“स्त्री–पुरुषको सम्बन्धका बारेमा”, विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

माननीय अध्यक्षज्यू,

अहिले सभामा छलफल भइरहेको विषयमा केही विचार व्यक्त गर्न म पनि उभिएको छ । जहाँसम्म स्त्री र पुरुषको सम्बन्ध… । यो मेरो व्यक्तिगत विचार हो । तर, स्त्री–पुरुषको सम्बन्धलाई नियन्त्रणमा राख्ने उपायको प्रश्न आएको छ , विवाह, पारपाचुके तथा विवाहसम्बन्धी सबै व्यवस्थाहरुको मुख्य लक्ष्य यस सम्बन्धलाई कसरी नियमित र नियन्त्रणमा राख्ने भन्ने हो । हामीले त्यस दृष्टिबाट विचार गर्नुपर्छ । यसलाई सामाजिक र जैविक दुवै दृष्टिबाट विचार गर्नुपर्छ । सामान्य जैविक नियमबाट स्त्री र पुरुषको सम्बन्धलाई रोक्न प्रयत्न गर्नका निमित्त सामाजिक व्यवस्थालाई कुन आधार दिने भन्ने विषयमा म केवल एउटा दार्शनिक दृष्टिकोण मात्र अगाडि राख्दछु । किनभने यहाँ यस विषयमा व्यावहारिक दृष्टिकोणबाट त धेरै छलफल भइसकेको छ ।

अहिले भर्खरै एकजना माननीय महासभासद्ले स्त्री–पुरुषको सम्बन्धलाई एउटा मधुर सम्बन्ध भन्नुभयो । मलाई त्यो सम्बन्ध मधुर छजस्तो लागेन । मलाई स्त्री–पुरुषको सम्बन्ध जङ्गली जनावरको जस्तो नङ्ग्रा र दातले चिथर्ने र टोक्ने सम्बन्ध छजस्तो लाग्छ । स्त्री र पुरुषको सम्बन्त्रलाई कसैले जैविक कारणले गर्दा भ्रममा परेर, कसैले भर्खर विवाह गरेका कारण भावनामा आएर मधुर सम्बन्ध हो भन्नु मलाई वैज्ञानिक विचारजस्तो लागेन ।

मानवजातिको जीवनको इतिहास अध्ययन ग¥यौँ भने लोग्नेमानिस र स्वास्नीमानिसबीच एउटा ठूलो जैविक द्वन्द्व पाउँछौँ । दार्शनिक दृष्टिबाट जीवनलाई विचार गर्दा त्यसमा यो द्वन्द्व निहित भएको देख्छौँ । मानिस जब सृष्टि भए होलान् र त्यसपछि अहिलेसम्म मानिसको उन्नति हुँदै आएको छ । त्यो उन्नती एउटा साधारण वा सजिलैसँग प्रवाहित भएको विकास होइन । यसमा ठूला–ठूला संघर्षहरु भए आर्थिक संघर्ष त छँदै थियो, अरु–अरु संघर्ष पनि भए । स्त्री र पुरुषबीचमा त्यो संघर्ष किन भयो त ? त्यतापट्टि पनि विचार गर्नुपर्छ । मैले यो कुरा मेरो व्यक्तिगत भावनाविरुद्ध बोल्नुपरिरहेको छ । ऐतिहासिक दृष्टिबाट देखिने क्रूर सत्य बताउन मैले आफ्नो हृदयको भावना दबाउनुपरेको छ । हाम्रो नजरको सामुन्ने पर्ने द्वन्द्व छँदै छ । तर, परिवार वा युवक–युवतीबीचको द्वन्द्व हुनुको कारण के हो ? यसमा मलाई लाग्छ, यो समाजमा एउटा निर्धारित शक्ति छ । अरु कसैलाई सम्झाउन प¥यो भने त्यसलाई जीवनशक्तिभन्दा हुन्छ ।

माननीय महासभासद्लाई सम्झाउन दैवीशक्ति भनौँ । तर, एउटा शक्ति छ जसले सबै कुरा जान्दछ, जो अजर–अमर छ, कालदर्शी छ, न त्यसको सुरु छ, न अन्त छ । त्यसले मानिसलाई देवता बनाउन कोशिस गर्छ । त्यसलाई कसैले जान्न सक्तैन, त्यसले गरेको कुराबाट सृष्टि चल्दछ, त्यो त्यही शक्ति हो । अहिले हामी देवताको श्रेणीमा पुग्न सफल भएका छैनौँ । तर, कुनै हदसम्म पुग्ने पनि गरेका छौँ । हामी विज्ञानद्धारा प्राकृतिक बन्धनमाथि जतिजति विजय प्राप्त गर्दै जान्छौँ, उतिउति देवतालाई एउटा कुनाबाट निकाल्दै अर्को कुनामा पन्छाउँदै जान्छौँ । हामी यसरी देवत्व प्राप्त गर्दै जान्छौँ । पहिले कुनै रोग लाग्यो भने मन्दिरमा गएर पूजा गर्दथ्यौँ, अब रोगको कारण थाहा भइसकेको हुनाले थाइसिसका रोगमा सितलामाईको पूजा गर्न छाडेका छौँ । अब कारण थाहा भइसकेको हुनाले हामी त्यस हदसम्म देवत्व प्राप्त गर्न थालेका छौँ , अब महादेवको पुकार गर्न छाड्दै आएका छौँ । त्यसो हुनाले मानिस अब प्रकृतिको नियमबाट फुत्कँदै गएको छ । अहिले रफ्तारमा विज्ञानको उन्नति हुँदैछ, त्यसमा बीचमा केही बाधा परेन भने हामीले चाँडै देवत्व प्राप्त गर्न सक्नेछौँ ।

मानिस जीवविकासमा एउटा खुड्किलो मात्र हो । त्यो त्रिकालदर्शी शक्तिले चाहेको कुरा तल्लो तहका जीवहरुबाट हुन नसक्ने हुँदा यसले मानिस बनायो । तर, मानिसलाई पनि अलिकति खाना पुगेन, हेरविचार पुगेन भने नाना किसिमको रोग लाग्छ । अठार वर्ष नपुगी बुद्धि पनि आउँदैन । त्यसमा जीवनशक्तिले बिस्तारै–बिस्तारै सुधार ल्याउन खोज्यो । जीवनशक्तिले दुईवटा काम गर्न दिएको छ । लोग्नेमानिसको हातमा सभ्यता बनाउने काम दिइएको छ । र स्वास्नीमानिसको हातमा सभ्यता बनाउने वस्तु बनाउने काम सुम्पेको छ । मैले यो कुरा हीनताको भावनाले स्त्रीजातिलाई भनेको होइन । लोग्नेमानिसले स्वास्नीमानिसलाई बराबर क्षेत्र बाँडिरहेको छ । अतः कच्चा पदार्थ समाप्त नहोस् र प्रयोग गरिरहन पाओस् भनेर नै जैविक आवश्यकता दिएको छ । आमा बनोस् भनेर । यस दृष्टिकोणबाट हेर्ने हो भने आमा बनाउनबाहेक स्वास्नीमानिसको अरु आवश्यकता छैन । जैविक काम भएन भने काम गरिरहेको मेसिन हठात् बन्द भएजस्तै मानव विकास नै खतम भएर जान्छ । यस दृष्टिबाट हे¥यौँ भने लोग्नेमानिसको अझ प्रगतितिर लम्कौँ, विकास गरौँ, कलाकार बनौँ, वैज्ञानिक बनौँ, दैवीशक्ति प्राप्त गरौँ भन्ने एउटै मात्र ध्येय छ, एउटै मात्र जिम्मेवारी छ ।

