नेपालको संविधान पहिलो संशोधन विधेयक २०७२ ले संसदमा प्रवेश पाएको छ I यो विधेयक एमाले नेतृत्वको सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सहमतिमा संसदमा दर्ता भएको हो I तराइमा आन्दोलनरत मधेसी मोर्चाले यो विधेयक सदनमा पेश गर्दा पनि अवरोध गरेको थियो। तर यसपटक त्यो अवरोधलाई झेल्दै प्रस्तितुको काम चाहिं सरकारले गरेरै छोडेको छ I

संविधानको धारा २७४ अनुसार संविधान सभाबाट रुपान्तरित संसदले संविधान संशोधन गर्न नसक्ने देखिएता पनि अहिलेको अवस्थामा सरकारले संविधानको संक्रमणकालिन व्यवस्था, संसदको अन्तरिम कार्यविधिसँगै राजनीतिक सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन लागेको देखिन्छ ।

सरकारले सदनमा पेश गरेको संशोधन विधेयकमा सीमाकंन हेरफेर सम्बन्धमा केहि उल्लेख छैन I तर यस विधेयकले धारा ४२ को सामाजिक न्याय अर्न्तगत उपधारा १ मा राज्यका सबै निकायमा समावेशी सिद्धान्तको सट्टा समानुपातिक समावेशी सिद्धान्तका आधारमा गर्ने प्रस्ताव गरेको छ। त्यसैगरी धारा ८४ को उपधारा १ को खण्ड (क) मा रहेको भूगोल र जनसंख्याका आधारमा भन्ने शब्दको सट्टा जनसंख्या र भौगोलिक अनुकुलता तथा विशिष्टताका आधारमा १ सय ६५ निर्वाचन क्षेत्र कायम गर्ने प्रस्ताव अघि सारिएको छ। त्यसैगरी धारा २८६ को उपधारा ५ को सट्टा निर्वाचन क्षेत्रको निर्धारण सम्बन्धि आधारहरु अघि सारिएको छ।

नयाँ संविधानको धारा २७४ को उपधारा २ अनुसार, उपधारा (१) र यस संविधानको अन्य धाराको अधीनमा रही यस संविधानको कुनै धारालाई संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै पनि सदनमा पेश गर्न सकिने उल्लेख छ। यस्तो विधेयक कुनै प्रदेशको सिमाना परिवर्तन वा अनुशुची ६ मा उल्लेखित विषय संग सम्वन्धित भए त्यस्तो विधेयक संघिय संसदमा प्रस्तुत भएको तिस दिन भित्र प्रदेश सभाको स्वीकृति का लागि पठाउनु पर्ने व्यवस्था धारा २७४ को उपधारा (५) मा प्रस्ट्याइएको छ I यो प्रक्रिया पुरा नगरी केवल संघिय संसदले मात्र संशोधन विधेयक एकहोरो रुपमा पारित गर्न सक्छ कि सक्दैन भन्ने प्रस्न एउटा जटिल प्रस्न हो I

वास्तवमा यो संविधान एउटा संघिय संविधान हो I संविधानका प्रस्ट व्यवस्थाहरुलाई हेर्दा रुपान्तरित संसद कायम हुन आएको वर्तमान संसदले संविधान संशोधन गर्न नसक्नेनै देखिन्छ I संविधानको संक्रमणकालिन व्यवस्थाले संविधान संशोधनका बारेमा अपवाद स्वरुप केहि उल्लेख गरेको छैन I संघीय संसदको गठन नभएको अवस्थामा सक्रमणकालिन व्यवस्था अनुसार संविधानको धारा २९६ को उपधारा ३ बमोजिम संघीय संसदले सम्पादन गर्नुपर्ने काम यस संविधान बमोजिम प्रतिनिधिसभाको निर्वाचन नभएसम्मका लागि उपधारा १ बमोजिम रुपान्तरित संसदले गर्ने उल्लेख छ। तर संविधान संशोधन भनेको सामान्य संसदीय कार्यवाही होइन I ठुला दलहरुले धारा ३०५ अनुसार बाधा अड्काउ आदेश मार्फत नै भएपनि अघि बढ्ने सोच बनाएको देखिन्छ I संवैधानिक रुपमा संशोधन गर्न नसकिने अवस्थालाइ फुकाउन धारा ३०५ को प्रयोग शास्त्र सम्मत हुदैन I यसको अर्थ अहिले केवल राजनैतिक सहमति मात्र गर्न सकिने छ I तर यो निस्कर्षलाइ मान्न कोहि तयार छैन I

यो विधेयक पारित गराउन चाहने सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस को पक्षमा केवल एउटा मात्र राजनैतिक यथार्थ देखिन्छ – जो कतै झुठो देखिदैन I त्यो हो – नया संविधानलाइ पारित गर्ने वा लागु गर्ने दिन सम्म पनि मूल तिन ठुला दलले असन्तुस्ट पक्षलाई संविधान जारी भएपनि तत्कालै संशोधन प्रक्रिया द्वारा मुलधारमा ल्याउने वचन दिएको थियो I यहि वचन का आधारमानै फोरम लोकतान्त्रिकसंग सहमतिमा हस्ताक्षर भइ उनीहरु सरकारमा गएको हो I तर यो राजनैतिक यथार्थ लाइ संविधानको अन्तिम मस्यौदामा कसैले छिराउन जागरुक भएको देखिएन I विवाद परेको अवस्थामा यो तथ्यलाइ सर्वोच्च अदालतले कति महत्व देला? त्यो हेर्न चाहिं पर्खनु पर्ने हुन्छ I

हाललाई विधेयकलाइ अगाढी बढाउने सम्वन्धमा सहमति नै देखिन्छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेशको सीमांकन हेरफेरको विषय राजनीतिक सहमतिका आधारमा टुंग्याउन आफू तयार रहेको भनेको छ । सीमांकनको विषय टुंग्याएर संविधान संशोधन गर्नुपर्ने मोर्चाको मागमा आफ्नो सैद्धान्तिक सहमति रहेको उसको भनाइ सार्वजनिक भएको छ । विधेयकको भाषा सुधारका लागि उनीहरुमा आपत्ति छैन । मोर्चाका नेताहरुले भने समानुपातिक/समावेशी प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण भन्दा पनि प्रदेशको सीमांकन हेरफेर आफूहरुको मुख्य माग भएकाले त्यो विषय पनि अहिले नै टुंग्याएर संविधान संशोधन गर्दा कसैले पनि नहार्ने अवस्था निर्माण हुने बताएकछन । संविधान संशोधन विधेयकमाथि छलफलका लागि पुस ८ गते संसद् बैठक बोलाइएको छ ।

 सरकारले अन्तः नेपालको संविधान संशोधन बिधेयक व्यवस्थापिका–संसद्मा दर्ता गराएको छ । नोभेम्बर २९, २०१६ को राति अबेर मन्त्रिपरिषद्को बैठकले संशोधन बिधेयक पारित गर्दै लगत्तै संसद्मा दर्ता गराइएको हो ।

