प्रिय विपिन अधिकारी / कनकमणि दीक्षित जी,
काठमाडौं विश्वविद्यालय स्कूल अफ ल र साउथ एशिया ट्रष्टले संयुक्त रूपमा आयोजना गरेको नेपालको संविधान–२०७२ सम्बन्धी तीन दिने सम्मेलनमा सहभागिताका निम्ति गर्नुभएको निमन्त्रणाका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु । पूर्व निर्धारित कार्यका निम्ति काठमाडौं भन्दा बाहिर रहने भएकोले यो अत्यन्त महत्वपूर्ण सम्मेलनमा उपस्थित हुन म असमर्थ रहेको जानकारी गराउँछु ।
मलाई विश्वास छ— आयोजक संस्थाहरूका तर्फबाट खटिरहनु भएका तपाईं दुई जनाको ऊर्जा र उत्साहका कारण नेपालको संविधान–२०७२ माथि पहिलो पटक हुन लागेको यो बृहत् सम्मेलन पूर्ण रूपमा सार्थक र सफल हुनेछ । राष्ट्रको अग्रगतिका निम्ति यो अत्यन्त जरूरी कार्य सम्पन्न गर्ने बिंडो उठाउनु भएकोमा म व्यक्तिगत रूपमा तपाईंहरूलाई धन्यवाद दिन्छु ।
जनताका निर्वाचित प्रतिनिधिहरूद्वारा बनाइएको संविधान अन्तर्गत मुलुकलाई अगाडि बढाउने नेपाली जनताको सपना साकार हामीले झ्ण्डै ७ दशकसम्म अथक संघर्ष ग¥यौं । २०६४ सालमा पहिलो पटक संविधान सभाको निर्वाचन भए पछि पनि संविधान बनाउन हामीलाई सजिलो भएन । उक्त, संविधान सभा आफ्नो कार्य अधुरै छोडेर भंग हुन पुग्यो । दोस्रो संविधान सभाले संविधान निर्माणको विषयलाई उच्च प्राथमिकतामा राखेर काम ग¥यो । तर पनि संविधान जारी गर्दाका बखतको प्रसव–वेदना कम जटिल र पीडादायी थिएन । एकातिर नियत समयमा संविधान जारी गर्नु नै थियो भने अर्कातिर सकेसम्म कुनै पनि भूगोल, वर्ग र समुदायका भावना र सपनाहरू संविधानको घेरा बाहिर रहनु नपरोस् भन्ने सुनिश्चितताका निम्ति अन्तिम घडीसम्म प्रयत्न गर्नु परेको थियो ।
कुनै पनि संविधानका प्रावधानहरू व्यवहारमा लागू हुनु— त्यो संविधानको विकासको विधिवत थालनी हो । व्यावहारिक अभ्यास र अनुभवबाट प्राप्त ज्ञान र सुझावका आधारमै मात्र संविधानको सुधार र विकास सम्भव हुन्छ । संविधानको पूर्णताका निम्ति क्रमिक–विकास बाहेक अरू कुनै छोटो बाटो होला जस्तो मलाई लागेको छैन । तसर्थ, अब हामी सबैको ध्यान नेपालको संविधान–२०७२ को इमान्दारीपूर्वक कार्यान्वयन मै केन्द्रित हुनु जरुरी छ । तसर्थ, म फेरि पनि दोहो¥याउछु— क्रमिक विकासको माध्यमबाटै संविधानलाई पूर्णता प्रदान गर्न सकिन्छ । संविधानका प्रावधानहरूको कार्यान्वयन गर्दै, सिक्दै, सच्याउँदै अघि बढ्न कसैले संकोच पनि नमानौं ।
संविधान जारी भएको तीन वर्ष पूरा हुनै लागेको घडीमा आयोजित यो सम्मेलनले नेपालको संविधान–२०७२ को मर्म र उद्देश्यलाई जनमानसमा थप उजागर गर्न छलफल, बहस र अध्ययन–अनुसन्धानको नयाँ ढोका खोल्न सकोस् भन्ने कामना गर्दछु ।
जय नेपाल
सबै नेपालीको जय होस् !
२५ साउन २०७५, बागडोल, ललितपुर