स्वास्नीमानिसको काम घर हेर्नु, आफूले जन्माएको छोराछोरीको हेरविचार गर्नु हो । त्यसकारण यस किसिमले द्वन्द्वको रुप प्रकट हुन्छ । स्वास्नीमानिस लोग्नेमानिसतिर आकर्षित हुन्छन् । म यो कुरा पनि व्यक्तिगत जीवनविरुद्ध गर्दैछु । स्वास्नीमानिसहरु लोग्नेमानिसलाई फसाएर आफ्नो काम पूरा गर्न चाहन्छन् । लोग्नेको उन्नतिको चाहना गर्दछन् । दुलाहाले सपना देख्छ । म यो इन्द्रधनुको रङ्गलाई क्यानभासमा उतार्न चाहन्छु भन्छ । तर, त्यसैबेला आफ्नो छोरालाई उठाएर दुलहीले बाधा पु¥याउँछे । अतः स्त्री र पूरुषबीच ठूलो द्वन्द्व रहन्छ भनेको हुँ ।

लोग्नेमानिस, स्वास्नीमानिसलाई सौन्दर्य देखेर मोहित हुन्छ भनेर कविले भनेको हो । तर स्वास्नीमानिसले लोग्नेमानिसलाई त्यसरी फसाउने काम गर्दछे, जसरी कुनै जनावर अजिङ्गरको सुन्दरतामा आकर्षित भएर नजिक जान्छ, उभिन्छ । तर, त्यो जनावर अजिङ्गरको सुन्दरताको विभ्रम भएर निलिन्छ । स्त्री–पुरुषको कुरा पनि त्यस्तै हो । त्यसकारण यसलाई कुनै सामाजिक नियमबाट बाँधेर राख्नु भन्ने विचार छाडौँ । यो त अमेरिका र रुसको सहअस्तित्वजस्तै हो ।

जीवनको विकासको क्रममा सुरुमा हाड नभएका जीवहरु सृष्टि भए । तिनीहरुको विकास हुँदै आएको हो । अब त स्वास्नीमानिसमा फसेर गयो भनेर अर्कै किसिमको प्राणी सृष्टि गर्ने हो कि ? स्त्री बन्धनमा गर्ने भयो भनेर हामीलाई नै जीवनशक्तिले छाडिदिने हो कि? सामाजिक दृष्टिबाट विचार गर्दा आर्यसंस्कृतिमा विवाहको नाना रुप पाउँछौँ । कुन्ती आफ्नो दुलाहा छँदाछँदै अरु लोग्नेमानिससँग सम्बन्ध राखेर पनि प्रतिष्ठावती भएकी छन् । त्यस्तै द्रौपदीले पाँच पति राखेर हाम्रो आर्यसंस्कृतिअनुसार पुज्य भएर बसेकी छन् । तारा, अहिल्या र यशोधरा पनि पञ्चकन्यामा गनिएकै छन् । उनीहरुमध्ये कोही पनि एक पतिव्रता नारी होइनन् । यो पनि आर्यसंस्कृति नै हो । त्यसै हुनाले हिजो ग्रहण गरेकोलाई मात्र आर्यसंस्कृति भन्नु हुँदैन । आर्यसंस्कृतिको सबभन्दा ठूलो महत्व के हो भने यसमा सामाजिक परिवर्तनको साथ नयाँ तत्व ग्रहण गर्ने क्षमता छ । हामीमा नयाँ तत्वलाई ग्रहण गर्ने शक्ति भएन भने त्यो जाति नै लोप भएर जाने सम्भावना रहन्छ ।

पहिले हामी खेती गर्ने काम सिकेर एक ठाउँमा बसिसकेका थिएनौँ । त्यसबेला मानिस घुमन्ते रुपमा बस्थ्यो । त्यहाँ दुलहा–दुलही भन्ने थिएन । कसको छोरा भनेर सोध्दा आमाको मात्र भन्ने हुन्थ्यो । यसरी आमाको नाममा समाज बन्दै गयो । सामाजिक नियमभन्दा जैविक शक्ति बलियो थियो । एउटै आमाको रगतबाट जन्मेका बीच विवाह हुने नियम प्रारम्भ भयो । मातृसत्तात्मक जातिमा अझै पनि त्यस्तै नियम छ । त्यसैले सामाजिक नियम आमामाथि नै आधारित छ । मानिस गाउँमा रहन लागेपछि व्यक्तिगत सम्पत्ति भन्ने कुरा आयो । अनि मानिसको घुमन्ते झुण्ड पनि टुट्यो । पहिले ट्राइबको सम्पत्ति हुन्थ्यो भने अब सम्पत्ति भयो, यस्तो ठूलो परिवर्तन भयो । अब दुलाहाको आवश्यक प¥यो । सामाजिक सम्पत्तिको ठाउँमा व्यक्तिगत सम्पत्ति हुँदै गएपछि यो कसको छोरो भन्ने प्रश्न उठ्दा त्यसमा दुलाहा पनि सामेल हुनआयो । त्यसपछि म बाँचुन्जेल मेरो सम्पत्ति मैले मात्र भोग गर्न पाउने र म मरेपछि मेरो व्यक्तिगत सम्पत्ति मेरो छोराले मात्र पाउने भन्ने भयो । अनि स्वास्नीलाई स्वतन्त्रता दिएपछि उसबाट उत्पन्न भएको छोरालाई आफ्नो छोरा भन्न नपाउने हुनाले स्वास्नीलाई पतिब्रता बनाउनु आवश्यक प¥यो ।