बिधेयक अनुसार पाँच नम्बर प्रदेशमा नवलपरासीको बर्दघाटदेखि पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियासम्मको तराई भूभाग मात्रै रहनेछ। भाषा आयोगले नेपालमा बोलिने सबै मातृ भाषाहरुलाई राष्ट्रिय भाषा भनी सिफारिस गर्ने र त्यसलाई संविधानको अनुसुचीमा राख्ने प्रस्ताव गरिएको छ। नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता परित्याग गरेको कारवाही चलाएपछि संघीय कानून बमोजिम नेपालको वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था गरिएको छ । त्यस्तै राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट महिला एक, दलित एक र अल्पसंख्यक वा अपांगता भएकाबाट एक गरी प्रत्येक प्रदेशबाट तीन निर्वाचित हुने र बाँकी ३५ जना जनसंख्याको आधारमा हुने प्रस्ताव गरिएको छ। ३५ जना मध्ये सम्बन्धित प्रदेशबाट जनसंख्याको अनुपातमा चौध जना महिलाको प्रतिनिधित्व हुने प्रस्ताव छ।

संविधान संशोधन बिधेयकलाई लिएर विपक्षीले चर्को विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ । सत्तारुढ नेपाली कांग्रेसमा पनि यस विषयमा मतभेद देखिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले पेश गरेको संविधान संशोधन विधेयकलाई अस्वीकार गर्ने निर्णय गरेको छ। तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले यथास्थितिमा विधेयकलाई स्वीकार्न नसकिने निर्णय गरेको हो। विगतदेखि आफूहरुले उठाएका मागहरुलाई यसले सम्बोधन नगरेकोले परिमार्जन नगरी संशोधन विधेयक स्वीकार्न नसकिने संघीय समाजवादी फोरम ले भनेको छ । यही प्रस्तावलाई अघि बढाउने हो भने हामी निर्वाचनमा पनि जादैनौं र निर्वाचन हुन पनि दिदैनौं भनिदै छ । प्रदेश नम्बर पाँचबाट संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रभावशाली सांसदहरूले आफूहरू संविधान संशोधन प्रस्ताव विधेयकको विपक्षमा रहेको बताएका छन् । कांग्रेसका बालकृष्ण खाँड र चन्द्र भण्डारी, एमालेका विष्णु पौडल, प्रदीप ज्ञवाली, गोकर्णराज विष्ट तथा माओवादी केन्द्रका टोपबहादुर रायमाझी लगायत प्रभावशाली नेताहरू संविधान संशोधन विधेयकको विपक्षमा रहेको बताएका हुन् ।

सत्तारुढ कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता पनि संशोधन प्रस्तावको बिरोधमा निस्किएका छन्। उनीहरू विभिन्न समूहको नाममा निस्किएका छन्। प्रदेश नम्बर ५ लाइ टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन बिधेयक विरुद्ध बुटवल लगायत रुपन्देहीका विभिन्न ठाउँ, भैरहवा, पाल्पा, गुल्मी लगायत विभिन्न जिल्लामा प्रदर्शन शुरु भएको छ । बन्दका कारण बुटवल लगायत रुपन्देहीको जनजीवन प्रभावीत भएको छ । बन्दका कारण पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् । अर्कोतर्फ़ प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पास फेल जे भएपनि आगामी चैत/वैशाखमा स्थानीय निकायको चुनाव गर्ने प्रस्तव गर्नु भएको छ । प्रधानमन्त्री दाहालको आह्वानमा नोभेम्बर ३० का साँझ सिंहदरबारमा भएको चार दलको बैठक प्रधानमन्त्री यस्तो प्रस्ताव गर्नु भएको हो ।

सर्वोच्च अदालतमा नेपालको संविधान संशोधन गर्न बनेको विधेयक दर्ता भएको र सो विधेयक नेपालको संविधानको भावना प्रतिकूल हुनेगरी आएकाले तत्काल रोक्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । अधिवक्ता टीकाध्वज खड्काले प्रधानमन्त्री, नेपाल सरकार, व्यवस्थापिका–संसद् लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा संविधानमा प्रदेशको सीमाङ्कनसम्बन्धी विषयमा सुझाव दिन नेपाल सरकारले एक सङ्घीय आयोग गठन गर्नसक्ने र आयोगको सुझावअनुसार विवादको समाधान गर्नुपर्ने उल्लेख छ । “सरकारले संविधानको प्रतिकूल हुने, सङ्घीयताको मेरुदण्डका रुपमा रहेको प्रदेशका जनता र व्यवस्थापिकालाई संविधानले दिएको अधिकार खोसेर सीमा हेरफेर गर्नेगरी संविधान संशोधन गर्न लागेकाले त्यसलाई तत्काल रोक्न माग गर्दछु”– रिट निवेदनमा उल्लेख छ । असंवैधानिक तरिकाले संविधान संशोधन हुनसक्ने भएकाले रिटमा मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म संशोधनको प्रक्रिया तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिक आदेशको माग रिट निवेदनमा गरिएको छ ।

संविधान संशोधनका लागि संसदमा हाल ५ सय ९४ को दुईतिहाई अर्थात् ३ सय ९६ सांसदको आवश्यकता पर्छ । सत्तारूढ दलहरू संविधान संशोधनका लागि आवश्यक दुईतिहाई पुग्ने दाबी गरिरहेका छन् भने संविधान संशोधनको विरोध गरिरहेकाहरू संशोधन प्रस्ताव फेल हुने दाबी गरिरहेका छन् । सद्भावनाका सञ्जय साह निलम्बनमा रहेका कारण संसदमा५ सय ९३ जनाले मात्र मतदान गर्न सक्ने अवस्था छ I

संसदमा दर्ता संविधान संशोधन प्रस्ताव विफल भएमा सरकार निर्वाचनको तयारीमा जाने रणनीतिमा देखिएको छ। संसदबाट विधेयक पारित भएपनि वा नभएपनि स्थानीय निकायको निर्वाचन गराउने प्रस्ताव ल्याउने सरकारले तयारी गरेको देखिन्छ । सरकारले चुनावमा जाने वातावरण बनाउना साथ प्रमुख दलहरु आन्दोलन छाडेर निर्वाचन कार्यक्रममा केन्द्रित हुन्छन् भन्ने यसको सोच हो । संसद अवरुद्ध बनाइराख्दा निर्वाचन सम्बन्धी विधेयक पास हुने छैन। त्यसैले निर्वाचनको उध्येश्यले भएपनि एमाले सहमतिमा आउँछ भन्ने तथ्यमा उसले भर गरेको छ । तर अशान्तिमा निर्वाचन सहज देखिएको छैन ।

