“के भएको हो ? वार्धक्यको लक्षण पनि हुन सक्छ, तर यसप्रकारको कुण्ठितता बुद्धिमा यति छिटै आउनु नपर्ने, र वार्धक्य पनि अहिले ४९ वर्षको उमेरमै ममा आइसक्यो भन्न सक्तिनँ, कमसेकम बुद्धि भ्रष्ट पार्ने उमेर त भएको छैन; उमेर छिप्पिएको मात्रै हो, जसमा बेशी भन्दा बेशी नयाँ विचार गर्ने प्रवृत्ति रहँदैन ।”

“वृत्तिको त्यो पक्ष जो सदा साहसिकताका लागि बुद्धिको क्षेत्रमा होस् या भौतिक क्षेत्रमा होस् या कुनै व्यावहारिक क्षेत्रमा प्रस्तुत रहन्छ त्यो सायद वार्धक्यमा क्रमशः शिथिल हुँदै जान्छ र मान्छे बुढा्े भएपछि नयाँ कुनै कुरोपनि साधारणतः यस्तो हुन्छ कि बुढो व्यक्ति परम्परावादी हुन्छ, वृत्तिको यो अभिव्यक्ति अवश्य पनि बुद्धिको कुण्ठितताको प्रमाण होइन । कि हो?”

“बुद्धिको लचिलोपनको अभाव नै त वार्धक्यको परम्परा – अनुरागको वृत्ति त होइन? कि बुद्धि कुण्ठितता, अक्षेण्ण, रहेर पनि मस्तिष्कको तेजको कमी नभएर पनि, जीवनको व्यवहारमा आइपरेको अनुभवले प्राणीलाई साहसिकताको प्रति विमुख पार्छ? एउटा कुरा शायद हुन्छ; जति जति उमेर बढ्दै जान्छ अनुभव – यावत् किसिमको, ऐन्द्रिक होस् चाहे बौद्धिक,– को पुनरावृत्ति (रेस्पेक्टिभनेस) ले त्यसमा नूतनताको ह्रास हुँदै जान्छ र ती सबै ‘काटेगोराइज्ड’ (श्रेणीबद्ध, श्रेणीगत) हुन्छन् ।”

“अनुभवहरुका विभिन्न खानामा पछिपछि प्राप्त हुने अनुभव थन्क्याइँदै जान्छन् । म छिप्पिनु भनेको अनुभव प्राप्त गर्नु– अनुभव प्राप्त गर्नु भनेको घटनाका प्रति कौतुकमय नहुनु हो भन्ने ठान्छु । वृद्धावस्थाको एक लक्षण कौतुकहीन हुनु हो– एकप्रकारको उदासिनताबाट घेरिनु । बालकहरुलाई सबै वस्तु कौतुकमय लाग्छन्; युवकहरुलाई पनि प्रायः त्यस्तै अनुभव हुन्छ विशेष गरेर भावनाको क्षेत्रमा या बुद्धिको क्षेत्रमा त्यसो हुनाले तिनीहरु जिज्ञासु हुन्छन्, नयाँ अनुभवको आकर्षणले तिनीहरुलाई साहसिकताका प्रति उन्मुख पार्छ । शुद्ध मस्तिष्कको तेजमा कुण्ठितताभन्दा बाहिरका यी लक्षण हुन्, तर के बुद्धि अप्रभावित रहन्छ– युवक र वृद्धहरुको विभिन्न प्रवृत्तिबाट? के अनुभवको नूतनबोधको ह्रासले बुद्धिलाई पनि कुनै न कुनै रुपमा या केही न केही मात्रामा कुण्ठित पार्दैन? कौतुकमयताले के बुद्धिलाई सजग पारी राख्तैन? के उदासीनताले बुद्धिलाई निस्तेज पार्दैन?”

“यस सम्बन्धमा मस्तिष्क शास्त्रीहरु (न्युरोलोजिस्ट, न्युरोफ़िजिसिस्ट वा न्युरोफ़िजिओलोजिस्ट) को मत छ कि बुद्धिको विकास र त्यसको उन्नत स्थितिमा स्थिर रहनका लागि ऐन्द्रिक अनुभवको बडो आवश्यकता पर्छ । (हार्वर्ड युनिभर्सिटी प्रेस ले प्रकाशन गरेको हेबको ‘सेंसरी डिप्राइभेसंस’ हेर्नुहोस) पञ्च इन्द्रियको पूर्ण प्रयोग हुनुपर्छ बुद्धिको पूर्ण विकासका लागि । वंशगत (हेरिडिटरि) प्राप्ति मनुष्यको सम्भावनामय (पोटेन्सियल) मात्र हुन्छ; त्यसको सम्भावनाको वास्तविकता (एक्टुअलाइजेसन) वर्तमानीकरण या यथार्थकरण ऐन्द्रिक अनुभवले मात्र सम्भव हुन्छ– सम्भाव्यताको उत्तेजक इन्द्रियानुभव हुन् ।”

“उत्तेजनाको अभावमा सम्भाव्यता बीउको रुपमा मात्र रहन्छ – वृक्षको रुपमा विकसित हुँदैन । बुद्धिको विकास मात्र होइन कि त्यसको क्षमताको कुनै एउटा उन्नतस्तर या त्यसलाई राख्नको लागि ऐन्द्रिक अनुभवको सदासर्वदा आवश्यकता परिरहन्छ । यदि इन्द्रियहरुले त्वचाले छुने अनुभव, आँखाले हेर्ने अनुभव इत्यादि– पाइरहेन र त्यो पनि विभिन्नतामयका साथ भने बुद्धिले प्राप्त गरेको उन्नत स्तरबाट त्यो झर्न थाल्छ ।’

“जेलमा खास गरेर जुन किसिमबाट हामीहरु ‘हर्मिटिकल्लि सिल्ड’ राखिएका छौं – त्यसा ऐन्द्रिक (डिप्राइवेसन्) वञ्चितता यथेष्ट परिमाणमा भएको छ । सानो घेराभित्र ६ जनाको सानो समुदायलाई ३ वर्षदेखि राखेको छ । इन्द्रियहरुको विविधताको बोध गर्न पाएका छैनन् । त्यति परिणाममा जति कि तिनीहरुलाई चाहिन्छ पूर्ण रुपले प्रयुक्त हुन् । मस्तिष्क त्यसो हुनाले अवनत हुँदैन भने आश्चर्य के?

“मेरो स्वास्थ्य पनि एकदम खराब भइरहेको छ । त्यसको पनि प्रभाव निश्चय नै पर्दो हो मस्तिष्कमाथि । यी सब कारणहरुले गर्दा मेरो बुद्धि शिथिल भएको होला । स्वास्थ्यलाभ गरेपछि र पुनः ऐन्द्कि वञ्चितताबाट मुक्त भएर स्वाभाविक परिस्थितिमा प्राप्त भएँ भने, आशा छ, इन्द्रियले अनुभवको पूर्ण मौका पाउनेछन् र पुनः पुरानो बुद्धिलाई पाउनेछु । उमेरको छिप्पिनु रोक्न सकिँदैन; त्यसबाट हुने क्षति बुद्धिलाई त होला नै, तर त्यो क्षति बडो सूक्ष्म हुन्छ क्यार– र कमसेकम व्यावहारिक जीवनमा क्षणक्षणमा त्यसको अनुभव हुने छैन । जस्तो कि आजकल मलाई भइरहेको छ कि मेरो बुद्धि कुण्ठित हुँदै छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *