स्व. विश्वेश्वर प्रसाद कोइरालाको राजनीतिक अर्थशास्त्र र विकास सम्बन्धी अवधारणा

नेपालको राष्ट्रवाद एवम् प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष स्व. विश्वेश्वर प्रसाद कोइराला (१९१४–१९८२) अर्थशास्त्री हुनुहुन्थेन । उहाँले अर्थशास्त्र पढ्नुभएको थिएन भन्न खोजिएको होइन । तर वहाँले आफूलाई अर्थशास्त्रीका रुपमा कहिल्यै प्रस्तुत गर्नुभएन । न त आफूमा अलग प्रकारको आर्थिक सोच भएको दाबी गर्नुभयो ।

कोइराला मूलतः राजनेता हुनुहुन्थ्यो । प्रजातान्त्रिक राजनीतिको प्लाटफार्ममा वहाँले आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियोे । यो यात्रा मूलतः समाजवादको धरातलमा चलेको थियो । दर्शनशास्त्र, धर्म, संस्कृति, इतिहास, कला एवम् साहित्यमा वहाँको रुचि किशोरवय देखिकै हो । उहाँका आर्थिक सोचहरुलाई यिनै स्रोतहरुका आधारमा बुझ्नु पर्ने हुन्छ ।

अर्थशास्त्री नभए पनि कोइरालाको बोली वचन वा लेखनमा ‘लैसेज फेयर’ वा नियन्त्रणविहीन बजार व्यवस्थाका सनातनी प्रवर्तक एडम स्मिथदेखि द्वन्द्वात्मक भौतिकवादका व्याख्याता कार्ल माक्र्ससम्म र कार्ल माक्र्सदेखि मानवतामुखी अर्थव्यवस्थाका व्याख्याता इ.एफ.सुमेकरसम्मका विचारहरुको उपस्थिति एवम् विश्वेषण देखिन्छ । यी सबै विद्वानहरु विशुद्ध अर्थशास्त्री भन्दा पनि ‘पोलिटिकल एकोनोमिष्ट’ (राजनैतिक अर्थशास्त्री) को कोटीमा पर्दछन् । यी विद्वानहरुले स्थापित गरेका मूल्य र मान्यताको रोहमा स्व. कोइरालाको कित्ता कुन रहेछ, बुझ्न गाह्रो पर्दैन ।

स्व. कोइरालालाई राजनैतिक अर्थशास्त्रका मान्यताहरु मध्ये कुनै एक कित्तामा उभ्याउन सकिन्छ भन्ने मान्यताका बारेमा अगाडि बढ्दा कोइरालाले राजनीति गरेको समय र सोको पृष्ठभूमिमा देखिएका आर्थिक सोचलाई बुझ्नु पर्ने हुन्छ । अर्थशास्त्रमा बजार उत्पादन, लागत र दक्षता विशिष्टिकरण, माग तथा आपूर्ति, फर्म, अनिश्चितता र क्रिडा सिद्धान्त (गेम थ्योरी), बजारको असफलतालाई आर्थिक रुपमा विश्लेषण गरिन्छ । सार्वजनिक क्षेत्रलाई सुक्ष्म अर्थशास्त्र (माइक्रोइकोनोमिक्स) ले ओगट्दछ भने आर्थिक वृद्धि, व्यापार चक्र, बेरोजगारी, मुद्रास्फिति र मौद्रिक नीति वा वित्तीय नीतिलाई बृहत अर्थशास्त्र (म्याक्रोइकोनोमिक्स) ले ओगट्दछ । कूल ग्राहस्थ आम्दानी र वितरणका कुराहरु पनि यहाँ सम्बन्धित हुन्छ । यो कुरालाई राम्ररी बुझ्न नसक्दा कोइरालाको आर्थिक सोचका बारेमा धेरै सतही टिप्पणी हुन गएका छन् । सामान्य मान्छेलाई बुझाउनका लागि वहाँले दिएका उदाहरणहरुको व्यापक परिवेश के हो भनी नहेर्ने हो भने वहाँको आर्थिक सोच प्रष्ट हुन सक्दैन ।

सर्सर्ती हेर्दा सनातनी नियन्त्रणविहीन बजार व्यवस्था वा ‘लेसेज फेयर इकोनोमी’ का पक्षधर एडम स्मिथ (१७२३–१७९०) अर्थशास्त्रका पिता मानिन्छन् । पछि थोमस रोबर्ट माल्थस (१७६६–१८३४), डेविड रिकार्डो (१७२२–१८२३), जान स्टुआर्ट मिल (१८०६–१८७३) बलियो गरी अगाडि आए । नियन्त्रणविहीन बजार व्यवस्थाकै सेरोफेरोमा यी सबैको योगदान रह्यो । मिलले स्वतन्त्रताको पक्षलाई अत्याधिक बचाउ गरे । यसै विकासको क्रममा श्रम मूल्यको सिद्धान्त वा अतिरिक्त मूल्यको सिद्धान्त लिएर कार्ल माक्र्स (१८१८–१८८३) देखा परेका हुन् ।

स्मल इज ब्युटिफुलः अ स्टडी अफ इकोनोमिक्स एज इफ पिपल म्याटर्ड

ऐतिहासिक भौतिकवादका दार्शनिक कार्ल माक्र्सको देहान्तको ३१ वर्षपछि जन्मिनुभएको स्व. कोइरालाले आफ्नो आर्थिक सोचलाई सार्वजनिक गर्दैगर्दा एडम स्मिथको पृष्ठभूमिमा तर अझ बढी विवेकसम्मत् हुँदै अर्थशास्त्रका अवधारणाहरुलाई विकसित गर्दै अगाडि बढेका जोन मेनार्ड किन्स् (१८८३–१९४६), जान हिक्स (१९०४–१९८९), पल सामुएल्सन (१९१५– २००९) तथा फ्रान्को मोदिग्लिआनी (१९१८–२००३) जस्ता त्यसबेलाका ठूला र चर्चित अर्थशास्त्रीहरु संसारमा छाइसकेका थिए । पछिल्ला दुई त वहाँको समवयस्क नै भन्न सकिन्छ । यी सबै दोस्रो विश्वयुद्धपछिका अर्थशास्त्रीहरु हुन् । अमेरिका, बेलायत तथा पश्चिम युरोपमा उनीहरुको जगजगी थियो । त्यसबेलाको ‘न्युजविक’ र ‘टाइम’ जस्ता साप्ताहिक पत्रिकाहरुमा उनीहरुका विचार आइरहन्थे । तर कोइरालाले यी कसैको नाम लिनुभएको सुनिएको छैन ।

नवसनातनी अर्थशास्त्रीमा अल्फ्रेड मार्शल (१८४२–१९२४) पनि पर्दछन् । तर रोजगार, ब्याज र मुद्राको सामान्य सिद्धान्त प्रतिपादन गर्दै १९३७ मा देखापरेका जान मेनार्ड किन्स त्यसताका अर्थशास्त्रमा प्रभावशाली रहे । ‘शिकागो स्कूल अफ इकोनोमिक्स’ स्वतन्त्र बजार व्यवस्थाको वकालत गर्ने क्रममा अग्रपंक्तिमा रह्यो । अर्थशास्त्री मिल्टन फ्रिडम्यान यसका नयाँ ‘डिफेण्डर’ थिए । उनको भनाइमा खुला बजार प्रणाली मूलभूत रुपमा अस्थिर नै रहन्छ । मुद्रा प्रदाय प्रशस्त फैलिँदैन वा संकुचन हुँदैन भने बजारको स्थिति यही नै हो । सन् १९७० को दशक सम्म यिनीहरु संसारमा अत्याधिक नाम चलेका अर्थशास्त्रीहरु हुन् ।

कोइरालाले राजनीति गरेको सन् १९४० को दशक देखि वहाँको जीवनलिला समाप्त हुञ्जेलसम्म अर्थशास्त्रमा विधागत धेरै नयाँ मान्यताहरु स्थापित भए । कतिपय स्थापित मान्यताहरु परिवर्तन हुन पुगे । तिनलाई लक्षित गरेर स्व. कोइरालाले कतै लेखेको वा बोलेको पाइँदैन । तर जुन स्तरको अध्ययनशील कोइराला हुनुहुन्थ्यो र जुन स्तरको राजनैतिक परिवर्तन उहाँले सोच्नु भएको थियो, अर्थशास्त्रका बारेमा उचित दृष्टिकोण स्थापित नगरी अगाडि बढ्न सक्ने अवस्था थिएन ।

कोइरालाले राजनीति सुरु गरेदेखि वहाँका अन्तिम दिनहरुसम्म अर्थराजनीतिका बारेमा लगातार वहाँका दृष्टिकोणहरु आएका छन् । पूँजीवाद तथा साम्यवाद दुवैलाई वहाँले अतिशयोक्तिका रुपमा लिनुभएको छ । वहाँले आफूलाई उभ्याएको कित्ता भनेको समाजवाद नै हो । समाजवादमा पनि वहाँ प्रजातान्त्रिक परिवेशमा एवम् मौलिक हकअधिकारसहित आमनेपाली – विशेषगरी ग्रामीण क्षेत्रमा बस्ने नेपाली समाजको भलो हुने न्यूनतम आर्थिक कार्यक्रमहरुको पक्षमा देखिनु हुन्थ्यो । समाजवादका लागि न्यूनतम मानकका रुपमा वहाँले उल्लेख गरेका विषयहरुमा एक टुक्रा खेत, हलो–गोरु, दुहुनो गाई, स्थानीय रुपमा उपलब्ध बालबालिका पढ्ने स्कूल पाठशाला र आधारभूत स्वास्थ्य व्यवस्था उल्लेख गरेको सर्वविदितै छ । सामन्तवादको अन्त्य र श्रमजीवि एवम् साना किसानहरुको समानताउन्मुख कृषि, उद्योग, व्यापार एवम् वाणिज्य नीति वहाँका कार्यक्रमहरुमा परेका विषय हुन् । भूमिसुधार र विशेषाधिकारपूर्ण भूमि व्यवस्थापन वा स्वामित्वको अन्त्य नभई हुँदैन भन्ने कोइरालाको सोचाई थियो । यी सबै प्रकाशित भएका वहाँका कृतिहरुमा समावेश भएको देख्न सकिन्छ । तर यी सामान्य मान्छेका लागि बुझ्ने गरी दिइएका सामान्य उदाहरणहरु मात्र हुन् । तिनको सैद्धान्तिक परिवेश के हो ? यो महत्वपूर्ण प्रश्न हो।

सैद्धान्तिक परिवेशको कुरा गर्दा स्व. कोइरालालाई महात्मा गान्धीसँग नजोडियो भने उहाँको व्यक्तित्वको एउटा पाटो प्रति अन्याय हुन्छ । कोइराला आधुनिकताले परिपूर्ण व्यक्ति हुनुहुन्थ्यो गान्धीको पहिचान उहाँको अध्यात्म, नैतिकता र स्वराज प्रतिको आस्था हो । तर गान्धीसँग विपन्न भारतको गरिब जनताका लागि आर्थिक विकासको योजना पनि थियो । गान्धी पनि ससाना, स्थानीय र आधारभूत रुपको ग्रामीण प्रविधिबाट मुलुकलाई आत्मनिर्भर बनाउनु पर्दछ भन्ने सोच राख्नुहुन्छ । गान्धीको अर्थशास्त्रलाई प्राज्ञिक आवरण जे.सी. कुमारप्पाले दिएका थिए । यो सोचबाट सुमेकर प्रभावित नभइरहने अवस्थै थिएन । चीनमा माओ त्से तुङ्गले सुरु गरेको सांस्कृतिक क्रान्तिको पनि दुइटा पक्ष थिए । विशान चीनको विकासका लागि ठूलो परिमाणका कलकारखानाहरुको वकालत गरिएको थियो । तर माओले पनि ग्रामीण विकासका लागि सानो ग्रामीण उद्योगको नीति थिए । सांस्कृतिक क्रान्तिको नारा नै “दुई गोडामै हिँडौँ” (वाकिंग अन टु लेग्स) थियो । त्यसैले बीपीको भनाई आर्थिक विकासको प्रारम्भिक चरणमा किन हलो गोरु र दुध दिने गाई प¥यो भन्ने कुरा बुझ्न सकिन्छ।

कोइरालाले अत्याधिक रुपमा आफ्ना साथीहरु तथा तरुणहरुलाई सिफारिस गरेको पुस्तक “स्मल इज ब्युटिफुलः अ स्टडी अफ इकोनोमिक्स एज इफ पिपल म्याटर्ड” भन्ने पुस्तक हो । मुलुकको आर्थिक विकासका लागि ससाना प्रयासहरुको खाँचो हुन्छ । सानो प्रयास सुन्दर प्रयास हो । अर्थशास्त्रलाई यदि आमजनताको हकमा सैद्धान्तिकरण वा कार्यान्वयन गर्ने हो भने संसारलाई चाहिएको सही बाटो सानो स्वरुप (इण्टरमेडिएट साइज) र सानो प्रविधि (इण्टरमेडिएट टेक्नोलोजी) लाई महत्व दिनु पर्दछ । वास्तवमा सुमेकरको विकासको सिद्धान्त यिनै दुई शब्दावलीबाट सुरु हुन्छ । मुलुकको आर्थिक जीवनका लागि अत्यावश्यक स्थानीय स्रोतहरु नै हुन् । स्थानीय आवश्यकताको पूर्ति यिनै स्रोतहरुबाट गरिने उत्पादनबाटै गर्न सकिन्छ । यी उत्पादनहरुको विवेकपूर्ण प्रयोगबाटै स्थानीय आत्मनिर्भरताको विकास हुन्छ ।

गाउँघरका लागि ठूला उद्योगधन्दा वा कलकारखाना अत्यावश्यक होइनन् । सानो स्तरको, विकेन्द्रिकरणमा आधारित श्रम उन्मुख (लेबर इण्टेन्सिभ), कम इन्धनबाटै काम चल्ने, वातावरण प्रदुषण नगर्ने एवम् स्वस्थ्य र स्थानीय नियन्त्रण भएका प्रविधिहरुबाट मात्र तेस्रो विश्वको विकास सम्भव छ । प्रविधि जहिले पनि जनता केन्द्रित हुनुपर्दछ । होइन भने यो केवल पूजी निर्माणतर्फ जागृत हुन्छ । सुमेकरको भनाइमा अत्यावश्यक रुपमा मुनाफा केन्द्रित आर्थिक क्रियाकलाप वा उन्नतिका प्रक्रियाले केवल ठूला, अत्यन्तै बृहत (जायण्ट) संगठनहरुलाई जन्म दिन्छन् । ती जति ठूला हुँदै जान्छन्, उनीहरुको अदक्षता त्यति नै देखिँदै जान्छ । त्यसबाट वातावरण प्रदुषण बढ्दै जान्छ । अमानवीय कार्यशर्त (वर्किङ्ग कन्डिसन्स्) त्यस्तै उद्योगधन्दाको नतिजा हो । उद्योग धन्दा वा कलकारखानाहरु जति साना हुन्छन्, त्यत्ति नै व्यवस्थापन सक्षम हुन्छन् । त्यसैले सानो प्रविधि, साना औद्योगिक इकाइहरु र क्षेत्रीय रुपमा विस्तृतिकरण र स्थानीय सम्पदाको निर्भरताबाट त्यस्ता समस्या आउँदैनन् ।

स्मल इज ब्युटिफुल” सन् १९७३ मा प्रकाशित भएको थियो । यसका लेखक अर्थशास्त्री इ.एफ. सुमेकर हुन् । आफ्नो जीन्दगीको उत्तराद्र्धमा कोइरालाले यसलाई प्रशस्त महत्व दिनुभयो । यो पुस्तक संसारले त्यसबेला भोग्दै रहेको इन्धन संकट तथा भर्खरै सुरु हुन थालेको भूमण्डलीकरणको सुरुवातको पृष्ठभूमिमा लेखिएको थियो । सुमेकर धेरैले आदर गर्ने अर्थशास्त्री मध्ये पर्दथे । उनीसँग प्रसिद्ध अर्थशास्त्री मेनार्ड किन्स् र जाँन केन्नेथ गाल्बे्रथसँग काम गरेको अनुभव थियो । उनी बेलायतको राष्ट्रिय कोइला बोर्डको प्रमुख आर्थिक सल्लाहकार पनि थिए । समग्रमा सुमेकर नवसनातनी अर्थशास्त्रका मान्यताहरुको विपक्षमा थिए । त्यसको अर्थ के भने केवल उत्पादन र प्रविधिमा घनीभूत रुपमा धु्रवीकृत हुनु अमानवीय हुन्छ । काम गर्ने ठाउँ वा कलकारखाना मर्यादित (डिग्नीफाइड) र मानवतापूर्ण हुनुपर्दछ । यसका साथै दक्ष र प्रभावशाली पनि हुनु पर्दछ । प्रकृति तथा यसले दिएका सम्पदाहरु अत्यन्त महत्वपूर्ण छन् भन्ने उनको सोचाई थियो । त्यसैले ठूला कुराहरु गर्न स–साना कुराहरु गर्नुपर्दछ । यो विकेन्द्रिकरणको एउटा स्वरुप हो । कुनै ठूलो संस्थाले प्रभावकारी रुपमा काम गर्नु छ भने यसले साना संस्थाहरुको समूहको रुपमा आचरण गर्नु पर्दछ । उनी पर्यावरणीय समस्याहरुका बारेमा चिन्तित थिए । वातावरणीय संरक्षणको कुरा गरेकाले उनी यस सम्बन्धी आन्दोलका ‘हिरो’ पनि भए ।

उत्पादनका समस्याहरुका बारेमा सुमेकर स्पष्ट थिए । उनको भनाई थियो – आधुनिक अर्थ व्यवस्था दिगो छैन । पेट्रोल वा पेट्रोलजन्य इन्धन पदार्थहरु प्राकृतिक सम्पदा भए पनि तिनको अत्याधिक रुपमा खपत हुँदैछ । त्यसैबाट कमाउने प्रवृत्ति देखा परेको छ । वास्तवमा तिनलाई पुँजीका रुपमा हेरिनु पर्ने हो । त्यस्ता सम्पदाहरु नवीकरणीय हुँदैनन् । तिनलाई जोगाएर खर्च गरिएन भने अन्ततः ती सकिनेछन् । यसरी प्रकृतिले दिएको स्रोतहरु सधैंका लागि सकिनु मानवताको हितमा हुँदैन । सुमेकरको भनाई थियो – वातावरण संरक्षण स्वतः हुँदैन । प्रकृतिले प्रदुषणलाई आफैं प्रतिरोध गर्दै जान्छ भन्नु कुतर्क हो । त्यस्तो कहिले हुँदैन । सरकारले दिगो विकासलाई नै महत्व दिनु पर्दछ । तेस्रो विश्वका मुलुकहरुलाई पहिलो वा दोस्रो सम्पन्न विश्वको प्रविधि चाहिएको होइन । उनीहरुको प्रविधि गरिब निमुखालाई हस्तान्तरण गरेर गरेर मात्र दिगो विकास हुन सक्दैन । दिगो विकासका लागि अर्थ व्यवस्थाको मूलभूत समस्याहरुको समाधान बढी महत्वपूर्ण हुन्छ । सुमेकरको दर्शनमा प्रशस्त हुनु (इनअफनेस) को ठूलो महत्व छ । तर चाहिने कुरा यो प्रशस्त हुनुप¥यो । नचाहिँदो कुरा प्रशस्त भएर के गर्ने ? यसका लागि मानवीय आवश्यकताहरु केके हुन् भनी बुझ्नुका साथै तिनको सीमा तथा प्रविधिको उचित प्रयोग हुनुपर्दछ । यो कुराको व्याख्या गर्दा ग्रामीण स्तरमा आधारित अर्थशास्त्रका बारेमा सोच्नु पर्दछ।