उपरोक्त परिस्थितिमा सरकारको संविधान संशोधनको प्रस्ताव किन ल्याइयो, यो संशोधन कसको लागि हो, कसलाई खुशी पार्न संशोधन गरिँदैछ ? भन्ने प्रस्नहरु उठ्दै छन I कम्तिमा पनि आन्दोलनरत समुहहरुको समर्थन विना यो विधेयकलाई अघि बढाउनुको कारण प्रस्ट थिएन । आवश्यक तयारी विना नै संशोधन प्रस्ताव आएकोमा यसले राजनीतिमा नया जोखिमहरू थप्ने आशंका बढेको छ I

 प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेकपा (माओवादी केन्द्र)का अध्यक्षका रुपमा प्रधानमन्त्री बनाउन सघाएका मधेस केन्द्रीत दलले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्न दिएको १५ दिने अल्टिमेटम सोमबार, मंसिर १३ गते सकिँदैछ। यसैबीच सरकारले चार विषयवस्तुमा संविधान संशोधन गर्न लागेको र त्यसबारे मोर्चाका नेताहरूको धारणा मागेको छ। यी बिषयहरुमा कतै केहि प्रस्ट देखिदैन । संशोधन माग्नेले के मागेको छ ? संशोधन गरिदिनेले के गरिदिन नसकेको हो भन्ने बारेमा कसैले “प्रेस रिलिज” गरेको देखिदैन । तर संशोधनको कुरा बलियो संग उठेको देखिन्छ ।

मिडियामा आए अनुसार सरकारले वर्तमान प्रदेश नम्बर ५ बाट पाँच पहाडी जिल्ला टुक्र्याउने गरी संविधान संशोधन तयारी अघि बढाएको भनिदैछ । यस अनुसार संविधान संशोधनका लागि ५ नम्बर प्रदेशका गुल्मी, अर्घाखाँची र पाल्पा प्रदेश नम्बर ४ तथा प्युठान र रोल्पा प्रदेश नम्बर ६ मा गाभ्ने प्रस्तावमा सहमति भएको छ। प्रदेश नम्बर ५ मा नवलपरासीदेखि बर्दियासम्मको तराई क्षेत्र रहने छ । साबिकको ५ नम्बर प्रदेशबाट टुक्र्याइने जिल्लालाई अन्य दुई प्रदेशमा गाभ्ने या अर्को प्रदेश थप गर्ने भन्नेबारे भने अझै निर्णय नभएको स्थिति छ भनिदैछ । यसबाट सकेसम्म लमतन्न मधेस बनाउन मद्दत पुग्ने मानिन्छ । छुट्याइएका पहाडी जिल्लाहरुका प्रतिक्रियाहरु देखापर्दै छन् । यसको औचित्यका बारेमा पनि टिप्पणी भैरहेको छ ।

संशोधनका सन्दर्भमा प्रदेश नम्बर ५ को पहाडी जिल्ला टुक्र्याएर ४ र ६ नम्बर प्रदेशमा गाभ्ने –चार नम्बर प्रदेशमा गुल्मी, अर्घाखाँची र पाल्पा तथा ६ नम्बर प्रदेशमा प्युठान र रोल्पा गाभिने प्रस्ताव हो । यदि माथिल्लो प्रस्ताव कायान्वयन हुने हो भने यो प्रस्ताव ‘फल आउट’ को रुपमा आवश्यक हुन जान्छ । तर यसबाट सम्वन्धित प्रदेशको जनसंख्या र सामर्थ्यको पुरानो स्थितिमा परिवर्तन आउने छ । सरकारले झापा, मोरङ, सुनसरी तथा कैलाली, कञ्चनपुर लगायत विवादित जिल्लाको सीमांकन टुंग्याउन आयोग गठन गरिने उल्लेख गरेको भनिन्छ । यो पुरानै कुरा हो । तर भाषा आयोगले मान्यता दिने भाषालाई सरकारी भाषा कामकाजी बनाइने भनिएकाले यो कुन रुपमा वर्तमान संवैधानिक व्यवस्था भन्दा फरक छ, बुझ्न सकिदैन । राष्ट्रिय सभामा हरेक प्रदेशबाट न्यूनतम तीन जना र बाँकी जनसंख्याका आधारमा प्रतिनिधित्व गराइने भनिदै छ I

भइरहेका बार्ताहरुमा प्रदेश नम्बर ५ को सीमांकन हेरफेर सहित पूर्वका झापा, मोरङ र सुनसरी तथा पश्चिमका कैलाली र कञ्चनपुरको विवाद टुंग्याउन आयोग गठन गर्नेगरी संविधान संशोधनमा प्रयास भइरहेको छ । त्यस्तै लामो समयदेखि भाषाको विवाद यस अघि गठन भइसकेको भाषा आयोगले टुंग्याउने र नागरिकताको विवाद अन्तरिम संविधानमा गरिएको व्यवस्था अनुसार हुनेगरी सत्तागठबन्धनले संशोधन प्रस्ताव तयार पारेको भनिदै छ I

अन्तरिम संविधानमा वैवाहिक अंगीकृत नागरिकलाई नेपालमा बसोबास गरेको १० वर्ष पुगेपछि जुनसुकै पदका लागि उम्मेदवार हुन र नियुक्त हुन पाउने व्यवस्था थियो। मुख्यतः अन्तरिम संविधान अन्तर्गत दुइटा नयाँ प्रावधान ल्याईएका थिए: पहिलो प्रावधानले यस संविधान बमोजिम नियुक्तहुने संवैधानिक पदहरुमा बम्शज वा जन्मका नाताले नेपालको नागरिक भएको व्यक्तिलाइ योग्य बनाएको थियो। अर्थात् नियुक्तहुने संवैधानिक पदहरुमा बम्शजका आधारमा भएको नेपाली नागरिक र जन्मका नाताले भएको नेपाली नागरिकको दाबीलाई समान हैसियतमा राखिएको थियो I यो प्रावधानको पछाडी अर्को प्रावधानले काम गर्थ्यो । त्यो प्रावधान भनेको २०४६ साल चैत्र मसान्त सम्म नेपाल सरहद भित्र जन्म भै नेपालमा स्थायी रुपले बसोबास गर्दै आएको व्यक्तिले प्रचलित कानून बमोजिम जन्मको आधारमा नागरिकता पाउने प्रावधान थियो । यो प्रावधान अन्तर्गत हुनु नहुनु भै सकेको छ । अन्तरिम संविधान अन्तर्गत ल्याईएका दोश्रो प्रावधान अनुसार अंगिकृत नागरिकता प्राप्त गरि कम्तिमा दस वर्षा नेपालमा बसोबास गरेको व्यक्तिलाइ पनि यस संविधान बमोजिम नियुक्तहुने संवैधानिक पदहरुमामात्र नियुक्तिका लागि योग्य बनाईएको थियो ।

