बीपी कोइराला छँदै पनि कांग्रेसबाट ३८ जना छुट्टिएर गए। कतिले भने– अब नेपाली कांग्रेस चोइटियो। बीपीले जवाफ दिनुभयो, “केको चोइटिनु? जहाँ बीपी, गणेशमान, कृष्णप्रसाद छन्, त्यही हो नेपाली कांग्रेस।”

पहिलो जनआन्दोलन सफल भएको पृष्ठभूमिमा अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी)लाई दिल्ली विश्वविद्यालयले मानार्थ विद्यावाचस्पति (विद्यावारिधि)को उपाधि दिएको थियो। त्यस कार्यक्रममा उहाँले पाठ गर्न लगेको भाषण हराउनुभयो। त्यसपछि तत्काल स्वतस्फूर्त रूपमा मन्तव्य दिनुभयो, जुन निकै राम्रो थियो। यसै क्रममा यताउता छामछुम गर्दैगर्दा कोटको गोजीमा लिखित भाषणको कागज भेट्नुभयो। त्यो कुरा सबैले चाल पाए। त्यसपछि ठट्टा गर्दै उहाँले भन्नुभयो, “अहिलेसम्म जति बोलें, ती सबै अनौपचारिक थिए। अब म औपचारिक भाषण पढ्छु।”

उहाँले आफ्नो संकटको समाधान खोजिसक्नुभएको थियो। सबै अतिथि उहाँको तीक्ष्णता देखेर हाँसे। त्यहाँ बोलाइएका सबै नेपाली विद्यार्थीका लागि त्यो रमाइलो क्षण थियो। कार्यक्रमपछिको चियाखाजामा पनि उपस्थित राजनीतिकर्मी तथा प्राध्यापकहरूसँगको अन्तरक्रियामा देखिएको उहाँको सरलता र स्वाभिमान लोभलाग्दो थियो।

यस लेखकलाई सम्झना छ, शुरूको अनौपचारिक भाषणमा किसुनजीले मानार्थ विद्यावारिधिको उपाधि पाउँदा आफू यसका लागि उचित पात्र नभए पनि हृदय भने गुन्जायमान भएको बताउनुभएको थियो। यसका लागि उहाँले अंग्रेजी शब्द ‘सोनोरस’ को प्रयोग गर्नुभएको थियो। पछि विद्यावाचस्पतिको उपाधि लिइसकेपछिको अन्तरक्रियामा पनि उहाँले भाइसचान्सलर प्रा. उपेन्द्र बक्सीलाई यस्तै केही भन्नुभयो, “यू नो प्रोफेसर बक्सी, आई एम नट एन एकेडेमिक पर्सन। अलदो, द पीएचडी डिग्री मेक्स मी सोनोरस, आई डिप्ली फिल आई डु नट डिजर्भ इट विदाउट वर्किङ फर इट। डु यू सी, ह्वेयर ह्याभ यू ब्राउट दिस स्ट्रीट पर्सन टु?”

किसुनजीमा अंग्रेजी साहित्यको यति प्रभाव थियो, उहाँ सामान्य अंग्रेजी बोलीचालीमा पनि त्यो प्रभावबाट मुक्त हुनहुन्नथ्यो। जोन मिल्टन, लंगफेलो, टेन्निसन, वाल्ट ह्वीटम्यान जस्ता प्रसिद्ध कविहरूले आफ्ना चर्चित कविताहरूमा ‘सोनोरस’ शब्द प्रयोग गरेका छन्।

किसुनजी पाश्चात्य साहित्यमा राम्रो दखल राख्नुहुन्थ्यो। यद्यपि उहाँको वरिपरि र समारोहहरूमा त्यो प्रतिभालाई बुझ्न सक्ने वा कोट्याउन सक्ने मान्छे कमै देखिन्थे। उहाँ साहित्य सिर्जनामा लाग्नु पनि भएन। तर उहाँको साहित्य अनुराग ठाउँ ठाउँमा पढ्न पाइन्छ। डा. राजेश गौतमलाई दिएको एउटा अन्तर्वार्तामा त उहाँले एघारौं शताब्दीका पर्सियन कवि उमर खय्याम अंग्रेजी साहित्यमा ‘रोमान्टिसिज्म’ (स्वच्छन्दतावाद)को जनक नै भएको दाबी गर्नुभएको छ। सबैले त्यो नमान्न सक्छन्। उमर खय्यामका रुवाइयातलाई धेरै शताब्दीपछि अंग्रेजी कवि एडवार्ड फिट्जेराल्डले अंग्रेजीमा अनुवाद गरेका थिए। यो अनुवाद यूरोपमा अत्यन्त चर्चित रह्यो। यसैको प्रभावस्वरूप त्यहाँ साहित्यमा ‘रोमान्टिसिज्म’ शुरू भएको किसुनजीको दाबी छ। उहाँको भनाइमा वर्डस्वर्थ, किट्स, शेली, वायरन आदि सबै यसैबाट प्रभावित भएका हुन्।

उमर खय्यामको एउटा रुवाइयातबारे किसुनजीले चर्चा पनि गर्नुभएको छ। उक्त रुवाइयातको सार यस्तो छ– मैले धेरै परिश्रम गरें, र सात वटै ज्ञानको ढोका पार गरी सूर्य नजीकै पुगें। बाटोमा देखिएका सबै बाधा समाधान गर्दै अगाडि गएँ। यति हुँदा पनि मैले मानिस, नियति र मृत्युबारे केही पनि बुझ्न सकिनँ। भाग्य, आयु वा भविष्यबारे थाहा पाउन गाह्रो छ। कालसँग नडराउने मानिस कोही छैन, तर यसलाई कसैले जित्न सकेको छैन। काललाई जित्ने कोशिशमा मानिसले लेखेका सबै दर्शन प्रयत्नहरू मात्र हुन्। विभिन्न औषधि र व्यायामको विकास भए पनि अहिलेसम्म कसैले काललाई जित्न सकेको छैन। यी मान्यता किसुनजीले उमर खय्यामसँग सापटी नै लिएको देखिन्छ।

साहित्यमा बीपी कोइराला, गणेशमान सिंह तथा किसुनजी अलग अलग दृष्टिकोण राख्नुहुन्छ। तर उहाँहरू जीवनभर अनन्त मित्रका रूपमा मात्र रहनुभएन, नेपाली कांग्रेसको आदर्श निर्माणमा उहाँहरूबीच सधैं एकता रह्यो। छलफलका क्रममा विभिन्न विचार प्रस्तुत भए पनि बीपीको राजनीतिक-वैचारिक नेतृत्वमा उहाँहरू सबैको कटिबद्धता थियो। उमेरले गणेशमानजी बीपीभन्दा एक वर्ष र किसुनजी १० वर्ष कान्छो हुनुहुन्थ्यो। नेपाली कांग्रेसको कहिले सफल, कहिले असफल र कहिले विषादपूर्ण प्रजातान्त्रिक संघर्षमा उहाँहरूबीच राजनीतिक मनोमालिन्य कतै देखिंदैन। यस अवधिमा पार्टीका कतिपय भरपर्दा साथीहरू पलायन भए, धोका दिए वा अन्य पक्षसँग सहकार्य गर्न पुगे। उहाँहरूलाई आफ्नो राजनीतिक उद्देश्यले जहिल्यै बाँधेर राख्यो।

यति मात्र होइन, किसुनजीलाई बीपीले ‘इन्करिजिबल अप्टिमिस्ट’ भन्नुहुन्थ्यो रे। अर्थात्, कहिल्यै सुधार हुन नसक्ने आशावादी मानिस। कसैलाई शत्रु नदेख्ने। आफ्नै विरुद्ध कसैले काम गरिरहेको छ भने पनि उहाँको सोचाइ त्यस्तै हुन्थ्यो। उहाँ ‘मेरै कुबुद्धिले गर्दा यस्तो भएको हो’ भन्नुहुन्थ्यो। “आफू साधारण मान्छे भए पनि भगवान्‌को कृपा र जनताको विश्वासले गर्दा यत्रो ख्याति पाएको छु। काम गरेको छु। काम गर्ने सहुलियत पनि छ। मलाई पूरा सन्तोष छ,” उहाँ भन्नुहुन्थ्यो। किसुनजीको दृष्टिमा बीपीले त्यसै कारण ‘इन्करिजिबल अप्टिमिस्ट’ भन्नुभएको होला।

तर गणेशमानजी र बीपी स्वयम् पनि किसुनजीभन्दा कम आशावादी हुनुहुन्नथ्यो। आशा विनाको संघर्षले परिणाम नदिने मात्र होइन, जुझारुपनाका लागि अत्यावश्यक नैतिक बल पनि पाउन सक्दैन। यो संघर्षमा उहाँहरू जीवनभर एकढिक्का देखिनुभयो।

संघर्षमा उहाँहरूबीच पारस्परिक आत्मविश्वास पनि थियो। राष्ट्रियता, प्रजातन्त्र र समाजवादका सिद्धान्तहरूले अन्योन्याश्रित सम्बन्ध राख्थे। राष्ट्रिय मेलमिलापको सिद्धान्तले मुलुकको दीर्घकालीन राजनीतिलाई व्यक्त गर्थ्यो। यो सबैको लगानीमा स्थापित भएको ब्यानर थियो नेपाली कांग्रेसको। सबै राजनीति यिनै स्थापनाकालीन सिद्धान्तको वरिपरि घुम्थे। किसुनजीको भनाइमा “यो राजनीतिमा बीपीको एउटा ठूलो छत्रछाया थियो। … उहाँलाई हामीले प्रारम्भदेखि नै मानिआएका हौं, शुरूमै जबदेखि यो पार्टीको जन्म भयो… त्यो परम्परा अहिलेसम्म चलेकै थियो। उहाँको कुरा हामी काट्दैनथ्‍यौं। उहाँ हामीले भनेको काट्नुहुन्नथ्यो। यसरी हामीबीच सौहार्दपूर्ण सम्बन्ध थियो।”

बीपी छँदै पनि कांग्रेसबाट ३८ जना छुट्टिएर गए। कतिले भने– अब नेपाली कांग्रेस चोइटियो। बीपीले जवाफ दिनुभयो, “केको चोइटिनु? जहाँ बीपी, गणेशमान, कृष्णप्रसाद छन्, त्यही हो नेपाली कांग्रेस।” त्यसपछि चोइटिएको प्रसंग इतिहासबाट हराएर गयो। त्यत्रो ‘अथोरिटी’ गणेशमानजी र किसुनजीमा निश्चय पनि थिएन। तर बीपीले सिर्जना गरेको त्यो ‘अथोरिटी’ लाई प्रश्न गर्ने कसैको हिम्मत थिएन। तिन ताका गाउँ गाउँमा ‘प्रजातन्त्रका तीर कमान, बीपी, भट्टराई, गणेशमान’ भनेर नारा लाग्थ्यो। विभाजित पार्टी वा विभाजित नेतृत्वमा यो सम्भव थिएन।

किसुनजी बीपी र गणेशमानजी जस्तै सत्यवादी र निष्ठावान् हुनुहुन्थ्यो। तर उहाँलाई ईश्वरमा विश्वास थियो। ईश्वरप्रतिको असामान्य विश्वासले बीपी र किसुनजीबीचको फरकलाई प्रतिविम्बित गर्थ्यो। किसुनजीको भनाइ थियो, ‘राम्रो काम गर्ने हो, राम्रो-नराम्रो भगवान्‌ले हेर्नेछन्।’ भगवान्‌लाई प्राप्त गर्नु आफ्नो जीवनको उद्देश्य हो भन्नुहुन्थ्यो। उहाँका लागि सत्य र भगवान्‌मा फरक थिएन। “जीवन भगवान्‌को उपहार हो। आफ्नो योग्यता, बुद्धि र क्षमताले भ्याएसम्म त्यसलाई सदुपयोग गर्नुपर्छ। भगवान्‌ले पुरस्कार दिन्छन्,” उहाँ भन्नुहुन्थ्यो, “म कहिले पनि जीवनमा असन्तुष्ट छैन। मैले थाहा पाइसकेको छु कि आफ्नो आध्यात्मिक विकासले गर्दा र एउटा व्यावहारिक ज्ञानले गर्दा मलाई कसैसँग पनि ईर्ष्या हुँदैन। फलानो त बडो सुखी छ, म यस्तो भएँ भनेर कहिल्यै सोच्दिनँ। किनकि म आफूलाई दुःखी मान्दै मान्दिनँ।” किसुनजीले बाँचेको जीवन बोलेको जीवनभन्दा फरक देखिंदैन।

किसुनजीलाई धेरैले सन्त नेता त्यसै भनेका थिएनन्। उहाँ भन्नुहुन्थ्यो, “मलाई मेरो आध्यात्मिक ज्ञान र भगवान्‌को कृपाले यति भइसक्या छ कि यहाँ कोही मानिस जसले जन्म लियो, सुखी मात्र हुन सक्दैन। अभाव मात्र नै पनि दु:खको मूल कारण होइन, त्यो पनि मैले बुझेको छु। सुखको मूल कारण धन र मान पनि होइन। त्यति मैले बुझेको हुनाले मेरा लागि ईर्ष्या  र द्वेष केही पनि होइन। वैर पनि छैन। तपाईंले क्रोध सञ्चित गरेर राख्नुभयो र बदला लिने अनेकौं उपाय र त्यसलाई बढीभन्दा बढी दुःख दिने सोचिरहनुभयो भने त्यसलाई नै वैर भन्दछन्। त्यस्तो वैर पनि मलाई कसैसँग छैन। न ईर्ष्या, न द्वेष, न क्रोध। क्रोध नै छैन भन्दा क्षणिक कहिलेकाहीं कसैले केही नहुने काम गर्‍यो भनेदेखि म त भन्न सक्दिनँ।” जस्तै- बीपीको आत्मवृत्तान्तमा सुन्दरीजल जेलमा किसुनजीले रिसाएर आफूले खाएको जुठो पानी मेजरको मुखमा हुत्याइदिनुभएको प्रसंग छ। त्यहाँ अर्घेलो किसुनजीकै थियो। तर त्यो उहाँको मानक थिएन। किसुनजी भन्नुहुन्छ,  “यदि त्यो पनि नहुने हो भने त म महात्मा बुद्ध नै भइसक्थें। तर त्यो क्षणिक मात्रै हो। त्यसमा वैरको लेस मात्र पनि छैन। त्यो रहने चीज पनि होइन।”

एक पटक सुन्दरीजलमा किसुनजीले अनशन गर्नुभएछ, सात दिनसम्म। उहाँको कुनै स्पष्ट माग थिएन। कारागारका अधिकारीहरूको आचरणको विरोध गर्दै अनशन गर्नुभएको थियो। सात दिनपछि कारागारका जर्नेलसँग कुरा भयो र उहाँले अनशन तोड्नुभयो। उहाँलाई सामान्य शिष्टाचारले पुग्थ्यो।

२०२० सालतिर कारागारमा रहँदा किसुनजी उपनिषद्को पाठ गर्नुहुन्थ्यो। हुन त सुन्दरीजलमा बीपीसँग थुना परेका सबैले उपनिषद् पढ्थे। एक वर्षसम्म उपनिषद्को क्लास पनि भयो। एक जनाले पढ्ने, अरू सबैले अर्थ लगाउने। रामनारायण मिश्र, गणेशमानजी, बीपी सबैले आआफ्नो व्याख्या प्रस्तुत गर्नुहुन्थ्यो। किसुनजीमा धार्मिक आस्था भएको हुनाले आलोचनात्मक बन्न सक्नुहुन्नथ्यो। तर बीपीले चाहिं ‘उपनिषद्ले पनि मलाई कुनै आशा जगाएन’ भनी जेल जर्नलमा लेख्नुभएको छ। उपनिषद्को भाषा राम्रो छ। कतिपय ठाउँमा झरना झरे जस्तो उत्कृष्ट वाणी पनि सुनिन्छ। घतलाग्दा वाक्यहरू छन्। तर बीपीको भनाइमा सत्य, अहम् र जीवनको समस्याका लागि उपनिषद् प्रयोजनविहीन छ। यसमा प्रश्नको उत्तर छैन, समस्याको समाधान छैन। जीवनसँग एकदमै असंगत छ। आफूले बौद्धिक अनुशासनका लागि मात्र उपनिषद् पढेको बीपीको भनाइ छ।

किसुनजीलाई योगी श्री अरविन्दको ‘इभनिङ टक्स’ मन पर्थ्यो। तिन ताका उहाँ यो सधैं पढ्नुहुन्थ्यो। बीपीलाई भने अरविन्दप्रति आकर्षण थिएन। उहाँको विचारमा अरविन्दको लेखन अत्यन्त अस्पष्ट र कठिन थियो। विचार अस्पष्ट भएकाले लेखाइ पनि अस्पष्ट हुन गएको हो कि भन्ने उहाँको सोचाइ थियो।

बीपीले एक पटक किसुनजीलाई सोध्नुभयो, “अरविन्दमा के सत्य पाउनुभयो?”

किसुनजीको जवाफ थियो, “मुक्तिको अर्थ इभिल र गुड दुवैबाट मुक्त हुनु हो।” यी दुवै आत्माका कोसा हुन्। आत्माको साक्षात्कारका लागि तिनलाई उघार्नुपर्छ।

बीपीले अर्को प्रश्न गर्नुभयो, “इभिल र गुड भनेको के हो?”

यो प्रश्नले तिनको परिभाषा खोजेको थियो। के यी दुवै शब्द सापेक्ष प्रत्यय होइनन् त? के यिनीहरूको समाजेतर परिकल्पना सम्भव छ? सम्भव छैन भने आत्माको निरपेक्षताको सन्दर्भमा तिनको चिन्तन गर्न सकिन्छ? यस्ता प्रश्न बीपीका लागि महत्त्वपूर्ण थिए। आफ्नो कुरालाई बीपीले एउटा उदाहरण दिएर स्पष्ट गर्नुभएको छ। मानौं, कुनै बालक कुनै सामुद्रिक टापुमा जन्मियो र हुर्कियो। उसले कुन अर्थमा ‘सु’ या ‘कु’ को विचार राख्ने? बीपीले भन्नुभयो, “सत्य र असत्यको अर्थमा, टापुका जुन फल र वनस्पतिले उसको शरीरमा विकार उत्पन्न गराउँछन्, ती कु या असत्य हुन् र जुनले पोषण दिन्छन्, ती सु या सत्य हुन् भन्ने हो भने तर्क त शुद्ध भौतिकवादी तर्क हो। जुन तर्कले आत्मा या परमात्माको अपेक्षा गर्दैन। हाम्रो यो टापुको व्यक्तिले कुन इभिल र गुडको कोसाबाट आफूलाई बाहिर झिक्ने हो?”

यी शंकाको जवाफ किसुनजीसँग थिएन। उहाँको भनाइ थियो, “समाजको प्राणी भएर नै मानिस मुक्तिको साधन उपलब्ध गर्छ। अर्थात्, सामाजिक प्राणीले मात्र मुक्तिको परिकल्पना गर्छ र उसका लागि मात्र मुक्तिद्वार उद्घाटित हुन्छ।”

बीपीको भनाइमा किसुनजीले तर्क त गर्नुभयो, तर त्यसको परिणाम बुझ्नुभएन। “इभिल र गुड सामाजिक संस्कार हुन्; मुक्ति तिनै सामाजिक संस्कारको परतबाट उन्मुक्त हुँदै जानु हो। अर्थात्, प्राणीले समाजभित्र संस्कारको आवरण ओढ्न पस्नुपर्छ, र त्यही आवरणलाई फेरि फ्याँक्न जीवन पर्यन्त प्रयत्नशील हुनुपर्छ,” बीपीको भनाइ थियो, “टापुको व्यक्तिले समाजमा आउनुपर्छ र उसको अध्यवसायी प्रयत्न के हुनुपर्छ भने समाजमा पस्नुभन्दा अगाडि जुन संस्कारहीन अवस्थामा त्यो थियो, त्यही अवस्थामा पुनःप्राप्त हुनु। समाजमा आउनु त उसका लागि निरर्थक भयो। किनभने टापुको अवस्थामा त्यो संस्कारहीन ईश्वर थियो।” यो तर्कले अध्यात्मवादीहरूलाई हो त नि भन्ने लाग्दैन।

बीपीको स्पष्ट दृष्टिकोण छ, “सम्पूर्ण रूपले उनीहरू (अध्यात्मवादीहरू) कोे बुद्धिभ्रम तब हुन्छ, जब उनीहरू मुक्तिलाई केवल संस्कार (सामाजिक अर्थमा)बाट मुक्त हुने अर्थमा नभई जीवन-धर्मको संस्कारबाटै मुक्त हुने अर्थमा प्रयोग गर्छन्। हाम्रो टापुको मानिसलाई नैतिकताको अर्थमा सु र कु तात्पर्यहीनता होस्, तर सत्य तथा असत्यको अर्थमा (हाम्रो उदाहरणमा आएका वनस्पतिहरू जसमा कुनै त स्वास्थ्यको दृष्टिबाट लाभदायक भएकाले सत्य छन् र कुनै अस्वस्थ्यकर भएकाले असत्य) सु र कु तात्पर्यहीन छैनन्।”

बीपीको भाषा क्लिष्ट भए पनि कुरा स्पष्ट छ।

यसलाई अझ व्याख्या गर्दै उहाँ भन्नुहुन्छ, “अध्यात्मवादीहरूको चेष्टा त यस दैहिक सत्यबाट पनि माथि उठ्ने हुन्छ। यस्तो भौतिक सत्य त पशु-सत्य हो। उनीहरूको दृष्टिमा कुनै पनि जैवचेष्टा पशुवृत्ति हो। निष्काम हुने उनीहरूको सल्लाह जैवचेष्टाबाट शून्य हुने हो। भोजनका प्रति आशक्ति, यौनका प्रति वासना, दैहिक सुखका प्रति कामना, आत्मरक्षाको सहजवृत्तिका, विभिन्न अभिव्यक्तिहरू (लोभ, क्रोध) जैवचेष्टाका लक्षण हुन्। जीवगुण हुन्। यी चेष्टाहरू निश्चय नै सामाजिक या अरू कारणले (जस्तो- कुशिक्षा) जीव सत्यको सीमा उल्लंघन गर्छन्– जस्तो अधिक भोजनका लागि, अधिक मिथुनको वासना। त्यसो हुनाले सीमाभित्र यिनीहरूलाई राख्नुपर्छ। यहाँ संयमको व्यावहारिक लाभ स्पष्ट छ। तर के संयम मुक्ति हो? संयमसम्म मात्र अध्यात्मवादीहरूलाई – १२४ संयम रहेको भए – सीमा बन्धनमा उनीहरूले आफूलाई पनि राखेको भए– भौतिकवादी र आत्मवादीमा कुनै फरक रहने थिएन। संयम होइन, मुक्ति पो अध्यात्मवादीहरूको लक्ष्य छ।”

अध्यात्मवादका सम्बन्धमा बीपी र किसुनजीबीचको फरक यही हो।

बीपीको अध्यात्मतर्फका प्रश्नहरू त्यस्ता भए पनि राजनीतिमा नैतिकता उहाँको प्रिय विषय थियो। आफ्नो प्रजातान्त्रिक प्रतिबद्धताका लागि राजासँग न माफी माग्नुभयो न त त्यसबाट भागेर हिंड्नुभयो। दुवै अवस्थामा उहाँले भोग्नुपरेको यातना उहाँका लागि मात्र नभएर संघर्षरत सबैले भोगेकै थिए। बीपीको भनाइ थियो, “राजनीतिक कुरा पन्छाएर राखे पनि यदि हामी यातनालाई खप्न नसकेर माफी माग्न गयौं भने हाम्रो नैतिक भावनालाई यत्रो ठूलो आघात पर्नेछ कि जीवनपर्यन्त हामी आफैंलाई धिक्कारिरहनेछौं। असम्मानको जीवनभन्दा सम्मानयुक्त मृत्यु हामीलाई मन पर्छ। हाम्रो यो यातना सम्मानको रोजाइ हो। र, यदि राजनीतिक दृष्टिबाट विचार गर्ने हो भने पनि हाम्रो यो यातना ‘निष्प्रयोजनीय’ छ भन्न सकिन्न, किनभने लक्ष्य प्राप्तिका लागि खेपेको यातना कहिल्यै पनि विफल भएको छैन। कमसेकम प्रेरणाका रूपमा मानिसको हृदयमा त्यो बलिरहन्छ। भावी सन्तानलाई यदि हामी आफ्नो दुःख भोगाइले केही प्रेरणाको (रिक्थ) उत्तरलब्धि (इन्हेरिट्यान्स) छाड्न सक्यौं भने पनि के यातना सोद्देश्य भएन र?”

