संस्थापक डीन डा. विपिन अधिकारीले ‘स्कुल अफ ल’बाट दिए राजिनामा

काठमाण्डौ विश्वविद्यालय ‘स्कुल अफ ल’का संस्थापक डीन डा. विपिन अधिकारीले आफ्नो कार्यावधि बाँकी रहँदै डीनको पदबाट राजीनामा दिएका छन् । यही चैत्र ३० गते देखि लागू हुनेगरी उनले राजिनामा दिएका हुन् । स्कुल अफ लको स्थापनार्थ उनलाई काठमाडौँ विश्वविद्यालयले डीनका रुपमा नियुक्ति गरेको थियो ।

अधिकारी वरिष्ट संविधानविद् पनि हुन् । स्कुल अफ लको स्थापना प्रक्रियादेखि आजसम्मको काम कार्यवाहीमा दिएको सहयोगका लागि अधिकारीले प्राध्यापक सुरेशराज शर्मा तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगाना, पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी तथा विश्वविद्यालयका पदाधिकारीलाई धन्यवाद दिएका छन् ।

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको सरकारले अधिकारीबाट संस्थापित स्कूल अफ लको पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा उनले कृतज्ञता व्यक्त गरेका छन् ।

काठमाडौँ विश्वविद्यालय स्कूल अफ ल नेपालमा अर्थशास्त्र तथा व्यवस्थापन विषयमा आधारित वैकल्पिक कानुनी उच्च शिक्षाका लागि एकमात्र स्कुल हो ।

‘काठमाडौँ विश्वविद्यालय स्कूल अफ लको स्थापनाकालीन उद्देश्य प्राप्तिका काम–कार्यवाही, यसको निरन्तर विकास एवं संस्थागत समृद्धिका लागि म सदैव सहयोगी रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु’ अधिकारीले आफ्नो राजिनामा पत्रमा उल्लेख गरेका छन् । तर के कारणले अधिकारीले राजिनामा गरेका हुन् भन्ने विषय पत्रमा खुलाइएको छैन ।

करीब आठ महिनाअघि काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डा. भोला थापाले नीतिगत विषयमा उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठसंग विवाद भएपछि तत्कालै राजिनामा गरेका थिए ।

लोकान्तर संवाददाता
https://lokaantar.com/story/71891/2019/3/14/dean-bipin-adhikari
Facebook
Twitter
LinkedIn

Related Posts