नयाँ संविधानले भने वैवाहिक अंगीकृत नागरिकलाई राज्यका मुख्यमुख्य पदमा बन्देज लगाएको छ। वैवाहिक अंगिृकत नागरिकताको प्रावधान सम्बन्धमा नेपालीसँग विवाह गरेर आउने कुनै विदेशी महिलाले विवाह गरेको र अन्य देशको नागरिकता त्यागेको जानकारी दिएमा नागरिकता पाउने व्यवस्था संविधानमा छ। यो प्रावधान अन्तरिम संविधानकै हुबहु छ। फरक त्यसमा “प्रचलित कानुन” भनिएको थियो नयाँ संविधानमा भने “संघीय कानुन” बमोजिम भनिएको छ। प्रादेशिक वा स्थानीय कानून अन्तर्गत नागरिकती दिन सकिन्छा भन्ने दुविधा नहोस् भनेर “संघीय कानुन बमोजिम” भन्ने शब्द राखिएको हो।

आदिवासी जनजाति समुदायहरुलाई उपरोक्त कुनैपनि प्रावधानले कसरी फाइदा पुग्दछ स्पस्ट देखिदैन । प्रस्तावित स्थिति भन्दा यथास्थितिनै उनीहरुको पक्षमा भएको देखिन्छ । तथापी आदिवासी जनजाति पक्षधर नेताहरू १० प्रदेशको मागमा अडिग छन् भनिदै छ । सात प्रदेशले समस्याको निकास नदिने उनीहरुको भनाइ छ । त्यसैले कोहि सात प्रदेशमा सहमति जनाउने पक्षमा छैनन् । दस प्रदेस भनेको जातिय प्रदेशको अवधारणा हो भन्ने पनि छन् ।

प्रधानमन्त्रिको दौडधुप जतिसुकै बढेपनि मधेस केन्द्रीत पार्टीका नेताले प्रस्तावित भनिएको संशोधनमा सहमति दिएको देखिदैन । कसैले पनि यो ठीक छ, हामी सहमत छौं, हामी समर्थन गर्छौं, यति भएपछि हामी आन्दोलन फिर्ता लिएर संविधान कार्यन्वयनको प्रक्रियामा जान्छौ अनि चुनावमा जान्छौं भन्न सकेका छैनन् । त्यसमा पनि संघीय समाजवादी फोरम नेपालले स्पष्ट रुपमा संसोधनको अहिलेको प्रस्तावले समस्या समाधान गर्दैन भनेको छ । अरुले पुरानो २६ बुंदे मागपत्रलाई सम्बोधन हुने गरी संसोधन दर्ता गरौँ भन्दछन । दर्ता गरेपछि हामी हेर्छौं र समर्थन गर्ने कि विरोध गर्ने भनेर निर्णय गर्छौं भन्ने सोचाई देखिन्छ । मधेसवादी दलसँग तीन बुँदे सम्झौता गर्दा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भन्ने सहमति भएको तर के कुरामा संशोधन गर्ने भन्ने सम्झौता नभएको अहिलेको परिस्थिति हो । प्रधानमन्त्रीकै प्रस्ताब पनि लिखित रुपमा आएको छैन ।

संशोधनको प्रक्रियामा सकारात्मक रुपमा सहभागी भएर संविधान कार्यन्वयन र चुनावमा सहभागी बन्छौं भन्ने कटिबद्धता मधेस केन्द्रीत दलहरुबाट नआएकोले किन संशोधन प्रस्ताव दर्ता गर्ने? भन्ने प्रश्न उपस्थित भएको छ । यस विषयमा संयुक्त सरकारका घटकहरुको राय बाझेको देखिन्छ । अहिलेका विवादहरुले मुलतः निर्वाचन हुन र मुलुकलाई नयाँ संवैधानिक प्रणालीमा प्रवेश गर्न रोकी दिएको छ ।

 काठमाडौं : संविधानसभाबाट सात प्रदेशसहितको ‘नेपालको संविधान’ जारी भई कार्यान्वयनमा गइसकेको अवस्थामा प्रदेश संख्याको विवाद बल्झिन थालेको छ । यो विवादले संविधान संशोधनको विषयलाई थप जटिल बनाउने देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसमक्ष संविधान संशोधनका विषय पेस गरेपछि यो चाँडै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको थियो ।

तर, मधेसी मोर्चासहितको संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारले तयार पारेको भनिएको संशोधन प्रस्ताव स्वीकार्य नहुने मात्र बताएनन् कि सात प्रदेशको व्यवस्थाले समस्या समाधान हुन नसक्ने जिकिर गरे ।

“सात प्रदेशको व्यवस्थाले समस्या हल हुँदैन, त्यसैले पहिलाको राज्य पुनःसंरचना आयोगले अगाडि सारेझैं १० प्लसको अवधारणामा जानुपर्छ,” संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवले भने ।

उनले आयोगको प्रतिवेदन, मधेसी मोर्चासँग भएको सम्झौता र अन्तरिम संविधानमा उल्लेख भएबमोजिम तराई–मधेस–थरुहट यसमै रहने गरी पुनःसंरचना हुनुपर्ने अडान दोहो¥याए ।

उनले पाँचवटा विवादित जिल्लाहरूको समस्या हल गर्न आयोगलाई जिम्मा लगाउने काम पनि मान्य नहुने बताए । राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, “आयोगलाई जिम्मा लगाउने चाल पुरानै हो, यसले समस्याको समाधान हुन सक्दैन ।”

विवादित जिल्लाहरूको माथिल्लो भागलाई माथि नै र तल्लो भागलाई तल नै राख्नुपर्ने उनको भनाइ थियो । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का नेता पनि समस्या समाधानका लागि भन्दै एउटा प्रदेश थप्नुपर्ने पक्षमा देखिन थालेका छन् ।

बिहीबार मात्र प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीसहितको शीर्ष बैठकमा प्रदेश सीमांकन, राष्ट्रिय सभाको गठन, नागरिकता, भाषा आयोगलगायत विषयमा बँुदागत छलफल गरी साझा प्रस्ताव तयार पानुपर्ने बताएका थिए ।

गठबन्धनले भने प्रधानमन्त्रीले अगाडि सारेका चारै बुँदामा असहमति जनाएको छ । “सरकारले चार बुँदे संशोधन प्रस्ताव तयार गरेको हल्ला बाहिर आएको छ, यदि यो कुरा साँचो हो भने हामी त्यसलाई कुनै हालतमा मान्दैनौं,” यादवले भने ।

उनले चार विषयमा मात्र हुने संशोधनले गठबन्धनका माग समाधान नहुने बताए । एकलौटी ढंगले संशोधन प्रस्ताव दर्ता भए त्यसले समस्याको समाधान नदिने उनको भनाइ थियो ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने सरकारले छलफल गरिरहको उल्लेख गर्दै अहिले नै कुनै निष्कर्षमा पुगिनसकिएको प्रतिक्रिया दिएका छन् । समस्या समाधानका लागि आन्दोलनरत पक्षसहित सबै दलको साझा प्रतिबद्धता आवश्यक रहेको मन्त्री महत बताउँछन् ।

“एउटाको माग पूरा गर्दा अर्को आन्दोलन निम्त्याउनु हुँदैन । जनताको भावनासँग जोडिएको विषयको सम्बोधन हुनुपर्छ,” कांग्रेस नेतासमेत रहेका मन्त्री महतले कारोबारसँग भने, “अहिले छलफलकै चरणमा छौं । आन्दोलनरत पक्षसँग पनि छलफल गरेर समाधान खोज्नुपर्छ ।”

