मुलुक कोभिड–१९ को महामारीसँग कठोर संघर्ष गरिरहेको यथार्थ कसैसँग लुकेको छैन । अहिलेसम्म नेपालमा सङ्क्रमण धेरै नफैलिएको भएपनि विश्वलाई नै सताइरहेको यस भयावह बिमारीले गम्भीर मोड लिनसक्ने खतरा कायम छ । आम नागरिकहरू काम, दाम र मामसमेत त्यागेर कोरोना विश्वव्याधिबिरुद्धको घर्षमा सहभागी भएकोले केही शुरुवाती सफलताहरु हात लाग्न थालेका छन् ।

यसलाई अवरुद्ध गर्ने, नागरिकका अत्यावश्यक प्राथमिकतालाई बेवास्ता गर्ने तथा विश्वमा राष्ट्रको सम्मानलाई समेत आघात पार्ने प्रवृत्ति मुलुक हाँक्ने जिम्मेवारी निर्वाह गरिसकेका पूर्वप्रधानमन्त्री तथा लामो इतिहास बोकेका वरिष्ठ नेताहरूको अग्रसरतामा नै देखा पर्न थालेकोमा हामी गम्भीर चिन्ता र सरोकार प्रकट गर्दछौं ।

१. संसद अधिवेशन नभएको समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीबाट संवैधानिक परिषद तथा दल त्यागसम्बन्धी संविधानको भावना तथा लोकतान्त्रिक मान्यता विपरीत दुई अध्यादेसहरु जारी गर्ने गराउने कार्यले राष्ट्रिय राजनीतिको ध्यान महामारीबाट अन्तै मोडेर गम्भीर अवस्था पैदा गर्यो । हाल ती विवादास्पद अध्यादेस बदर गरिएका छन् । संविधानमाथि गर्न खोजिएको अनुचित प्रयोगबाट तत्कालका लागि मुलुक जोगिएको छ । संवैधानिक कानुनलाई प्रभावित गर्न सक्ने काम कार्यवाहीहरु अघि बढाउँदा प्रधानमन्त्रीले विधेयक निर्माणका नियमित तथा संसदीय प्रक्रियाहरु नै अवलम्बन गर्नु पर्दछ । नियमित र परिभाषित प्रक्रियाका जोखिमहरू स्वाभाविक रुपले कम हुन्छन् । सोझै राष्ट्रपति संस्थाको प्रयोगबाट कानुन निर्माण गर्दा लोकतान्त्रिक संस्थाहरुको औचित्य कायम राख्नु चुनौतिपूर्ण हुन जान्छ ।

नेपालको वर्तमान संविधान र यसबाट कायम गरिएको संसदीय संरचना स्थिर सरकार प्राप्त गर्ने उद्धेश्यबाट प्रेरित भएको हामी स्पष्ट गर्न चाहन्छौं । देशमा बहुमतको एकमना सरकार छ । लोकसम्मतिका आधारमा चल्नु यसको कर्तव्य हो । सरकारले संसदीय जवाफदेही रोज्नुको साटो अन्य विकल्प प्रयोग गर्नु हुँदैन । लोकतान्त्रिक अभ्यास तथा विधि र प्रक्रिया सुनिश्चित गर्नेतर्फ राष्ट्रलाई तत्काल आश्वस्त गराउनप्रधानमन्त्री समक्ष गम्भीर ध्यानाकर्षण गर्दछौं ।

२. बदर गरिसकिएका अध्यादेशलाई विवादको मुद्दा बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा उत्तिकै अप्रासंगिक विषय हो । संसद्को बजेट अधिवेशन सन्निकट रहेको बेला आगामी बजेटमार्फत नागरिक र मुलुकको हितमा कार्यक्रमहरु ल्याउनेतर्फ हुनुपर्छ । यसबेला सरकार बदल्ने सम्मको कार्यले राजनीतिक स्थिरता मात्र बिथोल्दैन, संसदमा उपस्थित राजनीतिक दलको प्राथमिकता केवल सत्ताको जोडघटाउ मात्र रहेको गलत सन्देश प्रवाहित भई हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीप्रति नै वितृष्णा बढाउँछ ।

विद्यमान प्रतिनिधि सभा पाँच वर्षको कार्यकालका लागि निर्वाचित भएको तथ्य सबै दललाई हामी स्मरण गराउन चाहन्छौं । संविधान अन्तर्गत प्रधानमन्त्रीसँग प्रतिनिधि सभा विघटन गर्ने वा मध्यावधि निर्वाचनको घोषणा गर्ने अधिकार छैन । प्रतिनिधि सभाले आफैं इच्छा-मरणको बाटो अपनाउन पनि सक्दैन । प्रतिनिधि सभाको  विद्यमान शक्ति बाँडफाँडले वैकल्पिक सरकार पनि दिन सक्दैन । संविधान अनुसार वर्तमान संसदलाई आगामी निर्वाचनबाट आउने अर्को संसदले मात्र विस्थापित गर्न सक्छ ।

यी तथ्यहरु स्पष्ट हुँदाहुँदै संविधानको भावना र व्यवस्थालाई लत्याउने गरी सत्तारुढ दलभित्र सरकार फेर्ने चलखेल हुनु, त्यसका लागि दलभित्र र बाहिरका वरिष्ठ नेताहरु उन्मादित हुनु खेदजनक छ । मुलुक महामारीमा जुधिरहेको यस अवस्थामा पूर्व प्रधानमन्त्रीहरु समेतको अग्रसरतामा अस्थिरताको पुनरागमन हुने संकेत देखिंदा लोकतन्त्र प्रतिको आम नेपालीको विश्वासमाथि खेलवाड भएको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र विकसित घटनाक्रम दलको आन्तरिक मामिला मात्र होइन । यसको प्रत्यक्ष प्रभाव राष्ट्रिय राजनीतिमा परेको छ । यसको निकास आग्रहपूर्ण, संवेगात्मक र प्रतिक्रियात्मक सोचबाट होइन, मुलुकको दिर्घकालीन हित र लोकतान्त्रिक मूल्य/मान्यताको पक्षपोषण हुने जिम्मेवारीबोधबाट निर्देशित हुनुपर्दछ ।

संकटको वर्तमान समयमा राजनीतिक परिस्थिति असामान्य बनाउने, सामाजिक स्थायित्वमा खलल पैदा गर्ने तथा राजनीतिक अस्थिरता फैलाउने गतिविधि तत्काल रोकी राष्ट्रिय समस्या समाधानमा एकजुट हुन सम्बन्धित सबै राजनीतिक पक्षसँग हामी तल हस्ताक्षर गर्ने नागरिकहरु जोडदार अपील गर्दछौं ।

