“नेपाल किन बन्न सकेन ?” – डा. विपिन अधिकारी (२०७१ असार ३२, कान्तिपुर)

वरिष्ठ पत्रकार सुशील शर्माले सुरु गरेको ‘नेपाल किन बन्न सकेन ?’ वा के गर्दा नेपाल बन्ला त ? भन्ने बहसको एउटा पाटोलाई यो लेखमा छुने प्रयास गरिँदैछ । मूलतः कुनै पनि देश आफैं बन्दैन । देश बनाएरमात्र बन्ने हो । प्रत्येक देशको राजनीतिक सिमाना नेपालका पृथ्वीनारायण शाह, जर्मनीका अट्टो भान विस्मार्क वा इटालीका जोसेप गरिबाल्डीजस्ता सुरवीर तथा महत्त्वाकांक्षी व्यक्तिले कोरेका हुन्छन् । प्रत्येक सफल देशको राजनीतिक विकासमा स्पेनकी महारानी इसाबेला प्रथम तथा फर्डिनान्ड द्वितीय, अमेरिकाका जर्ज वासिङ्टन वा अब्राहम लिंकन, बेलायतकी महारानी भिक्टोरिया तथा विन्स्टन चर्चिल वा भारतका जवाहरलाल नेहरूजस्ता व्यक्तिहरूको योगदान हुन्छ । अर्थतन्त्रको विकासका लागि हरेक सफल देशमा चीनका देङ सिआओपिङ, सिंगापुरका ली क्वाङ यु तथा मलेसियाका महाथीर मोहम्मदजस्ता व्यक्तिहरूको लगानी हुन्छ । सफलतालाई दीर्घकालमा मानवीय मूल्यसहितको समृद्धितर्फ लैजाने हो भने त्यस्ता देशमा महात्मा गान्धी, मार्टिन लुथर, नेल्सन मन्डेलाजस्ता व्यक्तिहरूको मेहनत चाहिन्छ । नेपाल किन बन्न सकेन भने नेपाललाई दीर्घकालीन सोचअन्तर्गत बनाउने उद्देश्य, कटिबद्धता, जाँगर र अन्ततः चरित्र भएको त्यस प्रकारको नेतृत्व वा नेतृत्व समूह विदेशी षड्यन्त्रअन्तर्गत राजनीतिमा टिक्न दिइएन ।

किन टिक्न दिइएन ? जिसस जन्मनु ६८ वर्षअघि इजिप्टको ‘फेरोह’ राजकुलमा जन्मिएकी रोमकी तत्कालीन विश्व सुन्दरी क्लिओपेट्रालाई उदाहरण बनाई नेपालको परिस्थितिसँग दाँज्न सकिन्छ । उनको सुन्दरता उनका लागिमात्र नभई त्यसबेलाका शिखर सभ्यता मानिएका सम्पूर्ण इजिप्ट, रोम र ग्रीसको पतनको कारण हुन पुग्यो । क्षमता, शासकीय महत्त्वाकांक्षा र सुन्दरता क्लिओपेट्राका रूपमा एकै ठाउँमा नगाँजिएको भए परिस्थिति के हुन्थ्यो होला ? भन्ने सम्बन्धमा इतिहासकार ब्लेज पास्कलको भनाइ थियो, ‘क्लिओपेट्राको नाक अलिकति सानो भइदिएको भए (भविष्यको) संसारको सम्पूर्ण अनुहार अर्कै हुन्थ्यो कि ?’ यदि नाकको आकार अलिकति सानो वा ठूलो भइदिएको भए हुन सक्छ, क्लिओपेट्राको रूप त्यति सुन्दर हुन्थेन जति उनी वास्तवमा थिइन् । उत्पात सुन्दरी नहुँदी हुन् त शक्तिको उन्माद भएका वा तत्कालीन राजनीतिमा आधिपत्य हुनेहरू क्लिओपेट्राप्रति आशक्त हुने थिएनन् । न त उनको साम्राज्यको महत्त्वाकांक्षा बाक्लिएर जाने थियो । जुलियस सिजर वा मार्क एन्टोनीजस्ता रोमन साम्राज्यका लडाकुहरूले उनलाई लिएर काटाकाट गर्नुपर्ने थिएन । न त उनका कारण इजिप्ट र ग्रीसबीचको लडाइँ चर्किने थियो । यो लडाइँका कारण इजिप्टसेली तथा रोमन सभ्यता सिध्याउने गरी जुन गृहयुद्ध भयो त्यो सम्भवतः टथ्र्यो होला । यसको प्रभाव स्वरूप संसारको सम्पूर्ण अनुहार अलग किसिमले विकास हुन्थ्यो कि ?