संविधान संशोधनको छलफल अगाडि बढिरहँदा नयाँ–नयाँ विषय ल्याउन नहुने उनको भनाइ छ ।

 संविधान संशोधनको विषयमा छलफल गर्दा एक पक्षलाई मात्र हेरेर पुग्दैन। नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सीमाना गत ७० वर्षदेखि खुला छ।

भारतीय नागरिकले नेपालमा वर्क परमिट विना काम गर्दै आएका छन्। नेपालीहरू काम खोज्दै आर्थिक शरणार्थीका रूपमा विदेश गइरहँदा हाम्रो श्रमबजार भारतीयहरूको कब्जामा छ। यहाँ केही वर्ष काम गरेका आप्रवासीहरूले नागरिकता पाउने गरेका छन्। यसका लागि पटक–पटक संविधान र ऐन परिवर्तन गरिएको छ। यसबाट नेपालको जनसंख्याको बनोटमै परिवर्तन भएको छ। व्यापारिक क्षेत्रमा भारतीयले कब्जा जमाइसकेका छन्। खुला सीमाना बन्द गर्ने प्रस्ताव आउन छाडेको छ। नयाँ संविधानमा भएका भारतीय चाहना विपरीतका प्रावधानहरू सच्याउन दबाब दिने उद्देश्यले गत वर्ष नाकाबन्दी भएको सर्वविदितै छ।

सीमांकन, नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व जस्ता विषयमा संशोधन गर्दा यी प्रसंगहरूलाई बिर्सन मिल्दैन। संविधानको धारा २८९ ले उच्च १० पदमा निर्वाचित, मनोनीत वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको छ । अन्य संवैधानिक निकायको पदमा यस संविधान बमोजिम नियुक्तिको लागि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति, नेपालको अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्ति वा जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति समेत योग्य हुन्छ। तर नेपालको अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा कम्तीमा दश वर्ष, जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति र धारा ११ को उपधारा (६) बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा कम्तीमा पाँच वर्ष नेपालमा बसोबास गरेको हुनुपर्छ।

तर, संशोधनको विषयमा जुन प्रस्ताव आएको छ, त्यसमा वंशज नागरिकलाई राजनीतिक र संवैधानिक रूपमा अझ कमजोर बनाउने षड्यन्त्र छ।

दुवै संविधानसभाको अध्यक्षता गरेका सुवास नेम्वाङ त्यसबेला उनीहरूले ‘अन्तरिम संविधान जारी भएपछि वागमतीमा धेरै पानी बगिसक्यो, यस्तो यथास्थितिवादी कुरा नगरौं’ भनेको सम्झ्न्छन्। अहिले मधेशी मोर्चाले पनि त्यही अन्तरिम संविधानलाई सम्झेर नागरिकता सम्बन्धी विवाद निकालेको छ। अंगीकृत नागरिक पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुख हुन पाउने संवैधानिक ग्यारेन्टी गर्नुपर्ने मोर्चाको माग छ। जबकि, नागरिकता सम्बन्धी अहिलेको संवैधानिक व्यवस्थाकै आलोचना भइरहेको छ। संविधानविद् डा. विपिन अधिकारी भन्छन्, “अंगीकृतलाई पनि सबै पदमा जान दिने हो भने त वंशजका आधारमा नेपाली रहेका नागरिकहरू राजनीतिक–संवैधानिक रूपमा झ्न् कमजोर हुन्छन्।”

नेपाल सयौं गुणा बढी जनसंख्या भएका दुई ठूला देशको बीचमा रहेको, खुल्ला सीमाना भएको, एउटा छिमेकका नागरिकलाई यहाँ ‘वर्क परमिट’ नचाहिने जस्ता कारणले पनि नेपाली नागरिकता सम्बन्धी प्रावधान ‘विशेष’ हुनुपर्ने जानकारहरू बताउँछन्। वागमतीमा बगेको पानी फर्काउने प्रयास अब हुनु नहुने उनीहरूको भनाइ छ। संविधानविद्हरू यो पनि बताइरहेका छन् कि जननिर्वाचित निकायले बनाएको संविधानलाई विगतका सम्झौता वा अन्य बहानामा पटक–पटक चलाउँदा देशको मूल कानून स्थिरता र समृद्धिको वाहक बन्न सक्तैन।

“अन्य दस्तावेजलाई संविधानभन्दा माथि राखेर व्यवहार गर्नु संविधानवादको सिद्धान्त विपरीत हो”, डा. अधिकारी भन्छन्, “नयाँ संविधानको मापदण्डभन्दा पनि पुराना सम्झौताका आधारमा कामकारबाही हुँदोरहेछ भन्ने सन्देश फैलाउनु हुँदैन

 विधान संशोधनबारे सोमबार प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेर मंगलबार संशोधन विधेयक दर्ता गराउने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सीमांकनका लागि तीन बिकल्प दिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

विकल्प- १.

संघीय आयोगमार्फत पाँच जिल्लाको विवाद टुंग्याउने सीमांकनमा सबैभन्दा विवाद झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको छ । यी जिल्लामा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसम्मको ‘इन्ट्रेस्ट’ जोडिएको छ । देउवा कैलाली–कञ्चनपुर र ओली झापा–मोरङ–सुनसरी नटुक्र्याउने पक्षमा उभिएका कारण विवाद मिलाउन कठिन भएको छ । प्रधानमन्त्री प्रचण्डले यी पाँच जिल्लाको विवाद मिलाउन संघीय आयोग गठनको प्रस्ताव गरेका छन् । संविधान संशोधनका क्रममा संघीय आयोग पाँच वर्षका लागि गठन गर्ने र आयोगले दिएको सुझाबका आधारमा ती जिल्लाबारे निर्णय गर्ने विकल्प प्रचण्डले अघि सारेका छन् ।

विकल्प – २.

५ र ६ नम्बर प्रदेश टुक्र्याएर आठौँ प्रदेश बनाउने प्रधानमन्त्री प्रचण्डले विवाद मिल्नै नसकेको अवस्थामा ५ र ६ नम्बर प्रदेशका केही जिल्लालाई समेटेर आठौँ प्रदेश बनाउन सकिने प्रस्ताव पनि प्रमुख दलहरूको बैठकमा गरेका छन् । माओवादी नेता वर्षमान पुन अनन्तका अनुसार ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरू पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान र ६ नम्बरका रुकुम, दैलेख, सल्यानलगायतका ‘क्लस्टर’ मिल्ने जिल्ला समेटेर आठौँ प्रदेश बनाउन सकिने प्रचण्डको प्रस्ताव छ ।

विकल्प-३.

