“यहाँ आएर दर्शनका केही किताबहरु पढ्ने मौका पाइयो । उपनिषद् पनि केही पढें । इतिहासको पनि साधारण तौरले अध्ययन गर्न पाएँ । यी सब कारणहरुले हुनसक्छ आस्तिकवाद र नास्तिकवाद विश्वास र अविश्वासको द्धारमा म अहिले उभिएको छु (एग्नोस्टिसिज्म) अज्ञेयवादको द्विविधामा ।”(२५/७/१९६३)
“भारतीय र पश्चिमी दार्शनिकहरुको विवेचना गर्दा जुन कुराले यी दुवै पक्षलाई छुट्याउँछन् । त्यो आस्तिकता (आध्यात्मिकता) र नास्तिकता (भौतिकता) को पारस्परिक विरोधी विचारधाराले होइन कि बस उनीहरुको समस्याप्रतिको (एप्रोच) प्रवेशपथको भिन्नता हो । भारतीय दार्शनकिहरुको तर्क प्रणाली (इण्ट्युस्नल अन्तर्बोधिक अन्तरज्ञानी र डिडक्सन) वियोजक, अवरोह रहस्यानुभूतिमूलक, तथा पाश्चात्य दार्शनिकहरुको तरीका बौद्धिक (इण्डक्टिभ) आरोहपद्धतीय र विश्लेषणमूलक छन् । अर्को भिन्नताको चर्चा प्रोफेसर हिरियाणाले गरेको छ (आउट्लाइन अफ ईण्डियन फिलोसफी) – भारतीय दर्शनको लक्ष्य तर्कोपरि छ । (२५/७/१९६३)
‘यस प्रकारको दृष्टिकोणको विशेषता यस प्रकारले हुन गएको छ कि भारतमा दर्शनको प्रादुर्भाव आश्चर्य (विस्मय) र कौतूहलमा भएन जस्तो कि पश्चिममा भयो । यसको प्रादुर्भाव जीवनको नैतिक र दैहिक अनिष्ठता (असत इभिल)को उपस्थितिबाट उत्पन्न भएको व्यावहारिक आवश्यकताको दबाबमा हुन गयो । यो अनिष्ठतालाई कसरी निर्मूल पार्ने भन्ने समस्याले प्राचीन भारतीयहरुलाई चिन्तित पार्यो । मोक्ष त्यस्तो स्थितिको प्रतिनिधित्व गर्छ जसमा– जुनसुकै भारतीय पद्धत्तिमा पनि कुनै अर्थमा पनि, त्यो निर्मूल भएको हुन्छ । दर्शनीय प्रयास जीवनका व्याधिहरुको निराकरणट्टि मुख्यतः लक्षित भएको छ, र आध्यात्मिक मेटाफ़िजिकल प्रश्नहरुको विचार–विवेचना पछि स्वतः आउँदै गएका छन् ।” (२५/७/१९६३)
“पश्चिमी दार्शनिक भन्नाले ग्रीकको दार्शनिकलाई लक्ष्य गरिन्छ । उनीहरुको एप्रोच त्यसो हुनाले (किनकी उनीहरुको दर्शनको आधार कौतूहल भएकोले) (न्युट्रल) निरपेक्ष र वैज्ञानिक छ । भारतीय दार्शनिकहरुले प्रारम्भ नै (नैतिक प्रश्नलाई लिएर गरेकोले) जीवनको कुरुपतालाई मानेर गरेकोले उनीहरुको नीति तटस्थताको नीति रहेन । पापको भावनाले उनीहरुलाई छाड्न सकेन । यसकारणले नै होला उनीहरु को प्रतिबद्धता कुनै पूर्वस्थापनाका साथ अगाडि बढ्छन् जुन वैज्ञानिक विचार पद्धति होइन । पूर्वस्थापना ‘अथोरिटेरियन’ हुन्छ ।” (२५/७/१९६३)