नेपाल किन बन्न सकेन ? भन्ने प्रश्नको चर्चा गर्नुपरेको भए ब्लेज पास्कलले के लेख्थे होलान् ?

नेपालको समस्या पनि क्षमता, शासकीय महत्त्वाकांक्षा र सुन्दरता होइन र ? क्लिओपेट्राको व्यक्तित्वमा नाकको आकार जति महत्त्वपूर्ण मानियो त्यति नै महत्त्वपूर्ण यस क्षेत्रको भूराजनीतिक अनुहारमा नेपालको अवस्थिति छ । विश्वको सबैभन्दा उच्च स्थानमा रहेको र सामरिक दृष्टिकोणले अभूतपूर्व रूपमा महत्त्वपूर्ण नेपाल आफैं पनि साम्राज्यउन्मुख रहँदै आएको हो । सैन्य महत्त्वाकांक्षा भएको जुनसुकै मुलुकका लागि पनि यो रणनीतिक क्षेत्र हो । हिमालयको सामरिक प्रयोग अद्वितीय रूपमा हुने कुरा ‘स्ट्राटफर’ जस्ता संस्थाको निष्कर्ष नै छ । अवस्थितिकै कारण यो देश शत्रु पक्षसँग भिड्दै यस क्षेत्रको सबैभन्दा पुरानो देशका रूपमा सुरक्षित रहँदै आएको छ । नेपालीले युद्ध कौशलमा प्रतिस्पर्धात्मक योग्यता प्राप्त गर्नुको एउटा कारण यो पनि हो । यस्तो अवस्थामा आ-आफ्नो सभ्यताका धनी एवम् एकअर्कासँग शत्रुवत् लडेका र भिडेका नेपालका दुई ठूला छिमेकी मुलुकका लागि नेपालको सामरिक प्रयोग गर्ने आकर्षण अरूभन्दा कम हुने कुरो भएन । विदेशीको गुलामीलाई अस्वीकार गर्ने ऐतिहासिक संस्कृतिले स्वतन्त्र नेपालीलाई स्वाभिमानी पनि बनाएको छ र महत्त्वाकांक्षी पनि । कतिपयका लागि यो प्रवृत्ति खतरनाक देखिएको छ । यी सबै कारणबाट नेपाल असुरक्षित रहँदै आएको छ ।

आजको जमानामा सक्रिय युद्धबाट नेपाल ‘प्राप्त’ हुन सक्दैन । किनकि यो प्रक्रिया सुरु हुनासाथ नेपालका दुवै छिमेकी एकअर्कासँग भिड्ने छन् । यसबाट सम्पूर्ण संसार गठबन्धनमा लाग्ने खतरा साथै तेस्रो विश्वयुद्धको सुरुवात हुनेछ । नेपाललाई वशीकरण गर्नका लागि लडिएको युद्धलाई ‘प्रोक्सी वार’ वा छद्म युद्ध भनिन्छ । यहाँ एन्टोनियो वा जुलियस सिजर देखिँदैनन् । डा. बाबुराम भट्टराई र प्रचण्ड देखिन्छन् । संसारले यस्तो युद्ध धेरै खपेको छ । स्पेनको गृहयुद्ध, अफगानिस्तान, अंगोला, कोरिया, भियतनाम, मध्यपूर्व तथा ल्याटिन अमेरिकामा भएका शीतयुद्धकालीन लगभग सबै युद्ध छद्म युद्ध नै हुन् । कंगोको दोस्रो गृहयुद्ध हालैको एउटा बीभत्स छद्म युद्ध हो । भारत र पाकिस्तानबीचको सन् १९८९ को कारगिल युद्ध पनि छद्म युद्धकै रूपमा लडिएको थियो । करिब तीन वर्ष अघिदेखि मध्य एसियाली मुलुक सिरियामा प्रजातन्त्र, मानव अधिकारलगायतका नाममा खेलिएको युद्धको नायक कुन मुलुक हो भन्ने लुकेको छैन ।

आइरिस रिपब्लिकन आर्मी (आईआरए) ले ‘प्रोक्सी बम्ब क्याम्पेन’ नै चलाएको प्रमाणित भइसकेको छ । बीबीसी वल्र्ड हेर्ने गरेकालाई इराक, अफगानिस्तान, बोस्निया र चेचेनियाका छद्म मिलिसियाहरू कोबाट चलेका थिए भनी सिकाइराख्नु पर्दैन । सन् १९७८ देखि २००८ सम्म ‘अक्जिलिअरी इरेगुलर फोर्सेस’ भनेर कसरी शासन चलाइएको थियो त्यो पनि बुझिराखेकै कुरा हो । निजी सेनासमेतको प्रयोगबाट भएको गुप्त परिचालन (कोबर्ट अपरेसन) अब त दस्तावेजहरूमा आइसकेका छन् । अहिले पनि ट्युनिसियाबाट सुरु भएको ‘अरब स्पि्रङ’ भनिएको छद्म युद्ध र रत्नपार्कबाट सुरु भएको ‘नेपाल स्पि्रङ’ कहाँ पुगेर टुंगिँदैछ, बुझिँदैछ । गर्दन स्थानीयको नै गएको थियो तर जित-हार अर्काको भएको थियो । यसबाट मुलुकको राजनीतिमा तेस्रो पक्ष खडा गरिएको छ ।

नेपाल बनाउन नसकिनुको सबैभन्दा ठूलो कारण यो गुप्त कारबाही नै हो । यो कारबाहीको पृष्ठभूमिमा राष्ट्रिय सुरक्षाको नीतिका आधारमा नेपालमा राजनीति गर्ने स्व. विश्वेश्वरप्रसाद कोइराला तथा राजा वीरेन्द्र अन्तिम नेपालीहरू हुन् । तर २०४७ सालको परिवर्तनपछिको पुस्ताहरूले जुन धरातलको बलमा राजनीति गरे, त्यस धरातलका आधारमा कोइराला वा वीरेन्द्रका क्षमता देखाउन सकेनन् । हेर्दाहेर्दै नेपाल देशको स्वाधीनतालाई भरथेग गर्ने अन्तर्राष्ट्रिय सीमा, राहदानी व्यवस्था, आन्तरिक सुरक्षा एवम् आधारभूत इन्धन आपूर्ति, पारवहन र खाद्य सुरक्षाजस्ता विषयमा अब नेपाल सरकारको कुनै नीति एवम् निर्णय गर्ने क्षमता छैन । सुरक्षाको अवधारणा बनाएर हिँडेका अति असुरक्षित सिंगापुर, इजरायल, बोत्स्वाना, मौरिससजस्ता मुलुकहरू हामीले हेर्दाहेर्दै सुरक्षित भइसकेका छन् । नेपालमा भने कोइराला तथा वीरेन्द्र दुवैको धार राजनीतिबाट पलायन भइसकेको छ । उनीहरूकै नियति कस्तो रह्यो ? सम्झाइराख्नु जरुरी नहोला ।

