चीन – हिन्दुस्तान युद्धको विश्लेषण

“अहिले वृहत अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हिन्दुस्तानको कमजोर नीतिले गर्दा चीनको हमलाको कठिन मुकाबिला गर्नुपर्दा हिन्दुस्तानमो शिर कुनै उँचा हुनपुगेको छैन । हिन्दुस्तान पछि हट्तै छ । नेपालमा राजापक्ष हिन्दुस्तानको अहिलेको अप्ठयारो स्थितिमा मनमनै बडो खुसी होला ।”

“हिन्दुस्तानलाई एउटा ठूलो कुराको कमी छ, सुनिश्चित नीति जसलाई दृढतापूर्वक उसले कार्यान्वित गरोस् । हिन्दुस्तानले अपनाएको तटस्थताको नीति केवल यसको सरल पक्ष गर्दा हिन्दुस्तानले अपनाएको जस्तो छ । शीतयुद्धको वातावरणमा तटस्थताको नीति सजिलो नीति हुने. भएकोले हिन्दुस्तानलाई यसले आकर्षित गर्यो । मेरो भनाइको तात्पर्य यो हो कि तटस्थता एउटा सक्रिय (एक्टिभ) नीतिको परिणाम हुन सक्छ र यो पनि हुन सक्छ कि तटस्थताको नाउँमा पलायनवादी नीतिको अनुशरण होस् । भरखरै स्वतन्त्र भएका विभिन्न राष्ट्रहरुले तटस्थताको नीति अपनाएका छन्– धेरैले सक्रिय रुपमा होइन ।’

‘हिन्दूस्तान र चीनको लडाईको स्थितिमा त विशेष केही परिवर्तन आएको छैन; तर हिन्दुस्तानमा ठूलो मानसिक खलबली मचिएको जस्तो छ । नेहरु र उनका सल्लाहकार र सहयोगीहरुको विचारमा परिवर्तन आएको हुनुपर्छ । नेहरुले अस्ति भने कि हिन्दुस्तान अव्यावहारिक दुनियाँमा बसेको रहेछ र चीनको हमलाले एएटा स्वस्थकर धक्का दिएको छ जसबाट हिन्दुस्तानीहरु चेत्न थालेका छन् । पश्चिमी प्रजातान्त्रिक राष्ट्रहहरुको पूरा मद्दत पनि हिन्दुस्तानले पाउने भएको छ; रुसले चीनको समर्थनमा आफ्नो मन्तव्य प्रकाशित गरेको छ ।” [७/११/१९६२]

“चीन र हिन्दुस्तानको सीमाको लडाईँमा पनि एक किसिमको शिथिलता आएको छ । अखबार पढ्दा हिन्दुस्तानमा उत्तेजना र क्रोध भने धेरै छ जस्तो लाग्छ र सरकरप्रति पूर्ण आस्था पनि जनतामा प्रचुर छ । विशेष गरेर वर्तमान युद्धले गर्दा एकताको भावना पनि देशमा दृढतम भएको बुझिन्छ– तर सरकारमा भने अझै मानसिक विशृखंलता विद्यमान छ । मलाई लाग्छ– यसको कारण, एक त भारत सरकार उनीहरुले भनेकोजस्तै, अपर्झटमा परेर अर्को उनीहरु सामाजिक दृष्टिबाट प्रस्तुत नहुनु, तेस्रो रुसलाई आफ्नो पक्षमा नभए कमसेकम यस युद्धमा तटस्थ राख्ने भारतको इच्छा, चौथो, तटस्थतावादी एशियाली, अफ्रिकाली देशमा आफूलाई शान्तिवादी सावित गर्ने इच्छा ।” (१८/११/१९६२)

“आज पनि हिन्दुस्तानले एउटा’स्ट्राटेजिक’ स्थान वालोङ्गलाई छाडेर पछि हट्नुपर्यो भन्ने खबर छ । तटस्थतावादी नीतिलाई नछोड्ने भनी नेहरुले बारम्बार घोषणा गरिरहेका छन्, उद्यपि यस युद्धमा पश्चिमी राष्ट्रहरुले मात्र पूर्णरुपले भारतको सहयोग गर्ने आश्वासन र भारतले मागेका सामरिक समानहरु दिँदै आएका छन् ।” (१८/११/१९६२)

“हामीहरु चीन, भारत कलहलाई लिएर यहाँ खूब छलफल गर्छौं, र यस कलहबाट हामीहरुमाथि पर्ने प्रभावउपर पनि विचार–विमर्श गर्छौं । सुवर्णजीले आन्दोलन स्थगित गरेको घोषणा गर्दै भारत चीनको झगडाको उग्रतर हुँदै आएको स्थितिले गर्दा राजाले यस अवसरको लाभ उठाएर आफ्नो भारत विरोधी कारबाहीको चीनसँग पूर्ण ढंगसँग मिलेर चरम लक्ष्यमा लैजाने भएकोले आन्दोलनको स्थगनको निर्णय लिनुपर्यो भन्ने वक्तव्य दिएको छ । यो तर्क कहाँसम्म वास्तविक स्थितिमा आधारित छ हामीलाई थाहा छैन । आन्दोलनको स्थगनले राजालाई चाहेको खण्डमा चीनसँग मिल्नदेखि कसरी बाधा पर्छ । जबकी झन् सुवर्णजी या भारतकाप्रति सहृदय बनाउने प्ररणा छैन । राजाले पनि अस्ति प्रेसको प्रश्नको उत्तरमा सुवर्णजीको वक्तव्यको तिक्त, कुण्ठित र क्षुप्ध भाषामा जवाफ दिन खोजेको छन ।” (१८/११/१९६२)

“यदि पश्चिमी राष्ट्रहरुको आग्रहबाट आन्दोलन स्थगन भएको भए यसको अर्थ यी राष्ट्रहरु नेपाललाई दबाब दिएर पनि चीनका विरुद्ध व्यापक मोर्चामा हिन्दुस्तानको साथ दिन लाउनका लागि शायद राजाको यो तर्क कि मेरो विरुद्ध हिन्दुस्तानबाट आलोचना हुँदाहुँदै कसरी मलाई हिन्दुस्तानसँग मिलेर चीनका विरुद्ध मोर्चा लेउ भन्ने सल्लाह को दिनसक्छ– लाई उनलाई उपलब्ध नगराउन पश्चिमी राष्ट्रको आग्रहबाट आन्दोलन स्थगित सल्लाह भारतले सुवर्णजीलाई दिएको हुनुपर्छ, जुन सल्लाहको आधारमा सुवर्णजीले स्थगनको कदम चाल्नुभयो ।” (१८/११/१९६२)

“यसको माने यो हो कि राजा अब पश्चिमी राष्ट्रहरुका सम्मूख अप्ठयारोमा परे र हिन्दुस्तान पनि पश्चिमी राष्ट्रलाई राजाको चीनपट्टिको झुकावको आधार सुवर्णबाट संचालित आन्दोलनको प्रतिकृयाभन्दा गहिरो छ भन्ने प्रमाणित गरेर राजाको ‘मनूवरबिलिटी’ लाई संकुचित पार्न चाहेको होला । नत्र, आन्दोलनको स्थगन र स्थगन गर्दा दिएको वक्तव्यको अर्थ केही लाग्दैन, या आन्दोलन सेलाइसकेको थियो र भारत चीनको युद्धको मौकालाई छोपेर इज्जत बचाउँदै सुवर्णजीले आन्दोलन स्थगित गरेको हो; अर्थात् सुवर्णजीले स्थगनको घोषणा गरेर वास्तविक तथ्यउपर लज्जा निवारणका लागि वैधानिक आवरण ओढाइदिनुभयो । बुझ्न सकिएन ।” (१८/११/१९६२)

“अन्तर्राष्ट्रिय परिस्थितिमा ठूलो हलचल आएको छ, जसबाट नेपाल छुट्टा रहन सक्तैन । हाम्रा लागि यो (डेभ्लपमेन्ट) को के परिणाम हुन्छ अहिले भन्न सकिन्न; तर एउटा कुराले मलाई सन्तोष छ कि हिन्दुस्तानको अहिले बन्न लागेको मनोवृत्ति मेरो विश्वासको अनुरुप जस्तो छ । शायद, अन्ततोगत्वा हामीहरुलाई यसबाट लाभ होस् । राजाको खेल्न सक्ने क्षमता केही संकुचित भएको जस्तो छ । चीनको हौवा देखाउने बाटो शायद उनलाई अहिलेको लडाइँको पृष्ठभूमिमा उपलब्ध हुनेछैन । हिन्दुस्तानको लागि नेपालको राजा राजनीतिक दृष्टि (कुटनीतिक दृष्टि) बाट मात्र समस्याका रुपमा मान्न सकिन्छ, र चीन र हिन्दुस्तानको शीतयुद्धमा राजाले खेल्ने खूब मौका पाएका थिए तर युद्धको पृष्ठभूमिमा त्यो मौका पाउलान्? सामाजिक पृष्ठभूमिमा राजालाई कतिसम्म मान्यता दिन चाहला हिन्दुस्तानले? तर एउटा अर्को खतरा छ– त्यो हाम्रो स्वतन्त्रताको अन्त । युद्धको दृष्टिकोणबाट नेपाललाई पहिलेको जस्तो छुट दिन हिन्दुस्तान र पश्चिमी राष्ट्रले चाहलान्?” [७/११/१९६२]

