औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । विपिन अधिकारीद्वारा सम्पादित ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताएका हुन् ।

व्यावहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘केही केही व्यवहारका क्रममा भोलि गएर अपूर्णता पनि देखिएला ।

जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ । त्यस्तो पर्‍यो भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशील र असंशोधनीय चिज होइन । स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशील विषय होइन ।’

संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए । उनले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने बताए । ‘संविधान संशोधनका लागि हामी सबै खुला दिमाग राखेर बिना बहकाउ तयारी रहनुपर्छ,’ उनले भने ।

पाँचौं संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले ६४६ पृष्ठको ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक प्रधानमन्त्री निवास बालुवाटारमै विमोचन गरेका हुन् । 

कान्तिपुर संवाददाता
कान्तिपुर दैनिक
https://ekantipur.com/news/2020/09/18/16004142360311331.html
Facebook
Twitter
LinkedIn

Related Posts