यो प्रस्टता गणेशमानजी तथा किसुनजीमा पनि उत्तिकै देखिन्छ।

किसुनजी सफल प्रशासक पनि हुनुहुन्थ्यो। पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको हालै प्रकाशित आत्मकथा सूर्यास्त–विम्बमा नेपालमा संसदीय प्रणाली स्थापनार्थ सभामुखका रूपमा किसुनजीले खेलेको भूमिकाबारे लेखिएको छ। २०१७ पुस १ गते संसद् विघटन हुँदा यो १५ महिना जति मात्र चलेको थियो। तर नेपालको संसदीय प्रणालीको विकासमा यो अवधि कोशेढुंगा नै सावित हुन पुग्यो। सूर्यप्रसाद, जसले तत्कालीन विकास मन्त्रालय तथा संसद् सचिवालयबाट राष्ट्रसेवा शुरू गर्नुभयो, भन्नुहुन्छ “आजपर्यन्त त्यही वेलाका संसदीय कार्यविधिहरू अनुरूप संसद् चलिरहेका छन्। त्यस समय बेलायती र भारतीय संसदीय मोडेल पछ्याइएको थियो र त्यही अनुरूप अध्ययन गरेर कार्यविधिहरू तयार पारिएका थिए। किनभने बेलायतको संसद् संसारकै उदाहरणीय मानिन्थ्यो। भारतसँग चाहिं हाम्रा धेरै कुरा मिल्दाजुल्दा थिए र संसदीय परम्परामा भारत पनि अभ्यस्त मानिन्थ्यो।”

सूर्यप्रसादजीको भनाइमा, सभामुखका रूपमा किसुनजी हास्यचेत भएको जोशिलो युवा हुनुहुन्थ्यो। प्रतिनिधि सभामा कुनै तनावपूर्ण अवस्था देखिंदा उहाँले त्यसको सहज निकास निकाल्नुहुन्थ्यो। “उहाँ जस्तो प्रभावशाली सभामुख मैले त्यसयता देखेकै छैन। उहाँमा संसद् सञ्चालन गर्ने क्षमता र कौशल प्रचुर मात्रामा थियो।”

अन्तरिम प्रधानमन्त्रीका रूपमा पनि २०४७ सालको संविधान जारी गराउन गणेशमानजी र किसुनजीको अग्रणी भूमिका थियो। उहाँको विशिष्ट गुण नभएको भए न राजा प्रजातान्त्रिक शक्ति तथा वामपन्थीबीच राष्ट्रिय एकता सम्भव हुन्थ्यो न त यसपूर्वको जनआन्दोलनको व्यवस्थापन नै।

किसुनजीको दृष्टिमा बीपी संवेदनशील मस्तिष्क भएको मान्छे भएकाले जहिले पनि दुई वटा कुरा विचार गर्नुहुन्थ्यो। राजाप्रति बीपीको ठूलो आदर र स्नेह थियो। राजाले पनि उहाँलाई साँच्चिकै आवश्यक व्यक्ति मान्थे। किसुनजीको स्पष्टोक्ति छ, “राष्ट्रियताको जहाँसम्म सवाल थियो, उहाँले मृत्युशय्याबाटै त इन्डियाले मसँग होशियार हुनुपर्छ, बीपी कोइराला अरू नेपाली जस्तो होइन, म नेपालमाथि थिचोमिचो गरेको सहन र हेर्न सक्दिनँ, ‘इन्डिया बी अवेयर विथ बीपी कोइराला’ भनेर विज्ञप्ति नै निकाल्नुभयो।”

परराष्ट्र नीतिमा उहाँ नेपालको गौरव के गरी बढ्छ, यसको सार्वभौमिकता कसरी अझ चुलिन्छ भन्ने बरोबर सोच्नुहुन्थ्यो। त्यसैले बीपीको अन्तर्राष्ट्रिय सम्पर्क व्यापक थियो। किसुनजीले डा. राजेश गौतमलाई भन्नुभएको रेकर्डमै छ, “मलाई महेन्द्रले एक पटकको भेटमा भन्नुभएको पनि हो, होइन कृष्णप्रसादजी, यतिका राजदूतावास खोलेर, देशहरूसँग सम्पर्क गरेर के फाइदा? जबकि उनीहरूकहाँ हामी खोल्नै सक्दैनौं। हाम्रो पैसाले भ्याउँदैन।” तर बीपी सानो मुलुकका लागि दूतावास किन जरूरी छ भन्नेमा प्रस्ट हुनुहुन्थ्यो। विडम्बना के भने, राजा महेन्द्र र वीरेन्द्रले बीपीलाई बुझ्न सकेनन्।

किसुनजीले आफ्नो राजनीतिको प्रेरणाको स्रोत कसैलाई मान्नुभएन। उहाँ आफ्नो चेतना र सम्पर्कले राजनीतिप्रति आकर्षित भएको मान्नुहुन्थ्यो। केही महात्मा गान्धी, केही नेपोलियन, केही बीपी र केही गणेशमानका विचारबाट आफू प्रभावित भएको उहाँको कथन थियो। उहाँको भनाइ थियो, “यो भन्दा अहिले कतिलाई मन नपर्ला, तर कुरा के भने, मलाई पूर्ण रूपले एक जनाले मात्र प्रेरणा दिने काम भएन। किनभने मलाई यति ज्ञान शुरूदेखि नै रह्यो कि मानिस पूर्ण कहिल्यै पनि हुँदैन, र यदि मानिस पूर्ण भयो भने त्यो भगवान् हुन्छ। दुनियाँमा कोही पनि भगवान् बन्न सक्दैन। ऊ अजन्मा हो र ऊ नै सर्वशक्तिमान् छ। त्यस निम्ति मेरो प्रेरणाको स्रोत म नै हुँ।”

यति भन्दाभन्दै बीपीबारे उहाँ भावमय देखिनुहुन्छ। बीपी उमेर नपुग्दै जानुभयो। किसुनजी प्रारब्धलाई मान्नुहुन्थ्यो। बीपीको व्यक्तित्वबारे उहाँको टिप्पणी थियो, “उहाँ जानुभयो, उहाँले गर्न बाँकी काम हाम्रो बुद्धिले भ्याएसम्म गर्छौं। त्यति हामीले गर्नुपर्छ। तर कुरा के भने, बोकाले दाइँ हुने भए गोरु किन चाहियो?”

नेपाली कांग्रेसका तत्कालीन कार्यकारी सभापति सुवर्णशमशेरको २०३४ कात्तिकमा निधन भएपछि मुलुकमा निरन्तर जारी रहेको प्रजातान्त्रिक आन्दोलनमा किसुनजीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो। त्यसपछिको लगातार चौध वर्ष अर्थात् २०४८ सालसम्म उहाँ कांग्रेसको कार्यवाहक सभापति रहनुभयो। झापामा सम्पन्न पार्टीको आठौं महाधिवेशनले उहाँलाई पुनः पार्टीको सभापतिमा छनोट गर्‍यो। यति लामो अवधि नेपाली कांग्रेसको सभापति रहेका किसुनजीले आफ्नो जिम्मेवारी बिसाउन बीपी कोइराला, गणेशमान सिंह वा आफ्नै जस्तो काँध भने पाउनुभएन। पहिलो संविधानसभा मार्फत राजतन्त्र उन्मूलन गरेपछि २०६४ असोज ९ गते किसुनजीले नेपाली कांग्रेस त्याग गर्नुभयो। २०६७ फागुन २० मा उहाँले देहत्याग गर्नुभयो। त्यससँगै ‘इन्करिजिबल अप्टिमिस्ट’ सँगै नेपाली कांग्रेसको स्थापनाकालीन आदर्शको अन्तिम संस्थापकको पनि अन्त्य भयो।

(स्व. बीपी कोइरालाको ४२औं स्मृति दिवस तथा नेता कृष्णप्रसाद भट्टराईको जन्म शताब्दीको अवसरमा दुवै पूर्व प्रधानमन्त्रीहरूका बारेमा काठमाडौं विश्वविद्यालय स्कूल अफ लका प्राध्यापक विपिन अधिकारीको आलेख)


स्व. बीपी कोइराला बन्दी अवस्थामा हुँदा भएको स्वतन्त्रता सेनानी प्याट्रिस लुमुम्बाको हत्या एउटा सन्सनीपूर्ण घटना थियो। उनको हत्याले बीपीलाई अत्यन्त उदास बनाएको देखिन्छ। बीपीसँगै सुन्दरीजलमा बन्दी अवस्थामा रहेका सबैको मनमा यस हत्याले ठूलो चोट पारेको र सबैलाई त्यो चोट व्यक्तिगत जस्तो गरी लागेको बीपीले जेल जर्नलमा उल्लेख गरेका छन् । उनको भनाइमा त्यो चोट कतिसम्म व्यक्तिगत लागेको थियो भने मानौं उनका साथीमध्ये नै कुनै एउटाको हत्या भएको होस्। ’हामी पनि कैदी भएकाले कांगोको कैदी प्रधानमन्त्री लुमुम्बाप्रति एउटा निकटतम भावना जागृत भएको छ’ – बीपी लेख्दछन्।

प्याट्रिस लुमुम्बा बीपीका समकक्षी कांगोली नेता थिए। बीपीभन्दा ११ वर्ष कान्छा भए पनि उनी त्यस क्षेत्रमा त्यत्ति नै प्रसिद्ध थिए, जति बीपी यस क्षेत्रमा प्रसिद्ध मानिन्थे। उनको लडाइँ प्रजातन्त्र प्राप्तिको लडाइँ मात्र थिएन। यो उपनिवेशवाद विरुद्धको लडाइँ पनि थियो। उनले बेल्जियमको एउटा उपनिवेशको रुपमा रहेको कांगोलाई एउटा स्वतन्त्र राज्यमा परिवर्तन गर्न ठूलो भूमिका निर्वाह गरेका थिए। आफ्नो एजेण्डाप्रतिको दह्रो राजनीतिक समर्थनले गर्दा उनी सन् १९६० को जुनदेखि सेप्टेम्बरसम्म अफ्रिकाको कांगो गणराज्यका प्रधानमन्त्री भए। सम्पूर्ण अफ्रिकी जगतले उनीप्रति विश्वास र समर्थन देखाएको थियो। अतः वैचारिक रुपमा उनलाई अफ्रिकी राष्ट्रवादी पनि भनिन्छ। लुमुम्बा सन् १९५८ देखि जनवरी १९६१ मा उनको हत्या नहुञ्जेलसम्म कांगोली नेशनल मुभमेण्ट (एनएमसी) पार्टीका नेता थिए। यसको नेताकै रुपमा उनी प्रधानमन्त्री पनि भएका हुन्।

सुरुमा प्याट्रिस लुमुम्बा कांगोको औपनिवेशिक तन्त्र अन्तर्गत नै काम गरेका व्यक्ति हुन्। सन् १९५५ मा उनी स्टेनलेवीलेको सर्कल्स्को क्षेत्रीय प्रमुख पनि भए। त्यसपछि उनी बेल्जियमको लिबरल पार्टीमा सामेल हुन पुगे। उनले पार्टी साहित्यको सम्पादन तथा वितरण गरेको पनि देखिन्छ। सन् १९५६ मा बेल्जियमको एउटा अध्ययन भ्रमणपछि उनलाई हुलाकबाट २५०० डलर मोलाहिजा गरेको कसुरमा गिरफ्तार गरियो। उनलाई दोषी पाइयो र एक वर्षपछि १२ महिनाको कैद र जरिवानाको सजाय सुनाइयो। व्यक्तिका रुपमा लुमुम्बा उदार राजनीतिक प्रणालीका समर्थक मानिन्छन्। आफ्नो नियमित अध्ययनका अतिरिक्त लुमुम्बाले जीन–ज्याक्स रुसो र भोल्तेयरको ज्ञानोदयका आदर्शहरूमा रुचि लिएका थिए। उनी मोलियर र विक्टर ह्युगोका पनि पाठक थिए। उनले कविता लेखेका छन् र उनको कतिपय कार्यहरूमा साम्राज्यवाद विरोधी विषयहरू छन्। चर्को भाषण गर्ने तथा जनसमुदायलाई संगठनमा ल्याउने उनको कौशलले गर्दा साम्राज्यवाद विरुद्धको उनको आन्दोलन अघि बढ्न सकेको थियो।

संसारमा स्वतन्त्रताको आन्दोलन सधैँ सकारात्मक रुपमा उपलब्धिपूर्ण भएको देखिँदैन। सन् १९६० मा कांगो स्वतन्त्र हुने बित्तिकै त्यहाँ पनि तुरुन्तै सैनिक विद्रोह सुरु हुन जान्छ। बल्लबल्ल औपनिवेशिकताबाट उन्मुक्ति पाएको गरिब मुलुक कांगोलाई संकटमय बनाउन त्यो काफी थियो। यो विद्रोहसँगै कांगोको एउटा क्षेत्र कटाङ्गन कांगोबाट छुट्टिन प्रभावशाली रुपमा अघि बढ्यो। लुमुम्बाले बेल्जियम समर्थित ती कटाङ्गन विखण्डनकारीहरूलाई दबाउनका लागि संयुक्त राज्य अमेरिकालाई अनुरोध गरे। यसका साथै उनले संयुक्त राष्ट्र संघलाई पनि यो समस्यासँग जुध्न कांगोलाई सहयोग गर्न अपिल गरेका थिए। तर यी दुवै पक्ष त्यस्तो अनुरोधका प्रति उदासीन देखिएका थिए। खासमा पश्चिमी मुलुकहरूबीच कांगोमा भइरहेको परिवर्तनका बारेमा मात्र नभइ लुमुम्बाका बारेमा पनि शंका थियो।

स्वतन्त्रताको लडाइँमा लुमुम्बाको नेतृत्व प्रभावकारी भए पनि अधिकांश पश्चिमी मुलुकहरूलाई लुमुम्बा स्पष्ट रुपमा साम्यवादी विचारका नेता लागेका थिए। कांगोको परिस्थिति निरन्तर बिग्रँदै थियो। यसपछि लुमुम्बाले सोभियत संघलाई सहयोगका लागि अनुरोध गरे। शीतयुद्धको उक्त विषम अवधिमा यस घटनाले गर्दा लुमुम्बालाई साम्यवादी भन्नलाई उनका विरोधी तथा अन्य पश्चिमी मुलुकलाई थप आधार प्राप्त भएको देखियो। अमेरिकी गुप्तचर संस्था सिआइएले कांगोमा भएको परिवर्तनलाई ’क्लासिक कम्युनिस्ट उपार्जन’ का रुपमा वर्णन गर्‍यो। यसका कारण राष्ट्रपति जोसेफ कासावुबु र चिफ अफ स्टाफ जोसेफ डेसिरे मोबुतुका साथै संयुक्त राज्य अमेरिका र बेल्जियमका बीच पनि मतभेद बढ्न गए।

मोबुतुले सैन्य ’कू’ गरेपछि हतोत्साहित भएका प्याट्रिस लुमुम्बाले आफ्ना समर्थकहरूमा समावेश हुनका लागि कांगोको स्टेनलिविलबाट भाग्ने प्रयास गरे। उनले कांगोको मुक्त गणराज्य नामको एउटा नयाँ विरोधी मोबुतु प्रतिद्वन्द्वी राज्य स्थापना गर्ने प्रयास गरेका थिए। पछि उनलाई मोबुतु अन्तर्गत राज्यका शासकहरूले नै गिरफ्तार गरी नियन्त्रणमा लिए। यो कार्य कटाङ्गनका अधिकारीहरूको कमान अन्तर्गत एउटा फायरिङ स्क्वाडद्वारा सम्पादन गरिएको थियो। त्यसपछि उनको हत्या गरियो। यो हत्यापछि लुमुम्बालाई व्यापक रुपले प्यान–अफ्रिकी आन्दोलनका लागि एउटा सहिदका रुपमा हेर्न थालियो। धेरै पछि सन् २००२ मा आएर मात्र बेल्जियमले हत्यामा आफ्नो भूमिकाका लागि औपचारिक रुपमा माफी मागेको देखिन्छ।

कांगो स्वतन्त्र भएपछि जुन ३०, १९६० मा स्वतन्त्रता दिवसको एउटा समारोहको आयोजना गरिएको थियो। यसमा बेल्जियमका राजा बौदौइन समेत विभिन्न पदाधिकारीहरू आमन्त्रित थिए। सुरुमा लुमुम्बालाई बोल्ने मान्छेको सूचीमा राखिएको थिएन। तर उनले त्यहाँ भाषण गर्न पाए। लुमुम्बाको उक्त भाषणले के स्पष्ट ग¥यो भने कांगोको स्वतन्त्रता बेल्जियमले उदारतापूर्वक दिएको थिएन। त्यसमा उनको विचार के थियो भने कांगोले प्राप्त गरेको स्वतन्त्रता लडेरै जितिएको स्वतन्त्रता हो। यद्यपि बेल्जियमसँग सम्झौताका आधारमा उपरोक्त स्वतन्त्रताको घोषणा गरिएको थियो। कांगो र बेल्जियम आज समानताको आधारमा उभिएका छन्। तर कुनै पनि कांगोलीले यो स्वतन्त्रता लडेरै जितिएको हो भन्ने तथ्यलाई कहिल्यै पनि भुल्न सक्ने छैन। यो लडाइँ प्रतिदिनको लडाइँ थियो। यो लडाइँ उत्साही र आदर्शवादी लडाइँ पनि थियो। यो लडाइँ हामीले अभाव र पीडा दुवै खप्यौं । आफ्नो तागत र आफ्नो रगत मुलुकलाई दियौं। त्यसबाट स्वतन्त्रता प्राप्त भएको हो। अतः उनले भनेका थिए– ’यो एउटा महान र न्यायपूर्ण संघर्ष थियो र त्यो अपमानजनक दासतालाई समाप्त गर्न अपरिहार्य थियो, जो हामीउपर बलपूर्वक थोपरिएको थियो।’

लुमुम्बाको भाषणको तीक्ष्णताबाट त्यहाँ उपस्थित अधिकांश युरोपेली पत्रकारहरू स्तब्ध भएका थिए। पश्चिमी मिडियाले उनको भाषणको आलोचना गर्‍यो नै। टाइम पत्रिकाले उनको भाषणलाई ‘विषालु हमला’ पनि भन्यो। पश्चिमी मुलुकहरूमा कतिपय मान्छेलाई डर थियो कि लुमुम्बाको उक्त भाषण हतियारका लागि गरिएको आह्वान थियो, जसले बेल्जियम र कांगोको बीचको शत्रुतालाई पुनर्जीवित गर्नेछ र बेल्जियमको यो पूर्वउपनिवेशलाई अराजकतामा डुबाउने छ।

जुलाई २२, १९६० को एउटा अन्तरवार्तामा के तपाईं कम्युनिष्ट हो? भन्ने प्रश्नमा लुमुम्बाले भनेका थिए –’मप्रति लक्षित यो ‘प्रोपोगाण्डिस्ट ट्रिक’ हो। म कम्युनिष्ट होइन। साम्यवादीहरूले मुलुकभरि मविरुद्ध अभियान सञ्चालन गरेका छन्। म क्रान्तिवादी हुँ तथा उपनिवेशवादको अन्त्यको माग गर्दछु। जसले हाम्रो मानवीय आत्मसम्मानलाई उपेक्षा गरेको छ। उनीहरू मलाई कम्युनिस्टका रुपमा हेर्दछन्। किनकी मैले साम्राज्यवादीहरूको घुस खान अस्वीकार गरेको छु।’

लुमुम्बा आफूलाई राष्ट्रवादी भन्दथे। उनले आफूलाई न कम्युनिस्टका रुपमा स्वीकार गरे, न क्याथोलिक वा समाजवादीकै रुपमा। उनी सकारात्मक तटस्थताको सिद्धान्तमा विश्वास गर्दथे। मुलुक वा आफ्ना लागि के सही हो? त्यसबारे छनोट गर्ने अधिकार हामी आफैंसँग छ भन्ने मान्दथे।

प्याट्रिस लुमुम्बाको कटाङ्गामा भएको हत्या बीपीको भनाइमा– ’बन्दी अवस्थामा निर्ममताको पराकाष्ठा हो।’ पत्रपत्रिकामा पढेका आधारमा उनले बदलाको भावनाले प्रेरित भएर यो हत्याकाण्ड गरिएको उल्लेख गरेका छन्। हत्याको जघन्यतालाई स्पष्ट गर्दै बीपी लेख्दछन्– ’मलाई व्यक्तिगत रुपले पनि हत्या अत्यन्त जघन्य कुरा जस्तो लाग्छ। लडाइँको मैदानमा या यस्तै कुनै क्षणिक आवेगमा जोशाजोशको परिणाम स्वरुप कसैको मृत्यु हुन्छ, अथवा कुनै आदर्शका लागि जानीजानी कसैले मृत्युलाई अंगीकार गर्छ भने त्यस्तो अकाल मृत्युले त झन् जीवनलाई बढी समृद्धशाली पनि तुल्याउँछ। त्यसमा हिंसा रहँदैन, केवल बलिदान रहन्छ। मनुष्य जीवन त्यस्तो बलिदानले सार्थक हुन्छ।’

’लुमुम्बाको मृत्यु– यो हत्या केवल हिंसा भावनाको पराकाष्ठा हो। यो हत्या निरर्थक मात्र नभएर यसले जीवनलाई अकिञ्चन बनाउँछ। आजको मानव जीवन मानौं विष–वाटिकामा हुर्कने प्रयत्न गरिरहेको छ। लुमुम्बाको हत्याले मानवताले फेर्ने वायुलाई दुषित पार्न यो विष–वाटिकामा अर्को विष वृक्ष रोपियो। यो अकल्याण छ मानव जातिका लागि। म उसको पत्नीलाई सम्झिन्छु। उसलाई मैले देख्या, न जान्या; तर उसको रोएको अनुहार राष्ट्र संघका प्रतिनिधि दयालसँग छ/सात माइल पैदल हिँडेर अस्तव्यस्त क्लान्त भएको शरीर मानवताको अहिलेको वर्तमान साकार मूर्ति जस्तो लाग्छ। मलाई सबैभन्दा ठूलो ममता बालक र स्त्रीका प्रति छ। लुमुम्बाकी पत्नीले यतिका लागि मात्र गुहार मागेकी छ, पतिको शव मैले पाउँ।’ यो भनाइलाई उद्धृत गरेर बीपीले निर्ममताको पराकाष्ठातर्फ इंगित गरेको देखिन्छ।

मीठो बोली, सरल जीवन, बृहत् अध्ययन, स्वतन्त्र चिन्तन तथा विवेकको राजनीतिले नेपाली समाजमा प्रदीप गिरिको विशिष्ट पहिचान बनाएको छ।

२०६५ चैतमा भाइ मनोज बरालको छोराको व्रतबन्धको पार्टी थियो। त्यहाँ सिरहा, बस्तीपुरका धेरै निम्तालुहरू सम्मिलित थिए। प्रदीप गिरि चाहिं आइसक्नुभएको थिएन। तर, एउटा टेबल वरिपरि बसेका हामीले उहाँबारे निकै बेर कुरा गर्‍यौं। चाहे जीवनको कुरा होस् वा जगत्‌को, प्रदीप दाजु एउटा निरपेक्ष ‘रेफरेन्स’ हुनबाट कसैले रोक्न सक्दैन।

निकै ढिलो भएपछि मेरो मामा देवेन्द्र ढकाल (प्रदीप गिरिका एक प्रशंसक) ले आफ्नो घडीतिर हेर्दै भन्नुभयो, “उहाँको कार्यक्रम अझै सकिएको छैन जस्तो छ। स्रोताले सजिलै उम्किन दिँदैनन्। उहाँको त्यस्तै हो।” 

मैले ठट्टा गरें, “नयाँ कुरा त प्रदीप दाजुले केही गर्नुहुन्न। सधैं उही पुराना मान्छे, पुरानो कथा, पुरानो सन्दर्भ। तर, किन होला उहाँप्रतिको आकर्षण कहिल्यै घट्दैन?” मामाको टिप्पणी सहज थिएन। उहाँको भनाइमा ‘रेफरेन्स’ पुरानो भएर के भयो र? प्रदीप दाजुको वैचारिक धरातल सधैं नवीन नै छ। यो गहिरो विचार विमर्श थिएन। ककटेल पार्टीको रमाइलोमा गरिएको उहाँलाई स्नेह गर्ने भाइभतिजा, आफन्त तथा गाउँलेहरूको हलुको टीका-टिप्पणी मात्र थियो।

तर, मामाले यो कुरा केही दिनभित्रै प्रदीप दाजुकहाँ पुर्‍याइसक्नुभएछ। ‘तपाईं त ओल्ड वाइन इन न्यू बाटल हो अरे। अब के भन्नुहुन्छ?’ प्रदीप दाजुको टिप्पणी थियो, ‘विपिनले ठीक कुरा गरे। म नयाँ ‘लिटरेचर’ हरूका सम्बन्धमा नयाँ नै छु।’ बेलुका उहाँको फोन आयो। ‘तिमी कुन कुन पुस्तकहरू सिफारिश गर्छौ? मलाई भन त।’ 

वास्तवमा मलाई लाज पनि लाग्यो। किनभने, मैले गरेको टिप्पणीमा अतिशयोक्ति थियो। त्यो न्यायोचित हो भन्ने दृष्टिकोणमा भनिएको पनि थिएन। तर, प्रदीप दाजुको विनयशीलताको एउटा सामान्य उदाहरण मात्र हो। प्रदीप दाजुको ‘पपुलर डिस्कोर्स’ मा हजारौं लेख, टिप्पणी वा मन्तव्य आएका छन्। तिनमा कहिल्यै पनि रोबर्ट डाह्ल, सामुयल हन्टिंगटन, जारेड डायमन्ड, हेनरी किसिन्जर, नोम चोम्स्की जस्ता लेखकहरूको विचार वा प्रसङ्ग आएको देखिँदैन।

संसारमा सार्वजनिक बौद्धिकहरूको संख्या पनि ह्वात्तै बढेको छ। फ्रान्सिस फुकुयामा र त्यसपछिको पिंढी झनै लोभलाग्दो छ। उहाँले नपढेको वा नदेखेको पक्कै होइन। यसै क्षेत्रका पण्डितहरू जस्तो हिजोका रमण महर्षि वा श्रीराम शर्मा आचार्य वा आजका अमर्त्य सेन पनि त उहाँको डिस्कोर्समा देखिँदैनन्। यस्तो किन होला भन्ने एउटा सामान्य कौतूहल मात्र थियो मेरो। यद्यपि, म कवि टीएस एलियटले कतै लेखेको सम्झिन्छु- मलाई पश्चिमा दार्शनिकहरू पूर्वीय दार्शनिकहरूका अगाडि ‘स्कूल ब्वाइज’ मात्र लाग्दछन्। त्यसो भन्ने हैसियत प्रदीप दाजुसँग पनि थियो भन्ने मान्दछु।

वास्तवमा प्रदीप गिरि असाध्यै चाँडो पढ्ने र हात्तीको जस्तो सम्झना शक्ति भएको व्यक्ति हुनुहुन्थ्यो। लेखपढ गर्न उहाँलाई विशेष सुविधा चाहिंदैनथ्यो। आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण, राममनोहर लोहिया तथा बीपी कोइरालाको जीवन, सिद्धान्त तथा दृष्टिकोणबाट उहाँको सैद्धान्तिक राजनीतिक यात्रा शुरू भएको हो। उनीहरूका पुस्तक, लेख तथा भाषणहरू उहाँलाई लगभग कण्ठै देखिन्थ्यो। जयप्रकाश नारायणको विद्वत्ता तथा राममनोहर लोहियाको मार्क्स, गान्धी एन्ड सोसलिज्म (१९६३) उहाँको कुरा सुन्दा पटक पटक सन्दर्भमा आउँथ्यो। बुद्ध दर्शन र गान्धीको सोचबाट उहाँका दृष्टिकोणहरू क्रमशः विस्तारित भएका देखिन्छन्। 

रुसको अक्टोबर क्रान्ति, लेनिनको संघर्ष, ट्रट्स्कीको जीवन र मान्यता, पोल्यान्डकी मार्क्सवादी रोजा लुक्सम्बर्ग, जर्मनीका एड्वर्ड वर्नस्टाइन जस्ता दर्जनौं पश्चिमाहरूका मूल्य-मान्यताहरू यस क्षेत्रको सामाजिक तथा आर्थिक परिस्थितिका आधारमा उहाँ निरन्तर व्याख्यारत रहनुहुन्थ्यो। यस टिप्पणीकारले गान्धी वा विनोवा भावेको सर्वोदयको अवधारणा लगायत ती सबै लेखक वा चिन्तकहरूबारे केटाकेटीमै उहाँले गाउँका वयस्कहरूमाझ बोलेको सुनेको हो।

स्वयं गान्धीले ‘सर्वोदय’ भन्ने शब्द अंग्रेजीका लेखक जान रस्किनको अन टु दिस लास्ट पुस्तक पढेपछि निर्माण गरेको हो भन्ने मानिन्छ। तर, अहिले आएर मलाई लाग्‍छ, प्रदीप दाजुको राजनीतिक मूल्य-मान्यतामा उहाँको इतिहास तथा साहित्यको ज्ञान नथपिएको भए उहाँ एउटा चिन्तकका रूपमा त्यति धेरै प्रभावशाली हुनुहुन्नथ्यो होला। यी दुवै विषयले उहाँलाई चिन्तक प्रदीप गिरि बनाएको हो। 

राजनीतिसँग ‘पावर’ (शक्ति)को पक्ष जोडिएको हुन्छ। सामान्यतः शक्ति प्राप्त गर्ने लालसा छैन भने राजनीतिमा कोही पनि होमिंदैन। धेरै कम मान्छेहरू मात्र अपवादका रूपमा लिन सकिन्छ। त्यसमध्येको सबैभन्दा बलियो उदाहरणका रूपमा गान्धी छन्। जो समग्र परिवर्तनको अवधारणा राख्थे। राजनीति यसको एउटा पाटो मात्र थियो। गान्धी जस्तै प्रदीप गिरि वास्तविक राजनीतिक शक्तिको आकांक्षा नभएको एउटा आदर्शवादी, मानवतावादी तथा अध्यात्मवादी नेता हुन पुग्नुभयो। शासन र शक्ति प्राप्त गर्ने कुनै चाहना नै भएन उहाँको जीवनमा। उहाँको व्यक्तित्व तथा विचार, धर्म तथा राजनीति, रहस्यवाद, व्यवहारवाद तथा यस क्षेत्रको प्राचीन दर्शन तथा अर्वाचीन पाश्चात्य दर्शनको विशिष्ट सम्मिश्रणका रूपमा देखिन थाल्यो।

आफ्नो आस्था तथा विचारको ‘लेबोरेटरी’ का रूपमा गान्धीले जस्तै प्रदीप गिरिले पनि आश्रम सञ्चालनको प्रक्रियामा प्रवेश गर्नुभएको स्पष्ट देख्न सकिन्छ। नेपालका कुनै राजनीतिकर्मीले पनि यस प्रकारको प्रयोग गरेको देखिदैन। सन् १९१४ मा महात्मा गान्धी दक्षिण अफ्रिकाबाट भारत फर्किए। त्यसपछि गोपालकृष्ण गोखलेसँग उनको सम्पर्क भयो। तर, सन् १९१५ मै गोखलेको देहान्त भयो। यसपछि सावरमतीमा गान्धीले सत्याग्रह आश्रमको स्थापना गरे।

केही वर्ष उनको काम-कारबाही सामाजिक र आर्थिक क्षेत्रमा सीमित थियो। उनले चम्पारणमा यूरोपेली जमीनदारहरूका विरुद्ध किसानहरूको नेतृत्व गरे। अहमदाबादमा मिल मालिकहरू विरुद्ध मजदूर हडताल गराए। गुजरातको खेदामा साहु-आसामी सम्बन्धलाई मानवीय बनाउन किसान आन्दोलन सञ्चालन गरे। यस वेलासम्म गान्धी ब्रिटिश सरकारको सहयोगी नै देखिन्थे। सन् १९१९ लागेपछि उनको असहयोग प्रष्ट हुँदै गयो। आश्रम एउटा ‘इन्स्टिट्यूशन’ थियो। यहाँबाट उनको राजनीतिक यात्रा शुरू भएको थियो। 

प्रजातन्त्र र समाजवाद प्रदीप गिरिका चिन्तनका सर्वोपरि लक्ष्य देखिन्छन्। खास गरी यस क्षेत्रमा समाजवादको सिद्धान्त तथा प्रयोगमा देखिएको विशिष्टतालाई उहाँले निकै राम्रोसँग व्यक्त गर्न सक्नुहुन्थ्यो। पुरानो कुरा गर्दा, सबैभन्दा पहिले प्लेटोले द रिपब्लिक पुस्तकमा सम्पत्ति तथा परिवारको साम्यवादी रूप प्रस्तुत गरेको पाइन्छ। मध्यकालीन रोममा धार्मिक समाजवादी व्यवस्थाको उदाहरण पनि छ। अठारौं तथा उन्नाइसौं शताब्दीमा सेन्ट साइमन, फोरियर, ओवेन तथा सर थोमस मुरले समाजवादी धारणामा ठूलो लगानी गरे।

सन् १८३३ मा लन्डनबाट प्रकाशित हुने पुअर म्यान्स गार्जियन पत्रिकाले पहिलोपल्ट समाजवाद भन्ने शब्दको प्रयोग गरेको हो। तर, यसलाई आधुनिक तथा वैज्ञानिक रूप कार्ल मार्क्सले नै दिएका हुन्। उनले नै आर्थिक व्यवस्था इतिहास तथा समाजका रूपमा निर्णायक हुन्छ तथा प्रत्येक युगको आर्थिक व्यवस्थाबाट नै त्यस युगको सभ्यता, संस्कृति, दर्शन, राजनीति र सामाजिक व्यवस्थाका आधारहरू तय हुन्छन् भन्ने मान्यता स्थापित गरेका हुन्। 

निश्चय पनि प्रदीप गिरि यूरोपेली मात्र नभई भारतीय समाजवादीहरूको प्रभावबाट मुक्त हुनुहुन्नथ्यो। तथापि, अन्ततः उहाँको सोच गान्धीको प्रयोगपट्टि नै उन्मुख थियो। जसरी गान्धी स्वराज वा रूपान्तरणको कुरा गर्दा कुनै परिवार, समाज, देश वा क्षेत्रको राजनीतिक परिचयबाट बाँधिन चाहँदैनथे, प्रदीप गिरिमा पनि त्यही नै सूत्रले काम गर्दथ्यो। जात, धर्म, वर्ण, लिङ्गदेखि मुलुकहरूबीचको राजनीतिक परिचय पनि उहाँका लागि महत्त्वपूर्ण थिएनन्। 

प्रदीप गिरि सिरहा, बस्तीपुरका बालकथाहरूमा बारम्बार आउने नाम हो। सानैदेखि उहाँ तीक्ष्ण बुद्धिको मानिनुहुन्थ्यो। लेखपढ गर्ने कुरामा उहाँ सधैं अगाडि देखिनुहुन्थ्यो। केटाकेटीमै आफ्नी हजुरआमा (गाउँकी कान्छी मुखिनी आमा)लाई रामायण र महाभारत सुनाउँदा सुनाउँदै उहाँ ती दुवै ग्रन्थमा पोख्त हुनुभयो।

गाउँघरका पण्डितहरू उहाँको अगाडि पूजाआजा गराउन डराउँथे। गल्ती समाउँछ कि भन्ने त्रास हुन्थ्यो। संस्कृतमा उहाँको दह्रो पकड हुन पुग्यो। आफ्ना बुबा मित्रलाल गिरिको सङ्कलनमा भएका अनगिन्ती पुस्तकहरू खोल्ने, पढ्ने बानी उहाँलाई सानैदेखि लाग्यो। अंग्रेजीमा पनि उहाँको राम्रो दखल थियो। आफ्ना बुबा मित्रलाल तथा एकापरिवारका काका रुद्रप्रसाद गिरिबाट उहाँले नेपाली कांग्रेसको पृष्ठभूमि प्राप्त गर्नुभयो। अर्का काका तुलसी गिरिको जस्तै वाक्पटुता पनि उहाँमा देखिन्थ्यो। 

यति हुँदाहुँदै पनि युवा प्रदीप गिरिले राजनीति बीपी कोइरालाबाटै सिक्नुभयो। उहाँ बीपीभन्दा करीब ३० वर्ष कान्छो हुनुहुन्थ्यो। मूलतः बीपीको व्यक्तित्व, विचार, पठनपाठन, तार्किकता तथा राजनीतिबाटै उहाँले आफ्नो दार्शनिक व्यक्तित्व निर्माण गर्नुभएको भन्दा अन्यथा हुनेछैन। चाहे साहित्य होस् वा अर्थशास्त्र, प्रजातन्त्र होस् वा समाजवाद, उहाँले आफ्नो जीवनमा बीपीको जति कसैको नाम लिएको देखिंदैन। बीपी बाँचुन्जेल उहाँ बीपीको ‘क्रिटिक’ कै रूपमा देखिनुभयो।

विभिन्न समसामयिक विषयवस्तुहरूमा उहाँले बीपीलाई प्रश्न गरेको पाइन्छ। तथापि, बीपी विचारका क्षितिज बाहिर उहाँलाई कहिल्यै देखिएन। जीवनको उत्तरार्द्ध त उहाँले बीपीकै आदर्शको सङ्कलन तथा लेखनमा बिताउनुभएको देखिन्छ। तथापि, बीपी र प्रदीप गिरिका बीचमा रहेको मूल वैचारिक खाडल उल्लेख गरिनु यहाँ प्रासङ्गिक हुन्छ। यसको चुरो राष्ट्रवाद सम्बन्धी धारणामा छ। 

युवा उमेरका बीपी कोइरालाका कतिपय भनाइबारे राम्रो अध्ययन अनुसन्धान हुन पाएको छैन। कोइराला आफैं एउटा विशिष्ट किसिमको परिवेश, परिस्थिति र समयमा जन्मिएको, हुर्किएको र प्रशिक्षित नेता हुनुहुन्थ्यो। नेपालमा वैधानिक सुधार वा परिवर्तनको राजनीति शुरू गरे पनि हिन्दुस्तानमा आधारित उहाँको काम-कारबाहीहरू विभिन्न रूपमा काँचो उमेर, हिन्दुस्तानी सत्ता तथा परिवेशको प्रभावमा थिए भन्ने विषयलाई प्रदीप गिरिले व्यावहारिक भएर हेरेको देखिंदैन। उहाँ बीपीमा हिन्दुस्तानदेखि अलग नेपाली राष्ट्रवादको स्वतन्त्र चेतना नभएको नै देख्नुहुन्थ्यो।

प्रदीप दाजुसँग नजिक भएका जोसुकैले पनि बीपीले राष्ट्रिय कांग्रेसको उद्घाटनमा नेपाललाई भारतीय महाद्वीपको अभिन्न अङ्ग भन्नुभएको कुरा दोहोर्‍याएको सुनेको हुनुपर्छ। त्यसै गरी बीपीले कलिलो उमेरमा ब्रिटिशहरू विरुद्धको कारबाहीमा भारतमा जेल पर्दा तात्कालिक राणा शासनमा नेपालतर्फ सुपुर्दगी (एक्स्ट्राडिसन) नगरोस् भनेर भारतमा जन्मिएको, हुर्किएको भनेर अदालतमा प्रत्युत्तर दर्ता गरेको प्रसङ्ग पनि हो। यो दोस्रो भनाइ पनि प्रदीप दाजु बीपीका सम्बन्धमा दोहोर्‍याउन मन पराउनुहुन्थ्यो।

त्यसै गरी बिरामी छँदा उपचारका लागि विदेश जान नेपाल सरकारबाट राहदानी उपलब्ध हुन नसकेपछि भारत सरकारसँग परिचयपत्र लिई विदेश गएको भन्ने विषय पनि प्रदीप दाजु उठाउन मन पराउनुहुन्थ्यो। यसबाट बीपीको क्रमश: विकशित हुँदै गएको राष्ट्रवाद अवसरवाद हो भन्नेतर्फ उहाँको दलिल स्पष्ट देखिन्छ। यी सबै उदाहरणमा प्रदीप दाजुले तिनको स्वाभाविक अर्थ भन्दा बढी बुझ्न खोजेको देखिन्छ। निश्चित रूपमा उहाँसँग यी तीनवटै विषयमा असहमत हुने प्रशस्त आधारहरू छन्।

त्यस्तै, बीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई प्रदीप गिरिले एउटा रणनीतिका रूपमा मात्र व्याख्या गर्नुभएको देखिन्छ। आफ्नो सैद्धान्तिक असफलतालाई नवीनता दिंदै राजनीतिमा बीपी रणनीतिक भई मेलमिलापको कुरा गर्नुभएको हो भन्ने कुरामा उहाँ सधैं जोड दिनुहुन्थ्यो। आफूलाई कट्टर गणतन्त्रवादी भनी पछि मात्र चिनाउनुभएका गिरिले बीपीद्वारा घोषणा गरिएको मेलमिलापको सैद्धान्तिक आधार (अर्थात राष्ट्रियता खतरामा छ तथा देशको सुरक्षाका लागि पनि राजासँग सहकार्य जरुरी छ भन्ने कुरा) लाई कहिल्यै स्वीकार गर्नुभएन।

गत वर्ष भने उहाँले आफ्नो विचार केही परिष्कृत गर्नुभएको देखिन्छ। उहाँले कोइरालाको राष्ट्रिय मेलमिलाप जे भए पनि राजा वीरेन्द्रलाई चढाइएको बिन्तीपत्र थिएन, संघर्षको गान्धीवादी शैलीको यो एक उदाहरण थियो, यो सत्याग्रह थियो भनेर आफूलाई संशोधन गर्नुभएको देखिन्छ। राष्ट्रवादबारे बीपीको दृष्टिकोणलाई उहाँले बाँचुन्जेल स्वीकार गर्नुभएन। जनमतसंग्रहको घोषणालाई बीपीले आफ्नो राष्ट्रिय मेलमिलापको आह्वानको राजनीतिक उपलब्धिका रूपमा लिएकोमा गिरिको आपत्ति थियो।

त्यस्तै, जनमतसंग्रहको तात्कालिक कारण भएको विद्यार्थी आन्दोलनबारे बीपीका शङ्काहरू गिरिलाई आधारविहीन लाग्थे। नेपालको राष्ट्रियतालाई कहाँबाट कसरी खतरा आयो? बीपीले जानीजानी स्पष्ट हुन नखोजेको हो भन्ने कुरा उहाँले निरन्तर भनी नै रहनुभयो। गणेशराज शर्माद्वारा सम्पादित राजा, राष्ट्रियता र राजनीति (२०६३) उहाँले प्रशस्त पढेको तथा टिप्पणी गरेको पुस्तक हो। तर पनि, उहाँले बीपीमा स्पष्टता देख्नुभएन। उहाँले लेख्नुभएको छ, ‘कुनै पनि जनआन्दोलनले राजा र उहाँको समझदारीबाट हुने संवैधानिक विकासलाई बाधा पुर्‍याउँछ भन्ने उहाँको (बीपीको) आकलन थियो।

अहिले नेपालमा हुने सबै आन्दोलनमा नेपालीभन्दा पनि विदेशीको हात हुन्छ भनेर उहाँले बारम्बार भन्न थाल्नुभयो। नेपाली राजनीतिमा आमजनताको पहल बडो थोरै छ, जो प्रभाव छ, विदेशीको छ भन्ने उहाँको ठहर थियो। यो सही विश्लेषण थिएन। तर, यति नभन्दासम्म उहाँको राष्ट्रियता खतरामा छ भन्ने तर्कको पुष्टि हुँदैनथ्यो।” प्रदीप गिरिको यो व्याख्या अनुचित छ। यससँग सहमत हुन सकिने आधारहरू कतै देखिंदैन। 

तर, अधिकांश विषयहरूमा प्रदीप दाजुका टिप्पणीहरूले नेपाली कांग्रेसलाई बलियो बनाएको छ भन्नेबारे शङ्का छैन। हामी सानो छँदाको कुरा हो। ओखलढुंगा अपरेशन असफल हुन पुगेको थियो। क्याप्टेन यज्ञबहादुर थापालाई पञ्चायत सत्ताले सिरहा कमला नदीको किनारमा झुन्ड्याएर हत्या गरेको थियो। उहाँलाई ओखलढुंगाको चिशंखुबाट गिरफ्तार गरिएको थियो। त्यस्तै, बस्तीपुर हाइस्कूलबाटै पढेका राम पौडेल र लक्ष्मण पौडेललाई पनि ओखलढुंगाकै टिम्बुरबोटे जङ्गलमा सेनासँगको दोहोरो भिडन्तमा भन्दै गोली ठोकी मारिएको थियो।

भारत, फारबिसगञ्जमा स्थापना गरिएको नेपाली कांग्रेसको लडाकू क्याम्पमा राम र लक्ष्मण दुवैलाई हातहतियार चलाउन सिकाइएको थियो। क्याप्टेन यज्ञबहादुर दोस्रो विश्वयुद्धमा नेपाली सेनाका तर्फबाट ब्रिटिश सेनाका लागि जापान विरोधी मोर्चामा हवल्दारका रूपमा लडेका मान्छे थिए। तर, राम र लक्ष्मण उमेर नपुगेका कलिला युवा थिए। उनीहरूको हत्या गाउँका लागि ठूलो शोकको विषय थियो।

प्रदीप दाजु आफैं पनि त्यस वेला सत्ताइस वर्षको मात्र हुनुहुन्थ्यो। तर, पूर्ण सुझबुझ सहितको उहाँको आलोचना थियो। बीपीको अपरिपक्व निर्णय तथा ब्याकअप प्लान तयार नभएकाले गर्दा ओखलढुंगा अपरेशन असफल भएको हो भन्ने उहाँको मूल्याङ्कन थियो। बीपीले यसका लागि हतार गर्नु हुँदैनथ्यो। वास्तवमा ओखलढुंगा काण्डले बीपीलाई पनि प्रशस्त सिकाएकै देखिन्छ। 

अधिकांश कोइरालाहरू प्रदीप गिरिबारे आश्वस्त भएनन्, थिएनन्। कोइराला नजिकका अन्य व्यक्तिहरू पनि गिरिलाई शङ्काकै नजरले हेर्थे। कतिपय गोप्य कुराहरू उहाँ मार्फत अन्यत्र पुगेको भन्ने पनि सुनिन्थ्यो। बीपी स्वयंले आफ्नो जीवनमा गिरिलाई धेरै महत्व नदिएको कतिपयको भनाइ छ।