“चीन–भारत युद्धमा आज हिन्दुस्तानलाई ठूलो ‘सेट ब्याक’ भएको छ जसले गर्दा आसामलाई सम्म खतरा पर्न आएको छ । नेहरुले वोमडिलाको पतनपछि आज एउटा रेडियो भाषण दिए । जसमा आसाममाथि परेको खतरालाई ध्यानमा राखेर उनले आसामीहरुलाई आश्वासन र हृदयलाई बलियो पारेर राख्नु भन्ने आदेश दिए । निश्चय नै नेहरुको भाषण हिन्दुस्तानलाई आएको खतराको द्योतक थियो । हामीहरुको यहाँको दुःखमा हिन्दुस्तानको सहानुभुति र चीनले राजाको सहानुभुति गरेकोले आजको सम्वादबाट यो क्याम्पमा निराशा आयो । रामनारायण जहाँ पैले नेहरुको कार्यकुशलता, दूरदर्शिता र बुद्धिमानीमा पूरा आस्था राखेर आश्वस्त थिए – आज उनी उत्तिकै आश्वस्तशुन्य भएका छन् । उनलाई नेहरुको क्षमतामा भरोसा रहेन । गणेशमानजी पनि बडो चिन्तित हुनुभयो । मलाई भने विशेष त्यस्तो निराशाको भावना भएन, किनभने दिल्लीमाथि न म पैले पूर्णरुपले भरोसा राख्थें, न उनीहरुको दूरदर्शितामानै मलाई बडो आस्था थियो । त्यसो हुनाले अहिलेको चीनले उनीहरुमाथि गरेको आक्रमण र उनीहरुले अहिलेसम्म सहनुपरेको पराजयले मलाई उत्ति ‘शाँक’ दिएन । यी घटनाहरु दिल्लीको ‘कम्पलासेंसी’को स्वाभाविक परिणाम जस्तो लाग्यो । तर, हामीहरु माथिको खतरा र आजको लडाइँको परिणामले झन् थपेको छ । हाम्रो भविष्य झन अन्धकारमय भएको छ ।” [१९/११/१९६२]

“यता हामी बडो उत्सुकतापूर्वक हिन्दुस्तान–चीनको युद्धलाई हेरिरहेका छौं किनभने हामहिरुमाथि यसको साझो प्रभाव परेको छ भन्ने हाम्रो विचार छ । हिन्दुस्तानभित्रै ठूलो पराजयको खबर अस्ति आयो; चीनियाँहरुले छ दिनभित्रै १६० माइल जति हिन्दुस्तानी सिमानामा घुसेर तेजपुर र उत्तर आसामलाई खतरामा पारे । हिन्दुस्तानको सामरिक कमजोरी छर्लगं भएको छ र मेरो विश्वासमा एशियाली देशहरुको असम्मान र मौकावादिताको नीतिले नैतिकता यति खसेको छ कि ताकतको प्रदर्शन उनीहरुका लागि ठूलो प्रभावकारी हुन्छ, तसर्थः यो चिनियाँ विजयले नेपाल र अरु देशमा हिन्दुस्तान विरोधी विचार झन् निरापद भएको छ । तर यो पनि हुन सक्छ कि हिन्दुस्तानको कमजोरी पश्चिमी राष्ट्रहरुलाई हिन्दुस्तानलाई बलियो पार्न कर लगाओस् जसको परिणामस्वरुप नेपालमाथि उनीहरुको दबाब पर्न थालोस् कि हिमालयको सुरक्षामा हिन्दुस्तानको साथ नेपालले देओस् । नेपालको भने झन् दबाब सहने क्षमता बढेको छ ।” (२७/११/१९६२)

बीपी कोइराला
जेल जर्नल
Facebook
Twitter
LinkedIn

Related Posts