हस्ताक्षरकर्ता:
१. डा. अर्जुन कार्की, चिकित्सक
२. विपिन अधिकारी, संविधानविद
३. कनकमणि दीक्षित, पत्रकार
४. टीका ढकाल, लेखक
५. जयप्रकाश प्रसाद गुप्ता, पूर्वमन्त्री
६. रामेश्वर खनाल, पूर्वसचिव
७. डा. रेणु अधिकारी, अधिकारकर्मी
८. रेम विश्वकर्मा, अधिकारकर्मी
९. सूर्यराज आचार्य, पूर्वाधारविद
१०. सुशील प्याकुरेल, अधिकारकर्मी

कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशव्यापी रुपमा गरिएको बन्दाबन्दी बाध्यात्मक उपायका रुपमा अवलम्बन गरिएको छ । यस बन्दाबन्दीका कारण देशका विभिन्न भागमा सडक निर्माण, भवन निर्माण, विभिन्न साना ठूला पसलमा दैनिक ज्यालादारी तथा मजदूरी गर्ने नागरिकलाई ठूलो मर्का परेको छ ।

आर्थिक गतिविधि ठप्प हुँदा मजदूरको आयस्रोत बन्द भएको छ । स्थानीय सरकारमार्फत प्रदान गरिने राहतमा पहुँच निश्चित नहुनाले सम्भावित संक्रमणको पर्वाह नगरी बन्दाबन्दीको वेवास्ता गर्दै सयौं किलोमिटर पैदल हिंडेर गन्तव्यतर्फ निस्केका नागरिकको संख्या ठूलो देखिएको छ । सम्भावनाका सबै ढोका बन्द भएपछि खतराको पर्वाह नगरी अनिश्चित यात्रामा निस्केका नागरिकप्रति सबै पक्षको जिम्मेवारीबोध आवश्यक छ । संघीय सरकारले सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसँग समन्वय गरी उनीहरुको समस्या समाधान गर्न निम्न अनुसारका कदमहरु तत्काल उठाउनु पर्दछ :

१. संघीय सरकारको स्वास्थ्य मन्त्रालयले देशभरी कोरोना संक्रमणको अवस्थाबारे जानकारी गराइरहेको छ । विभिन्न संचारमाध्यमले यसको प्रसारण गर्छन् र नागरिक तहमा सरकारको तर्फबाट सूचना प्रवाह भैरहेको छ । यसरी दिइने जानकारीमा सरकारले ल्याएको राहत सामाग्री बितरण र आर्थिक कार्यक्रमले कुन वर्गलाई छुन्छ, कस्ता नीति छन् र यस्तो सुबिधा लिनको लागि प्रकृया के हुन्छ, के कागजपत्र चाहिन्छ भन्ने पक्ष पूरै छुटेको छ । त्यसैगरी कोही घरजान नसकेर यतै अड्किएको अवस्थामा वा बिपदपरेको अवस्थामा कहां कसलाइ कसरी सम्पर्क गरेर के कस्तो सुबिधा लिन सकिन्छ भन्ने बारेमा समेत जानकारी प्रबाह भएको छैन। स्वास्थ्य मंत्रालयबाट जारी हुने नियमित समाचार बुलेटिनमा यि पक्षहरु नियमित रुपमै समेटिनु पर्छ।

२. नेपालका बिभिन्न जिल्लाबाट उपत्यका र प्रमुख शहरमा ज्यालादारी काम गर्न आउने सबैले हातमा नागरिकता वा मतदाता परिचयपत्र लिएर आएका हुँदैनन् । यस्ता कागजात हातमा नहुनेलाई राहत कार्यक्रमले समेटेको छैन। नागरिकता वा मतदाता परिचयपत्र नभए घरधनीको सिफारिसका आधारमा वा काम गराउने कम्पनी वा ब्यक्तिको सिफारिसमा पनि राहत पाइने व्यवस्था हुन सकेको भए अन्योलमा छटपटिएका मानिस काठमाडौंबाट हप्तौं पैदल हिँडेर गन्तव्यतिर जानुपर्ने अवस्था आउने थिएन । मानवीय संकट भएकाले अहिलेको राहत वितरणमा स्वदेशी वा विदेशीसमेत छुट्याउन मिल्दैन । मित्रराष्ट्रका सरकारप्रमुख र राष्ट्राध्यक्षलाई टेलिफोनमार्फत त्यहाँ रहेका नेपाली नागरिकलाई आफ्ना नागरिकसरह व्यवहार गरिदिन प्रधानमन्त्री आफैंले दैनिकजसो आग्रह गरिरहनुभएको छ । यस्तो अवस्थामा नागरिकता नभएको कारण वा फरक जिल्ला वा पालिका भएकै आधारमा राहतबाट वञ्चित गर्ने कार्य जायज होइन। स्थानीय सरकारहरूले प्रशंसनीय काम गरिरहेका हुँदाहुँदै पनि कति ठाउमा राहत वितरणमा आफ्ना ‘मतदाता’ मात्र खोज्ने प्रवृत्ति पनि देखिन थालेको छ । यस्तो अमानवीय कार्य निस्तेज गर्न र सबै बिपन्न र विपदमा परेकालाई सहज रुपमा राहत उपलब्ध गराउन राहतसम्बन्धी कार्यबिधि तत्काल संशोधन गरी आवश्यक निर्देशन जारी हुनुपर्छ ।

३. बन्दाबन्दीको मुख्य लक्ष्य हरेक व्यक्तिलाई बसेकै स्थानमा रोक्नुपर्ने भएकाले स्थानीय सरकार र सुरक्षा निकाय परिचालन गरी वडा स्तरबाट नै ज्यालादारी मजदूरको तथ्यांक संकलन गर्ने र परिचय पत्र नभएपनि अभिलेख खडा गरी प्रत्येक व्यक्तिलाई १५ दिनका लागि पुग्ने खाद्यान्न राहतका रुपमा तत्काल उपलब्ध गराउनुपर्छ । साथै, राहत लिन आउने परिवारमा ज्येस्ठ नागरिक, सुत्केरी, गर्भवती वा दुधे बालबालिका भएको वा नभएको तथ्यांक राखी राहत सामग्रीमा आवश्यकता अनुसार दूध, लिटो लगायतका बिशेष सामानहरू थप गरिनु पर्छ।

