२०७० भदौ २३

नयाँ संविधानसभाको निर्वाचन सम्बन्धमा केही महत्त्वपूर्ण विवाद कायमै रहे पनि आगामी मंसिर ४ गतेको आम निर्वाचन हुनै लागेको देखिँदै छ । जेठ १४, २०६९ पछि देशले भोग्न बाध्य भएको संवैधानिक संकट तथा निरन्तर अस्थिरताको व्यवस्थापनका लागि प्रस्थान बिन्दुका रूपमा चुनाव बाहेक अर्को विकल्प नरहेकामा दुविधा छैन । तर पनि प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका राजनीतिक दल तथा समूहहरूलाई व्यवस्थापन नगरी निर्वाचनलाई केवल प्राविधिक विषयका रूपमा मात्र हेरिनु हुँदैन ।

त्यस्तै आमनिर्वाचनसँग जोडिएको अर्को अहम् पक्ष भनेको जनतालाई उच्चतम प्रतिनिधित्व गर्न सक्ने उम्मेदवारलाई मात्र यसपटकको निर्वाचनमा भाग लिन दिने व्यवस्था हुनुपर्छ । जनप्रतिनिधिहरूको घट्दो स्तर एवम् व्यावसायिकतामा आएको निरन्तर ह्रासलाई हेर्दा अब पनि योग्य उम्मेदवारलाई निर्वाचनमा नलैजाने हो र संविधानसभा वा संसद् केवल भाँडभैलो गर्ने ठाउँका रूपमा मात्र प्रयोग गर्ने स्थिति देखिएको छ । यसै हो भने नेपाली राष्ट्रवाद तथा प्रजातन्त्रको भविष्य दीर्घकालका लागि संकटमा परिसकेको मान्नुपर्ने हुन्छ ।

संविधानसभा सदस्यको निर्वाचनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७० का अनुसार प्रस्तावित निर्वाचनद्वारा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली -एफपिटिपी) अनुसार हुने निर्वाचनमार्फत दुई सय चालीस निर्वाचन क्षेत्रबाट निर्वाचित २४० जना, त्यस्तै राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि सम्पूर्ण मुलुकलाई एक निर्वाचन क्षेत्र मानी गरिने निर्वाचनबाट निर्वाचित अर्को २४० जना तथा राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरू एवं उपर्युक्त दुवै निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुन नसकेका आदिवासी जनजातिहरूमध्येबाट सहमतिका आधारमा मन्त्रिपरिषद्बाट मनोनयन हुने ११ जना गरी कुल ४९१ सदस्यको निर्वाचन हुनेछ । समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि त्यस्तो निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले आफ्नो दलको तर्फबाट उठाइने उम्मेदवारको बन्दसूची तयार गर्नुपर्ने तथा यो निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिने व्यवस्था गर्नुपर्ने कानुनमा उल्लेख छ । खुला रूपमा प्रस्ताव गरिएका उम्मेदवारहरूमध्ये अधिकांशको स्तर प्रश्नवाचक भएको गत निर्वाचनको स्थितिलाई हेर्दा बन्दसूचीका उम्मेदवार जसले आफूलाई जनस्तरमा परीक्षण गराउनु पर्दैन, त्यसको स्थितिका बारेमा अन्दाज गर्न गाह्रो हुँदैन ।

संसद् नभएको अवस्थामा राष्ट्रपतिद्वारा जारी गरिएको उक्त अध्यादेश मुलुकको अस्थिरताबाट प्रभावित अध्यादेश हो । संविधानसभाको सदस्य हुनका लागि प्रत्येक व्यक्ति नेपाली नागरिक हुनुपर्ने, निजले कम्तीमा २५ वर्ष उमेर पूरा गरेको हुनुपर्ने, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको र कुनै लाभको पद धारण नगरेको हुनुपर्ने भन्ने व्यवस्था निर्वाचनमा उम्मेदवारी दिने व्यक्तिहरूका लागि परम्परागत व्यवस्थाहरू हुन् । त्यस्तै उम्मेदवारको योग्यताको ‘नेगेटिभ लिस्ट’ का रूपमा मतदाता नामावलीमा नाम समावेश नभएको व्यक्ति, नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति, निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई सो सजाय पाएको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारप्रसार, लागू औषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण वा राहदानी दुरुपयोगसम्बन्धी कसुरमा अदालतको अन्तिम फैसलाबाट सजाय पाएको, ज्यानसम्बन्धी मुद्दामा अदालतको अन्तिम फैसलाबाट सर्वस्वसहित जन्मकैद वा जन्मकैदको सजाय पाएको, बैंक तथा वित्तीय संस्थाको ऋण नियतवश नतिरी प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेको र मगज बिग्रेको व्यक्तिलाई उल्लेख गरिएको छ ।

झट्ट हेर्दा केही फड्को मारेको देखिने उक्त अध्यादेशको उपर्युक्त शब्दावली बडो नापतौल गरी केहीखालका उम्मेदवारहरूलाई असर नपर्ने गरी उल्लेख गरिएको बुझ्नलाई कसैलाई गाह्रो पर्दैन । जस्तो फौजदारी कसुरमा सजाय पाएको भए पनि त्यस्तो कसुरले नैतिक पतन भएको देखाउँदैन भने त्यस्तो व्यक्ति उम्मेदवार हुन पाउने भयो । यो प्रावधानबाट नैतिक पतन देखिने कसुर केलाई मान्ने, केलाई नमान्ने भन्ने कुरा प्रस्ट हुँदैन । कानुनले परिभाषित गर्न खोजेको छैन । त्यस्तै पछिल्लो निर्वाचन लड्दा कुनै निर्वाचन कानुन उल्लंघन गरेकामा सजाय पाए पनि सो सजाय काटेर दुई वर्ष भुक्तान भइसकेको भए उसलाई निर्वाचन लड्न छेकबार भएन । ऊ सद्दे नै मानियो । सुरु अदालतबाट कुनै व्यक्ति मानव बेचबिखन तथा ओसारप्रसारजस्तो जघन्य अपराधमा दोषी देखिएको छ भने पनि अन्तिम तहको फैसला नहुन्जेल उसले छाती फुलाएरै निर्वाचनको उम्मेदवार हुन पाउने भयो । अर्थात न्यायको रोहमा फैसला गर्ने जिल्ला अदालत वा अन्य अदालतहरूले गरेको फैसला प्रशासनिक निकायको निर्णयजस्तो तामेलीमा बस्ने भए । यस्तो कानुन बनाउने वा जारी गर्ने व्यक्ति अदालतको अवहेलनामा दण्डित हुन सकेका छैनन् । यी व्यवस्थाहरूको कमीकमजोरी आफैं स्पष्ट छन् । एउटा सभ्य प्रजातान्त्रिक मुलुकमा यस्ता प्रावधानहरूका आधारमा निर्वाचन लड्न दिइँदैन । तथापि निर्वाचन अध्यादेशका उपर्युक्त व्यवस्थाहरूलाई नेपालको ‘रुल अफ ल’ बनाइसकेको छ । यसलाई चुनौती दिन सकिने प्रशस्त संवैधानिक आधारहरू भए पनि जबसम्म ती बदर हुँदैनन्, कानुनअन्तर्गत तिनलाई उम्मेदवारको न्यूनतम योग्यता मान्नुपर्ने भएको छ ।

निर्वाचनमा उम्मेदवार हुने योग्यता भनेको जे संविधान वा कानुनमा उल्लेख गरिएको छ, त्यो मात्र होइन । त्यो त राजनीति गर्नेले आफ्ना लागि तयार गरेको न्यूनतम मापदण्ड हो । कानुन जनप्रतिनिधिले बनाउँछन् । कसैले पनि आफ्नै मुण्डन हुने गरी कानुन बनाउँदैन । त्यसैले यस्तो निर्वाचन प्रणालीले एक प्रकारको निहित स्वार्थ -भेस्टेड इन्ट्रेस्ट) लाई निरन्तरता दिइरहेको हुन्छ । आमजनताको नैतिकताको स्तर अलिकति फरक हुन्छ, हुनु पनि पर्छ । देशको संविधानले निर्वाचन प्रणालीको स्वच्छताको आशा गरेको हुन्छ । यो स्वच्छताको प्रत्येक निर्वाचन प्रणालीमा छलफल हुनु जरुरी छ । यस्तो छलफल भएमा मात्र उपलब्ध भएका मध्ये अधिकतम योग्यता भएका व्यक्तिलाई जनताले भोट हाल्न पाउँछन् । यस्तो नहुँदा समुदाय, जातपात, वर्ण, भाषा, धर्म, लिंग, क्षेत्र तथा सनातनी सिद्धान्तका आधारमा मतदान गर्ने परिस्थिति निर्माण हुन्छ । त्यसैले विभिन्न विकृतिहरू खपेर आएका कतिपय मुलुकहरूमा निर्वाचनका योग्य उम्मेदवारका आधुनिक मापदण्डहरू फरक पारिँदै गएका छन् ।

निर्वाचन प्रजातन्त्रको आधार तब मात्र बन्छ, जब निर्वाचित हुने व्यक्ति निर्वाचनका लागि योग्य हुन्छ । न्यूनतम योग्यताको कुरा होइन । कुरा प्रतिस्पर्धात्मक योग्यताको हो । त्यस्तो व्यक्तिले मात्र उम्मेदवारी दिन पाउनुपर्छ, जसले निर्वाचनबाट विजयी भएर सत्य र निष्ठाका आधारमा प्रतिनिधित्व गर्न सक्छन् । त्यस्तो उम्मेदवारको अखण्डता, इमानदारी, पूर्णता वा शुद्धताका बारेमा मतदातालाई पर्याप्त ज्ञान हुनुपर्छ । मतदाताका विकल्पहरू के हुन् भन्नेबारेमा सूचनाको हक प्रत्येक मतदातालाई छ । उम्मेदवारका बारेमा सोधीखोजी गर्ने, उसको पृष्ठभूमि, शिक्षादीक्षा, बन्दव्यापार, कार्यक्षमता, सामुदायिक भावना, व्यक्तिगत चरित्र वा नेतृत्व क्षमता के कस्तो छ भन्नेबारेमा थाहा नपाई मतदान दिन जानु मतदाताको केवल यान्त्रिक प्रयोग मात्र हुन्छ । यसको जाँचपास त्यस्ता व्यक्तिहरूबाट गरिनुपर्छ, जसले जाँचपास गर्ने योग्यता राख्छन् । यो परीक्षण गर्ने प्रक्रियालाई अंग्रेजीमा ‘भेटिङ’ भन्ने चलन छ । नेपालीमा ठ्याक्क मिल्ने शब्द उपलब्ध नभए पनि मोटामोटी रूपमा ‘भेटिङ’ लाई ‘सत्यनिष्ठा परीक्षण’ को व्यवस्था भन्दा अत्युक्ति नहोला । अन्ततः सत्यनिष्ठा परीक्षण भनेको उम्मेदवारको व्यक्तित्व मापन नै हो । यो प्रक्रिया अदालती प्रक्रिया होइन । यसको छिनोफानो अन्ततः मतदाताले गर्छ ।

वास्तवमा सत्यनिष्ठा परीक्षणको प्रयोग एक किसिमले धेरै पहिलेदेखि हुँदै आएको पनि हो । घोडादौडको आयोजना गर्दा प्रत्येक घोडालाई उसको अश्वशक्ति वा स्वास्थ्यका आधारमा उक्त दौडमा भाग लिन योग्य छ कि छैन भनी हेर्नका लागि पशुचिकित्सकले प्रमाणित गर्ने चलन संसारमा धेरै अघिदेखि चलेको हो । फरक यति मात्र हो कि आजको राजनीतिमा अश्व परीक्षणभन्दा बढी जरुरी उम्मेदवार परीक्षणको हुन गएको छ । परीक्षण गर्नुपर्ने विषय अब शारीरिक वा मानसिक मात्र नभई सत्यनिष्ठासँग पनि सम्बन्धित हुन गएको छ । आजको विकसित समाजमा कुनै ख्यातिप्राप्त उद्योग, ठूलो बैंक, राज्यद्वारा सञ्चालित मिडिया हाउस वा प्राज्ञिक संगठन इत्यादिलाई नयाँ प्रबन्धक चाहिएमा अब ऊ २५ वर्ष पुगिसकेको छ, व्यवस्थापन विषयको स्नातक पनि छ, काम गर्न पनि जानेको छ भन्ने कुरा मात्र सान्दर्भिक हुँदैन । यस्ता ‘थ्रेसहोल्ड’ का कुराहरूका आधारमा हजारौं मान्छे योग्य हुन सक्छन् । मूलभूत रूपमा योग्यता भनेको त्यस्तो व्यक्तिको व्यक्तित्व, विचार, चरित्र वा व्यावसायिक अखण्डता नै हो । के नेपाली नागरिक यो योग्यताका बारेमा जानकार भई मतदान गर्ने अधिकार राख्दैनन् त ?

वास्तवमा अन्तर्राष्ट्रिय मानव अधिकार शास्त्रमा ‘सत्यनिष्ठा परीक्षण’ छिरेको धेरै भइसक्यो । अब मानव अधिकार उल्लंघनको गम्भीर कलंक बोकेको व्यक्तिलाई सार्वजनिक ओहदाका लागि योग्य मानिँदैन । संक्रमणकालीन न्यायको व्यवस्थापन गरिरहेका कतिपय मुलुकहरूमा ‘सत्यनिष्ठा परीक्षण’ नगरीकन सत्ता दुरुपयोगका सहभागीहरूलाई नयाँ व्यवस्थामा निरन्तरता दिइँदैन । गृहयुद्धमा गएको मुलुकका मान्छेहरू गृह युद्धपछिको सार्वजनिक प्रशासनमा ‘सत्यनिष्ठा परीक्षण’ नगराई पुनः भर्ना अस्वीकार गरिन्छ । निजामती सेवा वा सैन्य सेवा मात्र होइन, राजनीतिक क्षेत्रमा पनि अब यो कुरा नयाँ रहेन । राजनीतिक पदहरूमा नियुक्ति वा निर्वाचित गरिँदा धेरै ठाउँमा ‘सत्यनिष्ठा परीक्षण’ प्रक्रिया प्रयोगमा आइसकेको छ । जस्तो, संयुक्त राज्य अमेरिकामा कुनै पनि राजनीतिक दलको राष्ट्रपतिको उम्मेदवारले उपराष्ट्रपतिको उम्मेदवार आफू उम्मेदवार हुँदाखेरि नै घोषणा गर्नुपर्छ । त्यस्ता उपराष्ट्रपतिका उम्मेदवारले राष्ट्रपतिको हकमा काम गर्ने सल्लाहकारहरूको एउटा समूहले ‘सत्यनिष्ठा परीक्षण’ गरी सोको मूल्यांकन गरेपछि मात्र मनोनीत गरिने चलन छ । जाँचपास गर्दा कतिपय मानिस असफल पनि हुन्छन् । त्यस्तालाई अवसर दिइनु हुँदैन । यसरी मूल्यांकन गरिँदा त्यस्तो उम्मेदवारको वित्तीय व्यवस्था, व्यक्तिगत आचरण र छापामा उनले लेखेका, बोलेका कुराहरूलाई पनि आधार बनाइन्छ ।

निर्वाचन एउटा राष्ट्रिय अभियान पनि हो । आफूले मतदान गर्ने उम्मेदवार विभिन्न सार्वजनिक नीति निर्माणका विषयमा कस्तो धारणा राख्छ भनेर हरेक मतदाताले जान्न पाउनुपर्छ । हरेक मतदातालाई थाहा हुनुपर्छ, उसले भोट हाल्न रोजेको उम्मेदवारले घरमा स्वास्नी कुट्छ कि कुट्दैन, छिमेकमा जातपातका आधारमा भेदभाव गर्छ कि गर्दैन, धार्मिक एवं जातीय विषयमा उसको दृष्टिकोण कस्तो छ र उसका विकासका अवधारणाहरू कस्ता छन् ? मतदातालाई यन्त्रका रूपमा प्रयोग नगर्ने हो भने उसको भोट भ्रष्टाचारी, दुराचारी, व्यभिचारी वा फौजदारी उम्मेदवारलाई पर्नुभन्दा पहिले उसले त्यस्तो उम्मेदवारका बारेमा सार्वजनिक मूल्यांकन भएको देख्न र सुन्न पाउनुपर्छ । अदालतलाई असहयोग गर्ने, देशभित्रको राजनीतिक समस्यालाई विदेशमा गएर निर्देशन लिने, चुनावको मर्यादालाई बारम्बार तोड्ने, त्यस्ता व्यक्तिहरूलाई उम्मेदवार बन्नबाट वञ्चित गर्न सकिँदैन भने पनि कम्तीमा ‘सत्यनिष्ठा परीक्षण’ को प्रक्रियामा निजलाई उभ्याएर जनतालाई सूचित गर्न सकिन्छ ।

आजका आम नेपालीहरूमा हामी सोझासाझाले गरेर मात्र के हुन्छ भन्ने व्यापक निराशा देखिन्छ । यसको पछाडिको कारण निर्वाचन प्रणालीको यान्त्रिकता पनि हो । ‘सत्यनिष्ठा परीक्षण’ का विभिन्न नमुनाहरू संसारमा पाइन्छन् । नेपालले पनि उपयुक्त नमुना छनोट गर्नुपर्छ । छलफल वा जाँचपासको प्रक्रिया बेइमानी हुन सक्लान् । तर आम जनताले जे देख्छ, त्यसबाट उसको मतदान अवश्य नै प्रभावित हुन्छ । ‘सत्यनिष्ठा परीक्षण’ को उद्देश्य मतदातालाई सशक्तीकरण गर्ने हो । जाँचपास गर्ने समूहले पास गर्छ कि गर्दैन उसको हातमा नहोला । तर यो प्रक्रियाले जनतालाई जिम्मेवार बनाउँछ । यो कुरालाई आज संसद् नभएको अवस्थामा नेपालका राष्ट्रपतिले निर्वाचन प्रणालीमा स्थापित गराउन सक्नुभएको भए अब हुने निर्वाचनमा कम्तीमा एउटा नयाँ लहरका सम्भावनाहरू देखिने थिए । सरकारी स्तरमा ‘सत्यनिष्ठा परीक्षण’ को व्यवस्था नगरे पनि कम्तीमा सम्बन्धित राजनीतिक दलले उम्मेदवार चयन गर्दा यो प्रक्रिया अवलम्बन गर्नैपर्ने बाध्यता अध्यादेशमार्फत गर्न सकिन्छ । सोझासाझा नेपालीहरूका लागि राष्ट्रले दिन सक्ने सबैभन्दा ठूलो सम्मान यही हो ।

आज निर्वाचन प्रणाली उम्मेदवारको सट्टा बजारका रूपमा स्थापित हुन थालेको छ । जसरी उम्मेदवारहरूको चयन हुँदै छ, यसबाट के देखिन्छ भने नेपालको नियति परिवर्तन हुने कुनै सम्भावना छैन । जेजस्ता मान्छेहरू सिफारिस भई जाँदै छन् वा चुनावमा उठ्ने सम्भावना देखिँदै छ, त्यसले विकसित, राष्ट्रमुखी चरित्रको प्रजातान्त्रिक नेपालका लागि विकल्पहरू सोच्ने क्षमता, निष्ठा तथा चरित्र व्यक्त गर्न सक्ने अवस्था देखिएको छैन जसका कारणले देश यति विक्षिप्त अवस्थामा छ, ती मान्छे कुर्लिंदै फेरि सत्तामा पुग्न खोज्दै छन् ।

कानुनले आमजनतालाई ‘सत्यनिष्ठा परीक्षण’ गर्ने प्रावधानहरू नदिए पनि यसको प्रयोग मतदानको स्तरमा कसैले खोस्न सक्दैन । यसलाई टोलटोलमा लैजाने र जनस्तरमा ‘सत्यनिष्ठा परीक्षण’ का मञ्चहरूको व्यवस्था गर्नु जरुरी छ । यसका लागि नागरिक समाजको पहल जरुरी छ । अन्ततः जनताको स्तरमा परिवर्तनले नै सत्ताको स्तरमा परिवर्तन गर्ने हो । यो आवश्यक मात्र होइन, सम्भव पनि छ ।

अधिकारी संवैधानिक कानुनका विज्ञ हुन् ।

 २०६९ वैशाख ११

इटालीमा सोह्रौं शताब्दीताका त्यहाँका दार्शनिक निकोलो मकियावेली धेरै चर्चित थिए। उनले लेखेको पुस्तक ‘द प्रिन्स’आज धेरै बदनाम छ। तर, उनले लेखेको एउटा राम्रो कुरा यहाँ स्मरणयोग्य छ। समय प्रतिकूल हुँदा गणतन्त्र स्थापनाका आदि सिद्धान्त बचाउनु गाह्रो कुरा हो। यस्तो बेलामा शासन चलाउने मान्छेमा भएको साधारण साधुशीलताहरू (सिम्पल भर्च्युज्) ले पनि गणतान्त्रिक मूल्य मान्यता जोगाउन सक्छ। उसको असल उदाहरणको प्रभावले असल व्यक्ति त प्रभावित हुन्छन् नै, दुर्जनहरू पनि लज्जित भएर कमजोर हुन्छन्।