प्रतिस्पर्धा गर्न क्षमता र आत्मबल पनि चाहिन्छ । प्रधानमन्त्री जंगबहादुर राणालाई लरेन्स ओलिफान्टले कोट्याई-कोट्याई नेपाल- अंग्रेज युद्धका बारेमा उनको धारणा जान्न खोज्दा उनले भनेका थिए-

‘इफ अ क्याट इज पुस्ट इन्टु अ कर्नर इट विल फ्लाई एट एन इलफेन्ट, बट इट विल अलवेज ट्राई टु किप आउट अफ द कर्नर एज लङ एज पसिबल ।’ हो, बिरालोलाई कुना पारेर मार्न खोजियो भने त्यसले आफ्नो प्रतिद्वन्द्वी हात्ती नै भए पनि आक्रमण गर्नुपर्ने हुन्छ, तर सकेसम्म बिरालो त्यस्तो धरापलाई छलेरै भाग्न खोज्छ । उसलाई कस्तो लडाइँ लड्नु हुँदैन भन्ने थाहा हुन्छ । नेपालको लोकतान्त्रिक नेतृत्वले निरक्षर जंगबहादुर जत्तिको राष्ट्रप्रेम कहिल्यै देखाउन सकेन । सिंगापुरका वकिल ली क्यान युले सिंगापुरलाई मूलभूमि चीन एवम् साम्राज्यवादी बेलायत तथा संयुक्त राज्य अमेरिकाबाट बचाएर कसरी यति समृद्धशाली मुलुक बनाए, हामीले देखेकै हो । मलेसियाका महाथीर बिन मोहम्मद चिकित्सक भए पनि उनले आफ्नो अविकसित मुलुकलाई छोटो समयमा चीनलगायतका छिमेकीहरूबाट स्वतन्त्र राखी विकसित बनाए, त्यो पनि ताजै कुरा हो । आजका मितिमा ब्राजिलकी राष्ट्रपति डिल्मा रुसोफ र टर्कीका राष्ट्रपति अब्दुल्लाह गुल कति बलिया छिमेकीहरूबीच रहेर चलाखीसाथ देशको विकास गरिरहेका छन् । प्रस्टै छ ।

त्यस्तै श्रीलंकालाई सात वर्षदेखि चलाएका महेन्द्रा राजपाक्षे पाखुराको मांसपेशी बलियो भएका कारणले श्रीलंका बनाउन सफल भएका होइनन् । सात वर्षदेखि श्रीलंकामा आइरहेको आर्थिक परिवर्तन उनको राष्ट्रवादी अठोटबिना सम्भव थिएन । सत्ता छाडेका दिन उनलाई दर्जनौं फौजदारी एवम् मानव अधिकार उल्लंघनका मुद्दाहरू लाग्न सक्छ । गरुँ भन्ने चाहना नभई कसैले पनि गर्न सक्दैन । गर्दा असफल पनि भइन्छ । जस्तो- १८५७ ताका भएको ‘सैनिक विद्रोह’ मा झाँसी राज्यकी रानी लक्ष्मीबाईले पिठ्यूँमा नानी बोकी बेलायतीविरुद्ध सैन्य संघर्ष गरिन् । घायल भएर पक्रिइने अवस्था आएपछि एउटा जोगीको सहयोग लिई आत्मदाह गरी बिदा भइन् । बाँचिएको अवस्थामा उनीमाथि बेलायतीको युद्ध अपराधको कारबाही हुन सक्ने उनको बुझाइ थियो । हारे पनि आदर्शका कुराले देश बनाइरहेको हुन्छ । नेपालमा तिनको सालिक तोडिन्छ, अवशेष गाडिन्छ ।

इतिहास वा साहित्यमा ब्लेज पास्कलले प्रयोग गरेजस्तो उपमाको महत्त्व हुन्छ । तर ‘रियलपोलिटिक’ अलि गम्भीर कुरा हो । पास्कलले क्लिओपेट्राको सुन्दरतालाई इजिप्ट वा रोमको बिजोगमा जति महत्त्व दिए पनि इतिहासमा भएका युद्ध वा छद्म युद्धहरूलाई हेर्‍यौं भने कुनै पनि युद्धको कारण यति सजिलो हुँदैन । धनसम्पत्ति, बन्द व्यापार तथा प्राकृतिक एवं मानव निर्मित स्रोत र साधन प्रत्येक लडाइँको पृष्ठभूमिमा स्पष्ट देख्न सकिन्छ ।

नेपाल एउटा सुन्दर देशमात्र होइन । अपार जलस्रोतको निरन्तर नवीकरणीय ऊर्जाको भण्डार पनि हो । आज जसरी पेट्रोलको महत्त्व छ, धेरै चाँडो त्यति नै महत्त्व हिमालबाट बगिरहेका ‘फ्रेस वाटर’ को पनि हुनेछ । यी अथाह पानीको भाउ भविष्यमा अकल्पनीय छ । नेपालको हिमवत् खण्ड संसारको सबैभन्दा महँगो खनिज युरेनियमको भण्डार प्रमाणित हुँदैछ । स्वच्छ हावापानी, राम्रो मौसम, उब्जाउ भूमि, अपार पर्यटन सम्भावना, धार्मिक सम्पदा र दुवै छेउको मिलाउँदा लगभग साढे दुई अरब जनसंख्याको बजार एकसाथ संसारका कुनै मुलुकलाई सम्भव छैन ।

नेपाल बनाउने भन्ने विषय प्रजातन्त्र र राष्ट्रवादसँग गाँजिएर आउने विषय हो । जबसम्म नेपाल र नेपाली आफ्नो धर्तीमा सुरक्षित रहँदैनन्, नेपाल बनाउने प्रक्रिया सुरु हुन सक्दैन । छली कुरा नगरौं । नेपालमा जे हुँदैछ, यसबाट छिमेक बन्दैछ । राष्ट्रिय सुरक्षाका लागि राष्ट्रिय मेलमिलाप जति जरुरी छ, त्यति नै नेपालको आत्मनिर्णयको क्षमता पनि जरुरी छ । आधारभूत असुरक्षामा बाँचेको देशले देश बनाउने नीति अख्तियार गर्न सक्दैन । समाधानको प्रयास यो कित्ताबाट सुरु हुनुपर्छ ।

यहाँ स्व. विश्वेश्वरप्रसाद कोइरालाको एउटा प्रसंग जोड्नु जरुरी छ । उनी असाधारण थिए । साहित्यमा सार्त्रको ‘थ्री प्लेज’ वा ‘इन क्यामेरा’, अल्बर्ट कामुको ‘मिथ अफ सिसिफस’ र ‘एक्जाइल द किङ्स’, फ्रयान्ज काफ्काको ‘दि क्यासल’, दोस्तोभस्कीको ‘डायरी अफ राइटर्स’ र डुरान्ट्सको ‘हिस्ट्री अफ फिलोसफी’ अत्यन्त गाह्रो तर महत्त्वपूर्ण पुस्तकहरू हुन् । साहित्यमा रुचि राख्ने सबैले यिनलाई पढ्न र बुझ्न सक्दैनन् । सुन्दरीजल जेलमा रहँदा कोइरालाको एउटा चिठीमा कसैले पठाइदिएका यी पुस्तकहरू अलि बढी समय आफूसँग राख्ने अनुमति मागिएको देखिन्छ । यो स्तरको साहित्य तथा दर्शन बुझ्न सक्ने कोइरालाले आफ्नो मुलुकका लागि जस्तो राष्ट्रिय मेलमिलाप सोचेका थिए, त्यसैमाथि आक्रमण गरी अहिलेको राजनीतिक संक्रमणकाल टुंग्याउन खोजिँदैछ । यसबाट नेपाल मूलभूत रूपमा किन बन्न सकेन भन्ने कुरा प्रस्ट हुँदैन र ?

अधिकारी संवैधानिक कानुनका विज्ञ हुन् ।

प्रकाशित मिति: २०७१ असार ३२, कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *