संविधानविद् डा.विपिन अधिकारीले प्रधानमन्त्रीले राजीनामा नगरी अर्को सरकार गठनको प्रक्रिया अघि बढाउनु व्यवहारिक नभएको टिप्पणी गरेका छन् । डा. अधिकारीले अहिलेको अवस्थामा कि प्रधानमन्त्रीले आफुले राजीनामा गरे सरह हो भनेर भन्नुपर्ने, कि त राष्ट्रपतिले पनि त्यसको पुष्टि हुने आधार देखाएपछि मात्रै नयाँ सरकार गठनको अर्को प्रक्रिया सुरु गर्नुपर्ने बताए ।

रातोपाटी अनलाइन टीभीको द भ्युमा कुरा गर्दै डा. अधिकारीले सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकारको दावी गर्न प्रतिनिधि सभा सदस्यलाई गरेको आह्वान ठूलो खतरा नभए पनि संविधानको व्याख्या नमिलेको टिप्पणी गरे ।

‘सरकार निर्माणको काम कारवाहीमा सिफारिस भन्दा पनि हैसियत हेरिन्छ, उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिएको अवस्था वा विश्वासको मत लिन नसकेको अवस्थामा मात्र नयाँ सरकारको प्रक्रिया अघि बढाउनुपर्छ’, संविधानविद् अधिकारीको भनाइ छ ।

उनले अहिले बाहिर आएका टिप्पणीहरू सतही रहेको भन्दै यसबाट ठूलो खतरा उत्पन्न नभएको दाबी गरे । ‘ठूलो खतरा उत्पन्न भएको होइन, बरु संविधानको व्याख्या गर्ने तरिका मिलेन ।’ उनले नयाँ सरकारका लागि राष्ट्रपतिले दिएको समय अपुग हुने लागे राष्ट्रपतिसँग थप समय माग गर्नसमेत सकिने बताए । ‘यदि दलका नेताहरुलाई त्यो अवधि अपुग हुन्छ भन्ने लागे राष्ट्रपतिसँग थप समय माग्न सकिन्छ’, अधिकारीको भनाइ छ । उनले त्यो अवधिमा पनि सरकार गठन हुन सकेन भने निर्वाचनमा जाने प्रक्रिया रहेको बताए ।

डा. अधिकारीले नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दलहरूसँग अन्तरक्रिया गर्नुपर्ने भन्दै अन्तरक्रिया नगरी कसैले दावी पेश गर्ने कुरा असम्भवजस्तै रहेको टिप्पणी गरे ।

‘जालझेल होइन, पारदर्शिताको कुरा हो, त्यसका लागि अहिलको समय अपुग हुन सक्छ’ अधिकारीले भने, ‘त्यसका लागि दलहरूको सुझावका आधारमा राष्ट्रपतिले समय दिन सक्नुपर्छ ।’

भिडियो हेर्नको लागि कृपया यो लिङ्कमा जानुहोला :

https://www.youtube.com/watch?v=Cb-sZcjNfXc&t=9s
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *