“दुई वर्ष हुन लागिसक्यो हामी थुनिएको, बाहिरका साथीहरुले आफ्नो सामथ्र्यअनुसार भरमग्दूर गरिरहेका छन्, तर प्रभावकारी एक्सन हुनसकेको छैन ।”

“बाहिरकाले आफ्नो सारा अण्डाहरु एउटै टोकरी हिन्दूस्तानमा राखेकाले पनि हाम्रो आन्दोलनमा केही कमजोरी आएको छ । हिन्दूस्तानमा मात्र पूरा भर पर्दा उसको खटनमा हाम्रो लडाईको गति निर्भर भएको छ । हिन्दुस्तानको टेवाको आवश्यकता त हामीलाई थियो तर उसैमाथि हाम्रो चारै गोडा टेकिन जाँदा हाम्रो आन्दोलनमा भित्तामा पीठ्यूँ अड्याउने भावना आउन सकेन।”

“गुरिल्लाको लडाईँमा यो भावना आउनु परमावश्यक छ । आखिर छ–सात हजार राजाको पल्टनलाई हारावारा खेलाउन नसकिने कुरा होइन यदि सही अर्थमा गुरिल्ला किसिमको लडाईँ यहाँ प्रारम्भ गरेदेखि । राजाको टेवा पनि त त्यही छ–सात हजारको पल्टन छ । यस पल्टनको राजभक्तिको पनि परिक्षा हुन पाएको छैन । कुनै ठाउँमा पनि यसलाई केही कडा किसिमको हमला भए यसको राजभक्तिको राम्रो परीक्षा हुने थियो । मेरो विचारमा, धेरै जस्तो हाम्रो पक्षमा लाग्ने थिए ।” 

“बाहिरका हाम्रा साथीहरु अहिले एकदम चुप्प छन् । चीन र हिन्दुस्तानको संघर्षले अहिले हाम्रो स्थिति अत्यन्त नाजूक बनाएको छ । हाम्रो आन्दोलन अहिले एउटा विकट परिस्थितिबाट गुज्रन थालेको छ । हाम्रा साथीहरु आफ्ना सबै अण्डा एउटै टोकरीमा राखे (हिन्दुस्तानी टोकरीमा) । त्यसो हुनाले हाम्रो आन्दोलनको स्वतन्त्र संचालन हाम्रा साथीहरुको हातमा पूर्ण रुपले नभएको जस्तो छ । आखिर, उनीहरुले गर्नसक्ने पनि अरु के थियो र हिन्दुस्तानबाहेक हाम्रो मद्दत गर्ने अन्तर्राष्ट्रिय क्षेत्रमा अरु कोही छैन । चीन राजाको गठबनधन पुरानो हो ।’ (२५/१०/१९६२)

“तुलसी गिरीको चीनपक्षीय नीति पहिलेदेखि नै सर्वविदित कुरो थियो । यस अवस्थामा हिन्दुस्तानको मद्दत लिनपुग्नु हाम्रा साथीहरुलाई स्वभाविक लाग्यो होला तर, हिन्दुस्तानो नीति अत्यन्त कमजोर भएकोले भर पर्न गाह्रो पर्छ । दुई वर्षदेखि उनीहरुले आफ्नो कमजोर नीतिले गर्दा राजालाई झन्झन् बलियो बनाउँदै गए र हामीलाई हिन्दुस्तानको शरणमा पुग्ने अराष्ट्रियतत्वको संज्ञा दिलाउँन राजालाई सजिलो पारे । अहिले वृहत अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हिन्दुस्तानको कमजोर नीतिले गर्दा चीनको हमलाको कठिन मुकाबिला गर्नुपर्दा हिन्दुस्तानमो शिर कुनै उँचा हुनपुगेको छैन । हिन्दुस्तान पछि हट्तै छ । नेपालमा राजापक्ष हिन्दुस्तानको अहिलेको अप्ठयारो स्थितिमा मनमनै बडो खुसी होला ।”(२५/१०/१९६२)

“हाम्रो आन्दोलन पूर्णरुपले असफल भयो । राजाले जिते ।यो हाम्रो पराजयले ठूलो निराशाको वातावरणलाई सिर्जेको छ । जनशक्तिको ठूलो हार भयो । यसको मुख्य कारण आन्दोलनका सञ्चालकहरुको नेतृत्वहीनता र उनीहरुमा हिम्मतको कमी र साथै उनीहरुले पूर्णरुपले हिन्दुस्तानमाथि मात्र आधारित भै बस्नु – जुन हिन्दुस्तान स्वयम् आफै आफ्नो कमजोर र अदूरदर्शी नीतिको शिकार आफै भइरहेको छ, चीनको हातबाट । हिन्दुस्तान उपर सारा आधार राख्नु बडो ठूलो गल्ती थियो हाम्रा मानिसहरुको । हिन्दूस्तानको नीति पनि हाम्रा सम्बन्धमा स्पष्ट र ‘एबोभ बोर्ड’ थिएन । अब अहिले उनीहरुलाई चीनबाट भएको विपत्तिपूर्ण परिस्थितिमा हिन्दुस्तानले राजासँग हात मिलाउनुपर्ने भएको र हामीलाई त्याग्ने । बाहिरका हाम्रा मानिसहरुलाई बडो ठूलो अप्ठयारो परिस्थिति परेको छ । मलाई लाग्दैन कि उनीहरुबाट कुनै बाटो निस्किन सक्छ । अस्ति गिरी दिल्लीको सात दिनको यात्राबाट नेपाल फर्के । राजा आफ्नो कुरो दिल्लीमा मिलाउँदैछन्, र अब उनी शक्तिको स्थलबाट दिल्लीसँग कुरा मिलाउन सक्छन् । केही दिनका लागि हाम्रो सुर्य अस्त भयो ।” [१४/१२/१९६२]

Leave a Reply

Your email address will not be published. Required fields are marked *