वास्तवमा बनारस छँदा युवावयका प्रदीप गिरिलाई अन्य अपरिचित युवाहरूले नराम्रोसँग कुटपिट गरेका थिए। उहाँको दाहिने आँखा तल काटिएको घाउको खत जीवनपर्यन्त यसको प्रमाणका रूपमा रहेको थियो। उहाँलाई कसले र किन त्यति साह्रो कुट्नुपर्‍यो? त्यो कहिल्यै स्पष्ट भएन। आफ्नो अन्तिम दिनसम्म गिरि आफैंले पनि कसैलाई औंला ठड्याउनुभएन। तर, उहाँ कुटिएकोे हो भन्ने कुरा बस्तीपुरमा चर्चामा थियो। उहाँलाई नियन्त्रण गर्न खोजिएको थियो।

बीपी स्वयं प्रदीप गिरिका सम्बन्धमा राम्रो मूल्याङ्कन गर्नुहुन्थ्यो। तर, उहाँहरूबीच धेरै ‘एन्गेजमेन्ट’ भएका लेखौटहरू पाइँदैनन्। सन् १९६७ तिर बीपीकी आमाले प्रदीप गिरि तथा शैलजा आचार्यबीच प्रेम भएको तथा शैलजाले बिहे गर्ने चाहना गरेको सूचना बीपीलाई दिएको जेल जर्नलमा उल्लेख छ। त्यसमा बीपी हिरासतबाट मुक्त भएपछि मात्र बिहे गर्ने उनीहरूको इच्छा भएको बीपीले उल्लेख गर्नुभएको छ। बीपीले यो खबर पढेर खुशी मानेको देखिन्छ। प्रदीप असल केटा हुन् र बौद्धिक प्रकृतिका छन्। त्यसैले बौद्धिक प्रकृतिकी शैलजाका लागि पनि उपयुक्त छन् भन्ने उनको भनाइ छ।

तर, स्वभावका दृष्टिकोणले भने यी दुईबीच बिहेबारी टिक्न सक्दैन कि भन्ने उनमा संशय पनि छ। प्रायः बौद्धिक लोग्नेस्वास्नीहरू विवाहमा टिक्न गाह्रो हुने उहाँको सङ्केत देखिन्छ। प्रदीप गिरिपट्टिका मान्छेहरू यो विवाहबाट खुशी नभएको तारिणी कोइरालाले भनेको पनि त्यहाँ उल्लेख छ। तर, बीपीले आफैं चिठी लेखेर ‘रिस्क’ भए पनि तिमी बिहे गर भनी शैलजालाई लेखूँ भन्ने भावना आएको उल्लेख गरेका छन्। तर, त्यस वेला जेलमा रहँदा चिठी लेख्ने उनलाई अधिकार थिएन। शायद लेखेनन् पनि।

मीठो बोली, सरल जीवन, बृहत् अध्ययन, स्वतन्त्र चिन्तन तथा विवेकको राजनीतिले नेपाली समाजमा प्रदीप गिरिको विशिष्ट पहिचान बनाएको छ। असल बाबुआमाका सन्तान त उहाँ हुनुहुन्थ्यो नै। सम्पत्ति, पद र प्रतिष्ठाको तृष्णा लिएर उहाँले नेपाली समाज र राजनीतिलाई गर्नुपर्ने लगानीलाई कहिल्यै कम हुन दिनुभएन। संगठनतर्फ नलाग्नुभएको कारण राजनीतिको मोलाहिजामा उहाँको कुनै आकर्षण थिएन। एउटा चिन्तकका रूपमा उहाँको जीवन सबै नेपालीका लागि सधैं आदर्शमय रहनेछ।

कुरुक्षेत्रमा युद्ध शुरू गर्न नसकी किंकर्तव्यविमूढ बनेका अर्जुनलाई प्रेरित गर्दै कृष्णले ‘निष्काम कर्म’ बारे भन्छन्– 

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि।।

अर्थात् ‘कर्म गर्नुमा नै तिम्रो अधिकार छ, त्यसको फलमा होइन। यसैले फल पाउने दृष्टिले कर्म नगर र फलको आशा विना कर्म किन गरूँ भन्ने पनि नसोच।’ 

कृष्णका अनुसार, युद्ध क्षत्रियको प्रमुख कर्तव्य हो। युद्ध गरेर क्षत्रियहरूले आततायीबाट पीडितहरूलाई रक्षा गर्नुपर्छ। यो शुभ कर्म हो। कर्म गर्दै जाने हो। फलको आसक्ति राख्नु हुँदैन। परिणामबारे सोचेर कर्म गर्ने कुरामा कमी आउनु हुँदैन। 

कृष्णको उपदेश अनुसार कर्ममा मन लगाउने तथा यसको सफलता वा असफलता जे भए पनि समभाव राख्ने दृष्टिकोणले मात्र मनुष्यलाई निष्काम कर्मप्रति प्रेरित गर्दछ। यसैलाई कर्मयोग भनिन्छ। यो नै प्रकृतिको नियम हो। प्रकृति सधैं कर्मशील रहन्छ। अतः कृष्ण भन्दछन्, ‘न हि कश्चित् क्षणमपि जातु नितष्ठव्यकर्मकृत्।’ अर्थात्  कुनै पनि मान्छे कुनै पनि अवस्थामा क्षणभर पनि कर्म नगरी रहन सक्दैन; किनभने प्रकृतिले सबै प्राणीबाट प्रकृतिजन्य गुण कर्म गराउँदछ। बीपी कोइरालाको विचारमा गीताको यो कर्मयोग दर्शन खोक्रो छ। बीपीले यसलाई आध्यात्मिक तर्ककै आधारमा टिप्पणी गरेका छन्। 

बीपी भन्दछन्, “यस तर्कको उत्तरमा भन्न सकिन्छ कि असल कामको सम्पादनको उदाहरण किन नलिनु निष्काम कर्मको व्याख्या गर्दा? मलाई त्यसो हुनाले लाग्छ– मुख्य प्रश्न निष्काम कर्ममा सकाम कर्मको छैन, जति कि असल या खराब कर्मको विभेद निर्धारणमा छ। मुख्यतः प्रश्न नैतिक छ। समस्या छ– असल र खराबलाई छुट्याउने। गीतामा यसको उल्लेख छैन।”

अठारौं शताब्दीका जर्मन दार्शनिक एवं नीतिशास्त्री इम्मानुएल कान्टले ‘कर्म’ शब्दको साटो कर्तव्य शब्दको प्रयोग गरेर यस्तै मिल्दोजुल्दो अवधारणा अगाडि सारेका छन्। उनको ‘ड्युटी फर द सेक अफ ड्युटी’ भन्ने भावको तात्पर्य यही हो। कान्टको नीतिशास्त्र अनुसार, आन्तरिक रूपले एक शुभ सङ्कल्प नै शुभ कार्य हो। एउटा कार्य तब मात्र शुभ हुन सक्‍छ, जब कर्तव्य सम्झेर नैतिक नियमहरूको पालन गरिन्छ। कान्टको नैतिक नियमको संरचनाको केन्द्रबिन्दु सुस्पष्ट आज्ञा वा कर्तव्यादेश (क्याटेगरिकल इम्परेटिभ) हो, जो सबै मानिसमा उनीहरूको हित र इच्छालाई ध्यान नदिई समान रूपले लागू हुन्छ। यो दृष्टिकोण निष्काम कर्मको दर्शनभन्दा निकै फरक हो।

गीता अनुसार, निष्काम कर्ममा कामना प्रबल हुँदैन। कुनै पनि कर्ममा आफ्नो हित र स्वार्थ बलियो नहुनुको तात्पर्य मानवीय संवेदनाहरू सही एवं प्रबल रूपमा प्रकट हुन्छन्। यस्तो अवस्थामा व्यक्ति संवेदनशील हुन जान्छ। अपरिचितलाई सहयोग गर्नु, प्रकृतिको सेवा गर्नु, परमात्माको ध्यानमा बस्नु, भगवान्‌को पूजा गर्नु तर केही पनि नमाग्नु, कुनै दीनहीनलाई मद्दत गर्नु जस्ता थुप्रै काम छन्, जसबाट निष्काम भावनाको सिर्जना हुन्छ। मसिनो गरी हेर्दा यसबाट के अर्थ लाग्छ भने कर्मस्थलमा मनुष्य निमित्त मात्र हो, गर्ने/गराउने अरू नै छन्। आफूलाई केवल माध्यम सम्झिनुपर्दछ। अपेक्षारहित बस्नुपर्दछ। नाफा वा घाटाको विचार मनमा ल्याउन भएन। 

आफ्नो जेलजीवनको मूल्याङ्कन गर्दा बीपीलाई आफू जुन गम्भीर स्थितिमा छन्, जीवनका तात्त्विक प्रश्नहरूलाई राम्रोसँग विचार गर्न जरुरी रहेको लाग्दछ। उनी भन्दछन्, “मौलिक प्रश्न जीवनको छ गीताको कर्मयोग दर्शनका प्रति– निष्काम कर्म के परस्परविरोधी शब्दयुक्त उक्ति ‘कन्ट्रडिक्सन इन टर्म्स’ होइन र? कर्ममा किन कामना छैन भन्ने? कर्मको वाहक शक्ति (ड्राइभिङ फोर्स) कामना हो, जसलाई ‘प्यासन’ भने पनि हुन्छ। फल प्राप्तिको कामना या ठूलो चाहना शक्ति छ र यदि मानिलिऊँ, केवल बुद्धिलाई नै त्यो शक्ति या तत्त्व बनाउनुपर्छ, जसले कार्यमा हामीलाई अग्रसर गराओस् न कि फल प्राप्तिको कामनाले, तब प्रश्न आउँछ (यदि यो सम्भव भए पनि) किन? किन ‘प्यासन’ बाट सम्पन्न भएको काम बुद्धिबाट सम्पन्न भएको कामभन्दा गर्हित (निन्दित) छ? बुद्धिबाट प्रेरित भएर होस् चाहे ‘प्यासन’ को कामबाट हत्या त हत्या हो, परस्त्रीगमन परस्त्रीगमन हो, महाभारत महाभारत हो। यो भन्न सकिन्छ कि निष्काम कार्यरतता प्रभावकारी हुन्छ वासना सहितको कार्यभन्दा। अर्को शब्दमा यदि हिटलरले वासनामा आएर यहूदीहरूलाई मारेको भए त्यति निपुणतासँग ६० लाखको सजिलै नरसंहार हुने थिएन।”

बीपीको सोचाइमा क्रोधको झोकमा तरबार लिएर या बन्दूक-पिस्तोल उठाएर निर्बाध रूपमा मार्न थालेको भए पनि हिटलरको हातबाट सयौं हजार यहूदी मासिने थिए। कामनाजनित अपराधहरू कुशल रूपमा सम्पादन हुँदैनन्। त्यसको अकुशल सम्पादनले केही मानवताको रक्षा गर्छ। प्रभावशाली रूपमा अपराधको कार्यान्वयन गरेर र अपराध संयन्त्रलाई लाए-अह्राएर यो गर्न सकिंदैन। उनी भन्दछन्, “यस तर्कको उत्तरमा भन्न सकिन्छ कि असल कामको सम्पादनको उदाहरण किन नलिनु निष्काम कर्मको व्याख्या गर्दा? मलाई त्यसो हुनाले लाग्छ– मुख्य प्रश्न निष्काम कर्ममा सकाम कर्मको छैन, जति कि असल या खराब कर्मको विभेद निर्धारणमा छ। मुख्यतः प्रश्न नैतिक छ। समस्या छ– असल र खराबलाई छुट्याउने। गीतामा यसको उल्लेख छैन। (गीताले) केवल यति भनेको छ– गर्ने गराउने म हुँ (ईश्वर हो), मानिस त निमित्त मात्र हो। असल खराब छुट्याइरहने काम छैन मानिसलाई। फल प्राप्ति त्यागेर काम गर्ने जिम्मा मात्रै मैले (ईश्वरले) दिएको छु मानिसलाई।”

आवेगमा आएर गरेको कर्मभन्दा कामनारहित भएर गरेको काम धेरै सफल र प्रभावशाली हुन्छ भन्ने कुरामा बीपीको समर्थन देखिन्छ। यस अर्थमा उनी गीताले ठूलो मनोवैज्ञानिक सत्यको प्रतिपादन गरेको नै मान्दछन्।  तर, यो पर्याप्त छैन। उनको भनाइमा पहिले कुनै काम असल हो कि खराब हो भन्ने टुङ्गो लाग्नुपर्दछ।

आवेगमा आएर गरेको कर्मभन्दा कामना रहित भएर गरेको काम धेरै सफल र प्रभावशाली हुन्छ भन्ने कुरामा बीपीको समर्थन देखिन्छ। यस अर्थमा उनी गीताले ठूलो मनोवैज्ञानिक सत्यको प्रतिपादन गरेको नै मान्दछन्।  तर, यो पर्याप्त छैन। उनको भनाइमा पहिले कुनै काम असल हो कि खराब हो भन्ने टुङ्गो लाग्नुपर्दछ। असल र खराब कामको अन्तर निर्धारण नगरी कामका सम्बन्धमा अघि बढ्नु घोडाको अगाडि बग्गी राख्नु जस्तो हो। यो सन्दर्भमा उनी कडा रूपमा प्रस्तुत हुन्छन्,  ”गीताको योगले मानिसमा अनन्त कार्यक्षमता आउन सक्छ, ईश्वर हुन सक्छ त्यो, तर जबसम्म त्यसले आफ्नो शक्तिको प्रयोगको लक्ष्य निर्धारित गर्दैन, उसको शक्ति सम्पन्नता अर्थहीन हुन्छ, र यदि शक्ति प्रयोगको लक्ष्य निर्धारण नगरेर कार्यमा प्रविष्ट हुन्छ भने उसको शक्ति सम्पन्नताको खतरा पनि उत्तिकै मात्रामा भयङ्कर तथा अनन्त हुन्छ। त्यसो हुनाले मलाई मुख्य प्रश्न लाग्छ– के कुरो असल हो, के कुरो खराब हो त्यसको निर्धारणको प्रश्न। यो नैतिक प्रश्न हो।” कान्ट र कृष्णबीचको सोचाइको अन्तर पनि यही हो।

यस्तो नैतिक प्रश्न सम्बन्धमा गीतामा हिन्दू दर्शनले विचार नपुर्‍याएको भने होइन। बीपीले गीतामा विचार पुर्‍याएकै देखेका छन्। उनी भन्दछन्, “हिन्दू दर्शन मूलतः अपार्थिव दर्शन हो– ‘गड ओरिएन्टेड’ तथा परमात्मामा स्थापित। यसको लक्ष्य जीवन नभएर मोक्ष छ। तसर्थ, यसको दृष्टिमा त्यस्ता सबै कर्म असल हुन् जसले परामार्थ (मोक्ष) सपार्दछ।” यस्तो दर्शनमा बीपी शरीर र आत्मा, संसार र परमार्थ, जीवन र मोक्षको द्वन्द्व निहित छ भन्ने मान्दछन्। त्यसैले यस द्वन्द्वमा आत्मा, परमार्थ र मोक्षको सुरक्षा, तिनीहरूको पोषण साथै संसार र शरीर तत्त्वको मूल्य ह्रासमा पनि जोर छ। त्यसो हुनाले हिन्दू दर्शनको दृष्टिमा नैतिकता– जसको मूल्याङ्कन समाज वा मानव सम्बन्धको समष्टिगत आधारमा हुन्छ, महत्त्व दिइएको छैन। बीपीको ठोकुवा छ, “हिन्दू दर्शन तसर्थ ‘अमोरल’ छ। असल कार्य तथा खराब कार्यको विवेचना संसारको स्तरमा यसले गर्दैन। गीताको कर्मवादी दर्शनमा शक्ति सम्पन्नताको मात्र जोड दिइएको छ – माध्यममा मात्र, उद्देश्यमा होइन, यदि उद्देश्यलाई सामाजिक अर्थमा लिने हो भने।”  

उपर्युक्त विश्लेषणले ‘निष्काम कर्म’ को दर्शनलाई कमजोर धरातलमा उभ्याउँछ। यसलाई असङ्गतिपूर्ण भन्ने बीपीको अर्को तर्क पनि छ, “या त यो भन्नुपर्छ कि कर्म गर्नका लागि गर्नुपर्छ- ‘एक्सन फर एक्सन्स शेक’, त्यसको अर्को कुनै लक्ष्य छैन। यस्तो तर्क युक्तिसङ्गत लाग्दैन, किनभने हेतुरहित कार्य निरर्थक भएकाले त्यसमा मानिस किन प्रवृत्त हुने? यदि कार्यको कुनै हेतु छ, लक्ष्य प्राप्तिमा सफलता या विफलताको प्रभाव मानिसमा पर्छ पर्छ। भोजन, भोजन गर्नलाई मात्र हो भने त कुरै भएन, तर यदि भोजन जीवनधारण हेतुले गर्ने हो भने त्यस कार्यको असर नपरी रहँदैन। सफलता र असफलताको माप लिनैपर्दछ। कुनै कामको लेखाजोखा र त्यही माप कामनाको प्रारम्भ हो। त्यसो हुनाले निष्कामको अर्थमा एकदम निष्काम हो या त्यो एउटा निरर्थक शब्दाडम्बर हो। निष्काम कर्मको अर्थ निष्कर्ष हो भने तर्कको युक्तिसङ्गत बुझेर हिन्दू दर्शनले अर्को पक्ष पनि लिएको छ– त्यो हो सन्न्यास, जसको अर्थ पूर्ण कर्म–निवृत्ति (टोटल एब्स्टेन्सन फ्रम वर्क) हो। तर, सन्न्यास दर्शन पनि तर्कको असङ्गतिले पीडित छ। पूर्ण कर्म निवृत्तिको अर्थ हो जीवनबाट मुक्ति, मृत्यु।” त्यसो हो भने निष्काम कर्मको दलिल कसरी सही हुन सक्दछ?

कर्म अपरिहार्य छ। यो बाध्यता पनि हो। बाँच्नका लागि मात्र पनि केही न्यूनतम कर्म गर्नैपर्छ। बीपी स्पष्ट गर्दछन्, “सन्न्यासीहरूले क्षुधा निवारण गर्न माग्ने वृत्ति लिएका छन्। माग्नु पनि कर्म हो र यदि नमागेर पनि वटवृक्ष तल बसेको सन्न्यासीले भोजन पाउँछ भने पनि उसका लागि चाहिने त्यो अल्प भोजन प्राप्त गर्न अरू कतिले कार्यरत हुनैपर्छ– किसानले कमसेकम अन्न त उब्जाइदिनुपर्‍यो र गृहिणीले त्यस अन्नलाई पकाएर सन्न्यासीको निकट पुर्‍याइदिनुपर्‍यो। सन्न्यासीको निष्कर्मताको आधार अरू अनेकानेक प्राणीहरुको आफ्नो आवश्यकताभन्दा बढी गर्नुपरेको कर्म हुन जान्छ। त्यसो हुनाले सन्न्यासको सिद्धान्त या त एकदम युक्तिसङ्गत छैन, या त्यो मृत्यु दर्शन हो, जुन दर्शनले जीवनलाई कुनै प्रकारको सहायता उपलब्ध गराउन सक्तैन। तर्कको दृष्टिबाट भने सन्न्यास युक्तिसङ्गत छ, मोक्षको सर्वोपरि लक्ष्यको सिद्धान्तसँग जो हिन्दू दर्शनको मुख्य वस्तु हो, तर बाँच्नका लागि दर्शन चाहिएको छ, मर्नका लागि होइन।”

गीताको कर्मयोग दर्शनको खोक्रोपनबारे बीपी कोइरालाले ‘मोदिआइन’ उपन्यासमा पनि चर्चा गरेका छन्। पाण्डवहरू वीर योद्धा थिए, तर उनीहरू धर्म र नैतिकताको सीमामा बस्न चाहन्थे। कौरवसँग युद्ध हुँदा कृष्णले पाण्डवहरूलाई जुनसुकै हालतमा युद्ध जित्नेतर्फ प्रेरित गरे। त्यस क्रममा भएका कतिपय घटना दुष्कर्म थिए। कृष्णको अस्वाभाविक प्रभावका कारण पाण्डवहरू यसलाई सहज रूपमा लिन बाध्य भए।

गीताको कर्मयोग दर्शनको खोक्रोपनबारे बीपी कोइरालाले उनको लघु उपन्यास मोदिआइनमा पनि चर्चा गरेका छन्। पाण्डवहरू वीर योद्धा थिए। उनीहरूसँग कौरव पक्षसँग जति हातहतियार र सेना थिएन। तर, उनीहरू धर्म र नैतिकताको सीमामा बस्न चाहन्थे। विशेष गरी अर्जुन विभिन्न कारणले युद्ध गर्न चाहँदैनथे। तथापि, कृष्णको प्रेरणामा पाण्डव तथा कौरवबीच भीषण युद्ध भयो। कृष्णले पाण्डवहरूलाई जुनसुकै हालतमा युद्ध जित्नेतर्फ प्रेरित गरे। शिखण्डीलाई ढाल बनाएर महावीर भीष्मलाई परास्त गरियो। गुरु द्रोणलाई उनका छोरा अश्वत्थामाको हत्या भयो भन्ने मिथ्या खबरबाट कमजोर पारी नि:शस्त्र हुन बाध्य गरियो। कर्णलाई पाण्डवहरू उनैका भाइ हुन् भनी कमजोर पारियो। जसका कारण आफ्नो सामर्थ्य भए पनि उनी युधिष्ठिर, भीम, नकुल र सहदेवप्रति कडा हुन सकेनन्। अर्जुनले कर्णलाई र भीमले दुर्योधनलाई युद्ध आचारसंहिता उल्लंघन गरेर भए पनि हत्या गरे। यी सबै कृत्य दुष्कर्म थिए। कृष्णको अस्वाभाविक प्रभावका कारण पाण्डवहरू यसलाई सहज रूपमा लिन बाध्य भए। तर, युद्धको विभीषिका दुइटा परिवारले मात्र भोग्नुपरेन, यो युद्धको प्रभाव सर्वव्यापी थियो।

उसो त कर्मस्थलमा स्वयं कृष्णलाई प्रश्न गर्ने ठाउँ पनि कम देखिंदैन। उनलाई यमुना किनारको नागबस्ती विनाश गरेको आरोप छ। चेदी राज्यका स्वामी शिशुपालले विवाह गर्न लागेको युवतीलाई उनले अपहरण गरे। धेरै गोपिनीसँग उनको सम्बन्ध थियो। क्षत्रिय जातलाई उनी ठूलो मान्दथे। उनले छल गरी भीमका पुत्र घटोत्कच र नागकन्या अहिलवतीका पुत्र बर्बरिकको शिर मागे र लडाइँमा अर्जुनको विजय सुनिश्चित गरे। कृष्णको मार्गदर्शनमा महाभारतको कथित धर्मयुद्ध छलयुद्धमा रूपान्तरण हुन पुग्यो।   

वासुदेव कृष्ण ईश्वर थिए। हत्या, हिंसा र नरसंहार विना पनि धर्मयुद्धलाई परिणाम दिन सक्दथे। तर, त्यसतर्फ उनले सोचेको देखिंदैन। वास्तवमा महाभारतको कथामा राम्रा जत्तिकै नराम्रा प्रवृत्ति पनि छन्। त्यसैले बीपीले मोदिआइन उपन्यासकी प्रमुख नारी पात्रको मुखबाट भन्दछन्, “कृष्ण त भगवान् हुन्, उनी हामी मान्छेको प्रेम, भावना र संवेदनालाई किन महत्त्व दिन्थे! उनी त युद्ध गराएर यो सुन्दर मानव संसारलाई क्षतविक्षत पार्न चाहन्छन्।”

‘निष्काम कर्म’ को प्रयोग यति परपीडक कसरी हुन सक्दछ? कर्मयोग दर्शनको यो खोक्रोपनलाई नै बीपीले उजागर गर्न खोजेको देखिन्छ।

