मन्तव्य
नेपाल कन्स्टिट्युसन फाउण्डेसनद्वारा स्व. मुर्धन्य कानुनविद् देवनाथ प्रसाद बर्माको सम्झनामा सम्पन्न गरिएको पुनरावेदन अदालतको नेपाली प्रयोग, यसका सैद्धान्तिक एवम् व्यवहारिक पक्षहरु एवम् सुधारका सम्भावना सम्बन्धी प्रस्तुतिहरु कानुन क्षेत्रका सबैका लागि सुरुचिपूर्ण छन् ।
[caption id="attachment_2799" align="alignright" width="115"]
नेपालमा पुनरावेदन अदालत[/caption]
पुस्तक आकारमा तिनलाई एकत्रित गरी छापिएको यो संगालोले स्व. बर्मालाई कानुन क्षेत्रका एक मार्गदर्शक व्यक्तिका रुपमा पुनः सम्झाउनुका साथै परिवर्तित सन्दर्भ एवम् नयाँ संविधान निर्माणमा अल्झिएको नेपालमा पर्याप्त रुपमा छलफल हुनुपर्ने पुनरावेदन अदालत सम्बन्धी व्यवस्थालाई अध्ययन गर्नुपर्ने तर्फ सम्बद्ध सबैलाई झकझक्याउने आशा गर्न सकिन्छ । त्यस्तै यो पुस्तक मेमोरियल लेक्चरको प्रयोग सम्बन्धमा कानुन क्षेत्रमा देखिएको एउटा नौलो प्रयास पनि हो । यी दुवै सन्दर्भमा यो पुस्तकले आफ्नो उद्देश्य पूरा गर्न सकेको मैले पाएको छु ।
यो पुस्तक सम्पादन गर्ने सहकर्मी साथीहरु संविधानविद् डा. विपिन अधिकारी तथा सहप्राध्यापक गणेशदत्त भट्टलाई हार्दिक धन्यवाद दिन चाहन्छु । उहाँहरुको मेहनतबाट उपरोक्त विषयसँग सम्बन्धित कानुनी सुधारको प्रक्रियामा महत्वपूर्ण योगदान पुग्न जानेछ भन्नुमा कुनै अतिशयोक्ति हुने छैन । यसमा वहाँहरुको प्रशस्त मेहनत र कटिबद्धता देख्न सकिन्छ । यो प्रयासले निरन्तरता पाओस् भन्ने मेरो शुभकामना छ ।
डा. सूर्य ढुंगेल
वि.सं. २०६९ साउन २०