केनेडीको हत्या

Posted on by Bipin Adhikari in BP Thoughts | 2 min read

"केनेडीको हत्याको खबरले हामी यहाँ सबै स्तब्ध भयौं । अमेरिकामा यसप्रकारको कारवाही हुन सक्छ – राजनीतिक विरोधले यतिसम्म सीमोल्लघंन गर्न सक्छ कि राष्ट्रपतिको हत्या होस् – भन्ने कल्पना थिएन मलाई । ठीक १०० वर्षपछि (लिङ्कन १८६५ मा मारिएका थिए) अर्को अमेरिकन राष्ट्रपति मारिए र दुवै उदारवादी विचारधाराका समर्थक थिए ।'

"के उदारवादको अमेरिकन जीवनसँग सहानुभूतिपूर्ण सम्बन्ध छैन? कि या अनुदारवादी यतिसम्म निराश हुन्छन् कि उग्रमार्ग (व्यक्तिगत हत्या) अपनाउने बाहेक उनीहरुसँग अरु केही चारा रहँदैन? अमेरिकन जीवनको उदारवादसँगको सामञ्जस्यले गर्दा केनेडी मलाई बडो मन पर्थे र आजकलको दुनियाँमा चाहिने नेतामा हुनपर्ने गुण उनमा थियो – दृढताका साथसाथ प्रगतिशीलता । केवल दृढता कठोरतामा परिणत हुन्छ, र अनुदार राजनीतिमा – तर केवल प्रगतिशीलता कम्युनिष्ट तानाशाहीको जालमा पर्ने आन्तरिक कमजोरी राख्छ । प्रजातान्त्रिक प्रणालीका लागि केनेडीबाट ठूलो आशा गरिन्थ्यो । के यो हत्याले अमेरिकन राजनीतिमा अनुदारवादी विचारधाराले गोल्डवाटर जसका अहिले प्रतीक छन् रिपब्लिक पार्टीमा, प्रोत्साहन त पाउँदैन? या यसको परिणाम उदारवादमा झन् बढी शक्तिवृद्धि त हुँदैन? अविकसित मुलुकहरुलाई मद्दत गर्ने सिद्धान्तमा के प्रभाव? अन्तर्राष्ट्रिय राजनीतिमा के हुने हो? रुससँगको सम्बन्धको रुप कस्तो हुनेहो? यी सब प्रश्नहरु मेरा मनमा उठ्छन्?"

"हाम्रो मुलुकमा पनि कस्तो हुने हो? यी सब प्रश्नहरु मेरा मनमा उठ्छन्? हाम्रो मुलुकमा पनि कस्तो असर पर्छ? हाम्रा लागि के हुने हो? केनेडीको हत्याले निश्चय नै विश्वव्यापी असर पार्छ ।'

"जेकेलिन केनेडीका लागि हार्दिक संवेदनाको भाव ममा जागृत हुन्छ । मलाई मनपर्ने नारीरुप (फेमिनिन टाइप) उनी हुन् र उनीहरुको परिवारिक सम्बन्ध बडो स्नेहमय थियो जस्तो लाग्छ । आईरिस परिवारको आदि गाुण (फ्यामिली कोहेजन) उनमा पाइन्थ्यो । आज त्यो परिवारमा चिल्लीबिल्ली होला ।"

About Bipin Adhikari

Dr. Bipin Adhikari is a constitutional lawyer, senior advocate and professor at Kathmandu University School of Law. View full biography »

Comments are closed.