नेपालको अन्तरिम संविधान, २०६३ ठूला मूल्यमान्यता र घोषणाका आधारमा जारी गरिएका थिए। तर, यसले न्याय क्षेत्रमा कुनै ठूलो दाबी गरेको थिएन। त्यसैले यो संविधानबाट न्यायप्रणालीमा उल्लेखनीय नवीनता थपेको देखिएन। यसले स्वतन्त्र न्यायपालिकाको व्यवस्था, यसअन्तर्गत भएको न्याय प्रणालीको रुपान्तरण र न्यायिक कामकारबाहीमा आर्जन गरेको विश्वसनीयता २०४७ सालको संविधान एवम् त्यसअन्तर्गतको अनुभवबाट नै पाएको हो। कतिसम्म भन्न सकिन्छ भने भइरहेको न्यायिक पद्धतिमा अन्तरिम संविधानले केही प्रजारञ्जक विशेषता थपेको थियो।

प्रजारञ्जक भन्नुको अर्थ झट्ट हेर्दा राम्रै लागे पनि अन्ततः त्यसले प्रणालीगत रूपमा न्याय प्रणालीलाई विशेष योगदान गर्न नसकेको बु‰नुपर्दछ। अन्तरिम संविधानले संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने संवैधानिक पद तथा सर्वोच्च अदालतका न्यायाधीश समेतको पदमा नियुक्तिपूर्व निजहरूको कानुनमा व्यवस्था भएबमोजिम संसदीय सुनुवाइको व्यवस्था गर्‍यो। यसले सर्वोच्च अदालतका प्रधान न्यायाधीशको नियुक्तिको सिफारिससमेत गर्ने अधिकार पाएको संवैधानिक परिषद्को संरचनामा मन्त्रिपरिषद्मा रहेका राजनीतिक दलहरूमध्ये फरक–फरक दलको प्रतिनिधित्व हुने गरी प्रधानमन्त्रीले तोकेको तीनजना मन्त्रीसमेत रहने व्यवस्था गर्‍यो। न्यायाधीशहरूको नियुक्ति, सरुवा, अनुशासनसम्बन्धी कारबाही, बर्खास्तगी र न्यायप्रशासन सम्बन्धी अन्य कुराको परामर्श दिने न्याय परिषद्मा पनि अन्य सदस्यका अतिरिक्त नेपाल बार एशोसिएसनको सिफारिसमा प्रधानन्यायाधीशद्वारा नियुक्त वरिष्ठ अधिवक्ता वा कम्तिमा २० वर्ष अनुभव प्राप्त अधिवक्ताको पनि व्यवस्था गर्‍यो। यी सबै नौला व्यवस्था हुन्।

सर्वोच्च अदालतले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने र राष्ट्रपतिले प्रधानमन्त्रीमार्फत् त्यस्तो प्रतिवेदन संसद्मा पेस गर्न लगाउनुपर्ने व्यवस्था संविधानमा पहिलोपल्ट उल्लेख गरिएको हो। त्यस्तै, अन्तरिम संविधानले नेपालको न्यायपालिकाले स्वतन्त्र न्यायपालिकासम्बन्धी अवधारणाका साथै त्यसले ‘लोकतन्त्र र जनआन्दोलनको भावना’ लाई आत्मसात गर्नुपर्ने कर्तव्य पनि तोक्यो। उपरोक्त सबै व्यवस्था आफैंमा नराम्रा नहोलान्। तर त्यसबाट नेपालले लामो संघर्षबाटआर्जन गरेको स्वतन्त्र न्यायपालिका तथा यसको दीगो प्रयोगलाई कति मद्दत गर्‍यो? कानुन क्षेत्रले बु‰नुपर्दछ। यी विषयलाई हलुका ढंगले प्रस्तुत गर्नुभन्दा अलिकति गहिरो अध्ययन गरी बहसको थालनी गर्नु जरुरी होला। केवल राजनीति गर्ने मान्छेलाई पद र सुविधा दिँदैमा न न्यायक्षेत्र जवाफदेही बनाउन सकिन्छ, न आदर्शका कुरा गरेर मात्र। निष्ठाको कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो। यो निष्ठा त्यो संरचनाले प्राप्त गर्न सक्यो कि सकेन हेर्नुपर्ने हुन्छ।

अन्तरिम संविधान लागू भएदेखि नेपालको न्यायप्रणाली लगातार राजनीतिक प्रभावित हुँदै आएको छ। सर्वोच्च अदालतले स्वतन्त्र न्यायिक परम्परा, अभिलेख अदालतको भूमिका तथा संविधानको संरक्षकका रूपमा यसले आफ्नो कर्तव्यबोधमा कमी हुन दिएको जस्तो लाग्दैन। तर, न्यायप्रणाली संकटमा परेको प्रष्ट देख्न सकिन्छ। अदालतले अनावश्यक रूपमा संवैधानिक विवादको समाधानका लागि निर्णयाधार बनाइदिँदा आवश्यकताको सिद्धान्तविरुद्ध स्वतन्त्र न्यायपालिकाले सदियौँदेखि संघर्ष गरेका छन्, नेपालको सर्वोच्च न्यायालयमा छिरेको छ। संविधानसभाको कार्यावधि थप्न प्रस्तावित पछिल्लो संविधान संशोधनको वैधानिकताको विषयमा निर्णय गर्दा यो सिद्धान्तको कमजोर धरातल सर्वोच्चले पुनः टेक्न चाहेन। तर, संविधानको संरक्षण नभई आवश्यकताकै सिद्धान्तका आधारमा राष्ट्रपतिबाट धारा १५८ बमोजिम बाधा अड्काउको आदेश फुकाएको सर्वविदितै छ।

यही आवश्यकताको सिद्धान्तलाई आधार बनाएर प्रधान न्यायाधीशले नेपालको सरकार चलाइरहनुभएको छ। मुलुकमा निर्वाचन गर्नका लागि संविधानको आधारभूत संरचना भंग गर्न सकिन्छ भन्ने उहाँलाई लाग्यो। त्यस्तो लाग्नलाई संविधानमा नै उचित प्रावधान खोज्नुपर्ने आवश्यकता छैन भन्ने नजिर पनि अब स्थापित भयो। सरकारबाट प्रस्ताव भयो, ठूला राजनीतिक दलले अनुमोदन गरे। राष्ट्रपतिले शपथ ग्रहण गराउनुभयो। संविधानविरुद्ध भएको यो अन्यायविरुद्ध सुनुवाइ गर्न कुनै अदालत देशमा उपस्थित छैन। किनभने यहाँ स्वार्थहरू बीचको संघर्ष (कन्फ्िलक्ट अफ इन्टेरेस्ट) छ। आमाको कुरा मामासँग गर्नुपर्ने भएको छ। के स्पष्ट गर्न खोजेको हो भने ‘लोकतन्त्र र जनआन्दोलनको भावना’ यति दूषित होला भन्ने कसैलाई लागेको थिएन। किनभने नेपालको लामो इतिहासमा यस्तो प्रयोग कहिल्यै भएन। अब चुनाव हुन नसकेपछि सरकार तथा यो भवितव्य गराउनेहरुको कुनै सार्वजनिक उत्तरदायित्व हुन्छ कि हुँदैन? यसको जवाफ न्यायप्रणालीले दिन सक्छ त?

न्यायाधीशको नियुक्तिमा संसदीय सुनुवाइको कुरा आफैंमा राम्रो होला। तर, यसले व्यवसायिक न्यायाधीशहरुलाई कति लज्जित गर्‍यो? त्यसको लेखाजोखा भएको छैन। यो काम त न्यायपरिषद्ले नै सक्षमतापूर्वक गर्नसक्ने काम होइन? त्यस्तै संवैधानिक परिषद्मा राजनैतिक क्षेत्रको बढ्दो प्रतिनिधित्वबाट संवैधानिक अंगहरुमा कति राम्रा पदाधिकारी भित्रिएका छन् र नियुक्तिका प्रक्रिया कति सिद्धान्तनिष्ठ हुन सके भन्ने प्रश्न छ। त्यसभन्दा पनि महत्वपूर्ण कुरा के हो भने राजनीति गर्नेहरुलाई उत्तरदायित्व वहन गर्नु नपर्ने अवस्थामा न्यायप्रणालीलाई यति गम्भीर रूपमा प्रभावित गर्ने गरी निर्णय प्रक्रियामा सहमति गराउनुपर्ने बाध्यता किन सिर्जना भएको छ? यो अनुत्तरित प्रश्न हो। एउटा बहालवाला न्यायाधीशलाई दिउँसै गोली ठोकेर मारिएको पृष्ठभूमिमा यी व्यवस्थाहरूको उपादेयता के होला? के हाम्रा संरचना राजनीतिक व्यक्तिहरुबाट जोगिए पनि निर्देशित आक्रमणबाट जोगिन सक्लान्?

कुसंस्कार अन्य पनि छन्। हामी के देख्दैछौं भने अदालतले संवैधानिक व्याख्याको प्रश्न समावेश भएको विषयवस्तुमा आफ्नो भनाइ वक्तव्य मार्फत सार्वजनिक गर्न थालेको छ। धेरै संवैधानिक फैसलाको व्याख्या गर्ने काम अदालतकै कर्मचारीद्वारा अदालत परिसरबाट भएको देखिनु त्यति राम्रो देखिँदैन। गल्ती भएका पनि हुन सक्छन्। सबै सही नै भएको पनि हुन सक्छ। तर, फैसला गरिसकेपछि यसको व्याख्या, आलोचना, समालोचना वा अध्ययन गर्ने काम अदालतको होइन। यो अवस्थाअनुसार व्यवसायिक चिरफार वा प्राज्ञिक अध्ययनको विषय हुन सक्छ।

त्यस्तै पदमा बसेका हुन् वा पदबाहिर एउटा मर्यादित न्यायाधीशले न्यायिक संस्कृति नै धानेर बस्नुपर्छ। त्यो मर्यादाले राजनीतिक रुपमा व्याख्या हुन सक्ने गरी सञ्चार माध्यममा अन्तर्वार्ता दिने, विज्ञप्ति जारी गर्ने वा आफ्नो भनाइ सार्वजनिक गर्ने छुट दिँदैन। जुन कुरा पदमा बस्दा कुनै मर्यादित न्यायाधीशलाई सुहाउँदैन, त्यो अवकाशप्राप्त भइसकेपछि पनि गर्नु अस्वभाविक मानिन्छ। अमेरिकाका प्रधान न्यायाधीश जोन रबर्टस्, संयुक्त अधिराज्यका सर्वोच्च अदालतका अध्यक्ष लर्ड न्युवर्गर वा भारतका प्रधान न्यायाधीश अल्तमस कवीरले कति ठाउँमा अन्तर्वार्ता दिएर न्यायिक संस्कृतिलाई चुनौती दिएका छन्? बु‰नुपर्ने हुन्छ। हिजोसम्म सर्वोच्च अदालतको इज्जत धानेर बसेका न्यायाधीशले रिटायर्ड हुनेबित्तिकै यसको शेखी झार्न खोज्नु कति सुसंस्कृत तरीका होला?

धेरै प्रजातान्त्रिक मुलुकमा न्यायप्रणालीको साख संविधानले भन्दा पनि बढी कानुन व्यवसायीले धानेका हुन्छन्। यसै पनि न्यायप्रणाली स्वतन्त्र, निष्पक्ष एवम् दक्ष भएन भने कानुन पेसा न्यायाधीश तथा न्याय खोज्ने पक्षहरूबीच ‘ब्रोकर’ को भूमिका निर्वाह गर्ने व्यवसायमा परिणत हुने खतरा हुन्छ। कानुनको ज्ञान, बृहत् अध्ययन तथा व्यवसायिक क्षमताले न्याय निरोपण कार्यलाई सहयोग गर्न नसक्ने भएपछि वकिलहरूका लागि अर्को भूमिका बाँकी रहँदैन। यस्तो परिस्थिति व्यावसायिक कारणले मात्र नभई व्यक्तिगत आधारमा पनि कुनै वकिलले चाहँदैन। तर, न्यायिक संस्कृतिको कुरा उठाउन कानुन व्यवसाय समग्रमा आफ्नो थान्कोमा बस्नुपर्ने हुन्छ।

नेपालमा कानुन व्यवसायीका चुनौती निरन्तर बढ्दो छ। एकातिर व्यवसायलाई राजनीतिले थिच्दै लगेको छ भने अर्कोतिर आन्दोलनको संस्कृतिले यसलाई विक्षिप्त पारेको छ। व्यवसायिक संगठनलाई आफ्नो साख देखाउन आन्दोलनको सहारा लिनु पर्दैन। यो त राजनीति गर्नेलाई चाहिने प्रक्रिया हो। यसैले गर्दा नेपालको बार तथा यसका एकाइमा अल इन्डिया बार एशोसिएसनका अध्यक्ष अदिश अग्रवालवा, अल चाइना लयर्स एशोसिएसनका अध्यक्ष वाङ जङफेङ जस्ता प्रखर व्यवसायी आउन सक्दैनन्। न्यायिक स्वतन्त्रता भनेको बारको स्वतन्त्रता पनि हो। कति स्वतन्त्र छ नेपालको बार? सबैले बुझेकै छन्। जुन रूपमा बारको निर्वाचन हुन्छ, जसरी प्यानल फर्मेसन गरिएको हुन्छ र जसरी मत हाल्नलाई मतदातालाई लविङ गरिन्छ, यसबाट बारको स्वतन्त्रता कायम रहन सक्दैन। अदालतका लागि एमिकस खोजिँदा दलगत आधारमा रोजिनु र अदालतले तिनै वकिलहरुको बहस सुनेर यो देशको एमिकसहरूको सोचाइ के हो बुझेँ भनी चित्त बुझाउनु के दुःखद होइन? यो प्रक्रियाले स्वतन्त्र न्यायपालिकालाई बलियो बनाउँछ भन्नु केवल सुखद अज्ञानता मात्र हो।

स्वतन्त्रता भनेको क्षमतामा आधारित अवधारणा हो। असक्षम मान्छेले हरेक ठाउँमा कम्प्रोमाइज गर्नुपर्ने हुन्छ। स्वाभिमानको विकासका लागि क्षमताको आवश्यकता हुन्छ। यो मुलुकमा कुनै चिकित्सकले बिरामी जाँच्दा अन्यथा हुन गएमा ढुंगामुढा गरिएको वा कुनै इन्जिनियरले कैफियत गर्दा जवाफदेही हुनुपरेको प्रशस्त उदाहरण छन्। तर, कानुन पेसाबाट पीडित मान्छेहरूका लागि अमूक वकिलविरुद्ध बारले के विकल्प दिएको छ?

कतिपय अमेरिकी वकिलहरू बहस गर्न जाँदा आफ्नो क्षमताले कहिल्यै धोका दिन्छ कि भनी शंका लाग्दा फैसला आफ्नो पक्षको विपक्षमा भयो भने क्षतिपूर्ति दिनका लागि आफ्नो पक्षको हितमा बीमा गरेर मात्र बहस गर्न जान्छन्। नेपालमा आजसम्म पनि वकिलहरूको असक्षमताका कारण आफ्नो उचित बहस पैरवी हुन नसकी हार भएको भनी मुद्दा दिनसक्ने व्यवस्था गरिएको छैन। के न्यायिक संस्कृतिका लागि यस्तो व्यवस्था जरुरी छैन। त्यस्तै पेसागत मर्यादाका कतिपय अन्य पक्ष पनि छन्। जस्तोः के वकिलहरुको काम आफ्नो नाउमा मुद्दा हालेर हिँड्ने हो? यी प्रश्नहरूका बारेमा गम्भीर भएर सोच्नुपर्ने आवश्यकता छ। त्यसो भए व्यावसायिक आचारसंहिताका पक्ष के–के हुन्? अब त्यो जरुरी छैन कि?

कुरा अन्ततः न्यायिक संस्कृतिको हो र त्यो संस्कृति संविधानमा लेखेर मात्र संरक्षित हुँदैन। त्यसका लागि अर्कै किसिमको वातावरण चाहिन्छ। मनोविज्ञानमा ‘डार्क ट्राइएड’ (दुखद् त्रिशंकु) भन्ने एउटा अवधारणा छ। जुन व्यक्तित्व आत्मरतिपूर्ण, छली (मकियावेलियन) र मनोरोगयुक्त छ, त्यसबाट असल संस्कृतिको विकास हुन सक्दैन। अन्तरिम संविधानका ठूला कुरा सधै ठूलै रहलान्। तर ती कुराहरूको न्यायप्रशासनमा कुनै भूमिका होस् भन्ने चाहने हो भने पहिले न्यायिक संस्कृति के हो भन्नेतर्फ बढी गम्भीर हुनु पर्दछ।

(अधिकारी संवैधानिक कानुनका विज्ञ हुन्।)

२०६९ चैत २८

त्रिवेणीधाममा हुँदै गरेको नेपाली कांग्रेसको महासमितिको बैठक प्रत्यूत्पादक नभए पनि अनुत्पादक हुने सम्भावना धेरैले व्यक्त गर्दैछन् । संविधानसभाको कारुणिक अवसान र त्यसपछिको १० महिनाभन्दा बढीको राजनैतिक विकासक्रमको पृष्ठभूमिमा हुन लागेको यो बैठकमा प्रस्तुत भएको राजनैतिक प्रस्ताव हेर्दा नेपालको प्रजातन्त्र र राष्ट्रवादको भविष्य उज्यालो देखिँदैन ।

पहिले उठाउनु पर्ने प्रश्न राष्ट्रवादकै हो । लिच्छवी कालीन नेपाल धेरै ठूलो र बलियो थियो । पछि आएर यसको खण्डिकरण भयो । तर मुलुकको राष्ट्रिय पहिचानमा धेरै फेरबदल आएन । यही पृष्ठभूमिमै नेपाललाई पुनः एकीकरण गर्ने प्रयासहरु पटकपटक हुँदै आए । गोर्खाका राजा रामशाहले पनि नेपालको एकीकरणको चाहना राखेका थिए । त्यस्तै राजा प्रताप मल्लले यसका लागि धेरै लडाइँ लडे । तर नेपाल एकीकरण केवल पृथ्वीनारायण शाहले मात्र गर्न सके । जसले भोट (तिब्बत) लगायत मध्य एसिया तथा दक्षिण एसियाका बीचमा सेतुको काम ग¥यो, बन्दव्यापार, उद्योग र आयात निर्यातबाट उसैले राजश्व आर्जन गर्न सक्दथ्यो । यो बाटो जसले आफ्नो नियन्त्रणमा राख्दथ्यो, उसले नै दक्षिण र उत्तरसँग जुध्ने आर्थिक एवम् सामरिक हैसियत प्राप्त गर्न सक्दथ्यो । यो एकीकरणले नेपाललाई पुनः लिच्छवीकालझैं एउटा शक्तिशाली मुलुकमा परिणत ग¥यो । बहादुर शाहले यसलाई अझ विस्तार गरे । यस क्रममा इस्ट इण्डिया कम्पनीसँग नेपाल लड्नै पर्ने भयो । लडाइँ हारे पनि यसले दुस्मनका विरुद्ध राष्ट्रिय एकता कायम गरेको थियो । सन् १८१६ को सुगौलीको सन्धिपछि नेपाल एकीकरण गर्दा लागेका खर्चहरु तथा एकीकरणका लागि जीउज्यान उत्सर्ग गर्ने सेना तथा तिनका परिवारलाई धान्न सरकारलाई धौधौ पर्न थाल्यो । आर्थिक विश्रृंखलताका साथसाथै भारदारहरु बीच कचिंगल पनि सुरु भए । यसै पृष्ठभूमिमा कोतपर्वको माध्यमबाट जंगबहादुरको उदय भएको हो । जंगबहादुर गलत हिसाबले शासनमा आए । तर एउटा दुखित देशलाई उनले पुनः सुरक्षित गरे ।

राजा राम शाह, प्रतापमल्ल, पृथ्वीनारायण शाह, बहादुर शाह वा जंगबहादुर कुँवर उनीहरु सबैमा एउटा कुरामा समानता देखिन्थ्यो । उनीहरु सबै नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताप्रति समर्पित व्यक्तिहरु थिए । देशको सार्वभौमसत्ता र स्वतन्त्रता उनीहरुका लागि विनिमययोग्य वस्तु थिएन । अर्को समानता भनेको यी सबै व्यक्तिहरुमा मुलुकको आर्थिक विकासका अवधारणाहरु थिए । उनीहरु के मान्दथे भने नेपाल चीनतर्फ रहेको मध्य एसिया र भारततर्फ रहेको दक्षिण एसिया बीचको सेतु बन्नु पर्दछ । यो सेतुको रुपमा आफ्नो प्रमाणिकता देखाउन सके मात्र नेपालको उद्योग र व्यापारको विस्तृतिकरण हुन सक्दछ । यसबाट मात्र देश विकासका लागि चाहिने राजस्व र सामरिक शक्तिको पर्याप्त रुपमा आर्जन गर्न सकिन्छ भन्ने उनीहरुको सोचाई थियो ।

नेपाली कांग्रेसका आदर्श पुरुष स्व. बिपी कोइरालाले २००७ सालमा एउटा बहादुर छवि भएको मुलुकलाई प्रजातान्त्रिकरणको प्रक्रियामा लगे । यसपछिको अर्को सात वर्षसम्मको अस्थिरता देखेपछि संविधानसभाबाट संविधान लेखन गर्ने उनको सुरुको दृष्टिकोणमा परिवर्तन आयो । उनले पुनः नेपालको राजनीतिमा विदेशीहरुको दखल व्यक्तिगत रुपमा अनुभव गरे । अंग्रेजहरुसँग सहकार्य गर्नुजस्तो सजिलो थिएन अंग्रेजका भारतीय उत्तराधिकारीसँग सहकार्य गर्न । त्यसपछि उनले राजाद्वारा गठन गरिएको संविधान मस्यौदा आयोगबाट संविधान बनाउने अनुमति दिनुको साथै संसद्का लागि हुने चुनावमा भाग लिने घोषणा पनि गरे । यो राष्ट्रवादद्वारा प्रेरित कदम थियो । यो के मान्यतामा आधारित थियो भने केवल नेपाली कांग्रेसको प्रजातान्त्रिक प्रतिबद्धता तथा समाजवादी सिद्धान्तले मात्र मुलुकलाई बचाउन सकिँदैन । यसका लागि व्यापक राष्ट्रिय एकता चाहिन्छ । यही मान्यताले नेपाल आजसम्म टिकेको हो ।

बिपीका राष्ट्रवादी चिन्तनका कारण देशले निरन्तर स्वाधिनताको अनुभूति गर्न सक्यो । तर उनी आफैं यो प्रक्रियाका शिकार भए । यो दुखद अवधिलाई अन्त्य गर्दै उनले राष्ट्रिय मेलमिलापको नीति अंगीकार गरेको हामी सबैलाई प्रष्ट छ । यो नीतिमै आधारित रहेर त्यसपछिका परिवर्तनहरु गरिएका थिए । नेपालको २०४७ सालको संविधानले राष्ट्रिय मेलमिलापको धरातललाई संवैधानिक जामा पहि¥याइदिएको थियो । एकपटक फेरि मुलुक पुनः निर्माणको दिशामा अघि बढेको थियो । यो परिस्थितिमा नेकपा माओवादीले संसदीय प्रजातन्त्र विरुद्ध हतियार उठाएको भन्ने कुरा अब सबैले बुझेको कुरा हो ।

माओवादी युद्धले प्रजातन्त्र र राष्ट्रवादलाई हताहत गरेको कारणबाट जुन रिक्तता पैदा भयो, त्यो रिक्तता एउटा खतरनाक रिक्तता थियो । आन्तरिक शक्ति क्षीण हुन गएकाल हामीले छिमेकीको ‘हेजेमोनी’ भोग्दैछौं । शासकहरुलाई काबुमा राखेर विदेशीले हामीमाथि शासन गर्दैछ । बिपी यो ‘हेजेमोनी’ विरुद्ध चट्टान भएर उभिनु भएको थियो । कांग्रेसको लिगेसी त्यही नै हो । त्यही लिगेसी छाडेकाले कांग्रेस अहिले ‘डाउन सिण्ड्रम’ को परिस्थितिमा छ ।
नेपालको असल प्रजातान्त्रिक परम्परा, २०४७ सालको संविधान र आफ्नो प्रतिस्पर्धात्मक पहिचान र क्षमतालाई कायम राख्न सकेको भए राजनीतिमा त्यत्रो रिक्तता देखा पर्ने थिएन । प्रजातान्त्रिक दलले आफूलाई अरुभन्दा अलग, स्पष्ट, विश्वासिलो विवेकवान र कुशल देखाउन सक्नुपर्छ । छाक टार्ने नीतिबाट राष्ट्रनिर्माण हुँदैन । मुलुक बनाउनका लागि सम्पूर्ण देशलाई एकीकृत गर्न सक्ने एजेण्डा चाहिन्छ । उच्चतम् एवम् पवित्र उद्देश्य त्यो कांग्रेसले देखाउन सकेन । जनताको विचार र बोली प्रजातान्त्रिक दलले बोल्न नसक्दा अन्य दलहरुले अवसरको प्रयोग गर्नु त स्वभाविकै हो ।

केही महिना अघि मेरो ल फर्ममा नेता चक्र बास्तोलाले एउटा मिटिङ्ग डाक्नु भएको थियो । यसको उद्देश्य सन् २०१४ अर्थात् बिपी कोइरालाको शतवार्षिकी कसरी राष्ट्रिय पर्वका रुपमा मनाउने भन्ने थियो । कार्यक्रममा भीमबहादुर तामाङ, प्रदीप गिरी तथा अन्य महत्वपूर्ण व्यक्तिहरु पनि हुनुहुन्थ्यो । सबैले आआफ्नो कुरा राख्नुभयो । यस सन्दर्भमा नेता प्रदीप गिरीको भनाई थियो – बिपीको शतवार्षिकी मनाउँदा कुन स्लोगनको आधारमा मनाउने भन्ने कुरा हामीलाई बिपीको व्यक्तित्व वा विचारको कुन पक्ष आज सबैभन्दा फाइदाजनक छ, त्यसका आधारमा निर्धारण गर्नुपर्दछ । वहाँको दृष्टिकोणमा बिपी भनेर पुग्दैन । २००७ सालको सशस्त्र क्रान्ति गर्ने बिपी, संविधानसभालाई परित्याग गरी राजाले जारी गरेको संविधान अन्तर्गत चुनाव लड्ने बिपी, राजाले सुन्दरीजलमा थुन्दाको बिपी, सशस्त्र विद्रोहका लागि आव्हान गर्ने बिपी, राष्ट्रिय मेलमिलापका लागि भारतबाट नेपाल फर्किने बिपी वा कुन बिपीको बारेमा कुरा गरेको हो ? बिपीको यो विभाजित व्यक्तित्वबाट नेपाली कांग्रेसलाई जे फाइदा हुन्छ, त्यो फाइदा लिनु पर्दछ भन्ने वहाँको विचार थियो । यो व्याख्या सही होइन ।

मलाई लाग्दछ, राजनीति सुरु गरेदेखि नै बिपीका आदर्शहरु सँधै कञ्चन रहे । परिस्थितिहरु कहिल्यै एकनाश रहेनन् होला । तिनलाई तात्कालीक परिस्थितिका आधारमा बिपीले पनि सामना गर्नुप¥यो होला । सखका दिनहरु पनि आए, दुखका दिनहरु पनि आए । राजनीतिले बिपीलाई पनि रणनीतिक बनायो होला । तर उनले बाँचेको जीन्दगी र उनले स्थापित गरेको सिद्धान्तलाई दुविधारहित हिसाबले बुझ्न सकिन्छ । स्ट्याटिस्टिक्स् र सम्भाव्यताको सिद्धान्तमा स्ट्याण्डर्ड डेभिएसन (मानक विचलन) को कुरा गरिन्छ । मानक केहो र विचलन के हो बुझ्नु पर्ने हुन्छ । अर्को शब्दमा भन्दा जुन कुरालाई हामी बिपीको मानक भन्दछौं, त्यसबाट बिपीको डिस्पर्सन वा भेरिएसन कति छ भनेर हेर्नुपर्दछ । मलाई लाग्दछ आफ्नो व्यक्तित्व, राजनैतिक सिद्धान्त र आदर्शका कुराहरुमा – अझ भनौँ राष्ट्रियता, प्रजातन्त्र र समाजवादका कुरामा – बिपीको विचारमा एकरुपता थियो । निरतन्तरता थियो । उनी जन्मजात राष्ट्रिय मेलमिलापका पक्षपाती थिए । उनको दृष्टिकोण जे सही हो, त्यही नै भनिनु पर्दछ । त्यसको रणनीतिक व्याख्या गरिनु हुँदैन । कांग्रेसले गर्न सक्दैन भने पनि केही छैन, त्यसले गर्ला जसको हातबाट बिपीको उचित मूल्यांकन हुन्छ । राजनेताको पहिचान उचित रुपमा उचित समयमा हुने नै छ ।

२०१५ सालको संविधान मस्यौदा गर्ने समितिले नेपाली कांग्रेसकै होरा प्रसाद जोशीको सक्रियतामा काम गरेको थियो । तर अन्ततः संविधानलाई बिपीले प्रजातान्त्रिक संस्कृति र राष्ट्रिय स्वाधिनताभन्दा ठूलो महत्व दिएनन् । बिपीको भनाई थियो – आस्था र विश्वास छैन भने संविधान भनेको कागजको खोस्टा हो । छ भने राजनैतिक दलले काम गर्न पाउने जस्तोसुकै संविधानको पनि उच्चतम् प्रयोग गर्न सकिन्छ । आज जब हामी परिस्थितिको मूल्यांकन गर्दैछौं भने त्यस अवस्थामा हामीले स्पष्ट हुनु पर्छ कि नेपालको नयाँ संविधान बनाउने कार्यमा न त आस्था र विश्वास देखिएको छ, न राष्ट्र बनाउने चिन्ता । यदि यति कुरामा प्रष्ट हुन सकिन्छ भने प्रजातन्त्रको दिशाबोधका बारेमा अल्मलिनु पर्दैन । प्रजातन्त्र त कसैले लुटेर लान सक्दैन । तर देश लुटिँदो रहेछ । यो आजको कांग्रेसको एजेण्डामा पर्छ कि पर्दैन ?

कांग्रेसको महासमितिले सबै कुराको अहिल्यै छिनोफानो गर्न नसक्ला । तर विगत केही वर्षदेखि मुलुकले लिएको बाटो र त्यसमा देखिएको असफलताहरुका बारेमा समीक्षा नभई अगाडि के गर्ने भन्ने कुराको निक्र्यौल हुन सक्दैन । त्यसैले महासमितिले यसबारेमा अध्ययन गर्न एवम् बृहत्तर छलफलका लागि सबैलाई स्वीकार्य हुन सक्ने एउटा टास्कफोर्स गठन गरी केन्द्रीय समितिमा छलफल एवम् उचित निर्णयका लागि आधार तयार गरिदिन सक्दछ । नेपालको दिगो भविष्यका लागि यो एउटा महत्वपूर्ण प्रक्रिया हो । कांग्रेसका ब्याकबेञ्चरहरुले यसको माग गर्न ढिलो भइसकेको छ । यसमा राजनीति गरिनु हुँदैन ।

(अधिकारी संवैधानिक कानुनका विज्ञ हुन् ।)

 २०६९ चैत १७

नेपालको प्रजातान्त्रिक अभ्यासले अन्ततः प्रधानन्यायाधीश खिलराज रेग्मीलाई तमसुकी शासनको प्रमुख बनाएरै छाडेको छ । करिब डेढ महिनाको वादविवाद र बुद्धिविलासपछि प्रधानन्यायाधीश नै नभई निर्वाचन हुन नसक्ने विन्दुमा देशका प्रमुख राजनीतिक दलहरू पुगेपछि विवेकको कुरा गर्नुको अर्थ रहँदैन । तर जुन बाटोमा नेपाल प्रवेश गर्दैछ, त्यस बाटोको पहिचान अहिल्यैदेखि हुनु जरुरी छ ।

हाम्रो स्वतन्त्र न्यायप्रणालीको इतिहास करिब ६ दशकको मात्र छ । यसमा पनि कतिपय आरोह-अवरोह देखिएकै हुन् । तथापि आजको न्यायप्रणाली सानो मिहेनतबाट बनेको थिएन । २००७ सालको परिवर्तन राजनीतिक थियो । अड्डा, अदालतहरू सम्बन्धमा यसको विशेष एजेन्डा थिएन । तर त्यसबेलाका राजनीतिक नेतृत्वले गरेको असल नियुक्ति र प्रदान गरेको स्वतन्त्र वातावरणका कारण न्यायक्षेत्रले आफूलाई परिवर्तन गर्ने अदम्य साहस, ज्ञान र धैर्य प्राप्त गर्‍यो । त्यसका लागि न संविधान त्यति सहयोगी थियो, नत तत्कालीन कानुनी प्रणाली नै बलियो थियो । यदि स्व. हरिप्रसाद प्रधान प्रधानन्यायाधीश, स्व. कालीप्रसाद उपाध्याय महान्यायाधिवक्ता र स्व. देवनाथप्रसाद बर्माजस्ता हस्तीहरू न्यायक्षेत्रले प्राप्त नगरेको भए न्यायपालिकाले यत्रो उचाइ लिनसक्ने थिएन ।

फर्केर हेर्दा देख्न सकिन्छ- नेपालमा नागरिक र राज्य बीचको समानता, मौलिक हकको विधिशास्त्र, रिट अधिकार क्षेत्रको प्रयोग, स्वतन्त्र न्यायपालिकाको अवधारणा लगायत कुनै पनि आधुनिक प्रयोगको आधार संविधान वा कानुन थिएन । सुनवाइको अधिकार, पक्ष/विपक्षले अधिवक्ता राख्ने प्रचलन, समन्यायिक उपचार पद्धति, फौजदारी एवं देवानी मुद्दामामिला सम्बन्धमा ‘कमन ल’का सिद्धान्तहरूको प्रयोग, सरकारी वकिलको संगठनका रूपमा महान्यायाधिवक्ताको प्रयोग, नेपाल बार एसोसियसन र कानुन क्षेत्रका लगभग सबै स्थापनाकालीन सिद्धान्तहरू न्यायिक क्षेत्रको नेतृत्वद्वारा असल नियतका आधारमा संस्थागत गरिएका थिए । देशमा पूर्ण संविधान जारी नभए पनि संविधानवादको घोषणा सर्वोच्च अदालतबाटै भएको थियो । कानुनमा देखिनुभन्दा धेरै पहिले ‘रुल अफ ल’ वा संविधानवादका सिद्धान्तहरू अदालतका फैसलामा देखिएका थिए । मुलुकको न्यायिक प्रणालीमा गरिएको यत्रो ठूलो रूपान्तरणलाई सहयोग गर्ने दुइटामात्र प्रवृत्ति बुझिदिए पुग्छ । पहिलो, न्यायसम्पादन कार्यबाट राजनीति र कार्यकारिणी वर्गलाई अलग राखिनुपर्छ भन्ने सिद्धान्तको प्रयोग । दोस्रो, न्यायपालिका स्वतन्त्र हुन्जेलसम्म सरकार निरंकुश हुन सक्ने शक्तिमा अंकुश लाग्छ भन्ने प्रणालीगत विश्वास । शक्तिको पृथकीकरणको दर्शन यही हो । तिनताका नेपाल आजजस्तै अस्थिर थियो । तर धेरै ठूलठूला व्यक्तित्व पनि निवेदक भई आफ्नो हक-अधिकारका लागि खुला अदालतै धाउँथे । कार्यपालिकी उद्देश्यका लागि न्यायकर्मीसँग गठबन्धन गर्ने प्रचलन सामान्यतः विगतमा कहिल्यै देखिएन । आज नेपालीले पाएको न्यायप्रणाली न्याय क्षेत्रको नेतृत्व र राजनीतिक क्षेत्रको सद्विवेकबाटै सिर्जना भएको हो । आजसम्म नेपालका कुनै प्रधानन्यायाधीश राजनीतिक कारणले बदनाम भएको पाइँदैन । किन आज आएर न्यायालय भत्किँदैछ ? कि यो भत्काउने प्रक्रियाको आफैं सिकार हुँदैछ ? यस प्रश्नको जवाफ भविष्यले दिनेछ । तर त्यो जवाफ स्पष्ट हुन्जेलसम्म हाम्रो न्यायिक क्षेत्रका सबै पूर्वाधार समाप्त हुने सम्भावना टड्कारो देखिंँदैछ ।

गत जेठमा संविधानसभाको अवसानपछि समस्याहरू अझ झांगिँदैछन् । संवैधानिक संकट फुक्नसकेको छैन । तर संविधान भने आफै फुक्दैछ । प्रधानन्यायाधीशले प्रधानमन्त्री बन्न बहालवाला संविधानले मलाई अधिकार दिँदैन भनी स्पष्ट रूपमा नभनिदिएका कारणले मात्र न्यायपालिकाको वर्षौंको ख्याति सन्दिग्ध हुनपुग्यो । संवैधानिक प्रश्न संलग्न भएको विषयमा प्रेस वक्तव्य जारी गरी निर्णय गर्न खोज्दा सर्वोच्च अदालतले आजसम्म धानिआएको विधिशास्त्रीय परम्परामा उहाँले अर्को चोट थप्नुभयो । राजीनामा नगरी प्रधानमन्त्रीको सपथग्रहण गरी संविधानको आधारभूत संरचनालाई लत्याउँदै धारा १०६ को प्रत्यक्ष रूपमा उल्लंघन गर्नुभयो । यो सपथग्रहण हुनुभन्दा अघि करिब दुई हप्तादेखि जसरी राजनीतिक व्यक्तिहरू प्रधानन्यायाधीशकहाँ आउने-जाने, मिटिङ गर्ने र नीतिगत विषयमा सरसल्लाह लिने र दिने कार्य भए, त्यसबाट जुन बञ्चरोको चोट सर्वोच्च अदालतले खपेको छ, त्यसको क्षतिपूर्ति हुनसक्दैन । नेपालको त्यस्तो न्यायिक प्रणाली जहाँ व्यावसायिक निष्पक्षता धान्नैपर्ने बाध्यताका कारण एउटा कानुन व्यवसायी कुनै न्यायाधीशको घर जाँदैन, कुनै न्यायाधीश कुनै वकिलको कार्यालयमा जाने-आउने गर्दैन र न्यायकार्यमा संलग्न पक्षहरू खुला अदालतमा खुला रूपमा भेट्ने र विचार-विमर्श गर्ने बाहेक एकअर्कासँग सम्पर्क गर्नु मर्यादित मान्दैनन् । त्यस अदालतमा सरकारमात्र होइन, दलहरू पनि छिरेका छन् । कानुन र सिद्धान्तका बारेमा मोलभाउ भएको छ । हिसाब-किताब मिलान गरिँदैछ । स्वतन्त्र न्यायपालिकाप्रति योभन्दा ठूलो अट्टाहास के हुनसक्छ ?

प्रधानन्यायाधीशले न्यायालयलाई बदनाममात्र होइन, अन्तरिम संविधानलाई खोस्टोमा परिणत गराउनुभयो । उहाँको हैसियत प्रधानमन्त्रीको नभई तमसुकी सरकारको प्रमुखको मात्र हुनआयो । संविधान जस्ताको तस्तै छ, तर शासनका नियमहरू बदलिएका छन् । अब संविधान संशोधन गर्नु जरुरी रहेन । यदि बाधा-अड्काउ फुकाउने र निर्वाचन गराउने मात्र उद्देश्य भएको भए अन्तिम पटकका लागि व्यवस्था गरिएको अंगीकृत नागरिकतासम्बन्धी प्रावधान फेरि फुकाउनु जरुरी थिएन । त्यसैगरी अन्तर्राष्ट्रिय कानुनका मर्यादाहरूलाई ठाडो उल्लंघन गरी एउटा बहालवाला प्रधानन्यायाधीशको सरकारको आशिर्वादले बेपत्ता पारिएका व्यक्तिका साथै सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी अध्यादेशलाई पारित गर्नु जरुरी थिएन । यदि यी दुवै विषयले सर्वोच्च अदालतमा प्रवेश गरेका भए के प्रधानन्यायाधीशले यी दुष्प्रयासलाई बदर नगरी बस्न सक्नुहुन्थ्यो ? उहाँको निष्पक्षता र विवेक खोजिएको भए देशको सार्वभौम प्रधानमन्त्रीका काम, कर्तव्य र अधिकारहरू संविधानद्वारा परिभाषित हुने थिए, राजनीतिक संयन्त्रद्वारा होइन । प्रधानन्यायाधीशको न्यायिक विवेक वा तजबिजी अधिकारको प्रयोगबाट देशको निकास खोजिँदैछ भन्ने भ्रम अब स्वयम् प्रधानन्यायाधीशलाई पनि नहोला ।

यदि प्रधानन्यायाधीश प्रधानमन्त्री बन्न सक्छन्, प्रधानमन्त्रीले जस्तोसुकै कानुन बनाउन र लागु गर्न सक्छन् र त्यस उपरको चुनौतीको संवैधानिकता हेर्ने न्यायाधीश आफैं सत्ता साझेदारका रूपमा उभिन्छन् भने त्यहाँ कानुनको शासन कसरी सम्भव हुन्छ ? के यिनै प्रधानन्यायाधीशको अदालतले नै संविधानको १३ औं संशोधन विधेयक क्याविनेटबाट संसद पुग्नुभन्दा पहिल्यै निष्त्रिmय बनाएको होइन ? संविधानको धारा ६८ मा उल्लेखित संविधानसभाको कार्यावधि अनन्तकालसम्म लम्ब्याउन सकिँदैन भन्ने जुन विधिशास्त्र प्रतिपादन गरिएको थियो, त्यो उहाँकै अदालतको विधिशास्त्र होइन ? जब स्पष्ट संवैधानिक व्यवस्थाहरू अपदस्थ गर्न सकिन्छन्, त्यसको सुनवाइ हुनसक्दैन भने चुनाव गराउनुको अर्थ के रह्यो । सिधै दिवंगत संविधानसभालाई ब्युँताए भइहाल्यो । यदि यो तर्क सही हो भने सर्वोच्च अदालतले विगतमा गरेका फैसलाहरूको विधिशास्त्रीय आधार त रहेनछ भनेर भन्नुपर्ने हुन्छ । यस रूपमा जजमानको मनस्थितिलाई हेरेर शास्त्रको व्याख्या गरिनु हुँदैन ।

प्रधानन्यायाधीशले निःसन्देह प्रजातन्त्र र संविधानवाद दुवैलाई सिध्याउने प्रक्रिया सुरु गर्नुभएको छ । सर्वोच्च अदालतको एकल इजलासले हालका लागि राजनीतिक भूमिकामा रहेका प्रधानन्यायाधीशले आफ्नो प्रधानन्यायाधीश पद प्रयोग नगर्नु भन्ने आदेश जारी भएको सबैले देखेका छन् । अदालतले जे बोलेको छ, त्यो एकदमै प्रस्ट छ । सही छ । तर निवेदकको मूल दाबी के हो भने धारा १०६ को प्रावधानका कारण प्रधानन्यायाधीशको नियुक्ति प्रस्ट रूपमा असंवैधानिक छ । तर अदालतले सो आधारमा अर्को आदेश नहुन्जेलसम्म सरकारका कामकारबाहीहरू नगर्नु भनी तात्कालिक आदेश जारी गर्न सकेन । किनभने यस्तो आदेश जारी गरिएको भए शासनाधिकार अब कसले प्रयोग गर्ने भन्ने अर्को संवैधानिक जटिलता उपस्थित हुन्थ्यो । यहाँ निश्चित रूपमा सर्वोच्च अदालतले एउटा गरे-बिराएको स्पष्ट देखिने -प्राइमा फेसिया) केसमा न्यायिक उपचारको सौदा गरेको छ । धारा १०६ हताहत भएको छ ।