४. पैदल यात्रा गरी गन्तव्यमा हिंडेका व्यक्तिलाई बाटोमा पर्ने स्थानीय सरकार र सुरक्षा निकायको समन्वयमा आवश्यक यातायातको व्यवस्था गरी निश्चित गन्तव्यमा लैजाने व्यवस्था गर्नुपर्छ । यातायातका साधनलाई किटाणुरहित बनाउन स्प्रे गर्ने, चालकलाई व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध गराउने, यात्रुलाई मास्क, पन्जा आदि उपलब्ध गराई पैदल यात्राको खतरापूर्ण अवस्थाबाट निकालेर सम्बन्धित स्थानीय तहसम्म लैजाने व्यवस्था मिलाउन संघीय सरकारले अग्रसरता लिनुपर्छ । यसरी पैदल यात्रामा हिंडेकामध्ये गर्भवती महिला, साना बालबालिका वा किशोरीहरूका लागि बिशेष सुरक्षा प्रबन्ध मिलाउनु पर्छ ।

५. गन्तव्यमा पुगेका यात्रीको आवश्यक स्वास्थ्य जाँच तथा कोभिड-१९ सम्बन्धी प्रोटोकल अनुसार अनिवार्य क्वारेन्टिनमा रहने प्रवन्ध गर्ने जिम्मेवारी संघीय सरकारसँगको समन्वयमा स्थानीय सरकारले लिनुपर्छ ।

हस्ताक्षरकर्ता:

१. डा. गौरीशंकर लाल दास, पूर्व सदस्य राष्ट्रिय मानवाधिकार आयोग

२. डा. बिमला राई पौड्याल, राष्ट्रिय सभा सदस्य

३. सुशील प्याकुरेल, पूर्व सदस्य, राष्ट्रिय मानवअधिकार आयोग

४. डा. विपिन अधिकारी, संविधानविद

५. यमुना घले, कृषि विज्ञ

६. डा. रेणु अधिकारी, मानवअधिकार कर्मी

७. राजेन्द्र दाहाल, पत्रकार

८. कनकमणि दीक्षित, पत्रकार

९. टीका ढकाल, लेखक

संघीय संसदका महासचिव श्री मनोहर प्रसाद भट्टराई मिती २०७६/१२/०२ मा सेवा निवृत्त भएकोमा सभामुख अग्नि प्रसाद सापकोटाले “अर्को व्यवस्था नभए सम्मका लागि” संघीय संसदको महासचिवले गर्ने कार्यहरु गर्न प्रतिनिधी सभाका सचिव श्री गोपालनाथ योगीलाई तोकेको विषय विवादमा परेको छ ।

विद्यमान नेपालको संविधान, ऐन तथा कानून अन्तर्गत महासचिवको पद ‘रिक्त’ हुदाँ तत्कालै नया महासचिव नियुक्ति गर्ने हो । प्रतिनिधी सभा नियमावली, २०७५, राष्ट्रिय सभा नियमावली २०७५ र संघीय संसद सचिवालय सम्बन्धी ऐन २०६४ तथा सो अन्तर्गत बनेको नियमावलीले महासचिवको पद ‘रिक्त’ भएको अवस्थामा कार्यवाहक, निमित्त वा कायम-मुकायम दिने व्यवस्था गरेको छैन । सभामुख सापकोटाले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई दिएको पत्रमा कार्यवाहक, निमित्त वा कायम-मुकायम नभनिकन महासचिवको जिम्मेवारी दीइएको छ I

आफुसंग हुँदै नभएको उक्त अधिकार प्रयोग गर्न सभामुखले टेकेको प्रतिनिधी सभा नियमावली २०७५ को परिभाषा खण्डमा रहेको नियम २ (ट) ले “महासचिव अनुपस्थित रहेको अवस्थामा महासचिवको काम गर्न” सभामुखले कसैलाई तोक्न सक्ने उल्लेख छ । यो प्रावधान विभिन्न कारणले महासचिवको अनुपस्थिती रहंदाका लागि हो । पदनै ‘रिक्त’ हुन गएका अवस्थामा त्यस्तो ‘रिक्त’ पदको तत्काल पदपूर्ति गर्नु पर्ने हुन्छ । महासचिवको पदको उचाइ र गरिमाका कारण त्यस्तो नियुक्ति रास्ट्रपतिबाट गरिने व्यवस्था संविधानको धारा १०६(१ ) ले गरेको छ I

संसदका महासचिव ‘अनुपस्थित’ भै कार्यवाहक वा कायम-मुकायम दिनु पर्ने अवस्थामा पनि राष्ट्रिय सभाको अध्यक्षको परामर्शमा त्यस्तो व्यक्ति तोकिनुपर्ने कुरामा प्रतिनिधी सभा नियमावली, २०७५ प्रष्ट छ । हालको निर्णय त्यस बमोजिम नभएको रास्ट्रीय सभाका अध्यक्षको टिप्पणी सार्वजनिक जानकारीमा आईसकेको छ ।

संविधानको धारा १०६ (१) ले राष्ट्रपतिले प्रतिनिधी सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयूक्त सिफारिसमा संघीय संसदको महासचिव, सभामुखको सिफरिसमा प्रतिनिधी सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिवको नियुक्ति गर्ने व्यवस्था गरेको छ । यो २०४७ सालको संविधान देखिकै प्रावधान हो I यस प्रावधान बमोजिमको सबै नियुक्तिहरु गत २९ वर्षको अवधिमा कहिल्यै विवादमा नपरेको र अन्य प्रक्रियाबाट महासचिवको कार्य गर्ने सक्ने गरी कहिले कसैलाइ मुकर्रर नगरिएको तथ्य पनि यहाँ उल्लेख गर्नु जरुरी छ I

त्यस्तै महासचिवको हकमा ४५ बर्ष र सचिवको हकमा पैतीस बर्ष उमेर पुरा भएको हुनुपर्ने बाध्यात्मक व्यवस्था संघीय संसदको महासचिव, प्रतिनिधी सभाको सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन,२०७५ को व्यवस्था हो । यस अवस्थामा सभामूख अग्नी सापकोटाको हिजोको पत्र असंवैधानिकताको दायरामा फस्न गएको छ ।

It is very irresponsible to see that the Nepal Communist Party (NCP) has formed a committee to ultimately introduce a Constitutional amendment that would allow even a member of the National Assembly (NA) to get elected by the House of Representatives (HoR) as the prime minister. 

The HoR has a special status under the Constitution of Nepal due to its constituency-based electoral systems (both direct and proportional), overall numerical strength against the NA, diversity and inclusion, financial power, and the power to elect its own leader to form the government. The NA is a federal chamber of the Parliament that has not been designed to form the government, although it has almost equal parliamentary powers. 

Whether the prime minister is elected from the HoR or the NA is a significant provision of the Constitution. Given this hard reality, there is no reason why the centre of gravity of the power politics should be shifted from the HoR to the NA, changing the basic feature of the Constitution.

The political power and influence of the HoR will diminish significantly once it is possible for a non-member of HoR to become a prime minister.The ruling party is not even strong enough at this stage to amend its own party Constitution due to internal squabbles. Why is it taking the challenge for a task for which it is not reasonably equipped?

If the NCP considers the amendment to be necessary, it must have a proposal that must be subjected to necessary and thoughtful discussions among stakeholders. Keep in mind that the Constitution of Nepal is a federal constitution. It should not be subject to amendments without first taking the good faith of all federal constituencies of the country.

The Constitution of Nepal is a charter of change and transformation. The issue of its amendment cannot be a hostage of the NCP, no matter the Party’s particular needs. It is childish for a bunch of retired politicians to make such recommendations without even consulting their own rank and file. Besides, it is nonsensical to discuss amending the Constitution to serve the appetite of a loser of electoral battle.The Government should rather focus on the issues of corruption and mismanagement, which have already tarnished its image. 

नेपालको संक्रमणकालीन न्याय प्रक्रियाको दोश्रो चरण सुरु भएको छ । विगतका कमी–कमजोरी एवं मनसायबाट पाठ सिकेर संक्रमणकालीन न्याय प्रक्रियाको अविलम्ब पुनरावलोकन गर्नु आवश्यक छ । यसको एउटा महत्वपुर्ण पक्ष यो प्रक्रियामा द्वन्द्वपीडित लगायतका सबै सरोकारवालाको सहभागिता र अपनत्व सुनिश्चित हुनुपर्छ ।

नेपालको सक्रमणकालिन न्यायको विषय विस्तृत शान्ति सम्झौताको विषय मात्र नभई नया संविधानको प्रतिवद्धता पनि हो । नयाँ संविधान अन्तर्गत बनेको नेकपाको सरकारको लक्स मध्ये यो पनि पर्दछ। तत्कालीन एमाले र माओवादी केन्द्र को संयुक्त चुनावी घोषणापत्रको १२ औं नम्बरमा लेखिएको थियो, ‘सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिसम्बन्धी आयोगका कामलाई यथाशीघ्र सम्पन्न गर्न आवश्यक वातावरण मिलाइनेछ । द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूरणको बाँकी प्रक्रिया दुई वर्षभित्र सम्पन्न गरिनेछ ।’ तर यस बमोजिम हुन सकेको छैन ।

कानुनको गुणस्तरमा देखिएको समस्या

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी ऐनको मस्यौदा मा सुरु देखिनै समस्या देखिएको हो I तत्कालिन शान्ति तथा पुन:स्थापना मन्त्रालयले २०६५ सालमा यो ऐनको मस्यौदा र्‍याडिसन होटलमा कार्यक्रम गरेर सार्वजनिक गरेको हो । प्रत्यक्ष सरोकारवाला द्वन्द्वपीडित समुदायसँंग मस्यौदाका क्रममा राम्रो परामर्श गरिएन । व्यवस्थापिका संसदमा उक्त मस्यौदा विधेयकमा केहि छलफल भए । तर द्वन्द्व पीडित संग सहकार्य गरिएन। अन्ततः २०६९ मा अध्यादेशक रुपमा यो जारी भयो । द्वन्द्व पीडितले सर्वोच्च अदालतबाट अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश पाए I

२०७० पुस १८ मा सर्वोच्चले गरेको अन्तिम फैसला बमोजिम सरकारले २०७० चैतमा १० दिनको म्याद दिएर पीडित समेतको सहभागितामा विशेषज्ञ कार्यदल बनायो । तर यहाँ पनि पिडितलाई धोखा भयो I कार्यदलले आठौं दिन सुझाव सहितको प्रतिवेदन बुझायो । यो प्रतिवेदनलाइ सरकारले महत्व दिएन । तीनदलीय कार्यदलबाट बनाइएको मस्यौदा चैत २६ मा व्यवस्थापिका संसदमा दर्ता भयो । सो विधेयकलाई परिमाजर्नन गर्न पीडित समुदायले २०७१ वैशाख ६ गते सभामुख लगायत ६०१ सांसदलाई ज्ञापनपत्र बुझाए । वैशाख १२ मा ऐन पारित भयो । एकातिर २०७१ जेठ २० गते सर्वोच्च अदालतमा यस विरुद्ध रिट दर्ता भयो भने अर्कोतिर सरकारले २०७१ असार २ मा दुवै आयोगमा पदाधिकारी सिफारिसगर्नका लागि सिफारिस समिति बनायो । आयोगहरु त गठन भए तर २०७१ फागुन १४ गते अदालतले पीडितको सहमति वा असहमतिमा समेत पीडकलाई मेलमिलापका लागि सिफारिस गर्नसक्ने आयोगको अधिकार, मुद्दा चलाउने सम्बन्धी महान्यायाधिवक्ताको अधिकार कटौती गर्ने लगायतका प्रावधान बदर गर्‍यो । यस फैशलामा सर्वोच्चले हालसम्म गरेका संक्रमणकालीन न्याय सम्बन्धी फैसलाहरूलाई मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्न आदेश पनि दिएको पाइन्छ ।

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका उपलब्धि

संक्रमणकालीन न्यायमा यो सरकारले कार्यकालको पहिलो वर्ष सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका पदाधिकारीको म्याद थप्ने बाहेक केहि गरेन । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगमा करिब ६५ हजार उजुरी दर्ता भए पनि हालसम्म एउटा पनि उजुरीको टुंगो लगाउन सकेको छैन। थपिएको म्यादमा पनि काम गर्न नसकेपछि दोस्रो वर्ष सरकारले दुवै आयोगका पदाधिकारीलाई बर्खास्त गर्ने गरी ऐन संशोधन गर्‍यो । गत वैशाखदेखि खाली भएका दुवै आयोगमा नयाँ पदाधिकारी चयन गर्ने काममा १० महिना बितायो । अन्ततः पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सिफारिस समितिको निर्णयअनुसार सरकारले दुवै आयोगमा पदाधिकारी नियुक्त गर्‍यो ।

तीन साताअघि काम थालेका दुवै आयोगका पदाधिकारी कार्यालयको काम बुझ्ने प्रक्रियामै छन् । उनीहरु पहिले भएका कामको सूक्ष्म अवलोकन गर्ने क्रममा छन् पीडितहरू भने सर्वोच्चको फैसलाअनुसार ऐनको संशोधन चाहन्छन । तत्कालीन विद्रोही माओवादी र सरकारबीचको ‘विस्तृत शान्ति सम्झौता’ का दुई महत्त्वपूर्ण पक्ष सेना समायोजन र संविधान निर्माण पूरा भए पनि तेस्रो अर्थात् संक्रमणकालीन न्याय जहीँको त्यहीँ छ ।

मानवअधिकार समुदाय तथा नागरिक समाज

माघ २४, २०७५ मा मानवअधिकार समुदाय तथा नागरिक समाजले संक्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय कसरी बनाउने भन्ने सम्बन्धमा निम्न धारणा सार्वजनिक गरेको थियो:

१. ऐनमा संशोधन पीडित, मानव अधिकार समुदाय, नागरिक समाज लगायतका सरोकारवालाहरूको प्रमुख मागको रूपमा रहेको छ र यस सम्बन्धमा सर्वोच्च अदालतले समेत स्पष्ट रूपमा दिशानिर्देश गरेको छ । संक्रमणकालीन न्याय प्रकृयालाई विश्वसनीय ढंगले अगाडि बढाउनका लागि नेपालको संविधान, सर्वोच्च अदालतको आदेश, नेपालले अनुमोदन गरेका अन्र्तराष्ट्रिय सन्धि अन्र्तगतका दायित्व, अन्तर्राष्ट्रिय कानुन तथा स्थापित मापदण्ड अनुरुप तत्काल ऐन संशोधन गरिनु पर्छ ।

२. सङ्क्रमणकालीन न्याय सम्बन्धी ऐनको संशोधन प्रकृयामा द्वन्द्वपीडित, मानव अधिकार समुदाय, नागरिक समाज लगायतका सरोकारवालाहरूसँग व्यापक र अर्थपूर्ण परामर्श गरिनु पर्छ ।

३. नेपाल सरकारले २०७५ साल आषाढमा सरोकारवालाहरूलाई उपलब्ध गराएको मस्यौदा प्रति पीडित समुदाय, नागरिक समाज, मानव अधिकार समुदाय, राष्ट्रिय मानव अधिकार आयोग, संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाहरुको गम्भीर असन्तुष्टि रहेकोमा पुनः सोही मस्यौदालाई नै अगाडि बढाइएको कार्यप्रति हाम्रो गम्भीर आपत्ति छ। तसर्थ, पीडित समुदाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रय मानव अधिकार समुदायले दिएका सुझावहरुलाई ग्रहण गरेर मात्र ऐन संशोधन सम्बन्धी प्रक्रिया अगाडि बढाइनु पर्छ ।

४. अन्तर्राष्ट्रिय मापदण्ड तथा सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त तथा सरोकारवालासँगको परामर्शमा आधारित कानुन संशोधन र संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूको पुर्नसंरचना नै अबको संक्रमणकालीन न्याय प्रक्रियाको आधार हुनुपर्छ। अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूलाई पुनःसंरचना गरी राजनीतिक हस्तक्षेपमुक्त, पीडितमैत्री, निष्पक्ष, स्वतन्त्र, स्वायत्त र सक्षम बनाइनु पर्दछ । पारदर्शी तथा निष्पक्ष प्रकृयाबाट स्वतन्त्र र सक्षम आयुक्तहरूको चयन गरी आयोगहरुको पुर्नसंरचना गरिनुपर्छ । साथै, नियुक्ति प्रक्रियामा स्वार्थको द्वन्द्व नहुने सुनिश्चित गरिन पर्छ।

५. आयोगहरुमा दर्ता भएका उजुरी, प्रमाण र दस्तावेजहरू आयोगहरूको पूर्नसंरचना नहुन्जेलसम्म राष्ट्रिय मानवअधिकार आयोगको संरक्षण तथा निगरानीमा रहने व्यवस्था गरिनु पर्छ ।

६. विगतमा भएका युद्ध अपराध, मानवता विरुद्धका अपराध लगायत गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनलाई अपराधीकरण गरी दोषीलाई दण्डित गर्ने सम्बन्धमा रहेको कानुनी रिक्तता अन्त्य गर्न आवश्यक कानुन तुरुन्त निर्माण गरिनु पर्छ । साथै, उल्लेखित प्रकृतिका अपराधमा हदम्याद नलाग्ने व्यवस्था गरिनु पर्छ ।

७. हालसम्म पनि अन्तरिम राहत समेत नपाएका यौन हिंसा तथा यातना पीडितहरूलाई तत्काल राहत तथा अन्तरिम परिपूरणको व्यवस्था गरिनु पर्छ।

अन्तमा, संक्रमणकालीन न्याय प्रक्रियामा विद्यमान अवरोध तथा पीडक पक्षको हस्तक्षेपलाई निस्तेज गर्दै पीडित तथा मानव अधिकार रक्षकहरुको सुरक्षाको सुनिश्चितता गरिनु पर्छ । संक्रमणकालीन न्याय प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष र प्रभावकारी बनाउनका लागि विस्तृत शान्ति सम्झौता अनुरुप राष्ट्रिय मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय मानव अधिकार समुदायको निरन्तर अनुगमनको व्यवस्था गरिनुपर्छ ।

शान्ति सम्झौता

शान्ति सम्झौतामा अन्तरिम संविधान जारी भएको छ महिनाभित्र सत्य निरूपण आयोग गठन गर्ने र दुई वर्षभित्र द्वन्द्वका समयमा भएका मानव अधिकार उल्लंघनका घटनामाथि छानबिन टुंगो लगाउने वाचा गरिएको थियो । तर त्यसको ८ वर्षपछि २०७१ माघमा संक्रमणकालीन न्यायका दुई संयन्त्र सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गरिए । दुई वर्षका लागि गठित यी आयोगले चार वर्षसम्म पनि कुनै काम गर्न नसकेपछि सरकारले एक वर्षअघि ऐन संशोधन गरेर आयोग रहने तर आयुक्तहरू पदमुक्त हुने व्यवस्था गरेको थियो । त्यसैअनुसार पुराना पदाधिकारी घर गए र लामो अन्तरालपछि नयाँ आए तर पीडितहरू, मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय समुदायले भन्दै आएको ऐन संशोधनको काम अघि बढेको छैन ।

हत्या, अपहरण, बलात्कार तथा बेपत्ता पार्ने काम मानव अधिकारको गम्भीर उल्लंघन भएकाले यस्ता घटनाका दोषीलाई कुनै पनि हालतमा आममाफी दिन नपाइने गरी ऐन संशोधन गर्नू भन्ने सर्वोच्च अदालतको आदेश पालना गर्नबाट सरकार पन्छिएको पाँच वर्ष भइसकेको छ ।