एउटा प्रदेशका जिल्ला अर्को प्रदेशमा गाभ्ने पाल्पा, अर्घाखाँची र गुल्मीलाई ५ नम्बर प्रदेशबाट छुट्याएर विवाद मिलाउने विषयमा प्रधानमन्त्रीले छलफल थालेका छन् । यी जिल्लालाई ४ नम्बर प्रदेशमा मिलाएर सीमांकन विवाद मिलाउन सकिने अवस्थामा लचक भएर जाने विकल्प पनि उनले अघि सारेका छन् । तर, त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरू लुम्बिनीलाई टुक्र्याउन नदिने अडानमा छन् ।

 मंसिर ४, २०७३- सरकारले संघीय गठबन्धनमा आबद्ध मधेसी मोर्चासँग सहमति नजुटे पनि मंसिर ८ गतेभित्रै संविधान संशोधनको विधेयक संसद्मा दर्ता गराउने भएको छ । प्रमुख तीन दल र मधेसी मोर्चासँग मंसिर ६ र ७ गते समझदारीका लागि अन्तिम प्रयास गरिने भए पनि सहमति जुट्ने सम्भावना कम भएको भन्दै सरकारले संशोधनको विधेयक ल्याउने तयारी थालेको स्रोतले जनाएको छ ।

‘मोर्चा र सरकारबीच संशोधनको अन्तरवस्तुमा सहमति नभए पनि तत्काल विधेयक दर्ता गर्ने विषयमा अनौपचारिक समझदारी नै छ,’ माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, ‘विधेयक दर्ता गराएपछि चित्त नबुझेको विषय संसद्मा संशोधन आउँछ । त्यसपछि सुरु हुने छलफलले नै प्रमुख प्रतिपक्षी एमालेसहित मोर्चासँग सहमति निर्माण गर्न बाटो खुल्छ ।’

पुनले सत्तारूढ कांग्रेस र माओवादी केन्द्र संविधान कार्यान्वयनको विषयमा एमाले, संविधान संशोधन गर्ने र निर्वाचनमा जाने विषयमा मधेसी मोर्चा निकट रहेकाले राजनीतिक निकास निस्कने दाबी गरे । ‘राष्ट्रिय सहमतिकै आधारमा संविधान संशोधन गरेर सर्वस्वीकार्यता बढाउने र निर्वाचनमा जाने कुरामा अब विलम्ब हुँदैन,’ उनले कान्तिपुरसँग भने, ‘संविधान संशोधन विधेयकले राष्ट्रिय सहमतिको ढोका खुल्ने विश्वास लिएका छौं ।’ पुनले मंसिर ८ मा संशोधन विधेयक दर्ता गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।

कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले पनि मंसिरको ७ वा ८ गतेभित्रै संविधान संशोधनको विधेयक दर्ता हुने बताए । ‘मोर्चाका नेताहरूसँग तत्काल सहमति नभए पनि संशोधन विधेयक दर्ता हुन्छ,’ उनले भने, ‘दर्ता भएपछि नै गम्भीर छलफल अघि बढ्छ र त्यसले सहमतिको वातवरण निर्माण गर्न सघाउँछ ।’

संविधान संशोधन गरिनुपर्ने मुख्य विषय प्रदेशहरूको सीमांकन, नागरिकता, राष्ट्रिय सभाको गठन र भाषालगायत विषयमा कांग्रेस र माओवादी केन्द्रबीच साझा धारणा बने पनि मोर्चाका नेताहरूले सहमति जनाएका छैनन् ।

सरकार र मधेसी मोर्चाका नेताहरूबीच भएका औपचारिक/अनौपचारिक छलफलमा प्रदेशहरूको सीमांकनको विषय नै पेचिलो बन्दै आएको छ । निधिले बाहिर आएजस्तो अंगीकृत नागरिकता पाएका व्यक्तिलाई राज्यसत्ताका प्रमुख पदमा पुर्‍याउने र हिन्दी भाषालाई राष्ट्रिय भाषा मान्नेगरी संशोधन ल्याउन लागेको भन्ने विषय सत्य नभएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार प्रमुख तीन दलको बैठकमा सहमतिका लागि ८ प्रदेशको विकल्प प्रस्तुत गरे पनि सरकारले ७ प्रदेशमै रहेर संशोधन विधेयक अघि बढाउने भएको छ ।

मधेसी मोर्चाको माग सम्बोधन गर्न प्रदेश नम्बर ५ का पहाडी जिल्ला र भागलाई छुट्टयाएर नवलपरासीदेखि बर्दियासम्मलाई मधेस प्रदेश बनाउने गरी संशोधन विधेयक ल्याइने भएको छ । प्रदेश नम्बर ५ अन्तर्गत रहेका पाल्पा, अर्घाखाँची, गुल्मी प्रदेश नं. ४ मा र रुकुमको पूर्व भाग, रोल्पा, प्यूठानलाई प्रदेश नम्बर ६ मा गाभिने गरी संशोधन ल्याइनेछ । तर, माओवादी केन्द्रका नेता पुनले भने ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बर प्रदेशमा मात्रै राख्ने गरी संशोधन आउने दाबी गरे ।

नागरिकताको विषयमा सरकारले तीनवटा विकल्पमध्ये कुनमा जाने भन्नेबारे निर्णय गरेको छैन । ती विकल्पमध्ये अंगीकृत नागरिकता लिएका व्यक्ति राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, प्रधानसेनापतिबाहेक अन्य पदाधिकारीका लागि योग्य हुने, अन्तरिम संविधानको व्यवस्था नै राख्ने या वैवाहिक अंगीकृत नागरिकतालाई सहज बनाउनेबाहेक हालकै संविधानको प्रवाधानलाई स्वीकार गरेर अघि बढ्ने छन् । ‘वैवाहिक अंगीकृत महिलाको हकमा अन्तरिम संविधानमा भएको व्यवस्थाअनुसार राख्नेबाहेक अन्य व्यवस्था थपिने छैन,’ पुनले भने ।

राष्ट्रिय सभा गठनमा मधेसी मोर्चाले उठाएको मागमा समावेशी कोटाबाहेकमा जनसंख्याका आधारमा प्रतिनिधित्व गर्ने व्यवस्था राखिने भएको छ । राष्ट्रिय सभामा ‘प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एकजना अपांगता भएका व्यक्तिसहित ८ जना निर्वाचित हुने’ व्यवस्था छ । समावेशी प्रतिनिधित्वबाट आउने ५ बाहेक ३ जनामा जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था राखिने गरी संशोधन ल्याइने भएको छ ।

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संविधान संशोधनको अन्तरवस्तुमा सहमति जुटिनसकेको बताए ।

‘कांग्रेस, माओवादी केन्द्र र हाम्रोबीचमा सहमति निर्माण गरेर विधेयक लान सके हामीलाई स्वामित्व लिएर अघि बढ्न सहज हुन्छ । त्यसपछि संसद्मा विधेयक पास र फेलको जस अपजस हामी नै लिन्छौं भन्दै आएका छौं,’ यादवले भने, ‘कुराकानी र छलफल धेरै भएका छन् । तर, ठोस छलफल र समझदारी निर्माण गर्ने दिशामा वार्ता अघि बढेको छैन ।’

