तिहरूलाई संयोजन गर्दै मुलुक निर्माणको बाटोमा अग्रसर हुनुपर्छ । यसको अनुभूति त्यसमा मात्र हुनसक्छ, जसमा राष्ट्रिय स्पन्दनहरू हुन्छन् ।

नेपाली कांग्रेसका केही वरिष्ठ नेताले भन्ने गरेका छन्- ‘वीपीले राजनीति गरेको नेपालको कालखण्ड अर्कै थियो ।’ अब समय परिवर्तन भइसक्यो । यो एकदमै गलत व्याख्या हो । सत्य के हो भने नेपालको दुर्दशाको कारण भूराजनीतिक हो । शताब्दीऔंदेखि यही परिस्थितिसंग नेपालले आफ्नो अस्तित्वको लडाइँ लडेको छ । राजा पृथ्वीनारायण शाह हुन् वा बहादुर शाह, वा जंगबहादुर कुँवर हुन् वा वीपी कोइराला, उनीहरूले खपेको चुनौती एउटै थियो । फरक यत्तिमात्र छ कि आफ्ना छिमेकहरूबीच बलियो भएर बाँचेको एवम् पटक-पटक युद्ध गरेर आफूलाई स्वतन्त्र मुलुकका रूपमा उभ्याएको बलशाली नेपाल आज एउटा लाचार मुलुकमा परिवर्तन हुँदैछ ।

नेपाल आफ्ना छिमेकी र बाह्य शक्ति पीडित मुलुक हो । स्व. विश्वेश्वरप्रसाद कोइरालाको दृष्टिकोण थियो, ‘हामी चनाखो भएनौ, हामी संगठित भएनौ, हामी राष्ट्रिय र प्रजातान्त्रिक भावनामा बलियो भएनौ भने अर्कै कुरा हो । राष्ट्रियता त कति बलियो रहेछ भने यहाँ विदेशीहरू आफूलाई राष्ट्रवादी भनेर मलाई आक्रमण गर्छन् । राष्ट्रियता कत्रो मूल्यवान कुरो रहेछ । मलाई आक्रमण अराष्ट्रियहरूले गर्छन्, तर आफूलाई विदेशीको मान्छे भनेर नचिनिने युक्तिका साथ । मैले तराईको राष्ट्रिय भावनाको कुरा भनेको छु । मैले भनेको छु, नेवारहरूमा भएको राष्ट्रिय भावनाको कुरा । यति ठूलो राष्ट्रिय भावनाको आधार हामीसंग छ भने हामीले हरेस खाने कुरा छैन ।’

त्यसो भए किन नेपालमा प्रजातन्त्र र राष्ट्रवादको अगाडि यति धेरै समस्या छन् त ? यसको कारकतत्व को हुन् ? स्व. कोइरालाको भनाइ थियो, ‘मैलै हिजो कसैलाई जवाफ दिंदाखेरि भनें, म बडो तर्क दिएर तपाईंको मुख थुन्न सक्छु, तर म त्यो चाहन्न । किनभने तपाईंले उठाएको प्रश्न मेरो अगाडि पनि छ । मेरो निम्ति समस्या राजा छैनन् । मैले काम गर्न पाएको छु । मैले जुन समस्याको सामना गर्नुपरेको छ, त्यो पार्टीबाट आफ्नै साथीहरूबाट सिर्जना गरिएका छन् । जुन समाधान हुनसक्ने समस्या समाधान नहुनु मेरो घरभित्रको समस्या भएको छ । मेरो समस्या नै घरभित्र छ । कम्युनिष्टहरूले ममाथि आक्रमण गरे भन्ने मेरो समस्या छैन । मेरो समस्या के छ भने मेरो लाइनलाई मेरै साथीहरूले बुझेनन् र मैले अब सामना गर्नुपर्ने कुरा पनि त्यही छ । त्यस्तो जमात बनाउनुपर्‍यो, नेपाली कांग्रेसलाई, हाम्रो जो धरातल छ, राष्ट्रियता र प्रजातन्त्रको, त्यसमाथि अडेर बस्नेहरूको जमात बनाउनुपर्‍यो । त्यो पो त मेरोनिम्ति समस्या छ ।’

आज कोइराला बिदा भएको ३० वर्ष पुगेको छ । उहाँका प्रधानमन्त्री भाइले आफूखुसी गरेका कारण मुलुकको भविष्यप्रति भएको खेलवाडको लेखाजोखा भविष्यमा हुनेनै छ । तर नेपाली कांग्रेसमा त्यस्तो जमातको सिर्जना हुनसकेको छैन, जसका हातमा यो मुलुक सुरक्षित रहन सक्छ र प्रजातन्त्र आम जनताको जीवनपद्धति भएर बाँच्न सक्छ । समय अझै फुस्किसकेको छैन । तर यसलाई समात्नका लागि कांग्रेसको झण्डामा वीपीका विचारहरू फर्फराउनुपर्छ । जुनसुकै झण्डामुनि संगठित भएका भए पनि समग्र प्रजातन्त्रवादीको पहिचान उनीहरूले समातेको राष्ट्रवादी धारबाट हुनेछ । यसै पनि अब गुमाउन केही बाँकी छैन । अहिलेको प्रजातान्त्रीकरणको आसन्न चुनौती यही हो ।

(अधिकारी संवैधानिक कानुनका ज्ञाता हुन् ।)

डा. विपिन अधिकारी
कान्तिपुर दैनिक
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=276115
Facebook
Twitter
LinkedIn

Related Posts