दसवर्षे सशस्त्र द्वन्द्वका क्रममा १७ हजार जनाको ज्यान गएको छ । १ हजार ३०० सयभन्दा बढी बेपत्ता छन् भने ६० हजार घाइते र ८० हजार विस्थापित । त्यस्ता पीडितलाई रोजगारी, स्वास्थ्योपचार र तीनका बालबच्चाका लागि शिक्षादीक्षाको निकै जरुरत छ । संक्रमणकालीन न्यायको एक मुख्य पाटो यी पीडितका आवश्यकता पूरा गर्न उचित परिपूरण र पुनःस्थापनाको व्यवस्था हो । हरेक घटनाको सत्य निरूपण गर्नु, मानव अधिकार उल्लंघनका गम्भीर दोषीलाई कानुनअनुसार कारबाही गर्नु र देशमा मेलमिलापको वातावरण बनाउनु संक्रमणकालीन न्यायका अन्य महत्त्वपूर्ण काम हुन् जुन अझैसम्म सरकार र दलको प्रतिबद्धतामै सीमित छन् ।

संघीय शासन प्रणालीमा दुई सदनात्मक संसदको व्यवस्था गर्नुको एउटा महत्वपूर्ण कारण माथिल्लो सदन (नेपालका हकमा राष्ट्रिय सभा) लाई संघीय चासोका विषयवस्तुमा काम गर्न सक्ने तुल्याउनु पनि हो ।

यो उद्देश्यले माथिल्लो सदनको निर्माण वा बनोट तल्लो सदनको निर्माण वा बनोट भन्दा फरक राखिएको हुन्छ । फरक किसिमको निर्वाचन पद्धतिको प्रयोग गरी तल्लो सदन (नेपालका हकमा प्रतिनिधि सभा) भन्दा फरक निर्वाचन क्षेत्र तथा अवधारणाका आधारमा निर्वाचन वा मनोनयन गरिने व्यवस्था गरिन्छ ।

सिद्धान्त यति प्रष्ट हुँदाहुँदै पनि अहिलेको राष्ट्रिय सभा संघीय सदनका रुपमा रुपान्तरण हुन सकेन । राष्ट्रिय सभा नियमावली, २०७५ ले राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समिति तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिको व्यवस्था गरे पनि संघीय विषयवस्तु तथा त्यसमा पनि तीन तहको संघीय अन्तरसम्बन्धको विषयमा बेग्लै समिति बनाउन सकेको छैन ।

सुरुको हतारपतारमा यो पक्ष पछि परे पनि अब अविलम्ब यस्तो समितिको व्यवस्था गर्नु पर्ने भएको छ । समितिको निर्माण हुनासाथ संघीय विषयवस्तुमा संसदभित्रको संरचनाले पर्याप्त अवसर पाउन सक्छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको कार्यक्षेत्रमा तहगत राज्य संरचनाको विकासमा समन्वय भन्ने वाक्यांश परे पनि यससँग पर्याप्त रुपमा स्थापित प्रक्रिया तथा कार्यविधिहरु छैनन् ।

राष्ट्रिय सभा मूलतः संघीय इकाइहरुको सभा हो । यदि यो पक्ष राष्ट्रिय सभाको आन्तरिक संरचनामा कायम नहुने हो भने राष्ट्रिय सभालाई अनावश्यक रुपमा खर्च वहन गरेर राख्नुको औचित्य देखिँदैन ।

समस्या संविधानको होइन, राष्ट्रिय सभालाई हेर्ने दृष्टिकोणको हो ।

कानुन निर्माणमा यतिधेरै विवाद किन आइरहेको छ भन्ने बारेमा सोच्न सरकारले ढिला गर्नु हुँदैन ।

कानुनको मस्यौदा वर्तमान संघीय प्रणालीमा सम्बन्धित मन्त्रालयबाट सुरु हुन्छ । यसैबेला चाहिएको सरोकार समूह वा पीडित वा लाभग्राहीहरुसँग छलफल गरेर अगाडि बढ्ने हो ।

मस्यौदा लेखन बाहिरैबाट सुरु भएको अवस्थामा पनि औपचारिक रुपमा मन्त्रालयमार्फत नै यसले प्रवेश पाउनु पर्ने हुन्छ । त्यस्तो मस्यौदा विषयगत रुपमा सबै पक्ष हल गरेर सम्बन्धित मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाइने प्रचलन छ ।

यसरी पठाइएको मस्यौदालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो मस्यौदा शाखा मार्फत परिमार्जन गर्दछ । यस्तो परिमार्जनको मूल उद्देश्य संविधानको सर्वोच्चता कायम गर्ने, प्रचलित कानुन प्रणालीको मातहत ल्याउने, विद्यमान ऐनहरुसँग सामञ्जस्यता कायम गर्ने तथा कानुनी मस्यौदाका मापदण्डहरु समेत कायम गर्ने उद्देश्य राखिन्छ । यसबेला पनि यसलाई जनताको प्रतिक्रियाका लागि सार्वजनिक गर्न सकिन्छ । आवश्यकता परेमा सार्वजनिक सुनुवाई नै पनि गर्न सकिन्छ ।

यो मन्त्रालयले ‘क्लियरेन्स्’ दिएपछि मात्र त्यस्तो मस्यौदा सम्बन्धित मन्त्रालय वा मन्त्रीकहाँ फर्कन्छ ।

त्यसरी फर्किएको त्यस्तो मस्यौदालाइ सम्बन्धित मन्त्रीले संसदमा प्रस्तुत गर्नुभन्दा पहिले मन्त्रिपरिषद्को सहमति आवश्यक हुन्छ । यो सहमति भनेको मूलतः प्रधानमन्त्रीको सहमति हो ।

मन्त्रिपरिषदले सहमति दिनुभन्दा पहिले आफ्नो विधायन समितिबाट त्यस्तो मस्यौदाको पुनरावलोकन गराउने प्रचलन छ । उपसमिति गठन गरेर पनि यसलाई अध्ययन गराउन सकिन्छ । त्यसपछि मात्र उक्त मस्यौदाले प्रधानमन्त्रीको संरक्षण पाउने हो ।

यो प्रक्रियामा पाइला पाइलामा सम्झौता भएकाले स्वयम् प्रधानमन्त्रीले पनि बाहिर देखा परेका विवादहरु किन निरन्तर आइरहेका छन् ? भनेर बुझ्न नपाएको देखिन्छ । निरन्तर दोहोरिरहेका समस्याहरुको प्राथमिक कारण या त मस्यौदा गर्ने मस्यौदाकारहरु हुन्, वा सम्बन्धित मन्त्री । तर अपजसको भाग सामान्यतः उनीहरुले बोक्नु परेको छैन । त्यसैले संसदभित्रका प्रक्रियाहरुलाई अनावश्यक रुपमा हतार गर्नु हुँदैन ।