 मंसिर ३, २०७३- रामेछाप दोरम्बा गाविसका दुई दर्जन नागरिक बिहीबार अपराह्न स्थानीय तह पुन:संरचना आयोगका पदाधिकारीसमक्ष आयोगले कार्यविधि मिचेर काम गरिरहेको गुनासो चर्को स्वरमा पोखिरहेका थिए । सर्वदलीय भनिएको उनीहरूको टोलीको भनाइ थियो, ‘सदरमुकाममा २/४ जना बसेर गरेको पुन:संरचनाको सिफारिस मान्दैनौं ।’

ठीक त्यही बेला संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आयोगका पदाधिकारीलाई प्रतिवेदन कहिलेसम्म तयार हुँदै छ ? भन्ने जिज्ञासासहित ‘मन्त्रीज्यूले शुक्रबार १० बजे कामको प्रगति बुझ्न बैठक डाक्नुभएको छ,’ भन्ने सूचना आएको थियो ।

यी दुई दृष्टान्तले स्थानीय पुन:संरचना आयोग समयको दबाबमा काम गरिरहेको छ भन्ने देखाउँछन् । एकथरीले पुन:संरचनाको कार्यशर्त विपरीत छलफल नगरेको गुनासो गरिरहेका छन् भने अर्कोपट्टि सरकारले छिटो काम सक्न आयोगलाई निरन्तर घचघच्याइरहेको छ । ‘समय अभावका कारण हामी दोहोरो दबाबमा छौं,’ आयोग सदस्य नीरज शाहले भने, ‘राज्यको पुन:संरचना जस्तो विषय केही साताभित्रै गरेर बुझाऊ भन्ने कुराले समस्या आएको छ ।’ उनले २०१९ मा राजा महेन्द्रले स्थानीय निकायको पुन:संरचना गरेको जस्तो अहिलेको अवस्था नरहेको बताए ।

सामाजिक, राजनीतिक र शैक्षिक वातावरण फेरिएकाले पुन:संरचनामा जनचासो अत्यधिक देखिएको उनले बताए । आयोगमा दिनदिनै उजुरी, गुनासो र प्रतिनिधिमण्डल आइरहेका छन् । जिल्ला जिल्लामा असहमति, विरोध, प्रदर्शन र झडपसमेत भइरहेको सूचना आयोगमा छ । तर, समय अभावका कारण आयोग ती जनचासोलाई सम्बोधन गर्न सक्ने अवस्थामा छैन । संविधानमा भएको व्यवस्थाअनुसार एक वर्षको म्याद पाएर २०७२ चैत १ मा आयोग गठन भएको हो । ‘पुन:संरचना आफैंमा जटिल विषय हो । त्यसमा धेरै समय लागेको विश्वव्यापी अनुभव छ,’ शाहले भने, ‘अन्य देशमा घटीमा ३ देखि ४ वर्ष लगाएर पुन:संरचनाको काम गरिएको छ । तर, हामीले संविधानले दिएको एक वर्षको अवधि पनि प्रयोग गर्न पाएका छैनौं ।’

गठन भएको सुरुवाती दिनमा २०७३ फागुनमा आफ्नो प्रतिवेदन बुझाउने गरी कार्यसूची तय गरेको आयोग सरकारले छिटो प्रतिवेदन बुझाउन भनेपछि पछिल्लो समय धेरै दवाबमा छ । आफैंले बनाएको कार्यविधि पालना गर्न सक्ने अवस्थामा छैन । सरकारले कात्तिक मसान्तभित्र प्रतिवेदन बुझाउन भनेकोमा त्यो समयसीमा गुज्रिसक्दासम्म एउटा जिल्लाको पनि पुन:संरचनाको अन्तिम रूप आयोगले तयार पार्न सकेको छैन । हतारमा काम गर्नुपरेकाले पुन:संरचनाको काममा आयोगका पदाधिकारी नै सन्तुष्ट छैनन् । ‘व्यावसायिक रूपमा हेर्ने हो भने त हामीसँग एकदमै अन्याय नै भइरहेको छ । आफ्नो क्षमता प्रयोग गर्ने अवस्था नै छैन,’ आयोगका एक पदाधिकारी भन्छन्, ‘हतारोका कारण जिल्लाबाट जस्तो प्रतिवेदन आएको छ । त्यस्तै जाने सम्भावना बढी छ ।’

बिहीबारसम्म ६२ वटा जिल्लाले आयोगमा प्रतिवेदन पठाएका छन् । आयोगले तोकेको स्थानीय तहको संख्याभित्रै रहेर अधिकांशले प्रतिवेदन पठाएका छन् । तर, संख्याबाहेक गाउँपालिका/नगरपालिकामा हुनुपर्ने जनसंख्या, भूगोलको अवस्था, केन्द्र छनोट, वडा निर्धारणमा धेरैजसोले मापदण्ड पूरा गरेका छैनन् । पहाडमा गाउँपालिकालाई न्यूनतम २२ हजार जनसंख्या तोकिएकोमा ७ हजार जनसंख्याको गाउँपालिकासमेत सिफारिस भएर आएका छन् । मंसिर १५ मा प्रतिवेदन बुझाउने तयारी गरेको आयोगसमक्ष त्यस्ता धेरै त्रुटिलाई सम्बोधन गर्ने समय नै छैन । प्रदेश नम्बर २ मा रहेका ८ जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा मधेसवादी दलको विरोधका कारण पुन: संरचनाको कामले गति लिएको छैन । त्यसबाहेक रुकुम, पर्वत, नवलपरासी, रूपन्देही र मनाङले आफ्नो प्रतिवेदन पठाउन बाँकी छ ।

आयोगका अर्का सदस्य डोरमणि पौडेलले भने, ‘छोटो समयमा गर्न भन्नु नै जस्तो जे आएको छ त्यही पठाऊ भन्नु हो ।’ धेरै कम समयावधिका बीच अप्ठ्यारो स्थितिबाट काम गर्नुपर्ने अवस्था रहेको आयोग अध्यक्ष बालानन्द पौडेलले बताए । ‘संविधानले दिएको समयसीमा भन्दा छिटो हुन्न भनेर भन्न सक्थ्यौं । तर, निश्चित अवधिभित्र तीन तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता हामीले बुझ्यौं,’ उनले भने, ‘सरकारले स्थानीय चुनाव गर्ने भनेपछि त्यसलाई समस्या नहोस् भनेर हामी पनि हतारिएका हौं । समयको बलियो पावन्दीका बीच अधिकतम राम्रो गर्ने प्रयास गरिरहेका छौं ।’

 मंसिर ३, २०७३- तीन दल बैठक

१. प्रदेशको सीमा फेरबदल

२. नागरिकता

३. राष्ट्रिय सभामा प्रतिनिधित्व

४. भाषासम्बन्धी विषय

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी जनजातिलगायतको माग सम्बोधन गरी निर्वाचनमा जान चारवटा विषयमा संविधान संशोधन गर्नुपर्ने औपचारिक प्रस्ताव राखेका छन् । तीन ठूला दल कांग्रेस, एमाले र माओवादी नेताहरूको बालुवाटारमा बसेको शीर्ष बैठकमा प्रधानमन्त्री दाहालले प्रदेशको सीमा फेरबदल, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र भाषासम्बन्धी विषयमा संशोधन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