प्रसिद्ध कूटनीतिज्ञ डाँग हैमरस्क्जोंल्डको सन् १९६२ मा छापिएको ‘मर्किङस्’ भन्ने पुस्तक उसबेला अत्यन्त महत्वपूर्ण पुस्तकका रूपमा संसारभरि पढिएको मानिन्छ । यो पुस्तक छापिनुभन्दा करिब दुई वर्षअघि मात्र बीपी कोइरालाको न्युयोर्कमा उनीसँग भेट भएको थियो । त्यसबेला बीपी नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघमा भाग लिन न्युयोर्क गएका थिए । सुन्दरीजलमा थुनामा रहेको पहिलो वर्ष नै उनले ‘मर्किङ्स्’ पढ्न पाए । अतः उनले व्यक्ति तथा विचार दुवै दृष्टिकोणले डाँग हैमरस्क्जोंल्डको मूल्यांकन गरेका छन् ।

वास्तवमा, ‘मर्किङ्स्’ हैमरस्क्जोंल्डको व्यक्तिगत डायरी थियो । उनी पुस्तक लेखक पनि होइनन् । यो उनको पहिलो र अन्तिम पुस्तक थियो । यसमा उनले आफूले बाँचेको जीवन र निर्वाह गरेको भूमिकालाई धेरै व्यक्तिगत सन्दर्भमा उल्लेख गरेका थिए । पुस्तकको थालनी सन् १९२५ देखि हुन्छ । त्यसबेला उनी २० वर्षका मात्र थिए । यसका अन्तिम पृष्ठहरू दुर्घटनाबाट उनको मृत्यु हुनुभन्दा एक महिनाअघि मात्र लेखिएका थिए । यस पुस्तकबारे बीपीको टिप्पणी थियो :

‘मर्किङ्स्’मा उनको अन्तर–व्यक्ति प्रतिविम्बित हुन्छ । त्यो व्यक्ति जीवनको समस्याको मध्यमा आफूलाई पाएर आफ्नो कर्तव्या–कर्तव्यको निर्धारणमा सतत् प्रयत्नशील रहन्छ । त्यसो हुनाले हैमरस्क्जोंल्डको अन्तरव्यक्ति त्यस्तो शान्त रहनेछ जस्तो उनको बाहिरको व्यवहारले उनका सम्बन्धमा धारणा बन्छ । एक त उनी आजीवन अविवाहित रहे, पारिवारिक न्यानोको अभावमा उनको हृदयले खोक्रोपनको अनुभव गरेको होला । त्यो हार्दिक रिक्तताको पत्नी तथा सन्तानबाट बनेको परिवार, त्यसको सम्बन्ध र त्यसबाट प्राप्त हुने दैनिक सुख–दुःख र समस्याहरूले अधिकांशतः पूर्ति गर्छ ।

हैमरस्क्जोंल्डको डायरी उनको मृत्युपछि उनको न्युयोर्कस्थित घरमा फेला परेको थियो । यो डायरीसँगै विदेश मामिलाका लागि तात्कालीन स्वीडेनी स्थायी उपसचिव लिफ बेलाफ्रेजलाई सम्बोधन गरिएको एउटा अप्रत्याशित पत्र थियो । यसमा उनले आफ्नो डायरीले उनको साँचो रेखाचित्र प्रदान गर्ने उल्लेख गरेका थिए । अतः उनले स्पष्ट गरेका थिए, ‘यदि तपाईंले तिनीहरूलाई प्रकाशन गर्न लायक पाउनुभयो भने तपाईंसँग त्यसो गर्न मेरो अनुमति छ ।’

डाँग हैमरस्क्जोंल्ड सन् १९५३ मा संयुक्त राष्ट्रसंघका दोस्रो महासचिव भए । उनी दोस्रो कार्यकालका लागि पनि निर्विरोध रुपमा छनोट गरिए । निजामती प्रशासन, आर्थिक नीति तथा कूटनीति सबैतिर राम्रो विशेषज्ञता भएका हैमरस्क्जोंल्ड वास्तवमा पहिलो विश्वयुद्धताका स्वीडेनका प्रधानमन्त्री हजाल्मर हैमरस्क्जोंल्डका छोरा थिए । सन् १९६१ मा उनको मृत्यु उत्तरी रोह्डेसिया (आजकाल जाम्बिया) मा हवाई दुर्घटनामा भएको थियो । त्यसबेला उनी संकटग्रस्त अफ्रिकी मुलुक कंगोका लागि एउटा शान्ति मिसनमा जाँदै थिए ।

कंगो भर्खरै स्वतन्त्र भएको थियो । तर आन्तरिक तथा छिमेकको अस्थिरताका कारण यसको एउटा भूभाग कटाङ्गा राज्यका रुपमा छुट्टिन पुगेको थियो । यी दुवै काटाकाट गर्दै थिए । यिनीहरू बीच युद्धविराम गर्न हैमरस्क्जोंल्ड त्यहाँ पुग्दै थिए । विभिन्न अफ्रिकी उपनिवेशहरूलाई राजनीतिक स्वतन्त्रताको बाटो हिँडाउन हैमरस्क्जोंल्डको ठूलो योगदान थियो ।

सन् १९५६ को स्वेज संकट तथा सन् १९६० मा सोभियत संघद्वारा एक अमेरिकी विमान कब्जा गरेपछिको खिचातानीमा हैमरस्क्जोंल्डले मध्यस्थता गरेका थिए । संयुक्त राष्ट्र संघ आपतकालीन फोर्सको स्थापना गर्ने श्रेय हैमरस्क्जोंल्डलाई नै जान्छ । इजिप्ट र कंगोमा राष्ट्रसंघीय शान्ति मिसन कायम गर्ने उनै हुन् । हैमरस्क्जोंल्डले इजरायल र अरब राज्यहरू बीच सम्बन्ध सुधार गर्न राम्रो प्रयास गरेका थिए । ​स्वेज संकटको कारण इजरायलले इजिप्टमाथि आक्रमण गर्नु थियो ।

इजिप्टले विदेशीहरूको स्वामित्वमा रहेको स्वेज क्यानल कम्पनीलाई आफ्नो आवश्यकता हेर्दै बलपूर्वक राष्ट्रियकरण गर्नु विभिन्न पक्षलाई स्वीकार्य थिएन । युके र फ्रान्स यसबाट प्रभावित भएका थिए । त्यसैले उनीहरूले इजरायललाई सहयोग गरे । तर संयुक्त राज्य अमेरिका, सोभियत संघ र राष्ट्र संघ यसको पक्षमा थिएनन् । उनीहरूले विरोध गरे । आक्रमणकारी पछि हट्नुपर्‍यो । यस कारण इजिप्टका राष्ट्रपति जमार अब्दल नासिर झनै बलियो भए । यो अस्थिरतामा हैमरस्क्जोंल्डले शान्तिका लागि ठूलो भूमिका निर्वाह गरेका थिए ।

उनको हवाइजहाज के कारणले दुर्घटना भयो भन्ने स्पष्ट छैन । सन् १९६२ मा रोह्डेसियाले गरेको छानबिनले उक्त दुर्घटना चालकको गल्तीले भएको भनेको छ । तर राष्ट्रसंघद्वारा पछि गरिएको अनुसन्धानले दुर्घटनाको कारण स्पष्ट रुपमा भन्न सकेको छैन । कतिपयले उक्त हवाइजहाजलाई गोली ठोकिएको थियो पनि भनेका छन् । त्यसबेला अमेरिकी जासुसी संस्था सिआइएले रुसी जासुसी संस्था केजिबीलाई यसको दोष लगाएको थियो । अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले हैमरस्क्जोंल्डलाई उन्नाइसौं शताब्दीका सबैभन्दा ठूला राजनीतिज्ञ (स्टेट्स्म्यान) भनेका थिए । उनी दुर्घटनामा पर्नुभन्दा पहिले नै उनलाई शान्तिका लागि नोबेल पुरस्कारमा चयन गरिएको थियो । यो छनोट केवल भावनात्मक मात्र थिएन ।

सन् १९५३ मा हैमरस्क्जोंल्डले दिएको एउटा अन्तर्वार्तामा मिस्टर एखार्ट तथा जान भ्यान रुस्ब्रोकको चर्चा गर्दै मान्छेले कसरी आत्मा (स्पिरिट) को समुदायको सदस्यका रुपमा आफूसँग पूर्ण सामञ्जस्य गरी सक्रिय समाज सेवाको जीवन बाँच्नुपर्छ भन्ने ज्ञान उनीहरूबाट पाएको उल्लेख गरेका छन् । ती लेखकहरूलाई उनले ‘मेडिएभल मिस्टिक्स्’ भनेका छन् । उनीहरूका लागि आत्मसमर्पण आत्मअनुभूतिको बाटो थियो ।

‘मर्किङस्’को विशेषता के हो भने यसमा हैमरस्क्जोंल्डले आफ्नो गद्यसँग जापानी हायकु कवितात्मक छन्दको मिलन गरेका छन् । हायकु छन्द सत्रौं शताब्दीका जापानी कवि बासोले आफ्नो पुस्तक न्यारो रोड्स् टु द डिप नर्थमा प्रयोग गरेका हुन् । हैमरस्क्जोंल्ड भन्दछन्, ‘हाम्रो जमानामा पवित्रताको बाटो अनिवार्यतः कर्मको संसारको बाटोबाट नै जाने गर्छ ।’

पुस्तकको भूमिका ब्रिटिस अमेरिकन कवि डब्ल्यु. एच. ओडेनले लेखेका छन् । मर्किङ्स्लाई स्व. धर्मशास्त्री हेनरी पी. भान डुसेनले ‘आध्यात्मिक संघर्ष र विजयको उत्कृष्ट आत्म प्रकटीकरण’ भनेका छन् । उनको भनाइमा यो पुस्तक व्यावसायिक जीवनको ऊष्णतामा तथा विश्व शान्ति र व्यवस्थाका लागि सबैभन्दा कठोर जिम्मेवारीहरूका बीचमा लेखिएको व्यक्तिगत विश्वासको सायद सबैभन्दा ठूलो प्रमाण हो । हैमरस्क्जोंल्डले लेखेका छन्, ‘हामीलाई हाम्रो भाग्यको ढाँचा छनोट गर्ने अनुमति छैन । तर हामीले यसमा जे राख्दछौं, त्यो हाम्रो हो । जो साहसिक काम चाहन्छ, उसले आफ्नो साहसको परिमाणअनुसार यसको मापन गर्नेछ । जसले बलिदान चाहन्छ, उसले उसको हृदयको शुद्धताको नापअनुसार बलिदान हुनेछ ।’

बीपी भन्दछन्, “साधारणतः मानिसहरू परिवारमा लिप्त भएर हृदय या आत्माले अनुभव गर्ने रिक्ततालाई या त बिर्सिन्छन् या त्यस्तो अनुभव नै गर्न पाउँदैनन् । हेमरशोल्डलाई त्यो भएन । त्यसो हुनाले उनको छटपटी आत्मिक स्तर प्राप्त गर्छ र उनी सोच्न थाल्छन् – म को हुँ, मैले के गर्नुपर्ने हो ? उनलाई लाग्छ– कार्यरतले आत्मिक खोक्रोपन (रिक्तता) लाई पूर्ति गर्न सकिन्छ, तर कस्तो कार्यरतता ? के कस्तो काम गर्नुपर्ने हो ? कर्तव्य के हो ? यस्ता प्रश्नको उत्तरका लागि गीताको उपदेश लिएको जस्तो छ, उनले निष्काम कर्मको उपदेश । निष्काम कर्म गर आफूलाई ईश्वरको यन्त्र मानेर ।’ बीपीको टिप्पणी छ, “मर्किङ्स्मा मृत्युका प्रति लंगिन्ग्स लक्षित छ कहीँ कहीँँ ।’ निष्काम कर्मको सिद्धान्तमा बीपी खोक्रोपना देख्दछन् ।

हैमरस्क्जोंल्डको शान्त, गम्भीर र मृदु स्वभावले आफूलाई प्रभावित पारेको बीपीको भनाइ छ । उनले हैमरस्क्जोंल्डलाई अपेक्षाकृत चिसो व्यक्तित्वको मान्छे भनेका छन्, “ऊष्णताको अभाव भएको व्यक्तित्व, जस्तो कि ब्राह्मणहरूको आदर्श मानिएको छ । दुब्ला, पातला भएकाले उनी धोतीमा तिलक तथा यज्ञोपवीतका साथ पूरा ब्राह्मण लाग्ने थिए, तर उनको समीपमा सौहार्द तथा आत्मीयताको न्यानो पाइन्न थियो र उनको अफिस– जहाँ म उनीसँग भेट्न गएको थिएँ– पनि उनैको व्यक्तित्वको अनुरुप ठण्डा र सजावट शून्य, एउटा विशुद्ध कार्यस्थल – एकदम युद्धस्थल जस्तो अनावश्यक वस्तुबाट रिक्त थियो ।’

बीपीको आफ्नो अनुभवका आधारमा उनलाई यो व्यक्तित्व हैमरस्क्जोंल्डको मुलुक स्वीडेनको सामान्य विशेषता नै हो कि ? भन्ने पनि लाग्दछ । ‘जुन देशबाट उनी आएका थिए– त्यहाँका मानिसहरूमा एकप्रकारको चिसो व्यक्तित्व पाइन्छ, मेरो त्यहाँको एक सप्ताहको बसाइबाट एउटा प्रमुख असर मैले लिएर आएँ– त्यो त्यहाँको चिसोपन मानिस तथा प्रकृति दुवैको । त्यसो हुनाले हैमरस्क्जोंल्डको शान्त र भावुकताविहीन व्यक्तित्व उनको राष्ट्रिय चरित्रगुण होला ।’

सरल अर्थमा आत्मालाई जगत्को मूल मान्ने आदर्शवादी विचारलाई अध्यात्मवाद भन्ने चलन छ । यसअनुसार आत्मा धेरै महत्त्वपूर्ण हुन्छ ।

यसको शरीरभन्दा स्वतन्त्र अस्तित्व हुन्छ । भौतिकवादले यसलाई मान्दैन । यसका दृष्टिमा प्रकृतिमा पदार्थ नै मूल द्रव्य हो । हेर्न, छुन वा अनुभव गर्न सकिने सबै वस्तुको भौतिक क्रियाहरूको परिणाम हुन्छ । यसमा मानसिक तत्त्व वा चेतना पनि पर्छ।

जे कुरा अस्तित्वमा छ त्यो अन्ततः भौतिक हो । भौतिकवादीहरूले कुनै पनि ठोस प्रमाण या गणितीयरूपमा सिद्ध गर्न सकिने विषयमा मात्र विश्वास राख्छन् । त्यसैले दुवै थरीबीच विवाद छ ।

सैद्धान्तिक विषयवस्तुमा आफ्नो दृष्टिकोण स्पष्ट गर्न सधैँ तयार रहने बीपी कोइरालाले अध्यात्मवाद र भौतिकवादबीचको विवादमा पनि आफ्नो कित्ता स्पष्ट गर्न खोजेको देखिन्छ ।

बीपीले आफूलाई भौतिकवादी विचारकै व्यक्ति मानेका छन् । प्रसिद्ध दार्शनिक कार्ल माक्र्सको द्वन्द्वात्मक भौतिकवाद भौतिकवादी चिन्तनमा प्रख्यात रहेको छ । बीपी यसबारे प्रशस्त जानकार देखिन्छन् । तर, आफ्नो प्रवृत्ति सायद आध्यात्मिक नै हो भन्ने उनलाई लाग्छ । आफ्नो बुद्धि चक्षु भौतिकवादको जगतमा कहिले उघ्रियो भन्ने बारेमा उनी स्पष्ट छन् ।

उनी मेट्रिकका छात्र थिए । गर्मीको छुट्टि बिताएर भारतको बम्बईबाट कासी फर्कँदै गर्दा रेलमा उनको परिचय एकजना कम्युनिस्टसँग हुन गयो । ती कम्युनिस्ट बम्बईबाट मेरठ आइरहेका थिए । उनले बीपीसँग आफूलाई डाँगे भनेर चिनाएका थिए । उनीसँग कम्युनिस्ट पार्टीको सदस्य भएको प्रमाण पनि थियो ।

एउटा कलिलो छात्रकै रूपमा भएपनि त्यस बेलासम्ममा भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख राजनीतिक तथा आध्यात्मिक नेता महात्मा गान्धीको विचारबाट बीपी प्रभावित भइसकेका थिए । उनी टोल्सटोय, जन रस्किन जस्ता लेखक तथा ‘रोमान्टिक एनार्किस्टिक’ का विचारहरूप्रति पनि आकर्षित थिए । बाल्टर स्कट तथा लर्ड बायरनजस्तै प्रसिद्ध रोमान्टिक लेखक मानिने भिक्टर ह्युगो बीपीका प्रिय उपन्यासकार थिए ।

स्कुलको विद्यार्थीका रूपमा उनले यी सबै लेखक र रहस्यवादी ग्रन्थकारहरूको विचार कति बुझेका थिए वा थिएनन्, त्यो आफ्नो ठाउँमा छ । तर, बीपीले भनेका छन् – “म जुन पारिवारिक वातावरणमा तबसम्म हुर्किँदै आएको थिएँ त्यसमा यिनीहरूले भनेका कुराहरूले मेरो हृदयको तारबाट सहानुभूतिको ध्वनि झिक्थे ।”

यद्यपि, यो सानो भेटमै डाँगेले बीपीलाई प्रशस्त प्रभावित गरे । उनले लेखेका छन्ः “डाँगेले मेरो आँखाबाट गान्धीवादको जालो झिकिदिएर फ्याँकेको जस्तो गर्यो । मलाई लाग्यो, मैले समाज र मानिसलाई एउटा नूतन र वास्तविक प्रकाशमा फेरिदेखि देख्न थालेँ – कुइरो काटिएपछि छर्लङ्ग भएको पृथ्वीजस्तो ।”

यसरी रेलगाडीबाट बीपीको साम्यवादी चिन्तन सुरु भएको थियो । डाँगेकै सूत्रका कारणले बीपी कासीको हिन्दु विश्वविद्यालयको कम्युनिस्ट सेलका मानिसहरूसँग आबद्ध हुन पुगेको बीपीको भनाइ छ।

उनी भन्छन्– “त्योभन्दा पहिले म पनि गान्धीवादी थिएँ । कम्युनिस्टहरूको संगतले हठात् एउटा नयाँ लोकमा मेरो आँखा खुल्यो, जुन लोकमा मानौ यावत् कुराहरू स्पष्ट र धूममुक्त थिए । बुद्धिले बडो उत्साहकासाथ भौतिकवादलाई ग्रहण गर्यो । र, त्यसरी म भौतिकवादी हुँदै गएँ । र आज म आफूलाई द्विविधारहित मनले भौतिकवादी भनी स्वीकार गर्छु ।”

सन् १९६३ को मध्यमा आइपुग्दा बीपीमा आध्यात्मिकताको पहुँच बढी सकेको देखिन्छ । भौतिकवादी भए पनि अब बीपी सायद संस्कारबाट मुक्त हुन नसकेर हो या अरू कुनै कारणबाट होस् वा उमेर छिप्पिँदै गएकोले होस्, आफ्नो प्रवृत्ति आध्यात्मिक नै भएको उल्लेख गर्छन् ।

“म आध्यात्मवादी (आत्मवादी) छैन; तर आध्यात्मिक प्रवृत्तिको निश्चय नै छु । चेतन मन र बुद्धिले स्वीकार नगरे पनि जीवनका कष्टमय घडीमा मलाई आफ्नो नियतिमाथि भर हुन्छ । अन्धकार रात्रिमा साँपहरू भएको बाटोमा हिँड्दा मृत्युभयले मलाई चिन्तित पाथ्र्याे । तर म मरी नै हाल्छु भन्ने विश्वास मलाई हुँदैन थियो । क्यान्सरको रोगले पीडित हुँदा पनि, मृत्युको सामीप्य बोध हुँदाहुँदै पनि, म वास्तवमा मर्दिन भन्ने विश्वास जबरदस्त किसिमबाट ममा जागिरह्यो । राजनीतिमा कठिन घडीमा त्यस्तै विश्वास मलाई आफ्नो नियतिमा हुन्छ । परिणाम असल छ भन्ने विश्वास – जब कि परिस्थिति कुनै प्रकारले पनि अनुकूल देखिँदैन, तर्कसंगत लाग्दैन– आध्यात्मिकताको लक्षण हो मानिसको प्रवृत्तिमा ।”

बीपीको प्रवृत्तिमा देखिएको यो कमलोपना केबल प्रवृत्तिमात्र हो या अध्यात्मवाद ? अझ बुझ्नुपर्ने हुन्छ ।

‘जेल जर्नल’मा बीपीले मदालसा र पिनाकीबाबुलाई स्नेहवत सम्झिएका छन् । दुवैको सम्बन्धमा गहिराइ छ । आफूलाई आध्यात्मिकतापट्टि दोस्रो चोटि चाख लगाउने व्यक्ति मदालसा भएको बीपीको भनाइ छ।

मदालसाले जेलभित्र एक्लो हुनुको अवसरका बारेमा पनि टिप्पणी गरेकी थिइन् । बीपी भन्छन्ः “उनको तर्कले त्यसबखतको मेरो उनीप्रतिको अत्यन्त अनुकूल मनस्थितिमा, स्वाभाविकतासँग मलाई प्रभाव पार्यो र मेरो विचारमा एकचोटि फेरि हलचल ल्यायो । यहाँ जेलमा एक्लै बसेर यी सब कुराहरू सम्झिन्छु र मनमा द्वन्द्व हुन्छ भौतिकवाद र अध्यात्मवादको बीच । म अहिले पनि भौतिकवादी नै छु, तर अब अध्यात्मवादप्रति उपेक्षाको भाव ममा छैन जस्तो कि पहिलेपहिले थियो ।”

उनि फेरि थप्छन् – “पिनाकीबाबुलाई अनन्तबुद्धिको व्यक्ति भन्थेँ म । अब ममा विनीतता र विनयको भाव उदय भएको छ । यो बाद्र्धक्यको परिणाम त होइन ? यो जेल जीवनको निराशावादको लक्षण त होइन ? कि यो मेरो पूर्णतापट्टिको अग्रगति हो?”