संसदमा पु¥याइने प्रत्येक विधेयक नेपाल सरकारको प्रस्ताव हो । त्यो प्रस्तावलाई खुला प्रक्रियाका आधारमा छलफल गरी निर्णय गर्ने ठाउँ संसद नै हो । संसदीय प्रक्रियाहरुले गर्छु भन्ने सरकारलाई जहिले पनि पर्याप्त मलजल दिन सक्छ ।

संसद नपुगुञ्जेलसम्म सरकारका कुनै पनि विधेयक स्वयम् सत्तारुढ संसदीय दलका सदस्यहरुले पनि हेर्न पाएका हुँदैनन् । उनीहरुलाई सरकारले यो अवसर संसदीय प्रक्रियामार्फत नै दिने हो ।

पूर्ण सदनमा विधेयकको सैद्धान्तिक छलफल पछि सामान्यतया जब यो सम्बन्धित समितिमा पुग्दछ, यसले दलगत रुपमा नभई समितिका सबै सदस्यहरुको सहकार्यमा सप्रिने मौका पाउँदछ ।

त्यहाँ सत्तारुढ दलका सदस्यहरुले प्रतिपक्षका सदस्यहरुसँग दलगत धारणा नराखिकन विषयगत उपयुक्तताका आधारमा मिल्ने मिलाउने कार्य गर्दछन् । यस कार्यका लागि सम्बन्धित मन्त्री वा मन्त्रालयले सकेको सहयोग गर्दछ ।

संसदीय प्रणालीमा मूलतः सरकारको चाहना बमोजिम सबै निर्णय गरिन्छन् । कानुन निर्माणमा पनि त्यस्तै हो ।

तर सरकारले अनावश्यक विषयहरुमा अडान लिनु हुँदैन । अडान लिएका विषयहरु सिद्धान्तनिष्ठ हुनु पर्दछ । गरिएका निर्णयहरुको सबै पक्ष सार्वजनिक हुनु पर्दछ । आज जित्नेले के मा जित्यो र हार्नेले के मा हा¥यो भन्ने बारेमा आम जनता प्रशिक्षित हुन पाउनु पर्दछ ।

अहिले जे भइरहेको छ, समग्रमा केटाकेटीको खेल जस्तो देखिन्छ । यसमा सबै पक्षबाट परिपक्वताको आशा गरिन्छ ।

स्थानीय सरकार सञ्चालन ऐन अपवादका प्रावधानहरुलाई छाडेर निकै राम्रो ऐन हो । संविधानको आठौं अनुसूचीमा उल्लिखित प्रत्येक विषयवस्तुमा राज्यशक्तिका सम्बन्धमा स्थानीय सरकारलाई यसले राम्रोसँग बाँडफाँट गरेको छ ।

विडम्बना नै भन्नु पर्छ, यो ऐन पारित भएपछि बनेका राज्य सञ्चालनसँग सम्बन्धित लगभग सबै ऐनहरु तथा हाल सो सम्बन्धमा संघीय संसदको दुवै सदनको प्रक्रियामा रहेका विधेयकहरुले यो ऐनका व्यवस्थाहरुलाई नराम्रोसँग प्रभावित गर्दैछन् ।

उदाहरणका लागि, यो ऐनमा नगर प्रहरी, सहकारी संस्था, आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाई, घरजग्गा धनी पूर्जा वितरण, कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण अन्तरगत स्थानीय सरकारलाई उल्लेखनीय रुपमा दिइएका प्रावधानहरु पछि बनेका र बन्दै रहेका ऐनहरुबाट नराम्रोसँग प्रभावित छन् । तर यो विषयलाई स्थानीय सरकारहरुले उठाउन सकेका छैनन् ।

त्यस्तै संघीय सरकारले संविधानमा आधारित रहेर सुरुमा कायम गरिएको सन्तुलन अहिले किन यो रुपमा प्रभावित हुँदैछ भन्ने बारेमा हेर्न सकेको देखिँदैन । यसतर्फ पर्याप्त रुपमा सजग हुनु जरुरी छ ।

संघ, प्रदेश र स्थानीय तह बीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफलमा छ । त्यस्तो अन्तरसम्बन्ध संविधानको धारा २३२ को (१) ले सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने भनिसकेपछि ऐनमा त्यति सारो विस्तृत प्रावधानहरुको आवश्यकता देखिंदैन । त्यस्तै विधेयकको दफा १६ मा राष्ट्रिय समन्वयपरिषद्को प्रावधान राखिएको छ, जुन संविधानमा उल्लेख गरिएको छैन । यसको उपादेयता पुष्टि गर्न सजिलो छैन I यो व्यवस्थाले राज्यशक्तिको बाँडफाँडलाइ प्रभावित गर्न सक्छ I यसमा ध्यान पुग्नु जरुरी छ I

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा बनेको विधेयक सम्बन्धी प्रतिवेदन, २०७६ मा संविधानले संवैधानिक निकायलाई दिएको स्वतन्त्र अस्तित्व संग बाझिने प्रावधानहरु परेका छन् । विधेयकको दफा ५० मा रहेको वित्तीय उत्तरदायित्वसम्बन्धी प्रावधानमा योजना छनोट गर्ने, मध्यकालीन खर्च संरचना तयार गर्ने, बजेट प्रस्ताव गर्ने, सरकारी सम्पत्तिको संरक्षण गर्ने, व्यवस्थापन गर्ने÷गराउने, बजेट समर्पण गर्ने÷गराउने तथा योजना तथा कार्यक्रमको अनुगमन गर्ने विषय राखिएको छ। अहिले ल्याइएको विधेयकमा वित्तीय उत्तरदायित्व संवैधानिक निकायका हकमा प्रमुख र मन्त्रालयका हकमा मन्त्री वा राज्यमन्त्रीले वहन गर्नुपर्ने भनिएको छ। सोही दफाको उपदफा ३ मा यी सबैलाई प्रधानमन्त्रीले निगरानी गर्ने प्रावधान छ। अर्को शब्दमा यो विधेयक सदनबाट पास भए राष्ट्रिय मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोकसेवा आयोग ,राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालयलगायत संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरु प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीमा रहने छन् । संविधानले महालेखा परीक्षकको कार्यालयलाई दिएको अधिकार पनि प्रस्तावित विधेयक सदनबाट पारित भए खोसिनेछ। विधेयकमा महालेखा परीक्षकको कार्यालयलाई बेरुजु सम्परीक्षणको हकमा सचिवले गरेको निर्णय कार्यान्वयन गर्ने निकायका रुपमा परिभाषित गर्न खोजिएको छ। विधेयकको दफा ४० मा सचिवले तजबिजी अधिकार प्रयोग गरेर फस्र्योट गरेको बेरुजुको लगत कट्टा गर्न सात दिनभित्र महालेखा परीक्षकको कार्यालयमा पठाउनुपर्ने र महालेखा परीक्षकको कार्यालयले सोको लगत कट्टा गरी सात दिनभित्र सम्बन्धित लेखा उत्तरदायी अधिकृत अर्थात सम्बन्धित निकायको सचिवलाई दिनुपर्ने छ भन्ने व्यवस्था राखिएको छ। दफा ४१ मा सार्वजनिक लेखा समितिले गरेको बेरुजु लगत हटाउन दिएको निर्देशन महालेखा परीक्षकको कार्यालयले ३० दिनभित्र हटाइ सोको जानकारी सार्वजनिक लेखा समिति र सम्बन्धित लेखा उत्तरदायी अधिकृतलाई दिनुपर्ने बाध्यकारी प्रावधान राखिएको छ। त्यसको कार्यान्वयन नभएको अनुगमन र ताकेता गरेर भए पनि लेखा समितिले निर्णय कार्यान्वयन गर्नसक्ने गरी कानुन ल्याउन खोजिएको छ।

गत वर्ष साउन २४ गते प्रतिनिधिसभामा दर्ता भएको नागरिकता ऐनको विधेयक गत वर्ष भदौ ५ गतेदेखि संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा विचाराधिन छ । संविधानको धारा ११(३) ‘यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ भनिएको छ I नागरिकता विधेयकमा उक्त दफाअनुसार जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजको नागरिकता पाउने प्रावधान राखिएको छ । तर विधेयक कहिले ऐन बन्ने हो, टुंगो छैन । गृह मन्त्रालयले चैत १९ गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी संविधानको प्रावधानअनुसार जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन निर्देशन दिएको थियो । सर्वोच्च अदालतको आदेशबाट नागरिकता वितरण रोकियो । वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको प्रावधानमा चर्को विवाद देखिएको छ । नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले विवाहलगत्तै सहजै पाइरहेको वैवाहिक अंगीकृत नागरिकताको प्रावधानलाई परिवर्तन गरी विवाह गरेको सात वर्षपछि मात्रै नागरिकता दिने प्रावधान राख्न खोजिएपछि विवादित बनेको हो । गृहले वैवाहिक अंगीकृत नागरिकता तत्कालै पाए पनि नागरिकता प्राप्त गरेकी विदेशी महिलाले ६ महिनाभित्र विदेशी नागरिकता परित्याग गरेको प्रमाण ल्याउन नसके रद्द हुने नयाँ प्रावधान विधेयकमा ल्यायो । उक्त प्रस्तावप्रति केहि सांसदले विरोध गरे । समितिले विवादित बनेको वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको प्रावधान, नागरिकतासम्बन्धी दण्ड र सजाय, नागरिकता टोली खटाउनेसम्बन्धी प्रावधानमा सहमति जुटाउन सांसद विजय सुब्बा नेतृत्वको उपसमितिलाई जिम्मा दिएकोमा यसले कुनै प्रतिवेदन नबुझाएकाले समितिमा छलफल भएको छैन ।

सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधन सम्बन्धी विधेयक पनि अलमलमा छ । ऐन संशोधनका लागि विधेयकको मस्यौदा तयार गर्ने, मस्यौदामा पीडित पक्षको समेत सहमति जनाएर अन्तिम रुप दिई संसदमा चाडै लैजान ढिलो भै सकेको छ । गैरन्यायिक हत्या, यातना, बेपत्ता पार्ने र बलात्कारका घटनामा क्षमादान दिन नसक्ने गरी कानून संशोधन गर्न सर्वोच्च अदाललते निर्देशन दिएको हो । अन्य मुद्दामा पनि पीडितको सहमति विना क्षमादान दिन नसक्ने, द्वन्द्वकालीन मुद्दा अदालतले नै टुंगो लगाउने लगायतका संशोधन सत्य निरुपण तथा मेलमिलाप ऐनमा गर्न सर्वोच्चको आदेश थियो । तर द्वन्द्वकालीन घटनाका दोषीलाई सांकेतिक सजाय दिने गरी ऐनको संशोधन मस्यौदा तयार भएकोमा पीडितहरूले अदालतको फैसला विपरीत विधेयक ल्याउन लागिएको भन्दै विरोध गरेपछि सरकारले संसदमा पेश नगरी स्थगन गरेको अवस्था छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासको व्यवस्था गर्न बनेको विधेयक सरकारले हात हालेको करिब आधा दर्जनभन्दा धेरै आर्थिक सुधारसम्बन्धी नयाँ कानुन संग सम्बन्धित देखिन्छ ।

सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन अनि विदेशी लगानीसम्बन्धी ऐन तथा विशेष आर्थिक क्षेत्र ऐन संशोधन भइसकेको छ। तर द्रुततर निर्माण तथा विकासको व्यवस्था गर्न बनेको यो विधेयक धेरै महत्वाकांक्षी देखिन्छ I

रास्ट्रीय प्राथमिकता प्राप्त आयोजना केलाई भन्ने भनेर परिभाषित गर्न खोजेपनि दफा २ को (८) र (९) ले स्वेक्षाचारिताको अवसर जुटाई दिएको छ I धेरै किसिमका आयोजनाहरु छिर्न र छिराउन सकिने अवस्था छ I त्यस्तो चाहना हो र ?

लगानी बोर्ड नेपाल र यस ऐन अन्तर्गतको निर्देशक समिति बीच क्षेत्राधिकारमा ‘ओभरल्याप’ देखिन्छ I 

यो विधेयकले कुन कुन कानुनहरुलाई प्रभावित गर्दैछ ? उल्लेख गर्न सकिएको छैन I

दफा १९ बमोजिमको प्रधान मन्त्रीले नेतृत्व गर्ने आयोजना निर्देशक समितिमा सरकार बाहेक अन्य सम्बन्धित क्षेत्रको प्रतिनिधित्व किन गरिएको छैन ? यति धेरै तथा महत्वपुर्ण विषयहरुमा उनीहरुको सहभागिता किन आवश्यक नदेखिएको होला? सरकारले स्पस्ट गर्न नसकेको प्रस्टै छ I

यस प्रस्तावित कानुनले नीतिगत सुधारमा ठूलो फड्को मार्न सघाउने हो भने उपरोक्त विषयमा प्रस्ट हुनु जरुरि छ I