बिरामी हुँदा बीपीले शैलजा उपाध्यायको उपस्थितिमा कानुनविद गणेशराज शर्मा लाइ भन्नुभयो: “‘मैले नेपाली कांग्रेसको इतिहास लेख्नु धेरै आवश्यक थियो । अब सक्तिनँ र शैलजाले त्यो गर्छे । उसले मेरा कुराहरु बुझेकी छु । म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सृजना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरुलाई बंग्याएर ईतिहासको गलत व्याख्या गरिने छ । नेपाली कांग्रेसमा मैले लिएको अडान र मेरो दृष्टिकोणलाई गौण बनाइने छ । मैले नेपाली काँग्रेसमा सदैव संैद्धान्तिक र विषयगत अडानहरु लिएको छु । राष्ट्रियताको विषयमा आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा मेरा अडानका निरन्तता छन् । हिन्दूस्तानको बारेमा, राजाको बारेमा र संसारसँगको सम्पर्कको बारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारुहरु मैले सधैं उल्लेख गर्ने गरेको छु ।” (१६ पुष, २०५४)

शर्माको विचारमा “बीपीको ख्याति समाजवादीको रुपमा रह्यो । उहाँले जेलमा समाजवाद सम्बन्धी केही लेख्नुभएको थियो भन्नुहुन्थ्यो । यस पञ्जीमा उहाँले समाजवादको कुनै परम्परागत र रुढीवादी सिद्धान्तको कुरा गर्नुभएको छैन । दरिद्रताको निदान र त्यसको उपचारको प्रसंगमा उहाँले समाजवाद उल्लेख गर्दै भन्नुभएको छ।” (१६ पुष, २०५४)

जेल जर्नलमा बीपीले साउल रोजले सम्पादन गरेको डगलस जे को सोसियालिज्म इन न्यु सोसाइटी तथा स्ट्रेचिको थ्योरी एण्ड प्राक्टिस अफ सोसियलिस्म को अध्ययन गरेको उल्लेखित छ ।

“आजकलको मानवजीवन जुनसुकै दृष्टिबाट पनि दरिद्र छ । यसलाई मानेपछि मूल समस्या हुन आउँछ जीवनको समृद्धीकरण । गत महायुद्धभन्दा पहिले बुद्धिजीवीहरुका लागि समाजवाद जीवनको समृद्धीकरणको मुख्य साँचो थियो । उनीहरुको विचारमा जीवनको सबै क्षेत्रीय दरिद्रताको कारण समाजको गठनको अविवेकपूर्ण आधार हो–समाजवादको आधारमा समाजको पुनर्गठन भएपछि पहिलेको जीवनका यावत् समस्याहरुको स्वतः समाधान भएर जान्छ ।” (१७/९/२०१९)

“[भारतीय] कांग्रेसको समाजवाद नेहरुको शर्त – कांग्रेसले स्वीकार गरेको हो, उनको सेवा प्राप्त गर्नका खातिर तर हृदय भने समाजवादमा छैन पार्टीको । नेहरुले पनि आफ्नो समाजवादलाई पन्यालो पार्नु परेको थियो पार्टीलाई त्यो कुरो स्वीकार्य बनाउनका खातिर । नेहरुले गर्दा कांग्रेसले जो शायद पूर्ण रुपले राष्ट्रिय हिताहितको मात्र ख्याल राखेर आफ्नो शुद्ध राष्ट्रिय नीति बनाउने थियो, त्यसो गर्न सकेन । कांग्रेसले गर्दा नेहरु पनि त्रिशकुं भएर रहे । यस्ते स्थितिले गर्दा जुन नेतृत्व पार्टी र त्यसको नेताले राष्ट्रलाई दिनुपथ्र्यो त्यो दिन सकेनन् । हिन्दूस्तानको ‘कनटेम्पोररी’ दुर्भाग्य त्यहि हो ।” (२३/१०/१९६४)

“दिउँसो दिवानलाई बेकनको दर्शन र समाजवाद पढाएँ ।” (नोभेम्बर २९, १९६३)

महिलाहरुको जेलबाट गौरी राणाको चिठी आएको प्रसंग बीपीले उल्लेख गरेका छन् । “हुन त साधारण पत्र छ; तर त्यसलाई पढ्दा मलाई गौरी प्रतिको ठूलो स्नेहको भावना आउँछ । मेरो कुरामा लागेर धेरै विद्यार्थी, युवक र युवतिहरुले समाजवादका नाउँमा आफूलाई होमे । गौरीसँग मेरो धेरैचोटी समाजवादलाई लिएर छलफल भएको थियो । शैलजाकी साथी गौरी । गौरी कम शब्दको लड्की थिइन्; अहिलेको क्रान्तिकारी स्थितिमा उनी यतापट्टि तानिएलिन् भन्ने लागेको थिएन, तर जेलमा १ वर्षभन्दा बढी काटिसकेकी छन् । जब उनीहरुलाई सम्झिन्छु मलाई उत्साह आउँछ, र जीवनका तुच्छता मबाट टाढा हुन्छन् । यदि मैले नेपालका लागि केही गर्न सके भने म गौरी र त्यस्ता अनेकानेक व्यक्तिहरुका प्रति आफ्नो कर्तव्य पूरा गरेको ठान्नेछु ।” (मार्च ०९, १९६२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *