काठमाडौं २७, जेठः समसामयिक विषयमा वौद्धिक छलफलको श्रृंखला अन्तर्गत मदन भण्डारी फाउण्डेशनले “नेपाल–चीन सम्बन्धको परिवर्तित आयाम” शीर्षकमा संवाद कार्यक्रम आयोजना ग¥यो । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणको सन्दर्भमा आयोजित कार्यक्रममा प्रमुख वक्ताका रुपमा पूर्व उप–प्रधानमन्त्रीद्वय भीम रावल र कमल थापा उपस्थित हुनुहुन्थ्यो । चीनका लागि पूर्व नेपाली राजदुत डा. महेश मास्केको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल चीन सम्बन्धमा नयाँ आयाम र चीनको वेल्ट एण्ड रोड इनिसिएटिभ (वीआरआई) मा नेपालका प्रमुख मुद्दावारे काठमाण्डौ विश्वविद्यालय कानून संकायका डिन डा. विपिन अधिकारी र नेपाल–चीन सम्बन्धका जानकार कल्याण रोकाले अलग–अलग कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा आफ्नो विचार प्रस्तुत गर्दै पूर्व उपप्रधानमन्त्री कमल थापाले चीनसंगको सम्बन्धमा हिमालय अवरोध नभएको वताउनुभयो । नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्न चीनसंगको सम्बन्ध सुमधुर राख्नु पर्ने वताउँदै थापाले भन्नु भयो “अघिल्लो पटक प्रधानमन्त्री हुँदा चीनसंग गरिएका सम्झौता कार्यान्वयन गर्ने ठुलो अवसर प्रधानमन्त्री केपी ओलीलाई प्राप्त भएको छ ।” नेपालको राष्ट्रिय अस्तित्व जोगाउनकै लागि पनि चीनसंग व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनको तहमा लैजानु पर्ने थापाको भनाई थियो । आफु परराष्ट्र मन्त्री रहँदा चीनसंग सम्बन्ध विस्तार गर्न र भारतीय नाकावन्दीको सामना गर्न खेलेको भूमिका स्मरण गर्दै त्यस भूमिकामा प्रधानमन्त्री केपी ओलीको साथ रहेको थापाको भनाई थियो ।
त्यस्तै कार्यक्रमका अर्का प्रमुख वक्ता नेकपाका नेता एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले इतिहासको स्मरण गर्दै वर्तमानमा चीनसंग सम्बन्ध अघि वढाउनु पर्ने वताउनु भयो । नेपाल संवेदनशील भू–राजनीतिक अवस्थामा रहेको हुनाले चीनसंग गरिएका सम्झौतालाई विश्वासका साथ अघि वढाउनु पर्ने वहाँको भनाई थियो । नेपालले वोआओ फोरममा भाग नलिनु गलत भएको वताउँदै विश्वासकै कमी भएका कारण सांघाई कोअपरेशन काउन्सीलबाट पनि निमन्त्रणा नआएको त हैन भन्ने वहाँको आशंका सहितको प्रश्न थियो । चीन र भारतबाट आउने भनिएका रेल नेपालले उपयुक्त कानूनी रुपरेखा तयार गरेर मात्र अघि वढाउनु पर्ने रावलको सुझाव थियो ।
कार्यपत्र प्रस्तोता डा. विपिन अधिकारीले वीआरआई मा व्यापार, लगानी र कानूनी मुद्दाहरु शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएका मुख्य समझदारी कार्यान्वयन गर्नु ठुलो चुनौति रहेको वताउनु भयो । मुलतः नाफा र घाटाको झमेलामा नपरि केरुंग काठमाडौं रेलवेज, पेट्रोलियम पाइपलाइन र बुढी गण्डकी जलविद्युत आयोजनाको कार्यान्वयनमा तत्कालै जानुपर्ने डा. अधिकारीको जोड थियो । यि तिनवटै परियोजना नेपालको राष्ट्रिय सुरक्षाको अवधारणामा आधारित छन् । डा. अधिकारीको कार्यपत्रले वीआरआई अन्तर्गत संभाव्य प्रमुख ठुला पूर्वाधार निर्माण र तिनको लगानीको मोडल तथा कानूनी पक्षमाथी प्रकाश पार्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै डा. अधिकारीले वर्तमान प्रधानमन्त्री केपी ओलीको चिन भ्रमण निकट भविष्यमा हुन सके त्यस वेला विगतमा चिनसम्म भएका सम्झौतालाई “कोदालो खन्ने” तहमा लैजानु पर्ने वताउनु भयो ।
नेपाल–चीन सम्बन्धका अध्येता कल्याण रोकाले चीनको वीआरआई परियोजनामा नेपालको सहभागिता सम्बन्धी विवेचना शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वीआरआईमा चिनिया रणनीतिको विवेचना गर्दै उहाँको कार्यपत्रले आगामी दिनमा नेपालले वीआरआईमा सामेल हुँदा अवलम्वन गर्नुपर्ने रणनीति माथि चर्चा गर्नु भएको थियो ।
कार्यक्रमका अध्यक्ष डा. महेश मास्केले आफ्नो समापन मन्तव्यमा नेपाल चीन सम्बन्ध वहुआयामिक भएको र त्यसलाई विश्वासका आधारमा संचालन गर्नुपर्ने वताउनु भयो । आफु चीनमा राजदुत रहँदा भारतले नेपालमाथि नाकावन्दी लगाएको र त्यसको विकल्प खोज्न चीनसंग विभिन्न तहमा वार्ता गरेको स्मरण गर्दै मास्केले चीनियाँ कुटनीति पारस्परिक विश्वास र सद्भावबाट संचालित हुने आफ्नो अनुभव रहेको वताउनुभएको थियो । प्रधानमन्त्री केपी ओलीले विश्व राजनीतिमै दुर्लभ अवसर प्राप्त गरेको मास्केको भनाई थियो । चीनसंग सम्झौता गर्ने एउटा अवसरलाई कार्यान्वयन गर्ने अर्को अवसर प्राप्त गर्ने एउटै नेता केपी ओली भएकाले चीनसंग सम्वन्ध विस्तार गर्ने मौका प्रधानमन्त्रीले गुमाउन नहुने वहाँको सुझाव थियो ।
मदन भण्डारी मेमोरियल कलेज, अनामनगरको सभाहलमा सम्पन्न कार्यक्रममा दुवै सदनका संसद सदस्यहरु, पूर्व सचिबहरु, पूर्व राजदुतहरु लगायत नेपाल–चीन सम्वन्धका अध्येता एवम् विज्ञहरुको उपस्थिती रहेको थियो ।
उषा किरण भण्डारी
अध्यक्ष