यहाँ पनि प्रश्नहरूले बलियोसँग आफैँ जवाफ दिन खोजेको देखिन्छ । भौतिकवाद जतिसुकै प्रामाणिक भए पनि अध्यात्मवादले जीवन चिन्तनमा गम्भीर अर्थ राख्छ ।

[सन्दर्भ राष्ट्रिय मेलमिलाप दिवसको]

बीपी कोइरालाको विभिन्न लेखनहरुबाट जीवन, क्रान्ति र शान्तिका विषयमा उनका धारणालाई राम्ररी विश्लेषण गर्न सकिन्छ । यस सम्बन्धमा स्टीफेन ज्विगका साहित्यहरु सम्बन्धमा बीपीका टिप्पणीलाई पनि महत्त्वका साथ हेर्नुपर्ने हुन्छ ।

अष्ट्रियाली उपन्यासकार, नाटककार तथा जीवनी लेखक तथा सन् १९२० र ३० को दशकमा विश्वका लोकप्रिय लेखकहरुमध्ये एक मानिएका स्टीफेन ज्विगका केही सृजनाहरुका बारेमा बीपीका केही टिप्पणीहरु सार्वजनिक छन् । जर्मन भाषी ज्विग भियनामा जन्मिएका थिए । उनी यहुदी थिए ।

सन् १९३४ मा जर्मनीमा नाजी पार्टीको उदय भएपछि उनी आसन्न खतरा छल्न इङ्गल्यान्डतिर लागे । केही अवधिपछि उनी न्युयोर्क बस्न पुगे । त्यसपछि त्यहाँबाट पनि ब्राजिलतर्फ बसाइँ सरे । पछि उनले आफ्नी श्रीमतीसहित आत्महत्या गरे । साहित्यमा ज्विगका धेरै महान् वाणीहरु प्रसिद्ध छन् । कुनै पनि पाप तबसम्म बिर्सिदैँन जबसम्म विवेकले यसलाई सम्झिरहेको हुन्छ भन्ने तथा खुसी भई बस, रचनात्मक बन, मान्छेले आफ्नो अस्तित्व जानेर नै विश्वासले भरिने हो र यसै विचारले उसको बलियो पनालाई बढाउँछ भन्ने उनको भनाइ यत्रतत्र उल्लेख गरिएको पाइन्छ ।

ज्विगले धेरै लेखेका छन् । उनको दुईवटा पुस्तक बारे टिप्पणी बीपी कोइरालाको लेखनमा परेको देखिन्छ । पहिलो पुस्तक हो सन् १९३९ मा लेखिएको ‘बिवेयर अफ पिटी’ (दया देखि सावधान) । अर्को पुस्तकको नाउँ हो ‘मेरी आन्टोएनेट : द पोर्ट्रेट अफ एन एभरेज वुमन’ । ‘बिवेयर अफ पिटी’ ज्विगको सबैभन्दा लामो उपन्यास हो । तर मेरी आन्टोएनेट फ्रान्सकी एक चर्चित तथा ऐतिहासिक महारानीको जीवन कथा हो । अन्य धेरै पुस्तकहरु झैँ यी दुवै पुस्तकहरु बीपी आफँैले छानेर पढेको देखिँदैन । कसैको सिफारिस वा पुस्तकालयहरुबाट पठाइएका साहित्यिक पुस्तकका रुपमा कारागारमा छँदा बीपीले यी पुस्तकहरु पढेका हुन् । तत्कालीन राजनीतिक पुस्तकहरु सामन्यतः बीपीको छनोटमा परे पनि कारागारमा पुग्न सक्दैनथे । बन्दी जीवनको अनुभवबीच यी पुस्तकहरु बीपीले पढेका हुन् ।

‘बिवेयर अफ पिटी’को कथावस्तु धेरै घतलाग्दो छ । यस उपन्यासका दुई मूल चरित्रहरु छन् । पहिलो चरित्र एन्टोन हफमिलर हो । ऊ ब्यारेकमा बस्ने युवा सैनिक हुन्छ । एकजना हंगेरियन जिम्दार लाजोस केकेस्फाल्भाको भव्य तथा रमाइलो महलमा उसले निमन्त्रणा पाउँछ । त्यहाँ उसको केकेस्फाल्भाकी छोरी एडिथसँग चिनजान हुन्छ । उसले एडिथलाई आफूसँग नाच्न प्रस्ताव गर्छ । निको हुन नसकेको पक्षाघात भएकोले एडिथ चलमल गर्न नसक्ने हुन्छे । हफमिलरको उसँग मायापिरती हुन जान्छ । एडिथले पनि हफमिलरलाई मन पराउँछे ।

यो जीवन्त वातावरणमा उसलाई पक्षाघात निको हुने आशा पलाउँछ । हफमिलरले पनि ऊ निको भएपछि उसलाई बिहे गर्ने वाचा गर्छ । यस्तो वाचाले जीवनप्रति उत्साहित भएकी एडिथ उपचार गर्न तयार हुने हफमिलरको विश्वास हुन्छ । तर, यो सम्बन्धमा एउटा चुनौती थपिन्छ । समाजले खिसी वा घृणा गर्ला भन्ने डरले उसले यो सम्बन्धलाई सार्वजनिक रुपमा अस्वीकार गरेकाले त्यो चुनौती थपिएको हो । जब एडिथले यसबारेमा थाहा पाउँछे ऊ विरक्तिन्छे । हफमिलरको माया यति कमजोर होला भन्ने उसलाई लागेको थिएन । यो वास्तविकता सहन नसकेर एडिथले आत्महत्या गर्छे । आफ्नो कारणले गर्दा यस्तो पाप हुन गएको हफमिलरले स्वीकार गर्छ तथा उपन्यासको अन्त्यमा ऊ प्रथम विश्वयुद्धको लागि प्रस्थान् गर्छ ।

‘बिवेयर अफ पिटी’का आधारमा बीपीले स्टिफेन ज्विगको अलिक लम्याएर आफ्नो कुरा भन्ने बानी भएको टिप्पणी गरेका छन् । उनी प्रत्येक ‘डिटेल’लाई स्पष्ट गर्न खोज्छन् । उनको भाषा पनि राम्रो छ । कतैकतै ‘सेन्टिमेन्टल’ देखिन्छन् । साहित्यकार बीपीको भनाइमा यो ‘ओरेटोरियल’ शैली हो । समग्रमा यो उपन्यास राम्रो भएको बीपीको कथन छ । प्रथम श्रेणीका लेखक नभएपनि द्वितीय श्रेणीको लेखकका रुपमा ज्विगको उच्च सम्मान रहेको बीपीको मूल्यांकन छ । यसका साथै उनी भन्छन् : “आजकालका मानवीय समस्याहरुको सूक्ष्मविश्लेषण उनको रचनामा पाइन्न; न मनोवैज्ञानिक सूक्ष्मता नै पाइन्छ उनको चरित्र रचनामा ।” त्यसैले ज्विगलाई कलाको क्षेत्रमा बुर्जुवा पनि भन्दा हुने बीपीको स्पष्टोक्ति छ ।

‘बिवेयर अफ पिटी’ दयाको भीषण परिणाम प्रस्तुत गरिएको उपन्यास हो । यसमा रचनात्मक दया (क्रिएटिभ पिटी)को पक्षलाई बीपीले उठाएका छन् । बीपीको विचारमा डाक्टरले दृष्टिहीन महिलालाई बिहे गरेर उसँगको जीवन निर्वाह गर्नु रचनात्मक किसिमको दया हो । एण्टोन हफमिलरको कुँजी युवती एडिथप्रतिको दया भने भावनात्मक (सेन्टिमेन्टल) दयामात्र हो । यही भावनात्मक दयाका कारणले गर्दा अन्त्यमा उपन्यासले एउटा भीषण परिणाम दिएको छ । त्यसो हुनाले, ज्विग भन्छन् – दयादेखि सावधान होऊ ।

ज्विगको प्रस्तुतिका बारेमा बीपी पुनः टिप्पणी गर्छन् : “ज्विगको लामो लेख्ने बानी छ । छोटकरीमा केही प्रभावयुक्त वाक्यद्वारा परिस्थितिलाई स्पष्ट गरेर छ्याङ्ग पार्न सक्तैनन् उनी । बीचबीचमा उनको अर्को बानी पनि प्रकट हुँदै जान्छ –(एपिग्रामेटिक एक्सप्रेसन) (विदग्धोक्ति–सं.) मा लेख्ने । एपिग्राम्स पढ्दा राम्रो लाग्छ तर त्यस्ता वाक्यमा बुद्धि, कौशल र शब्दचातुर्य अधिक रहन्छ बनिस्वत सत्यांशको । ‘बिवेयर अफ एपिग्राम्स’ भन्नुपर्ला जस्तो लाग्छ । भाषा राम्रो छ ।”

‘मेरी आन्टोएनेट’ पनि ‘बिवेयर अफ पिटी’ जस्तै तर अझ घतलाग्दो जीवनी हो । मेरीको जन्म तथा बाल्यकाल भियनामा बितेको हुन्छ । ऊ अस्ट्रियाकी महारानी मारिया थेरेसा तथा राजा फ्रान्सिस प्रथमकी सानी छोरी थिइन् । सन् १७७० मा १४ वर्षको उमेरमा उनको बिहे फ्रान्सका युवराज लुइ अगस्टेसँग भयो । त्यसको चार वर्षपछि अगस्टे लुइ १६ औं का रुपमा फ्रान्सका राजा भए तथा मेरी महारानी भइन् । उनलाई बोल्ड (निर्र्भीक – सं), जीवन्त र असाधारण फेसन गर्ने महिलाका रुपमा चित्रण गरिएको छ । उनी खर्चालु स्वभावकी थिइन् । सन् १७८९ मा उनले राजासँग संसद्को सुधारका सम्बन्धमा भइरहेका प्रयासहरुको विरोध गर्न आग्रह गरिन् । यसले गर्दा राजा झनै अलोकप्रिय भए । यसैकारण सोही वर्षको अक्टुबरमा राजारानीलाई उनीहरु रहेको ठाउँ वर्सायबाट पेरिस जान विवश गरिएको थियो । यसको दुई वर्षपछि पेरिसबाट राजदम्पतिले भाग्ने प्रयास गरेका थिए । सन् १७९१ मा उनीहरुलाई बाहिर जानबाट रोक लगाइएको थियो । यो दरबार छोडी भाग्ने योजना मेरी आन्टोएनेटले नै बनाएको भनिन्छ । राजासँगै थुना परेकी मेरीेले आफ्नो षड्यन्त्र जारी राखिन् । क्रान्तिलाई समाप्त गर्न र राजपरिवारलाई मुक्त गर्नका लागि विदेशी हस्तक्षेपको आश पनि गरिन् । उनले आफ्ना भाइ तथा रोमन सम्राट लियोपोल्ड द्वितीयसँग सहयोगका लागि अनुरोध गरेको पनि पाइन्छ । सन् १७९२ मा अष्ट्रिया विरुद्ध फ्रान्सले गरेको युद्धको घोषणालाई मेरीले समर्थन गरिन् । यसमा फ्रान्सले हार्नेछ र आफूहरुले मुक्ति पाउने सम्भावना हुनेछ भन्ने उनलाई लाग्थ्यो । मेरीको अलोकप्रियताले राजतन्त्रको उन्मूलनलाई मद्दत गर्‍यो ।

पेरिसका बासिन्दाले १० अगस्ट १७९२ मा ट्युलरिज प्यालेसमा आक्रमण गरेको केहीपछि फ्रान्समा प्रथम गणराज्यको स्थापना भयो । यसको तीन दिनपछि राजपरिवारलाई बन्दी घोषित गरियो । जनवरी १७९३ मा लुइ १६ औं को हत्या गरियो र त्यसै वर्ष १६ अक्टुबरका दिन मेरी आन्टोएनेटलाई गिलोटिनमा हालेर मारियो । उनलाई फ्रान्सका शत्रुहरुको समर्थन गरेको तथा गृहयुद्ध चर्काएको आरोप लगाइएको थियो ।

बीपीले ‘मेरी आन्टोएनेट : द पोर्टेट अफ एन एभरेज वुमन’मा ज्विगले आन्टोएनेटको चरित्र धेरै सहानुभूतिले वर्णन गरेको उल्लेख गरेका छन् । उनको भनाइमा यो अत्यन्त रोचक जीवन चरित्र रहेछ । बीपीको भनाइ छ – “एउटी साधारण नारी, इतिहासको असाधारण अवस्थितिमा आन्टोएनेट कुनै उल्लेखनीय रानी हुने थिइन् तर इतिहासको परिस्थितिमा परेर त्यस साधारण रानीले ठूलो– ट्रेजिक पात्रको रुपमा प्रकट भएर एउटा गौरवमय अन्त्यलाई अंगिकार गर्नुपर्‍यो ।” मेरी आन्टोएनेटको अन्त्यलाई बीपीले किन गौरवमय देखे, उनको टिप्पणीबाट प्रस्ट हुँदैन । राजतन्त्रलाई बचाउन जनतासँगको सहकार्य मेरीबाट हुन सकेन । व्यक्तिगत अवस्थाहरुका बारेमा जे दृष्टिकोण राखेपनि फ्रान्सेली क्रान्तिको पृष्ठभूमि भयानक छ ।

यो पुस्तक सकेपछि बीपी क्रान्तिको अर्को पक्षप्रति संवेदनशील देखिन्छन् । उनको भनाइ छ : “(यो) किताबले मेरो आजको उदासीलाई झन् बढाएको छ । आन्टोएनेटप्रति मेरो सहानुभूति र भावना उन्मुख गर्न थाल्छु । मलाई लाग्न थाल्छ – के क्रान्तिले जहिले पनि निम्नस्तरीय व्यक्तिहरुको हातमा आफूलाई सुम्पेर आफ्नो महान् आदर्श र लक्ष्यलाई बिस्तारबिस्तार परित्याग गरेर विकृत स्वरुप धारण गर्नुपर्छ ?” एकजना क्रान्तिकारीको डर यस टिप्पणीमा प्रस्ट रुपमा देखा परेको छ ।

बीपी कुनै पनि क्रान्ति अर्धमानवहरुको हातमा विसर्जन नहोस् भन्ने बारेमा चनाखो देखिन्छन् । उनको भनाइ छ– “पानीले जहिले पनि तल्लो सतह खोज्छ, के त्यस्तै क्रान्ति पनि यसमा लागेका आदर्श पुरुषहरु, दार्शनिक, कलाकार, साधारण व्यक्तिहरु, बदमाश, लुच्चाहरु घृणा र वासनाका अर्धमानव प्रतिमूर्तिहरुमध्ये तल्लै सतहका अर्धमानवहरुलाई खोजिहिँड्छ । त्यहाँसम्म नपुगुन्जेल यसको ध्याउन्न बनी रहन्छ, यो वेगवान् भै रहन्छ र त्यो तल्लो सतहमा पुगेपछि मात्र यसको वेग परिसमाप्ति हुन्छ।”

आफ्नो चिन्तालाई बीपीले नेपाली क्रान्तिसँग जोडेका छन् । जोडेका मात्र होइनन् आफ्नो बाटो फरक भएको प्रस्ट गर्न उनी समय लिँदैनन् : “यहाँ नेपालको क्रान्ति भयो भने त्यसको यो लक्षण प्रारम्भ मै प्रकट हुन दिनुहुन्न । अनावश्यक हिंसाको प्रारम्भ जस्तोसुकै सानो रुपबाट प्रकट भएपनि अन्त्यमा क्रान्तिको आदर्श र उच्च लक्ष्यको ठाउँमा हिंसा सायद अनिवार्य हुन्छ तर हिंसाले अनिवार्यताको सीमामा रहन सक्यो भने क्रान्तिको आदर्शलाई यसले कति कलुषित पार्न सक्दैन । अनावश्यक हिंसा प्रारम्भ भयो भने फेरि परिणाम एउटै हुन्छ – हिंसा केबल हिंसा । क्रान्तिमा हिंसाको बाटो सजिलो हुन्छ । हामीले यो बाटो खोज्नुहुन्न – सजिलो छ भनेर ।” बीपीले फ्रान्सेली राजतन्त्रको समाप्ति तथा फ्रान्सेली क्रान्तिबाट लिएको शिक्षा हो यो । राजतन्त्रका बारेमा उनको धारणा पनि यो टिप्पणीबाट प्रस्ट हुन्छ ।

राजा महेन्द्रले हिरासतमा लिएको ठीक दुई महिनापछि बीपीले जेल–जर्नल लेख्न सुरू गरेका हुन् । नेपाली क्रान्तिको उद्देश्य, राजनीतिक, आर्थिक, सामाजिक तथा विकाससम्बन्धी चुनौतीको अवस्था, बीपीको वैचारिक धरातल, सहयात्रीसँगको अन्तर्सहयोग, भाषा, धर्म, प्रकृति, साहित्य, कूटनीति, अध्यात्म तथा राष्ट्रिय जीवनका विविध पक्षहरूबारे बीपीका विचार तथा टिप्पणी यसमा परेका छन् ।

विश्व कारागार साहित्यमा बीपी कोइरालाको जेल जर्नलको विशेष महत्त्व छ । नेपाली भाषामा २०५४ मा जगदम्बा प्रकाशनबाट प्रकाशित बीपीको आत्म संवादको रूपमा लिपिबद्ध कृति जेल–जर्नल विश्वजेल साहित्यमा एउटा उल्लेखनीय कृति हो । उनको अंग्रेजीमा लेखिएको २०३३–३४ को पछिल्लो जेल डायरीको नेपाली अनुवाद फेरि सुन्दरीजलले पहिलो प्रयासलाई अझ सार्थक बनाएको छ ।

उपरोक्त दुवै जेल डायरीलाई दुई वर्षअघि प्रकाशित ‘बीपी कोइरालाको डायरी (२००८–२०१३) ले पूर्वाधारको काम गर्दछ । २००७ सालको नेपाली क्रान्तिको वास्तविक सूत्राधारका रूपमा सक्रिय राजनीतिमा रहँदा लेखिएको यो पछिल्लो डायरीले क्रान्ति पछिको राजनीतिक विकासमा बीपीको संघर्षशील सक्रियता, सत्ता अन्तर्द्वन्द्व, योग्यता, धैर्य, आक्रोश र कमिकमजोरीलाई विविधरूपमा व्यक्त गरेको छ । यसमा बीपी भन्छन्, ‘जब म मेरो व्यक्तिगत खुसी र सन्तोषको कुरा सोच्छु, मलाई मेरो नैतिक अस्तित्वमा केही अभावको बोध हुन्छ ।’

वास्तवमा, बीपीको बारेमा बीपी आफैभन्दा अरूले लेखेका विषय नै मूल प्रवाहमा रहेको नेपालको लामो इतिहास छ । यो इतिहास विद्वेषपूर्ण वा आग्रह र पूर्वाग्रहहरूको रूपमा बीपीप्रति लक्षित भएको बुझ्न सकिन्छ ।पञ्चायत प्रणालीले बीपीका बारेमा ‘मिसइन्फोर्मेसन क्याम्पेन’ नै चलाएको थियो ।

त्यसबेला लेखिएका सन् १९६६ को भुवनलाल जोशी तथा लिओई. रोजको ‘डिमोक्रेटिक इन्नोभेसन्स इन नेपालः अ केस स्टडी अफ पोलिटिकल एकल्चरेसन’ जस्तो सीमित पुस्तक तथा विश्लेषणहरू बाहेक धेरैले बीपीलाई न्याय गर्न नसकेको स्पष्ट परिस्थितिमा यी प्रकाशित डायरीहरूले बीपीलाई बुझ्न ठूलो भूमिका निर्वाह गरेका छन् ।

बीपीकै वरिपरि उनको विचारलाई निस्क्रिय पार्ने राजनीतिक अनुयायीहरूको सक्रियता रहेको उनको जेल डायरीका सम्पादक गणेशराज शर्माको स्पष्टोक्ति छ । बीपी स्वयंले आफ्नो मृत्युपछि नेपाली काङ्ग्रेसमा आफ्नो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुने तथा घटनाहरूलाई बङ्ग्याएर इतिहासको व्याख्यागरिने सम्भावनातर्फ औंल्याएको जेल–जर्नलको भूमिकामा स्पष्टरूपमा उल्लेख गरिएको छ ।

धेरै महत्त्वपूर्ण व्यक्तिहरूले कारागारमा छँदा आ–आफ्नो डायरी लेखेर समयको सदुपयोग गरेको पाइन्छ ।ज्याक अब्बोट्ट, जेफ्री आर्चरका कारागारका डायरीहरू प्रसिद्ध छन् । ज्याक अब्बोट अमेरिकी अपराधी तथा लेखक थिए । उनको सन् २००२ मा मृत्यु भयो । आर्चर पूर्व राजनीतिज्ञ तथा अंग्रेजी उपन्यासकार हुन् । उनी सन् १९६९–१९७४ को अवधिमा बेलायतका संसद सदस्य थिए । एउटा वित्तीय जालझेलका कारण उनी दामासाहीमा परे । यी दुवै लेखकहरूको जेल डायरी आज अत्यधिक चर्चामा रहेको मानिन्छ । अमेरिकी उपन्यासकार नर्मन मेलरले ज्याक अब्बोटको जेल डायरीलाई धेरै प्रशंसा गरेको पाइन्छ ।

यी लेखकहरू बीपी कोइरालाजस्तो ठूलो विषद् राजनीतिक संघर्ष भएको बहुआयामिक व्यक्तित्व होइनन् । बीपीका डायरीहरूले कसैको डायरी वा कारागार पत्राचारबाट प्रभावित भएर आफूले डायरी लेखन गरेको उल्लेख गरेको पनि देखिँदैन । तथापि यस क्षेत्रमा धेरै स्थापित नाउँहरू पनि छन् ।

हो ची मीन्हको चिनियाँ भाषामा लेखिएको ‘प्रिजन डायरी’ तथा हिटलरको ‘मेन क्याम्फ’ लाई उदाहरणका रूपमा लिन सकिन्छ । हो ची मीन्हको डायरी प्रसिद्ध छ । उनी भियतनामका सबैभन्दा प्रसिद्ध मार्क्सवादी–लेलिनवादी राजनीतिज्ञ हुन् । उनी फ्रेन्च पनि बोल्दथे । भियतनामलाई लामो संघर्षद्वारा फ्रान्सबाट स्वतन्त्र गराएका उनको दर्जनौ छद्म नाउँ थिए । दक्षिणी भियतनामको व्यापारिक सहर साइगनलाई आजकल ‘हो ची मीन्ह सिटी’ भनिन्छ ।

एउटा राजनीतिज्ञका रूपमा कम्युनिष्ट पार्टीको शासनलाई देशमा अनन्तकालका लागि संस्थागत गर्ने हो ची मीन्ह राजनीतिक स्वतन्त्रताको अर्थमा महत्त्व राख्दैनन् तर चीनका माओ त्से तुङजस्तै बलिया राष्ट्रवादी मानिन्छन् । उनको चिनियाँ भाषामा लेखिएको ‘जेल डायरी’ कारागारभित्रको परिस्थिति, कूप्रशासन, शोषण र दमन तथा भियतनामको विविध विषयसँग सम्बन्धित छ ।

तुलनात्मक रूपमा बीपीका दृष्टिकोणहरू धेरै उदार धरातलमा आधारित छन् र बलिया तथा सिद्धान्त प्रेरित पाइन्छन् । हो ची मीन्हले कविताको माध्यमबाट आफूलाई व्यक्त गरे । बीपीले इतिहास, साहित्य, दर्शनशास्त्र तथा प्रजातान्त्रिक चिन्तनका आधारमा आफ्नो अभिव्यक्ति दिएका छन् ।

त्यस्तै नवमार्क्सवादका चिन्तक एन्टोनियो ग्राम्शीको ‘जेल डायरी’ पनि धेरै प्रसिद्ध छ । उनी इटलीका कम्युनिस्ट पार्टीको संस्थापक, मार्क्सवादको सिद्धान्तकार तथा प्रचारक थिए । एन्टोनियो ग्राम्शीलाई मुसोलिनीले ६ वर्ष थुनामा राखे । यसैबेला उनले आफ्ना नोटबुकहरू लेखेका थिए । मुसोलिनीको राज्यलाई एउटा फासिष्ट राज्यको रूपमा लिइन्छ । नेता अधिनायकवादी तथा राज्य फासिष्ट भएपछि के बाँकी रहन्थ्यो? थुनिएका ग्राम्शीले जेलमा रहुञ्जेल पुँजीवादी राज्यको वितन्डाका बारेमा डायरी लेखे।

बुद्धिजीवीदेखि सांस्कृतिक आधिपत्यसम्मका कुरा उनले लेखेका छन् । बीसौं शताब्दीका प्रारम्भिक चार दशकको अवधि दक्षिणपन्थी फासिष्ट विचारधारासँग जुध्ने तथा साम्यवादको पक्षधरताको प्रयासका लागि प्रसिद्ध छ । ग्राम्शीले कारागारमा छँदा ३० वटा नोटबुक र तीनहजार पृष्ठ जति इतिहास विश्लेषण तथा आफ्नो दृष्टिकोण लेखेका थिए ।

