“[कालिदासको] विक्रमोर्वशीलाई सिध्याएँ । मूलग्रन्थलाई हिन्दी टीकाको सहायताले कनीकुथीकन पढ्ने गरेको थिएँ जसले भाषाको लालितयबाट म वञ्चित नहुँ भनेर । केही अंशहरु कण्ठष्थ गर्नुपर्यो जस्तो लाग्छ – विक्रमोर्वशीयममा विशेष रुपले घोक्ने लायक केही छ भनेर होइन कि, मेरो नेपाली भाषालाई सुधार्नको लागि जति सक्यो संस्कृतका श्लोक र वाक्यावलीहरु कण्ठस्थ गर्न सके उति असल भन्ठानेर ।”
“मलाई आफ्नो भाषा सुधार्न बडो इच्छा छ; तर मलाई पनि यसको डर छ कि मेरो भाषा क्लिष्टतर हुँदै नजाओस् मेरो भाषासुधारको एकसुरे प्रयासमा । मेरो भाषामा क्लिष्टताको दोष आउने लक्षण छ–अहिलेसम्म त ठीक छ, तर प्रवृत्ति क्लिष्टतापट्टि लागेको छ । यसको कारण के भने, मैले नेपाली जीवनको स्थानीयतासंग स्वाभाविक र प्राकृतिक परिचय पाउन सकिनँ । म सानै उमेरदेखि हिन्दूस्तानमा हुर्केँ, त्यसो हुनाले नेपाली भाषाको स्थानीय रंग र भाषाको सूक्ष्म भावार्थसँग अपरिचित रहें । अर्को कुरा, विदेशिनु परेकोले नेपालको सामाजिक जीवनबाट पनि अलग्ग रहेँ, साथै न हिन्दूस्तानी जीवनमा स्वाभाविक किसिमबाट प्रवेश गर्न सकें । यसले गर्दा सम्पूर्ण रुपले ‘बाहिरया’ (आउट्साइडर) भएको छु ।”
“मेरो भाषाको दोषको मूल कारण सामाजिक जीवनको अभिन्न अंग हुन नसक्नु हो । सामाजिक भावना पनि ममा त्यसकारणले उति प्रबल छैन । सामजिक प्रश्न उपर चिन्तन छ ममा, भावना छैन । बुद्धिगुणले दूषित हुन गएको छ मेरो सामाजिक चेतना । भाषामा पनि त्यहि बौद्धिक दोष छ । हृदयभन्दा मस्तिष्क–भावनाभन्दा बुद्धिले थिचेको हुन्छ मेरो भाषा । विचार, घटना, परिस्थिति या भावनाका प्रति (इन्स्टिङ्क्टिभ रियाक्सन) (सहजात आवेग साथ) मेरो भाषा प्रतिक्रियामान हुँदैन – झ्वाट्ट, फुत्त, निस्किन्न । बौद्धिक मस्तिष्की र मस्तिष्किक (प्रोसेस) प्रक्रियाद्धारा बाहिर आउनमा समय लिन थाल्छ । त्यही कारण हो, शायद, मलाई लेख्ने काम अत्यन्त कठिन तथा क्लान्तदायी हुन्छ । त्यसो हुनाले साहित्यिक दृष्टिबाट जसमा अरु कुराभन्दा भावनाको प्रधानता रहन्छ, मेरो नेपाली भाषा पूरा दोषपूर्ण छ जस्तो मलाई लाग्छ । हो – राजनीति या दर्शन या शुद्ध साहित्यिक विषयका लागि शायद मेरो भाषा अनुपयुक्त छैन – तर शुद्ध साहित्यिक विषयका लागि, हृदयसँग सम्बन्ध भएका भावनाहरुका लागि, मानव मनका कुराहरुको अभिव्यक्तिका लागि मेरा भाषा अपर्याप्त, अनुपयुक्त र रंगहिन छ । यसैलाई सुधार गर्ने मेरो आजकल प्रयास चलिरहेको छ ।”
“कालिदासको अध्ययनको पनि मुख्य उद्देश्य मेरो भाषा सुधार हो । नत्र भने कालिदासको साहित्यमा त्यत्रो ठूलो रस मैले पाउन सकेको छैन जसको स्वीकृति आलोचकहरुके लामो जुलुस, जो प्राचीनकालदेखि चलिरहेको छ, ले समर्थनको नारामा उद्घोषित हुँदै आएको छ ।”
“मलाई भय भने यस कुराले हुन्छ कि कहिं मेरो भाषा संस्कृतमय भएर झन् नेपाली जीवनको दैनिक आदानप्रदानको मर्मपण्यबाट टाढिँदै नजाओस् र त्यस प्रोसेसमा अगाडि बढ्दा–बढ्दा ममा केवल भाषाको राशि यति थुप्रिन नपुगोस् कि त्यसबाट विचार या भावनाको कनिका झिक्न पनि असम्भव हुँदैजाओस् । भाषा त्यस्तो खुँडाको धार हो जस उपर लेखकले बडो संयमका साथ चल्न सिक्नुपर्छ, भाषाले कहिं उछिन्न पुगयो भने त्यो एउटा निरर्थक ध्वनिमात्र हुन्छ । भाषा र भावलाई लेखकले आफ्नो कलमको जुवामा जोख्न सक्नुपर्छ । के म गर्न सकुँला?”