संविधानविद् अधिकारी भन्छन्– संसदीय व्यवस्थामा ह्विप लाग्दैन भन्न मिल्दैन

काठमाडौं । संविधानविद् विपिन अधिकारीले संविधानको धारा ७६(५) लाई उल्लेख गर्दै सर्वोच्च अदालतले सुनाएको फैसलाको गलत व्याख्या भइरहेको टिप्पणी गरेका छन् । सर्वोच्चले संसद्लाई ह्विप नलाग्ने भनेर फैसला नगरेको उनको कथन छ ।

काठमाडौंमा आयोजित एक ज्ञान गाष्ठी संवाद श्रृङ्खलामा बोल्दै उनले दलको ह्विप लागेन भने संसदीय व्यवस्था नहुने टिप्पणी गरे । दलको ह्विप लागेन भने संसद् पनि नचल्ने र संसदीय व्यवस्था पनि नटिक्ने उल्लेख गरे ।

उनले भारतको उदाहरण दिँदै ह्विप नलाग्ने कुरा कानुनमै उल्लेख हुनुपर्ने बताए । भारतमा राष्ट्रपतिको निर्वाचन गर्दा ह्विप लाग्दैन भनेर कानुनमै उल्लेख गरेको भन्दै उनले अहिले नेकपा (एमाले)मा विवाद भए पनि भोलि कांग्रेसमा पनि आउनसक्ने भएकाले कानुनविद्हरुले यो व्याख्या गलत गरेको दाबी गरे ।

अदालतले गरेको व्याख्याभन्दा धेरै आफू अनुकूल व्याख्या गर्दा समस्या भइरहेको छ ।

“अदालतले सांसद्हरुलाई दलको ह्विप लाग्दैन भन्यो भने त्यो अदालत हुनै सक्दैन । अदालतले राजनीतिक दलसम्बन्धी कानुन हेर्दैन र ?,” उनले भने । देउवालाई समर्थन गरेर केही एमालेका सांसद्हरु राष्ट्रपतिसमक्ष गएका बेला पार्टीले ह्विप जारी नगरेको अधिकारीको भनाइ छ ।

“सांसद्हरुलाई दलको ह्विप लाग्दै भन्नु हास्यास्पद हो, अदालतले भनेको कुरालाई आफ्नो सुविधाअनुसार व्याख्या गर्नुहुन्न,” उनले भने,“अदालतले हिजोको कुरामा व्याख्या मात्र गरेको हो । अहिलेको कुरा गरेको छैन ।”

नागरिक दैनिक
https://nagarikkhabar.com/2021/08/195245/
Facebook
Twitter
LinkedIn

Related Posts