प्रधानन्यायाधीशको पीडा उहाँको अनुहारमा छचल्किएको देख्न सकिन्छ । वास्तवमा उहाँ कार्यपालिकी प्रमुख पनि हुनुभएन । उहाँको एउटा निमित्त नायकको हैसियतमात्र हो । उहाँ अन्तरिम संविधानलाई विदा गराउने बाटोमा हुनुहुन्छ । जुन राजनीतिक संयन्त्रले उहाँलाई निर्देशन गर्छ, त्यसले सर्वोच्च अदालतका न्यायाधीश, विभिन्न संवैधानिक अंगका पदाधिकारीहरू एवं भविष्यमा हुने सबै प्रकारका नियुक्तिलाई प्रभावित गर्नेछ । नयाँ नेपालको संरचना अँध्यारा प्रक्रियाबाट रचिँदैछ भन्ने कुराको प्रमाण अब खोजिरहनु पर्दैन । तर प्रधानन्यायाधीशले बाँधेको बेथितिका कारण अब सर्वोच्च अदालतले त्यस्ता प्रश्नहरूमा प्रवेश गर्न संवैधानिक आधार क्रमशः गुमाउँदै जानेछ । यसलाई नै अदालतको राजनीतीकरण भनिन्छ । यसले राजनीतिलाई हेरेर निर्णय गर्नुपर्ने बाध्यता थप्छ ।

जबसम्म संविधानसभा किन असफल भयो भनी सोचिँंदैन, तबसम्म अर्को संविधानसभा निर्वाचनको भविष्य अनिश्चित नै हुन्छ । यसलाई सफल बनाउने बारे कुनै स्पष्ट दृष्टिकोण देखिँदैन । त्यो क्षमता आजको चर्चित राजनीतिक संयन्त्रसँग पनि छैन । त्यसोभए के देश नयाँ गन्तव्यतर्फ लाग्दैछ त ? यो नै आजको कठोर प्रश्न हो । जो प्रधानन्यायाधीशले बुझ्नुपर्छ ।

डा. अधिकारी संवैधानिक कानुनका ज्ञाता हुन् ।

 

 २०६९ फागुन १

प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकारको गठनसम्बन्धी एनेकपा ९माओवादी० का अध्यक्ष प्रचण्डको प्रस्तावले एकपटक फेरि मुलुकमा विद्यमान संवैधानिक संकटको एकमुष्ठ समाधान एवं नयाँ संविधानसभाको निर्वाचनसम्बन्धी बहसलाई गलत दिशातर्फ उन्मुख गरेको छ । प्रचण्डले आफ्नो दलको महाधिवेशन उद्घाटन सम्बोधनमा सरकार निर्माणमा सहमतिको सूत्रका रूपमा बहालवाला प्रधानन्यायाधीशकै नेतृत्वमा नयाँ सरकार बनाएर जान सकिन्छ भनी राष्ट्रिय सरकार निर्माणको सैद्धान्तिक सेरोफेरोलाई चुनावी सरकारको सेरोफेरोमा सीमित गर्नुभएको छ ।

यसबाट वर्तमान सरकारलाई तीनवटा फाइदा हुने देखिन्छ । पहिलो, सरकार चुनाव गराउन चाहन्छ, तर प्रतिपक्ष चुनाव चाहँदैन भन्ने सन्देश; दोस्रो, देशलाई असम्भव विकल्पतर्फ उन्मुख गरी यो महिना कसैगरी अलमल्याउन पाए अर्को एक वर्षलाई चुनाव टर्छ र यो एक वर्ष सरकारले आफूलाई सत्तामा आफ्नो पकड अझ बलियो बनाउन सकिन्छ भन्ने हुनसक्छ । तेस्रो, राष्ट्रिय सरकारका बारेमा दबाब दिँदै आएका राष्ट्रपतिको मनोभावलाई पनि ‘वेट एन्ड सी’को ‘मोड’मा लैजान सकिन्छ ।

नेपालको अन्तरिम संविधान, २०६३ मोटामोटी रूपमा संसदीय मान्यताको शक्ति पृथकीकरणको सिद्धान्तमा आधारित छ । सामान्यतया यो सिद्धान्तको मान्यताअनुसार जसले सरकार चलाउँछ, उसले कानुन बनाउँदैन, जसले कानुन बनाउँछ, उसले त्यसलाई कार्यान्वयन गर्दैन, जसले कानुनको कार्यान्वयन गर्छ, उसले न्यायिक कामकारबाही गर्दैन र जसले न्यायिक कामकारबाही गर्छ, उसले न कानुन बनाउँछ, न त्यसलाई कार्यान्वयन गर्छ । अदालतमा न्याय दिनेले सरकार चलाउने, सरकार चलाउनेले रिट जारी गर्ने र रिट जारी गर्नेले कानुन बनाउन थाल्ने हो भने यो प्रयोगले प्रजातन्त्र होइन, स्वेच्छाचारिता एवं अधिनायकवादी व्यवस्थाको सूत्रपात गर्छ ।

संविधान अन्तर्गत यिनै मान्यताका आधारमा कार्यपालिका वा नेपाल सरकार, व्यवस्थापिका वा संसद तथा न्यायपालिका वा सर्वोच्च अदालत तथा मातहतका न्यायिक अंगहरू एकआपसभन्दा पृथक राखिएका हुन्छन् र यो पृथकताको व्यवस्थाले शासन व्यवस्थाका तीनवटै अंगबीच आ-आफ्नो कामकारबाही स्वतन्त्र रूपमा गर्ने र एकले अर्कोलाई संविधान अन्तर्गत रहेर सन्तुलनमा राख्ने संविधानको उद्देश्य हो । यस्तो कामकारबाहीमा आवश्यक पर्दा संविधानको व्याख्या गर्ने तथा संविधानको सर्वोच्चतालाई प्रत्याभूत गर्ने जिम्मेवारी सर्वोच्च अदालतलाई दिइएको छ । त्यसैले न्यायपालिकालाई विशेष रूपमा स्वतन्त्र राख्ने संविधानको घोषित नीति हो ।

सर्वोच्च अदालत संविधानको संरक्षक भएकाले यसलाई जुनसुकै अवस्थामा अन्य शासकीय संरचनाभन्दा अलग एवं स्वतन्त्र राख्नुपर्छ भन्ने संविधानको मनसायलाई यसको धारा १०६ ले पुष्टि गरेको छ । यस अनुसार सर्वाेच्च अदालतको प्रधानन्यायाधीश वा न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाउन वा काजमा खटाउन पाइँदैन । यसको अपवादका रूपमा न्यायिक जाँचबुझको काम वा केही खास अवधिका लागि कानुन वा न्यायसम्बन्धी अनुसन्धान, अन्वेषण वा राष्ट्रिय सरोकारको अन्य कुनै कामलाई उल्लेख गरिएको छ । शासन चलाउने कुरा न्यायसँग सम्बन्धित राष्ट्रिय सरोकारको कुरा होइन । त्यसैले सर्वाेच्च अदालतको प्रधानन्यायाधीश वा न्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य मानिँदैनन् । संविधान यति स्पष्ट हुँदाहुँदै पनि यो विषयलाई छलफलमा ल्याउनुका अन्य कारणहरू हुनसक्छन् ।

हाम्रो सर्वोच्च अदालतको एउटा विशिष्ट परम्परा छ । यदाकदा मुलुकी राजनीतिले सर्वोच्च अदालतलाई संगठनात्मक तनाव दिए पनि यो परम्परालाई अदालतले प्रायः निर्वाह गरिआएको छ । संविधानवाद र कानुनीराज -रुल अफ ल) को सिद्धान्तमा आधारित भएर सर्वोच्चले गरेका क्रियाकलापले हरेक सरकार प्रभावित हुन्छन् । संविधानसभाको कार्यावधि, धारा ६४ को व्याख्या, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी व्यवस्थाको कार्यान्वयन, हाल उपस्थित डेकेन्द्र थापाको हत्याका सम्बन्धमा उठान गरिएको फौजदारी प्रकरण एवं संयुक्त अधिराज्यमा न्यायिक हिरासतमा रहेका कर्णेल कुमार लामाको मुद्दाको बहस तथा पैरवीजस्ता विषयहरूले अदालतका निर्णयहरू निकट भविष्यमा सरकारका लागि अझ चुनौतीपूर्ण हुनसक्ने अवस्था छ । सर्वोच्च अदालतलाई शासकीय संयन्त्रमा घिसार्न सकिएमा त्यसबाट सरकारले विभिन्न विषयमा विभन्न किसिमले प्रतिफल प्राप्त गर्न सक्छ ।

अदालत स्वतन्त्र छैन भन्ने मान्यतामात्र स्थापित गराउन सकियो भने सरकारका अधिकांश चुनौती समाप्त भएर जान्छन् । आज सर्वोच्च अदालतले सामान्य नागरिकका निवेदनका आधारमा सरकार विरुद्ध सयौं संवैधानिक मुद्दामा ‘शो कज’ वा कारण देखाउ आदेश जारी गरेको परिस्थिति छ । संवैधानिक महत्वका एवं विशिष्ट क्षेत्राधिकार अन्तर्गत मौलिक अधिकारको संरक्षण एवं अवैधानिक कानुन एवं निर्णयहरू बदर गराउन सर्वोच्च अदालतले जारी गर्ने यस्ता आदेशहरूले सरकारलाई संविधानप्रति जवाफदेही हुन बाध्य गर्छन् । सरकार वा यस अन्तर्गतका संयन्त्रहरूले संविधान बमोजिम नै कामकारबाही भएका छन्, अवैधानिक छैनन् भनी आफ्नो बचाउ आफैंले गर्नुपर्छ । त्यसरी बचाउ गर्न नसकेकामा सरकारबाट भए-गरेका वा हुन-गर्न सक्ने धेरै कामकारबाही बदर हुनसक्छन् ।

न्यायको रोहमा अदालतले सरकार विरुद्ध जुनसुकै प्रकारका रिट आदेश जारी गर्न सक्छ । संविधानले सर्वोच्च अदालतलाई सबै अधिकारसम्पन्न बनाएको छ । यस्ता रिट आदेशबाट मौलिक हकको संरक्षणका साथै संविधानको सर्वोच्चताको पनि प्रत्याभूति हुनजान्छ । प्रधानन्यायाधीशलाई नै प्रधानमन्त्री बनाइदिने हो भने आफ्ना प्रधानन्यायाधीश विरुद्ध उनी मुन्तिरका सर्वोच्च अदालतका न्यायाधीशहरूबाट कसरी परमादेश वा उत्प्रेषणजस्ता प्रभावशाली आदेशहरू जारी होलान् । एउटै मान्छेले न्यायपालिकाको पनि नेतृत्व गर्ने र सरकारको पनि नेतृत्व गर्ने भनेपछि अब न्याय माग्न कहाँ जाने ? जनअदालततर्फ जाने हो भने अर्कै कुरा हो, कानुन अन्तर्गतका अदालतहरू यस्तो द्वैध क्षेत्राधिकार अन्तर्गत स्वतन्त्र र स्वाभिमानी भइरहन सक्दैनन् ।

सरकार निर्माणका लागि धारा ३८ (१) प्रशस्त फराकिलो धारा हो । यसका मूल्य र मान्यताहरू स्पष्ट छन् । यसलाई कुनै सन्दर्भमा अझ फराकिलो बनाउने चाहना राख्ने हो भने त्यसका लागि पनि राष्ट्रपतिसँग छलफल गर्न सकिन्छ । सर्वोच्च अदातलका प्रधानन्यायाधीशलाई किन धरपकड गर्ने ? यसै पनि ३ महिनालाई होस् वा ६ वा ९ महिनालाई संविधानमा प्रस्ट रूपमा लेखिएको व्यवस्था विरुद्ध कुनै सरकारको संरचना गर्न मिल्दैन । कथंकदाचित् प्रधानन्यायाधीशले प्रधानमन्त्रीको सपथग्रहण गरेछन् भने पनि संविधानको धारा १०६ अन्तर्गत त्यो बदरभागी हुन्छ । संविधानले त्यही भन्छ । अतः यो असंवैधानिक विकल्प हो । यसलाई संवैधानिकताको जामा पहिर्‍याउन कठिन देखिन्छ ।

प्रधानन्यायाधीशको अध्यक्षतामा चुनावी सरकार गठन गर्ने व्यवस्था हाम्रा दुईवटा छिमेकी मुलुकहरूमा छन् । बंगलादेशको संविधानको सन् १९९६ मा भएको १३ औं संशोधनपछि भूतपूर्व प्रधानन्यायाधीश वा न्यायाधीशको नेतृत्वमा यस्तो ‘एड्भाइजरी’ सरकारको व्यवस्था गरिएको थियो । राष्ट्रपतिको संरक्षकत्वमा यस्तो सरकारले काम गर्छ । यस व्यवस्था अन्तर्गत बंगलादेशमा कतिपय चुनाव भइसकेका छन् । तर दुई वर्षअघि बंगलादेशको सर्वोच्च अदालतले १३ औं संशोधनद्वारा व्यवस्था गरिएको उक्त निवर्तमान प्रधानन्यायाधीशले नेतृत्व गर्ने चुनावी सरकारको व्यवस्था संविधानको गणतन्त्रात्मक संरचना विरोधी भएको भनी बदर गरेको थियो । यद्यपि संविधान संशोधनका लागि राजनीतिक समीकरण चाहिने अवस्था भएकाले सो समेतलाई आउँदो दुईवटासम्म जातीय संसदको चुनावलाई अदालतले मञ्जुरी दिए पनि सो अवधिभित्र वर्तमान व्यवस्था संशोधन गरी आवश्यक वैकल्पिक व्यवस्था गर्न अदालतले आदेश गरेको छ । अदालतको दृष्टिकोणमा स्वतन्त्र चुनावी सरकार स्थापना गर्नु समस्या होइन । समस्या गैरराजनीतिक व्यक्तिको नेृतत्वमा सरकार जिम्मा लगाउने भन्ने संविधानको व्यवस्था हो । जुनसुकै अवस्थामा पनि जनतालाई राजनीतिक दलहरूले प्रतिनिधित्व गर्छन् । स्वतन्त्र व्यक्तिका नाममा राजनीतिको ज्ञान, जवाफदेहिता र जुझारुपन नभएको व्यक्तिबाट देश कसरी चल्ला ? कम्तीमा अदालतले यसलाई उचित ठानेन ।

छिमेकी राष्ट्र भुटानको २००८ को संविधानमा बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा राजाले चुनावी सरकारको गठन गर्ने उल्लेख गरिएको छ । यो व्यवस्था बंगलादेशको प्रयोगबाट नै प्रभावित देखिन्छ । भुटान प्रजातान्त्रीकरणको प्रक्रियामा भएकाले यसको प्रयोगका बारेमा भविष्यले बताउला । तर भुटानको संविधान अन्तर्गत संवैधानिक सर्वोच्चता तथा प्रजातान्त्रिक प्रक्रियाको प्रत्याभूति दिने जिम्मेवारी राजामा छ । राजा भुटानी जनताको एकताको प्रतीक मानिन्छन् । त्यसैले प्रधानन्यायाधीशकै नेतृत्वमा सरकारको गठन भए पनि यसको कामकारबाही एवं उचित प्रक्रियालाई व्यवस्थापन राजा समेतबाट हुन्छ र राजाले प्रधानन्यायाधीश पदको दुरुपयोग वा सर्वोच्च अदालतबाट हुनसक्ने अतिशयोक्तिलाई नियन्त्रण गर्न सक्नेछन् भन्ने आशय राखिएको छ । अहिलेको परिस्थितिमा परम्परागत राजाको हैसियत नेपालका राष्ट्रपतिले प्रयोग गर्नसक्ने परिस्थिति छैन । त्यसैले भुटानको व्यवस्था अनुकरणीय लाग्दैन ।

यसै पनि नेपालको परिस्थिति धेरै फरक छ । पहिलो त संविधानले नै प्रधानन्यायाधीशको नेतृत्वको सरकारलाई स्वीकार गर्दैन । दोस्रो, नेपालको समस्या भनेको चुनावमात्र होइन । संविधानसभाको असफलताले धेरै अनुत्तरित प्रश्नहरू छाडेर गएको छ । पहिलो कुरा दोस्रो पटकको चुनाव नै संविधानमा प्रदत्त व्यवस्था होइन । यो आवश्यक हुनगए पनि यसका लागि नीतिगत निर्णयहरू जरुरी छन् । कस्तो चुनाव, कहिले, केका आधारमा र कसरी भन्ने प्रश्नको जवाफ खोज्नैपर्छ । यी जवाफहरू पत्ता लागे पनि के प्रस्ट छ भने पुरानो संविधानसभा जे कारणले असफल भयो, ती कारणहरूको निदान नभई चुनावका लागि राजनीतिक प्लेटर्फम तयार हुँदैन । जुन संवैधानिक संकटबाट नेपाल अघि बढ्दैछ, त्यो संवैधानिक संकटको उचित व्यवस्थापनका लागि राजनीतिक दृष्टिकोणमा स्पष्टता चाहिन्छ । त्यो स्पष्टताको अभिव्यक्ति राष्ट्रिय सरकारबाट हुनुपर्छ । जब चुनावमा जानका लागि कार्यक्रम नै छैन भने केका लागि जनताले म्यान्डेट दिने ? हिजोकै असफल संरचना र असफल परिणामका लागि नै अर्को चुनावमा जाने हो भने त्यो जनता झुक्याउने खेलमात्र हुनेछ । नयाँ धरातल निर्माण गरेर जाने हो भने प्रधानन्यायाधीशको सरकारबाट यो उद्देश्य प्राप्त हुनसक्दैन ।

दलहरू अहिले चुनौतीपूर्ण अवस्थामा छन् । प्रजातान्त्रिक संस्कृति, मूल्य र मान्यता एवं संविधानवादको आदर्श र विधिको शासनप्रतिको कटिबद्धता देखाउनु उनीहरू सबैका लागि उत्तिकै जरुरी छ । अहिलेको राजनीतिक पंक्तिले नै मुलुकको राजनीतिक समस्याहरूको समाधान खोज्नुपर्छ । चुनाव पनि उनीहरूले नै गराउनुपर्ने हो । उनीहरूलाई बदनाम गरेर वा असक्षम, अयोग्य वा असफल देखाएर खस्किँदो राष्ट्रवादको जगेर्ना र प्रजातान्त्रीकरणको चुनौतीहरूलाई हल गर्न सकिँदैन । प्रधानन्यायाधीशलाई देशको नेतृत्व दिनु भनेको राजनीतिप्रतिको निष्ठाको समाप्ति नै हो । यसबाट प्रणालीगत कमजोरीहरूलाई निर्मूल गर्न सकिँदैन ।

प्रधानन्यायाधीशको सरकार बने पनि नबने पनि नेपालमा द्वन्द्वकालमा भएका मानवअधिकारको हनन एवं अन्तर्राष्ट्रिय मानवतावादी कानुनको उल्लंघनसम्बन्धी व्यवस्थाहरू कसैका लागि खुम्चिन वा किनारा लाग्ने परिस्थितिचाहिं हुँदैन ।

प्रधानन्यायाधीशको सरकारका बारेमा यसरी अनावश्यक र अनुत्तरदायी बहसका कारणबाट देश अल्मलिइरहेको अहिलेको घडीमा प्रधानन्यायाधीश स्वयम्ले यो बहस गलत छ र मुलुकलाई रचनात्मक बहसतर्फ लग्नु सबैको हितमा छ भन्ने स्पष्ट गर्नु जरुरी छ । उहाँले आजका मितिसम्म नबोलिदिएका कारण कहीं बहालवाला प्रधानन्यायाधीशको सहमति समेतका आधारमा प्रचण्डले यो बहस चलाउनुभएको त होइन भन्ने शंका उत्पन्न हुनुहुँदैन । न्यायपालिकाको नेतृत्व शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक अंगहरूबीच प्रतिरोध र सन्तुलन एवं स्वतन्त्र न्यायपालिकाप्रति संवेदनशील रहेको सबैले बुझेकै कुरा हो । तर जसले बुझेको छैन, त्यसलाई बुझाउन अझ बढी समय लाग्नु हुँदैन ।

लेखक संवैधानिक कानुनका ज्ञाता हुन् ।

 २०६९ मंसिर १३

प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरूलाई सहमतिको सरकार प्रस्ताव गर्न आह्वान गरेलगत्तै उक्त आह्वानलाई मन्त्रिपरिषद्मा छलफल गरी प्रतिकार गर्नुभएको नमीठो समाचारले नेपालको प्रजातान्त्रिक भविष्यका बारेमा चिन्ता गर्ने धेरैलाई गम्भीर तुल्याएको छ । नियतिले नेपालका लागि प्रजातान्त्रिक प्रणाली सोचेकै छैन कि भन्ने पनि कतिलाई लाग्यो । यो सोचाइमा अतिशयोक्ति हुन सक्छ । तर प्रधानमन्त्रीको सोचाइ र दृष्टिकोण हेर्दा नेपालले खोजेको प्रजातान्त्रिक प्रणालीको चुनौती घटेर जाने सम्भावना देखिँदैन ।

मुलुक प्रजातान्त्रिक अभ्यासमा बलियो हुँदै अघि बढेको केही वर्ष हुन नपाउँदै त्यसको प्रतिकारस्वरूप माओवादी सशस्त्र आन्दोलनको सुरुवात गर्ने डा. भट्टराईका लागि प्रजातान्त्रिक प्रणाली ओर्लिनु नपर्ने भर्‍याङ मात्र रहेछ । माओवादी आन्दोलनको सुरुवातपछि नेपालमा केके भए भन्ने कुराको लेखाजोखा सुदूर भविष्यमा सत्यनिरुपण तथा मेलमिलाप आयोग बनेर स्वतन्त्र रूपमा काम गर्न सकेछ भने अवश्य नै थाहा पाइएला । प्रधानमन्त्रीको प्रजातान्त्रिक संस्कृतिको नमुना त्यसबेला पनि देखियो, जुनबेला प्रधानमन्त्री सर्वोच्च अदालतले दिएको संविधानसभाको म्याद थपसम्बन्धी मुद्दाको फैसलालाई पुनरावलोकन गराउन सर्वोच्च अदालत पुग्नुभयो । करिब एक लाख हाराहारीको नेपाली सेना र एउटा बलियो सुरक्षा संयन्त्रका अधिपति रहेका प्रधानमन्त्री आफूविरुद्ध भएको सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर भनी अदालत तर्साउन जानुभएको उदाहरण अरू मुलुकमा बिरलै पाइएला । शासन र शक्ति प्रयोग गर्ने यति उच्च ओहोदामा बसेका प्रजातन्त्रवादीहरू अदालतको फैसलालाई चुनौती दिन जानुको साटो त्यसलाई कार्यान्वयन गर्छन् । त्यस्तै उहाँले मानवअधिकारका सबै मान्यतालाई धोती लगाई मानवअधिकार अपराधीहरूको मुद्दा पनि फिर्ता लिन अप्ठेरो मान्नुभएन । उहाँको नेतृत्वमा संविधानसभा खरानी भयो । शासनको अपुताली उहाँ दाबी गर्दै हुनुहुन्छ, तर दोष अरूलाई लगाउनुहुन्छ । आज राष्ट्रपति डा. यादवले परिस्थितिको संवेदनशीलता एवं संसदीय संस्कृतिका आधारमा दिनुभएको कार्यबाहक हैसियत अनन्तकालका लागि उपहारका रूपमा प्राप्त गर्न चाहनुहुन्छ । यी सबै कुसंस्कार हुन् भनेर भनिरहनु पर्दैन ।

संसारमा अधिकांश मुलुकले संसदीय व्यवस्थालाई नै मान्दै आएका छन् । अलिअलि अंग्रेजी बुझ्ने भएका कारणले संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, दक्षिण अपि|mका, मलेसिया, सिंगापुर, भारत आदि मुलुकको संसदीय प्रयोगका बारेमा कमबेसी राजनीति बुझ्ने धेरै नेपालीले बुझ्छन् । सबै संसदीय मुलुकहरूमा राष्ट्राध्यक्षले संवैधानिक स्थान पाएका छन् । उनीहरूबीच कमबेसी फरक पनि छन् । तर प्रत्येक संसदीय प्रणालीको अकाट्य रूपमा दुइटा विशेषता हुन्छन्ः पहिलो, कार्यकारिणी शक्तिको प्रयोगकर्ता वा प्रधानमन्त्री संसद्बाट चुनिएका हुन्छन् । दोस्रो, प्रत्येक संसदीय प्रणालीमा सरकार बनाउने आह्वान राष्ट्राध्यक्षले गर्छन् । नेपालमा पनि परिवर्तन गराइने क्रममा संविधानमाथि विभिन्न प्रकारले हुलहुज्जत भयो । यति हुँदाहुँदै पनि राष्ट्राध्यक्षले नै सरकार निर्माणको प्रक्रिया खुला गर्ने आधारभूत परम्परा कायमै छ । विश्वव्यापी परम्परा भए पनि यसलाई बुझ्ने साहस प्रधानमन्त्रीमा भएन । यसलाई उहाँले आफ्नो राजनीतिक धरातल निर्माणको प्रोपोगन्डाका रूपमा प्रयोग गर्नुभयो । यो प्रोपोगन्डाले उहाँलाई कति सहयोग गर्ला भविष्यले बताउला । तर हाललाई देशचाहिँ बदनाम भएको छ ।

अंग नपुगेको संविधानलाई पदमुक्त प्रधानमन्त्रीको व्याख्याका आधारमा मन्त्रिपरिषद्बाट एउटा सशक्त गैरप्रजातान्त्रिक अभियानको हतियार बनाइनु कतिलाई रोमाञ्चकारी लाग्ला । तर प्रजातान्त्रिक संस्कृति यो मुलुकका लागि जरुरी छ भने यो घटनालाई सच्याउनुपर्छ । नयाँ सहमतीय सरकारको निर्माण संवैधानिक संकट समाधानका लागि हो । यो समाधान व्यापक जनाधारका आधारमा खोजिनुपर्ने हुन्छ । यो जनाधार निर्माण गर्न र सोका आधारमा राजनीतिक वैधता प्राप्त गर्न सहमतीय सरकारको विकल्प छैन । सरकारलाई यस्तो नलाग्नु बुझ्न सकिने कुरा हो । तर प्रतिपक्षको प्रवृत्ति झनै प्रस्ट छैन । राष्ट्रिय सरकार निर्माणको प्रयाससम्म सुरु भएको छ । तर अपशोचको कुरा के हो भने सत्तापक्ष एवं प्रतिपक्ष दुवैले राष्ट्रपतिको आह्वानलाई सत्ता समीकरणभन्दा अर्को अर्थमा लिन सकेका छैनन् । मुलुकको प्रजातान्त्रिक भविष्य र संविधानवादको चिन्ता कतै पनि मुखरित हुन सकेको छैन । यो केवल दुई तिहाइ मतबाट छानिएका राष्ट्रपति, संसदीय बहुमतबाट छानिएका प्रधानमन्त्री र ठूला दलका नेताबीचको फरक मात्र होइन । सत्ता प्राप्ति र समाप्तिप्रतिको दृष्टिकोण पनि हो । एउटा आमचुनाव गराएर बिदा हुन चाहन्छन्, अर्को चुनाव नै नगरी स्थापित हुन चाहन्छन् र तेस्रो पक्षलाई जसरी पनि शासनको बागडोर चाहिएको छ ।

संसदीय संवैधानिक अभ्यासको इतिहासमा सहमतिको सरकारको निर्माणका केही निहित उद्देश्य हुन्छन् । त्यो उद्देश्य मुलुकको दैनिक प्रशासन कसरी चलाउने भनेजस्तो सामान्य सरकारी उद्देश्य होइन । त्यसका लागि चलेको पद्धति भनेको बहुमतीय पद्धति हो । सहमतिको सरकार भन्नुको अर्थ समग्र राष्ट्रलाई एकाकार गरी बनाइएको राष्ट्रिय सरकार भन्ने बुझ्नुपर्छ । यसमा मुलुक चलाउन चाहिने बहुमत मात्र नभई संवैधानिक संकटलाई निराकरण गर्न सक्ने किसिमको क्षमता पनि चाहिन्छ । निश्चित रूपमा आज राष्ट्रिय सरकारको आवश्यकता संवैधानिक पद्धतिको संरक्षण एवं प्रजातान्त्रिक अभ्यासलाई संस्थागत गर्नका लागि चाहिएको हो । संविधानसभाको जुन परिस्थितिमा निर्दयतापूर्वक अवसान भयो, त्यसबाट वर्तमान संविधानका विविध पक्षउपर हुन गएको पक्षाघात एवं त्यसको निदान गर्नुपर्ने अवस्था नभएको भए राष्ट्रिय सरकारको आवश्यकता हुने थिएन । त्यसैले राष्ट्रिय सरकार निर्माण गर्ने दाबी केवल सत्ता समीकरण गर्ने वा यो मुलुकको अधिकांश दलहरूले समर्थन गरी कसलाई सबैभन्दा बलियो प्रधानमन्त्री बनाउने भन्ने मात्र होइन ।

यसबाट मुलुकले भोगिरहेको संवैधानिक संकटलाई समाधान गर्न कुन सिद्धान्त, मूल्य एवं मान्यता आवश्यक छ र ती सिद्धान्त, मूल्य एवं मान्यतालाई कसरी कार्यान्वयन योग्य बनाउने भन्ने उद्देश्य पनि हुनुपर्छ । होइन भने सिद्धान्तविहीन अवसरमुखी राष्ट्रिय सरकार राष्ट्रिय हितविरुद्धको घातक हतियार पनि बन्न सक्छ । यस्तो छलफल नहुनु एवं सिद्धान्तविहीन गठबन्धनका आधारमा राष्ट्रिय सरकार निर्माण हुनुले नेपालको संक्रमणकालीन समस्यालाई हल गर्न सहयोग नहुने सम्भावना बलियो हुँदै छ । राष्ट्रपति यादवले गर्नुभएको सहमतिको सरकारको आह्वानमा सत्ता समीकरण वा गठबन्धनका लागि सांख्यिकीय सहमति मात्र हो भनेर दलहरूबाट लिइनु चार दिनदेखि भएको समीकरणको अभ्यासका आधारमा भन्न सकिन्छ । सरकार निर्माण गर्न चाहने दल वा समूहले मुलुकलाई अगाडि बढाउने हो भने कुनकुन बिन्दुमा मुलुक अगाडि बढ्न नसकेको हो, ती बिन्दुहरूमा आवश्यक निर्णय लिनुपर्ने हुन्छ । जस्तो संविधानसभा विभिन्न संवैधानिक एवं राजनीतिक विषयवस्तुका कारण संविधान जारी गराउन सफल भएन । त्यसमा पहिचानमा आधारित संघीयता एवं यससँग सम्बन्धित अन्य विषय पनि थिए । यी विषयमा राष्ट्रिय सहमति कायम गरी त्यो सहमतिलाई कार्यान्वयन गर्न सक्ने सरकारको गठन गर्न नसकिने हो भने सहमतिको सरकारको कुनै प्रयोजन छैन । यो कुरामा राष्ट्रपति विचलित हुनु हुँदैन । केवल राजनीतिक दलहरूको गठबन्धनको सरकारलाई मात्र राष्ट्रिय सहमतिको सरकार मान्न सकिँदैन ।

संविधानको धारा ३८ -१) को सत्तामुखी व्याख्याबाट आमनेपाली विभाजित हुनुपर्ने कारण छैन । हिजो पनि मूल्यमान्यताका कुरामा मुलुक एकढिक्का पार्न सहमतिको सरकारको कुरा गरिएको थियो । आज पनि त्यही आधारमा सहमति चाहिएको हो । हिजोभन्दा आजको परिस्थिति झनै चुनौतीपूर्ण छ । हिजोसम्म के लाग्थ्यो भने ठूलाठूला क्रान्तिकारी शब्दावली प्रयोग गरी ल्याइएको परिवर्तनका बाहकहरूले सहकार्य गर्न सक्नेछन् र उनीहरूको प्रयासमा मुलुकको प्रजातन्त्र र अर्थतन्त्रको उद्धार हुनेछ । आज क्रान्तिवीरहरूको क्षमता आमनेपालीले देखिसकेका छन् । संविधानसभामा भएको आर्थिक, सामाजिक र भावनात्मक लगानी डुब्नुका कारण क्रान्तिवीरहरूको क्षमता थिएन भने त्यो के रहेछ त ? त्यसैले मूल्यमान्यताका कुरामा छक्याउने र झुक्याउने हुनु हुँदैन र जबसम्म कागजमा भविष्यका योजना स्पष्ट रूपमा सहमति गरिँदैनन्, तबसम्म त्यो सत्ता समीकरणको प्रयास राष्ट्रिय सहमतिको प्रयास मानिँदैन । अतः राष्ट्रपतिबाट मुलुकलाई समग्र दिशा प्रदान गर्न लिइएका जोखिमहरू केवल कुनै समीकरणलाई सत्तामा स्थापित गरी टुंगिनु हुँदैन । जबसम्म मूल्यमान्यताका कुरामा जाली प्रवृत्ति देखिन्छ, तबसम्म समीकरणको उद्देश्य राष्ट्रिय बन्न सक्दैन । यसबाट राष्ट्रिय हितको संरक्षण पनि हुन सक्दैन ।

कतिपय दलहरूले अब धारा ३८ -१) को प्रक्रिया असफल हुने सम्भावना देख्न थालिसकेका छन् । त्यसो हुनाले हिजो ६ महिनादेखि सोच्दै नसोचिएको र बोल्दै नबोलिएका व्याख्याहरू मिडियामा आउँदै छन् । जस्तो राष्ट्रपतिद्वारा सुरु गरिएको धारा ३८ -१) अन्तर्गतको सरकार निर्माण हुन सकेन भने राष्ट्रपतिले ३८ -२) अर्थात बहुमतीय सरकारको निर्माणतर्फ अघि बढ्नुपर्छ भन्ने दाबी पनि गरिँदै छ । यो दाबीको दुष्चक्रमा राष्ट्रपति पर्नु हुँदैन । मुलुकमा सहमतिको सरकार बन्न सकेन भने वर्तमान सरकार कार्यबाहक भूमिकामा कायमै छ । यो सरकारको परिवर्तनले राष्ट्रपतिलाई अनावश्यक चुनौती थपिदिनेछ । किनकि यो परिवर्तन संवैधानिक मूल्यमान्यतालाई पुनःस्थापना गर्दै मुलुकमा विद्यमान संवैधानिक संकटलाई समाधान गर्ने चाहनाबाट उन्मुख हुनेछैन । जतिसुकै बलियो बहुमतीय सरकार भए पनि त्यसले सहमतिको सरकारबाट अपेक्षा गरिएका निर्णय लिन सक्नेछैन । लिने चाहनै राखियो भने पनि त्यसको व्यापक जनसमर्थन अपेक्षित छैन ।

यति हुँदाहुँदै पनि प्रधानमन्त्री भट्टराईको वर्तमान कार्यबाहक सरकारले लिने नीति र गर्ने निर्णयहरूका आधारमा भविष्यका कामकारबाहीहरू प्रभावित नभइरहन सक्ने छैनन् । भट्टराई सरकारको भविष्य उहाँले आर्जन गर्न सक्ने राजनीतिक पुँजी र सहकार्यले निर्धारण गर्नेछ । अंग नपुगेको संविधानले धेरै धान्न सक्नेछैन । सहमतिको सरकार गठन भएन भने मुलुकको संवैधानिक संकटको समाधान एवं नयाँ संविधानको लेखनकार्यलाई पूर्णता दिन प्रधानमन्त्रीको विशेष महत्त्व हुन्छ । तर प्रधानमन्त्रीले त्यो क्षमता र दृष्टिकोण आत्मसात् गर्नुपर्छ । सत्ताधारी दलहरूलगायत प्रतिपक्ष र सम्पूर्ण समाजलाई एक ठाउँमा ल्याई लगभग सबैलाई स्वीकार हुनेखालको समाधान खोज्ने काममा राष्ट्रपतिको सल्लाह अत्यन्त जरुरी हुनेछ । तर त्यो काममा चाहिने इमानदारी प्रधानमन्त्रीले देखाउन नसक्नु विडम्बनापूर्ण नै मान्नुपर्छ । सरकार निर्माण भनेको कार्यकारिणी अधिकारको कुरा होइन । यो राष्ट्राध्यक्षले पाएको जिम्मेवारी हो । यसलाई विवादमा ल्याउनु हुँदैन । एउटा असल र सुशिक्षित संसदीय सरकार भएको मुलुकमा राष्ट्राध्यक्षबाट बोलिएका कुरा भुइँमा खस्नुभन्दा पहिले कार्यान्वयन गरिन्छन् । पदमुक्त प्रधानमन्त्रीले राष्ट्रपतिको वैधानिक हैसियतलाई चुनौती दिएको र राष्ट्रपतिका कामकारबाहीका बारेमा मन्त्रिपरिषद्मा छलफल भएको सुन्ने जोसुकैलाई पनि प्रधानमन्त्री एवं वर्तमान गठबन्धन संवैधानिक प्रजातन्त्रलाई कुन धरातलबाट हेर्छन् भन्नेबारेमा दुबिधा हुन सक्छ । प्रधानमन्त्रीले अविलम्ब यो कारबाही हुन गएकामा क्षमायाचना गर्नुपर्छ ।

लेखक संवैधानिक कानुनका ज्ञाता हुन् ।

“प्रधानमन्त्रीको दृष्टिकोणमा स्प्ष्टता छ भने राष्ट्रपतिले संविधानको संरक्षणका लागि आफूले निर्णय गर्नुपर्ने अवस्था अवश्य नै आउँदैन ।”

२०६९ मंसीर ६

मध्यअपिकी मुलुक कंगोले आफूलाई प्रजातान्त्रिक गणतन्त्रको दर्जा दिएको छ । तर त्यो दर्जामा टिकिरहन निकै गाह्रो रहेछ भन्ने कुरा कंगोले करिब पाँच दशकदेखि बुझ्दै आएको छ । सन् १९६० मा कंगोमा एकजना नाम चलेका राष्ट्रपति थिए- जोसेफ कासाभुबु । उनका प्रधानमन्त्री थिए, अर्का होनहार व्यक्ति- प्याटि्रस लुमुम्बा । दुवैको राजनीतिक लगानी थियो । दुवैले जनताका नाममा पद त प्राप्त गरे, तर मिलेर काम गर्न सकेनन् । पद प्राप्त होेस्-नहोस्, मिलेर काम गर्नु राजनीतिका लागि बढी संवेदनशील पक्ष हो ।

शक्तिको वैधताका लागि जनताको सत्ता सधै जनताकै नासो हो भन्ने दृढता चाहिन्छ । यो भए संविधानको अक्षर तथा भावना बुझ्न अप्ठेरो पर्दैन । तर वैधताका लागि संविधान नचाहिने, अदालत मान्नु नपर्ने र जनमत बुझ्नु नपर्ने भएपछि शासन अधिकारको व्याख्या आफैंले गर्न पाइने नै भयो । अनुदार मानिएका राष्ट्रपतिलाई प्रधानमन्त्री हुन्जेलसम्म विधानसम्मत हिसाबले मुलुक चल्न नपाउने भयो भन्ने लाग्यो । उनी प्रधानमन्त्रीलाई बर्खास्त गर्ने चाँजो मिलाउन लागे । राष्ट्रवादी मानिएका प्रधानमन्त्रीले पनि राष्ट्रपतिको सल्लाह र सुझावले आफ्नो कार्यकारिणी कामकारबाहीमा तगारोको काम गर्‍यो भन्ने सोचाइ राखे । उचाल्ने र उचालिने दुवै परिस्थिति कंगोमा थियो ।

मुलुकले भर्खर बेल्जियमबाट स्वतन्त्रता पाएको अवस्थामा राजनीतिक एवं सामरिक व्यवस्थापन राम्रो हुन नसकेको यथार्थ प्रस्टै थियो । केही प्रदेशहरूमा छुट्टएिर जाने आन्दोलन सुरु भइसकेको थियो । मुलुक चलाउने कुरामा एकअर्कासँग प्रत्येक कुरामा असहमति राख्न सकिन्थ्यो । तर सहमति नभई मुलुक थाम्न कसैका लागि पनि सजिलो थिएन । राजनीतिक धरातल यति स्पष्ट हुँदाहुँदै पनि राष्ट्रको दीर्घकालीन हितका लागि यिनीहरू मिल्न सकेनन् । यो परिस्थितिमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरे । प्रधानमन्त्रीले त्यसलाई स्वीकार गरेनन् र एउटा ‘डेडलक’ उपस्थित भयो ।

यी दुईको हानाथाप देखेर कंगोका जेनेरल मोबुतु सेसेसेकोलाई खपिनसक्नु भयो । देशको सुरक्षा जसरी पनि कायम गर्नुपर्छ भन्ने उनलाई लाग्यो । आखिर जर्नेल न ठहरिए । उनले दुवैलाई पन्छाई शासनाधिकार खुरुक्क आफ्नो हातमा लिए । यसबाट राजनीतिक परिस्थितिलाई मनपरी हिसाबले मिलाउन उनलाई सजिलो भयो । फुर्ती लगाउने प्रधानमन्त्रीलाई खोरमा थुने । अनि राष्ट्रपतिलाई पुनःस्थापना गरे । एक पटकलाई संवैधानिक संकट टर्‍यो । तर आखिर उद्देश्य जेसुकै भए पनि जर्साबले जे गरेका थिए, त्यो त ‘कू’ नै थियो । यो ‘कू’प्रतिको आकर्षणमा कंगोमा त्यसपछि कहिल्यै कमी आएन । निरन्तर गृहयुद्धको कथा कंगोमा अझ पनि टुंगिदैन कि भन्ने डर छँदैछ । राजनीतिशास्त्रमा कंगो क्राइसिसका नामले प्रसिद्ध राजनीतिक उक्त संवैधानिक संकट आज पनि एउटा शास्त्रीय उदाहरणका रूपमा लिइन्छ ।

लिखित रूपमा जारी गरिएको संविधान सधै पूर्ण नै हुन्छ भनेर ठोकुवा गर्नु हुँदैन । मुख्य कुरा नियत हो । संयुक्त राज्य अमेरिकाको संविधानलाई फिलाडेल्पिmयामा अन्तिम रूप प्रदान गर्दा अमेरिकी संघका घटक राज्यहरू छुट्टएिर जान पाउने कि नपाउने भन्ने सम्बन्धमा केही उल्लेख गरिएन । यसको फाइदा उठाएर संविधान लागू भएको करिब ७३ वर्षपछि दक्षिणी क्षेत्रका केही अमेरिकी घटक राज्यहरू अमेरिकाबाट छुट्टनि थाले । संघीय सरकारले यसको प्रतिवाद गर्‍यो । यो संवैधानिक संकटको समाधान वार्ताबाट निस्कन सकेन । यही प्रतिवादका कारण अमेरिकामा सन् १८६१ देखि लगातार ५ वर्षसम्म भीषण गृहयुद्ध भयो । अन्ततः संघीय सरकार आफ्नो मुलुकको अखण्डता बचाउन सफल भयो । यसको परिणामस्वरुप त्यहाँ त्यस उप्रान्त कुनै पनि राज्यहरू छुट्टएिर जान नपाउने भन्ने नियमले संवैधानिक व्यवस्थामा अघोषित स्थान पाएको छ । यसबाट संवैधानिक संकट त समाधान भयो, तर त्यो समाधान धेरै खर्चिलो थियो । लाखौं अमेरिकीको जीउज्यान मासेर स्थापित गरिएको यो संवैधानिक नियम सम्झाइदिँदा आजका अमेरिकी युवा पिँढीलाई लज्जाबोध हुन्छ । गृहयुद्धमा देशलाई लगेर शासनका नियमहरू स्थापित गर्ने होइन । विवेकमात्र भए पुग्छ ।

पाकिस्तानमा सन् १९९७ मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश साजद अलि शाह र प्रधानमन्त्री नवाज सरिफ बीचको मुठभेड अहिले सम्भिmनुपर्ने अर्को उदाहरण हो । प्रधानन्यायाधीशको दाबी प्रधानमन्त्रीले अदालतको स्वतन्त्रतालाई न्युनीकरण गरेका छन् भन्ने थियो । उनले प्रधानमन्त्रीलाई बर्खास्त गर्न नसकिनेगरी गरिएको पाकिस्तानी संविधानको संशोधनलाई निलम्बन गरेका थिए । यसबाट रिसाएका प्रधानमन्त्री सरिफले तत्कालीन राष्ट्रपति फारुक लेघारीलाई नयाँ प्रधानन्यायाधीश नियुक्त गर्न अनुरोध गरेका थिए । प्रक्रिया मिचेर नयाँ प्रधानन्यायाधीश नियुक्त हुनु भनेको बहालवाला प्रधानन्यायाधीशलाई अपदस्थ गरिनु सरह भएकाले यो अनुरोधलाई राष्ट्रपति लेघारीले स्वीकार गरेनन् । यसले गर्दा सरिफले उनीविरुद्ध महाभियोगको तयारी गर्न थाले । यो तयारीलाई सेनाले चुनौती दिने अवस्था आएपछि प्रधानमन्त्री पछाडि फर्के । अर्कोतर्फ तत्कालीन परिस्थितिमा राष्ट्रपति लेघारीका अघिल्तिर दुईवटा विकल्पमात्र थिए- यात प्रधानमन्त्री सरिफको मागलाई उनले स्वीकार गर्नुपर्‍यो, या उनलाई बर्खास्त गर्नुपर्‍यो । यस्तो दुष्चक्रमा फसेको स्थितिमा राष्ट्रपति लेघारीले राजीनामा दिएर बिदा भए । यो राजीनामापछि प्रधानन्यायाधीशले पनि राजीनामा दिए । त्यसपछि संवैधानिक संकटचाहिं समाधान भयो, तर प्रधानमन्त्री सरिफ संवैधानिक प्रणालीमा संविधानले अपेक्षा गरेभन्दा अलग तरिकाले बलिया हुनपुगे । संवैधानिक मामिलालाई यो रूपमा हेरिनु हुँदैन । यसले अधिनायकवादलाई प्रश्रय दिन्छ ।

यस्ता उदाहरणहरू अपरिपक्व नेतृत्व भएका मुलुकहरूमा जताततै भेटिन्छन् । प्रजातन्त्रको सबैभन्दा ठूलो सुन्दरता भनेको जनमतबाट जित र हारको फैसला गर्ने अवसर हो । जेठ १४ को मध्यरातको संविधानसभाको अवसान एउटा पीडा भएर मात्र रहनु हुँदैन । संंविधानमा आफ्नो कुरा पार्न नसकिए के भयो र ? अर्काको पनि त पर्न पाएन भन्ने सोचाइले मुलुकलाई अगाडि बढाउन मद्दत गर्दैन । नयाँ संविधान निर्माणका लागि अति आवश्यक पक्ष- अखण्ड नेपालप्रतिको आस्था र प्रजातन्त्रप्रतिको कटिबद्धता नभएका कारण संविधानसभाले अपेक्षित भूमिका निर्वाह गर्न पाएन ।

संविधानसभा एउटा दुस्वप्नमा परिणत हुनु अनपेक्षित थिएन । यसका सम्भावनाहरू पहिलेदेखि नै थिए । यो दिल्ली हुँदै चोरबाटोबाट नेपाल छिरेको थियो । धेरै बुझ्ने मान्छेहरूले संविधानसभाबारे आफ्नो सोचाइ राजनीतिक अनुभवका आधारमा परिष्कृत गरेका उदाहरणहरू छन् । त्यस मध्येको एउटा स्वर्गीय बीपी कोइराला पनि हुनुहुन्थ्यो । संविधानसभाका लागि क्रान्ति गर्नुभयो । तर क्रान्तिपछिको लगातार सात-आठ वर्षसम्म पनि संविधानसभाको चुनावका लागि मुलुक एकढिक्का हुनसकेन । कारणहरू आन्तरिक थिएनन् । उहाँले नेपालका प्रक्रियाहरूमा भूराजनीतिक गोटीहरूको सामथ्र्य देखिसक्नुभएको थियो । अनुभवका आधारमा उहाँले बेलायती संविधानविद् आइभर जेनिंग्सले बनाएको एवं राजाले घोषणा गरेको संविधानकै आधारमा चुनाव लड्न स्वीकृति दिनुभयो । कोइरालाको कथन थियो, ‘जबसम्म राजा महेन्द्र प्रजातान्त्रिक प्रणालीप्रति कटिबद्ध हुन्छन् र राजनीतिक दलहरूले काम गर्ने अवसर पाउँछन्, संविधान कुन रूपमा जारी भएको छ भन्ने कुराको मलाई कुनै गुनासो रहने छैन ।’ संविधान जुनसुकै सभाबाट जारी भए तापनि यदि राजाको कटिबद्धता छैन र राजनीतिक दलहरूले राष्ट्र बनाउने राजनीति गर्न सक्दैनन् भने त्यो संविधान उहाँका लागि कागजको खोस्टोमात्र हो । प्रजातन्त्र र राष्ट्रवाद राष्ट्रिय मेलमिलाप एवं कटिबद्धताका आधारमा मात्र टिक्न सक्छ । तेस्रो पक्षका लागि स्थान निर्माण गर्ने अभीष्ट राखियो भने न प्रजातन्त्र टिक्छ, नत राष्ट्रवाद । त्यसबेला पनि टिकेन, आज पनि टिक्न नसक्ने स्थितिमा पुगेको छ ।

अब अगाडिको बाटो यो अनुभवका आधारमा हिँड्नुपर्छ । तर आजका मितिसम्म संविधानसभाको असफलतामा कसैको अरण्यरोदन सुनिएको छैन । प्रधानमन्त्री त प्रतिक्रियावादीलाई आरोप लगाएर साढे पाँच महिनादेखि डटेर बस्नुभएको छ । अलिकति पनि अप्ठेरो भएको भए आफ्नो नेतृत्वको असफलतालाई कबुल गर्दै राष्ट्रिय सरकार बनाउनका लागि बाटो छोड्नुहुन्थ्यो होला । तर त्यस्तो संस्कार न उहाँले पुरानो पिँढीबाट सिक्नुभयो, नत नयाँ पिँढीलाई सिकाउन सक्नुभयो । एउटा सफल राजनेता बन्ने अवसर पाएको प्रधानमन्त्री यो अवसरलाई पन्छाउँदै अझ तन्तु सकिएको संविधान अन्तर्गत शासकीय अधिकारको दाबी गर्दै हुनुहुन्छ । यो अधिकार राष्ट्रपतिलाई तह लगाएर प्राप्त हुनसक्दैन ।

प्रजातान्त्रिक व्यवस्था जनताको सम्मानका लागि हो । प्रत्येक नागरिकले सरकारको नैतिक पक्ष अनुभूत गर्न पाउनुपर्छ । मूल कुरा के हो भने मुलुकका लागि प्रस्ताव गरिएको संवैधानिक लक्ष्य असफल भएपछि त्यो असफलताको यथोचित मूल्यांकन गर्दै नयाँ लक्ष्य निर्धारण गर्ने जिम्मेवारी राजनीतिक नेतृत्वको नै हो । यस्तो मूल्यांकन सर्वपक्षीय रूपमा गरिएन र असफलतालाई पछाडि छोडी सफल हुने बाटो रोजिएन भने राजनीतिक नेतृत्वले अर्को असफलता भोग्नुपर्ने हुन्छ । यो कुन रूपमा गर्ने ? कहिले गर्ने ? कसरी गर्ने ? र यो प्रयासमा सम्पूर्ण मुलुकलाई कसरी आबद्ध गराउने भन्ने कुराको प्रस्ताव सरकारबाटै आउनुपर्छ । प्रस्ताव स्वीकार्य नहुन सक्छ, तर यसले एउटा प्रक्रिया सुरु गर्छ । जुन प्रक्रियाले सर्वस्वीकार्य प्रस्ताव निर्माण गर्ने बाटो खोलिदिन्छ । तर त्यो बाटो खोल्ने संस्कृतिबाट पदै जान्छ कि भन्ने लाग्यो प्रधानमन्त्रीलाई । प्रतिपक्षको अहिले के कुरा गर्ने ? यसै पनि प्रस्ताव त त्यसले ल्याउने हो, जसले शासनाधिकारको उपभोग गर्दैछ । प्रतिपक्षको मूल्यांकन तबमात्र हुन्छ, जब प्रधानमन्त्रीले त्यो प्रक्रियाको सुरुवात गर्नुहुन्छ ।

प्रधानमन्त्रीले घोषणा गर्नुभए बमोजिम मंसिर ७ गते निर्वाचन गराउन सक्नुभएन । कारण निर्वाचनसँग सम्बन्धित दर्जनौं महत्त्वपूर्ण नीतिगत निर्णयहरू नगरिकन निर्वाचनमा जानुको अर्थ पनि छैन । निर्वाचन केटाकेटीको खेल होइन । आम जनताको अधिकारको कुरा हो । पहिले संवैधानिक विषयवस्तुहरूका बारेमा नीतिगत निर्णयहरू स्पष्ट रूपमा गरिनुपर्छ । त्यस्ता निर्णयहरूप्रति सबै पक्षको प्रतिबद्धता देखिनुपर्छ । संविधानसभाले गर्न नसकेका कामहरूप्रति सही दृष्टिकोण स्थापित हुनुपर्छ । अनिमात्र निर्वाचनले आम जनताको छनोटको अधिकारलाई सुनिश्चित गर्न सक्छ । त्यसैले समावेशी सर्वपक्षीय राष्ट्रिय सरकारको कुरा आएको हो । प्रधानमन्त्रीले यो समस्याको चुरो बुझिदिनुभयो भने आम जनताले उहाँलाई दिनुपर्ने सम्मानमा कुनै कमी हुने अवस्था आउँदैन । तर बुझ्नुभएन भने निश्चित छ, आम नेपालीका विकल्पहरू केवल प्रधानमन्त्री र उहाँको पार्टीको अनुदार दृष्टिकोणका कारण अवरुद्ध हुनुहुँदैन । उहाँको दृष्टिकोणमा स्प्ष्टता छ भने राष्ट्रपतिले संविधानको संरक्षणका लागि आफूले निर्णय गर्नुपर्ने अवस्था अवश्य नै आउँदैन ।

अधिकारी संवैधानिक कानुनका ज्ञाता हुन् ।

 २०६९ श्रावण १५

१२ वर्षयता नेपालमा अकल्पनीय दुर्घटनाहरू भएका छन् । पहिले हजारौं सेनाले सुरक्षा दिएको नारायणहिटी राजदरबारभित्र एउटा स्वाभिमानी राजा र उनका परिवार समाप्त भए । यस लगत्तै नेकपा (माओवादी) को तथाकथित जनयुद्धले अस्वाभाविक रूपमा तीव्रता पायो । सोह्र हजार नेपाली अनाहकमा खेर गए । एउटा धान्न सकिने संविधान र भविष्योन्मुख प्रजातान्त्रिक प्रणालीलाई आमचुनाव हुनै नदिई समाप्त गरियो ।

नेपाललाई कमजोर बनाउन यति कुरा पर्याप्त ठानिएन । यसका लागि गृहयुद्ध पनि अपर्याप्त भयो । त्यसैले खसजाति विरूद्ध जनजाति आन्दोलन, फलित विरूद्ध दलित आन्दोलन, पहाड विरूद्ध मधेस आन्दोलन, पूर्व विरूद्ध पश्चिमको आन्दोलन अनि शान्तिकामी नेपालीहरू विरूद्ध गरिएको आपराधिकजस्ता लाग्ने नियोजित भौतिक कारबाहीहरू क्रमशः हुँदै गए । मूलधारका दलहरूलाई घोषित वा अघोषित रूपमा टुक्रा-टुक्रा पारी ‘साइज’मा ल्याइयो । शक्ति सन्तुलनमा परिवर्तन गर्ने उद्देश्यले मधेसमुखी दलहरूको सिर्जना गरियो । आन्दोलनको रापमा लाखौंलाख गैरनेपाली नेपालका नागरिक बनाइए । धार्मिक र सांस्कृतिक सद्भाव खलबल्याउँदै स्वतन्त्र नेपालका लागि बोल्दै-लेख्दै आएका एवम् सिद्धान्तको राजनीति गर्नेहरूमाथि सशक्त कारबाही भए । नेपालको मिडिया, सेना र सुरक्षा संयन्त्रलाई प्रभावित गर्ने प्रयत्न पनि कसैबाट लुकेको छैन । राष्ट्रवादी सोच र अभिव्यक्तिमाथि नेपालमा यतिविघ्न प्रहार इतिहासमा कहिल्यै भएन ।

नेपालमा ‘प्रोक्सी वार’ नयाँ अवधारणा होइन । तर आश्चर्यको कुरा के हो भने विदेशी भूमिबाट निर्दोष नेपाली युवाहरूमार्फत प्रजातन्त्र विरूद्ध सञ्चालित यो युद्धको मुकाविला गर्नुको साटो नयाँ नेपाल निर्माणको पक्षधर भन्दै प्रजातन्त्रवादी शक्तिहरू अबुझ बन्न रूचाए । प्रजातन्त्र र राष्ट्र दुवैलाई जोगाउन जोखिमपूर्ण निर्णय लिने बेलामा उनीहरूले आफ्नो सीमान्त शक्ति त्यस्ता पक्ष र प्रवृत्तिहरूसंग मिलान गरेे, जसको प्रजातन्त्रप्रतिको निष्ठा र नेपाली राष्ट्रवादप्रतिको समर्पण दुवै संदिग्ध थियो । अझ मुलुकको गम्भीर राजनीतिक परिस्थितिको मूल्यांकन गरी भविष्यको रोडम्याप तयार गर्नुपर्ने बेलामा विदेशी रणनीति अन्तर्गत आएको १२ बुँदे एजेन्डामा प्रजातन्त्रवादी शक्तिहरू महत्वपूर्ण पक्ष हुनपुगे । उनीहरूको बुइँ चढेर नै शान्ति प्रक्रियाका नाममा संविधान र विधिको शासनको अन्येष्टि सुरू भएको हो । यी प्रक्रियाहरूमा प्रजातन्त्रवादीहरू संलग्न नभएको भए मुलुकको स्वतन्त्रता, अस्मिता र प्रजातन्त्रको यति सजिलै कसैले हुर्मत लिन सक्ने थिएन ।

हारेको लडाइँको प्रतीक नै भए पनि गत जेठ १४ गतेसम्म मुलुकमा एउटा संविधानसभा थियो । यसले के गर्ने भन्ने एउटा घोषित एजेन्डा थियो । प्रजातन्त्रवादीहरूले यसको रचनात्मक प्रयोग गर्न सक्ने थिए । यसभित्र विभिन्न राजनीतिक दलले खेल्नुपर्ने भूमिकाहरूबारे बहस हुनसक्थ्यो । राष्ट्रवाद र प्रजातन्त्रजस्ता मूल विषयमा मूल्य-मान्यताका कुरा छिनोफानो गर्नसकेको भए मुलुक सकारात्मक बाटोमा जान सक्थ्यो । अब त्यो अवस्था रहेन । संविधानसभा संविधान बनाउन नसकी समाप्त

भयो । अहिले आएर लाग्छ, यो मुलुकको दुर्दशा गर्ने योजनामा सायद संविधानसभा एउटा ‘साइनपोष्ट’का रूपमा मात्र मञ्चन गरिएको थियो । सविधान निर्माणको कुनै उद्देश्य थिएन ।

समस्या जतिसुकै जटिल भए पनि सर्वोच्च अदालतको सोचाइमा अब के गर्ने भन्नेबारे संविधानसभाले अर्को निर्णय लिने अख्तियार राख्थ्यो । तर सभालाई त्यो अख्तियार प्रयोग गर्न दिइएन । सर्वोच्च अदालतले भनेको थियो- संविधानसभाले नयाँ निर्वाचनबाट नयाँ म्यान्डेट लिन सक्छ, जनमत संग्रहको माध्यमबाट आफ्नो थप कार्यावधिलाई समर्थित गराउन सक्छ वा अन्य संविधानसम्मत तरिकाबाट अर्को कुनै रणनीति बनाई नयाँ संविधान जारी गर्ने वैकल्पिक बाटो अपनाउन सक्छ । यसो गर्न नसक्ने अवस्थामा संविधान संशोधनको माध्यमबाट आफ्नो आयु बढाउँदै लैजाने प्रक्रियालाई छोडी बहिर्गमनको उचित रणनीति -एक्जिट स्ट्रेटेजी) बनाउने जिम्मेवारी पनि संविधानसभाकै थियो । यसो हुन दिइएन । यो प्रक्रियामा पनि प्रजातान्त्रिक दलहरूको अकर्मण्यता दुःखदायी थियो ।

नेपाली कांग्रेस, एमाले एवम् सबै साना प्रजातन्त्रवादी शक्तिहरू आज पनि नीति तथा कार्यक्रम विनाको राजनीति गर्दैछन् । जस्तो नेपाली कांग्रेसका केन्द्रीय समितिका सदस्य एवम् जिल्ला सभापतिहरूको १५ साउनदेखि सुरू हुने राष्ट्रिय सम्मेलनको अहिलेको परिस्थितिमा विशेष महत्व हुनुपर्ने हो । तर यो सम्मेलन एकपटक फेरि एउटा परम्परागत संस्कारमात्र भएर समाप्त हुने सम्भावना देखिंदैछ । कारण स्पष्ट छन्- हरेक सम्मेलनको आयोजना संगसंगै एउटा एजेन्डा आएको हुन्छ । आयोजकले त्यस्तो एजेन्डामा सम्मेलन आयोजना गर्नुको मूल उद्देश्यसहित छलफलका लागि प्रस्ताव, नीतिपत्र र भविष्यका लागि नेतृत्वले लिएको निर्णय वा अठोट उल्लेख गरेको हुन्छ । तर यो सम्मेलनमा न मुलुकलाई निर्देश गर्नसक्ने कुनै एजेन्डा राखिएका छन्, नत यसमार्फत स्वीकार गरिने कुनै प्रकारको भविष्यमुखी योजना । मानौं यो दशैं-तिहारजस्तो हरेक वर्ष मनाउनैपर्ने महत्वपूर्ण चाड हो । यसलाई रोक्न वा नमनाउनलाई जुठो पर्नुपर्छ । यदि यही सम्मेलनमा कांग्रेसले अर्काको लहलहैमा लागि एवम् कुनै अमूक राष्ट्रको हतियार भई गत ६ वर्षदेखि यो मुलुकलाई गरेको अन्यायको प्रायश्चित र आफ्ना गलत नीतिहरूको निर्मलीकरणको योजना प्रस्ताव गरेको भए भोलिदेखि नेपालीको भाग्यरेखा पुनः गहिरो हुँदै जाने थियो । सोको अभावमा यो सम्मेलनको भयंकर दुरूपयोग हुने खतरा देखिंदैछ ।

एमालेको आफ्ना समस्याहरू छन् । मुलुकभित्रको प्रत्येक आन्दोलनको नेतृत्व गरी हिंडेको र कुनै बेला संसद्मा दुई तिहाइ बहुमत ल्याई विश्व समाजवादी आन्दोलनलाई पुल्कित गराउने नेपाली कांग्रेस आज समाप्तप्रायः स्थितिमा छ । अब यस पार्टीमा नेपाली सेनाका रिटायर्ड जर्नेलहरू, नेपाल सरकारका सचिव, राष्ट्रका ख्यातिप्राप्त समाजसेवी, साहित्यकार, इञ्जिनियर, डाक्टर, वकिल वा व्यावसायिक समृद्धि वा उचाइ प्राप्त गरेका व्यक्तिहरू प्रवेश गरेको खबर सुनिंदैन । मुलुकका दिग्गजहरूका लागि नेपाली कांग्रेस जुझारू क्षमता राख्दैन । मुलुकको सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रलाई व्यापक रूपमा परिचालन गरिरहेका युवा एवम् नवउद्यमीहरूका लागि नेपाली कांग्रेस छाता हुनसकेको छैन । नेपालका जनजाति र मधेसी लगायतलाई एकबद्ध गरी प्रजाान्त्रिक नेपालको रचना गरी हिंडेको दललाई आज समग्रमा दाँत झरिसकेको बूढो बाघको हैसियतमा पुर्‍याइएको छ । यो आफै हिंड्न सक्दैन, कसैले डोर्‍याउनुपर्छ ।

मुलुकका जल्दाबल्दा समस्याहरूको समाधानका लागि कांग्रेसका राष्ट्रिय दृष्टिकोण के-के हुन् ? आज आम नेपाली भोटरहरूमा यसबारे कुनै जिज्ञासा छैन । प्रजातान्त्रिक नेतृत्वबाट मुलुकको समग्र राजनीति खासगरी महिला, दलित, जनजाति, मधेसीका मागहरूलाई सम्बोधन गर्ने योजना छैन । राष्ट्रवादलाई आधार बनाएर प्रजातन्त्रलाई प्राप्त गर्ने कांग्रेसको अभय इतिहास किन कुण्ठामा परिवर्तन भएका छन् । कुनै बेला नेपालको आर्थिक, सामाजिक र कूटनीतिक लगायत प्रत्येक क्षेत्रमा नेतृत्वदायक अग्रगामी विचार संवाहन गर्ने कांग्रेस आज कस्ता पक्ष र प्रवृत्तिको पृष्ठपोषक हुनपुगेको छ ? बुझ्नुपर्ने बेला आएको छ । कांग्रेसका युवाहरूले जवाफ माग्नुपर्छ, आफ्ना अग्रजहरूसंग । कांग्रेसको फाउन्डिङ पि्रन्सिपल्सलाई कसले अपहरण गरेको रहेछ ?

यहाँ के उल्लेख गर्नु जरूरी छ भने नेपाली कांग्रेसको एउटामात्र सैद्धान्तिक धार छ । त्यो धार भनेको राष्ट्रिय मेलमिलापको नीति नै हो । यो नीति नै स्व. वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको नीति थियो । आफ्नो जीवन र संगठन क्षमता उहाँहरूले यिनै नीतिका लागि उत्सर्ग गर्नुभयो । अन्य कथित धारहरू नेपालको भूराजनीतिक गोटीहरूमात्र हुन् । त्यसैले त यत्रो लामो राजनीतिक इतिहासमा राष्ट्रिय एकताका हिमायती वीपीलाई बिर्साउने अर्को तागत कांग्रेसमा उत्पादन हुनसकेनन् । परिवर्तनकारी शक्तिले आफू पछाडि उभिएका, आफ्ना समकालीन र आफू अगाडि उभिएका तिनै शक्तिहरूलाई संयोजन गर्दै मुलुक निर्माणको बाटोमा अग्रसर हुनुपर्छ । यसको अनुभूति त्यसमा मात्र हुनसक्छ, जसमा राष्ट्रिय स्पन्दनहरू हुन्छन् ।

नेपाली कांग्रेसका केही वरिष्ठ नेताले भन्ने गरेका छन्- ‘वीपीले राजनीति गरेको नेपालको कालखण्ड अर्कै थियो ।’ अब समय परिवर्तन भइसक्यो । यो एकदमै गलत व्याख्या हो । सत्य के हो भने नेपालको दुर्दशाको कारण भूराजनीतिक हो । शताब्दीऔंदेखि यही परिस्थितिसंग नेपालले आफ्नो अस्तित्वको लडाइँ लडेको छ । राजा पृथ्वीनारायण शाह हुन् वा बहादुर शाह, वा जंगबहादुर कुँवर हुन् वा वीपी कोइराला, उनीहरूले खपेको चुनौती एउटै थियो । फरक यत्तिमात्र छ कि आफ्ना छिमेकहरूबीच बलियो भएर बाँचेको एवम् पटक-पटक युद्ध गरेर आफूलाई स्वतन्त्र मुलुकका रूपमा उभ्याएको बलशाली नेपाल आज एउटा लाचार मुलुकमा परिवर्तन हुँदैछ ।

नेपाल आफ्ना छिमेकी र बाह्य शक्ति पीडित मुलुक हो । स्व. विश्वेश्वरप्रसाद कोइरालाको दृष्टिकोण थियो, ‘हामी चनाखो भएनौ, हामी संगठित भएनौ, हामी राष्ट्रिय र प्रजातान्त्रिक भावनामा बलियो भएनौ भने अर्कै कुरा हो । राष्ट्रियता त कति बलियो रहेछ भने यहाँ विदेशीहरू आफूलाई राष्ट्रवादी भनेर मलाई आक्रमण गर्छन् । राष्ट्रियता कत्रो मूल्यवान कुरो रहेछ । मलाई आक्रमण अराष्ट्रियहरूले गर्छन्, तर आफूलाई विदेशीको मान्छे भनेर नचिनिने युक्तिका साथ । मैले तराईको राष्ट्रिय भावनाको कुरा भनेको छु । मैले भनेको छु, नेवारहरूमा भएको राष्ट्रिय भावनाको कुरा । यति ठूलो राष्ट्रिय भावनाको आधार हामीसंग छ भने हामीले हरेस खाने कुरा छैन ।’

त्यसो भए किन नेपालमा प्रजातन्त्र र राष्ट्रवादको अगाडि यति धेरै समस्या छन् त ? यसको कारकतत्व को हुन् ? स्व. कोइरालाको भनाइ थियो, ‘मैलै हिजो कसैलाई जवाफ दिंदाखेरि भनें, म बडो तर्क दिएर तपाईंको मुख थुन्न सक्छु, तर म त्यो चाहन्न । किनभने तपाईंले उठाएको प्रश्न मेरो अगाडि पनि छ । मेरो निम्ति समस्या राजा छैनन् । मैले काम गर्न पाएको छु । मैले जुन समस्याको सामना गर्नुपरेको छ, त्यो पार्टीबाट आफ्नै साथीहरूबाट सिर्जना गरिएका छन् । जुन समाधान हुनसक्ने समस्या समाधान नहुनु मेरो घरभित्रको समस्या भएको छ । मेरो समस्या नै घरभित्र छ । कम्युनिष्टहरूले ममाथि आक्रमण गरे भन्ने मेरो समस्या छैन । मेरो समस्या के छ भने मेरो लाइनलाई मेरै साथीहरूले बुझेनन् र मैले अब सामना गर्नुपर्ने कुरा पनि त्यही छ । त्यस्तो जमात बनाउनुपर्‍यो, नेपाली कांग्रेसलाई, हाम्रो जो धरातल छ, राष्ट्रियता र प्रजातन्त्रको, त्यसमाथि अडेर बस्नेहरूको जमात बनाउनुपर्‍यो । त्यो पो त मेरोनिम्ति समस्या छ ।’

आज कोइराला बिदा भएको ३० वर्ष पुगेको छ । उहाँका प्रधानमन्त्री भाइले आफूखुसी गरेका कारण मुलुकको भविष्यप्रति भएको खेलवाडको लेखाजोखा भविष्यमा हुनेनै छ । तर नेपाली कांग्रेसमा त्यस्तो जमातको सिर्जना हुनसकेको छैन, जसका हातमा यो मुलुक सुरक्षित रहन सक्छ र प्रजातन्त्र आम जनताको जीवनपद्धति भएर बाँच्न सक्छ । समय अझै फुस्किसकेको छैन । तर यसलाई समात्नका लागि कांग्रेसको झण्डामा वीपीका विचारहरू फर्फराउनुपर्छ । जुनसुकै झण्डामुनि संगठित भएका भए पनि समग्र प्रजातन्त्रवादीको पहिचान उनीहरूले समातेको राष्ट्रवादी धारबाट हुनेछ । यसै पनि अब गुमाउन केही बाँकी छैन । अहिलेको प्रजातान्त्रीकरणको आसन्न चुनौती यही हो ।

(अधिकारी संवैधानिक कानुनका ज्ञाता हुन् ।)

 जेठ २४, २०६९
Kantipur National Daily

संविधानसभा-२ ले पहिलो संविधानसभाभन्दा अलग तौरतरिका र दृष्टिकोणले काम गर्नेछ र संविधान निर्माण कार्य सफल हुनेछ भन्ने के ग्यारेन्टी छ ?

प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा जेठ १४ को मध्यरात मंसिर ७ मा संविधानसभाको अर्को निर्वाचन गर्ने भनी गरिएको घोषणाले धेरैलाई क्रुद्ध बनाएको छ । यो घोषणा आफैंमा अप्रस्ट, संवैधानिक रूपमा जटिल र राजनीतिक रूपमा जोखिमपूर्ण हुनुका साथै संविधान निर्माणको वर्तमान चुनौती हल गर्नसक्ने खालको देखिंदैन ।

२०६४ चैत २८ गते भएको संविधानसभाको निर्वाचन इतिहासमा एउटा महत्वाकांक्षी प्रयोग थियो । हुन त विश्वेश्वरप्रसाद कोइरालाजस्तो उच्चकोटीका नेताले पनि तत्कालीन राजाबाट गराइएको संविधानसभाको निर्वाचनको घोषणालाई ००७ सालको क्रान्तिको उपलब्धिका रूपमा देखाउनुभएको थियो । यो घोषणामा राजा तथा तत्कालीन अस्थिर सरकारहरू प्रतिबद्ध नदेखिएका कारण रुष्ट भएका कोइराला परमादेशका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुग्नुभएको थियो । उहाँको दाबी थियो- राजा त्रिभुवनको संविधानसभाको घोषणा बेलायतका राजाले जारी गरेको सन् १२१५ को जनता र राजाबीच भएको ‘म्याग्नाकार्टा’ सरहको कबुल थियो र क्रान्तिद्वारा अनुमोदित थियो । उहाँको भनाइमा यसलाई संवैधानिक सिद्धान्तका रूपमा कार्यान्वयन नगरी प्रजातान्त्रिक नेपालको जग बसाउन सम्भव थिएन ।

यति हुँदाहुँदै पनि संविधानसभामार्फत नयाँ प्रजातान्त्रिक संविधान, मौलिक अधिकार र जनउत्तरदायी सरकारको व्यवस्थाबाट भविष्य निर्माण गर्ने स्व. कोइराला र उहाँका तत्कालीन सहयात्रीहरूको प्रण २०१५ साल आउँदा-नआउँदै पुनरावलोकन भइसकेको थियो । कारण थियो, नेपालको भू-राजनीतिक स्थिति, सार्वभौमसत्ताका चुनौतीहरू, बिक्ने र बिकाउने नेतृत्व वर्ग एवं बढ्दो अस्थिरता । २००७ सालको क्रान्तिपछिको करिब आठ वर्षको अस्थिरताले कोइरालालाई परिमार्जन गरिसकेको थियो । उहाँ परिणाममुखी हुन चाहनुहुन्थ्यो । उहाँको भनाइ थियो- यदि राजा र प्रजातन्त्रको पक्षधरबीच समझदारी हुन्छ भने प्रजातन्त्र र राष्ट्रवादको अर्को प्रत्याभूति चाहिंदैन । यदि त्यस्तो समझदारी हुँदैन भने संविधानसभाबाट ल्याए पनि वा राजाबाट जारी भए पनि संविधान आफैंमा एउटा कागजको खोस्टामात्रै हुनेछ । पछिका परिवर्तनहरूले कोइरालाको यो ब्रह्मवाक्यको सत्यतालाई पटक-पटक प्रमाणित गरिसकेको छ ।

संविधानसभाद्वारा नेपालको भाग्य लेख्ने अर्को प्रयास आज फेरि दुर्घटनाग्रस्त भएको छ । कारणहरू पुरानै हुन् । आम नेपालीले नयाँ संविधान चाहँदा-चाहँदै पनि यसका लागि गरिएको भगीरथ प्रयत्न असफल भएको छ । संविधानसभाका अधिकांश सदस्य अर्धरात्रिको चित्कार अनुभव गर्दै संविधानसभाबाट रोएर फर्किएका छन् । किन संविधानसभा असफल बनाइयो भन्ने विषयको लेखाजोखा हुने नै छ । तर त्यो प्रक्रिया सुरु नै नगरी प्रधानमन्त्रीले अन्तरिम संविधानको कुनै धारा, उपधारामा नटेकी, राष्ट्रिय सहमति पनि कायम नगरी एकतर्फी रूपमा अर्को संविधानसभा चुनावको घोषणा गर्नुभएको छ । संविधानसभाको अन्तिम म्याद सकिने जेठ १४ गतेको मध्यरातभन्दा करिब अढाई घन्टा पहिले बसेको मन्त्रिपरिषद्को बैठकमा अनुमोदन गराई करिब सवा ११ बजे राष्ट्रपति डा. रामवरण यादवलाई जानकारी गराई त्यसपछि लगत्तै उहाँले सर्वोच्च अदालतले गरेको फैसलाअनुसार ताजा जनादेश लिने प्रण गर्नुभएको थियो । मन्त्रिपरिषद्मा आफ्नो असहमति जनाउँदै एमाले, राप्रपा, परिवार दल, नेकपा संयुक्त लगायतका मन्त्रीहरूले बैठक छाडी हिँडे पनि प्रधानमन्त्रीले नयाँ संविधानसभाका लागि मंसिर ७ गते चुनावको मिति तोकेको देखिन्छ । यसबाट उहाँलाई के फाइदा होला ? त्यो उहाँले नै बुझ्ने कुरा हो । तर मुलुकलाई भने कुनै फाइदा हुने लक्षण देखिंदैन ।

सर्वोच्च अदालतको फैसलाका बारेमा प्रधानमन्त्रीलाई असल सल्लाह दिइएको देखिंदैन । अदालतले वर्तमान संविधानसभा गठन भएपश्चात संविधान निर्माणका सम्वन्धमा हालसम्म के कति उपलब्धिहरू हासिल भएका छन् र कति कार्य बाँकी छन् ? ती कार्य पूरा गर्न संविधानको धारा ६४ को प्रतिबन्धात्मक वाक्यांशले अभिनिश्चित गरेको अवधि ननाघ्नेगरी अन्तिम पटकका लागि संविधानसभाले वास्तविक रूपमा जेजति समय आवश्यक पर्छ ? यकिन गरी सोही अवधिभित्रै संविधान निर्माणको कार्य सम्पन्न गर्ने आदेश दिएको थियो । यस आदेशको अघिल्लो पाटोको रूपमा त्यसरी निश्चित गरिएको अवधिमा पनि संविधान निर्माणको कार्यलाई पूर्णता प्रदान गर्न नसकिने भएमा तत्पश्चात् संविधानसभाको कार्यकाल स्वतः समाप्त हुने अदालतको व्याख्या थियो ।

त्यस्तो अवस्थामा संविधानसभा कायम रहँदै उक्त अवधिभित्रै संविधानको धारा १५७ बमोजिम जनमत संग्रह वा धारा ६३ बमोजिम अर्को संविधानसभाको निर्वाचन वा संविधान बमोजिम अन्य उपयुक्त प्रबन्ध मिलाउन अदालतले आदेश दिएको थियो । यो आदेशमा संविधानसभाको संविधान निर्माण गर्ने सार्वभौम अधिकारलाई प्रष्टसँग स्वीकार गरिएको छ । त्यसैकारणले यस बमोजिम निकास -एक्जिट स्ट्राटेजी) खोज्ने अधिकार संविधानसभाको अधिकार हो, प्रधानमन्त्रीको होइन । यसै पनि संविधान निर्माणको विषय प्रधानमन्त्रीको कार्यकारिणी अधिकार अन्तर्गत पर्ने विषय थिएन । त्यसैले प्रधानमन्त्रीले राजनीतिक सहमति कायम गरी संविधानसभाका अध्यक्षको सहयोगमा आफ्नो प्रस्ताव संविधानसभाबाट पारित गराउनुपथ्र्यो । आफ्नो प्रस्तावलाई कार्यान्वयन गर्न संविधान संशोधन गर्नुपर्ने भए प्रधानमन्त्रीले सो विषयलाई पुनः संसद्मा प्रवेश गराउनुपर्ने हुन्थ्यो । यी विषयहरूमा प्रधानमन्त्रीलाई गलत सल्लाह दिइएको र यसबाट उहाँको भूमिका ०४७ सालको संविधान अन्तर्गत प्रतिनिधिसभालाई भंग गरी नयाँ निर्वाचनको तिथि तोक्ने प्रधानमन्त्रीको विशेषाधिकारसँग दिग्भ्रमित पारिएको प्रष्ट देखिन्छ ।

उपरोक्त आधारमा संविधानसभालाई संविधान निर्माण गर्न नसकिने स्थितिमा आफ्नो विकल्प आफैं खोज्न सकिनेगरी आवश्यक प्रक्रिया सुरु हुन नदिई संविधानसभा जीवित रहँदै अर्को संविधानसभाको निर्वाचनको मिति तोक्ने कार्य असंवैधानिक नै ठहर्छ । कम्तीमा यस विषयमा सभाध्यक्षको राय पनि लिनुपथ्र्यो । तर निर्वाचन सम्बन्धी उक्त असंवैधानिक घोषणालाई सच्याइए पनि अब संविधानसभालाई बचाउन सकिने केही हतियार छैन । यसै पनि आजको स्थितिमा निर्वाचनमा जाने र मुलुकलाई नयाँ जनादेश प्राप्त सरकार प्रदान गर्ने राजनीतिक आवश्यकताका बारेमा दुईमत हुनसक्दैन । प्रजातान्त्रिक संरचनाहरूलाई सुचारु रूपमा चलाउन एवं मुलुकलाई जनउत्तरदायी सरकार प्रदान गर्न निर्वाचनमा जानुपर्ने तथ्यलाई कसैले अस्वीकार गर्नु पनि हुँदैन ।

तर यत्रो ठूलो संविधान निर्माण गर्ने साहसिक परियोजना चार वर्ष बिताएर लाजमर्दो हिसाबले असफल हुँदा प्रथमतः मुलुकको नेतृत्व गर्ने प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो । एनेकपा माओवादी संविधानसभाको ध्वजाबाहक दल पनि हो । यसलाई शान्ति प्रक्रियामा ल्याउनका लागि कांग्रेस, एमाले लगायतले आफ्नो गोडामा आफैं बञ्चरो हानी यो प्रक्रियामा समावेश भएका हुन् । संविधानसभालाई आफ्नो विकल्प आफैं खोज्ने अवसर त दिइएन नै । यसका अतिरिक्त आफ्नो नेतृत्वको असफलतालाई कबुल गरेपछि मात्र कार्यबाहक प्रधानमन्त्रीका रूपमा उहाँले राष्ट्रिय सहमति कायम गर्दै संसद्रूपी संविधानसभा नभएको परिस्थितिमा सृजना भएको संवैधानिक संकटबाट मुलुकलाई उद्धार गर्नका लागि आमनिर्वाचनको घोषणा गर्नुपथ्र्यो । त्यो पनि उहाँले गर्न सक्नुभएन ।

तर प्रश्न छ- के यो मुलुकलाई फेरि संविधानसभाको भुमरीमा जाक्ने ? नवनिर्वाचित संविधानसभाले पहिलो संविधानसभाभन्दा अलग तौरतरिका र दृष्टिकोणले काम गर्नेछ तथा नयाँ संविधान निर्माणकार्य सफल हुनेछ भन्ने कुराको के ग्यारेन्टी छ ? अहिले जुन असफलता हात लागेको छ, त्यसका कारणहरू केके हुन् ? तिनलाई निराकरण गर्ने कस्तो योजना सरकारसँग छ ? यसबारे केही न केही सहमति कायम नगरी बढ्नु अँध्यारोमा ढुंगा हान्नु सरह हो । यसबाट अस्थिरताकोे कारक तत्वहरूको सिकार गर्न सकिने छैन । यसै पनि अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिलाई हेर्दा नयाँ संविधानसभा पनि उत्तिकै खर्चिलो, जटिल र प्रतिकूल परिस्थितिको सामना गर्न बाध्य हुने स्थिति छ । यस अतिरिक्त नयाँ संविधानसभाको निर्वाचनमा आमजनताको उत्साह हुनुपर्ने कुनै कारण छैन । असफल बनाइएको संविधानसभाको विकल्प खोज्दा यस्तो हुनु स्वाभाविक हो । हातमा एउटा उपलब्धि लिएर जनतामा नयाँ जनादेशका लागि जाने कुराको स्थिति बेग्लै हो । यहाँ त उपलब्धिविहीन भएर पनि लाज नमानी जनादेश माग्नुपर्ने स्थिति छ । यस्तोमा निर्वाचनमा उम्मेदवार भएका प्रत्येक उम्मेदवारले जनतासँग सजिलो अन्तरक्रिया गर्नसक्ने परिस्थिति छैन । सबैलाई निर्वाचन सुरक्षा दिनसक्ने सरकारको क्षमता छैन । यी सबै परिस्थितिले के देखाउँछ भने अहिलेको स्थितिमा खाली हात लिएर चुनावमा जाने कुरा एउटा अपरिपक्व दृष्टिकोण हो । त्यसैले विकल्पका बारेमा सोच्नु जरुरी छ । पहिलो कुरो के आत्मसात् गर्नु जरुरी छ भने संविधानसभाबाट प्रजातन्त्र र संविधानवाद प्राप्त गर्न सकिन्छ । तर यसबाट संसारमा नभएको दुर्लभ कीर्तिमान स्थापना गर्न सम्भव छैन । अति विवादित विषयहरूका सम्बन्धमा सरकार स्वयम्ले परिमार्जित दृष्टिकोण राख्नुपर्ने स्थिति छ ।