दर्शनको क्षेत्रमा ग्राम्शीले ऐतिहासिक भौतिकवादका समस्याहरूलाई सम्बोधन गरेको देखिन्छ । कारावासका समयमा लेखिएको नोटबुक ग्राम्शीको विचारधारा र सैद्धान्तिक लेखनको प्रतिनिधि दस्तावेज हो । यसमा उनले ‘बेस एण्ड सुपरस्ट्रक्चर’ (आधार तथा विशिष्ट संरचना) सिद्धान्त समाजको तल रहेका सर्वहारा वर्ग र बुद्धिजीवी समुदायको पारस्परिक सम्बन्धहरूको विश्लेषण गरेका छन् । विचारधारा (दर्शन, कला, नीति, इत्यादि) को सापेक्षिक स्वतन्त्रताको गहिरो अध्ययन र विश्लेषण त्यसमा छ ।

इटालियन संस्कृतिको अध्ययन, क्याथोलिक धर्म, बेनेदेतो क्रसको अभिव्यञ्जनावादी दर्शन र समाजशास्त्रमा प्रत्ययवादी (चेतनामूलक) सिद्धान्तको आलोचनाकोमार्क्सवादी चिन्तनशैलीमा धेरै महत्त्व राख्दछन् । अति प्रभावकारी हुँदाहुँदै पनि प्रजातान्त्रिक मान्यताहरूमा ग्राम्शीले समय खर्च गरेनन् । उनको बाटो त्यो थिएन ।उनले छोएका अधिकांश विषयहरूमा बीपीका आफ्ना दृष्टिकोण छन् । तर बीपीको मूल आधार प्रजातान्त्रिक समाजवाद रहेको थियो ।

नेल्सन मण्डेला थुनामा रहँदा लेखिएका विभिन्न दैनिकी, संक्षिप्त लेख तथा चिठीहरू त्यतिकै प्रसिद्ध छन् । उनले आफ्नो जीवन तथा अनुभवको बारेमा तिनमा लेखेका थिए । नेल्सन मण्डेलाको ‘अ लंग वाक टु फ्रिडम : द अटोबायोग्राफी अफ नेल्सन मण्डेला’ एउटा स्तरीय पुस्तक हो । कन्भर्सेसन्स विथ माइसेल्फ त्यतिकै महत्वपूर्ण छ । उनको प्रिजन लेटर्स सन् २०१९ मा प्रकाशित भए ।

रङ्गभेद विरोधी क्रान्तिकारी राजनेता तथा परोपकारी व्यक्ति मण्डेलाका डायरीमा उनको राजनीतिक प्रतिबद्धतामात्र नभएर मानवतामुखी व्यक्तित्व पनि झल्किन्छ । रङ्गभेदविरुद्ध तथा राजनीतिक समानताको लडाइँमा मण्डेला अद्वितीय मानिन्छन् । बीपीकाझैँ मण्डेलाका डायरीले पनि राजनेताका रूपमा उनको बौद्धिक विकास क्रमशः कसरी हुँदै गएको रहेछ भन्ने देखाउँछन् ।

मार्टिन लुथर किङले अमेरिकाको अलावामास्थित बर्मिङ्घम जेलबाट लेखेका चिठीहरू जेल डायरीको एउटा अर्को बलियो उदाहरण हो । लुथरलाई बर्मिङ्घममा जातीय विभेदविरुद्ध गरिएको एउटा अहिंसात्मक विरोधका लागि थुनिएको थियो । त्यसै जेलबाट लेखिएका उनका चिठीहरू निकै प्रसिद्ध भए ।

‘इन्जस्टिस एनिहृवेयर इज अ थ्रेट टु जस्टिज एभ्रिहृवेयर’ अर्थात् कहीँ पनि भएको अन्याय सबैतिरको न्यायका लागि एउटा खतरा हो भन्ने उनको महानवाणी त्यस्तै चिठीबाट सार्वजनिक भएको हो । बीपीका डायरीहरूमा पनि यस्तै सयौं महत्त्वपूर्ण भनाइहरू भेटिन्छन् ।

झ्यालखानामा लेखिएका कतिपय पुस्तकहरू धेरै प्रसिद्ध छन् । वास्तवमा डायरी लेख्नेभन्दा पुस्तक लेख्ने धेरै पाइन्छन् । आजकै मितिमा पनि नाजी पार्टीका नेताका रूपमा हिटलरको सन् १९२५ र १९२६ मा लेखिएको उनको आत्मअभिव्यक्तिका रूपमा रहेको घोषणापत्र ‘मेन क्याम्फ’ राम्रो पुस्तक मानिँदैन यद्यपि यो अत्यधिक प्रसिद्ध छ ।

‘मेन क्याम्फ’ले विश्व नेतृत्वमा स्थापित हुन यहुदी जनताले गरेको कथित् षडयन्त्रलाई उल्लेख गर्दछ । यसको मूल विषय यहुदी विपत्ति हो । हिटलरको भनाइमा जर्मन जातिको पवित्र उद्देश्य आफ्नो जातिगत तत्वहरूलाई कायम राख्दै आफूलाई प्रभावशाली रूपमा स्थापित गर्ने हो ।

हिटलरको भनाइमा जो राम्रा जातिका छैनन् उनीहरू भुस हुन् । जर्मन जातिले कुकुर, घोडा र बिरालाको मात्र प्रजनन् गराएर बस्ने होइन आफ्नो रगतको विशुद्धता पनि सुरक्षित राख्ने हो । बीपीले आफ्नो उपन्यास ‘हिटलर र यहुदी’मा यस विषयलाई विस्तारका साथ विवेचना गरेका छन् ।

बीपीको राष्ट्रवादको कुनै चेतना हिटलरलगायत कुनै नाजी नेतृत्व वा समर्थकमा थिएन । यो पुस्तकले हिटलर कस्तो प्रक्रियाबाट क्रमशः यहुदी विरोधी तथा सैन्यवादी हुँदै गए भन्ने बुझ्न मद्दत गर्दछ । वास्तवमा जेलभित्र बसी युरोपको सत्यानाश गर्ने जुक्ति सिर्जनामा मात्र यो पुस्तक सहायक हुन सक्यो ।

अलेक्सान्द्र सोल्झेनित्सिन स्टालिनलाई खिसी गरेको कारणले जेलमा परे । उनी दार्शनिक तथा इतिहासकार पनि थिए । उनलाई सोभियत संघको सबैभन्दा प्रसिद्ध प्रतिपक्षी मत पनि मानिन्छ । कम्युनिस्ट प्रणाली तथा राजनीतिक दमनको उनले विरोध गरेका थिए ।

१९४५ तिरको कुरा हो, उनले लेखेकोद गुलाग आर्किपेलागो १९८९ मा छापियो । सोल्झेनित्सिनको भनाइमा मार्क्सवादी, लेनिनवादी सिद्धान्तले जहिले पनि ‘लेबरक्याम्प’कै सिर्जना गर्ने हो । लेनिनले यसको सुरूवात गरे । स्टालिनको समयमा अर्थात् सन् १९३० देखि १९५० सम्म यसको भयानक रूप देखियो ।

यसलाई राजनीतिक फरक दृष्टिकोण राख्नेलाई दमन गर्न प्रयोग गरियो । सोल्झेनित्सिनको भनाइमा सोभियत सरकारको बल जसरी गुलागको उत्पादकत्वमा टिकेको छ, त्यसैगरी त्यसको शक्तिको आड पनि गुलागको त्रास नै हो । राजनीति गर्नेलाई सोल्झेनित्सिनको यो पुस्तकले आत्मबल निर्माण गर्न मद्दत गर्दछ ।

बीपीका डायरीहरू राजनीतिक अर्थमा अत्यन्त प्रभावशाली छन् ।बीपी भन्छन्, ‘२००७ सालको क्रान्ति हामीले हिन्दुस्तानबाट सञ्चालन गर्‍यौं, तर हामीलाई हिन्दुस्तानले सञ्चालन गर्न खोजेको कुरा मैले सधैंभरि र सबैभन्दा बढी विरोध गरेको छु । मैले राजालाई हमेसा महत्व दिएको छु– मलाई थुनामा राख्दा पनि मैले त्यही विचार राखेको छु, तर उनको निरंकुश शैलीको मैले सधैं र सबैभन्दा बढी विरोध गरेको छु ।

मैले हिन्दुस्तान बसेर संगठन गर्दा पनि आफ्नो राष्ट्रियताको छवि कायम राख्ने प्रयास गरेँ । राजासँग मेलमिलापको कुरो गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिनँ ।’ उनको भनाइ छ, ‘नेपाली काङ्ग्रेसको इतिहास ती सबै आदर्श र लक्ष्यहरूका साथ भएको संघर्षको इतिहास हो र मलाई लाग्छ, यस मुलुकको उज्जवल भविष्यका लागि नेपाली काङ्ग्रेसमा ती कुराको निरन्तरता रहनु पर्दछ ।

जुन नेपाली काङ्ग्रेसले राष्ट्रियताको आफ्नो अडान छाड्ने छ, यो निरर्थक भएर जानेछ र जुन दिन यसले प्रजातन्त्रका आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।’ आफ्ना यी अडानहरूका बारेमा कसैले भ्रमित नगरून् भन्ने बीपीको अपेक्षा छ ।

आफ्नै कलमद्वारा अभिव्यक्त बीपीका मौलिक विचारहरूले गर्दा दुवै जेल डायरीले उनका बारेमा भ्रमित नहुने अवस्थाको सिर्जना गरेका छन् । यसैगरी ८ जेठ २०३९ मा क्यान्सरको इलाज गर्न दिल्ली जानुअघि गरेको टेप वार्तामा बीपीले फर्किएर आइएला, नआइएला भन्ने त्रासबीच दिएको अन्तिम सन्देशलाई यहाँ उल्लेख गर्नु जरूरी छ । २०६३ मा प्रकाशित राजा, राष्ट्रियता र राजनीतिमा बीपीले आफ्नो कुरालाई यसरी बिट मारेका छन् :

१. हामी बडो अप्ठ्यारो परिस्थितिमा छौं । हाम्रो देश, हाम्रो जाति, हाम्रो राष्ट्र बडो अप्ठ्यारो परिस्थितिमा छ र त्यसलाई जोगाउनु परेको छ । … त्यस्ता संस्थाहरू, त्यस्ता शक्तिहरू जसले जोगाउन सक्दछन्, तीसँग हामीले वैमनष्यताको सम्बन्ध राख्नु हुँदैन । जस्तो, राजतन्त्रको बारेमा ।

मलाई लाग्दछ, त्यो त्यस्तो संस्था छ हाम्रो नेपालका लागि, नेपालको राष्ट्रियताको लागि, अहिले जो विपत्ति परेको छ । बाहिरियाबाट त्यसलाई बचाउनका लागि बडो ठूलो योगदान त्यसले दिन सक्छ । त्यसो हुनाले त्यसको खिलाफ हामीले बडो सजक भएर मात्र कारबाही गर्नुपर्छ । नत्र भनेदेखि जुन तत्वले हाम्रो राष्ट्रलाई सिध्याउन लागेको छ, त्यही तत्व हाम्रो पछाडि लागेर हामीलाई समर्थन गरेर त्यो गराउन सक्दछ ।

२. आर्थिक विकास भनेको नै हामी नेपालको विकास भन्दछौँ भने त्यो गाउँको विकास हो ।… गाउँको विकास भनेको मतलव के हो भनेदेखि ठूल्ठूला उद्योगधन्दाको विकासमात्र गर्ने होइन । गाउँलाई चाहिने आवश्यकताको कुरा गाउँमा नै उपलब्ध हुन सकोस् ।

३. जब म भन्छु बाहिरियाबाट हाम्रो देशमा यो खतरा छ तब ती मेरा वाक्यहरूमा कहिले हिन्दुस्तानका कुरा आउँछ, कहिले रूसको कुरा आउँछ, कसैले यो अनभिज्ञ भएर भनोस् यी शक्तिहरू बडो इमानदार भएर हाम्रो निम्ति (काम) गर्छन् त्योचाहिँ हाम्रा निम्ति पत्याउने कुरा छैन ।

४. हामीले याद गर्नुपर्छ हिन्दुस्तानसँग मिल्दैमा चीन विरोधी हुनुपर्छ भन्ने जरूरी पनि छैन र चीनले हामीलाई केही सुविधा पारिदियो भने हामीले भारत विरोधी हुनुपर्ने हुँदैन ।

५. कुनै एउटा व्यक्तिको बुताबाट देश बाँच्ने, संस्थाहरू विकसित हुने, देश विकास हुने, त्यो हुनै सक्दैन । हुने हो भने त राजाकै हुकुमबाट भइहाल्थ्यो नि । जस्तोसुकै बुद्धिमानले पनि त्यो गर्नै सक्दैन ।… मेरो अगर देन केही छ भने यो देशको सामर्थ्यलाई बुझेर आफ्नो कुरा भनेको छु ।

उपरोक्त पृष्ठभूमिमा एउटा मयार्दित आस्थाको बन्दीको रूपमा लेखिएका पछिल्ला दुवै डायरीहरू हजारौं प्रति बिक्री भइसकेको छ । तथापि यी सामग्रीहरूको समग्र प्राज्ञिक अध्ययन नहुञ्जेलसम्म नेपालको राष्ट्रनीतिमा बीपीको योगदान अन्तर्राष्ट्रिय जगत्‌ले बुझ्ने अवस्था छैन ।

अन्तर्राष्ट्रिय साहित्यमा जेल पर्दा लेखिएका उपन्यास, नाटक, कविता तथा राजनीतिक विषयहरूको कमी छैन । राजा महेन्द्रले हिरासतमा लिएको ठीक दुई महिनापछि बीपीले जेल–जर्नल लेख्न शुरू गरेका हुन् । यसमा आफ्नो यथार्थ उनले आफ्नी पत्नी सुशीलालाई सम्झेर व्यक्त गरेको देखिन्छ ।

बन्दी जीवनको यथार्थ एउटा कुरा भयो । तर समग्रमा नेपाली क्रान्तिको उद्देश्य, राजनीतिक, आर्थिक, सामाजिक तथा विकाससम्बन्धी चुनौतीहरूको अवस्था, बीपीको वैचारिक धरातल, सहयात्रीहरूसँगको अन्तर्सहयोग, भाषा, धर्म, प्रकृति, साहित्य, कूटनीति, अध्यात्म तथा राष्ट्रिय जीवनका विविध पक्षहरूबारे बीपीका विचार तथा टिप्पणीहरू यसमा परेका छन् ।

व्यक्तिहरूले झ्यालखाना बस्दा कलम चलाएको देखिन्छ । बीपीको उपस्थिति यो हूलमा अलि फरक हो । मूलतः बीपी राजनीतिमा सक्रिय व्यक्ति तथा चिन्तक थिए । जनताबाट अनुमोदित भइसकेपछि उनलाई जेल हालिएको थियो । प्रजातान्त्रिक क्रान्तिको नेतृत्व गर्दै मुलुकको प्रधानमन्त्री तथा सबैभन्दा सिद्धान्तनिष्ठ प्रतिपक्षका नेताका रूपमा यसरी साहित्य सिर्जना गर्ने अवसर कमैले पाएका छन् ।

विश्व राजनीतिमा धेरै नेताहरू जेल गएका छन् । तर आफ्नो युगको आदर्श, नैतिकता र मान्यताहरूका लागि आफूले गरेको संघर्षलाई लेखबद्ध गर्ने तथा आफूलाई समग्र समालोचनाका लागि खुला राख्ने नेताहरू कमै हुन्छन् ।

प्रजातन्त्र तथा राष्ट्रवादप्रति समर्पित बीपीका दुवै जेल डायरीहरूले बीपीको आदर्श, नैतिकता र मान्यताहरूका लागि गरिएको महान् संघर्षलाई शब्द चित्रमा उतारेका छन् ।

३० डिसेम्बर १९७६ का दिन करिब ८ वर्ष लामो प्रवास त्याग गरी राष्ट्रिय मेलमिलापको आहृवानका साथ स्वदेश फर्किएका दिनदेखि दोस्रो डायरीमा पहिलोजस्तै सम्पूर्ण मानवीय आवेग, उद्विग्नता, उत्तेजना र उदासीहरूको नितान्त निजी व्यक्तित्वसम्मको अवलोकन र अनुभूत यस डायरीका पानाहरूबाट गर्न सकिन्छ । वास्तवमा यी दुवै डायरीमा बीपीको वास्तविक योग्यता र औकात छर्लङ्ग देखिन्छन् ।

त्योभन्दा पनि बीपीको चिन्तनमा रहेको मौलिकता तथा आफ्नो मुलुकप्रतिको समर्पणको यी दुवै डायरीहरू उत्खननमा पाइएका गाडधन नै हुन् । ठूलठूला उद्भव भएका धेरै नेताहरू जस्तो जर्मनीका एडल्फ हिटलर वा भियतनामका हो ची मीन्हजस्ता कुनै बेलाका एकदमै महान् व्यक्तिहरू पनि अन्ततः प्रजातान्त्रिक निष्ठामा कमजोर सावित भएको विश्वइतिहास छ । बीपी यी डायरीबाट अझै कञ्चन देखिएका छन् ।

अतः बीपीका सबै डायरी विश्वजेल साहित्यमा धेरै महत्त्व राख्दछन् । तर यिनले भाषागत कारणले विश्व पाठकमञ्च प्राप्त गर्न सकेका छैनन् ।

[प्रकाशित : भाद्र २४, २०७८ १७:०६]

नेपालमा जन्मेका विश्व प्रसिद्ध तथा सम्यक विचारका कारण धर्मशास्त्रमा धेरैअघि नै स्थापित भगवान् बुद्धका बारेमा स्व. बीपी कोइरालाको चिन्तन अनुसन्धानको विषय हो । यसका दुई पक्ष छन् । पहिलो पक्ष राजनीतिसँग सम्बन्धित छ र दोस्रो पक्ष अध्यात्मसँग ।

८० वर्षको जीवन बाँचेर समाधि लिएका सन्यासी बुद्ध दुवै दृष्टिले एउटा महत्त्वपूर्ण व्यक्ति देखिन्छन् । बीपीले यी दुवै पक्षमा उनका बारेको आफ्नो संक्षिप्त दृष्टिकोण स्पष्ट गरेको देखिन्छ ।

बुद्ध एउटा बलियो परिवर्तनकारी शक्ति थिए । उनले आफूलाई भगवान् भएको दाबी गरेनन् । उनले आफूलाई सम्बोधि प्राप्त गरेको वा अन्तिम सत्यको साक्षात्कार गरेको व्यक्तिका रूपमा मात्र प्रस्तुत गरे । तर, भक्तहरूले उनलाई एक आदर्श तथा तत्वज्ञानी पुरुषका रूपमा भगवान् नै भने ।

बीपीको भनाइमा परिवर्तनकारी शक्तिका रूपमा इतिहासमा बुद्धबाहेक अरू कोही पनि त्यति धेरै सफल हुन सकेनन् । उनको परिवर्तनको राजनीति चलाकीको राजनीति थियो । बुद्धले जनसाधारणलाई भन्दा राजपुत्रहरूलाई आफ्नो सम्पर्कमा राखे । त्यसबाट उनको काम–कारबाही सहज हुन सक्यो ।

बुद्धकालीन यस जम्बुद्वीपमा त्यतिखेर १६ महाजन पदहरू थिए भनिन्छ । बौद्धग्रन्थ अंगुत्तर निकायानुसार यसमा १६ महाजन पदहरू, १० गणतन्त्रहरू र चार राज्यहरू उल्लेख गरिएको छ । १६ महाजन पदहरूमा अंग, मगध, काशी, कोशल, बज्जी, मल्ल, चेति, वशं (वत्स), कुरु, पंचाल, मत्स, सुरसेन, अस्सक, अवन्ती, गान्धार र कम्बोज पर्दथे ।

चार राज्यहरूमा मगध, कोशल, वंश रअवन्ति थिए । १० गणराज्यहरूमा साकिय, मोरिय, कोलिय, बुलि, कालाम, विदेह, भग्ग, लिच्छवि, पावा मल्ल र कुशीनगर हुन् । नेपालको कपिलवस्तु पनि गणराज्य नै थियो । यी मध्ये उत्तरी क्षेत्रका कतिपयका शासकहरूलाई बुद्धले राम्रैसँग प्रभावित गरे । जुन राज्यहरूलाई परिवर्तन गर्नुपर्ने हो, सो राज्यका शासकहरू प्रभावमा आउनु भनेको उनीहरूतर्फबाट अड्चन वा प्रतिरोध नहुनु हो ।

मगधका राजा बिम्बिसार तथा उनका छोरा अजातशत्रु बौद्ध धर्मका अनुयायी नै बने । बुद्धको पार्थिव शरीरको दाहसंस्कारपछिको अवशेष कसले लैजाने भन्ने मगधका राजा अजातशत्रु, कपिलवस्तुका शाक्य र वैशालीका लिच्छविबीच भएको झगडा शान्त नभएपछि द्रोण भन्ने एक ब्राह्मणको अग्रसरतामा बुद्ध अवशेष आठ भागमा बाँडेर राज्यहरूलाई दिइएको बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

आठवटै राज्यहरूले आ–आफ्नो राज्यमा आठवटा स्तुप बनाई ती अवशेष राखेका थिए । भनिन्छ, पछि सम्राट अशोकले ती अवशेष निकालेर पुनः जम्बुद्वीपका ८४ हजार स्तुपहरूबीच बाँडेका थिए । यसबाट बुद्ध राजाहरूबीच कति प्रभावशाली थिए भन्ने बुझ्न सकिन्छ ।

यी सबै राजाहरूलाई बुद्धले आफ्नो ज्ञान, प्रतिभा र तर्क क्षमताले गलाएका हुन् । शासक वा राजाले बुद्ध धर्म अपनाएपछि जनता पनि त्यहि बाटो हिँड्न खोज्नु स्वाभाविक नै थियो । परिवर्तनका लागि बुद्धले रक्तपात गर्नु परेन । त्यसैले बीपीले बुद्धलाई सकारात्मक अर्थमा ‘चलाक’ भनेका हुन् ।

बीपीको भनाइमा “त्यसबखत ब्राह्मण र क्षेत्रीहरूको बडो ठूलो संघर्ष थियो । ब्राह्मणको खिलाफमा यो आन्दालेन थियो । ब्राह्मणहरूको हातमा हातहतियार हुँदैन थियो, बुद्धिबल मात्र हुन्थ्यो । हातहतियार क्षेत्रीयहरूसँग हुन्थ्यो । त्यस हुनाले उत्तर भारतका तमाम क्षेत्रीयहरूलाई बुद्धले आफ्नो मतअन्तर्गत ल्याएका थिए । त्यो मगधका राजा हुन् वा अरू कुनै ठाउँका, यिनले राजपुत्रहरूलाई मात्र परिवर्तन गरे । त्यस हुनाले जो मुकाबिला गर्नुपर्थ्यो विरोधको, त्यो यिनले गर्नु परेन । नत्र दुनियाँको कुनै पनि ठूला नेता बडो सफल भएर मरे भन्ने देखिन्न, त्यस दृष्टिबाट । तर, मेरो दृष्टिबाट त ती बुद्ध सफल नै भएका हुन् ।”

भगवान् बुद्धको निर्वाणको व्याख्या महत्त्वपूर्ण छ । यसको शाब्दिक अर्थ ‘निभेको’ भन्ने हो । जस्तो निभेको आगो, निभेको दियो । मान्छेको लोभ, मोह, आकांक्षा वा तृष्णाहरू समाप्त भएको अवस्थालाई निर्वाण भन्दछन् । तृष्णा र वासनाले नै दुःख हुन्छ । यो समाप्त भएको अवस्था निर्वाण हो । त्यसैले निर्वाण बुद्धत्वको त्यस्तो स्थिति हो, जसमा व्यक्ति सांसारिक मोह बन्धनबाट मुक्त भएर अनासक्त, निर्भिकार र निर्लिप्त भावले होसपूर्ण जीवन बाँच्दछ ।

बुद्धको भनाइमा भिक्षुहरूको संसार अनादि छ । अविद्या र तृष्णाबाट सञ्चालित भएर प्राणीहरू भत्किँदै हिँडेका छन् । उनीहरूको आदि र अन्तको पत्तो पाइँदैन । भावचक्रमा परेको प्राणाी अनादिकालदेखि जन्मँदै मर्दै आएको छ । अब भने मान्छेले सबै संस्कारहरूबाट निर्वेद प्राप्त गर्नुपर्दछ ।

वैराग्य प्राप्त गर्नुपर्दछ । मुक्ति प्राप्त गर्नुपर्छ । बुद्धको भनाइमा सबै दुःखको मूल संस्कार हो । यस तत्वलाई जानेर तृष्णा र संस्कारलाई मासेर नै मान्छेले निर्वाण पाउँदछ ।

कुषाण वंशका प्रमुख सम्राट कनिष्ट (शासनकाल लगभग १२७ ई. देखि १४०–५१ ई. सम्म)का समकालीन अश्वघोष एउटा महान् बौद्ध कवि र दार्शनिक थिए । बुद्ध दर्शनको इतिहासमा मात्र नभई संस्कृत काव्यको सम्पूर्ण परम्परामा उनको एउटा विशिष्ट स्थान छ ।

महाकवि अश्वघोष आदिकवि वाल्मीकिको एउटा महत्त्वपूर्ण उत्तराधिकारी थिए । उनी कालिदास र संस्कृत साहित्यका प्रसिद्ध नाटककार भासका पूर्वगामी मानिन्छन् ।

‘सौन्दरनन्द’ काव्य अश्वघोषले नै लेखेका हुन् । यसमा भगवान् बुद्धले आफ्ना पिता शुद्धोधन तथा सानिमाका छोरा (भाइ) नन्दलाई उनको प्रभावमा आएर सांसारिक भोगविलास त्यागेर प्रवज्या ग्रहण गरेको विषयलाई काव्यात्मक तरिकाले वर्णन गरेका छन् । बीपी महाकवि अश्वघोषका बारेमा जानकार देखिन्छन् ।

बीपीको ‘जेल जर्नल’मा सौन्दरनन्द काव्यलाई उल्लेख गरिएको छ । बुद्धलाई अनुशरण गर्दै अश्वघोषले आफ्नो सौन्दरनन्द काव्यमा “निभेका दीप न त पृथ्वीमा जान्छ, न अन्तरिक्षमा, न कुनै दिशामा विदिशामा पुग्दछ । प्रत्युत, तेलको क्षय भएपछि त्यो केवल शान्तिमा प्राप्त हुन्छ । त्यस्तै, ज्ञानी, बोधिप्राप्त पुरुष न त पृथ्वीमा, न कुनै आन्तरिक, दिशा वा विदिशामा पुग्छ । त्यो पुरुष क्लेशको क्षय भएपछि शान्तिमा प्राप्त हुन्छ” भन्ने दृष्टिकोण बीपीले उल्लेख गरेका छन् ।

अर्को बौद्ध ग्रन्थ ‘लंकावतारसूत्र’ पनि जेल जर्नलमा उल्लेखित छ । योगाचारको सबैभन्दा महत्त्वपूर्ण रचना लंकावतारसूत्र हो । यो एउटा गम्भीर दर्शन मानिन्छ । यसले चित्त विज्ञानको विश्लेषण गरेको छ । यसमा भगवान् बुद्धले सम्बोधन गरेका छन् । यस ग्रन्थको सम्बन्ध लंकासँग छ ।

बुद्धले यसको उपदेश लंकाका राजा रावणलाई दिएका थिए भन्ने मानिन्छ । तर, कालखण्ड फरक देखिएकाले यो बुद्ध शाक्यमुनि नभएर अन्य कोही बुद्ध हुन सक्दछ वा ‘रावण’ शब्द जो लंकावतारसूत्रको प्रथम अध्यायमा प्रयोग भएको छ, त्यो केवल काल्पनिक विषय मात्र हुन सक्दछ ।

यस लंकावतारसूत्रको प्रथम अध्यायमा बुद्धले आफ्ना अनेक अवतारको परम्परामा एकपल्ट लंका नगरीनजिकै कुनै मलय पर्वतमा आफ्ना अनेक शिष्यहरूसहित सहसा अवतीर्ण भएको उल्लेख छ । आफ्नो ओजस्वी वाणीबाट बुद्धले धर्मोपदेश दिँदै गरेको यक्ष राजा रावणले थाहा पाएपछि उनी पनि भगवान्को दर्शनका लागि त्यहाँ पुगेको यसमा चर्चा छ ।

लंकावतारसूत्रको निचोडलाई बीपीले यसरी उल्लेख गरेका छन््, “निर्वाण न त म जन्मको तिरो मान्छु, न त्यसलाई नष्ट हुनुको अर्थमा लिन्छु । निर्वाण त्यस वस्तुस्थितिको बोध हो, जसले ठिक आफ्नो स्वाभाविक रूपलाई सूचित गर्छ । आफ्नो चित्तवृत्तिहरू पूर्णतः बदलिएपछि त्यस्तो ‘परिवृत्ति’ (आमूल परिवर्तन) आफूमा आएको अनुभव होस् कि स्वयम् आफैँद्वारा आफ्नो बोध हुन थालोस्, त्यस स्थितिलाई म निर्वाण भन्छु ।”

अतः बीपीले बुद्धभन्दा फरक अर्थमा निर्वाणको व्याख्या गरेका छन् ।

बीपीको भनाइमा मुक्तिको युक्तायुक्तता परिणाम हो ‘शेष हुनु’ । यसलाई बुद्धले तर्क संगतिद्वारा निर्वाण (निभ्नु) भनेका छन् । तापको शेष हुनु निभ्नु हो । आगोको शेष निर्वाण हो । जीवनको शेष मुक्ति । यसरी आध्यात्मवादीहरू जीवनमा निहित समस्याको समाधान जीवनको शेषद्वारा गर्न चाहन्छन्।

अतः बीपीको प्रश्न छ, “यो कपाल दुखेको औषधि शिरच्छेदन हो भनेजस्तो भएन त ?”
यहाँ भने बीपी शंकालु देखिन्छन् ।

(काठमाडौँ विश्वविद्यालय स्कुल अफ ल / जुम कार्यपत्र / भदौ २३, २०७८ / असोज २३, २०७८ मा १२खरी डिजिटल न्युज मा पुनः प्रकाशित)
 

बीपी कोइराला प्रशस्त पढे लेखेको तथा अभिज्ञ नेता मानिनु हुन्छ । सानो उमेरदेखि नै यसमा उहाँको अभिरुचि स्पष्ट देखिन्छ।

तर, उहाँको लेखपढ गर्ने बानी र विचार निर्माणको प्रक्रियालाई ऐतिहासिक परिप्रेक्षमा अध्ययन गर्न भने बाँकी नै छ । कुनै योग्य अनुसन्धानकर्ताले यो चुनौती लिन सक्छ ।

बीपीले अभिरुचिपूर्वक पढेको, मन पराएको वा टिप्पणी गरेको धेरै पुस्तकसम्बन्धी चर्चा उहाँकै लेखोटहरूबाट पनि प्रष्ट हुन्छ। उहाँका बारेमा लेख्नेहरूले पनि कतिपय उहाँका छनोटका बारेमा उल्लेख गरेका छन् ।

यसमा व्यापकरूपमा विविधता छ । जस्तो, बीपीको भनाइ छ : ‘बेकनको चुस्त शैली मलाई मन पर्छ ।’ फ्रान्सिस बेकन सोह्रौं शताब्दीका प्रभावशाली लेखक विचारक थिए । बेलायतको मन्त्रिपरिषदका महान्यायाधिवक्ता तथा कानुन तथा न्याय क्षेत्र हेर्ने सदस्य पनि थिए । उनको जीवनको उत्तरार्ध त्यति सुखद भएन तर आफ्नो ‘साइन्टिफिक मेथड’ का कारण उनी धेरै प्रभावशाली भए ।

त्यस्तै कालिदासको संस्कृत साहित्यमा पनि बीपीको टिप्पणी छ । उनको प्रसिद्ध नाटक ‘विक्रमोर्वशीयम्’ मा लालित्य भए पनि नाटकीयता तथा विचारमा उत्प्रेरणा नभएको बीपीको कथन छ ।

राजा पुरुरवा तथा प्रसिद्ध अप्सरा उर्वशीको प्रेमकथामा आधारित कृतिका बारेमा बीपीको यस कथनले मसिनो गरी अध्ययन गर्न सक्ने क्षमता स्पष्ट गर्छ ।

अस्ट्रियाली लेखक स्टिफेन ज्विग प्रथम श्रेणीका लेखक देखिएनन् भन्ने निष्कर्ष पनि बीपीले निकालेको देखिन्छ । उहाँको आलोचना ज्विगको ‘बिवेयर अफ पिटी’ भन्ने सन् १९३९ को उपन्यासमा आधारित छ । पहिलो विश्वयुद्धपछि प्रकाशित यस पुस्तकमा ज्विग कलाको क्षेत्रमा बुर्जुवा देखिएको बीपीको ठहर छ ।

उहाँले बखान गरेको पुस्तकका रूपमा पार लेजरक्विस्टको ‘द सिविल’ लाई लिन सकिन्छ । उहाँले यसलाई मानव अनुभूति र मानवलाई प्राप्त हुनसक्ने दैवी अनुभवको विश्लेषण गरिएको पुस्तकका रूपमा प्रशंसा गर्नुभएको छ ।

स्वेडिस लेखक लेजरक्विस्टले सन् १९५१ मा यही पुस्तकमा नोबेल पुरस्कार पाए । यस्ता सयौं पुस्तक वा तिनका रचनाकारहरूका बारेमा बीपीको दृष्टिकोण पढ्न र बुझ्न सकिन्छ । त्यसमा विविधता छ । गुरुदत्तदेखि टेनिसन, जर्मन दार्शनिक डेकार्टदेखि उपन्यासकार हेमिङ्वे वा मनोविश्लेषक सिग्मन्ड फ्रायडसम्मका पुस्तकहरू बीपीको छनोटमा परेको देखिन्छ ।

उमेर, अध्ययन तथा जीवनका आवश्यकताहरूका आधारमा विचारहरू परिवर्तन हुँदै जान्छन् । कुनै विचार अझ बलियो बन्छ, कुनै विचार पछाडि छुट्छ । युवावस्थामा वामपन्थीहरूको सम्पर्कमा आएपछि आफ्ना पुराना सोचहरू स्वाटसुट्ट परिवर्तन हुन गएको बीपीले उल्लेख गर्नुभएको पढ्न सकिन्छ ।

उहाँको भनाइ छ — ‘त्यसभन्दा पहिले म गान्धीवादी थिएँ ।’ वास्तवमा उहाँलाई रुसी साहित्यकार लिओ टाल्सटाय र जोन रस्किनजस्ता लेखकहरू तिनताक मन पर्थे ।

भिक्टोरियाकालमा जोन रस्किनले कलम चलाएका अर्थ, राजनीतिलगायत हरेक क्षेत्रमा बोली बिक्थ्यो । बीपी आफँैले भन्नुभएको छ – ‘रोमान्टिक एनार्किस्ट’ विचारहरू उहाँलाई धेरै प्रिय थिए ।

उन्नाइसौं तथा बिसौं शताब्दीका धेरै अराजकतावादी चिन्तकमा गहिरोसँग प्राकृतवादी वा ‘एन्टिरोमान्टिक’ दृष्टिकोण पाइन्थ्यो । उनीहरू कलाकार, बुद्धिजीवी वा रुढीमुक्त समाजप्रति अराजक दृष्टिकोण राख्थे । युरोपमा एउटा दार्शनिक आन्दोलन सुरु भएको थियो । त्यो ज्ञानोदयको युग थियो । त्यहाँ आत्मचेतनाको विकासपथलाई चुनौती दिन निकै गाह्रो थियो ।

तर, मानवीय समस्याहरूप्रति संवेदनशीलता, सामाजिक सुधार, जर्मन आदर्शवाद वा विवेक र एम्मानुएल कान्टजस्ता चिन्तकको प्रभाव पन्छाउन नसकिने गरी अघि बढ्यो । गोथे, कलरिज, वर्ड्सवर्थ, लर्ड बायरन, किट्स सेली वा भिक्टर ह्यूगोको प्रभाव परिवर्तनका लागि धेरै निर्विवाद थिए ।

फ्रान्सेली कवि तथा उपन्यासकार भिक्टर ह्यूगोका बारेमा बीपी आफैँले उल्लेख गर्नुभएको छ । यस क्षेत्रमा उनको सन् १८६२ मा प्रकाशित ‘लेस मिसरेबल्स’ भन्ने कृति धेरै पढिन्छ ।

बीपीजस्तै ह्युगोले पनि धेरै वर्ष निर्वासनमा बिताउनु पर्यो । यो उपन्यासमा कानुन र सदाशयतालाई फ्रान्सको ऐतिहासिक परिप्रेक्षमा कथावस्तु बनाई वर्णन गरिएको छ ।

यी पुस्तकहरूको नाउँबाट मात्र परिचय स्थापित हुँदैन । यी सबै संसारले जानेका पुस्तकहूरुमा पर्छन् । जान्नेले राम्रो नराम्रो भनी आलोचना गर्न मिल्छ । कतिपय मान्छेका बारेमा कसैले पढ्ने जान्ने मौका पाएको छ भने समालोचकीय टिप्पणी गर्न मिल्छ ।

जर्मनीका फ्रेडरिक नित्सेले ‘द डेथ अफ गड’ भन्ने प्रसिद्ध पुस्तक लेखे । यो एउटा मुटु हल्लाउने दर्शनमा आधारित छ । हिटलर र नाजीहरूले राजनीतिक उद्देश्यका लागि यसको प्रयोग गरे । जर्मन राजनीतिक चिन्तक कार्ल स्मिथका सिद्धान्तहरू फलाक्दै नाजीहरू मान्छे मार्थे ।

शोषित पीडितहरूका पक्षमा कार्ल माक्र्सको विचारको ठूलो योगदान छ । तर, उनले राजनीतिमा घृणाको खेती पनि सुरु गरे । यसैका आधारमा माक्र्सवादले आफ्नो राजनीतिक यात्रा तय गर्यो ।

स्वतन्त्रता तथा व्यक्तिगत अधिकारका व्याख्याता जोन लकको धेरै ठूलो लगानी छ संसारको वैचारिक रुपान्तरणमा । तर, उनका लेखनीको कारणले उनलाई जमिनदारहरूको खेताला (एपोलोजिष्ट) भनी टिप्पणी गरिन्छ ।

डेस्कारेटले आफूलाई विगतको प्रभावबाट अलग राख्नुपर्छ भन्ने कुरालाई महत्त्व दिए । तर, फेरि पुरानै कुराका आधारमा आफ्नो प्रसिद्ध पुस्तक ‘अन मेथड’ पनि लेखे ।

आदिगुरु शंकराचार्यले अद्वैत वेदान्तको अवधारणालाई विवेचना गरेर हिन्दु धर्मलाई पुनः संगठित गराउन सके । हिन्दुहरूको उदार जरो (लिवरल रुट्स)लाई पुनः स्थापना गर्ने कार्यमा उनको ठूलो योगदान छ । तर, सत्यका सम्बन्धमा उनको दृष्टिकोण मनोवैज्ञानिक वा धार्मिक नै रह्यो ।

शंकराचार्य कतिपय विषयमा तर्कसम्मत हुन सकेनन् । त्यसैले उनलाई दार्शनिक भन्न पनि मिल्दैन होला । आफूभन्दा १२÷१३ सय वर्ष पहिले जन्मिएका बुद्धबाट उनले धेरै कुरा सिके तर प्रष्टसँग त्यसलाई स्वीकार गरेनन् । अर्थात्, सिक्ने सिकाउने विषयमा हरेकको व्यक्तिगत छनोट हुन सक्दोरहेछ ।

यस सम्बन्धमा बीपीको भनाइ के छ भने दृष्टिकोण बन्न विचार र जीवनमा ‘डायलग’ हुनु जरुरी छ । त्यसो हुन सक्यो भने एकातिर जीवन समृद्ध हुन जान्छ भने अर्कोतिर विचार पनि पुष्ट र उद्देश्यपूर्ण हुँदै जान्छ । विचारले पोषण तत्व पनि प्राप्त गर्छ ।

आफ्नो कारागार जीवनमा धेरै लेखपढ गरे पनि त्यसको प्रयोग हुन नपाएकोमा बीपी क्षुब्ध देखिनुहुन्छ । कारागारमा लेख्न पढ्न मौका पाइन्छ वा कारागारले बौद्धिक विकास गर्ने अवसर दिन्छ वा राजनीतिक बन्दीहरूले यस्तो अवसर पाउँछन् भन्नेमा अलि समीक्षात्मक हुनुपर्छ भन्ने उहाँको धारणा छ ।

उहाँ के कुरामा प्रष्ट हुनुहुन्छ भने कारागारको अध्ययनको स्थायी मूल्य कम हुन्छ । पढेर विचार प्राप्त हुन्छ । तर विचारको अभिवृद्धि हुँदैन । यसलाई विस्तार गर्ने हो भने यसको प्रयोग गर्न सक्नुपर्छ ।

पढिएको वा रुचि भएको विचारमा बाँच्न सकियो भने वा प्रयोग गर्न सकियो भनेमात्र त्यसको अभिवृद्धि सम्भव हुन्छ । किताबी ज्ञान एउटा कुरा हो । यसको ठोस धरातलमा उभिन पाउनु अर्को कुरा हो । होइन भने बीपीको विचारमा त्यस्तो ज्ञानको मूल्य तथ्याङ्क वा सूचकभन्दा बढी केही हुँदैन । यस्तो अवस्थामा विचारको रुपान्तरण भएर दृष्टिकोण बन्न सक्दैन भन्ने बीपीको भनाइमा प्रशस्त वजन छ ।

त्यसो त बन्दी जीवनमा कतिपय क्षमतावान व्यक्तिहरूबाट साहित्य सिर्जना नभएको होइन । तर, त्यसको संख्या कम छ : परिणाममा पनि, गुणस्तरमा पनि । समुदायबाट छुट्टिएर, थुनिएर बसेको मान्छेमा यथार्थ बुझ्ने अवस्था पनि हुँदैन । लेख्न जाँगर चलाउनेले त्यसैले त्यस्ता विषयमा हात हाल्दैनन् जसका लागि बाहिरी संसारको अनुभव चाहिन्छ ।

बीपीको भनाइमा यही कारणले गर्दा भारतका जवाहरलाल नेहरुजस्ता दिग्गजले पनि कारागारमा बस्दा ‘द डिस्कभरी अफ इण्डिया’ तथा ‘ग्लिम्सेज अफ वल्र्ड हिस्ट्री’ जस्ता पुस्तक लेखेर समयको सदुपयोग गरे । आफूले पनि त्यही कारणले गर्दा राजनीतिक लेखाइमा हात नहाली कारागारमा हुँदा कविता, कथा, उपन्यास र इतिहासमा लागेको बीपीले प्रष्ट गर्नुभएको छ ।

लेख्नु र पढ्नुबीच पनि फरक छ । पढ्नु सजिलो कुरा हो । लेख्नलाई बढी मिहिनेत गर्नुपर्छ । बीपी भन्नुहुन्छ : ‘पढ्नुभन्दा लेख्न गाह्रो– किनभने पढ्दा उति बौद्धिक सावधानी आवश्यक पर्दैन । लेख्न भने बुद्धिलाई चंख राखेर त्यसको राम्रो संगठन गर्नसक्नु पर्दछ । पढ्दा बुद्धिको चेतना सतहलाई मात्र जागृत राखे पुग्छ – गहिरो अध्ययन गर्न भने यसले पुग्दैन । तर, लेख्दा सतहको अवचेतन अवस्थाले मात्र पुग्दैन । केही न केही गहिरोपन यसका लागि आवश्यक हुन आउँछ । मुख्य कुरा, विचारको संगठन जरुरत पर्छ लेख्दा । किताब पढ्दा अर्काको संगठित विचार पाइन्छ; चम्चाले खाएजस्तो सजिलो हुन्छ । आफैँले लेख्नुपर्दा आदिदेखि अन्त्यसम्म आफैँले मिहिनेत गर्नुपर्छ ।’ यस भनाइमा यथार्थ लुकेको छ ।

बीपीले आफ्ना बारेमा जे भने पनि उहाँका पाठकहरूले उहाँलाई सर्जक तथा पाठक दुवैरूपमा उत्तिकै महत्त्वका साथ हेर्छन् । उहाँको अध्ययनमा विभिन्न राजनीतिक, सामाजिक, आर्थिक तथा साहित्यिक विषयवस्तुहरू परेको पाइन्छ ।

‘फिक्सन’ देखि ‘नन फिक्सन’ तथा वैदिक पौराणिकदेखि आधुनिक स्रोतसम्ममा उहाँको पहुँच पाइन्छ । तर, सामान्यतया चर्चित पुस्तकहरूमा नै उहाँको रुचि देखिन्छ । यद्यपि, उहाँ आफूलाई राम्रो पाठक मान्नुहुन्न । अझ उहाँको स्पष्टोक्ति छ – पढाइको व्यसन राम्रो होइन ।

उहाँको दृष्टिमा पढेका कुराहरू प्रयोग गर्न सक्नुपर्छ । त्यस्तो वातावरण हुनुपर्छ । जीवनको प्रवाहबाट छुट्टिएर वा वञ्चित भएर बस्दा पढ्नु वा अध्ययनको आधारमा तर्क गर्नु ‘शुष्क बौद्धिक व्यायाम’ जस्तो हुन्छ ।

उहाँको दृष्टिकोणमा अर्को किसिमको तीव्रता पनि देखिन्छ : ‘मैले यस्ता धेरै व्यक्ति देखेको छु जसलाई किताबको पढाइ व्यसनीलाई गाँजा वा अफिम चाहिएजस्तो तलतलको विषय भएको छ । हातले किताब लिन र आँखाले अक्षर टिप्न पाएनन् भने अफिम नपाएको अम्मलीलाई भएजस्तै उसलाई अल्छी लाग्छ र हाई हाई आइरहन्छ ।’ सिक्नु र नयाँ ज्ञानलाई आवश्यकताअनुसार प्रयोग गर्नुलाई बीपीले धेरै महत्त्व दिनुभएको देखिन्छ ।

जीवनको उत्तराद्र्धमा बीपीमा आफ्ना पश्चिमी सोचहरूले गन्तव्य पाएको अनुभूति देखिन्छ । पाश्चात्य दर्शन तथा साहित्यको प्रखर प्रवाहमा तिखारिएको व्यक्तित्व हो बीपीको । युवावयमा गान्धीबाट कम्युनिस्ट चिन्तनतर्फ त्यसपछि क्रमशः प्रजातान्त्रिक समाजवादतर्फ रुपान्तरण भएका बीपीले जीवनको उत्तराद्र्धमा महात्मा गान्धीले जस्तै मेरो जीवन पनि सत्यको खोजी नै हो भनि आफ्नो मूल्यांकन गर्नुभएको छ । ‘आत्मवृतान्त’मा यस सम्बन्धमा उहाँको अभिव्यक्ति पढ्न सकिन्छ ।

‘जेल जर्नल’मा बीपीले लेख्नुभएको छ – ‘मेरो प्रवृत्ति अध्यात्मिक नै छ । म अध्यात्मवादी (आत्मवादी) छैन तर अध्यात्मिक प्रवृत्तिको निश्चय नै छु । चेतन मन र बुद्धिले स्वीकार नगरे पनि जीवनका कष्टमय घडीमा मलाई आफ्नो नियति माथि भर हुन्छ ।’ यो नेपालको राजनीतिक वृत्तमा सधैँ सम्झिइने एउटा प्रचण्ड पाठकको स्वीकारोक्ति हो ।