ती विषय कसरी संशोधन गर्ने भन्ने स्पष्ट खाका प्रस्तुत नगरे पनि प्रधानमन्त्री दाहालले राजनीतिक सहमतिका आधारमै यी विषय टुंग्याउनुपर्ने प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग राखेका हुन् । प्रमुख विपक्षी दल एमालेले संविधान संशोधनका विषय र औचित्यबारे स्पष्ट धारणा राख्न सत्तापक्षलाई आग्रह गरेपछि दाहालले बिहीबारको बैठकमा यी चार विषय अघि सारेका हुन् । यी विषयमा सहमति कायम गरी संविधान संशोधन नभएसम्म निर्वाचनको ढोका नखुल्ने भन्दै दाहालले तीन दलबीचको एकता र सहकार्यको आवश्यकता रहेको बताए ।

‘प्रधानमन्त्रीले संविधानमा संशोधन गर्न खोजिएका विषयहरूलाई बैठकमा प्रवेश गराउनुभएको छ,’ माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, ‘प्रस्तुत विषयहरूमा छलफल गरी छिट्टै सहमतिमा पुग्ने प्रयास हुनेछ ।’ बैठकमा एमाले अध्यक्ष ओलीले दाहालद्वारा प्रस्तुत विषयहरूमा पार्टीको धारणा प्रस्तुत गरेनन् । तर उनले संविधान कार्यान्वयन र निर्वाचन अहिलेको प्राथमिकताको विषय भएकाले त्यसमा सहयोग हुनेगरी एमालेले भूमिका खेल्ने बताए । संविधान संशोधनमा झन् समस्या थपिने स्थिति आउन नहुने धारणा एमालेले दलीय बैठकहरूमा राख्दै आएको छ ।

‘अहिले जसरी सीमा फेर्ने, अंगीकृत नागरिकको दायरा बढाउने लगायतका कुराहरू बाहिर आएका छन्, यही ढंगको कुरा हो भने एमाले सहमत हुन सक्दैन,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘संविधान संशोधनको औचित्य र आवश्यकता के हो त्यो पुष्टि हुने आधार नै अहिलेसम्म भेटिएको छैन ।’ बालुवाटार बैठकपछि एक कार्यक्रममा सहभागी ओलीले सीमांकन हेरफेरको नाममा कित्ताकाट गर्ने कुरा आफूलाई मान्य नहुने टिप्पणी गरेका थिए । उनले औचित्यका आधारमा सीमांकन तथा संविधान संशोधन हुन सक्ने तर्क गर्दै आएका छन् ।

संघीय गठबन्धनमा आबद्ध मधेसी मोर्चालगायतका दलहरूले प्रादेशिक सीमांकन हेरफेरलाई मुख्य माग बनाएका छन् । उक्त माग सम्बोधन गर्न हालको ५ नम्बर प्रदेशमा रहेका पहाडी जिल्लाहरूलाई प्रदेश नम्बर ४ मा गाभ्ने मोडल अहिले बाहिर चर्चामा छ । कांग्रेस एमालले तत्कालीन संविधान सभामा छलफलका क्रममा यो मोडलसँग मिल्ने खालको प्रदेशको खाका प्रस्तुत गरेका थिए । दाहाल अहिले त्यही खाकामा सबैको सहमति बनाउन सकिन्छ कि भन्नेमा छन् । तर प्रदेश नम्बर पाँच टुक्रयाउने विषयमा कुनै हालतमा सहमति जनाउन नसक्ने निर्णय एमालेले हालै गरेको छ । प्रदेश टुक्रयाउने प्रसंगको चर्चा चलिरहेकै बेला एमाले स्थायी समितिमा रहेका प्रभावशाली नेताहरूसमेत रहेको प्रदेश नम्बर ५ को बैठकले कुनै हालतमा सीमा फेरबदल गर्न नदिने निर्णय गरेको हो । त्यसका लागि स्थानीय अन्य राजनीतिक दल र जनमत समेत तयार गर्न एमाले उपमहासचिव समेत रहेका प्रदेश नम्बर ५ का पार्टी प्रमुख विष्णु पौडेल त्यही क्षेत्रमा खटिइरहेका छन् ।

छलफलमा दाहालले विषय मात्र प्रवेश गराएकाले त्यसमा थप गम्भीरतासाथ छलफल गर्न सोमबार पुन: तीन शीर्ष नेताको बैठक बस्नेछ । गठबन्धन नेताहरूले सीमांकन हेरफेरलगायत संविधान संशोधन प्रस्ताव पेस गर्न प्रधानमन्त्रीलाई १५ दिनको अल्टिमेटम दिइसकेका छन् । उनीहरूले कांग्रेस सभापति देउवालाई समेत बुधबार भेटी माग सम्बोधन नगरी ठूला दल चुनाव तयारीमा लागेको आशंका व्यक्त गरेका थिए ।

 नवलपरासीमा १५ वटा स्थानीय तह बनाउन राजनीतिक दलबीच अघि सारिएको प्रस्तावमा दलबीच सहमति जुट्न सकेको छैन। स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति नवलपरासीका अनुसार जिल्लामा सात नगरपालिका र आठवटा गाउँपालिका बनाउने प्रस्ताव दलबीच अघि सारिएको थियो। सो प्रस्तावमा मधेसकेन्द्रित दलले असहमति जनाएका हुन्। बिहीबार भएको सर्वपक्षीय बैठकमा मधेस केन्द्रित दलले यसबारे पूर्ण असहमति जनाउँदै दलबीच सहमति जुट्न नसकेको नेपाली काँग्रेस नवलपरासीका सभापति विष्णु लामिछानेले जानकारी दिए।

जनसङ्ख्या र भूगोललाई समेत ध्यान दिएर र जनताले सहज सुविधा पाउने गरी १५ वटा स्थानीय तह बनाउने गरी प्रस्ताव ल्याइएको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले बताए।

यद्यपि नवलपरासीमा समितिले दलबीच यस्तो प्रस्ताव ल्याएपनि मधेसकेन्द्रीत दलको असहमतिका कारण दलबीच सहमति जुट्न सकेको छैन। अन्य दलले सो प्रस्तावलाई सहमति जनाइसकेका छन्।

भौगोलिक, प्रशासनिक सुगमता, स्रोतसाधनको उपलब्धता, जनसङ्ख्यालगायत आयोगले तोकेको मापदण्डको आधारमा १५ वटा स्थानीय तहको प्रस्ताव गरिएको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले जनाएको छ। नवलपरासीको जनसङ्ख्याअनुसार न्यूनतम ११ देखि १५ वटासम्म स्थानीय तह बनाउने सकिने अवस्था छ।