अहिले सबै दलको सहमतिमा नेपाल सरकारले आफ्नो कार्यकारिणी अधिकार अन्तर्गत स्वतः विसर्जित संविधानसभाको संवैधानिक समितिका सभापतिसहित सम्पूर्ण सदस्यहरू भएको एक एकीकृत मस्यौदा निर्माण उच्चस्तरीय आयोगको व्यवस्था गरी अघि बढ्न सकिन्छ । यस्तो आयोगले तत्कालै जेठ १४ सम्म भए-गरेका कामकारबाहीहरूलाई निरन्तरता दिंदै विवादित विषयहरूमा छलफल गर्दै समाधान खोज्ने कार्य अघि बढाउन सक्छ । संविधानसभाको विसर्जनपश्चात पनि सबैलाई एकपटक जिम्मेवार बन्न बाध्य गर्ने स्थिति भएको सन्दर्भमा चाँडोभन्दा चाँडो संविधानको एकीकृत मस्यौदा तयार गर्न गठन गरिएको यस्तो आयोग सकारात्मक कदम हुनेछ । यसले राजनीतिक वर्गको अनुहार उज्यालो बनाउनुका साथै आम जनतामा सुखद संकेत पनि दिनसक्छ । स्वतः विसर्जित संविधानसभामा भए-गरेका कामकारबाही र यसको उपलब्धिमा टेकेर बाँकी मुद्दाहरूको छिनोफानो गर्दै संविधानको एकीकृत मस्यौदा तयार गर्न गाह्रो छैन । यो प्रक्रियामा राष्ट्रपतिले बाधा-अड्काउ फुकाउँदै सरकारलाई रचनात्मक सहयोग प्रदान गर्नु पर्नेछ ।

विसर्जित संविधानसभा मूलरूपमा संविधानसभा थियो भने यसको सहायक भूमिका संसदीय थियो । अब हुने निर्वाचनद्वारा मूलरूपमा संसद्को निर्माण गर्नु जरुरी छ भने सहायक रूपमा यसलाई संविधानसभाको बाँकी कार्य सम्पन्न गर्ने सभाको रूप दिन सकिन्छ । उपरोक्त बमोजिम गठन गरेको उच्चस्तरीय आयोगले आफ्नो मस्यौदा राष्ट्रव्यापी रूपमा छलफल गरी आवश्यक परिमार्जनसहित दुई तिहाइले स्वीकृत गरी राष्ट्रिय सहमतिको सरकारलाई प्रदान गर्नुपर्ने व्यवस्था गर्न सकिन्छ । यसका लागि उच्चस्तरीय आयोगद्वारा प्रस्तावित राष्ट्रिय संसद्लाई अध्यादेशमार्फत कानुनी हैसियत दिई आमनिर्वाचन गराउँदा यसबाट आएको संसद्ले संविधानसभाका रूपमा नयाँ संविधानलाई अनुमोदन गर्ने तथा तत्पश्चात् आफूलाई उक्त अनुमोदित संविधान बमोजिमको पहिलो संसद् घोषणा गर्नु पर्नेछ । यो प्रक्रियाबाट नयाँ संवैधानिक प्रणालीमा मुलुक प्रवेश गर्नेछ । यसबाट मुलुकले त्यसबेलासम्म झेलेको संवैधानिक संकटबाट फुर्सत पाउनेछ ।

यो प्रस्तावलाई लागु गर्न प्रधानमन्त्रीले राष्ट्रिय सहमति कायम गर्दै अहिले घोषणा गरिएको निर्वाचनको तिथिलाई अर्को उपयुक्त महिनामा सार्नु र उक्त आयोगलाई सो मितिभन्दा कम्तीमा एक महिना अघिको अन्तिम मस्यौदा पठाउने जिम्मेवारी दिनु पर्नेछ । यसरी बनाई लागु गरिएको नयाँ संविधान अन्तर्गतको पहिलो राष्ट्रिय संसद्मा प्रस्तावित प्रदेशहरूको प्रतिनिधि हुने छैनन् । किनभने त्यस अवस्थामा प्रदेशहरू कायम भई प्रदेशसभाको निर्वाचन भइसकेको हुँदैन । तर त्यस्तो प्रादेशिक प्रतिनिधित्व गराउने दृढता छ भने निश्चित रूपमा प्रस्तावित मस्यौदा अन्तर्गतका प्रदेशहरूका आधारमा एक पटकका लागि विशेष प्रतिनिधित्वको व्यवस्था गर्न सकिन्छ ।

यस्तो नयाँ संसद्ले विसर्जित संविधानसभा, उच्चस्तरीय आयोग लगायतको संवैधानिक उत्तराधिकारी हुनुका साथै नयाँ अभिमतका आधारमा गठित संविधानसभाको जिम्मेवारीसमेत पूरा गर्न सक्नेछ । यो प्रस्तावलाई सबै दल वा पक्षका लागि अनुकूल बनाउन छलफल गर्न सकिन्छ । तर कुनै पनि हालतमा अन्तरिम संविधानको निष्त्रिmय भइसकेको संविधानसभा गठन विधिबाट अर्को चार वर्ष लगाई पुनः नयाँ संविधान प्राप्त गर्ने संदिग्ध प्रयासतर्फ जानुको औचित्य देखिँदैन ।

अधिकारी संवैधानिक कानुनका ज्ञाता हुन् ।

 २०६९ जेठ १०

बलमिचाइँ गरे पनि संकटकाल टिकाउन गाह्रो हुन्छ । यसमा नेपालको आफ्नै अनुभव छ । मागहरू राजनीतिक प्रकारका छन् भने तिनलाई राजनीतिक रूपमै हल गर्नुपर्ने हुन्छ । यसै पनि संकटकालको घोषणा गर्ने अख्तियार पाएका राष्ट्रपति महोदयले कृत्रिम आधारमा आएको संकटकालको सिफारिसलाई घोषणा गरी प्रधानमन्त्रीलाई अनुगृहित गर्नुपर्ने कुनै कारण छैन । मुलुकमा हाल देखिएका आपराधिक गतिविधि र उच्छृंखलता ‘ल एन्ड अर्डर’का समस्या हुन् । नागरिक सुरक्षा निकायहरू नै तिनलाई नियन्त्रणमा लिन सक्षम छन् । बद्नियतका आधारमा संकटकालको सिफारिस आएमा त्यस्तो घोषणा राष्ट्राध्यक्षबाट हुन नसक्ने कुरामा समयमै सरकारलाई सचेत गराउनु संविधानको संरक्षकको भूमिका पाएका राष्ट्रपतिको मर्यादा अन्तर्गतको जिम्मेवारी पनि हो ।

नेपालमा भइरहेको ‘अन्डरकभर अपरेसन’ नयाँ चरणमा प्रवेश गरेको आभाष हँुदैछ । २०४७ सालमा पुनःस्थापना गरिएको राष्ट्रवादयुक्त प्रजातान्त्रिक शासन प्रणाली, त्यसले ल्याएको सामाजिक न्याय, आर्थिक विकास, जनउत्साह र धान्न सकिने शासकीय स्वरूपको बलियो पृष्ठभूमिमा सुरु भएका नेपथ्यका कामकारबाहीहरू अब उदांगिन थालेका छन् ।

यी कामकारबाहीहरू निसन्देह ०५२ सालमा सुरु भएको नेकपा माओवादीको सशस्त्र युद्धको आडमा नै भएका थिए । यो युद्धको १७ औं वर्षमा आज मुलुक उभिएको छ । सक्रिय हिंसाका रूपमा युद्ध त एक किसिमले सकियो, तर मुलुकको दुर्भाग्य सकिने स्थिति देखिंदैन । समस्या के देखिन्छ भने क्रान्ति गर्नेहरू पनि अब ड्राइभिङ सिटमा छैनन् । उनीहरूलाई सहयोग गर्नेको लगाम फुस्किसकेको छ । पछाडिको बाटो बिराइसकियो । अगाडिको बाटो स्पष्ट छैन ।

संविधान जारी गर्न अब पाँच दिनमात्र बाँकी छ । यो घर्कंदै गएको अवधिमा अन्तिम प्रयासहरू गर्दै बाँकी रहेका विवादित विषयहरूलाई टुंगो लगाउने अहिलेको बाध्यताको मुखमा सम्पूर्ण मुलुकमा जातीय आन्दोलन सुरु भएको छ । प्रजातन्त्र र मानवअधिकारका आधारमा मुलुकको सुख र शान्तिको प्रस्थानबिन्दु खोज्ने प्रयासहरू विफल हुँदैछन् । अखण्ड सुदूरपश्चिम र थारूवानको आन्दोलन हुँदै अब जनजातिहरूको आन्दोलन सुरु भएको छ । सबैको आआफ्ना एजेन्डा छन्, तर सबैलाई स्वीकृत हुनसक्ने संविधान निर्माणको एजेन्डा कसैको देखिएको छैन । दबाबको राजनीतिको निश्चय नै महत्व हुन्छ । तथापि निकास खोज्ने राजनीतिप्रति कटिबद्धता नहुँदा संविधान जारी हुने वातावरण बन्नसकेको छैन । एउटा संक्षिप्त आकारको तर मूल विषयवस्तुलाई नपन्छाइकन वर्तमान समस्यालाई सम्बोधन गर्नेगरी कुनै ‘पेमवर्क कन्स्िटट्युसन’ जारी गर्न सकिन्छ । त्यसपछिको समयमा पुनः राजनीतिक नेतृत्व तथा आन्दोलनकारी घटकहरूले सोचेर अघि बढ्ने अवसर प्राप्त गर्ने नै छन् । तर यसतर्फ सोच्न नसकिएको परिस्थिति छ ।

निणर्ायक हुनुपर्ने नेतृत्व वर्ग निणर्ायक हुन नसक्नुको पीडा आफ्नो ठाउँमा छँदैछ । वार्ता गर्ने तरिकामा पनि एउटा गम्भीर दोष देखिएको छ । जसले बन्द, हडताल गर्नसकेको छ, ऊसंगमात्र वार्ता गर्ने होइन । वार्ता सबै कन्स्िटट्युएन्सीसँग साथै बसेर गर्नुपर्छ । त्यस्तो वार्ताचाहिँ राजनीतिक वार्ता हुनसक्छ । आम जनतालाई दुःख दिएपछि मात्र वार्ताका लागि बोलाउने प्रचलनको अन्त्य हुनु जरुरी छ ।

हिजोदेखि काठमाडौको राजनीतिक वृत्तमा अन्तरिम संविधानको धारा १४३ को संकटकालीन अधिकार प्रयोग गर्दै धारा ६४ बमोजिम ६ महिनाका लागि संविधान निर्माण गर्ने अतिरिक्त समय प्राप्त गर्नेतर्फ खासखुस सुरु भइसकेको देखिन्छ । सर्वोच्च अदालतको गत हिउँदमा आएको फैसलाले संविधान संशोधनको माध्यमबाट संविधानसभाको संविधान लेखनको कार्यावधि पुनः बढाउने वैधानिक बाटो बन्द गरिदिएको परिस्थितिमा यात ‘पेमवर्क कन्स्िटट्युसन’ जारी गरी अघि बढ्न सकिन्छ या संविधानको सरल व्याख्यालाई बंग्याएर संकटकाल लगाई संविधान निर्माणका लागि ६ महिनासम्मको अतिरिक्त अवधि प्राप्त गर्न सकिन्छ भन्ने यथार्थ राजनीति गर्नेले बुझेको देखिन्छ । तर यस अवस्थामा पहिलो तथा वैधानिक विकल्पलाई महत्त्व नदिई दोस्रो तर समग्रमा जटिल विकल्पतर्फ सोचिनुको असल नियत देखिनसकेको छैन । यसै पनि त्यसरी छल गरी थप गरिएको अतिरिक्त कार्यावधिमा संविधान लेखनले पूर्णता पाउँछ भन्ने कुरा सुनिश्चित छैन ।

संविधानवाद छलकपटको सिद्धान्त होइन । ‘संकटकाल लगाइदिऊन् त’ भनी विवेकविहीन तरिकाले संकटकाल लगाउनु संविधानवादमा आधारित प्रक्रिया होइन । कपोलकल्पित आधारमा मात्र संकटकाल लगाउने गुञ्जायस अन्तरिम संविधानले कसैलाई दिएको छैन । धारा १४३ अन्तर्गत संकटकाल लगाउनका लागि नेपाल राज्यको सार्वभौमसत्ता, अखण्डता वा यसको कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृङ्खलताको विद्यमानता हुनुपर्ने किटानी व्यवस्था छ । अहिलेको परिस्थिति राजनीतिक रूपमा जटिल भए पनि यो संकटकाल लगाएर अघि बढ्नुपर्ने स्थिति होइन । संविधान निर्माणमा रहेका जटिलताको सम्बोधन गर्न अहिलेको राजनीतिक नेतृत्वले जिम्मेवारी बोध गरेर मात्र पुग्दैन, संघर्षरत सबै पक्षलाई स्वीकार्य हुनेगरी वैकल्पिक व्यवस्थाहरू पनि सोच्नुपर्ने हुन्छ । त्यसो गर्न नसकेको परिस्थितिमा आफ्नो असक्षमतालाई लुकाउन संकटकाल घोषणा गरी आमजनताको मौलिक अधिकार एवम् उनीहरूको शान्ति वा अमनचैन खोस्ने कुनै न्यायोचित आधार देखिंदैन ।

अहिले जुन रूपमा बन्दको राजनीति र प्रेस वा मिडियालाई थर्काएर परिवर्तन गराउन खोजिंदैछ, त्यसैको पृष्ठभूमिमा राष्ट्रिय सरकारको गठनका प्रयासहरू र अग्रभूमिमा संकटकालका उद्देश्य राखिएको त होइन भनी शंका गर्नुपर्ने परिस्थिति प्रष्ट हँुदैछ । लगभग यस्तै परिस्थितिमा रुसमा प्रजातन्त्र स्थापना गर्छु भनी बोल्सेभिकका महान नेता भ्लादिमिर लेनिनको नेतृृत्वमा सम्पन्न भएको रुसी क्रान्ति प्रजातन्त्रवादी एवम् सर्वसाधारण जनतालाई क्रूरतापूर्वक दमन गरी अधिनायकवादी व्यवस्था लागु गर्न प्रयोग भएको थियो ।

स्मरणीय छ, करिब ९५ वर्ष पहिले नोभेम्बर १९१७ मा तत्कालीन रुसमा एक महिनै लगाएर संविधान निर्माण गर्न संविधानसभाको राष्ट्रव्यापी चुनाव गरिएको थियो । यस चुनावमा पहिलो विश्वयुद्धको पृष्ठभूमिमा क्रान्ति गरेर आएको शक्ति बोल्सेभिकहरूले २५ प्रतिशतभन्दा कम स्थानमात्र पाए । एकमुष्ट ४० प्रतिशत स्थान समाजवादीहरूले लगे । उनीहरू बोल्सेभिकहरूप्रति सहानुभूति राख्थे, तर उनीहरूको अतिवाद बोक्न भने तयार थिएनन् । त्यस्तै संवैधानिक प्रजातन्त्रवादीहरूको संगठन ‘क्याडेट्स’को पनि संविधानसभामा बलियो उपस्थिति देखियो । लेनिनलाई लाग्यो, क्रान्तिका दुश्मनहरू बलिया रहेछन् । पहिले उनले क्याडेटहरूलाई गैरकानुनी घोषणा गरे । त्यसपछि संविधानसभाको विधायिकी अधिकार उनले नेतृत्व गरेको सरकारलाई हस्तान्तरण गर्न थर्काए । संविधानसभाका नवनिर्वाचित बहुमतले यो कर्म गर्न रुचाएको देखिएन । त्यसैले संविधानसभाको बैठक बोलाउनुको साटो लेनिन आफ्ना सहयोगी फेलिक्स दजेसिन्स्कीको नेतृत्वमा सेक्रेट पुलिसको स्थापनातर्फ लागे ।

यस्तो अवस्थामा लेनिन र बोल्सेभिकहरूको महत्त्वाकांक्षा र प्रजातान्त्रिक निष्ठाबारे संविधानसभाका इतर पक्षहरूलाई शंका हुनु स्वाभाविक थियो । जनवरी ५, १९१८ मा संविधानसभाको पहिलो बैठक बस्यो । लेनिनले आफ्नो सेनाको घेराबन्दीमा बन्दुक तेस्र्याउँदै त्यहाँ छलफल गराए । बन्दुक देखेपछि लेनिनको विरुद्धमा कसैले बोल्ने हिम्मत गरेन, तर पनि संविधानसभा बोल्सेभिकको ‘रबर स्ट्याम्प’ बन्न चाहेन । त्यो दिनका लागि बैठक स्थगन गरियो । लेनिन अँध्यारो मुख लगाएर फर्किए । त्यसपछि भोलिपल्ट अर्को बैठक बस्नुभन्दा अघि नै उनले गैरकानुनी रूपमा संविधानसभा भंग गरे । उनको अनुहार अब उज्यालो भइसकेको थियो । त्यहाँ सबै सभासदलाई अमेरिकी डलरमा बिकेको आरोप लगाइयो । फुर्तीका साथ संविधानसभाको ठाउँमा ‘थर्ड कांग्रेस अफ सोभियत’को चयन गरियो । यसमा लेनिनले ९४ प्रतिशत सदस्यहरू बोल्सेभिक क्रान्तिकारीहरूबाटै राखे । केही उनका समर्थकहरू पनि थिए । अब उनलाई क्रान्तिको बाँकी एजेन्डा लागू गर्न हतोत्साहित गर्ने कुनै सभा थिएन । लेनिन स्वेच्छाचारी बाटो हिंडिसकेका थिए ।

यस नयाँ निकायले लेनिनको चाहनाबमोजिम, अन्तरिमकालका लागि स्थापित उनको नेतृत्वको ‘प्रोभिजनल’ -तात्कालिक) सरकारबाट ‘प्रोभिजनल’ भन्ने शब्द हटाएर सदाका लागि लेनिन र बोल्सेभिकलाई रुसको चिरस्थायी शासकमा परिवर्तन गर्‍यो । अब प्रजातन्त्र भन्ने ठाउँमा लेनिनले क्रान्तिकारी अधिनायकवाद वा श्रमिक वर्गको अधिनायकत्वजस्ता शब्दजालको प्रयोग गर्न थाले । उनको पार्टीले प्रजातन्त्रको कुरा गर्नेहरूलाई प्रतिक्रान्तिकारी वा देशद्रोही बनाउन पुग्यो । संविधानसभा भंग गरेको चार महिना नबित्दै त्यसै वर्षको मेमा बोल्सेभिकहरूले आफ्नो पार्टीप्रति समर्पित सेनाको भर्ती सुरु गरे । आफ्ना विरोधीहरूलाई समाप्त गर्न सिक्रेट पुलिसहरूको प्रशस्त प्रयोग गरियो । यसपछि जून-जुलाईमा गृहयुद्ध रचेर उनले बाँकी विरोधीहरू सिध्याए । आफूलाई बलियो बनाउने बित्तिकै अर्को चार महिना बित्दा-नबित्दै सेप्टेम्बरदेखि रुसमा ‘रेडटेरर’को सुरुवात भयो । सुरुवातमा लेनिनको क्रान्तिको कुनै अभीष्ट थिएन, तर उनको संगठन तथा प्रक्रियाहरूले न रुसलाई प्रजातन्त्र दियो, नत उनले आफूलाई क्रान्तिकारीका रूपमा मर्यादित बनाउनसके । आज अक्टोबर क्रान्तिको नाम बद्नाम क्रान्तिको अग्रपंक्तिमा अंकित छ ।

नेपालको अहिलेको परिस्थितिमा संकटकालले कुनै ओखतीको रूपमा काम गर्ने सम्भावना छैन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान निर्माण वा राजनीतिक समस्याको ओखती धारा १४३ मा खोज्ने होइन । त्यसबाट मुलुक अतिरिक्त द्वन्द्वमा फस्न जाने र उहाँ जनताको पकडबाट बाहिर जाने तथा स्वेच्छाचारी शासकका रूपमा रूपान्तरण हुनजाने अतिरिक्त खतराहरू थपिन जानेछ ।

बलमिचाइँ गरे पनि संकटकाल टिकाउन गाह्रो हुन्छ । यसमा नेपालको आफ्नै अनुभव छ । मागहरू राजनीतिक प्रकारका छन् भने तिनलाई राजनीतिक रूपमै हल गर्नुपर्ने हुन्छ । यसै पनि संकटकालको घोषणा गर्ने अख्तियार पाएका राष्ट्रपति महोदयले कृत्रिम आधारमा आएको संकटकालको सिफारिसलाई घोषणा गरी प्रधानमन्त्रीलाई अनुगृहित गर्नुपर्ने कुनै कारण छैन । मुलुकमा हाल देखिएका आपराधिक गतिविधि र उच्छृंखलता ‘ल एन्ड अर्डर’का समस्या हुन् । नागरिक सुरक्षा निकायहरू नै तिनलाई नियन्त्रणमा लिन सक्षम छन् । बद्नियतका आधारमा संकटकालको सिफारिस आएमा त्यस्तो घोषणा राष्ट्राध्यक्षबाट हुन नसक्ने कुरामा समयमै सरकारलाई सचेत गराउनु संविधानको संरक्षकको भूमिका पाएका राष्ट्रपतिको मर्यादा अन्तर्गतको जिम्मेवारी पनि हो । यसै पनि कुनै पनि संकटकालको संवैधानिकतालाई सर्वोच्च अदालतले परीक्षण गर्नसक्ने व्यवस्था भएकाले यो बाटोबाट सरकार नहिंड्नु नै राम्रो हो । यसै पनि मुलुक गहिरो भासमा भासिँदैछ । संकटकालको तृष्णाबाट भन्दा पनि इमानदार प्रयासबाट यसलाई जोगाउनु सबैको कर्तव्य हो ।

लेखक संवैधानिक कानुनका ज्ञाता हुन् ।