...
सुबर्ण शमशेर नेतृत्वको आन्दोलन: क्रिया तथा प्रतिक्रिया

“आज रामनारायणले अनौठा तर्क उठाए । उनको भनाइअनुसार सुवर्णजीहरुले चीनको भारतमाथिको आक्रमणलाई ध्यानमा राखेर हाम्रो यहाँको आन्दोदलन स्थगित राख्नु त्यस्तै कायरतापूर्ण अनैतिकता हो जस्तो हामीले यहाँबाट मागेर छुट्नु । ‘कायरतापूर्ण अनैतिकता’ वाक्यांश मैले उनको तर्कलाई स्पष्ट पार्न थपेको । उनको भनाईको भित्री अभिप्रायः शायद या थियो कि आन्दोलनको स्थगनले हामीमाथिको नैतिक बन्धन माफी मागेर नछुटौंं – हटिसकेको छ । उनको अर्को तर्क यो थियो कि बाहिरको आन्दोलन केवल भारतपक्षीय थियो, त्यसो हुनाले त्यसको लक्ष्य नेपालको हितभन्दा भारतको हित रक्षामाथि थियो । यस तर्कले इगिंत गरेको अर्थ यो थियो– “त्यो अराष्ट्रिय आन्दोलन थियो ।”

‘आफ्नो बहसको सिलसिलामा उनले भने कि आन्दोलनको पराजय नै त्यसको न्याय संगति ‘जस्तिफिकेसन’ को अभावको प्रमाण छ अर्थात् विफल आन्दोलन असमर्थनीय राजनीतिक कदम हो । मलाई उनका यस्ता विचार निराशाका प्रमाणजस्ता लागे । उनले जुन आवेशमा आफ्ना तर्क प्रस्तुत गरिरहेका थिए ती पनि उनका स्वभावका विपरित थिए । निराशाबाट अस्थायी प्रमाण उत्पन्न हुनु कुनै आश्चार्य होइन ।”

“मैले उनलाई सम्झाएँ । मेरो विचारमा सुवर्णजीरुहले चलाएको आन्दोलनको स्थापित लक्ष्य न अराष्ट्रिय थियो, न उनले आन्दोलन स्थगन गरेको घोषणा हामीहरुले यहाँबाट माफी मागेर छुट्ने किसिमको कारबाही हो अथवा न त कुनै आन्दोलनको समर्थनीयता वा असमर्थनीयता (जस्टिफिकेसन अर अनजस्टिफिकेसन) त्यसको विजय अथवा पराजयबाट छुट्टिने हो – (त्यो त त्यसको स्थापित लक्ष्यमा निहित छ, न कि परिणामजनित विजय पराजयले । विजय नै कुनैपनि आन्दोलनको जस्टिफिकेसन हो भन्ने सिद्धान्तले त राजनीतिक ‘एक्सन’ (कार्य)को प्रेरणा मानव हृदयबाट लोप भएर जान्छ ।”

“धेरै स्थलमा परिणामको परवाह नै नगरी भविष्यले निर्धारित गरेको लक्ष्यको मार्गमा अग्रसर हुनुपर्छ, कहिलेकाही त अनुवार्यत: पराजय छ भन्ने ज्ञान हुँदाहुँदै पनि कर्तव्य प्रेरणाले त्यस्तो कार्यमा पनि जाइलाग्नु पर्छ मानिस । जय–पराजयको लेखाजोखा त पछिको इतिहासले गर्ने कुरा हो – कुनै कार्यको निस्पत्ति या सम्पादन भइसकेपछि निर्णय दिने कुरा हो ।”

“यी सब कुराहरुको अतिरिक्त, व्यावहारिक दृष्टिबाट विचारणीय एउटा अर्को तथ्य पनि छ । कुनैपनि कार्यको सफलता र विशेष गरेर सामाजिक क्षेत्रमा क्रान्तिकारी लक्ष्य राखेर गरिने व्यापक प्रयत्नको सफलता धेरै तत्वमा निर्भर गर्छ । जतिसुकै बुद्धि पुर्याएपनि जतिसुकै दूरदर्शी दृष्टि भविष्यतिर फ्याँके पनि सफलताका लागि चाहिने यावत् सरजामको परिकल्पना र संग्रह मानिसको सामर्थ्य बाहिरको कुरा हो । जतिसुकै व्यवस्था मिलाएर दूरदर्शी भएर गर्न आँटेको कार्यको भविष्यमा प्राप्त हुने परिणामलाई कुनै न कुनै अंशमा अनिश्चित नै सम्झिनुपर्छ ।”

‘हिन्दुस्तानसँग मद्दत लिनु अराष्ट्रिय कारबाही भन्न सकिन्न । जुनसुकै मुलुक र जुनसुकै आन्दोलनले पनि बाहिरको मद्दत प्राप्त गरेको कुराको इतिहास साक्षी छ । कमसेकम दुनियाँभरिमा सबैले आफ्नो आन्दोलनको सफलताका लागि विदेशी सहायताको अपेक्षा गरेका छन्, यदि अपेक्षित सहायता उनीहरुल्े प्राप्त गर्न सकेनन् भने पनि उनीहरुको इरादाको कमीले होइन कि, सहायता दिने विदेशीहरुले सहायता नदिएकोले हो ।”

‘आन्दोलनको स्थगन राजनीतिक निर्णय हो, जो कि परिस्थितिको अनुसार लिनुपर्छ । माफी माग्नु नैतिक निर्णय हो, जो कि व्यक्तिव्यक्ति आफ्नो नैतिक सामथ्र्यमा निर्भर गर्छ । राजनीतिक कार्यवाहीलाई सञ्चालनार्थ यदि माफी मागेर छुट्ने कुरा हो भने यसमा नैतिकताको प्रश्न उठदैन । यो शुद्ध राजनीतिक निर्णय हो, तर आफ्नो कमजोरीले माफी माग्नु घोर अनैतिक कुरा हो । जसको आन्दोलन स्थगनको राजनीतिक निर्णयसँग केही सम्बन्ध छैन ।”