मध्यकालीन युगमा परपुरुषको मुख हेर्न नहुने भनी बुर्का, पर्दा, घुम्टो र सूर्यको मुखसमेत नहेरेकी कन्या पवित्र मानिने विचारको उदय भयो । सम्पत्ति र स्वास्नीमाथि लोग्नेको व्यक्तिगत अधिकार बढ्दै गएपछि स्वास्नीले पोइला जानुलाई ठूलो बेइज्जती मानिन थालियो । किनभने, यसबाट व्यक्तिगत सम्पत्तिमा ठूलो कुठाराघात हुन्थ्यो । व्यक्तिगत सम्पत्तिको अधिकार रहुन्जेल यो रहिरहन्छ । यो मध्यकालीन विचार हो । संस्कृतमा यससम्ब्नधी साहित्य बनेको छ । शृङ्गार रस । विवाहलाई पुरानै किसिमबाट राख्ने हो वा जैविक दृष्टिकोणबाट पारपाचुके गर्ने अधिकार दिँदा समाज ज्यादा मधुर हुन्छ वा पारपाचुके गर्ने अधिकार नदिँदा समाज मधुर हुन्छ, त्यो निश्चय रुपले भन्न सकिँदैन भन्ने निष्कर्षमा पुगिन्छ । अहिलेको अमेरिकाको चलन र उनीहरुका पुर्खाको पालाको सम्बन्ध कुनचाहिँ मधुर छ, निश्चित रुपले भन्न सकिँदैन ।

विवाहका सम्बन्धमा पारपाचुके गर्ने स्वतन्त्रता पूर्ण रुपमा दिँदा सानोतिनो गडबडी हुनासाथ छाड्न पाउने भयो भने कसैले परिवारमा बाँधिएर रहनु र सन्तान हेर्नुपर्छ भन्नेजस्ता विवाहको लक्ष्य पनि खतम भएर जानेछन् । अनि, विवाह एउटा क्षणिक मिलन अर्थात् प्रजातान्त्रिक मोर्चाजस्तै हुन जानेछ । त्यस किसिमको स्वतन्त्रता नदिएर अँठ्याएर राख्नु पनि ठीक होइन । यस विधेयकमा तीन–चार प्रकारको कोशिस गरिएको छ । यसबाट विवाहसम्बन्धी सबै समस्या समाधान हुन्छन् भन्ने कुरा होइन । स्त्री र पुरुषबीच द्वन्द्व त छँदै छ । हामीले अहिले चल्ती व्यवस्थाबाट सिकिसकेको हुनाले अर्को व्यवस्थाको खोजीको नीम्ति एकजना महिला महासभासद्बाट विधेयक आउनु राम्रो कुरा हो । वर्तमान व्यवस्थामा केही सुधार आउँछ कि भनेर यो विधेयक ल्याइएको छ । यो विधेयक अहिलेको आवश्यकता अनुभव गरेर ल्याइएको छ । यसमा सबैजनाको समर्थन प्राप्त होला भन्ने आशा गर्दछु ।

(स्रोतः संसद् सचिवालयको अभिलेख, २२ जुलाई १९६०)

Leave a Reply

Your email address will not be published. Required fields are marked *