गाउँको विकास विना देशको विकास हुन सक्दैन । गाउँको विकासको यो अवधारणालाई सुमेकरले बुद्धमार्गी अर्थशास्त्रको उपमा दिए । यसको प्रष्ट कारण छ । सुमेकरले वृद्धि हुनु नै उत्तम हो (ग्रोथ इज गुड) वा बृहत हुनु नै राम्रो हो (बिगर इज बेटर) भन्ने तात्कालीन सोचाइको भत्र्सना गरे । विकासोन्मुख मुलुकहरुमा बृहत उत्पादन (मास प्रोडक्सन) सर्वथा अनुचित हो भन्ने उनको सोचाई थियो । चाहिएको कुरा आमजनताबाटै उत्पादन (प्रोडक्सन बाइ द मासेस) गर्नुपर्दछ भन्ने कुरामा सुमेकर विश्वस्त थिए । त्यसैले मान्छेको कल्याणलाई जाँच्नका लागि कुल राष्ट्रिय उत्पादन (जिएनपी) को प्रयोग अनुचित हो भन्ने पहिलो अर्थशास्त्रीका रुपमा पनि सुमेकरलाई लिन सकिन्छ । अर्थशास्त्रको प्रमुख उद्देश्य कम भन्दा कम उपभोग गरेर बढीभन्दा बढी मानव कल्याण नै हुनु पर्दछ । यो कुरालाई नाफा–घाटाको अर्थशास्त्रले आत्मसात गर्न सक्दैन । यसका लागि ठूलो हृदय पनि चाहिन्छ ।

अन्ततः सुमेकरको भनाई के थियो भने उपभोग भनेको मानव कल्याणको एउटा साधन मात्र हो । उद्देश्य भनेको त जहिले पनि मान्छेको अधिकतम कल्याण नै हुनुपर्दछ । यो कल्याण जहिले पनि न्यूनतम उपभोगबाट प्राप्त गरिनु पर्दछ । उपभोग जति कम गरिन्छ, मान्छेको कलात्मक सिर्जनशीलताका लागि त्यति नै बढी समय र शक्ति बाँकी बस्दछ । आधुनिक अर्थशास्त्रले बखान गरेजस्तो आर्थिक क्रियाकलापको एउटा मात्र उद्देश्य उपभोग हो भन्नु मानवीय समस्याहरु नबुझ्नु हो । यसबाट के प्रष्ट हुन्छ भने आधुनिक भौतिकवाद भन्दा बुद्धमार्गी अर्थशास्त्र धेरै फरक हुनु पर्दछ । एउटा बुद्धमार्गीले सभ्यताको पूर्वसर्त चाहनाहरुको असीमिततालाई मान्दैन । यसले चरित्रको शुद्धीकरणलाई मानवीय सभ्यताको पूर्वाधार मान्दछ । यस आधारमा चरित्र मान्छेको कर्मद्वारा निर्धारण हुन्छ । कामले मान्छेको स्वतन्त्रता र इज्जतलाई परिवेश दिन्छ, आशिर्वाद दिन्छ । सहीकर्मबाट गरिएको उत्पादन स्तुत्य पनि हुन्छ ।

आधुनिक उद्योगधन्दा वा कलकारखानाहरुको सबैभन्दा स्पष्ट विशेषता के हो भने उत्पादनका लागि यिनले अत्याधिक चीजबीज माग गर्दछन् भने दिने बेलामा यिनले साह्रै कम उत्पादन दिन्छन् । त्यसैले आधुकिन उद्योगधन्दा असाध्यै अदक्ष देखिन्छ । मान्छेले ईश्वरबाटै भविष्यको अन्दाज गर्ने जुन साधारण शक्ति पाएको छ, त्यसका आधारमा हेर्दा यो मान्यताका आधारमा साँचो विकास होला जस्तो लाग्दैन । यो अदक्षतालाई किन बुझ्न नसकिएको हो, सुमेकर हैरान देखिन्छन् । विवेकसम्मत् रुपमा हेर्ने हो भने विज्ञान र प्रविधिका बारेमा हाम्रो समाजलाई नयाँ अभिमुखीकरणको खाँचो छ । त्यसका लागि अग्र्यानिक, जेन्टल, अहिंसात्मक, एलिगान्ट र सुन्दरतातर्फको अभिमुखीकरण चाहिन्छ ।

आधुनिक आर्थिक सोचमा बीपीवाद के हो ?

उपरोक्त परिचर्चाबाट के पाइन्छ भने आधुनिक आर्थिक सोचमा बीपीवाद के हो भन्ने प्रश्नको जवाफका लागि पर्याप्त अनुसन्धान गरिनु पर्दछ । धेरै सरल कुरा गरेर आर्थिक विषयमा बीपीवादको जुन महत्व हुन सक्दछ, त्यसलाई न्यूनीकरण गरिनु हुँदैन ।

तथापि बीपीका आर्थिक विचारहरुलाई प्रष्ट गर्न आजका नामुद अर्थशास्त्रीहरुको सोचाइलाई यहाँ उद्धृत गर्न सकिन्छ ।

वैदेशिक सहायताको सकारात्मक प्रयोग गराउन सकिन्छ भन्ने बीपीको धारणा छ । यो विना विकासोन्मुख मुलुकहरुको भोक, रोग र अशिक्षाको यो ‘पोभर्टी ट्रयाप’ (गरिबीको पासो) भत्काउन सकिँदैन भन्ने विषयमा कोइराला आजका चर्चित अर्थशास्त्री जेफरी साच्स्सँग समान धारणा राख्नु हुन्छ । तर आन्तरिक प्रयास नभई केवल त्यस्तो सहयोगले देश बनाउन सकिँदैन भन्ने कुरामा उहाँको सोच विलियम एस्टर्लीसँग मिल्दछ । आर्थिक विकास भनेको बहुतात्विक दृष्टिकोण हो । विदेशी सहयोगले केही मद्दत गर्दछ तर ती देशहरु जसले आर्थिक समृद्धि प्राप्त गरेका छन्, उनीहरुले गरिबी विरुद्धको लडाइँ मूलतः आफैंले नै लडेका हुन् । वास्तवमा विदेशी सहयोगबाट पहिले भन्दा झनै पतन भएका देशहरु पनि छन् । यसबाट गरिब मुलुकहरुमा झनै परनिर्भरता एवम् भ्रष्टाचार बढेको छ । बीपीको भनाई थियो – यस्तो खतराबाट मुक्त गर्न विदेशी सहयोग संयुक्त राष्ट्र संघ जस्तो संस्थामार्फत् प्रदान गरिनु पर्दछ । प्रधानमन्त्रीका रुपमा वहाँले संयुक्त राष्ट्रसंघको महासभालाई गर्नुभएको सम्बोधनमा यस पक्षमा उल्लेख गरिएको थियो ।

सन् २००९ मा भारतीय अर्थशास्त्री सञ्जीव सभलोकले “बे्रकिङ्ग फायर अफ नेहरुः लेट्स अनलिस इण्डिया” भन्ने चर्चिच पुस्तक लेखे । उनको भनाई छ – भारत एउटा असफल मुलुक हो र यसको असफलताको श्रीगणेश तत्कालीन भारतीय प्रधानमन्त्री नेहरुबाट सुरु भएको हो । हुन त सभलोक अर्थशास्त्री होइनन् । तर उनी निजामती कर्मचारीको पृष्ठभूमि भएका एउटा छुरा लेखक हुन् । नेहरुको समाजवाद अन्ततः लाइसेन्सवादमा रुपान्तरित हुँदै भारत एउटा भ्रष्ट मुलुक हुन पुगेको उनको दावी छ । कोइरालाको समाजवादको चिन्तन यस्तो होइन । त्यस्तै चिनिया अर्थशास्त्री वु जिंगलिएनको भनाई छ – चीन मृत्त कम्पनीहरुको देश हुन लागेको छ । सार्वजनिक संस्थानहरु ऋणमा डुबेका छन् । केवल बजार अर्थतन्त्रको रेखदेख वा मर्मत सम्भार गरेर केही हुँदैन । राजनैतिक सुधार प्रजातान्त्रिकरण एवम् कानुनको शासन विना अर्थतन्त्रको विकास सम्भव छैन । समाजको सबैभन्दा कमजोर व्यक्ति वा समुदायको आवश्यकता, हक र अधिकारको रोहमा नै आर्थिक सोचलाई हेरिनु पर्दछ । कोइरालाको प्रजातान्त्रिक समाजवाद तथा विकासको अवधारणा यही हो ।

(संविधानविद् अधिकारी काठमाण्डौ विश्वविद्यालय स्कूल अफ ल का डीन हुनुहुन्छ । यो कार्यपत्र स्व. बीपी कोइरालाको शतवार्षिकीको सुरुवात जनवरी १, २०१४ मा नेपाल कन्स्टिट्युसन फाउण्डेसनद्वारा छलफलमा ल्याइएको थियो ।)

डा. विपिन अधिकारी
Facebook
Twitter
LinkedIn

Related Posts